Archive for November 12th, 2007

मलेसियामा दीपावली साँझ र देवकोटा जयन्ती (+Photo)

ईन्द्र नारथुङ्गे, मलेसिया/ एचकेनेपाल डट कम, नोभेम्बर १२ -
प्रवासी मगर संघको आयोजनामा यहि नोभेम्बर ८ तारिखका दिन दिपावली साँझ सम्पन्न भयो। निर्धारित समयभन्दा अढाई घण्टापछि मात्र शुरु भएको कार्यक्रममा नेपाली दूतावासका कार्यवाहक राजदूत हरिकुमार श्रेष्ठद्धारा उद्घाटन भएको थियो।

सम्पूर्ण मलेसियामा रोजगाररत नेपाली कलाकारको उल्लासमय उपस्थितिमा हालै सार्वजानिक गरिएको राष्ट्रिय गानबाट कार्यक्रमको शुरुवात गरिएको थियो। प्रचारप्रसारमा राखिएको तस्वीरभन्दा नराखिएको कलाकारहरूको प्रस्तुतिले माथ खुवाएको उक्त कार्यक्रममा जोहोरका ममता विक र धिरज आलेको जोडी, केएलका रविन्द्र गुरुङ र रेखा राई जोडीले प्रतिस्पर्धात्मक जस्तै देखिन्थ्यो। सबैभन्दा बढि त इपोबाट आएका देवानन्द राई र मलेसियन मूलकी नेपाली गायिका लियाको जोडीले दर्शकदीर्घालाई तताएको थियो। लिया नेपाली गीतसंगीत भनेपछि हुरुक्कै हुने र धेरै भन्दा धेरै नेपाली गीतहरूलाई गाउने अभ्यास गरेर विभिन्न नेपाली कार्यक्रमहरूमा आफ्नो कला प्रस्तुत गरिरहेकी गायिका हुन्।

कार्यक्रममा मधु लिंखा, तिलक सारु, सुमन राई, भूपाल विकले आफ्ना सुमधुर स्वर पस्केका थिए। सुमन राईले आफ्ना पछिल्लो एल्बम मेरो बिन्तीबाट गाउन भ्याएका थिए। जसलाई रुवेन पुनद्धारा रचना तथा संगीतवद्ध गरेका हुन्। त्यसैगरी मलेसियामा रोजगाररत नेपाली कलाकारहरुद्वारा स्थापित तरेली सांस्कृतिक परिवार, सिपिटी परिवार, जोहोर, मलकाका कलाकारहरूले सम्पूर्ण कार्यक्रमलाई संगीतमय बनाएका थिए भने कार्यक्रमका प्रायोजक डिजीले कार्यक्रमको विचमा डिजीबारे विभिन्न प्रश्न राखेर मिलाउनेलाई पुरस्कार वितरण गरेका थिए। कार्यक्रम इन्द्र जिजिविषा, अनिता वाग्ले र सुनिल चालिसेद्वारा सञ्चालन भएको थियो।

त्यसै गरी नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९९ औं जन्मजयन्तिको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसिया शाखाले मलेसिया ब्यापी कविता प्रतियोगिता सम्पन्न गरेको छ।

