Archive for March 1st, 2008

लिम्बुवान, खम्बुवानसहितको मोर्चासित सहमति, आन्दोलन फिर्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सरकार र सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चाबीच सहमति भई आज प्रधानमन्त्री निवास, बालुवाटारमा एक समारोहबीच पाँच बुँदे सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको समुपस्थितिमा दुवै पक्षका वार्ताकारहरूले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सो मोर्चामा आबद्ध सात दलले गत फागुन १ गतेदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएकोमा तीमध्ये पाँच दलले सरकारी वार्ताटोलीसँग सहमति गरेका छन् ।

सम्झौतापछि सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालद्वारा आह्वान गरिएको आम हड्ताललगायतका बन्दका सबै कार्यक्रम फिर्ता लिई चैत २८ गतेको संविधानसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सो सहमतिपत्रमा लिम्बुवान, खम्बुवान तामाङसालीङ, थरूहट, दलित आदि जनताको आन्दोलनमा सहादतप्राप्त सहिदहरूलाई सम्मानका साथ सहिद घोषणा गरी आस्रित परिवारलाई रु.दस लाखका दरले राहत प्रदान गर्ने र सहिदका परिवारका एक सदस्यलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था गर्ने, घाइते आन्दोलनकारीलाई उपचार र नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दाहरू खारेज गरी तत्काल रिहाई गर्ने उल्लेख गरिएको छ ।

यसैगरी संविधानसभाको माध्यमले राजतन्त्रको समूल अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गर्ने र यसको कार्यान्वयनका लागि सात दल प्रतिबद्ध रहने भनिएको छ ।

सहमतिपत्रमा २३९ वर्षदेखिको केन्द्रीकृत तथा एकात्मक शासनप्रणाली वा राज्य व्यवस्थालाई अन्त्य गरी राज्यको नयाँ संरचना गर्दा नेपालको र्सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण्ण राख्दै लिम्बुवान, खम्बुवान, तामाङसालिङ, थरूहटलगायतका आदिवासी जनजाति, दलित, पिछडिएका वर्ग र जातिहरूको ऐतिहासिक पृष्ठभूमि, भाषा, भौगोलिक क्षेत्र र आर्थिक स्रोत तथा सम्भाव्यताका आधारमा वैज्ञानिक स्वशासनयुक्त स्वायत्त गणराज्यसहितको सङ्घीय शासनप्रणालीको संधिवानसभाबाट संवैधानिक व्यवस्था गरिने उल्लेख छ ।

राज्यको नयाँ संरचनाका सम्बन्धमा गठन हुन गइरहेको पुनसंरचना आयोगमा यो सम्झौता कार्यान्वयनको लागि पठाइने उल्लेख गरिएको छ । आदिवासी, जनजाति, तर्राईका मूलवासी, दलित, पिछडावर्ग, अल्पसङ्ख्यक मुसलमान र महिलालाई राज्यका सम्पूर्ण अङ्गमा समावेशी समानुपातिक सहभागी गराउने व्यवस्था गरिने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट वार्ताटोली संयोजक शान्ति तथा पुनःनिर्माणमन्त्री रामचन्द्र पौडेल, सदस्यहरू स्थानीय विकासमन्त्री देवप्रसाद गुरुङ, शङ्कर पोखरेल, घनश्याम शर्मा पौडेल, सुनिल प्रजापति र केशव नेपाल र मोर्चाका तर्फबाट सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष डि.के. बुद्धिष्ट, सङ्घीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङदेन, संयुक्त थारू राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारू, दलित जनजाति पार्टी अध्यक्ष विसेन्द्र पासवान र तामाङसालीङ स्वायत्त राज्य परिषद्का उपाध्यक्ष सिङमान तामाङले हस्ताक्षर गर्नुभएको छ ।

Popularity: 9%

4 comments March 1st, 2008

सहमतिको तीन दलद्वारा विरोध

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सम्झौताका केही बुँदामा तीनदलले गम्भीर असहमति जनाएका छन्।

सम्झौता प्रक्रिया संवैधानिक व्यवस्था र विषयवस्तुका कारण बेठिक, भ्रामक र राष्ट्रहितविरुद्ध समेत रहेको भन्दै नेपाल मजदुर किसान पार्टी जनमोर्चा नेपाल र संयुक्त वाममोर्चा नेपालले प्रेस विज्ञप्ति प्रकाशित गरी त्यसमा असहमति जनाएका हुन्।

ती दलले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी र्सार्वजनिक गरेका असहमतिका बुँदाहरूमा फागुन ११ गते बसेको सातदलको शीर्ष बैठकको निर्णय विपरीत प्रधानमन्त्रीले सम्झौता गर्नु, मधेसको परिभाषाविना स्वायत्त मधेस प्रदेश विभाजन गर्नु, निर्वाचन ऐनमा भएको २० प्रतिशतलाई बर्ढाई ३० प्रतिशत बनाउनु समावेशी समानुपातिकविपरीत भएको रहेका छन्।

