Archive for November 20th, 2007

ज्यादतीका कारण १६ नेपालीले कम्पनी छाडे

ज्यादतीका कारण १६ नेपालीले कम्पनी छाडे
दुई फर्किए, आठलाई रोजगारी र छ सम्पर्कविहिन

सुविन श्रेष्ठ दोहा, कतार / प्रतिनिधि एचकेनेपाल डट कम, नोभेम्बर २० -
अनेकौ सपना र ईच्छा बोकेर विदेशिएका युवाहरूको एउटै चाहना हुन्छ। केही रकम कमाउने र आर्थिकस्तर उकास्ने। तर जब आफूले नचिताएको कुरा हुनपुग्छ तब भने सबैतिर अन्धकार हुन्छ। यस्तै अवस्था भोग्नु परेका छन् कतारमा रोजगारका लागि आएका १६ नेपाली कामदारहरूले।

कतारको एक स्पोर्टस् क्लबमा खेल प्रशिक्षक तथा खेल सहायकका लागि आएका उनीहरू कम्पनीका मालिकको दुर्व्यवहार सहन नसकेपछि कम्पनी त्यागेका हुन्। कम्पनीका मालिकले बिनाकारण पिट्ने, थुक्ने र गाली गर्ने गरेकोले कम्पनी छाड्यौ। एक पीडितले एचकेनेपाल डट कमलाई गुनासो सुनाए। ज्यानको असुरक्षा बढेको थियो। त्यसमा फेरि सम्झौता अनुसारको कुनै सुविधा पनि दिएको थिएन। अर्का पीडितले जानकारी दिए। सुत्ने, खानेपानी र शौचालयको समेत व्यवस्था थिएन। कम्पनी छोडे लगतै उनीहरू १३ दिन दूतावासमा शरण लिएका थिए। ती नेपाली कामदारहरू यहाँ कार्यरत एजेन्टले निकालेको भिसाबाट आएका थिए। एजेन्टले झुक्याएर ल्याएको उनीहरूको आरोप छ।

यता यो समस्याका बारेमा स्पोन्सरसँग दूतावासको सहमति प्रक्रिया असफल भएपछि सो गुनासो यहाँको श्रम विभागमा पठाईएको थियो। फेरि विभागले यो समस्या समाधानका लागि सि.आइ.डि समक्ष सुम्पेको थियो। सि.आइ.डीबाट स्वदेश फर्किन चाहनेलाई नीजि खर्चमा फर्काईने व्यवस्था गरिएको हुन्छ। जुन प्रक्रियामा आफ्नो नीजि खर्चमा दुई नेपाली स्वदेश फर्किएका छन्। तर हामीसँग स्वदेश फर्किनका लागि पैसा छैन। एक कामदारले दुखेसो गरे। जे भएपनि विदेशिएपछि केही कमाएर जाने योजना सुनाए अर्का कामदारले। केही कमाएपछि स्वदेश फर्किन्छु। त्यत्रो ऋण गरेर आईयो। कसरी स्वदेश फर्किनु- उनीहरूले नाम प्रकाशित नगर्न आग्रह गर्दै सबै रकम फिर्ताको माग गरेका छन्। तर एजेन्टले आधा रकममात्र फिर्ता दिने सहमति भएको बताईन्छ। उनीहरूले एजेन्टलाई ५० हजार देखि १ लाख पाँच हजारसम्म तिरेर आएको बताएका छन्।

त्यस्तै १६ नेपाली कामदारहरूमा व्यवसायी सागर नेपालले आठ नेपालीलाई रोजगारी दिलाएका छन्। उनीहरू गोर्खा कन्ट्रयाक्टिङ्ग कम्पनीमा कार्यरत छन् भने बाँकी छ नेपालीहरू सम्पर्क बाहिर छन्। यता फेरि अहिले कतारमा गैरकानुनी रूपमा भागेर काम गर्ने नेपाली कामदारहरूको संख्या बढेको छ। गैरकानुनी बसेका नेपालीलाई सहयोग गर्न निकै कठिनाई हुन्छ। यहाँस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामकाजि खड्काले एचकेनेपाल डट कमलाई भन्नुभयो। भवितव्य दुर्घटना पर्दा पनि कुनै प्रक्रिया अघि बढाउन सकिदैन। भागेर काम गर्दा उहाँहरूलाई नै गाहो पर्छ। उहाँले थप्नुभयो । दुर्घटनामा बिमाका रकमहरू पाईदैन। अहिलेसम्म भाग्नेहरूको यकिन तथ्याङ्क नरहेपनि लगभग १५ हजारको संख्यामा रहेको दूतावासले जनाएको छ।

