Archive for January 27th, 2008

कतारमा कान्तिपुर साप्ताहिकको प्रकाशन शुरु

कुमार कार्की, दोहा कतार / एचकेनेपाल डट कम -
कान्तिपुर पब्लिकेसन्सद्वारा प्रकाशन हुने कान्तिपुर दैनिकको साप्ताहिक संस्करण शुक्रबारदेखि कतारबाट प्रकाशन हुन थालेको छ।

गत बिहीवार दोहामा एक कार्यक्रमको आयोजना गरेर कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक कैलाश सिरोहिया, दोहास्थित नेपाली राजदूत डा. सुर्यनाथ मिश्र, अलि बिन अलि इस्टाब्लिसमेन्टका कार्यकारी प्रमुख पिटर म्याक एल्वेइन र प्रकाशनका स्थानीय साझेदार सागर नेपालले बिहीबार प्रथम अंक संयुक्त विमोचन गरे।

कतारको प्रतिष्ठित उद्यमी समूह अलि बिन अलिको प्रेसमा मुद्रण हुने कान्तिपुर साप्ताहिक हरेक शुक्रबार खाडीका कतारसहितका नेपाली समुदाय रहेका अन्य मुलुकमा पुर्‍याउने अर्का स्थानीय साझेदार एवं बजार प्रबन्धक केदारनाथ ढकालले बताए। राजदूत डा. मिश्रले भने ‘देशभित्र कान्तिपुर प्रकाशनले आर्जन गरेको प्रतिष्ठा र गुणस्तरलाई प्रवासमा पनि उत्तिकै धान्नेमा म विश्वस्त छु,’।

सिरोहियाले नेपाली जगतबाट पाएको माया र हौसलामा यताबाट पनि उत्तिकै टेवा मिल्ने विश्वास जनाए। कान्तिपुरका सम्पादक नारायण वाग्लेले नेपालीभाषी समुदाय रहेको स्थानमा विस्तारित हुंदै जानेक्रममा यसपटक कतारलाई कान्तिपुरले प्रकाशनको खुड्किलो बनाएको जानकारी दिए। काठमान्डू पोस्टका सम्पादक प्रतीक प्रधानले नेपाली दुनियाँ नेपालमै सीमित नरहेको बताए।

कान्तिपुर साप्ताहिक सस्करण बिमोचन कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको थियो। स्मरण रहोस् कान्तिपुर साप्ताहिक प्रकाशनका लागि एक साझेदार मानिएका सागर नेपाल एनआरएनए आइसीसीका सचिब हुन्।

Popularity: 15%

3 comments January 27th, 2008

हिमपातले जनजीवन कष्टकर

सुनिल गाउंले, वीरगंज/ एचकेनेपाल डट कम-
मकवानपुरको उच्च भूभाग दामनसीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएको छ। हिमपात भएपछि अहिले पालुङ उपत्यका वरपरका सीमभञ्ज्याङ, दामन, कोटथुम्की, केसरीभन्ज्याङ, कालीभञ्ज्याङ लगायतका थुम्काहरु सेताम्मे भएका छन्। त्रिभुवन राजपथको अघोर-दामन खण्डमा पनि हिउँ जमेको छ। सडकमा हिउँ जमे पनि यातायात भने सुचारु छ।

हिमपातका कारण आग्राको डाँडाबास वरपरका थुम्काहरु पनि सेताम्मे भएका छन्। हिमपातपछि एक्कासी चिसो बढे पछि अहिले पालुङ क्षेत्रको जनजीवन प्रभावित भएको छ। अहिले हिउँ पर्न रोकिएको छ। उता पहाडी जिल्ला लमजुङमा फेरी हिमपात भएको छ। उत्तरी क्षेत्रका अधिकांश गाविसमा हिमपात भएपछि यसको असर सदरमुकाम वेसीशहरमा पनि पर्न थालेको छ।

गएराति लमजुङको उत्तरी क्षेत्रका खुदी, बाँझखेत, घनपोखरा, उत्तरकन्या, पसगाउँ, भुजुङ, इलपोखरी, दूधपोखरी, फलेनी लगायतका गाविसमा हिउँ परेको छ। त्यस गाविसका उच्च भेगमा २ फिटसम्म हिउँ जमेको स्थानीयवासीले वताएका छन्।

यसअघि ताघ्रिङ, घेर्मु, वाहुनडाँडा, भुल्भुले लगायत गाविसमा हिउँ परिसकेको छ। हिउँ परेका कारण लमजुङको जनजीवन कष्टकर बनेको छ।

Popularity: 14%

Add comment January 27th, 2008

फोरमको चक्काजामले जनजीवन प्रभावित

सुनिल गाउंले, वीरगंज/ एचकेनेपाल डट कम-
मधेशी जनअधिकार फोरम र सदभावना नेपालको संयुक्त मधेशी मोर्चाले आज आव्हान गरेको मधेशका जिल्ला सदरमुकाममा चक्काजामको घोषणाले जनजीवन प्रभावित भएको छ।

