Archive for March, 2008

उम्मेदवारद्वारा एक्लै प्रचार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभाको निर्वाचन आउन ११ दिन मात्र बाँकी हुँदा राजधानी नजिकैका ग्रामीण भेगमा रोचक चुनाव वातावरण देखिन थालेको छ।

काठमाडौँको उत्तरपूर्वी भेग जोरपाटीमा नेकपा (संयुक्त मार्क्सवादी) दलबाट काठमाडौँ क्षेत्र नं. ३ की उम्मेदवार ज्ञानु लामा (तामाङ) एक्लै हाते माइक लिएर आफ्नो चुनावी प्रचारमा जुट्नुभएको थियो।

‘तपाईं आफैं उम्मेदवार किन एक्लै चुनावी प्रचारमा ?’ भन्ने जिज्ञासामा लामाले ठूला पार्टीले प्रचारका क्रममा सयौँको जुलुस लिएर हिँड्दा घन्टौं सडक जाम भई सर्वसाधारणलाई अप्ठ्यारो पर्ने गरेकाले आफू एक्लै चुनावी प्रचारप्रसारमा जुटेको बताउनुभयो।

एक हातले माइक समातेकी लामाले अर्को हातले आफ्नै पर्चा बाँडिरहेको र भाषण गर्दै सडकको किनाराबाट हिंडिरहेको दृष्य रोचक थियो।

लामाको प्रचारमा हिंड्नेको सङ्ख्या नभएपनि नयाँ शैली भएकाले हेर्नेको जुलुस नै जम्मा भएको थियो।

Popularity: 8%

Add comment March 31st, 2008

महिलाको जिम्मामा मतदान केन्द्र

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा सदस्य निर्वाचनमा नुवाकोट जिल्लाको एक मतदान केन्द्र पूर्ण रुपमा महिला कर्मचारीहरूले मात्र सञ्चालन गर्ने भएका छन्।

उक्त मतदान केन्द्रको सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरू समेत महिला नै रहने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले दिएको छ।

जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा पर्ने विदुर नगरपालिका वडा नं. ११ को त्रिशुली उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको सम्पूर्ण व्यवस्था महिलाले नै गर्ने मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद वास्तोलाले जानकारी दिनुभएको छ।

उहाँका अनुसार उक्त मतदान केन्द्रका लागि एक अधिकृत सहित छ सरकारी कर्मचारी खटिने छन् जसमा महिला विकास अधिकृत सुलेखा मानन्धर मतदान अधिकृत रहनुहुनेछ।

उक्त मतदान केन्द्रमा कुल ४६२ मतदाता रहेका छन्।

Popularity: 8%

Add comment March 31st, 2008

मतपत्र छपाई सम्पन्न

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा सदस्य निर्वाचनका निम्ति आवश्यक पर्ने मतपत्रहरूको छपाईं गर्ने कार्य सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ।

आयोगद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोगका प्रवक्ता लक्ष्मण भट्टराईले २७ जिल्लाका ४४ निर्वाचन क्षेत्रमा हेलिकोप्टरबाट मतपत्र पुर्‍याई सकिएको, आजसम्म १७८ निर्वाचन क्षेत्रको मतपत्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको र यही चैत २० गतेसम्ममा सबै स्थानमा मतपत्र पुर्‍याई सकिने जानकारी गराउनुभयो।

उक्त निर्वाचनअर्न्तर्गत प्रत्यक्ष प्रणालीबाट हुने निर्वाचनका निम्ति दलका तर्फबाट दुइ हजार ८०६ जना पुरुष र स्वतन्त्रबाट ७७४ तथा दलका तर्फबाट ३२५ जना महिला र स्वतन्त्रबाट ४२ जना गरी कुल तीन हजार ९४७ जना उम्मेदवार चुनावी मैदानमा रहेको जानकारी गराइयो।

कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीअर्न्तर्गत बन्द सूची पेस गर्ने राजनीतिक दलको सङ्ख्या ५४, तीस प्रतिशतभन्दा बढी उम्मेदवारको नाम सूचीकृत गर्ने दलको सङ्ख्या एघार, ३३५ जना उम्मेदवारको नाम सूचीकृत गर्ने राजनीतिक दलहरूको सङ्ख्या सात रहेको छ भने उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुल उम्मेदवारको सङ्ख्या छ हजार रहेको बताइयो।

संविधानसभा सदस्यको निर्वाचनका निम्ति धेरै महिला उम्मेदवार काठमाडौँ जिल्ला क्षेत्र नं. १ र ४ बाट आठ आठ जना, दुइ जनासम्म महिला उम्मेदवार भएको निर्वाचन क्षेत्र ५१, महिला उम्मेदवार भएको कुल निर्वाचन क्षेत्र १७३ र महिला उम्मेदवार समावेश नभएको १६ जिल्लाका ६७ निर्वाचन क्षेत्र रहेका छन्।

उक्त निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार काठमाडौँ जिल्ला क्षेत्र नं. ४ बाट ३८ जना र सबैभन्दा कम उम्मेदवार भएको जिल्ला मनाङबाट तीन जना रहेका छन्।

यसैगरी सबैभन्दा बढी गुल्मी क्षेत्र नं. २ मा एक लाख चार हजार ८८८ जना मतदाता रहेका छन् भने सबैभन्दा कम मनाङ जिल्लामा २० वटा मतदान केन्द्र र सात हजार ४०७ जना मतदाता छन्।

देशभरी नौ हजार ८२१ स्थानमा २० हजार ८८८ मतदान केन्द्रको व्यवस्था गरिएको, एक निर्वाचन क्षेत्र भएको जिल्लामध्ये सबभन्दा बढी मतदान केन्द्र दार्चुलामा १२७ मतदान केन्द्र र ८६ हजार ६६१ जना तथा सबैभन्दा कम मतदाता भएको मतदान केन्द्र मनाङको चामे गाविसमा रहेको लालीगुराँस प्राथमिक विद्यालय तलेखुमा २३ जना मतदाता रहेको कार्यक्रममा जानकारी गराइयो।

