Archive for November 28th, 2007

काठमाडौंसहित तराईका आठ जिल्लामा विशेष सुरक्षा नीति लागु गर्ने

दीपक अधिकारी, काठामाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
सरकारले सुरक्षा संवेदनशील मानिएका तराईका आठ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लामा विशेष सुरक्षा नीति लागु गर्ने भएको छ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सुरक्षाका दृष्टिकोणले यी जिल्लाहरु संवेदनशील रहेकाले विशेष सुरक्षा नितीसहितको कार्ययोजना २४ घण्टाभित्र पेश गर्न गृहमन्त्रीलाई निर्देशन दिएको छ।

मधेसमा जारी कर्मचारीहरुको आन्दोलनलाई सकारात्मक रुपमा लिँदै उनीहरुका लागि विशेष कार्यक्रम ल्याउने निर्णय भएको बैठकपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीराजमणी पोख्रेलले संचारकर्मीहरुलाई जानकारी दिनुभयो। बैठकमा निजामती सेवा नियमावलीका विषयमा छलफल भएको र लोकसेवा आयोगसँग थप छलफल गरी नियमावली ल्याउने सहमति भएको मन्त्री पोख्रेलले जानकारी दिनुभयो। बैठकले राष्ट्रिय योजना आयोगले स्वीकृत गरेको तीन वर्षे अन्तरिम योजना अध्ययनको लागि मन्त्रिपरिषदको अर्थ समितिमा पठाउने निर्णय पनि गरेको छ। बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भोलि संसदको बैठक बस्नुअघि नै सात दलको बैठक बसेर समस्या समाधानको पहल गर्ने बताउनुभएको थियो।

Popularity: 9%

Add comment November 28th, 2007

एमाले महासचिव माधव नेपाललाई प्रधानमन्त्री बन्ने रहर

दीपक अधिकारी, काठामाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले आफूलाई पाँच वर्ष प्रधानमन्त्री बनाइदिन अनुरोध गर्नुभएको छ।

उहाँले आफू प्रधानमन्त्री भए पाँच वर्षभित्र मुलुकको पुनसंरचना गरेर देखाइदिने दाबी गर्नुभयो। बिबिसी वल्ड ट्रष्टले बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रमका लागि आज काभ्रेमा गरेको अन्तर्क्रिया कार्यक्रममा महासचिव नेपालले पाँच वर्षमा मुलुकमा जनताले सोचेभन्दा बढी शान्ति कायम गरिदिने दाबी गर्नुभयो।

नेकपा एमालेले मात्रै मुलुकमा स्थायी शान्ति कायम गर्ने उहाँको भनाई थियो। नेपाली कांग्रेसले १५ वर्ष मुलुक हाँके पनि जनताले कुनै पनि दिन शान्तिको महसुस गर्न नसकेको उहाँको धारणा थियो। वर्तमान प्रधानमन्त्रीले कुनै पनि हालतमा मुलुकलाई निकास दिन नसक्ने उहाँले दाबी गर्नुभयो।

Popularity: 9%

3 comments November 28th, 2007

अपहरण सम्बन्धि विधेयक तयार

दीपक अधिकारी, काठामाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
व्यवस्थापिका संसदको कानुन न्याय तथा संसदीय समितिले अपहरण सम्बन्धि विधेयकलाई अन्तिम रुप दिएको छ।

समितिको आज बसेको बैठकले मुलुकी ऐन १२ औं संशोधन प्रस्ताव पारित गर्दै विधेयकलाई अन्तिम रुप दिएको हो।

विधेयकमा अपहरणकारीलाई ७ देखि १५ वर्षजेल तथा ५० हजारदेखि २ लाख रुपैयाँसम्मको सजाय हुने व्यवस्था गरिएको छ। अनुसन्धानका क्रममा अपहरणकारी धरौटीमा रिहा नहुने व्यवस्था समेत गरिएको छ।

Popularity: 9%

Add comment November 28th, 2007

असुरक्षाका कारण सप्तरीका १ सय ७ सचिवहरुद्वारा सामूहिक राजीनामा

दीपक अधिकारी, काठामाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
शान्ति सुरक्षाको प्रत्याभूतिको माग गर्दै नेपालकै सबै भन्दा धेरै गाविस रहेको सप्तरी जिल्लाका १ सय ७ गाविस सचिवहरुले आज सामूहिक राजीनामा दिएका छन्।

