Archive for November 21st, 2007

दार्जिलिङमा प्रशान्तको हयाङओभर - आनन्द श्रेष्ठ

आनन्द श्रेष्ठ, धरान/ एचकेनेपाल डट कम, नोभेम्बर २१ -
हरेक पटक दार्जिलिङ घुमेर फर्किएपछि मलाई केहि न केहि लेखौ लाग्छ। मैले यो पटक दार्जिलिङको चर्चित पात्र प्रशान्तलाई मेरो यात्रा वृतान्तको नायक बनाएको छु। (more…)

Popularity: 9%

Add comment November 21st, 2007

धरानमा पहिलो एफ.एम. रेडियो

आनन्द श्रेष्ठ धरान / एचकेनेपाल डट कम, नोभेम्बर २१ -
धरानमा पहिलो एफ. एम. रेडियोको शुरुआत गर्ने अवसर युद्धताका नेकपा (माओवादी) द्वारा भूमिगतरुपमा संचालित गणतन्त्र एफ.एम.ले स्वीकृति पाएको छ।

धरान -११ स्थित कल्याण चोकमा स्थापना गरिएको अत्याधुनिक प्रविधियुक्त एफ.एम. स्टेशनको माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महराले गत शनिवार उद्घाटन गर्नु भएको थियो। उद्घाटन समारोहमा नेकपा (एमाले) का नेता अशोक राई, नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाललगायत माओवादीका सांसदहरु र पत्रकारहरुको ठूलो उपस्थिति रहेको थियो। ०६० साल अशोज २१ गते उदयपूरवाट शुरु भएको सो एफ.एम.युद्धताका पूर्वी नेपालका २७ जिल्लाका गाउँ, शहरमा आफ्ना सन्देशहरु पूर्‍याउदै आएका थिए। युद्ध विरामपछि धनकुटा, डाँडा बजारस्थित ध्वजे डाडामा बाँसमाथि एन्टेना ठडयाएर प्रसारण गर्दै आएको थियो।

गत वर्ष माओवादीहरु सरकारमा सामेल भई सकेपछि यो रेडियोलाई विधिवत रुपमा दर्ता गरी जनसंचार केन्द्र नामक संस्थालाई जिम्मा दिएर सामूदायिक रेडियोमा परिणत गरिएको थियो। ९५.१ मेघाहर्जमा सन्न सकिने सो एफ.एम.बाट हाल १८ घण्टा सम्म परीक्षण प्रसारण गरी समाचार र जनवादी गीतहरु बजाउदै आएको छ।

हाल २७ वटा जिल्लामा सुनिने यो एफ.एम.लाई चाडै नै २४ घण्टामा लैजाने कुरा जनसंचार केन्द्रका महासचिव धनबहादुर लिम्बुले जानकारी दिनु भयो। झण्डै ५० लाख लागतमा सञ्चालन हुन लागेको सो एफ.एम.ले सर्वसाधारणलाई पनि सहभागी गराउने उद्देश्यले ५ हजार दरको शेयर वितरण गरेको छ।

धरानबाट आनन्द श्रेष्ठ / एचकेनेपाल डट कम।

Popularity: 9%

7 comments November 21st, 2007

शान्ति सम्झौताको एक वर्ष

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माअ‍ोवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता भई सशस्त्र युद्ध अन्त्य भएको घोषणा भएको आज एक वर्ष पूरा भएको छ।

शान्ति सम्झौताका कतिपय बूँदा अझै कार्यान्वयन हुन सकेका छैनन्। चन्दा उठाउन बन्द गर्ने, बेपत्ता नागरिकलाई सार्वजनिक गर्ने जस्ता बूँदाहरु अझै अलपत्र परेका छन्।

शान्ति सम्झौतामा उल्लेख भए अनुसार अन्तरिम संविधान, अन्तरिम संसद र अन्तरिम सरकारको पनि गठन भइसकेको छ। तर त्यसमा उल्लेख गरिए अनुसार जेठ मसान्तसम्ममा गर्ने भनिएको संविधान सभाको निर्वाचन मंसिर ६ का लागि सारिए पनि अहिले अनिश्चितकालका लागि स्थगित हुन पुगेको छ।