संविधानसभा निर्वाचन प्रयोजनका लागि आयोगमा ७४ वटा दल दर्ता भएकोमा निर्वाचनमा ५४ वटा दलको मात्र सहभागिता रहने तथा निर्वाचनको सिलसिलामा मतदान केन्द्रहरूमा प्रयोग गरिने ६१ वटा सामग्रीहरू, सम्पूर्ण निर्वाचन सामग्री तथा अनुसूची फारामहरू सम्बन्धित जिल्लाहरूमा पठाउने कार्यका साथै जिल्ला जिल्लाले मतदान केन्द्र अनुसारको प्याकिङ गर्ने कार्य सम्पन्न गरिसकेको बताइएको छ।

आयोगका अनुसार मतदानका लागि मतदान केन्द्रमा करिब दुई लाख ३४ हजार कर्मचारी खटाइने छ भने सोमध्ये एक लाख आठ हजार स्वयम् सेवक स्थानीय स्तरमै भर्ना गरी परिचालन गरिनेछ।

कार्यक्रममा संविधानसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ४० वटा र जिल्लामा दर्ता भएका १०८ वटा गरी १४८ वटा राष्ट्रिय पर्यवेक्षण संस्थाहरू निर्वाचन पर्यवेक्षण गर्न सम्बन्धन प्राप्त गरिसकेका छन् भने आयोगले सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूलाई संविधानसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आमन्त्रण गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो।

प्रवक्ता भट्टराईले कुल एक करोड ७६ लाख ११ हजार मतदाता रहेको संविधानसभाको निर्वाचन घोषणा भएदेखि निर्वाचन परिणाम घोषणा हुँदासम्म हालको अनुमानमा करिब रु. दुई अर्ब ७३ करोड खर्च हुने जानकारी दिनुभयो।

Popularity: 8%

Add comment March 31st, 2008

अन्मिनद्वारा प्रतिवेदन सार्वजनिक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन (अनमिन)ले मुलुकका अधिकांश भागमा निर्वाचनको प्रचारप्रसार उत्साहजनक एवं सापेक्षिकरुपमा शान्तिपूर्ण ढङ्गले चलिरहेको बताउँदै सो क्रममा धेरै जिल्लामा विभिन्न राजनीतिक दलका समर्थकबीच झडपजस्ता घटनामा वृद्धि भएको जनाएको छ।

अनमिनले संविधानसभा निर्वाचनको अवस्थासम्बन्धी आवधिक प्रतिवेदन श्रृङ्खलाको दोस्रो प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा उल्लेख गरेको हो।

पाँच पृष्ठ लामो उक्त प्रतिवेदनमा अनमिन र मानवअधिकारसम्बन्धी उच्चायुक्तको कार्यालय (ओएचसीएचआर-नेपाल)ले गतसाता निर्वाचनविरोधी समूहद्वारा फैलाइएका हिंसा, निर्वाचन आचारसंहिता तथा मानवअधिकारको हनन एवं हतियार तथा सेनाको अनुगमनका क्रममा फेला पारेका तथ्य संलग्न रहेको जनाएको छ।

निर्वाचनको अवस्था सुधार गर्नका लागि अनमिनले पाँचवटा सुझाव दिएको पनि प्रतिवेदनमा उल्लेख छ।

उक्त प्रतिवेदन ओएचसीएचआरसँगको संयोजनमा अनमिनले तयार गरेको प्रतिवेदनमा जनाइएको छ।

Popularity: 8%

Add comment March 31st, 2008

गृह मन्त्रालयद्वारा भर्त्सना

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गृह मन्त्रालयले विराटनगर उपमहानगरपालिका-७ सरोचिया सडकस्थित जामा मस्जिदमा अज्ञात व्यक्तिले फ्याँकेको तीनवटा सकेट बम विस्फोटन हुँदा विराटनगर-७ बस्ने फिरोज खाँ र परवेज अन्सारीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

जामा मस्जिदजस्तो धार्मिकस्थलमा आततायी समूहले बम विस्फोटन गराई निर्दोष व्यक्तिको ज्यान गएकामा मन्त्रालयले भर्त्सना गरेको छ।

सो घटनामा संलग्न जोसुकै व्यक्तिलाई खोजतलास गरी कारवाही गर्न सम्बन्धित स्थानीय प्रशासनलाई कडा निर्देशन दिइसकिएको जनाइएको छ।

सामाजिक सदभाव बिथोली संविधानसभा सदस्य निर्वाचनलाई असर पुर्‍याउने कुत्सित मनसायले गरिएको मानवताविरोधी सो कार्यबाट विचलित नभई सामाजिक सद्भाव कायम राख्‍न सबैमा मन्त्रालयले आग्रह गरेको छ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल र मानव अधिकार तथा शान्ति समाजले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गरी सो घटनाको भर्त्सना गरेका छन्।

Popularity: 8%

Add comment March 31st, 2008

चुनाव भाँड्नलाई माअ‍ोवादीको हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले यही चैत ५ गते रोल्पामा हत्या गरिएका नेकपा (माओवादी)का कार्यकर्ता टेकबहादुर बुढा र भक्तबहादुर विक (भानु कामी)को हत्यामा तीनजना संलग्न भएको जनाएको छ।

सो सम्बन्धमा स्थलगत अध्ययन प्रतिवेदन यहाँ सार्वजनिक गर्दै नियोकले उक्त घटनामा संलग्न रोल्पा गाम गाविस-८ फलिवाङका रामु घर्ती, सोही गाविसका लालमान घर्ती र अर्का एक अपरिचित रहेको प्रत्यक्षदर्शीले बताएको र ती व्यक्ति फरार रहेको जनाएको छ।