प्रतियोगितामा ६४ सहभागीलाई उछिन्दै दार्चुला घर्रभई हाल मलेसियामा कार्यरत ‘शिर्जन श्री’ ले प्रथम स्थान प्राप्त गरी नगद पुरस्कार आरएम ५०० (नेपाली रुपैंया लगभग ९,५००) सहित प्रमाण पत्र र विभिन्न स्किमहरु जितेका छन्। यसैगरी बाशु योगी ‘अधुरो’ द्वितीय, वसन्त अविरल तृतीय र नविन लोयम र खड्गवहादुर राईले सान्त्वना स्थान हात पारेका छन्। द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विजयी कविहरुले क्रमशः ३००, २०० र १०० आरएम र विभिन्न स्किमहरु प्राप्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल दूतावास मलेसियाका कार्यवाहक राजदूत हरिकुमार श्रेष्ठले विजयी कविहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गर्नु हुँदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा र साहित्यको उत्थानमा पुर्‍याईरहेको योगदानको प्रशंसा गर्नुभयो। आजका वरिष्ठ साहित्यकारहरु कुनै दिन सिकारु नै थिए, निरन्तर साधना कै कारण उनीहरु वरिष्ठ भएका हुन् भन्नु हुदै राजदूत श्रेष्ठले निरन्तर सिर्जनामा लागि पर्न सबैमा अनुरोध गर्नुभयो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसिया शाखाका अध्यक्ष जीवन देवान ‘गाउँले’को सभापतित्वमा सञ्चालन भएको सो कार्यक्रममा सिम्स ग्रुप अफ कम्पनी मलेसियाका मेनेजिङ्ग डाइरेक्टर राजिव सिंह र श्रीमति दिपाञ्जली सिंह विशेष अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो। कार्यक्रमका प्रमुख अतिथि राजदूत हरिकुमार श्रेष्ठ कार्यक्रम हलमा प्रवेश गर्नु हुँदा विशेष अतिथिद्वयले नेपाल हाउसको तर्फबाट नेपाली टोपी पहिर्‍याई स्वागत गर्नुभएको थियो।

नेपाल हाउस सहआयोजक रहेको सो प्रतियोगितामा साहित्यकार निरज सापकोटा, वियोगी काइँला र सञ्चारकर्मी सपना बस्याल निर्णायक रहनु भएको थियो। प्रतियोगितामा आइएमइ, खुकुरी रेष्टुरेन्ट, किरात याख्खा छुम्मा मलेसिया सम्पर्क मञ्च तथा मकालु संखुवासभा सम्पर्क मञ्चको तर्फबाट अध्यक्ष धनवहादुर देवानले नगदपुरस्कार प्रायोजन र मनकामना मिनीमार्केट तथा नेपाल हाउसले बिभिन्न स्किमहरु प्रायोजन गर्नुभएको थियो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्विरमा माल्यार्पण गरी सुरु गरिएको सो कार्यक्रममा दर्जनौ अप्रतियोगी कविताहरु पनि बाचन गरिएको थियो। कार्यक्रममा साहित्यकारहरु सुशान्त बगाले, निरज सापकोटा र सपना बस्याललाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसिया शाखाको विशिष्ट सदस्यता समेत प्रदान गरियो। मलेसिया ब्यापी कविता प्रतियोगिताका संयोजक एवं अनेसास मलेसिया शाखाका कोषाध्यक्ष देवेन्द्र सुर्कैलीले स्वागत मन्तब्य राख्नु भएको सो कार्यक्रमको सञ्चालन अनेसास मलेसिया शाखाका सचिव ईन्द्र नारथुङ्गेले गर्नु भएको थियो।

मलेसियाबाट ईन्द्र नारथुङ्गे / एचकेनेपाल डट कम।


Popularity: 9%

1 comment November 12th, 2007

दमक क्याम्प, कतारमा देउसी भैलो

बिलबहादुर गुरुङ, दोहा / एचकेनेपाल डट कम, नोभेम्वर १२ -
शुभ दीपावली २०६४ को अवसरमा दमक युवा क्लब मिसाइड, कतारको आयोजनामा भाई टीकाको पवित्र दिनमा एक देउसी भैलो कार्याक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ।

क्लबका सदस्यद्वय हरि खरेल र श्याम बि.क. को नेतृत्वमा सुरु गरिएको देउसी भैलो कार्याक्रम हाम्रै नेपाली गाऊघरको याद दिलाउने खालको थियो। उदियमान कलाकार नारान सुनारको आकर्षक शैलीको भट्याउने कला र क्याम्प भित्रको सबै नेपालीहरुको प्रत्येक कोठा-कोठामा खेलिएको उक्त देउसी भैलो कार्याक्रम वास्तवमै रमाईलो थियो। त्यसैले त विदेशीहरु पनि त्यस रमाईलो देउसी भैलो कार्याक्रमबाट मनोरञ्जन लिईरहेका भेटिन्थे। क्लबका अध्यक्ष बिमल गुरुङले दिनु भएको जानकारी अनुसार उक्त देउसी भैलो कार्यक्रममा कतारी रियल एक हजार पाँच सय एकहत्तर जम्मा भएको छ। जुन कोठामा नेपाली दाजुभाईहरु बस्छन् त्यहीमात्र खेलिएको उक्त भैलोमा उहाँहरुले पनि मन फुकाएर भैली टोलीलाई दान दक्षिणा दिनु भएको थियो। अध्यक्ष गुरुङले दिनुभएको जानकारी अनुसार उक्त भैलो कार्याक्रममा संकलित रकमलाई क्लबमा छलफल गरि कुनै रचनात्मक कार्यमा लगानी गरिने छ।