विस्तृत शान्ति सम्झौतापछि नेपालीहरु शान्तिको आशामा जति खुशी भएका थिए, यो एक वर्षभित्र तराईमा भएका विभिन्न हिंसाका घटना र शान्ति सुरक्षामा आएको ह्रासले झन् चिन्तित भएका छन्। यही वर्ष काठमाडौँमा माअ‍ोवादी जनयुद्धका क्रममा समेत नभएको सर्वसाधारणलाई लक्षित शृङ्खलावद्ध बम विस्फोट भयो जसका दोषीहरुलाई अझैसम्म पक्राउ गर्न सकिएको छैन।

Popularity: 9%

Add comment November 21st, 2007

रौतहटका सबै गाविस सचिवद्वारा राजीनामा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
रौतहट जिल्लाका सम्पूर्ण गाविसका सचिवहरूले सामूहिक राजीनामा जिल्ला विकास समितिमा पेस गरेका छन्।

गाविस सचिवहरूको संयुक्त आन्दोलनको फलस्वरूप नेपाल सरकार, स्थानीय विकास मन्त्रालयका सहसचिव स्तरीय टोली र गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालबीच भएको सम्झौतामा बुँदागत रूपमा उल्लेखित शर्तहरूको हालसम्म कुनै कार्यान्वयन नभई हत्या अपहरण सिलसिला जारी नै रहेकोले राजीनामा गरिएको संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ।

राज्यबाट दायित्व निर्वाह नभई मौलिक अधिकारको बाँच्न पाउने अधिकार हनन् भइरहेकोले आफ्नो ज्यानसहित जहानपरिवारको भविष्यलाई हेरी हिजोदेखि लागु हुने गरी गाविस अध्यक्षलगायत सम्पूर्ण पदबाट बाध्यात्मक सामूहिक राजीनामा पेस गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Popularity: 9%

Add comment November 21st, 2007

अनलाइन मिडियाको कार्यसमिति हेरफेर

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अनलाइन मिडिया एसोसिएसन नेपाल (ओमान)को प्रथम साधारणसभाले कार्यसमितिको अध्यक्षमा दिनेश बस्नेतलाई चयन गरेको छ।

यसैगरी, ओमानको उपाध्यक्षहरूमा तिलक मल्ल, कुमार श्रेष्ठ र विभोर बराल, महासचिवमा धर्मराज भुसाल, सचिवमा सुनिता रेग्मी र कोषाध्यक्षमा क्षितिज रेग्मी तथा सदस्यहरूमा वैकुण्ठ ढुंगाना, सुभद्रा गौतम र सविन तुलाधर रहनु भएको छ।

नेपालबाट प्रकाशन हुने र नेपाली भाषामा विदेशी भूमिबाट प्रकाशन हुने अनलाइनहरूको साझा संस्था ओमानलाई थप समावेशी बनाउने उद्देश्यसहित विधानमासमेत संशोधन गरिएको सो संस्थाले जनाएको छ।

यसअघि साधारणसभाको उदघाट्नका अवसरमा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले मुलुकमा प्रजातन्त्र अपहरित अवस्थामा रहेका बखत अनलाइन मिडियाले सूचना सम्प्रेषणमा निकै ठूलो योगदान पुर्याएको स्मरण गर्दै यसलाई मूलधारको माध्यमको रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभएको थियो।

Popularity: 9%

Add comment November 21st, 2007

सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको गठन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त थारु राष्ट्रिय मोर्चा, मधेसी जनअधिकार फोरमको असन्तुष्ट पक्ष, सङ्घीय लिम्बुवान राज्य परिषद र तामाङसालिङ स्वायत्त राज्यपरिषद्ले संयुक्त रूपमा आयोजना गरेको बृहत् राष्ट्रिय राजनीतिक भेलाले सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चा गठन गर्ने निर्णय गरेको छ।

