Archive for November 22nd, 2007

प्रचण्ड अदालतको कठघरामा उभिन तयार (+Photo)

राजबहादुर गुरुङ पोखरा / एचकेनेपाल डट कम, नोभेम्बर २२ -
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सात पार्टीबीच गणतन्त्रको प्रस्ताव पारित भएमा समानुपातिक निर्वाचन प्रणालीका बारेमा सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत निर्णय गर्न सकिने बताउनुभएको छ।

क्रान्तिकारी पत्रकार संघ कास्कीद्वारा बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो। सो अवसरमा उहाँले गणतन्त्रको प्रस्ताव र पूर्ण समानुपातिक चुनाव प्रणालीका बारेमा कोही कसैसँग सम्झौता हुन नसक्ने र अब सात पार्टीले मात्र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका बारेमा निर्णय नगरी विगतमा सरकारसँग सम्झौता गरेका जनजाति लगायतका अन्य पक्षहरु सम्मिलित गरी गोलमेच सम्मेलन गरिनुपर्छ भन्नुभयो।


बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा बोल्नु हुंदै माओवादी अध्यक्ष प्रचण्ड। तस्वीरः सुदर्शन रन्जित, पोखरा / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले नेपालमा शान्ति स्थापनाका लागि खटिएको संयुक्त राष्ट्रसंघीय उच्चायोग अनमिनको थप छ महिना म्याद थप्ने सहमति भए पनि अनमिनको कार्यक्षेत्र र अन्य अधिकारहरु थप्न नहुनेमा जोड दिनुभयो। यसअघि बीबीसी नेपाली सेवाको ‘साझा सवाल’ कार्यक्रममा बोल्नु हुंदै माओवादी अध्यक्ष प्रचण्डले विगत युद्धकालमा भएका मानवअधिकार हननका घटनामा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परेमा आफू सो अदालतमा उभिन तयार रहेको जानकारी दिनु हुँदै कानूनको पालना गर्न आफू सदैव तत्पर रहेको स्पष्ट पार्नुभयो।

युद्धकालीन अवस्थामा चितवन जिल्लाको बाँदरमुडेमा भएको घटनाप्रति दुःख प्रकट गर्नुहुँदै आफूले सो घटनाका बारे प्रत्यक्ष कुराकानी गर्न घटना भएको क्षेत्र माडीमा जाने कार्यक्रम तय गरे पनि आफूलाई सो क्षेत्रमा जान नदिनका लागि गम्भीर षडयन्त्र भएको र त्यसमा ठूलै शक्तिको हात रहेको उल्लेख गर्नुभयो। आफूले माडी बाँदरमुडे घटनामा परेका पीडित पक्षलाई राहत दिनका लागि देशव्यापी रुपमा नै ठूलो रकम जम्मा गरेको तीन महिना बिति सकेको जानकारी दिनुहुँदै त्यसका लागि आफूलाई माडी जान रोक्न खोज्ने षडयन्त्रकारीहरुको खोजी गर्न सम्बन्धित पीडित पक्षहरुलाई आग्रह गर्नुभयो।


तत्काल सरकारको नेतृत्व परिवर्तनको पक्षमा आफू नरहेको बताइरहँदा माओवादी अध्यक्ष प्रचण्डले अन्तरिम संसदको विशेष बैठकले पारित गरेको प्रस्तावलाई प्रधानमन्त्री कोइरालाले कार्यान्वयन गर्न आलटाल गरेको आक्षेप गर्नुभयो। आफूहरु सके सातै पार्टीको सहमति होस् भन्ने पक्षमा रहेको जनाउनु हुँदै सहमति नभए सरकारकै नेतृत्व परिवर्तन गरेर जानुपर्ने आवश्यकता रहने र त्यति पनि हुन नसके सडकबाट नै गणतन्त्र स्थापना गरिने दाबी गर्नुभयो। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 9%

10 comments November 22nd, 2007

प्रधानमन्त्री र कार्टरबीच भेट

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २२ -
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गठबन्धन दलहरुसंगको सहमतिबाट छिटै संविधानसभा निर्वाचनको मिति तोकिने बताउनु भएको छ।

नेपालको जारी शान्ति प्रक्रिया र स्थगित संविधानसभाको निर्बाचन बारे छलफल गर्न हिजो नेपाल आई पुग्नु भएका अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरसंग आज भएको भेटमा प्रधानमन्त्री कोईरालाले यस्तो बताउनु भएको हो।

बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा भएको भेटमा पूर्व राष्ट्रपति कार्टरले पटक/पटक निर्वाचन सारेकोमा चासो र चिन्ता व्यक्त गर्नुभएको थियो। भेटपछि प्रधानमन्त्री निबास बालुवाटारमा उपस्थित संचारकर्मीहरुसंग छोटो कुरा गर्दै पूर्व राष्ट्रपति कार्टरले दलहरुसंगको सहमतिमा छिट्टै नै निर्वाचनको नयाँ मिति तय गरिने प्रधानमन्त्री कोइरालाले जानकारी गराउनु भएको बताउनु भयो।

कार्टरले आजै निर्वाचन आयोगका पदाधिकारीहरुसँग पनि छलफल गर्नुभएको छ। साथै कार्टरले माओवादी अध्यक्ष प्रचण्डसंग पनि भेटघाट गरी जारी शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन लगायतका बारेमा छलफल गरिने जानकारी दिनु भयो।

प्रधानमन्त्री कोइरालालको विदेश मामिला सल्लाहकार आदित्य बरालका अनुसार भेटका क्रममा दलहरुवीचको असमझदारीका कारण निर्वाचन स्थगित हुन पुगेकाले यसै वर्षभित्रमा निर्वाचन सम्पन्न गर्ने दलहरु प्रतिबद्ध भएको प्रधानमन्त्रीले कार्टरलाई जानकारी गराउनु भएको थियो। पूर्व राष्ट्रपति कार्टरले आजै आधिवासी जनजाति महांसघका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिसंग पनि भेटघाट गर्ने जनाइएको छ।

कार्टरले हिजो नेपालमा आइपुगे लगतै राजनीतिक भेटघाट शुरु गर्नुभएको हो। उहाँले हिजै महासचिव माधवकुमार नेपालसंग त्रिभुवन विमानस्थलमा नै करिब एक घण्टा छलफल गर्नु भएको थियो। भेटमा नेपालमा संविधानसभा निर्वाचन स्थगित भएकोमा उहाँले चिन्ता प्रकट गर्नुभएको थियो।

Popularity: 9%

Add comment November 22nd, 2007

दूतावासको लापर्वाहीले र एअरपोर्टमा घुस लिईयो

रवि भट्ट, दोहा / एचकेनेपाल डट कम, नोभेम्बर २२ -
नेपाली दूतावासले पासपोर्ट नविकरणमा लापर्वाही गरिदिनाले पर्वतका केशबहादुर शेर्पुजा पुनलाई कतार फर्कनमा निकै कठिनाई भयो।

नेपाली कर्मचारीको भ्रष्ट आचारणको के कुरा गर्नु र ? जनताको सेवक भनिएकाहरू नै अरुको अप्ठ्यारो स्थितिलाई आङ्खनो लागि सुनौलो मौकाकारुपमा बदल्छन्। विना संकोच घुस मागे त्रिभुवन विमानस्थलमा कार्यरत सुरक्षाकर्मीले र यी पीडित पनि अन्ततः बाध्य भए आफूसंग भएका खोतलखातल सवै रकम बुझाउन।

गत १७ नोभेम्बरमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा आउने क्रममा आफूले भोगेका पीडाबारे केश बहादुर भन्छन्- ‘के गर्ने हजुर? दुखीलाई जहां गयो त्यहि ठक्कर ..’ पासपोर्टको फोटोमा पनि र दायां कतै पनि आधिकारिक ब्यक्तिको हस्ताक्षर नभएपछि अध्यागमनका कर्मचारीले उनलाई रोकेका थिए। के गरुं के गरुं भएर अत्तालिएका केशबहादुरका आंखा रसाइसकेका थिए। आफ्नै फाइदाको लालचा बोकेका एक सुरक्षाकर्मीले कानमा सुटुक्कसंग ‘कुरो मिल्छ र म मिलाउंछु’ भनिदिएपछि उनको कतार आउने आशाको दियो अलि चम्किलो भयो। भिसाको अवधि सकिन लागेको र कतार फर्केर तुरुन्तै नविकरण गर्नुपर्ने भएको बेलामा विमानस्थलमै रोकिनुपर्ने भयो भन्ने एक त्रासले उनको मन कुँडिएको थियो। केशबहादुरलाई एकान्तमा लगेर ती सुरक्षाकर्मीले दायां बायां चनाखो दृष्टि फैलाए अनि खासखुसे आवाजमा बोले- ‘पैसा कति छ देउ भाई ? म काम मिलाउंछु ।’