पाँच घण्टाको पैदल दूरीमा रहेको दुई घटनास्थलमा छ घण्टाको फरकमा घटना भएको, एकैथरी गोली प्रयोग भएको, एकै स्थानीय खाम भाषा प्रयोग गरी गालीगलौज गरेको र प्रभावशाली कार्यकर्ताको छानीछानी हत्या हुनाले दुवै घटनामा एकै समूह सामेल भएको र माओवादीलाई उत्तेजित बनाई संविधानसभाको चुनाव भाँड्ने लक्ष्यका साथ घटना गराइएको नियोकले जनाएको छ।

हत्यामा संलग्न भनिएका व्यक्तिलाई तत्काल पक्राउ गर्न, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्न, सुरक्षा नीति चुस्त बनाउन, चुनावको समयमा राजनीतिक दलहरुलाई स्वस्थ प्रतिस्पर्धामा सहजरुपले आ-आफ्ना कार्यक्रम सञ्चालन गर्ने वातावरण बनाउन पनि नियोकले सरकारलाई सुझाव दिएको छ।

अधिवक्ता श्रीकृष्ण सुवेदी, गुणराज घिमिरे र घनश्याम आचार्यसहितको टोलीले घटनास्थलको अध्ययन अवलोकन, प्रत्यक्षदर्शी, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक र राजनीतिक दलका प्रतिनिधि र माओवादी घटना छानबिन कमिटीसँग भेटघाट र छलफल गरी प्रतिवेदन तयार पारेको नियोकले जनाएको छ।

Popularity: 8%

Add comment March 31st, 2008

काँग्रेस कार्यकर्ताको हत्या प्रयास

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सुनसरी जिल्लाका नेपाली काङ्ग्रेसका कार्यकर्ता अब्दुल्ला मन्सुरलाई हिजो राति करिब ९३० बजेतिर मधेसी जनअधिकार फोरमका कार्यकर्ताले गोली हानी हत्या गर्ने प्रयास गरेका छन्।

उहाँ निर्वाचन क्षेत्र नं. ५ का नेपाली काङ्ग्रेसका उम्मेदवार सुजाता कोइरालालाई भेटेर इनरुवाबाट फर्किरहेको अवस्थामा नरसिंह गाविसमा फोरमका कार्यकर्ताले गोली हानेका थिए। उहाँको तिघ्रामा गोली लागेको छ र अहिले अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै उम्मेदवार कोइरालाको चुनावी प्रचारमा हिँडेको गाडीलाई फोरमका कार्यकर्ताले रोकी गाडीमा रहेका नेपाली काङ्ग्रेसका कार्यकर्तालाई गाडीबाट ओरालेर गाडीमा आगो लगाउने प्रयास गरेका थिए।

निर्वाचन नजिकिँदै गइरहेको बेला आपराधिक क्रियाकलाप बढ्दै गएको र चुनावी प्रतिस्पर्धामा उत्रिएका दलबाट नै आचारसंहिता विपरीतका क्रियाकलाप हुन गइरहेकामा निन्दा गर्दै पार्टीले यस्ता आपराधिक क्रियाकलाप रोक्न, संलग्न व्यक्तिलाई कारवाही गर्न र आचारसंहिता पालना गराउन सम्बन्धित निकायबाट उचित व्यवस्थाका लागि आग्रह गरेको छ।

Popularity: 8%

Add comment March 31st, 2008

नेपाली जनसम्पर्क समिति कोरियाको थेगु शाखा विस्तार

उमेश बस्नेत, सिओल कोरिया / एचकेनेपाल डट कम -
नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाको प्रथम अधिवेशनलाई ध्यानमा राखी ९ वटा क्षेत्रिय कार्य समिति बिस्तार गर्ने क्रममा मार्च २९ तारिख शनिवार साझ ७ नम्बर क्षेत्रिय समिति थेगु शाखा गठन गरिएको छ।

गणतंत्र कोरियाको तेस्रो ठूलो शहरथेगुस्थित नेपाली जनसम्पर्क समिति केन्द्रीय उपाध्यक्ष तथा क्षेत्र नंबर ७ का संयोजक नरेन्द्र गुरुंगको उपस्थितिमा छत्र श्रेष्ठको अध्यक्षतामा १७ सदस्यसीय कार्य समिति गठन गरेको छ।

समितिमा उपाध्यक्ष बिजयकुमार राई, उत्तम मानन्धर सचिवमा शिवबहादुर बस्नेत सह-सचिवमा, सन्तोष श्रेष्ठ कोषाध्यक्षमा यमलाल खाती र सदस्यहरुमा कृष्णबहादुर कार्की, मिलन गुरुंग प्रदीपराना मगर, मानसिह गुरुंग, केबी तामाङ, राजकुमार राई, मदन राई, शिव धिमिरे, शिवशंकर कांदु, खिमलाल भट्टराई र प्रकाश थापा निर्वाचित हुनु भएको छ। समितिले उक्त क्षेत्रमा रहेका नेपाली कांग्रेस पार्टीप्रति आस्थावान र सुभेच्छुकहरूलाई आगामी चैत्र २८ गते हुन गैरहेको ऐतिहासिक संविधान सभाको निर्वाचनमा “संविधान सभामा नेपाली कांग्रेसलाई जिताऔं, बहुलवादमा आधारित बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरौं” भन्दै आ-आफ्नो स्थानबाट विशेष भूमिका निर्वाह गर्न र विभिन्न सञ्चार माध्यमद्धारा स्वदेशमा रहनु भएका आफन्त परिवारजनहरुलाई सूचना प्रवाह गर्न हार्दिक अपिल गरेका छन्।

Popularity: 8%

Add comment March 31st, 2008

फेरि अर्को विष्फोटः २ को मृत्यु, ठूलो परिणाममा हतियार बरामद

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
बेवारिसे बम पड्कदा शनिवार अबेर राति दुर्गम पहाडी जिल्ला जाजरकोटको गर्खा गाविस - ९ को बैसाखे भन्ने गाउंमा एकै घरका दुई जना दाजुभाईको मृत्यु भएको छ।