मोर्चाले मुलुकको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नुपर्ने, जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने र जातिहरूको ऐतिहासिक पृष्ठभूमि, उत्पत्ति, भाषा र क्षेत्रहरूको आधारमा आत्मनिर्णयको अधिकारसहित स्वायत गणराज्यहरूको स्थापना गर्न संवैधानिक व्यवस्था हुनुपर्ने माग अघि सारेको छ।

पत्रकार सम्मेलनमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमल छाराहाङले राष्ट्रिय मुक्ति आन्दोलनमा सक्रिय राजनीतिक सङ्गठनहरूको बीचमा गठन भएको मोर्चाले आन्दोलनलाई अझ सशक्त रूपमाअघि बढाउने बताउनुभयो।

केही सञ्चारमाध्यमहरूले मोर्चामा आवद्ध भएका सङ्गठनहरूलाई जातीय सङ्गठनका रूपमा चित्रण गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष छाराहाङले आफूहरू राजनीतिक सङ्गठन भएको दावी गर्नुभयो।

मधेसी जनअधिकार फोरमको असन्तुष्ट पक्षका उपाध्यक्ष किशोरकुमार विश्वासले मोर्चाले अघि सारेका मागको सम्बन्धमा आज सातदिने अल्टिमेटम सहित प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाइने र मागको सुनुवाइ नभएमा सशक्त शान्तिपूर्ण आन्दोलनमा उत्रिने बताउनुभयो।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली नयाँ जनगणना गरेर सो आधारमा लागु गर्नुपर्ने माग पनि मोर्चाले राखेको छ। विसं २०५८ मा गरिएको जनगणनालाई आधार मानेर लागु गरिने पूर्णसमानुपातिक प्रणालीलाई मान्यता नदिने मोर्चाले जनाएको छ।

Popularity: 9%

3 comments November 21st, 2007

सामाजिक परिचालिकाको धर्ना जारी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आफ्नो सेवा सुविधामा समयानुकूल समायोजन हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका सामाजिक परिचालिकाहरूले पुल्चोकस्थित महिला विकास विभाग अगाडि धर्ना दिएका छन्।

यसअघि आन्दोलनमा उत्रिएका सामाजिक परिचालिकाहरुले विभागमा तालाबन्दी गरेका थिए।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको मातहतमा महिला विकास कार्यालयअर्न्तर्गत देशका ७५ वटै जिल्लाका विभिन्न गाविसमा महिला सशक्तीकरण र महिला उत्थानका लागि २०५७ सालमा महिला जागृति तथा आयआर्जन कार्यक्रम लागु गरी सामाजिक परिचालिका नियुक्त भई कार्यरत छन् ।

राष्ट्रिय महिला जागृति सङ्घर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका सामाजिक परिचालिकाहरुले निजामती सेवा ऐनअनुसार योग्यताको कदर गरी श्रेणी निर्धारण, कार्यावधिलाई गणना गरी स्थायी नियुक्ति तथा निजामती सेवा ऐनअनुसार पाउने सेवासुविधाको माग गरेका छन्।

समितिका अध्यक्ष सङ्गीता गजुरेलले सरकारले आफूहरुको माग पुरा नगर्दासम्म काममा नफर्किने बताउनुभयो।

महिला विकास कार्यालयले दिएको निर्देशनअनुसार तोकिएको सम्बन्धित गाविसमा गई ग्रामीण क्षेत्रका महिला, बालबालिका, अपाङ्ग, दलित, जनजाति र उत्पीडित वर्गलाई समेटेर उनीहरूसँग प्रत्यक्ष सर्म्पर्कमा रही काम गरेका ती परिचालिकाले आठ वर्षम्म पनि सुरु तलब स्केल रू. दुइ हजार मासिकमै काम गरिरहेका छन्।

मुलुकभर ९३१ जना सामाजिक परिचालिकाको नेतृत्वमा ५६२ वटा सहकारी संस्थासमेत स्थापना भएको बताइएको छ।

Popularity: 9%

Add comment November 21st, 2007

सिरहाका कर्मचारी कडा सुरक्षा घेराभित्र

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सिरहा जिल्लामा बढ्दो आपराधिक घटनाका कारण जिल्ला प्रशासन कार्यालयले जिल्लाका दुइ नगरपालिकामा सुरक्षा घेराप्रणाली लागु गरेको छ।

