Archive for November 13th, 2007

कतारमा दीपावलीको अवसरमा रक्तदान तथा देउसी भैलो (+Photo)

कुमार कार्की, दोहा, कतार / एचकेनेपाल डट कम, नोभेम्बर १३ -
शुभ दीपावलली २०६४ को अवसर पारेर चि. यु. स. कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाली दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्का, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव सागर नेपाल, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिती रहेको उक्त रक्तदान कार्यक्रमलाई हमाद मेडिकल कर्पोरेशनले सहयोग गरेको थियो।

कतारमा कार्यरत चितवने युवाहरुको सकृयतामा २००१ मा गठित चितवन युवा समूहले विगतमा पनि यस्ता रक्तदानका कार्यक्रमहरु गर्दै समाजसेवामा उदारता देखाउदै आएको छ। गत शुक्रवार कतारमा आयोजित रक्तदान कार्यक्रममा करिव ४५ जनाले रक्तदान गरेका थिए। चितवन युवा समूहका युवा कार्यकर्ताहरुको सकृयतामा आयोजित उक्त कार्यक्रममा स्वतस्फुर्त रुपमा रगत दान गर्नेहरुको राम्रो उपस्थिति रहेको थियो।
कतारमा दिनानुदिन वढ्दै गएको नेपालीहरुको मृत्युदरको प्रमुख कारण हृदयघात र रगत समयमा उपलव्ध हुन नसक्ने भएकाले रक्तदान गरी सहयोग गरेको रक्तदाताहरुले बताए।

त्यसै गरी सोही दिन वेलुका चितवन युवा समूहले नेपाली दूतावासमा आयोजना गरेको देउसी कार्यक्रममा कार्यवाहक नेपाली राजदूत रामकाजी खड्कालगायत थुप्रै चितवने तथा गैर चितवनेहरुको उपस्थिती रहेको थियो। आकर्षक शैलिमा प्रस्तुत गरिएको देउसी भैलो कार्यक्रममा सेलरोटीको स्वादमा नेपालीपन छाएको कुरा उक्त देउसी भैलो कार्यक्रममा उपस्थित महानुभावहरुले व्यक्त गरेको थिए।

देउसी कार्यक्रममा चितवन युवा समूहले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित सचिव सागर नेपाललाई सम्मान गरेको थियो। उक्त सम्मान कार्यक्रममा कार्यवाहक राजदूत रामकाजी खड्काले दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभएको थियो।


Popularity: 9%

1 comment November 13th, 2007

न्युयोर्कमा बलिहाङ तङनाम तथा फाल्गुनन्द जयन्ती सम्पन्न (+Phtoto)

बिक्रम लिम्बू नेम्बाङ, न्युयोर्क / एचकेनेपाल डट कम, नोभेम्बर १३ -
किरात याक्थुङ चुम्लुङ अमेरिकाले न्युयोर्क शहरको रिज्वूडमा हालै फाल्गुनन्द जयन्ती तथा बलिहाङ तङनाम “दीपावली साँझ” भब्यताकासाथ सम्पन्न गरेको छ।

हरेक साल आफ्ना स्थानीय जनसमुदायहरुको उपस्थितिमा याक्थुङ चुम्लुङ अमेरिकाले वार्षिक कार्यक्रमको रुपमा विविध कार्यक्रमहरुकासाथ मनाउंदै आएको बलिहाङ तङनाम “दीपावली साँझ” को रमाईलो कार्यक्रम यस वर्ष पनि महागुरु फाल्गुनन्द लिङदेनको स्मरण गर्दै मनाईएको छ। संयोगबस किरात धर्म भाषा तथा साहित्यको प्रचार प्रसार र संरक्षणकालागि अमूल्य योगदान दिने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १२३ औं जन्म जयन्ती पनि सोही दिन पर्न गएको थियो।

null
संस्थाका अध्यक्ष पुर्ण बहादुर लिम्बूले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तस्बीरमा पुष्पार्णण गर्दै दीप जलाएर शुरुवात गर्नु भएको कार्यक्रममा महागुरुको बिषयमा उपाध्यक्ष नगेन्द्र ईङनामले तथा बलिहाङ तङनाम “तिहार पर्ब” को बारेमा वरिष्ठ अधिवक्ता दुर्गा सुब्बाले संक्षिप्त जानकारी दिएका थिए। त्यसै गरी भूतपूर्ब अध्यक्ष तथा वर्तमान सल्लाहकार श्याम सुब्बा मेन्याङबोले यो तिहारको जमघटले परम्पराको संरक्षण गर्नुका साथै आपसी मेलमिलापको वातावरण बढाउंदै जाने छ भन्नु भयो।