मृत्यु हुनेमा २० वर्षीय गोविन्द शाह र उनका १७ वर्षीय भाई धनबहादुर शाह रहेका छन्।

घटनापछि त्यहां पुगेका प्रहरीले उनीहरुको घरबाट १ थान रकेट लञ्चर, १ थान एसएमजी राईफल र बम प्रहार गर्ने ८१ नामक हतियारको ३ थान सेल पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घटनास्थल सदरमुकाम खलंगादेखि १४ कोश पश्चिम कोलकोट र जुम्लाको सिमाना नजिक पर्दछ। घटना भएको घरमा लुकाई राखेको यति ठूला हतियार कस्को हो भन्ने बारेमा अहिलेसम्म केही जानकारी प्राप्त भएको छैन।

नेपालगञ्जबाट सम थापा / एचकेनेपाल डट कम।

Popularity: 8%

1 comment March 30th, 2008

इपीएस अन्तर्गत भाषा परीक्षा आज पनि

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कामदार अनुमती प्रणाली (इपीएस) अन्तर्गत कोरिया जान चाहने नेपाली परीक्षार्थीको कोरियाली भाषा परीक्षा (केएलटी) आज पनि हुँदैछ।

ललितपुरको ग्वार्को स्थित श्रम तथा रोजगार प्रवर्द्धन विभाग अन्तरगत रहेको इपीएस शाखाले दिएको जानकारी अनुसार कुल ३१ हजार ५२५ जना परीक्षार्थीमध्ये शनिबार २० हजार परीक्षार्थीले भाषा परीक्षा दिएका छन्। बाँकीको परीक्षा आज हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापनमा काठमाडौं उपत्यकाका विभिन्न १८ वटा केन्द्रमा हिजो अपरान्ह ३ बजेदेखि परीक्षा सञ्चालन भएको थियो।

परीक्षा अनुगमन गर्न २३ सदस्यीय टोली नेपाल आएको र सो टोलीले उत्तर पुस्तिका कोरिया लिएर जाने जानकारी इपीएस कार्यालयले दिएको छ।

परीक्षाको नतिजा संविधान सभाको निर्वाचनपछि आगामी बैशाख महिनाको पहिलो साता प्रकाशित गरिने बताइएको छ।

Popularity: 8%

Add comment March 30th, 2008

गोइत समूहद्वारा उम्मेदवारको अपहरण

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराईमा सशस्त्र सङ्घर्षरत अखिल तराई मुक्ति मोर्चाले प्रचारमा व्यस्त एक दलित उम्मेदवारलाई सप्तरीको पकरी गाविसबाट अपहरण गरेको छ।

चुनावी प्रचारमा पकरी गाविस पुगेका सप्तरी क्षेत्र नं. २ का उम्मेदवार राजकिशोर मण्डल अपहरणमा परेका हुन्। उनले दलित जनजाति पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन्।

अपहरणको अखिल तराई मुक्ति मोर्चाका क्षेत्र नं. २ का इन्चार्ज अविनाशले जिम्मा लिएका छन्। मोर्चाले आसन्न संविधानसभाको विरोध गर्दै आएको छ।

अपहरणको खवर पाउनासाथ घटनास्थललाई व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

Popularity: 8%

Add comment March 30th, 2008

उम्मेदवार आफैले भोट दिन नपाउने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्याङ्जा जिल्लाका तीन जना उम्मेदवारहरुले आफैले आँफैलाई समेत भोट दिन नपाउने भएका छन्।

जिल्लाका कूल तीन ओटा निर्वाचन क्षेत्रहरुमध्ये क्षेत्र नं १ र २ का काँग्रेस उम्मेदवारहरु क्रमशः कमलप्रसाद पंगेनी र गोपालमान श्रेष्ठ तथा क्षेत्र नं २ का जनमोर्चा नेपालमा उम्मेदवार जगदिशप्रसाद गैह्रेले आफूले आफैलाई समेत भोट दिन नपाउनु हुने भएको छ।

क्षेत्र नं २ को मतदाता सूचिमा कमलप्रसाद पंगेनीको नाम रहेको भएपनि उहाँ स्याङ्जा क्षेत्र नं १ मा काङग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको छ। त्यस्तै स्याङ्जा क्षेत्र नं १ मा नाम भएका काङग्रेस उपसभापति गोपालमान श्रेष्ठले क्षेत्र नं २ मा उम्मेदवारी दिनुभएको छ भने क्षेत्र नं ३ मा नामावली रहेका जनमोर्चा नेपालका जगदिशप्रसाद गैह्रेले क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएकोले उहाँहरुले आफैलाई भोट दिन नपाउने हुनु भएको हो।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख रमेश ढकालका अनुसार जहाँ आफ्नो नाम रहेको छ त्यही गएर भोट दिनुपर्छ, निर्वाचनमा उम्मेदवारी जहाँबाट दिन पाइएपनि भोट दिन भने नामावली भएकै ठाँउमा जानुपर्छ ,उम्मेदवारको लागि छुट्टै व्यवस्था छैन।

Popularity: 8%

Add comment March 30th, 2008

यस्ता पनि जेठाजु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जेठाजुको अनुचित प्रस्ताव नमान्दा सप्तरीकी एक युवतीले ज्यान गुमाउनु परेको छ।
सप्तरीको धरमपुर गाविस-६ निवासी २८ वर्षीया सरस्वती देवी साहले यसरी ज्यान गुमाउनु परेको हो।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार लक्ष्मण साहले आफ्नै भाई शत्रुघ्न साहकी पत्नी सरस्वतीसँग यौन सम्बन्धका लागि पटकपटक प्रयास गरेको र प्रस्ताव अश्विकार गरिएपछि लक्ष्मणले राति आगो लगाई सरस्वतीको हत्या गरेको बताइएको छ।

मट्टितेल छर्केर आगो लगाइएकी सरस्वतीलाई चिन्ताजनक अवस्थामा उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