मोर्चाका कार्यकर्ताहरुले आव्हान गरेको चक्काजामका कारण मध्य तथा पूर्वी तराईका जिल्ला सदरमुकामहरुमा यातायातका साधनहरु ठप्प रहेका छन्।

चक्काजामले पर्सा सदरमुकाम वीरगंजमा पनि प्रभाव परेको छ। मोर्चा कार्यकर्ताले वीरगंजको वाइपास क्षेत्र र प्रत्येक चोकहरुमा टायर बालेर विरोध प्रदर्शन गरेपछि यातायातका साधनहरु ठप्प रहेका छन्। तर शैक्षिक संस्था, व्यापारिक प्रतिष्ठान र बजार भने बन्द आव्हान नगरिएको मधेशी जनअधिकार फोरम पर्साका अध्यक्ष शशिकपुर मियाले जानकारी दिनुभयो। सरकारसंग भएको २२ बुंदे सहमती कार्यान्वयन लगायत मधेशलाई स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने मागसहित संयुक्त मधेशी मोर्चाले दोश्रो चरणको कार्यक्रम अनुसार आज मधेशका जिल्ला सदरमुकाममा चक्काजामको घोषणा गरिएको हो।

उता चक्काजामको प्रभाव बारा सदरमुकाम कलैया र रौतहटको गौरमा पनि परेको छ। बन्दको अवज्ञा गरेको भन्दै फोरमका कार्यकर्ताहरुले वीरगंज-कलैया सडक खण्डमा एक टेम्पोमा तोडफोड गरेपछि प्रहरीले बाराको सिसवा महेशपुर-६ का फोरम कार्यकर्ता भगरिथ यादवलाई पक्राउ गरेको छ।

पक्राउ गरेका यादवलाई तुरुन्त रिहा नगरे मधेशी जनअधिकार फोरम बाराले अनिश्चितकालिन जिल्ला बन्द गर्ने चेतावनी दिएको छ।

Popularity: 14%

Add comment January 27th, 2008

अतिक्रमणको अध्ययन-अनुगमन गर्न सुस्तामा टोली

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सुस्तामा भएको भारतीय अतिक्रमणको अध्ययन-अनुगमन गरी प्रतिवेदन तयार पार्न उद्देश्यले संयुक्त जनआन्दोलन घाइते समिति, नवलपरासीको एउटा टोली अतिक्रमित त्रिवेणी गाउँ विकास समिति, वडा नं.४ सुस्ता पुगेको छ।

सो टोलीमा राजनीतिक दलका प्रतिनिधि, जनआन्दोलनका घाइते, सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीसमेत रहेको टोली प्रमुख यदु सिग्देलले जानकारी दिनुभयो। टोलीले अतिक्रमित भूमिको प्रत्यक्ष अवलोकन, अध्ययन र अनुगमन गरी प्रतिवेदन तयार पार्ने बताइएको छ।

समितिले सुस्तालाई अतिक्रमणबाट मुक्त गरियोस् भनी सञ्चालन गरेको हस्ताक्षर अभियानअर्न्तर्गत गैँडाकोटदेखि परासीसम्मका आठ हजार ५०० जनाले हस्ताक्षर गरिसकेको थाहाभएको छ।

टोलीले सङ्कलित हस्ताक्षर र अध्ययन-अनुगमन प्रतिवेदन भारतीय राजदूतावास र सभामुख सुवास नेम्बाङलाई बुझाउने पनि समितिका अध्यक्ष सिग्देलले बताउनुभयो।

भारतले सुस्तामा नेपालको १४ हजार हेक्टर भूमिमा अतिक्रमण गरिसकेको छ भने अन्य भूमि पनि अतिक्रमणको चपेटामा पर्नसक्ने स्थितिमा रहेको बुझिएको छ।

Popularity: 14%

1 comment January 27th, 2008

कर्मचारी आन्दोलन स्थगित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कृषि विकास बैङ्कको राजविराजस्थित बैङ्किङ कार्यालयका प्रबन्धक विक्रमप्रसाद साहको हत्याको विरोधमा कर्मचारीहरूद्वारा सञ्चालित आन्दोलन स्थगित भएको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको प्रशासन र आन्दोलनकारीहरूको बैठकमा माग पूरा गर्ने सहमति भएपछि कर्मचारीहरूले आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको बताइएको छ।

बैठकमा मृतक साहको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने र साहलाई सहिद घोषणा गर्न गृहमन्त्रालयलाई अनुरोध गर्ने सहमति हुनुका साथै शान्तिसुरक्षाको प्रत्याभूतिका लागि स्थानीय प्रशासनद्वारा प्रतिबद्धता व्यक्त गरिएको प्रमुख जिल्ला अधिकारी सीताराम पोखरेलले बताउनुभयो।