परम्परागत लिम्बू भाषाबाट खेलिने देउसी भाका “लारिङ्गेक नाम्लिङ्गेक” को रमाईलो क्षणपछि उपस्थित सबैजनाले सामूहिक देउसी खेलेर रमाईलो गरेका थिए भने लोकप्रिय च्याब्रुङ नाच र रमाईलो धान नाँच नाच्दै डि.जे. मस्तिमा रम्दै कार्यक्रमको अन्त भएको थियो। महासचिव दिपेस सुब्बा चबेगुले संचालन गरेको कार्यक्रममा अध्यक्ष लिम्बूले सम्पूर्ण सहयोगी दाजुभाई दिदी बहिनीहरुमा आभार ब्यक्त गर्नु भएको थियो।

न्युयोर्कबाट बिक्रम लिम्बू नेम्बाङ / एचकेनेपाल डट कम।

Popularity: 9%

6 comments November 13th, 2007

सामूहिक राजीनामा फिर्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जिविस, सप्तरीका नासु प्रभुनारायण यादवको हत्यापछि शान्तिसुरक्षालगायतका सातसूत्रीय माग राखी सामूहिक राजीनामा गरेका सप्तरीका कर्मचारीहरुले शान्तिसुरक्षालाई कडा पार्ने आश्वासन दिँदै गृह मन्त्रालयले राजीनामा फिर्ता लिन आग्रह गरेपछि राजीनामा फिर्ता लिएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठगन, युनियन, गाविस हकहित संरक्षण केन्द्रलगायतका कर्मचारीसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी राजीनामा फिर्ता लिएको जनाएका हुन् ।

यादवको हत्यापछि सरकारी कार्यालय बन्द गरेर आन्दोलनमा उत्रेका सप्तरीका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारीमार्फ ४८ घण्टे अल्टिमेटमसहित सातसूत्रीय माग पूरा गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि पनि सरकार गम्भीर नबनेको भन्दै काममा नर्फकने निर्णय गरी ४६८ जना निजामती, वित्तीय संस्था र न्याय सेवाका कर्मचारीले सामूहिक राजीनामा गरेका थिए ।

कर्मचारीको राजीनामापछि सरकारका तर्फबाट प्रतिनिधि बनेर आउनुभएका पूर्वाञ्चल क्षेत्रीय प्रशासक नरेन्द्र दाहालसँगको छलफलपछि आगामी मङ्सिर २ गतेसम्म माग पूरा गर्ने सहमति भएअनुसार गृह मन्त्रालयले राजीनामा फिर्ता गर्न अनुरोध गरेपछि कर्मचारीहरुले राजीनामा फिर्ता लिएको जनाएका छन् ।

Popularity: 9%

Add comment November 13th, 2007

दलितको आँखा फुटाइयो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दशरथचन्द्र नगरपालिका वडा नं. ७ तितरी गाउँ बस्ने एक २८ वर्षीय दलित युवकको सोही गाउँको चियापसलमा प्रवेश गरी भाँडा छोएको आरोपमा चियापसलेले निर्घात् कुटपिट गर्दै एउटा आँखा फुटाइ दिएका छन् ।

भाइटीकाको साँझ मनध्वजराम लोहार नामका सो युवक स्थानीय दिलुवा पेला नामक व्यक्तिको चियापसल भित्र गएर प्लेटमा मासु मागेका थिए । आफैले प्लेट किन समातिस भन्दै साहु दिलुवा पेलाले नजिकैबाट दाउराको छडी समाती लोहारलाई मरणासन्न हुने गरी पिट्दै देब्रे आँखा फुटाइ दिएको थाहा भएको छ ।

देउसी भैलो खेलिसकेपछि खाजा खान गएका अन्य साथीसँगै पीडित मनध्वज पनि थिए । सबैले मासु माग्दा उनले पनि प्लेटमा मासु माग्दै गर्दा साहुले एक्कासी गाली गर्दै कुटेको उनका गाउँले मञ्जु लोहारले बताएका छन् ।

गरिवीका कारण उपचार नगराइ पीडित घरमै थला परेर बसेका छन् । धेरै चोट लागेको र आँखा समेत फुटेकोले उनका परिवार साह्रै चिन्तित छन् । पीडकलाई दण्ड दिन पीडितले कुनै पक्रिया चालेका छैनन् भने प्रहरी प्रशासन र दलितका हकहितमा काम गर्ने सङ्घसंस्थाहरु पनि अझसम्म मौन नै देखिन्छन् ।