सरस्वतीका श्रीमान् छ महिना अघि रोजगारीका लागि विदेशतर्फ गएको र भाईको अनुपस्थितिमा लक्ष्मणले पटकपटक बुहारीसँग यौन सम्बन्ध कायम गर्न गरेको प्रयास असफल बन्दै गएपछि अभियुक्तले यस्तो जघन्य अपराध समेत गरेको स्थानीयवासिन्दाले बताएका छन्।

घटनामा संलग्न लक्ष्मणलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ।

Popularity: 8%

5 comments March 30th, 2008

सशस्त्र समूहसँगको वार्ता भंग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वार्तामा बस्ने भनेका चारवटा सशस्त्र समूहले सरकारले अल्टिमेटमको बेवास्ता गरेको भन्दै वार्ता भङ्ग भएको बताएको छ।

सशस्त्र समूहका वार्ता समितिका संयोजक सञ्जयकुमार गुप्ताले शनिबार ३ बजेसम्म वार्ताको अल्टिमेटम दिए पनि सरकारी वार्ता टोलीले वार्ताका लागि कुनै पहल नगरेको आरोप लगाउँदै वार्ताको औचित्य नरहेको बताएका छन्।

यसअघि आफ्ना पक्राउ परेका कार्यकर्ताहरूको रिहाइ र कार्यकर्तामाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने माग राख्दै मधेसी मुक्ति टाइगर्स, जनतान्त्रिक तराई मुक्तिमोर्चा (राजन मुक्ति समूह), तराई कोब्रा र संयुक्त जनतान्त्रिक तराई मुक्तिमोर्चाले वार्तामा बस्ने बताएका थिए।

Popularity: 8%

Add comment March 30th, 2008

एमाले केन्द्रीय सल्लाहकार माअ‍ोवादीमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले) केन्द्रीय सल्लाहकार समितिका सदस्य रामचन्द्र भट्टराई नेकपा (माओवादी)मा प्रवेश गर्नुभएको छ। नेकपा (माओवादी)द्वारा आयोजित चुनावी सभामा भट्टराई नेकपा (माओवादी)मा प्रवेश गर्नुभएको हो।

नेकपा (एमाले)का तर्फबाट विगतमा राष्ट्रियसभा सदस्यसमेत बन्नुभएका भट्टराईले २०२७ सालमा पुष्पलालले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो। प्रवेशपछि उहाँले राज्यमा आइपर्ने चुनौतीसँग मुकाबिला गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो।

सो सभामा नेकपा (माओवादी)का वरिष्ठ नेता मोहन वैद्य ‘किरण’ले भट्टराईलाई टीका लगाई पार्टी भित्र्याएको घोषणा गर्नुभएको थियो।

श्री भट्टराई बुद्धिजीवी र साहित्यकारका रूपमा पनि परिचित हुनुहुन्छ।

Popularity: 8%

2 comments March 30th, 2008

प्रधानमन्त्रीको गृह नगरमा बम विस्फोट, दुईको मृत्यु

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको गृहनगर विराटनगरमा हिजो साँझ शनिवार अज्ञात समूहले गरेको बम विस्फोटनमा परी कम्तीमा दुई जनाको ज्यान गएको छ।

विराटनगरको सरौसियास्थित छोटी मस्जिदमा भएको बम विस्फोटनमा विराटनगर - ७ का फिरोजखान र परवेज इराकी अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अरु दुई गम्भीररुपले घाइते भएका छन्। घाइतेको कोशी अञ्चल अस्पतालमा उपचार भै रहेको छ।

नवाज प्रार्थनाको गरिरहेको बेला मोटरसाइकलमा आएका दुईजनाले मस्जिद गेटबाट चारवटा बम फालेर भागेको प्रत्यक्षदर्शीले बताए। चारवटा बममध्ये तीनवटा बम विस्फोट भएका थिए। घटनापछि साँझ नौबजेदेखि घटनास्थल र आसपासका सीमित क्षेत्रमा मोरङ प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।

घटनापछि डिफेन्स आर्मीका सर्वोच्च सैन्य कमाण्ड आरपी मैनाली (परिवर्तन)ले विस्फोटको जिम्मेवारी लिएका छन्। यस घटनाले नेपालमा सुरक्षा व्यवस्थामा सुधार हुन नसकेको र वातावरणलाई खलल पारी संबिधानसभाको निर्वाचनलाई असफल बनाउने तत्वहरुको जगजगी जाहेर भैरहेको स्पष्ट देखिएको छ।

Popularity: 8%

Add comment March 30th, 2008

पत्रकार महासंघको स्थापना दिवस

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
नेपाल पत्रकार महासंघले आज शनिवार संघको ५३औं स्थापना दिवसको अवसर पारेर मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गर्‍यो।

महासंघले आज बिहान राजधानीमा प्रभातफेरी र्‍यालीको आयोजना गरेको थियो। प्रभातफेरी भृकुटीमण्डपबाट सुरु भै सहिद गेट, रत्नपार्क, पुतलीसडक हुंदै पुनः भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो। महासंघका अध्यक्ष विष्णु निष्ठुरीले नेपालका पत्रकारहरु अझै जोखिममा रहेको उल्लेख गर्नुभयो। सोही कार्यक्रममा उपाध्यक्ष शिव गाउंले, पत्रकार गोविन्द आचार्यले आफ्ना भनाईहरु राख्नुभएको थियो।

त्यसै गरी, पत्रकार महासंघको २२औं महाधिवेशन बैशाख २१ र २२ गते राजधानीमा हुने भएको छ। पत्रकार महासंघको हिजो शुक्रबार बसेको बैठकले पत्रकार राजेन्द्रदेव आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। निर्वाचन समितिका सदस्यहरूमा टीकाराम भट्टराई र योगेन्द्र अधिकारी रहनुभएको छ। महासंघका अध्यक्ष विष्णु निष्ठुरीले अर्को कार्यकालका लागि पुनः चुनावमा नउठ्ने बताउंनु भएको छ।

पत्रकार महासंघले लोकतन्त्रको आधार, स्वतन्त्र प्रेस र सुरक्षित पत्रकार भन्ने नारालाई अघि सारेको छ।