शान्ति सुरक्षाको माग गर्दै तराई निजामति कर्मचारीहरुले धमाधम राजीनामा दिइरहेका बेला सप्तरीका गाविस सचिवहरुले पनि सामूहिक राजीनामा दिएका छन्। जिल्लाका १ सय १४ गाविस सचिव मध्ये १ सय ७ जनाले स्थानीय विकास अधिकारी दिलीप चापागाईसमक्ष आज सामूहिक राजीनामा पत्र बुझाएका हुन्।

Popularity: 9%

Add comment November 28th, 2007

काँग्रेस महासमितिको निर्णय विरुद्ध नजान दवाव

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले अन्तरिम संविधान र काँग्रेस महासमितिका निर्णय बिरुद्ध कुनै पनि सम्झौता नगर्न पार्टी नेतृत्वलाई दवाव दिएका छन्।

केही केन्द्रीय सदस्यहरुले भने संबिधानसभा चुनाव हुने ग्यारेण्टी भए संसदबाट पारित गणतन्त्रको प्रस्तावमा समर्थन जनाउन पछि हट्न नहुने सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस केन्द्रीय समितिको अनौपचारिक बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले माओवादी संविधानसभा चुनावप्रति इमान्दार भएपछि मात्रै चुनावको अपरिवर्तनीय मिति घोषणा गर्नुपर्ने सुझाव समेत दिएका छन्।

Popularity: 9%

Add comment November 28th, 2007

‘यो मन त मेरो नेपाली हो’- प्रशान्त तामाङ (Video Part 2 updated)

एचकेनेपाल डट कम, नोभेम्बर २८ -
इण्डियन आइडल प्रशान्त तामाङ हङकङका आफ्ना क्रेजी फ्यानहरुका समक्ष वान चाईस्थि क्वीन इलेजावेथ स्टुडियममा उपस्थित भए र गाए - ‘जसो गर, जे भन.. यो मन त मेरो नेपाली हो।’ प्रशान्त तामाङ (Video Part 2 updated) (more…)

Popularity: 10%

Add comment November 28th, 2007

द. कोरियामा नेपालीहरु पक्राउ

सम्वाददाता एचकेनेपाल डट कम, नोभेम्बर २८ -
दक्षिण कोरियाका सरकारले नियोजित ढंगले नेपालीलाई पक्राउ गरी दुःख दिएकोमा त्यहाँका नेपालीहरुले द. कोरिया सरकारको घोर निन्दा र भत्सर्ना गरेको छ।

प्राप्त जानकारी अनुसार प्रवासी नेपाली संघका सल्लाहकार समितिका सदस्य तथा एमटीयुका अध्यक्ष काजिमान खापुङ, उपाध्यक्ष राजु गुरुङ र सचिव मासुमलाई सोमबार एमटीयुको कार्यालय जाँदै गर्दा अध्यागमन विभागले सउल सिन्दाङबाट जवर्जस्ती सुनियोगित तरिकाले पक्राउ गरेको थियो।

प्रवासी नेपाली संघ दक्षिण कोरियाले सरकारको कदमको घोर निन्दा र भत्सर्ना गरेको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै प्रकाउ परेकाहरुलाई कोरिया सरकारसंग यथासिघ्र रिहाईको माग गरेको छ।

कोरियामा रहेका पाठकसंग यस सम्बन्धि थप जानकारीहरु प्राप्त भए तलको कमेन्ट बक्समा पोष्ट गर्नुहोला।

Popularity: 9%

Add comment November 28th, 2007

कोरियामा कामदार पठाउने प्रक्रिया सुरु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले नेपाल र कोरियाका श्रम विभागबीच भएको सम्झौता कार्यान्वयन गर्न स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस भइसकेको र मन्त्रिपरिषद्ले कार्यान्वयनको स्वीकृति दिनासाथ कोरियामा कामदार पठाउने प्रक्रिया सुरु गरिने जनाएको छ ।

श्रम तथा रोजगार प्रवर्द्धन विभागले ललितपुरको बालकुमारीमा कोरिया कामदार पठाउनेसम्बन्धमा विभिन्न कार्यसम्पादन गर्ने उद्देश्यले गत भदौ १३ गते सो शाखा कार्यालय स्थापना गरेको थियो।
कामदार कोरिया पठाउनेसम्बन्धमा कार्यक्रम सञ्चालन तयारी सुरु भइरहेको अवस्थामा कार्यक्रम सञ्चालनमा अपठ्यारो पर्ने खालका कुनैपनि दबाबमूलक कार्यक्रम सञ्चालन नगर्न शाखाले आग्रह गरेको छ । केही युवाहरुले कोरिया पठाउनका लागि जुलुस निकालेपछि यस्तो अनुरोध गरिएको हो। नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सन् २००७ जुलाई २३ का दिन रोजगार अनुमति प्रणाली (इपिएस)अर्न्तर्गत कोरियामा नेपाली कामदार पठाउन द्विपक्षीय सम्झौता भएको थियो। द्विपक्षीय सम्झौता कार्यान्वयन गराउन अन्य सम्झौता पनि गर्नुपर्ने भएकाले कामदार पठाउने प्रक्रिया सुरु गर्न ढिलाइ भएको सो शाखाका एक कर्मचारीले बताए ।