देउसी भैलो कार्यक्रमको समापनको अवसरमा छिट्टै नै कतार छाडेर आफ्नो जन्मभूमि नेपाल जान थाल्नु भएका क्लबका अत्यन्त सहयोगी सदस्य नारान सुनारलाई विदाई गरिएको थियो। क्लबको तर्फबाट अध्यक्ष बिमल गुरुङले सम्झना स्वरुप कतारी रियल पांच सय र मायाको चिनो स्वरुप हाते घडि सुनारलाई प्रदान गर्नुभएको थियो। नारान सुनार यहि १३ तारिखका दिन कतार नफर्कने गरि नेपाल जानुहुने जानकारी अध्यक्ष गुरुङले हामीलाई दिनु भएको छ।

कतारबाटः बिलबहादुर गुरुङ / एचकेनेपाल डट कम।

Popularity: 9%

2 comments November 12th, 2007

पोखरा बस दुर्घटनामा एकको मृत्यु

राजबहादुर गुरुङ, पोखरा / एचकेनेपाल डट कम, नोभेम्बर १२ -
आज बिहान पौने नौ बजे कास्कीको सराङ्गकोटबाट पोखरातर्फ आइरहेको ग १ ख १८५० नम्बरको बस पोखरा उपमहानगरपालिका - २ बिन्ध्यबासिनी मन्दिर नजिक ब्रेक फेल भइ दुर्घटना हुंदा कास्कीकोट गाबिस - ६ बस्ने मोहनलाल श्रेष्ठको मनिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको छ।

प्रहरीका अनुसार सराङ्गकोटबाट बसमा सवार मध्ये ४४ जना घाइते भएका छन् भने उनीहरुको पोखराको मनिपाल शिक्षण अस्पताल, गण्डकी अस्पताल र फिस्टेल हस्पिटलमा उपचार भैरहेको छ। प्रहरीले चालक रामबहादुर थापालाई नियन्त्रणमा लिइसकेको बताएको छ।

Popularity: 9%

Add comment November 12th, 2007

सिराहामा थप एकको अपहरण

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १२ -
सिराहा जिल्लाको किसनपुर गाविस निवासी गंगाराम साहलाई अज्ञात समूहले गएराति अपहरण गरेको छ।
अपहरणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन।

दुईसाता अघि सप्तरीबाट अपहरित बालक शिवकुमार दासलाई अपहरणकारीले अझै पनि मुक्त गरेका छैनन्। उनका बाबु महेन्द्र दासले आफ्नो छोराको सकुशल रिहाइका लागि पहल गरिदिन सञ्चारकर्मी र मानव अधिकारकर्मीसँग आग्रह गरेका छन्।

Popularity: 9%

1 comment November 12th, 2007

लाखौं चन्दा मागेपछि निर्माणाधिन अस्पतालको काम ठप्प

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १२ -
रौतहट सदरमुकाम गौरमा निर्माणधिन जिल्ला अस्पतालको ३ तल्ले भवनको निर्माण कार्य ठप्प भएको छ।

भूमिगत समूह संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा र तराई लिवरेशन टाइगर्सले भवन निर्माण ठेकेदारसँग तीस लाख रुपैयाँ चन्दा नदिए ज्यानमार्ने धम्की दिएपछि गत असोज १२ गतेदखि निर्माण कार्य ठप्प हुन पुगेको हो।

पाँच करोड रुपैयाँको लागतमा ५० शैय्या क्षमताको सो अस्पतालको निर्माण कार्य ८० प्रतिशत पुरा भएको छ। आम जनताको स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा समेत चन्दा मागेर निर्माण कार्य नै बन्द गराउनु निन्दनीय भएको रौतहटवासीको भनाई छ।