प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीका अनुसार सदरमुकाम सिरहास्थित सिरहा नगरपालिका र लहान नगरपालिकालाई दृष्टिगत गरी सुरक्षाघेराप्रणाली लागु गरिएको हो।

सो प्रणालीअर्न्तर्गत सिरहा नगरपालिकाका आठवटा तथा लहान नगरपालिकामा छवटा नाकामा चेकप्वाइन्ट खडा गरी बाहिरबाट आउने सवारीसाधन तथा सर्वसाधारणलाई कडारुपमा जाँच गरेपछि मात्र नगरभित्र प्रवेश गर्न दिनेछ।

सो प्रणालीले र्सवसाधारण तथा बाहिरबाट आउने जाने सवारीसाधनलाई कठिनाइ भएपनि सुरक्षित हुने तथा अवान्छनीय क्रियाकलाप रोकिने विश्वास गरिएको छ।

Popularity: 9%

Add comment November 21st, 2007

पत्रकार ठकुरीको अपहरण माओवादीले नै गरेको ठहर

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २१ -
कञ्चनपुरका पत्रकार प्रकाशसिंह ठकुरीको अपहरणमा माओवादीको संलग्नता रहेको ठहर पत्रकार महासंघको मिसनले गरेको छ।

ठकुरीको खोजी तथा रिहाई र अपहरणवारे स्थलगत अध्ययन गर्न कञ्चनपुर पुगेको नेपाल पत्रकार महासङ्घको मिसनका सदस्य रमेश विष्टको मिसनले विभिन्न पक्षसंग गरेको छलफलमा पत्रकार ठकुरीको अपहरण माओवादीले गरेको पुष्टी भएको जानकारी दिनुभयो। माओवादीको कुन तहका कार्यकताहरुको अपहरणमा संलग्नता छ भन्नेवारे छानविन भइरहेको उहांले वताउनुभयो। ३ दिनअघि कञ्चनपुर पुगेको महासघंको मिसनले माओवादी जिल्ला नेतृत्वसंग गरेको छलफलमा उनीहरुले वोमलाल आफ्नो कार्यकर्ता भएको स्वीकार गरे पनि अपहरणको गरेको भन्ने कुरा अस्वीकार गरेका छन्।

अध्ययनका क्रममा अन्य कार्यकर्ताहरुको समेत ठकुरीको अपहरणमा संलग्नता सहितको अध्ययन प्रतिवेदन आज सार्वजनिक गरिनेछ। कञ्चनपुर वसाईका क्रममा मिसनले महेन्द्रनगरमा सुरक्षा निकाय, नागरिक समाज, विभिन्न दलका स्थानीय नेताहरु, पत्रकार ठकुरीको परिवारसँगको छलफलका क्रममा माओवादीवाहेक सम्पूर्ण पक्षले अपहरणमा माओवादीको संलग्नता रहेको बताएका छन्।

उनीहरुले माओवादीका तर्फबाट नगर विकास समिति सदस्य तथा माओवादी निकट स्वास्थ्यकर्मी संघका सचिव वोमलाल शर्माले पत्रकार ठकुरीको घर देखाएपछि वाइसिएलले अपहरण गरेको शर्माले स्वीकार गरिसकेको जानकारी मिसनलाई गराएका थिए। गत असार २१ गते महेन्द्रनगर नगरपालिका - १ बाट अपहरणमा परेका पत्रकार ठकुरीको रिहाईका लागि पहल गर्न महासंघका उपसभापति डीआर पन्तको संयोजकत्वमा तीन सदस्यीय मिसन खटिएको छ।

Popularity: 9%

Add comment November 21st, 2007

तेस्रो लिङ्गीहरुको चेतावनी

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २१ -
तेस्रो लिङगीले संविधानसभामा आफूहरुको प्रतिनिधित्वको ग्यारेन्टी नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