Popularity: 9%

9 comments November 20th, 2007

सुरक्षाको माग गर्दै कर्मचारीद्वारा कामकाज ठप्प

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २० -
सुरक्षाको माग गर्दै सिरहाका सरकारी कर्मचारी तथा शिक्षकहरुले आज पनि काम काज ठप्प पारेका छन्।

उनीहरुले सरकारले सुरक्षाको प्रत्याभूति मिलाउन नसकेको भन्दै कामकाज ठप्प पारेका हुन्। त्यसै गरी, तराईका बारा, रौतहट, सर्लाही र सप्तरीका गाबिस सचिवहरुले सामूहिक राजिनामा दिएपछि आजबाट स्थानीय निकायका सम्पूर्ण काम प्रभावित भएका छन्।

यसअघि सुरक्षाको माग गर्दै रौतहटका ९३, बाराका ९१, र सर्लाहीका ३६ गाबिस सचिवहरुले सामूहिक राजिनामा दिएका थिए।

Popularity: 9%

Add comment November 20th, 2007

सशस्त्र समूहद्वारा राजधानीमा धनमाल लुट

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २० -
सशस्त्र हतियारधारी डाँका समूहले गए राति राजधानीको बाफलमा १ लाख ५० हजार बराबरको धनमाल लुटपाट गरेका छन्।

बाफलस्थित बेनुपराज जोसीको घरमा डेरागरी बस्ने मुकेश अग्रवालको कोठाबाट गएराति पौने ११ बजे नगद, सुनका गहना तथा धनमाल गरी १ लाख ५० हजार बराबरको धनमाल लुटपाट गरेको प्रहरीले बताएको छ।

तीन जनाको संख्यामा आएका डाँका समूहले खुकुरी तथा पेस्तोल देखाई लुटपाट गरेका हुन्। लुटपाटमा संलग्न डाँका समूहको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।

Popularity: 9%

Add comment November 20th, 2007

आपतकालिन नेपाली सेवा समितिको सक्रियतामा नेपालमा विद्यालय निर्माण गरिने

द. कोरिया / एचकेनेपाल डट कम, नोभेम्बर २० -
देशमा केही गरौं भन्ने भावनाका साथ गत वर्ष स्थापना भएको नेपाली संस्था आपतकालिन नेपाली सेवा समिति दक्षिण कोरियाले देशमा तत्काल द्वन्दबाट प्रभावित भई शिक्षा र स्वास्थ्यबाट बञ्चित हुनपुगेका बालबालिकाहरुको उज्जवल भविष्यकाका लागि नेपालमा विद्यालय निर्माण गरिने भएको छ।

बिद्यालय निर्माण कार्यलाई सफल बनाउन सो संस्थाले कोरियाका विभिन्न संघ संगठन र व्यक्तिहरुलाई सहयोग गर्नका लागि आहृवान गरेको छ। जस अनुसार यही नोभेम्वर १८ तारिखका दिन सिनसङ सङग्योल चर्चले एक कार्यक्रमको आयोजना गरी आपलकालिन नेपाली सेवा समिति मार्फत सन २००८ मा विद्यालय निर्माणको लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