‘मनि पर्स’मा पुनसंग रहेको नेपाली रुपैयां १७ सय १५ र ३ डलर समेत अध्यागमनमा खटिएका ती सुरक्षाकर्मी देवेन्द्र तिवारीले लिएर गए। ‘किन पैसा लिने काम गर्नुहुन्छ, पैसा लिएपछि काम हुने नत्र नहुने हुन्छ र-’ यस सम्वाददाताको सवालमा उनको जवाफ थियो- ‘हाकिमले मान्दैनन् हजुर, के गर्ने यस्तै हो ।’ यस संवाददाताले आङ्खनो नेपालको र कतारको परिचयपत्र देखाए लगत्तै तिवारीले भने- ‘ठीकै छ तपाईं जानु, म भाईलाई छिट्टै पठाई दिनेछु।’ अध्यागमनका अर्का एक कर्मचारीलाई अनुरोध गर्दा उनले भने- ‘तपाई जानुस्, त्यहां भन्नुस र पैसा पर्दैन मान्छे पनि लिएर जानुस्।’ एउटै कार्यालयमा काम गर्ने कर्मचारीहरूवीच पनि आपसी समन्वय नभएको उनीहरूको बोलीबाट पनि स्पष्ट झल्किन्थ्यो।

कतारमा नविकरण गरिएको पासपोर्टमा के समस्या परेछ भनि यस संवाददाताले हेदा पनि अध्यागमनले देखाएको कारण ठीक थियो। केश बहादुरको पासपोर्ट (पासपोर्ट नम्बर १८८२८७४) २००३ मा कतारबाट नविकरण गरिएको थियो र २७ जुन २०१३ सम्म म्याद रहेको छ। सन् २००३ मा नविकरण सो पासपोर्ट नविकरण गरिंदा कतारमा तत्कालिन द्धितीय सचिव राजाराम बर्तौला र सहचारी श्रीकृष्ण थापा कार्यरत थिए। हाल बर्तौला बेइजिङमा र थापा जापानमा रहेका छन्। उनीहरूकै कार्यकालमा भएको यो एक लापर्वाहीले ६ बर्षदेखि कतारको एक स्थानीय कम्पनीमा रिगरको रुपमा कार्यरत केशबहादुरले दुख पाए।

‘पासपोर्टमा केही छुटेको छ छैन राम्रोसंग हेनुपर्ने कर्तब्य सबैको हुनुपर्छ। पछि मात्र सोच्ने बानीले केशबहादुरको जस्तै समस्या झेल्नुपर्नेछ’ विमानस्थलमा केशबहादुरको यो समस्याका प्रत्यक्षदर्शी पाल्पाका हरि पौडेलले भने। थुप्रै बर्ष कतार बसेका केशबहादुरलाई ‘आफ्नो पासपोर्ट पनि किन पहिल्यै नहेरी हिडेको-’ भन्ने जबाफमा उनी भन्छन्- ‘दूतावासले यस्तो गरिदेला भन्ने हामी सोझासाझालाई के थाहा हुन्छ र हजुर !’

पछिल्लो समयमा भने पहिलेको भन्दा छिटो, छरितो काम भएको धेरैको टिप्पणी छ। यस्तो अवस्थामा एक साताभित्र भए पासपोर्ट नयां बनाउन सकिने र ढिला भए संशोधन गर्न पनि सकिने अन्यथा लाग्ने दस्तूर तिरी नयाँ बनाउनुपर्ने दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काले बताउनुभयो।

Popularity: 9%

6 comments November 22nd, 2007

दोहामा जनसाँस्कृतिक मञ्चको स्थापना

रवि भट्ट, दोहा / एचकेनेपाल डट कम, नोभेम्बर २२ -
नेपाली जन प्रगतिशिल मञ्च, कतारका उपाध्यक्ष प्रेम बि.क., सहकोषाध्यक्ष हरि नेपाली र प्रगतिशिल कलाकार पुष्प वाईबाको आतिथ्यमा दोहामा यसैसाता बसेको एक भेलाले किसन पुरी (प्रयास) को अध्यक्षतामा १५ सदस्यीय नेपाली जनसाँस्कृतिक मञ्च, कतारको स्थापना गरेको छ।