तेस्रो लिङ्गीहरुको संस्था नील हीरा समाजले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आफूहरुमाथि राज्यले उपेक्षा कायमै राखे संघर्षको विकल्प नभएको बताए। समाजले सरकारसमक्ष तीन सूत्रीय मागसमेत अघि सारेको छ।

संविधानसभाको चुनावमा सम्पूर्ण नेपाली यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अन्य नेपाली अल्पसंख्यक सरह प्रतिनिधित्व हुने अधिकारको ग्यारेन्टी हुनुपर्ने, सम्पूर्ण नेपाली तेस्रो लिङ्गीले सोही नाममा नेपाली नागरिकता पाउनुपर्ने, संविधानसभाको चुनावमा सम्पूर्ण नेपाली यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अन्य नेपाली महिला पुरुषसरह भोट हाल्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्ने माग उनीहरुको छ।

समाजका अध्यक्ष सुनीलबाबु पन्तले सदीयौंदेखि तेस्रो लिङ्गीहरु बहिष्कृत, शोषित, उत्पिडित साथै विभेदको शिकार हुदै आएकाले चुप लागेर नबस्ने चेतावनी दिनुभयो। उहांले जनआन्दोलन-२ बाट प्राप्त लोकतन्त्रको सबैले उपभोग गरिरहेको अवस्थामा आफूहरु त्यसबाट वञ्चित भएको भन्दै असन्तुष्टी पोख्नुभयो।

संविधानसभामा सबै जाति, भाषा, क्षेत्र, समुदाय, लिंगका जनताले आफनो अधिकार र स्थानको सुनिश्चितता हुनुपर्ने माग गरिरहदा तेस्रो लिङ्गीले पछिल्लो माग उठाएका छन्। उनीहरुले माग पूरा नभए सडक संघर्षदेखि सिंहदरबार घेराउ गर्न वाध्य हुने बताए।

Popularity: 9%

1 comment November 21st, 2007

संविधानसभा हुनेमा शंका - एमाले महासचिव

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २१ -
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले सरकारको कार्यशैलीका कारण संविधानसभा चुनाव हुनेमा शंका उत्पन्न भएको बताउनुभएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा महासचिव नेपालले दुई /दुई पटक चुनावको मिति तोकेर पनि गराउन नसक्नु सरकारको असफलता भएको टिप्पणी गर्नुभयो। अहिलेको सरकार आफ्नो आयु लम्बाउने बाहेक अरु कुनै काममा सफल नभएको उहाँले आरोप लगाउनुभयो।

काँग्रेसको शासन सञ्चालन तरिका कुकुरको पुच्छर जस्तो बाङ्गो रहेको टिप्पणी गर्दै महासचिव नेपालले जनता उकुस-मुकुस भएर छट्पटाई रहेको अवस्थामा वर्तमान सरकार मस्तसँग निदाई रहेको बताउनुभयो। तराईको सुरक्षा अवस्थाप्रति चिन्ता प्रकट गर्दै नेपालले तराईका कर्मचारीलाई सुरक्षा दिन नसक्नु बिडम्बना भएको बताउनुभयो।

Popularity: 9%

Add comment November 21st, 2007

अनिश्चितकालिन बन्दका कारण जनजीवन प्रभावित

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २१ -
नेकपा माओवादीले हिजोदेखि आहृवान गरेको अनिश्चितकालिन सिरहा बन्दका कारण सदरमुकाम सिरहा, लहान, मिर्चैया, गोलबजार र धनगढी लगायतको जनजीवन प्रभावित भएको छ।

आफ्ना कार्यकतालाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै माओवादीले आहृवान गरेको बन्दका कारण जिल्लामा शिक्षण संस्था, बजार तथा यातायात ठप्प रहेको छ। पूर्व पश्चिम राजमार्गको सिरहा सडक खण्डमा वाइसीएल कार्यकर्ताले टायर बालेर सडक अबरुद्ध पारेपछि सवारी साधनहरु विच बाटोमा नै अलपत्र परेका छन्।

प्रहरीले भने स्थानीय आनन्द यादवको हत्यामा संलग्न भएकोले माओवादी कार्यकर्ता जुरी ठाकुर र हरिनारायण पासवानलाई पक्राउ गरिएको बताएको छ।