Popularity: 9%

Add comment November 12th, 2007

मिटर रिडर महेन्द्र यादव अपहरण मुक्त

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १२ -
केही दिनअघि अज्ञात समूहको अपहरणमा परेका नेपाल विद्युत प्राधिकरण सप्तरीका मिटर रिडर महेन्द्र यादव अपहरण मुक्त भएका छन्।

यादवलाई अपहरणकारीले गएराति दशबजे मानवअधिकारवादी र स्थानियवासीको रोहबरमा अपहरणमुक्त गरेका हुन्। यादल जण्डौल गाविसमा मिटर रिडिङ गर्न जाँदा अपहरणमा परेका थिए। अपहरणपछि अपहरणकारीको समूहले यादवको रिहाईको लागि तीनलाख रुपैंया माग गर्दै आएका थिए भने सहकर्मी कर्मचारीहरुले यादवको रिहाइको पहल गर्न सरकारलाई अल्टिमेटम दिंदै अस्ती बेलुकीदेखि सिराहामा अनिश्चितकालीन विद्युत आपूर्ति बन्द गराएका थिए।

Popularity: 9%

Add comment November 12th, 2007

द. कोरियामा स्वर्गिय पत्रकार साहको परिवारलाई राहत संकलन

केशव खडका, द. कोरिया / एचकेनेपाल डट कम, नोभेम्बर १२ -
नेपाली दूतावासमा आयोजित दिपावाली कार्यक्रममा प्रवासी नेपाली पत्रकार संघले गत असोज १८ तारिख माओवादी कार्यकर्ताद्वारा सूचना दिन भनि झुक्याएर बारामा पत्रकार वीरेन्द्र साहलाई अपहरण पश्चात निर्मम हत्या गरिएकोले यस्तो जघन्य कार्यको घोर भर्त्सना गर्दै शोक सन्तप्त परिवारलाई केही सहयोग पुगोस् भनि राहत संकलन कार्य गरिएको थियो।

राहत संकलन कार्यमा उपस्थित सम्पूर्ण नेपालीहरुले उत्सुकताका साथ सहयोग गरेका थिए। विभिन्न संघ संस्थाका पदाधिकारीहरुले पत्रकार स्व.वीरेन्द्र साहलाई अपहरण गरी निर्मम हत्या गर्ने माओबादी कार्यकर्तालाई तुरुन्त कडा कारवाही हुनु पर्ने र नेपाल सरकारले स्व. साहलाई शहिद घोषणा गर्नु पर्ने माग राख्नु पर्ने विचार व्यक्त गरेका थिए।

देउसी भैलो खेल्ने टोलीले उठाएका रकम ४ लाख वन पनि सहयोग स्वरुप भनी नेपालीदूतावासका कार्मचारी नायव सुब्बा हाकिम भण्डारीले प्रवासी नेपाली पत्रकार संघका अध्यक्ष डम्बर सुब्बालाई हस्तान्तरण गरिएको थियो। संकलन गरिएको रकम नोभेम्बर १५ तारिख भित्र नेपाल पठाउने योजना रहेको प्रवासी नेपाली पत्रकार संघका अध्यक्ष डम्बर सुब्बाले बताएका छन्।

Popularity: 9%

Add comment November 12th, 2007

स्वीट्जरल्याण्डमा दिपावली तथा लक्ष्मी जयन्ती

बिराज शर्मा र प्रकाश तिवारी, वेटिङ्गन / एचकेनेपाल डट कम, नोभेम्वर १२ -
शुभ दिपावलीको पावन अवसरमा जन सम्पर्क समिति स्वीट्जरल्याण्डद्वारा विविध कार्यक्रमको आयोजना गर्दै तिहार तथा लक्ष्मी जयन्ती मनाए।