Popularity: 8%

Add comment March 29th, 2008

कोरियामा प्रवासी नेपाली समाचार

एचकेनेपाल डट कम सम्वाददाता -
कोरियामा रहेका प्रवासी नेपालीहरुलाई मध्यनजर गर्दै हालै नयाँ समाचार साइट सुरू भएको छ। एक कोरियन संस्था इन्टरनेट ब्रोडकास्ट फर माईग्रेन्टस इन कोरियाले अन्य सातवटा विभिन्न भाषासहित नेपाली भाषामा पनि प्रकाशन/ प्रसारण प्रारम्भ गरेको हो।

प्रवासी नेपाली समाचार, कोरियाको वेभ ठेगाना http://nepal.migrantsinkorea.net/ रहेको छ । एक प्रजातीय कोरियाली समाजमा प्रवासीहरुको सम्मानजनक जीवनका लागि वकालत गर्नु यसको मुख्य उद्धेश्य हो। प्रवासीका समाचारहरुलाई रेडियो भिडियो र समाचारका माध्यमबाट यसले प्रकाशित तथा प्रसारित गर्दछ।

हाल कोरियामा करीव ६ हजार नेपाली रहेको र ईपिएस अन्तर्गत प्रत्येक वर्ष ५ हजार कामदार पठाउने नेपाली लक्ष्य रहेकाले नेपाली समाचार साइटलाई आफ्नो कम्पनीले उच्च प्राथमिकता दिएको यसका अध्यक्ष ख्यङजु पार्कले बताउनु भएको छ। हाल कोरियामा नेपाली भाषामा सञ्चालित केही समाचार साइटहरुले यहाँको नेपाली समाजलाई सूचना दिएपनि तिनीहरुले कोरियाली अधिकारीहरु र समाजलाई नेपाली समुदायको समस्या जानकारी गराउन सकेका छैनन्। यस समाचार साइटले मजदुरहरुलाई कानुनी, सामाजिक तथा सांस्कृतिक ज्ञान दिनुका साथै उनीहरुका आवाजलाई कोरियाली सरकार तथा समाज समक्ष प्रस्तुत गर्नेछ। साथै कोरियाली समाज र जीवनशैलीका बारे समाचार दिएर कोरिया आएका नेपालीहरुलाई समायोजनका लागि सजिलो वातावरण तयार गर्नेछ।

प्रवासी नेपाली समाचार http://nepal.migrantsinkorea.net/ मा छापिएका समाचारहरु आवश्यकता अनुसार कोरियन भाषामा पनि अनुवाद हुने भएकाले यो समाचार साइटले नेपाली समाज र कोरियाली समाजवीच सूचना आदान प्रदानका लागि पुलको काम गर्न सक्ने यसका सम्पादक माधवी भट्टले बताउनु भएको छ। कान्तिपुर दैनिकका पूर्व पत्रकार भट्टले विभिन्न देशमा नेपाली समुदायहरु माझका समाचारहरु उपलब्ध गराउनु हुन पनि यसका भिजिटरहरुलाई आग्रह गर्नु भएको छ।

Popularity: 8%

Add comment March 29th, 2008

एसएलसी परीक्षार्थीबीच छुरा हाना हान हुंदा एकको मृत्यु

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
एसएलसी परीक्षा दिन गएका परीक्षाहरुबीच छुरा हानाहान गर्दा मोरङका एक परीक्षार्थीको मृत्यु भएको छ।

प्राप्त समाचारका अनुसार मृत्यु हुनेमा सजिलाल माविका विद्यार्थी मनोज राई हुन्। इन्द्रपुरस्थित सकुना माध्यमिक बिद्यालयमा परीक्षा दिन जाँदा मूलद्वारमा टाँसिएको मनोजको सिम्बोल नं. मणिकुमार गुरुङको टोलीले च्याति दिएपछि आपसमा झडप भएको थियो। प्रत्यक्षदर्शी अनुसार मनोजले गुरुङमाथि छुरा प्रहार गर्ने प्रयास गरेका थिए। तर, सोही समयमा निर्वाचन सामाग्री बोकेर आएका सशस्त्र प्रहरीले उनीहरुको झडप रोकेर साम्य पारेका थिए। प्रहरी गै सकेपछि फेरि झगडा सुरु हुंदा ईंटा र छुरा हानाहान भएका थिए। घाइते अवस्थामा भाग्दै गरेका राईमाथि गुरुङ समूहले लखेट्दै ईंटा र छुरा गर्दा राईको मृत्यु भएको बताइन्छ।

परीक्षा केन्द्रमा खटिने प्रहरीहरु समयमा पुग्न नसक्दा घटनालाई साम्य पार्न नसकेको भन्दै स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन्। सोही घटनालाई लिएर केही अभिभावकहरुले महेन्द्र राजमार्ग अवरुद्ध पारेका थिए। प्रहरीले गुरुङलाई घाइते अवस्थामा नै पक्राउ गरेको छ भने घटनामा आधा दर्जन विद्यार्थी घाइते भएका छन्।

Popularity: 8%

1 comment March 29th, 2008

कोरियामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने

डम्बर सुब्बा, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
नेपाली सम्पर्क समिति बुसान तथा ख्योङनाम शाखाको संयुक्त आयोजनामा कोरियाको दोस्रो शहर बुसानमा यहि अप्रिल १३ तारिख आईतबारको दिन नेपाली बर्ष २०६५ को उपलक्ष्यमा नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।

नेपाली वर्ष २०६५ को उपलक्ष्यमा आयोजना गरिने उक्त कार्यक्रममा शुभ कामना आदान प्रदान तथा नेपाली तथा कोरियन कलाकारहरुको सांगीतिक प्रस्तुती रहने आयोजक संस्थाले बताएको छ। दक्षिण कोरियास्थित विभिन्न पेशामा आबद्ध सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई दिन हुन संस्थाले अनुरोध गरेकोछ। सिओलदेखि बुसानसम्म जानको लागि बसको व्यवस्था गरिएको नेपाली सम्पर्क समिति केन्द्रीय अध्यक्ष इश्वर केसीले बताउनु भएको छ।

