Archive for November 16th, 2007

नेपाली विद्यार्थीहरुद्वारा पाकिस्तानमा जारी संकटकालको विरोध

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १६ -
पाकिस्तानि राष्ट्रपति परबेज मुसरफले संबिधान निलम्बन गरी संकटकाल लागू गरेको बिरुद्ध नेपाली बिद्यार्थी संगठनहरुले आज बिरोध जनाएका छन।

नागरिक अधिकारको पुनर्बहालि गर्न र प्रजातन्त्रको स्थापना गर्न माग गर्दै आठ बिद्यार्थी संगठनहरुले आज राजधानी काठमाडौंस्थित पाकिस्तानी दूताबासमा बिरोधपत्र बुझाउँदै विरोध जनाएका हुन्। महाराजगन्ज चक्रपथमा भेला भई विद्यार्थीहरुले प्रदर्शनसहित पाकिस्तानी दूताबासमा बिरोधपत्र बुझाएको अनेरास्वबियुका अध्यक्ष ठाकुर गैरेले बताउनुभयो।

Popularity: 9%

Add comment November 16th, 2007

पत्रकार महासंघ अपहृत पत्रकार ठकुरीको खोजीमा

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १६ -
महेन्द्र नगरका पत्रकार प्रकाश ठकुरीको अवस्थाबारे बुझ्न नेपाल पत्रकार महासंघको टोली आज महेन्द्र नगरतर्फ गएको छ।

गत असार २१ गते अपहरणमा परेका पत्रकार ठकुरीको अवस्थाबारे बुझ्न महासंघको सुदूर पश्चिम उपसभापति डी आर पन्तको नेतृत्वमा एक टोली आज बिहान त्यसतर्फ गएको हो। टोलीमा महासंघका केन्द्रीय सदस्य पूर्ण बस्नेत र रमेश बिष्ट सहभागी हुनुहुन्छ। टोलीले महेन्द्रनगरमा पुगेर स्थानीय प्रशासनका अधिकारी, अधिकारवादी, सञ्चारकर्मी, पेशाकर्मी लगायतसँग छलफल गर्ने महासंघले जनाएको छ।

पत्रकार ठकुरीको अपहरणमा माओवादी सम्बद्ध वाइसीएलको संलग्नता रहेको पारिवारले बताए पनि वाइसीएलले भने त्यसको खण्डन गर्दै आएको छ।

Popularity: 9%

1 comment November 16th, 2007

फोरमद्वारा सरकारलाई पाँच दिने अल्टिमेटम

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १६ -
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मधेसी जनाधिकार फोरमको नेतृत्व पंक्तिबीच आज भेटवार्ता भएको छ।

आज विहान भएको भेटवार्तामा फोरमले सरकारसँग भएका सहमती मंसीर पाँच गतेभित्र कार्यान्वयन हुनुपर्ने अन्यथा छ गतेबाट आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

विहान भएको भेटमा फोरम अध्यक्ष उपेन्द्र यादवले आफूहरुसँग गरिएको सहमती कार्यान्वयन नभएकोमा असन्तुष्टी जनाउँदै आगामी पाँचदिन भित्रै कार्यान्वयन नभए चरणबद्ध आन्दोलनमा उत्रने कुरा प्रधानमन्त्रीलाई जानकारी गराएको फोरम पक्षले जानकारी गराएको छ।

फोरमको त्यस्तो दवाव आएपछि प्रधानमन्त्री कोइरालाले तत्काल शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पौडेललाई बोलाएर तत्काल सहमती कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो। भेटवार्तामा तराईमा संघर्षरत विभिन्न शशस्त्र मधेशी समूहहरुलाई पनि वार्तामा ल्याई तराईको अन्यौललाई सुधार्ने विषयमा पनि छलफल भएको वालुवाटार स्रोतले बताएको छ। भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो।

Popularity: 9%

Add comment November 16th, 2007

सरकारले कडा कारबाही गर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मन्त्रिपरिषदको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अनौपचारिक बैठकमा मुलुकको शान्तिसुरक्षाको स्थितिबारे छलफल भएको छ।