कोरियाका लागि नेपाली कार्यवाहक महावाणिज्यदूत यादव खनालले यसरी विदेशमा रहेर पनि यस्तो कार्यमा अघि बढ्न लागेकोमा आपतकालिन नेपाली सेवा समितिलाई धन्यवाद दिदै सरकारबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा यस्तो कार्यको लागि सहयोग गर्ने संस्था सिनसङ सङग्योल चर्चका महाप्रवन्धक लि सङ् होलाई धन्यवाद दिदै छिटो भन्दा छिटो सो कार्यको थालनी गरी पूर्णता दिन आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष अक्कलबहादुर तामाङले मन्तव्य दिदै आपतकालिन नेपाली सेवा समिति स्थापना भएको १ वर्ष नपुग्दै यति ठूलो कार्यक्रमको घोषणा गर्न पाएकोमा खुसी व्यक्त गर्दै पूर्ण जिम्मेवारीका साथ यो कार्य गर्ने कुरा व्यक्त गर्नुभयो साथै यसरी सहयोग गरिदिने संस्था सिङसङ सङग्योल चर्चलाई धन्यवाद दिनुभयो। योजना सफल बनाउन आफ्नो संस्थाको तर्फबाट पनि आर्थिक, सामाजिक, नैतिक र भौतिक आदि सहयोग जुटाउने कुरा व्यक्त गर्नुभयो। कोरियामा रहेका सम्पूर्ण संघ संस्थालगायत व्यक्तिहरुलाई आर्थिक सहयोग जुटाइ दिनुहुन अनुरोध गर्नुभएको छ। महावाणिज्यदूतलगायत संस्थाका अध्यक्षको भनाईलाई नेपाली भाषाबाट कोरियनमा उल्था गर्न सहयोग गर्नुहुने हरि कुमार श्रेष्ठ तथा रिपोर्ट तयार पार्न सहयोग गर्नु हुने ठाकुरपसाद दवाडी तथा कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनुभयो।

Popularity: 9%

Add comment November 20th, 2007

छोराद्वारा बाबुआमाको हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
उदयपुरको आँपटार गाविस वडा नं. २ हात्तिपाइले गाउँमा डिल्ली रायाले अंश विवादका कारण आफ्नै बाबुआमालाई बञ्चरो प्रहार गरी हत्या गरेको छ।

हत्या गरिएकामा ४० वर्षीय बुबा देवबहादुर राया र आमा तीर्थमाया रहेको छिमेकी टिकमान मगरले बताउनुभयो।

मृतकहरूको टाउको र शरीरका विभिन्न भागमा बन्चरो र ढुङ्गा प्रहारको चोट रहेको बताइएको छ।

दिउँसो १२ बजे बाबुआमाको हत्या गर्ने हत्यारा २१ वर्षीय डिल्लीलाई तत्काल गाउँलेहरूले पक्राउ गरी नियन्त्रणमा राखेका छन्।

Popularity: 9%

16 comments November 20th, 2007

सरसफाइको अभावमा वर्षेनी १३ हजारको मृत्यु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालमा बर्सेनी १३ हजार बालबालिकाको स्वच्छ खानेपानी र सरसफाइको अभावले मृत्यु हुने गरेको छ।

नेपालीलाई लाग्ने ८० प्रतिशतभन्दा बढी रोग फोहोर खानेपानी र सरसफाइको कमीले लाग्ने गरेको पाइन्छ।

खानेपानी र सरसफाइसँग सम्बन्धित रोगहरूका कारण स्वास्थ्यमा हुने खर्चमा प्रत्येक वर्ष अनुमानित रु. दुइ अर्ब २० करोडभन्दा बढी खर्च हुने गरेको छ।

विश्व शौचालय दिवसको उपलक्ष्यमा खानेपानी तथा सरसफाइ साझेदारी परिषद् नेपाल शाखाले यहाँ आयोजना गरेको एक कार्यक्रममा देशका सहरी क्षेत्र र गाउँघरका सीमित मानिसले मात्र शौचालय प्रयोग गर्ने गरेको जानकारी दिइयो।

हरेक बिहान करिब एक करोड ४० लाख नेपालीले खुल्ला ठाउँमा दिसापिसाव गर्ने गरेको र उचित सरसफाइको अभावका कारणबाट धेरैजसो महिला र बालबालिका पीडित बन्ने गरेको पनि सो अवसरमा बताइयो।