नव गठित साँस्कृतिक मञ्चको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः गमबहादुर न्यौपाने, फूर्वा लामा, बलाराम घर्तिमगर र चेतन रोका चयन हुनुभएको छ। सदस्यहरुमा चीरन पुन, जुमान बिष्ट, ऋषिराम थापामगर, रोहन राई, केशव सुनार, विकास थापा, प्रशान्त मुखिया, बिष्णु सापकोटा, प्रेमकाजी बि.क. र खगेन्द्र बि.क. चयन हुनुभएको छ। त्यस्तै प्रेम बि.क.को सयोजकत्वमा हरि नेपाली र पुष्प बाइबा रहनुभएको सल्लाहकार समिति पनि गठन गरिएको छ।

Popularity: 9%

Add comment November 22nd, 2007

कतारमा प्रवासको आवाज (+Photo)

सुविन श्रेष्ठ दोहा, कतार / प्रतिनिधि एचकेनेपाल डट कम, नोभेम्बर २२ -
यहाँ पत्र-पत्रिकाको प्रकाशन वृद्धिसँगै प्रवासी नेपाली सर्म्पर्क मञ्चको ‘प्रवासको आवाज’ एक समारोह बीच विमोचित भएको छ।

केन्द्रीय सदस्य चन्द्र रानाले स्वागत मतव्य दिनुभएको सो समारोह ने.क.पा.एमाले प्रवास पार्टी कमिटीका सचिव शम्शेरदीन मियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। मुखपत्रको समिक्षाको क्रममा कतार नेपाली एकता समाजका सचिव गंगा सुवेदीले उत्ताउला र छाडा प्रवृतिका पुस्तक हेर्ने समय यस्ता वैचारिक मान्यता बोकेको पुस्तकमा समर्पित हुदाँ बेग्लै महत्व हुने बताउनुभयो। साथै गैर-आवासीय नेपाली अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव सागर नेपालले नेपाली कमजोर भएको धारणा राख्दै अबका पुस्ता कमजोर नहोस् भनेर सम्बन्धित सबै जुट्नुपर्ने खाँचो रहेको औल्याउनुभयो। यसैगरि अनेसासका अध्यक्ष दीपक भेटवालले पुस्तक संस्कृति मोहले बिचारको दृष्टिकोण फराकिलो हुने बताउनुभयो। मतव्यको क्रममा गैर-आवासीय नेपाली संघ कतारका का.वा अध्यक्ष दिलकिरण खजुमले यो मुखपत्र मात्र नबनेर प्रवासी नेपालीहरुका वास्तविकतालाई पस्किन सकेको खण्डमा सुनमा सुगन्ध हुने विचार व्यक्त गर्नुभयो। साथै मुखपत्रका प्रधान सम्पादक रामहरि गैरे, राजधानी साप्ताहिकका उप- सम्पादक दिपक पौडैल, व्यवसायी बद्रि प्रसाद पाण्डे, समिक्षक भोजराज मिश्र, कतार जन प्रगतिशिल मञ्चका जनार्दन गिरी, टि.वि कार्की, इन्जिनियर नारायण प्रसाद चौधरी, मोहम्मद सिद्धिक, नानु नेपाल, बिलबहादुर गुरुङ, लेखनाथ खतिवडा, द्रोण बस्नेत, परशुराम भट्टराई लगायतले मुखपत्रका बारेमा चर्चा - परिचर्चा गर्नुभएको थियो।


“संविधानसभाको चुनाव लोकतान्त्रिक गणतन्त्रको स्थापना - आजको आवश्यकता राज्यको पुनर्स्थापना” नारा आत्मसात गर्दे सञ्चालित समारोह मञ्चका अध्यक्ष नरेश श्रेष्ठको सभापतित्व सम्पन्न भएको थियो। मुखपत्र प्रकाशित गर्नुको प्रमुख उद्धेश्य प्रवासी गतिबिधि तथा कार्यक्रमहरु के कस्ता छन् भन्ने हो। अध्यक्ष श्रेष्ठले भन्नुभयो। विशेष गरी प्रवासी नेपालीहरुको समस्याहरुलाई उठाईनेछ। मञ्चको मुखपत्रको रूपमा प्रकाशन आरम्भ गरेको ‘प्रवासको आवाज’ चौमासिक रूपमा प्रकाशन गरिने मञ्चले जनाएको छ। समारोहमा उपस्थित अतिथिहरुलाई आयोजकको तर्फबाट हेमलाल पाण्डेले धन्यवाद ज्ञापन गर्नुभयो। पूर्ण के.सी.ले कार्यक्रम संचालन गर्नुभएको थियो।