मुलुकका तीन सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसमेतको सहभागिता रहेको सो बैठकमा तर्राईमा राष्ट्रिय झण्डा जलाउने, नेपाल सरकार अङ्कित बोर्ड फ्याँक्नेदेखि लिएर कुटपिट, लुटपाट, हत्याहिंसाजस्ता घटना भइरहेकाले तिनलाई नियन्त्रण गर्न सरकारले जुनसुकै कदम पनि चाल्नेबारे छलफल भएको बैठकपछि भूमिसुधार व्यवस्थामन्त्री जगतबहादुर बोगटीले पत्रकारहरुलाई बताउनुभयो।

बैठकमा सुरक्षा प्रमुखहरुले आ-आफ्नो वस्तुस्थितिबारे जानकारी गराउँदै शान्ति सुरक्षाका लागि राजनीतिक प्रतिबद्धता खोजेकाले सुरक्षाकर्मीको मनोबल बढाउन र आपराधिक गिरोहलाई निरुत्साहन गर्न सबै राजनीतिक दल एक हुनु पर्छ भन्नेबारे पनि छलफल भएको जानकारी उहाँले दिनुभयो।

शान्ति तथा पुनःस्थापनामन्त्री रामचन्द्र पौडेलले बैठकमा सुरक्षा प्रमुखहरुले सुरक्षा स्थितिबारे जानकारी गराएको तर सरकारले लिएको सुरक्षा रणनीतिबारे बाहिर बताउन नमिल्ने बताउनुभयो।

Popularity: 9%

Add comment November 16th, 2007

प्रमद्वारा छठको शुभकामना

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्पूर्ण मिथिलाञ्चल प्रदेशमा सूर्य भगवानको उपासना गरेर मनाइने छठ पर्वका अवसरमा सबै दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कोइरालाले आज दिनुभएको शुभकामना सन्देशमा एकले अर्काको संस्कृति तथा रीतिरिवाज र धार्मिक परम्परालाई श्रद्धा र सम्मान गर्ने हाम्रो आफ्नो बेग्लै विशिष्ट परम्परा छ भन्दै यो परम्परा सदैव जीवन्त राखेर देशका सबै चार्डपर्व एवं रीतिरिवाजलाई नेपालीबीचको सम्बन्धसूत्रका रुपमा विकसित गर्दै लग्नुपर्नेमा जोड दिनुभएको छ।

मिथिलाञ्चलमा ठूलो धार्मिक श्रद्धाका साथ मनाइने छठ पर्व आज हाम्रो देशका अरु भागमा पनि मनाउन लागिएको छ, यो हाम्रो एकले अर्काको धर्म तथा धार्मिक विश्वासप्रति व्यक्त गरेको उदारता हो भन्दै प्रधानमन्त्री कोइरालाले छठको पवित्र दिनले सबैमा सुख, शान्ति र समृद्धिको विकास गराओस् भन्ने कामना पनि गर्नुभएको छ।

Popularity: 9%

Add comment November 16th, 2007

गणतन्त्र नभई चुनाव हुन्नः प्रचण्ड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले संविधानसभाको चुनाव गर्न गणतन्त्रको घोषणा अनिवार्य भएको बताउनुभएको छ।

घोराहीमा सम्पन्न थारुवान मुक्ति मोर्चाको प्रशिक्षण भेलापछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र घोषणा नहुँदासम्म प्रतिगामी चलखेल भइरहने दावी गर्नुभयो।

उहाँले समस्या समाधान गर्नका लागि नेपाली काङ्ग्रेस एक कदमअघि बढ्नुपर्नेमा जोड दिनुभयो।

Popularity: 9%

1 comment November 16th, 2007

आज छठ पर्व

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराईबासी नेपालीको महान चाड छठ पर्वका अवसरमा आज साँझ अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ्य दिई सम्पन्न गरिंदै छ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा तराईका नदी-तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ।

काठमाडौंमा बस्ने तराईबासीले विगत केही वर्षेखि रानीपोखरीमा भेला भई सो पर्व मनाउँदै आएका छन्।

सूर्य आराधनाको यस पर्वलाई ‘छठ’ भन्ने चलन छ। चैत महिनाको शुक्लपक्षमा ‘चैती छठ’ र कात्तिक महिनाको शुक्लपक्षमा ‘कात्तिकी छठ’ मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरैजसो श्रद्धालुले कार्तिकी छठलाई महत्व दिने गर्छन्।

यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ।

उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालु नुहाएर चोखो भई आफैँले बनाएको सात्विक भोजन गर्ने गर्छन्।

Popularity: 9%

Add comment November 16th, 2007

राजाकी दिदीको जग्गा कब्जा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) मकवानपुरले राजपरिवारको एकजना सदस्य र भारतीय नागरिकको १५ कठ्ठा जग्गा कब्जा गरेको छ।

हेटौडा नगरपालिका-४ मा रहेको राजा ज्ञानेन्द्र शाहका दिदी शान्ति सिंहको छ कठ्ठा सात धुर र भारतीय नागरिक अवतार रहमानको नौ कठ्ठा तीन धुर जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरिएको सङ्घका जिल्ला अध्यक्ष सिपी घिमिरेले जानकारी दिनुभयो।

उहाँले कब्जा गरेको जग्गा सुकुम्बासी र बाढीपीडितलाई बाँडिने जानकारी दिंदै २५ कित्ता अन्य जग्गा पनि कब्जा गर्न छानबिन भइरहेको बताउनुभयो।

Popularity: 9%

4 comments November 16th, 2007

पत्रकार ठकुरीको अपहरणको अभियोगमा दुई पक्राउ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चार महिनाअघि अपहरित पत्रकार प्रकाश ठकुरीको अवस्था अज्ञात रहेका बेला प्रहरीले अपहरण गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ।

उक्त घटनाको अनुसन्धानका सिलसिलामा प्रहरीले पोमलाल शर्मा र तुलछी भट्टलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक छविलाल बन्जाडेले बताउनुभयो।

ठकुरीको अवस्था र्सार्वजनिक गर्न चौतर्फीरुपमा दवाव आएपश्चात् उक्त घटनाको अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको अध्यक्षतामा जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका इन्सपेक्टर सदस्यसमेत रहेको चार सदस्यीय समिति गठन गरिएको छ।

समितिले १५ दिनभित्र प्रमुख जिल्ला अधिकारीलाई आफ्नो प्रतिवेदन बुझाइसक्ने बताइएको छ।

प्रहरीले हिरासतमा लिएका माओवादी कार्यकर्ता शर्मालाई यसअघि पनि थुनामा राखिएको र आवश्यक परे हाजिर हुने गरी कागज गराई छोडिएको बताइएको छ।

हाल माओवादीको महेन्द्रनगर नगर विकास समितिको सदस्यमा मनोनीत शर्माले ठकुरीलाई अपहरण गर्नेलाई ठकुरीको डेरा देखाइदिएको स्वीकारिसकेका छन्।

वाइसिएलका कार्यकर्ताले नै ठकुरीको अपहरण गरेको शर्माले स्वीकार गरेको भएपनि माओवादीले सोको खण्डन गर्दै आएको छ।

Popularity: 9%

Add comment November 16th, 2007

कतारमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा साहित्य गोष्ठी सम्पन्न

ज्ञानेन्द्र कोइराला, कतरा / एचकेनेपाल डट कम, नोभेम्बर १६ -
” बाह्र हजार शहिदहरुको सपना हुँ म
एक्काइस जना सपुतको संकल्प हुँ म
हृज्जारौ बेपत्ताको आस्था हुँ म
सयौ घाइतेको चाहाना हुँ म
न्याय र स्वतन्त्रताको युद्घ लड्ने
अजर अमर लोकतान्त्रिक गणतन्त्रको दुवो हुँ म ”