Popularity: 9%

1 comment November 20th, 2007

प्रचण्डले हलो अडकाएर राखेको आरोप

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
शिक्षा तथा खेलकुदमन्त्री प्रदीप नेपालले नेकपा (माओवादी) र अध्यक्ष प्रचण्डले अहिले देशको गतिलाई अड्काएको बताउनुभएको छ।

उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीद्वारा २० वटा नमूना उच्च माध्यमिक विद्यालयलाई आर्थिक सहयोग वितरण गर्न आयोजित समारोहमा उहाँले संविधानसभा निर्वाचनको गतिलाई नेता प्रचण्डले हलो अड्काएर राखेको आरोप लगाउनुभयो।

बीस वटा नमूना उच्च माविहरूलाई प्रति उच्च मावि रु.पाँच लाखका दरले आर्थिक सहयोग प्रदान गर्दै मन्त्री नेपालले गत साल नै एमालेले समानुपातिक निर्वाचनको प्रस्ताव ल्याएको बेलामा माओवादीले मानेको भए अहिले देशमा गणतन्त्र आइसक्ने थियो भन्दै अहिले त्यही मुद्दालाई माओवादीले अघिसारेर निर्वाचन गर्न ढिलाइ हुँदै गएको बताउनुभयो।

अहिले सातै राजनीतिक दललाई गणतन्त्र चाहिएको छ तर कसैले पनि एक अर्कालाई विश्वास नगर्नाले समस्या आएको बताउँदै उहाँले गणतन्त्र पार्टीले ल्याउने होइन, जनताले ल्याउने हो, त्यसैले पार्टी विवादलाई छाडेर त्यो अधिकार जनतालाई दिइनुपर्ने बताउनुभयो।

राजनीतिमा स्पष्ट दृष्टिकोणसमेत नभएका कारणले पनि थप समस्या सृजना गरेको बताउँदै उहाँले संविधानसभा निर्वाचनलाई पञ्चवषिर्य योजना ठानिएको आरोप लगाउनुभयो।

Popularity: 9%

2 comments November 20th, 2007

माअ‍ोवादी र काँग्रेस प्रमुख बाधक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा एमाले स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि माओवादी र काङ्ग्रेस नै प्रमुख बाधक रहेको बताउनुभएको छ।

प्रेस चौतारी सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो- ‘माओवादी र काङ्ग्रेस दुवै आ-आफ्ना अडानमा मस्त रहेका छन्, यस्तो अवस्थामा राजनीतिक गतिरोध अन्त्य हुन गाह्रो भएको छ।’

चर्का क्रान्तिकारी कुरा गरेर माओवादी संविधानसभाको निर्वाचन भाड्न उद्धत रहेको आरोप लगाउँदै स्थायी कमिटी सदस्य ज्ञवालीले भन्नुभयो- ‘क्रान्ति भनेको परिस्थितिको सापेक्षतामा हुने कुरा हो, यसलाई माओवादीले मनन् गर्नुर् आवश्यक छ।’

गणतन्त्र, पूर्ण समानुपातिक र मिश्रति निर्वाचन प्रणालीकै आ-आफ्ना अडानमा रहनुभन्दा दुवै पार्टी लचिलो हुन सके मात्र संविधानसभाको निर्वाचनमा सहजता आउने उहाँको भनाई थियो।

संविधानसभाको निर्वाचनका लागि एमालेले हदैसम्मको लचकता अपनाउन तयार रहेको जानकारी दिंदै एमालेका केन्द्रीय स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले माओवादी र काङ्ग्रेसका कारण मुलुकको राजनीति अवरुद्ध भएको आरोप समेत लगाउनुभयो।

Popularity: 9%

Add comment November 20th, 2007

राजमोले भण्डाफोर कार्यक्रम चलाउने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय जनमोर्चाले माओवादी र सरकारको चुनाव स्थगन गर्ने नीतिविरुद्ध यही मङ्सिर ६ गते देशव्यापीरुपमा भण्डाफोर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