Popularity: 9%

Add comment November 21st, 2007

नेकपा माओवादीको अन्तर्राष्ट्रिय सम्वन्ध विस्तारको क्रम तीव्र

सम्वाददाता, अउरिच जर्मनी / एचकेनेपाल डट कम, नोभेम्बर २१ -
नेकपा माओवादीका वरिष्ठ केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज क. गौरव पार्टीको अन्तर्राष्ट्रिय सम्वन्ध विस्तारको क्रममा हाल यूरोपको एक महिने भ्रमणमा व्यस्त हुनुहुन्छ।

यसैक्रममा उहांले युरोपका विभिन्न देशहरुका राजनैतिक दलहरु, सरकारका प्रतिनिधिहरु, कुटनीतिज्ञहरु, गैह्रसरकारी संस्थाका प्रतिनिधिहरु, मानव अधिकारकर्मीहरु, युरोपवासी नेपालीहरुसंग भेटघाट गरी नेपालको राजनैतिक अवस्था र यस अवस्थामा सम्वन्धित सवैको दायित्वको बारेमा नेकपा माओवादीको धारणाको बारेमा प्रष्ट पार्दै नयां नेपाल निर्माणको क्रमलाई वैचारिक तथा भौतिक रुपमा सहयोग गर्न सवै पक्षलाई आहृवान गरेको कुरा बताउनु भएको छ। सोही क्रममा क. गौरवले ग्रीन पार्टी जर्मनीका प्रवक्ता तथा सांसद थिलो होपेसंग भेटघाट गर्नुभयो सोही पार्टीले आयोजना गरिएको एक पत्रकार सम्मेलनमा भाग लिग लिदै सम्वाददाताहरुले नेपालको सन्दर्भमा राखेका प्रश्नहरुको उत्तर दिनुभयो।

नेपालको राजनैतिक अवस्थाको बारेमा चर्चा गर्दै गौरवले भन्नुभयो हाम्रो पार्टी शान्तिपूर्ण ढंगले पनि नेपालमा परिवर्तन गर्न सकिन्छ भन्ने विश्वासका साथ शान्ति प्रक्रियामा आएको छ र यस प्रक्रियामा शुरु देखिनै जिम्मेवार ढंगले शान्ति सम्झौता पालन गर्दै अगाडि बढेको छ तर देशी तथा विदेशी प्रतिकृयावादी तत्वहरु नेपालमा फेरि पनि सामन्तवादी राजतन्त्रलाई स्थापित गर्न चाहिरहेका छन् र विभिन्न बाहनाहरु मार्फत हामीलाई युद्धमा फर्काउने प्रयास गरिरहेका छन्। त्यसैले नेपालको यस राजनैतिक संकटबाट अग्रगमनमा जानका लागि सबै प्रगतिशील तथा जनतान्त्रिक शक्तिहरुले समर्थन र सहयोग गर्न अत्यन्त आवश्यक रहेको बताउनुभयो।

भेटघाटको अवसरमा नेपाल र जर्मनीको सम्वन्धको वारेमा चर्चा गर्दै विगतमा जर्मन सरकारले नेपालको सामन्तवादी राज्यसत्तालाई जोगाइ राख्न जर्मन सरकारले गरेको प्रयासको भर्त्सना गर्दै होपेले भने, हाम्रो पार्टी नेपालमा सामन्तवादी राज्य सत्ताको अन्त्य भई नयां नेपाल निर्माण गर्ने नेपाली जनताको आन्दोलनलाई सहयोग गर्न तयार छ। सांसद होपेले उनको पार्टीको प्रतिनिधि मण्डलले आगामी मार्चमा नेपालको भ्रमण गर्ने र यो भेटघाटको क्रमलाई निरन्तरता दिने कुरा बताए।

त्यस्तै गरेर क. गौरवले नेपाललाई लामो समयदेखि विविध तवरबाट सहयोग पुर्याउंदै आएका विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा जर्मनीकै अर्को शहर हृयाम्वर्गमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनु भएको थियो।

Popularity: 9%

Add comment November 21st, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....