आपसी भेटघाट शुभकामना आदान प्रदान, देउसी भैलो सम्बन्धी गीतहरुका साथै तिहार भोजको आयोजना गरिएको थियो। कार्यक्रममा विजया भट्टद्वारा दिपावलीको दियो कलस प्रज्वलन, कार्यक्रमकी संयोजक जली प्रधानको स्वागत तथा शुभकामना मन्तब्यबाट शुरु भएको उक्त कार्यक्रममा डा. विनय श्रेष्ठले नवगठित जन सम्पर्क समिति स्विट्जरल्याण्डका सदस्यहरुको परिचय गराउनु भएको थियो। जसमा जनक बानिया संयोजक र सदस्यहरु हिरालाल श्रेष्ठ, दिपक कार्की, जली प्रधान, सोमनाथ खरेल, बिराज ढुङ्गेल, मेदन गौली तथा जंगबहादुर खड्का रहनु भएको छ।

स्वीट्जरल्याण्डका लागि नेपालका कार्यबाहक राजदूत भरतराज पौडेलले प्रमुख अतिथिको आशनबाट शुभकामना मन्तव्य ब्यक्त गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा चर्चा गर्नुभएको थियो। सोही अवसरमा युवा कवि नारायण खड्का “जिज्ञासु ” ले महाकवि देवकाटालाई समर्पण गर्दै कविता पाठ गर्नुभएको थियो साथमा विराज ढुङ्गेलको साँस्कृतिक समूहद्वारा देउसी भैलो गीत प्रस्तुत गरेका थिए।

नेपालबाट टाढा रहेपनि हाम्रा साँस्कृतिक चाड पर्वहरु आपसमा मिलेर मनाउनले देशप्रतिको आस्था र आत्मियता बढ्दै जाने हुनाले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने उल्लेख गर्दै जन सम्पर्क समिति स्विट्जरल्याण्डका संयोजक जनक बानियाले सभा बिसर्जन गर्नुभएको थियो। यसरी सम्पन्न उक्त कार्यक्रमको संचालन समितका सदस्य मेदन गौलीले गर्नुभएको थियो।

स्वीट्जरल्याण्ड, वेटिङ्गनबाट बिराज शर्मा र प्रकाश तिवारी / एचकेनेपाल डट कम।

Popularity: 9%

Add comment November 12th, 2007

नेपाली दूतावास द. कोरियाको आयोजनामा तिहार कार्यक्रम (+Photo)

उत्तम गुरुङ, दक्षिण कोरिया / एचकेनेपाल डट कम, नोभेम्बर १२ -
तिहारको अवसरमा दक्षिण कोरियास्थित नेपाली भवनमा शनिबार सांझ लक्ष्मी पूजा भव्य रुपमा मनाइयो।

नेपाली संघ संस्थाहरुका प्रतिनिधिलगायत कोरियामा रहेका नेपालीहरुले द. कोरियामा पहिलो पटक दूतावासले आयोजना गरेको तिहार कार्यक्रममा सरीक भएका थिए। कोरिया प्रायदिपमा प्रवासी नेपालीहरुबीच पारिवारिक विछोडलाई आत्मा सन्तुष्टि र एक अर्कामा भेटघाट गरी सामुहिक रुपमा शुभ-कामना आदान प्रदान गर्ने हेतुले सो कार्यक्रमको आयोजना गरिएको कुरा कोरियास्थित दूतावासका कार्यवाहक राजदूत यादवप्रसाद खनालले बताउनुभयो।


कार्यक्रममा उपस्थित नेपालीहरुले लक्ष्मी पूजा गरी एक अर्कामा शुभ-कामना आदान प्रदान गर्नुका साथै केही क्षण नेपाली दूतावास प्राङगणमा देउसी भैलो खेली रमाईलो गरिएको थियो भने उपस्थित नेपालीहरुलाई नेपाली खानाको पनि व्यवस्था गरिएको थियो। सोही दिन कोरियाको ख्योङहिदो आनसानसीस्थित थ्वोइल बजारमा पनि उत्साही नेपाली युवाहरु जमघट भई लक्ष्मी पूजा तथा गोवर्धन पूजा गरि रातभरी देउसी खेली रमाईलो कार्यक्रम गर्नुका साथै शुभकामना आदान प्रदान गरिएको थियो।


थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। दक्षिण कोरियाबाट उत्तम गुरुङ / एचकेनेपाल डट कम।

Popularity: 9%

1 comment November 12th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....