स्मरणीय छ, हालसम्म नेपाली सांस्कृतिक कार्यक्रम सिओलमा मात्र केद्रिन्त रहेको थियो। बुसानमा हुन गई रहेको यस कार्यक्रमले नेपाली संस्कृतिको विस्तारमा ठूलो सहयोग पुग्ने अनुमान गरिएको छ।

Popularity: 8%

Add comment March 29th, 2008

प्रवासको पाँच तारे होटलमा नेपाली पोशाक (+Photo)

दामोदर नेपाल, युएइ / एचकेनेपाल डट कम -
नेपालीहरु विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो पहिचानलाई सदैव उच्च राख्न रुचाउँछन् भन्ने कुराको उदाहरण बनेका छन् यूएइस्थित एक पाँच तारे होटल लि रोयल मेरिडियनमा कार्यरत नेपालीहरु।

यूएइको राजधानी अबुधावीमा रहेको उक्त होटलमा कार्यरत केही नेपालीहरु आफ्नो नेपाली पहिचानको पोशाक दौरा सुरुवालमा सजिएर आफ्नो होटलमा प्रस्तुत भएका थिए। गत मार्च २२ तारिखका दिन उक्त होटलले आफ्ना कर्मचारीहरुका लागि स्टाफ पार्टीको आयोजना गरेको थियो। सो स्टाफ पार्टीमा त्यहाँ उपस्थित भएका नेपालीहरुले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल र भादगाउँले टोपी तथा ढाकाको टोपी लगाएर उपस्थित हुँदा उक्त होटलका सबै कर्मचारी तथा उच्च पदस्थ व्यक्तिहरु रमाइलो मान्दै त्यो पोशाकका बारेमा बढी जानकारी लिन व्यस्त रहेको देखिएको थियो।

सो कार्यक्रममा उपस्थित होटलका जिएम लगायतका अन्य व्यक्तिहरुले पनि नेपाली पोशाक देख्दा अत्यन्तै खुशी हुँदै नेपाली पोशाकमा रहेका नेपालीहरुलाई स्यावासी दिएका थिए। करीब ३५ देशका नागरिकहरु कार्यरत सो होटलमा नेपालीहरुको उपस्थिति अन्य देशहरुका नागरिकहरु अगाडि अन्यन्तै महत्वपूर्ण रहेको थियो। कार्यक्रममा नेपालीहरुलाई अत्यन्तै आकर्षक पोशाकमा सजिएर उपस्थित भएको देख्दा खुशी हुँदै सो होटलका म्यानेजरले ती नेपालीहरुलाई आर्थिक पुरस्कार समेत प्रदान गरेका थिए। यूएइमा कार्यरत ती राष्ट्रप्रेमी नेपालीहरुको देश प्रेमलाई सम्पूर्ण नेपालीहरुले बुझ्न सके हाम्रो देश नेपालको विकास धेरै टाढा छैन होला तर आसन्न संविधानसभाको चुनावी मैदानमा जसरी पनि चुनाव जित्नु पर्छ भन्ने उद्देश्यका साथ भौंतारिएका नेपालका विभिन्न दलका नेता तथा कार्यकर्ताहरुमा के यस्तो राष्ट्र प्रेम छ त- प्रवासी नेपालीहरु देशवासीहरुसँग यो प्रश्न सोधिरहेका छन्। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 8%

Add comment March 29th, 2008

जनसम्पर्क समिति स्वीट्जरल्याण्डद्वारा डोल्मालाई आर्थिक सहयोग

एचकेनेपाल डट कम, स्वीट्जरल्याण्ड -
नेपाली जन सम्पर्क समिति स्वीट्जरल्याण्डले कुवेतमा मृत्युदण्डको प्रतिक्षा गरेर त्रासदीपूर्ण रुपमा कालकोठरीमा दिन बिताई रहेकी नेपाली चेली डोल्मा शेर्पाको जीवन रक्षाका लागि स्वीट्जरल्याण्ड भरी “डोल्मा शेर्पा सहायता अभियान ” संचालन गरी आर्थिक संकलन गरेको छ।

उक्त अभियानमा स्वीट्जरल्याण्डमा रहेका नेपाली दाजुभाई दिदिबहिनी एवं अन्य महानुभावहरुले आफ्नो स्वेच्छाले उत्साह पूर्वक गर्नुभएको आर्थिक सहयोगबाट संकलित एक मुष्ट रकम २५०२ स्वीस फ्रयाङ्क (लगभग डेढ लाख नेपाली रुपैया) साउदी अरेवियास्थित नेपाली दूतावासले खोलेको खातामा जम्मा गरिएको समितिका अध्यक्ष भीमबहादुर भण्डारी र महासचिव गुणराज शर्माद्वारा संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ।

एक नेपाली चेलीलाई परदेशमा परेको आपत र दुःखप्रति सदभाव राख्दै दिल खोलेर आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण स्वीट्जरल्याण्डबासी नेपाली दाजुभाई दिदीबहिनी एवं अन्य महानुभावहरुमा नेपाली जनसम्पर्क समितिकातर्फबाट हार्दिक आभार ब्यक्त गरेको छ। साथै यस्ता पूण्य कार्यका लागि आफ्ना अमूल्य समय दिई खटेर आर्थिक सहयोग संकलनका लागि लाग्नु हुने इन्द्रबहादुर खड्का (बर्न), रेशमबहादुर खत्री -बासेल), नारायण सापकोटा (सेन्ट गालेन), घनराज कार्की (अराउ), सुरज अधिकारी र कृष्ण सुनार (जुरिख), तथा राजन सुवेदी (कुर) लगायतका साथीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गरेको छ। समितिले भविष्यमा संचालन गर्ने यस्ता कार्यक्रमहरुमा यस्तै सहयोग र सदभावले निरन्तरता पाउने छ भन्ने आशासमेत व्यक्त गरिएको छ।