सो शाखामा दैनिक करिब २०० भन्दा बढी युवा कोरिया जाने प्रक्रियाबारे बुझ्न आउने गरेको बताइएको छ।

Popularity: 9%

2 comments November 28th, 2007

मधेसमा नौ जना सरकारी कर्मचारीको हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसमा आन्दोलित विभिन्न समूहले गत वर्षको माघ महिनापछि नौ जना निजामती कर्मचारीको हत्या गरेका छन् ।

आपराधिक समूहमा आबद्ध कोब्रा, गोइत, ज्वाला सिंह र अज्ञात समूहले गाविस सचिवहरू रामवृक्ष यादव, रामहरि पोखरेल, रामबाबु शर्मा न्यौपाने, शैक्षिक जनशक्ति विकास केन्द्रका प्रशिक्षक वासुदेव पौडेल, इन्जिनियर नवराज विष्ट, पूर्णसिंह प्रधान, कृषि प्राविधिक राजकुमार जोशी, फायरम्यान वरुणप्रसाद जैसवाल र नासु प्रभुनारायण यादवको विभिन्न मितिमा हत्या गरेका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा मधेसमा मानवअधिकारको अवस्था र सार्वजनिक सेवा प्रवाहमा यसको असर विषयक छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

मधेसी जिल्लाका सदरमुकाम बाहिर द्वन्द्वरत समूहको भय, आतङ्क, चन्दालगायत अपहरणका घटनाबाट कर्मचारीहरूलाई काम गर्नसक्ने वातवारण सृजना नभएकाले सेवा प्रवाहमा गतिरोध उत्पन्न भएको कार्यक्रममा वक्ताहरूले जानकारी दिए ।

Popularity: 9%

Add comment November 28th, 2007

राजतन्त्रको अन्त्य नभएसम्म निर्वाचन नहुने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का वरिष्ठ नेता डा.बाबुराम भट्टराईले अहिले पनि राजदरबारका अँध्यारा कोठाहरूमा संविधानसभाको निर्वाचन हुन नदिने षड्यन्त्रहरू भइरहेकाले राजतन्त्रको अन्त्य नभएसम्म निर्वाचन हुननसक्ने ठहर आफ्नो पार्टीले गरेको हो भन्नुभएको छ ।

नेपाल दलित मुक्ति मोर्चा (एकीकृत)द्वारा आयोजित ‘गणतन्त्र र समानुपातिकताको सर्न्दर्भमा दलित अधिकारको सवाल’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो- सामन्तवाद र निरङ्कुशताको मूलीका रूपमा रहेको राजसंस्था नहट्दासम्म यो मुलुकमा शान्ति र लोकतन्त्र असंम्व छ ।

नेता डा.भट्टराईले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि द्विपक्षीय एवम् त्रिपक्षीय छलफल जारी रहेको र त्यो सकारात्मक निष्कर्षतर्फ उन्मुख भइरहेको जानकारी पनि दिनुभयो ।

मुलुकमा गणतन्त्रको स्थापना नभएसम्म निर्वाचन सम्भव छैन भन्ने नेकपा (माओवादी)को ठहरलाई संसदले पनि पारित गरिसकेकाले राष्ट्रियकरण भइसकेको यो एजेण्डालाई कार्यान्वयन गर्नुबाहेकको सरकारसँग अर्को विकल्प नरहेको उहाँले स्पष्ट गर्नुभयो ।

विसं.२०६३ को जेठमै निर्वाचन गर्ने सर्तमा नेकपा (माओवादी)ले आधा समानुपातिक निर्वाचन प्रणालीमा सहमत भएको स्मरण गराउँदै नेता डा. भट्टराईले तर जेठमा निर्वाचन हुननसक्दा विकसित घट्नाक्रमहरूले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता महसुस भएको पनि स्पष्ट गर्नुभयो ।

नेता डा. भट्टराईले संसदको निर्णय कार्यान्वयन नगर्नु भनेको द्वन्द्व निम्त्याउनु हो भन्दै नेपाली जनताको शान्तिको इच्छाविपरीत पुनः द्वन्द्वमा जान माओवादी तयार नरहेकाले जबर्जस्ती द्वन्द्वतर्फ धकेल्ने प्रयास नगर्न पनि आग्रह गर्नुभयो ।