अहिले मुलुक गणतन्त्रमय बनिरहेको परिपेक्ष्यमा कतारमा रहेका साहित्य अनुरागी एंव कलम धर्मीहरुले पनि आफनो तर्फबाट लोकतान्त्रिक गणतन्त्रको पक्षमा मत जाहेर गरेकाछन् एक साहित्यिक गोष्ठीको आयोजना गरेर। कबिताका यी हरफहरु यसै गोष्ठि मार्फत महेन्द्र राईले वाचन गरिरहंदा गोष्ठी तालीमय भएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज शाखा दोहा कतारको आयोजनामा नोवेम्बर नौ शुक्रवारको दिन नेपाली दूतावासको सभाकक्षमा “लोकतान्त्रिक गणतन्त्रको लागि साहित्य गोष्ठी” सम्पन्न भएको छ। नेपाली दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काको प्रमुख आतित्थ्यमा अनेसास कतार शाखामा अध्यक्ष दिपक भेटवालको सभापतित्व तथा बेखर्ची ज्ञानको संचालनमा सम्पन्न साहित्य गोष्ठीमा ३१ श्रष्ठाहरुले आफनो रचना वाचन गरेका थिए।

९८ औं लक्ष्मी जयन्तीको अवसर पारेर आयोजना गरिएको यस साहित्य गोष्ठीमा श्रष्टाहरुले गजल कबिता र गीतका माध्यमवाट पूर्णतया लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका रचनाहरुमात्र वाचन गरेका थिए भने कार्यक्रम संचालकले महाकबि लक्ष्मीप्रसाद देवकोटाका प्रगतिवादी कबिताहरु वीचवीचमा समावेश गरेर लक्ष्मी जयन्तीलाई सार्थक तुल्याएका थिए। गोष्ठीमा सहभागी साहित्कारहरुले देश दुःखेको पीडा कवितामा शसक्त रुपमा उठाउका थिए। जसमा कवि बद्रीप्रसाद पराजुलीका कविताले यसरी बोलेका थिए।

” बल्लै आए भोले शंकर बन्दूकभाला बोकेर
कैलाश पर्बत जंगलबाटै,’ रकेट लञ्चर’ ठोकेर
कंशासूरका दरबार ठाना, रातारातै उडाए
आन्दोलनका हांग्रा पांग्रा, मेची काली गूडाए ”
यसरी अन्य सहभागी श्रष्ठाहरुले पनि मञ्चनै उचालेका थिए। प्रमुख अतिथिले कार्यक्रमको उद्घघाटन गरेर, महाकवि देवकोटाको तस्वीरमा माल्यापर्ण पश्चात अ.ने.सा.स.का सदस्य शेरबहादुर परियारको स्वागत मन्तब्यबाट कार्यक्रम अगाडि बढेको थियो। लक्ष्मी जयन्तीको साइतपारेर जुराइएको यस गोष्ठीमा पूर्णतया लोकतान्त्रिक गणतन्त्रको भावना भएका मात्र एकतीस जना कवि एवं गजलकारहरुले पालैपालो आफ्ना भावनाहरु पस्किएका थिए। अनेसासको यस कार्यक्रमलाइ कतारमा रहेका केही संघसस्था एवं ब्यक्तिहरुले सहकार्यमा एक्यबद्धता जनाएका थिए। जसमा बद्रीप्रसाद पाण्डे, सागर नेपाल, टि.वी.कार्की, जनप्रगतिशिल मञ्च, प्रवासी नेपाली सर्म्पकमञ्च, कतार नेपाली एकता समाज लगायतका थिए। गोष्ठीमा निशुल्क खाजा उपलब्ध गराएर सम्सरा थकाली भान्साघरले सहकार्य जनाएको थियो।

” तिमीले यूद्धका लागि शान्ति रोज्यौ
हामीले शान्तिकालागि यूद्ध खोज्यौ
एक्काइसौ शताब्दीका प्रथिमसहरु
‘त्यसैले त तिमीले हार्‍यौ,हामीले जित्यौ’ ”
हरि नेपालीका यिनै कविता जस्तै कसैले जीतको अनुभव त कसैले होसियार रहन खबरदारी गरे भने, कसैले ब्ङ्गयात्मक शैलीमा पुरानो शत्ताशैली एवं नेताहरुको उपहास गरे गोष्ठीमा उपस्थित सबैलाइ आभारप्रकट गर्दै सभापतिले कतारमा रहेका सम्पूर्ण श्रष्टाहरुलाइ अनेसासमा समाहित हुन आग्रह गर्दै अव प्रवासमा रहेका श्रष्टाहरु पनि लोकतान्त्रिक गणतन्त्रको उन्मुखतिर जागरुक भएका छन् भन्दै उहाँले आफ्ना भावना गजल मार्फत यसरी अभिब्यक्ति दिनु भयो।