(’बेखर्ची’ ज्ञानेन्द्र कोइरालाको सहयोगमा)

Popularity: 9%

Add comment November 22nd, 2007

पत्रकार ठकुरीको अपहरण वाईसीएलले गरेको ठहर

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल पत्रकार महासङ्घको मिसन टोलीले महेन्द्रनगरका पत्रकार प्रकाशसिंह ठकुरीको हत्यामा माओवादी सम्बद्ध योङ कम्युनिस्ट लिग (वाइसिएल)को संलग्नता रहेको ठहर गरेको छ।

महासङ्घका उपसभापति डिआर पन्तको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिद्वारा र्सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ- पत्रकार ठकुरीको पृष्ठभूमि, अपहरण घटनाको प्रकृति, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, परिवार, घटनामा संलग्न माओवादी कार्यकर्ताको बयान र प्रहरी प्रशासनको भनाइबाट वाइसिएलले पत्रकार ठकुरीको अपहरण गरेको पुष्टि हुन्छ।

प्रतिवेदनमा नेसनल रिपब्लिकन आर्मीका नाममा आएको विज्ञप्तिमा पत्रकार ठकुरीको हत्या भइसकेको सङ्केत गर्छ तर अपहरणमा आफ्ना कार्यकर्ताको संलग्नतालाई अस्वीकार गरेर माओवादीले घटनालाई झन् रहस्यमय बनाउन खोजेको देखिएको उल्लेख छ।

पत्रकार ठकुरीको अपहरणमा माओवादीको संलग्नताले गर्दा प्रहरी प्रशासन कारबाही प्रक्रियामा सक्रियरुपमा अगाडि बढ्न नसकेको मिसनको ठहर छ भन्दै प्रतिवेदनमा घटनामा प्रत्यक्षरुपमा संलग्न व्यक्तिहरु पहिचान भइसक्दा पनि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिननसक्नु त्यसको प्रमाण हो भनिएको छ।

प्रतिवेदनमा माओवादीबाट भएको पत्रकार ठकुरीको अपहरण बृहत् शान्तिसम्झौताको उल्लङ्घन हो, फरक आस्था र विचार राख्ने व्यक्तिलाई दुस्मनकै कित्तामा राखेर हिंसात्मक कारबाही चलाउने प्रवृत्तिको निरन्तरताको प्रमाण भएको उल्लेख छ।

सो टोलीले पहिचान भइसकेका अपराधीलाई तत्काल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाउन र पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

Popularity: 9%

Add comment November 22nd, 2007

स्वर्गीय वीरेन्द्र साहको कलम लिलाम नगरिने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माओवादीद्वारा हत्या गरिएका बाराका पत्रकार वीरेन्द्र साहले प्रयोग गर्ने गरेको कलम एक कार्यक्रमबीच नेपाल पत्रकार महासङ्घका महासचिव महेन्द्र विष्टलाई हस्तान्तरण गरिएको छ।

पत्रकार साहको दाहसंस्कार गरिएको १३औँ पुण्यतिथिको अवसरमा कलैयामा महासङ्घ शाखाले आयोजना गरेको श्रद्धाञ्जलि सभामा शाखा सभापति विनोद प्याकुरेलले महासचिव विष्टलाई सो कलम हस्तान्तरण गर्नुभएको हो।

कलमसँगै पत्रकार साहको एभिन्यूज टेलिभिजनको परिचय पत्रसमेत हस्तान्तरण गरिएको थियो।

माओवादीद्वारा हत्या गरिएको ३५औँ दिनपछि जिल्लाको डुमरबाना गाविस-७ स्थित टौलिहवाबस्तीको नजिक जङ्गलमा जमिनमुनि गाडिएको अवस्थामा फेला परेको साहको लास सँगै उनले प्रयोग गर्ने गरेको कलम र सो परिचयपत्र फेला परेको थियो।

पत्रकार साहको लाससँगै खल्तीमा रहेका सो कलम ऐतिहासिक महत्वको हुने बताउँदै महासचिव विष्टले साहको कलम महासङ्घको केन्द्रीय कार्यालयमा सुरक्षित गरी राखिने जानकारी दिनुभयो।