Popularity: 8%

Add comment March 29th, 2008

संघीय बने देश टुक्रने बिजुक्छेको चिन्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशलाई भाषिक र जातीय आधारमा सङ्घात्मक ढाँचामा लैजान नहुने बताउनुभएको छ।

सो पार्टीको दुवाकोट गाउँ इकाईले आज दुवाकोट गाविसमा आयोजना गरेको आमसभामा उहाँले भाषिक र जातीय आधारमा सङ्घात्मक ढाँचामा विभाजन गरे देश टुक्रिने बताउँदै आत्मनिर्णयको अधिकारसमेत कसैलाई दिन नहुने धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष बिजुक्छेले नेपालमा भारत र चीनको हस्तक्षेप बढ्नसक्ने भएकाले मुलुकका १८ वर्ष पुगेका युवालाई अनिवार्यरूपमा सैनिक तालिम दिइनुपर्ने धारणा पनि राख्नुभयो।

उहाँले काठमाडौँ उपत्यकालाई छुट्टै नेवाः राज्य बनाउन नहुने बताउँदै काठमाडौँ उपत्यकामा ३५ प्रतिशतमात्र नेवार भएको र ६५ प्रतिशत गैर नेवार भएकाले नेवाः राज्य आवश्यक नभएको टिप्पणी गर्नुभयो।

सो अवसरमा नेमकिपाका जिल्ला नेताहरू केदार खड्का, हिमालयश्वर मूल, गोविन्द दुवाल, राजेन्द्रकुमार प्रधानाङ्गलगायतले संविधानसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो।

Popularity: 8%

3 comments March 28th, 2008

नागरिक समाजका अगुवा हिंसाबाट चिन्तित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नागरिक समाजका नौ जना अगुवाले एक वक्तव्य जारी गरी आधा शताब्दीभन्दा पनि लामो नेपाली जनताको सङ्घर्षपछि बल्लबल्ल हुन लागेको संविधानसभाको पूर्वसन्ध्यामा देशलाई नेतृत्व प्रदान गरिरहेका प्रमुख राजनीतिक दलहरुका बीचमा केही साता यता विकसित भइरहेको अस्वस्थ चुनावी द्वन्द्व र हिंसात्मक आक्रमण-प्रत्याक्रमणको सिलसिलाले आफूहरुलाई अत्यन्त चिन्तित तुल्याएको जनाएका छन्।

उहाँहरुले सात दलले अविलम्ब बैठक बसेर सो विषम प्रक्रियालाई रोक्न र त्यस्ता क्रियाकलाप फेरि दोहोरिन नदिनका लागि प्रभावकारी कदम चाल्न आवश्यक भएको धारणा वक्तव्यमा व्यक्त गर्नुभएको छ।

वक्तव्यमा भनिएको छ- निर्वाचन प्रक्रियामा कुनै पनि पक्षलाई चुनावको प्रचारप्रसार गर्नमा अवरोध पुर्याउने तथा उम्मेदवार र कार्यकर्तामाथि शारीरिक आक्रमण र हत्या गर्ने सिलसिलाले संविधानसभालाई स्वच्छ, निष्पक्ष र भयरहित नबनाउने तथ्यप्रति गम्भीर हुन सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ।

यस्ता घटनाबाट संविधानसभा नै नहोस् भन्ने चाहने प्रतिगामी तत्वलाई सिवाय अरु कसैलाई मद्दत पुग्दैन भन्ने कुरा पनि वक्तव्यमा स्पष्ट गरिएको छ।

अहिले भइरहेका अस्वस्थ र आक्रामक घटनाहरुलाई फेरि दोहोरिन नदिन र संविधानसभालाई स्वच्छ, निष्पक्ष बनाउनका लागि दबाब दिन र खबरदारी गर्न आफूहरु क्रियाशील हुने जनाउँदै उहाँहरुले वक्तव्यमा यसका लागि सम्पूण जागरुक नागरिकलाई आ-आफ्नो स्थानबाट क्रियाशील हुन आग्रह गर्नुभएको छ।

वक्तव्य जारी गर्नेहरुमा दमननाथ ढुङ्गाना, नीलाम्बर आचार्य, पद्मरत्न तुलाधर, डा.महेश मास्के, कनकमणि दीक्षित, सुशील प्याकुरेल, श्याम श्रेष्ठ, चरण प्रर्साईं र सिके लाल हुनुहुन्छ।

Popularity: 8%

Add comment March 28th, 2008

चुनाव प्रचारका लागि घर-घरमा झण्डा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा चुनावका लागि नेकपा माओवादीले बैतडीका घर घरमा झण्डा गाड्ने अभियान थालेको छ।
एक घर एक भण्डा अभियान अन्तरगत गाउँ गाउँमा हसिया हतौडा अंकित झण्डा गाड्न थालिएको हो।

माओवादी जिल्ला कमिटिले दश हजार झण्डा बनाएर घर घरमा गाड्न कार्यकर्ता समेत खटाएको छ। झण्डा गाड्न २५-२५ जना कार्यकर्ताको समूह बनाएर खटाएको र त्यसका लागि जिल्ला भरी १६ टोली खटाइएको छ।

निर्वाचन आयोगले पर्चा पम्पलेट टाँस्न र भित्ते लेखन गर्न बन्देज लगाएपछि झण्डा गाड्ने अभियान थालिएको हो। केही गाउँमा स्थानीय बासिन्दा आफैले र केही गाउँमा मात्रै आफूहरुले झण्डा गाड्न थालेको बोहराले बताउनु भयो। अन्य दलहरुले पनि बैतडीमा झण्डा गाड्ने अभियान थालेका छन्। आचारसंहिता भित्र रहेरै प्रचारप्रसारको अभियान अन्तरगत झण्डा गाड्न थालको सबै दलले जनाएका छन्

Popularity: 8%

2 comments March 28th, 2008

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....