” धरै छैन देशमा अब गणतन्त्र आउने दिन
रोल्पा, रुकुम, जाजरकोटले, दुईछाक पाउने दिन ”
गोष्ठीमा प्रमुख अतिथि रामकाजी खड्काका साथै एनआरएनए आइसीसीका सचिव सागर नेपाल, एनआरएनए आइसीसीका टि.वी.कार्की, एनआरएनए कतारका का.वा.अध्यक्ष दिलकिरण खजुम, जनप्रगतिशिल मञ्चका जनार्दन गिरी, कतार नेपाली एकता समाजका गंगा सुवेदी, ने.क.पा.एमाले आन्तरिक कमिटिका शम्शेरदीन मियाका साथै बिना खड्का, दीपिका भेटवाल, लगायत करिब ६० जना साहित्य अनूरागीहरुको उपस्थिति रहेको थियो।

Popularity: 9%

Add comment November 16th, 2007

अधिकारसँगै कामलाई पनि प्राथमिकता दिन मजदुरहरुलाई आग्रह

राज बहादुर गुरुङ, पोखरा / एचकेनेपाल डट कम, नोभेम्बर १५ -
मजदुरले आफ्नो कामलाई भन्दा अधिकारलाई प्राथमिकतामा राख्नाले औद्योगिक तथा श्रम क्षेत्रमा समस्या देखिएको बिहीवार पोखरामा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले तर्क गरेका छन्।

उनीहरुले मजदुरलाई मानवीय ब्यवहार गर्न समेत रोजगारदातालाई आग्रह गरेका छन्। पोखरा उद्योग बाणिज्य संघ तथा नेपाल उद्योग बाणिज्य संघको संयुक्त आयोजना तथा पोखरा उद्योग बाणिज्य संघको जर्मन साझेदार संस्था एचडब्लुके माइन्ज जर्मनीको सहयोगमा बिहीवार पोखरामा आयोजना भएको कानूनी सेवा संबन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो धारणा राखेका हुन्।

नेपाल उद्योग बाणिज्य महासंघले हालै स्थापना गरेको कानूनी सेवा केन्द्र र त्यसले प्रदान गर्ने सेवा र सल्लाह तथा श्रम बिवादको समाधान एवं औद्योगिक शान्ति स्थापनाको तरिकाबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले देशमा बढ्दै गएको औद्योगिक तथा श्रम अशान्तिको निदानको लागि ब्यवसायीहरु स्वयं जागरुक हुनुपर्ने बताउनुभयो। आफ्ना जायज तथा नाजायज माग पूरा गराउन मजदूरहरु गैह्र कानूनी रुपले तालाबन्दीमा उत्रनु दुःखदायी भएको उल्लेख गर्नुभयो। मौजुदा श्रम ऐन अनुसार आधिकारिक ट्रेड युनियनसँग पटकपटक भएका वार्ता र सहमतिले निकासको बाटो पत्ता लगाए पनि ब्यवसायीहरु कति बेला आफ्नो ब्यवसायीक प्रतिष्ठान बन्द हुने हो भन्ने चिन्ताबाट मुक्त हुने वातावरण निर्माणमा सहयोग गर्न उहाँले सबैसँग आग्रह गर्नुभयो।

नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गतको रोजगारदाता परिषदका सभापति रविन्द्रबहादुर श्रेष्ठले ब्यवसायी र मजदूरको संबन्ध सुमधुर हुनको लागि मजदुर तथा रोजगारदाता दुबैले कानूनी ब्यवस्थाबारे राम्रो जानकारी राख्नुपर्ने बताउनुभयो।

कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष दीपक श्रेष्ठले उद्योग तथा ब्यवसायीक प्रतिष्ठानमा हुने श्रम समस्या समाधानको लागि ब्यवसायीक क्षेत्रबाट भएको पहलको सह्राना गर्नुभयो। अन्तरक्रिया कार्यक्रममा पोखराका ४० जनाभन्दा बढी उद्योगी र ब्यवसायीहरुको सहभागिता रहेको थियो।

Popularity: 9%

Add comment November 16th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....