स्थगन नभएको भए मंसिर ६ मा नै संविधान सभाको निर्वाचन हुँदै थियो।

संविधानसभाको चुनावको नयाँ मिति तोकेर त्यसलाई सम्पन्न गर्नु तथा गणतन्त्रको स्थापनालाई सुनिश्चित गर्न व्यापक जनचेतना उठाउनु र आन्दोलन सङ्गठित गर्नु आजको राष्ट्रिय आवश्यकता भएको छ भन्दै पार्टीले उक्त विषयमा जनमत तयार पार्न, आन्दोलनका लागि आधार तयार पार्न तथा सत्तारुढ राजनीतिक दल र सरकारमाथि दबाब दिन मङ्सिरमा एक हप्ताका लागि ‘संविधानसभा र गणतन्त्रको सप्ताह’ कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

Popularity: 9%

Add comment November 20th, 2007

संसदको बैठक दश मिनेटमात्र, दश दिनलाई स्थगित

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २० -
सोमबारबाट सुरु भएको व्यवस्थापिका संसदको हिउँदे अधिवेशन केही समय बसेर आगामी १० दिनका लागि स्थगित गरिएको छ।

दिउंसो ३ बजे सुरु भएको व्यवस्थापिका संसदको बैठकमा सभामुख सुवास नेम्वाङले गठबन्धनकारी सात दलले सहमति जुटाउन समय माग भएकोले १० दिनका लागि स्थगित गरिएको घोषणा गर्नुभएको हो।

यसअघि बसेको व्यवस्थापिका संसद कार्यव्यवस्था परामर्श समितिको बैठकले थप सहमतिका लागि केही समय माग गरेकोले १० दिनका लागि संसद स्थगित गर्ने निर्णय गरेको हो। आगामी बैठक मंसिर १३ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ। हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै सभामुख नेम्वाङले संसदले सहमतिको आधार खोज्नु पर्नेमा जोड दिँदै निर्वाचनका लागि अघि बढ्नु पर्ने बताउनुभयो। मुलुकलाई एक ढिक्का बनाएर अगाडि बढाउने आधार यो संसदले सुनिश्चित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

बैठकमा सरकारले नेपाल ट्रस्ट २०६४ तथा हातहतियार तथा खरखजाना दोस्रो संशोधन अध्यादेश २०६४ संसदमा दर्ता गराएको छ।

गृहमन्त्री कृष्णप्रसाद सिटौलाका तर्फबाट शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेलले ती दुई अध्यादेश संसदमा पेस गर्नुभएको हो। सात दलको बैठकले गणतन्त्र र समानुपातिक निर्वाचन प्रणाली कार्यान्वयनमा सहमति जुटाउन केही दिनका लागि सदन स्थगित गर्न सभामुखलाई आग्रह गरेको थियो।

Popularity: 9%

Add comment November 20th, 2007

बागलुङमा गोठमा आगोलागी दुई बालकको मृत्यु

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २० -
बागलुङमा एउटा गोठमा सोमबार आगो लाग्दा दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बागलुङको दक्षिणी क्षेत्रमा पर्ने जैदी गाविस - ५ का ५ वर्षका ओमकार राना र ४ वर्षका तिलक राना छन्।

विहान ८ बजेतिर स्थानीय आइतसिंह रानाको परालको गोठमा खेलिरहेका बालबालिकाबाट नै आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन्।

Popularity: 9%

1 comment November 20th, 2007

श्यामसुन्दर गुप्ता आपूर्ति मन्त्रीमा नियुक्त

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २० -
नेपाल सद्भावना पार्टी आनन्द देवीका महासचिव श्यामसुन्दर गुप्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको छ।

उहाँलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सोमबार नियुक्त गर्नुभएको श्रोतले जनाएको छ। सद्भावना आनन्दीदेवीको असन्तुष्ट पक्षका नेता राजेन्द्र महतोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट केही समयअघि राजीनामा दिनुभएपछि प्रधानमन्त्रीले गुप्तालाई नियुक्त गर्नुभएको हो।

Popularity: 9%

Add comment November 20th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....