पत्रकार साहको कलम खरिद गर्न देशका विभिन्न महानुभावले चासो देखाएको जानकारी दिँदै विष्टले सो कलम लिलाम बिक्रीमा राख्न नहुने बताउनुभयो।

Popularity: 9%

2 comments November 22nd, 2007

यही वर्ष संविधान सभाको निर्वाचन गर्न माग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सद्भावना पार्टी (आ) को यही मङ्सिर ४ र ५गते बसेको राष्ट्रिय कार्य समितिको बैठकले २०६४ सालभित्र नै संविधानसभाको निर्वाचन गराउन सरकारसँग माग गरेको छ।

संविधानसभामा वर्गीय, जातीय, लैङ्गिक एवं क्षेत्रीय प्रतिनिधित्वको सन्तुलित समायोजनका लागि मिश्रति निर्वाचन पद्धतिअर्न्तर्गत समानान्तरको ठाउँमा मिश्रित सदस्यीय समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको पार्टीले ठहर गरेको छ।

मधेसमा सशस्त्र राजनैतिक समूहसँग सरकारले अबिलम्व वार्ता गरोस् भन्ने माग गर्दै पार्टीले शान्तिसुरक्षाको स्थितिमा सुधारका लागि आवश्यक कदम उठाउन सरकारसँग माग गरेको छ।

राज्यको सुरक्षासहित विभिन्न निकायमा मधेसी, दलित, जनजाति एवं महिलाको समानुपातिक प्रतिनिधित्वको सर्न्दर्भमा रहेको संवैधानिक व्यवस्था अक्षरशः लागु गर्नका लागि माग गर्दै पार्टीले मधेसका समस्या समाधान पूर्णतया शान्तिपूर्ण आन्दोलनमार्फत् हुनु पर्छ, मधेस रक्षा बाहिनीजस्ता समूहको गठन औचित्यहीन भनेको छ।

Popularity: 9%

Add comment November 22nd, 2007

इराकमा बन्दी बनाइएका नेपाली छिट्टै मुक्त हुने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
परराष्ट्र मन्त्रालयले इराक सरकारले बन्धक बनाएका नौ नेपाली छिट्टै मुक्त हुने जनाएको छ।

मन्त्रालयका प्रवक्ताले नेपाली दूतावास पाकिस्तानका कार्यावाहक राजदूतलाई उद्धृत गर्दै दुबईमा रहेको ‘अलमको ग्रुप’ कम्पनीमा काम गर्ने ती नेपालीलाई छिट्टै मुक्त गरिने भनी कम्पनीका कार्यक्रम व्यवस्थापकले जानकारी दिएको बताएका छन्।

एक इराकी महिलालाई गोली हानेर घाइते बनाएको घटनामा संलग्न भएको अभियोगमा तिनलाई बन्धक बनाइएको बताइएको छ।

Popularity: 9%

2 comments November 22nd, 2007

संविधान सभाको निर्वाचन नहुनुमा सातै दल दोषी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालका लागि डेनमार्कका राजदूत फिन थिलस्टेटले नेकपा (माओवादी)ले आफ्ना माग परिवर्तन गरेपछि संविधानसभाको निर्वाचन स्थगन हुन गएपनि निर्वाचन समयमा नहुनुको दोषी सातै राजनैतिक दल भएको बताउनु भएको छ।

डेनिस राजदूतले एबिसी नेपाल, विराटनगरद्वारा आयोजित “दिगो शान्ति व्यवस्थापनका लागि महिला नेतृत्व विकाससम्बन्धी तालिमको शुभारम्भ गर्दै सुरुमा मुलुकमा दिगो शान्ति ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका राजनैतिक दल अहिले त्यसतर्फ अग्रसर नभएकामा आर्श्चर्य व्यक्त गर्नुभयो।

उहाँले नेपालका राजनैतिक दल दलित, महिला, आदिवासी, जनजातिलगायतका पछाडि परेका समुदायका अधिकारसित सम्बन्धित मागप्रति गम्भीर नभएको आरोप लगाउँदै नयाँ नेपाल निर्माण तथा दिगो शान्तिको लागि पहिले राष्ट्र आर्थिकरुपले बलियो हुनुपर्नेमा जोड दिनुभयो।

पाँच दिनसम्म सञ्चालन हुने सो तालिममा २४ महिलाको सहभागिता छ।

Popularity: 9%

Add comment November 22nd, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....