Archive for November 9th, 2007

‘पूर्ण समानुपातिक जातिवादको विकृत रुप’

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संसदको बहुमतबाट हालै पारित गणतन्त्र र संविधानसभाको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आफ्नो पार्टीलाई मान्य नभएको नेपाली काङ्ग्रेसका उपसभापति एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री रामचन्द्र पौडेलले बताउनुभएको छ।

नेकपा एमाले र नेकपा (माओवादी)ले हालै संसदको बहुमतबाट पारित गराएका पूर्ण समानुपातिक निर्वाचन प्रणाली जातिवादको पूर्ण विकृत रुप भएको उहाँको आरोप थियो।

ती दुइ निर्णय दुइतिहाइ बहुमतबाट पारित हुनुपर्ने अन्तरिम संविधानमा व्यवस्था भएका कारण बहुमतबाट पारित भएरमात्र पुग्दैन सोको पूर्ण कार्यान्वयनका लागि नेपाली काङ्ग्रेसको र्समर्थनबिना कसैले पनि लागू गर्ननसक्ने मन्त्री पौडेलले ठोकुवा गर्नुभयो।

Popularity: 9%

9 comments November 9th, 2007

मेरो मोबाइल फोन अपराधकार्यमा प्रयोग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सुनसरी जिल्लामा मेरो मोबाइलको खुकुलो वितरण प्रणालीका कारण आपराधिक क्रियाकलापमा समेत सो मोबाइल प्रयोग हुने गरेको पाइएको छ।

स्पाईस नेपालले वितरण गरेको सिमकार्ड बजारका पान पसल, सामान्य पसल र चिया पसलहरुबाट समेत जथाभावी वितरण गरिँदा अपराधीहरुले सोको दुरुपयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ।

प्रयोगकर्ताको पहिचान खुल्ने गरी आवश्यक कागजातसमेत नलिई वितरण गरिने सो मोबाइलको प्रयोगबाट अपराधी पत्ता लगाउन गाह्रो हुने गरेको सुनसरीका प्रहरी उपरीक्षक यादवराज खनालले बताउनुभयो।

Popularity: 9%

4 comments November 9th, 2007

सात दलको एकता टुटे अराजकता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाले सात राजनीतिक दलको एकता टुट्ने हो भने मुलुक अराजकतातर्फ धकेलिने बताउनुभएको छ।

नेपाल शिक्षक सङ्घले तिहारको उपलक्ष्यमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेता देउवाले सात राजनीतिक दलबीचको एकतालाई बलियो बनाएर अघि बढ्न सकिएन भने मुलुकमा गणतन्त्र नआउने बताउनुभयो।

नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले गणतन्त्रको विषयमा काङ्ग्रेसले आफ्नो स्पष्ट अडान र धारणा राखिसकेपछि पनि मुलुकमा गणतन्त्र आउँदैन कि भनेर वामपन्थी मित्रहरुले शङ्का गर्नु राजनीतिक अपरिपक्वता हो भन्नुभयो।

Popularity: 9%

3 comments November 9th, 2007

महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्ठानब्बेऔँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

महाकवि देवकोटाको जन्म १९६६ सालमा लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो।

दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित कृति सबैभन्दा बढी बिकेको पुस्तक हो।

नेपाली साहित्यमा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्त्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भने नाटयसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए।

वि.सं. २०१६ मा आफू शिक्षा तथा स्वायत्तशासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागु गर्नु-गराउनु र तत्कालीन नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु उनका देन हुन्।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो।

देवकोटाको कवि-प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ।

चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको विशेषता हो ।

Popularity: 9%

Add comment November 9th, 2007

आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा मनाइँदै

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
यमपञ्चकको तेस्रो दिन आज साँझ अधिराज्यभर धनधान्यकी देवी लक्ष्मीको आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ।

बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरका सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झयाल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ।

लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ। आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटाले पोतेर चामलको पिठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ।

गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चर्ढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्छन्।

लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ।

लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ।

आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन्। यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ।

सत्ययुगमा वामन अवतार विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले विष्णुलाई सन्तुष्ट पारी दानशीलताको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरून् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वास छ।

Popularity: 9%

Add comment November 9th, 2007

दाइजोका कारण श्रीमतिको हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दाइजोको कारण सप्तरी जिल्लाको डाढा गाविसका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरी जलाइदिएको छ।

डाढा गाविस-९ लक्ष्मीनिया बस्ने विनोदकुमार साहले आफ्नी श्रीमती सोनीदेवीको हत्या गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

हत्या गरी लास जलाइरहेको अवस्थामा हिजो प्रहरी पुग्दा सबै मलामी फरार भएका थिए। अधिकांश भाग जलिसकेको अवस्थामा लास पोस्टमार्टमका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएको छ।

लासको अधिकांश भाग जलिसकेको तथा ढाड र खुट्टामात्र बचेको प्रहरीले जनाएको छ।

विनोद र सोनीबीच गत जेठ २३ गते हिन्दु परम्परा अनुसार विवाह भएको बताइएको छ।

घटनापछि लक्ष्मीनिया टोल पुरुषविहीन भएको छ। गाउँका सबै पुरुष घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ पर्ने डरले घर छोडी भागेको प्रहरीले जनाएको छ।

Popularity: 9%

6 comments November 9th, 2007

बम खेलाउँदा बालक घाइते

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सिरहाको दक्षिणी सीमावर्ती अरनामाप्रति गाविस वडा नं. ५ बस्ने १० वर्षीय सत्रुघ्न महराको सुतली बम खेलाउँदा दाहिने हातका तीनवटा औला क्षतविक्षत भएको छ।

मानवअधिकारकर्मी दुर्गा महतोका अनुसार खेतमा गएको बेला त्यहाँ बेवारिसे अवस्थामा रहेको सो बम खेलाउँदा उनको औला काटिएको र बालक बेहोस भएपछि स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

औला काटिंदा अत्यधिक रक्तस्राव भएका कारण बालकको अवस्था गम्भीर छ।

Popularity: 9%

1 comment November 9th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....