सङ्र्घर्ष समितिका अनुसार दोषीमाथि कारबाही गर्ने तथा द्वन्द्व समाधानका लागि सरकारसँग आग्रह गर्ने सहमति पनि बैठकमा भएको थियो।

Popularity: 14%

Add comment January 27th, 2008

डिजेल र मट्टितेल हाहाकार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर डिपोमा डिजेल र मट्टितेलको मौज्दात सकिएको कारण डिजेल र मट्टितेल हाहाकार भएको छ।

भारतबाट डिजेल र मट्टितेलको आयात रोकिएको कारण डिपोमा तेल नभएको र डिलरहरुलाई उपलव्ध गराउन नसकिएको क्षेत्रीय प्रमुख पुष्कर दत्तले स्वीकार गरेका छन्।

पूर्वाञ्चलको इटहरी, विराटनगर, राजविराज, विर्तामोड, दमक, काकरभिट्टालगायतका पम्प तथा डिलरहरुले ‘डिजेल र मट्टितेल छैन’ भन्ने सूचना बोर्ड झुण्ड्याएको पाइएको छ।

उता कतिपय विक्रेताहरुले महँगो मूल्यमा आफूखुसी डिजेल र मट्टितेल बिक्री गर्ने गरेको गुनासोसमेत पाइएको छ। सीमावर्ती क्षेत्रका खुद्रा व्यापारीहरुले भारतबाट आफ्ना उपभोक्ताहरुलाई उपलव्ध गराउन तेल ल्याउने गरेकोपनि पाइएको छ।

निगमसँग डिजल र मट्टितेलको मौज्दात नभएपनि पेट्रोलको भने पर्याप्त मात्रा रहेको जनाइएको छ। केही समयअघि मात्र पेट्रोलियम डिलर एशोसिएशन र नेपाल सरकारवीच माग अनुसारको आपूर्ति गराउने सहमति भएपनि हालसम्म त्यस्तो नभएको निगमले जनाएको छ।

निगमका अनुसार पूर्वाञ्चलमा दैनिक डिजेल चारलाख लिटर र दुइ लाख ५० हजार लिटर मट्टितेल खपत हुने गरेको छ।

Popularity: 14%

Add comment January 27th, 2008

पहिलो पटक डण्डिबियो प्रतियोगिता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालमा नै पहिलो पटक औपचारिक रुपमा आयोजना भएको डण्डी-वियो प्रतियोगितामा रोट्रयाक क्लब अफ त्रिपुरेश्वर विजयी भएको छ।

रोट्रयाक क्लब अफ काठमाडौँले यस खेलको विकास गर्न सो प्रतियोगिताको आयोजना गरेको थियो। फाइनल खेलमा रोट्रयाक क्लब अफ त्रिपुरेश्वरले ७५ डण्डीले रोट्रयाक क्लब अफ काठमाण्डौँलाई हराएको हो।

रोट्रयाक क्लब अफ त्रिपुरेश्वरले दिएको ४७४ विजय लक्ष्यलाई पछ्याएको काठमाण्डौँ क्लब ३९९ डण्डीमा सिमित भयो। प्रतियोगितामा कुल ९३ वटा क्लबले आफ्नो सहभागिता जनाएका थिए।

प्रतियोगितामा सहभागी सबै टिमलाई आयोजकद्वारा एक एक वटा डण्डिवियो उपहार प्रदान गरियो।

Popularity: 14%

3 comments January 27th, 2008

दुई छात्रको निर्ममतापूर्वक हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सशस्त्र हतियारधारी डाँकाहरुको समूहले जनता बहुमुखी क्याम्पसको कक्षा ११ मा अध्यनरत दुई छात्रको निर्ममतापूर्वक हत्या गरेको विरोधमा राजमार्गमा विद्यार्थीले यातायात ठप्प पारे।

राति इटहरी-५ पचरुखीमा घरमा भात पकाउन लागेका ती दुइ छात्रलाई डाँकाहरुले खुकुरी र कैचीले पेट, टाउको तथा शरीरको विभिन्न भागमा काटेर हत्या गरेका थिए।

डाँकाहरुको समूहमा रहेका सात जनामध्ये सुनसरी पकली-३ का सलिम मिया, मोरङ वनिगामाका सम्शेर मिया, सदिर मियाँलाई स्थानीय जनताको सहयोगमा प्रहरीले राति नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ।

विद्यार्थी हत्याको विरोधमा बिहानैदेखि पूर्वपश्चिम राजमार्गको पचरुखी पकली खण्डमा टायर बालेर यातायात ठप्प पारेका कारण सयौँ यातायात साधन इटहरी क्षेत्रमा अलपत्र परेका छन्।

Popularity: 14%

3 comments January 27th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

January 2008
M T W T F S S
« Dec   Feb »
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Posts by Month

Posts by Category

More news....