Popularity: 9%

1 comment November 28th, 2007

डा. रुइतलाई थाइल्यान्डको पुरस्कार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
थाइल्यान्डको द प्रिन्स महिडोल अवार्ड फाउन्डेसनले तिलगङ्गा आँखा केन्द्रका मेडिकल डाइरेक्टर डा सन्दुक रुइतलाई चिकित्सा र जनस्वास्थ्यका लागि प्रिन्स महिडोल अवार्ड २००७ प्रदान गर्ने निर्णय गरेको छ ।

उहाँसँगै अस्ट्रेलियाका प्रा बासिल स्टुआर्ट हेजेलले पनि जनस्वास्थ्यका लागि सो पुरस्कार पाउनु हुनेभएको छ । त्यस्तै जर्मनीका प्रा अक्सेल उलरिचले पनि चिकित्सा क्षेत्रमा सो पुरस्कार पाउनु हुनेछ ।

डा रुइत सो पुरस्कार पाउने पहिलो नेपाली भएको नेपाली राजदूतावास बैङ्ककले जनाएको छ । बर्सेनि प्रदान गरिने सो पुरस्कार यस वर्षआगामी जनवरी ८ मा एक समारोहमा प्रदान गरिने बताइएको छ ।

Popularity: 9%

1 comment November 28th, 2007

नेपालको स्थान १४२ अ‍ौँमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संयुक्त राष्ट्रसंघीय मानव विकास प्रतिवेदन २००७ ले मानव विकास सूचकाङ्क मानअनुसार नेपाल विश्वका १७७ राष्ट्रमध्ये १४२ औं स्थानमा रहेको देखाएको छ ।

मानव विकास प्रतिवेदन २००६ मा नेपाल १७७ राष्ट्रमध्ये १३८ औं स्थानमा थियो ।

सो प्रतिवेदनमा विगत १५ वर्षदेखि नेपालको मानव विकास सूचक स्थिर रहेको देखाइएको छ । सन् १९९० देखि सन् २००५ को बीचमा नेपालले मानव विकास सूचकमा प्रगति गरेको प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा जन्मँदाको अपेक्षित आयुमा आठ प्रतिशतभन्दा बढी वृद्धि भएको, प्रतिव्यक्ति आय औसत गार्हस्थ उत्पादन एक तिहाइले बढेको र प्रौढ साक्षरता दरमा १८ प्रतिशतले वृद्धि भएको छ ।

दक्षिण एसिया क्षेत्रभित्र नेपालको स्थान भने अन्तिम रहेको पनि प्रतिवेदनमा उल्लेख छ । नेपालको निकटतम ‘मानव विकास सूचकाङ्क छिमेकी’का रूपमा पाकिस्तान र बङ्गलादेश रहेका छन् । पाकिस्तानको स्थान १३६ औं र बङ्गलादेशको १४० औं रहेको छ ।

Popularity: 9%

1 comment November 28th, 2007

बेल्जियमबाट साहित्यिक पत्रिका प्रकाशन हुने

सम्वाददाता, एचकेनेपाल डट कम / ब्रसेल्स, बेल्जियम, नोभेम्बर २८ -
नेपाली साहित्यको विकाश तथा उत्थानका लागि विदेशमा सक्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेल्जियमको नवगठित कार्यसमितिले साहित्यिक गतिविधिलाई तीब्र पारेको छ।

निकट भविष्यमै समाजको तर्फबाट साहित्यिक पत्रिका “शब्दाञ्जली” प्रकाशनमा ल्याईने कुरा पत्रिकाका प्रधानसम्पादक कृष्ण बजगाईंले बताएका छन्। नेपाली साहित्यका अधिकांश पत्रिकाहरु एक-दुई अंक निस्केर बन्द हुने बाध्यता छ। तर उक्त पत्रिकालाई जस्तो सुकै कठिन घडिमा पनि निरन्तरता दिईने कुरा पत्रिकाका सम्पादक मण्डलका सदस्य तथा अनेसास बेल्जियमका महासचिव रमेश कँडेल जनाएका छन्।

साहित्यका बिभिन्न विधाका लेख, कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथा, लघुकथा, नियात्रा, संस्मरण तथा कला-संस्कृति सम्बन्धि लेख-रचना sabdanjali@gmail.com मा पठाउन हुन संसार भरका साहित्यकारहरुलाई अनुरोध गरिएको छ। उक्त पत्रिका त्रैमासिकरुपमा प्रकाशन गरी निरन्तरता दिईने जनाईएको छ।