Popularity: 9%

11 comments November 13th, 2007

काँग्रेस कार्यकर्ताको माअ‍ोवादीद्वारा हत्या भएको दावी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कपिलवस्तु जिल्लाबाट अपहृत नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य वकिल मुसलमानको माओवादीहरुले हत्या गरेको नेपाली काङ्ग्रेसले जनाएको छ ।

वकिल मुसलमानको मृत शरीर लुम्बिनी आदर्श गाविसको वडा नं. ६ मा गाडेको अवस्थामा फेला परेको थियो र सो शवलाई भीम अस्पतालमा ल्याई पोस्टमार्टम गरिएको छ ।

रुपन्देही जिल्ला क्षेत्र नं. ७ तेनुहवा गाविसका नेपाली काङ्ग्रेस गाउँ एकाइ समितिका सभापति अब्दुल मोकिम मुसलमानका भाई एवं नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य वकिल मसुलमानलाई कपिलवस्तु जिल्लाको पतरिया गाविसको सोहसाबजारबाट यही कात्तिक १६ गते करिब ४ बजे पाँच/सात जनाको समूहमा आएका माओवादीहरुले अपहरण गरी बेपत्ता बनाएका थिए ।

यो नृशंश र पाशविक हत्याको घोर निन्दा, विरोध र भर्त्सना गर्दै हत्यामा संलग्न अपराधीहरुलाई तदारुक्ताका साथ खोजी गरी कडाभन्दा कडा कारबाही गर्न र आम नागरिकमा शान्तिसुरक्षाको प्रत्याभूति दिन तथा मृतकका परिवारजनलाई उचित राहत एवं क्षतिपूर्ति उपलब्ध गराउन नेपाली काङ्ग्रेसले सरकारसँग माग गरेको छ ।

Popularity: 9%

Add comment November 13th, 2007

यो सालभित्र चुनाव नभए सात साल फर्कने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले २०६४ साल भित्रमा संविधानसभाको चुनाव भएन भने २००७ सालको स्थिति सिर्जना हुने शङ्का व्यक्त गर्नुभएको छ ।

नेकपा (एमाले) का क्षेत्रीय समन्वयन समिति रौतहटद्वारा छठ पर्वको सुअवसरमा आयोजित भेटघाट कार्यक्रममा उहाँले यस वर्ष संविधानसभाको निर्वाचन हुन सकेन भने आगामी वर्षका लागि नयाँ मतगणनालगायत विभिन्न बाधा अड्चन आउने सम्भावना देखिएकाले निर्वाचन अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

नेकपा माओवादीलगायत अन्य दललाई इशारा गर्दै देशका ग्रामीण भेगबाट जनाघाट गुमाइसकेकाले चुनाव सार्ने होड चलाएको आरोप उहाँले लगाउनुभयो ।

चुनाव सार्नु नै प्रतिक्रियावादीको बल दरिलो बनाउनुहो उहाँले भन्नुभयो ।

Popularity: 9%

2 comments November 13th, 2007

विष खुवाएर युवतीको हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वैतडीको दशरथचन्द नगरपालिका-२ गुइनाडा बस्ने तिलकसिंह खत्रीकी २३ वर्षीया श्रीमती विश्नाको विष मिसिएको रोटी खाई मृत्य भएको आशङ्कामा उनका श्रीमान र ससुरालाई हिरासतमा राखिएको छ।

अघिल्लो दिन बेलुकासम्म एकदमै स्वस्थ रहेकी खत्रीलाई दोस्रो दिन मृत अवस्थामा उनका दाइ राजेन्द्र कार्कीले फेला पारेका थिए ।

राजेन्द्रले प्रहरीलाई खबर गरेपछि प्रहरीको अनुसन्धान टोलीले मृतकको कोठामा रोटीमा मिसाइएको सल्फास नामक कीटनाशक बिषादी फेला पारेको थियो ।

श्रीमती खत्रीको लास अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

अस्पतालमा तीजना डाक्टरको दरबन्दी भएपनि एक महिनादेखि कोही नहुँदा लासको पोस्टमार्टम हुन सकिरहेको छैन ।

मृतकका श्रीमान् र ससुरालाई पक्राउ गरिएको छ ।

Popularity: 9%

1 comment November 13th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....