Popularity: 9%

Add comment November 28th, 2007

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गेसोको खुलापत्र

सम्वाददाता / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
गोरखालीका मागप्रति प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सम्वेदनाशील हुन नसकेको र लाहुरेहरुलाई बारम्वार झुक्याउन दिईरहेको कोइरालाको अभिव्यक्तिप्रति गोरखा भूतपूर्व सैनिक संघ (गेसो) दुःख र आक्रोस व्यक्त गरेको छ।

सञ्चार माध्यमहरुमा गोरखालीको माग पूरा गर्नका लागि बेलायतस्थित नेपाली राजदूतलाई निर्देशन दिने भन्ने भनाईप्रति आश्चर्य व्यक्त गर्दै गेसोका सभापति पदमबहादुर गुरुङले जारी गर्नुभएको प्रेस विज्ञप्ति जस्ताका तस्तै -

BRITISH GURKHA ARMY EX-SERVICMEN’S ORGANISATION (GAESO)
3A Arthur Street, Aldershot, Hants GU11 1HJ, United Kingdom
Tel/fax (44) 1252-319212, 020 8570 2145
Email: gaeso@btinternet.com Website: www.gaeso.org.uk / gaeso.org.np

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गेसोको खुलापत्र

२८ नोभेम्बर २००७ । लण्डन

तपाइँले हिजो नोभेम्बर २७, २००७ का दिन गोरखालीहरूको माग पूरा गर्नका लागि बेलायतस्थित नेपाली राजदूतलाई निर्देशन दिने भन्ने कुरा संचारमाध्यमबाट थाहा पाउँदा म आश्चर्यचकित भएँ। तपाइँकै मातहतमा रहेको परराष्ट्र मन्त्रालयले यस विषयमा औपचारिकरूपमा एक शब्द पनि लेख्ने साहस नगर्ने, तपाइँको मन्त्रिपरिषदको बैठकमा कहिल्यै पनि गोरखालीहरूको मुद्दा छलफलको विषय हुन नसक्ने अनि संसदमा माननीय डम्बर सम्बाहाम्फेले दर्ता गर्नु भएको सार्वजनिक महत्वको प्रस्तावमाथि पनि कुनै छलफल गर्न नदिने। तर घरी घरी गोरखालीहरूको माग पूरा गर्नका लागि राजदूतलाई निर्देशन दिन्छु भनेर के तपाइँले लाहुरेहरूलाई झुक्याउन खोज्नुभएको होइन त ?

तपाइँका आदेश र निर्देशनहरू अनि तपाइँले बोलेका शब्दहरू कहाँ कति बिक्छन् भन्ने कुरा के हामीलाई थाहा छैन र ? त्यसैले आउने दिनहरूमा यस्ता कुनै पनि किसिमका बकवासहरू नगर्नु हुन अनुरोध छ।

गोरखाहरूको बारेमा तपाइँ, तपाइँको सरकार र पार्टी के कस्तो दृष्टिकोण र हैसियत छ भन्ने कुरा के हामीलाई थाहा छैन र ? तसर्थ यस्ता सस्ता प्रचारबाजीका काम अब उप्रान्त झुक्किएर पनि नगर्नु हुन विनम्र अनुरोध छ।

यदि तपाइँसँग साँच्चिकै इमान्दारिता र हिम्मत छ भने गोरखाहरूलाई समान पेन्सन र क्षतिपूर्तिको अधिकार हुनुपर्छ भनेर तपाइँको परराष्ट्र मन्त्रालयमार्फत बेलायतको रक्षा मन्त्रालयलाई तुरून्तै पत्राचार गर्न हार्दिक अनुरोध छ।

विगत साक्षी छ कि बेलायतसँग कसरी लड्नुपर्छ भन्ने कुरा हामीलाई राम्ररी थाहा छ। तपाइँहरूजस्ता दास मनोबृत्ति भएका व्यक्तिहरूबाट गोरखाहरूको समान अधिकारका पक्षमा बोल्ने र बोले अनुसार काम गर्ने कुरा कदापि सम्भव छैन भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।

स्वाभिमानी गोरखाहरू तपाइँका पिछलग्गु होइनन् र बेलायतका दास पनि होइनन् भन्ने कुरा आजैदेखि राम्ररी बुझिदिनु होला।

भवदीय
पदमबहादुर गुरूङ्ग
सभापति

बोधार्थः
परराष्ट्र मन्त्रालय, विभिन्न नेपाली दूतावास, सांसद तथा राजनीतिक पार्टी

Popularity: 9%

5 comments November 28th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....