यसैगरी नेपाली सेनामा मधेसीलगायत अन्य समुदायको समानुपातिक समावेशी र समूहगत प्रवेशले जटिलता र अन्योल उत्पन्न गर्ने, राज्य पुनःसंरचनाको संवैधानिक व्यवस्थालाई अविश्वासपूर्ण पुर्याएकोजस्ता सातवटा बुँदा रहेका छन्।

पत्रकार सम्मेलनमा जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले मधेस प्रदेशको परिभाषा के हो भन्ने प्रश्न गर्दै यसले भ्रम सृजना गर्ने बताउनुभयो।

संयुक्त वाममोर्चा नेपालका अध्यक्ष सिपी मैनालीले हिजोको सम्झौताले दलहरूलाई साम्प्रदायिक बनाउने र नेपाली सेनाको छवि धमिल्याउने बताउनुभयो।

नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले यो सरकारलाई स्वायत्त प्रदेशको सम्झौता गर्ने अधिकार नभएको बताउँदै सेनामा समूहगत प्रवेश भनेको के हो भन्ने प्रश्न गर्नुभयो।

Popularity: 9%

Add comment March 1st, 2008

उम्मेदवारका घरमा बम

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बारा क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद कलवारको घरमा राखिएको बम जिल्ला प्रहरी कार्यालय बाराले निष्क्रिय पारेको छ।

उक्त बम तराईमा सङ्घर्षरत तराई मुक्ति मोर्चाका कार्यकर्ताले राखेको मोर्चाका क्षेत्रीय संयोजक अग्निले स्थानीय सञ्चारकर्मीलाई फोन गरी जानकारी दिएका छन्।

यसैबीच तराईका संविधानसभामा उठेका उम्मेदवारलाई फोन गरी पटक पटक धम्की आउने पीडितहरु बताउँछन्

Popularity: 9%

Add comment March 1st, 2008

सम्झौताले भारतीय आप्रवासीको हात बलियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
एकीकृत नेपाल राष्ट्रिय मोर्चाले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको आठबुँदे सहमतिले नेपालमा भारतीय आप्रवासीको हात बलियो भएको प्रतिक्रिया जनाएको छ।

भारतको हस्तक्षेपकारी भूमिका र निर्देशनका बीच भएको सो सहमतिले नेपालमा कुनै नभएको मधेसलाई स्थापित गरेको तराईलाई चाहिँ विस्थापित गर्न खोजेको छ भन्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सरकारले सो सहमतिमार्फ २०६३ जेठ ४ को प्रतिनिधिसभाको घोषणाको मर्ममाथि ठाडो प्रहार गर्दै राष्ट्र विखण्डनकारीलाई प्रोत्साहन गरेको जनाउनुभएको छ।

Popularity: 8%

1 comment March 1st, 2008

सहमतिको नेमकिपाद्वारा विरोध

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सरकार र संयुक्त मेधसी मोर्चाबीच भएको आठ बुँदे सहमतिको नेपाल मजदुर किसान पार्टीले विरोध गरेको छ।

नेमकिपाले प्रेस विज्ञप्ति प्रकाशन गरी आउनै लागेको संविधानसभा निर्वाचनअगि नै स्वायत्त मधेस प्रदेशलगायत अनेक क्षेत्रको स्वायत्त प्रदेशलाई स्वीकार गरिनु निष्पक्ष, स्वत्रन्त्र र धाँधलीरहित निर्वाचनको सिद्धान्तविपरीत भएको जनाएको छ।

पार्टी सचिव सुनिल प्रजापतिले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा सम्झौता गर्दा ठूला राजनीतिक दलले साना दलको उपेक्षा गरिएको आरोप लगाइएको छ।

संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगले मनोनयन दर्ता खुला गरी दलहरुले मनोनयन दर्ता गरिसकेको अवस्थामा भएको सम्झौताले आयोगको अधिकारसमेत हनन गरेको आरोप पनि लगाइएको छ।

नेमकिपा भक्तपुरका अध्यक्ष रमेश थापा श्रेष्ठले नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न मधेसीलगायत अन्य समूहको समूहगत प्रवेशले साम्प्रदायिक भावना बढाउने र विदेशी चलखेलसमेत बढ्ने भएकाले पार्टीले यसलाई अस्वीकार गरेको जानकारी दिनुभयो।

Popularity: 8%

1 comment March 1st, 2008

निर्वाचनको संशोधित कार्यक्रम

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
निर्वाचन आयेगले संविधानसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचनको संशोधित कार्यक्रम प्रकाशन गरेको छ।

आयोगद्वारा प्रकाशित प्रेस विज्ञप्तिअनुसार यही फागुन १६ गते प्रकाशित उम्मेदवारको नामावलीमा कायम रहेका उम्मेदवारबाहेक अन्य उम्मेदवारको मनोनयनपत्र दर्ता र उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन गर्ने दिन यही फागुन २३ गते क्रमशः बिहान दश बजेदेखि पाँचबजे र अपराहृन साढे पाँचदेखि बेलुका आठ बजेसम्म तोकिएको छ।

उम्मेदवारको विरोधमा उजुरी दिने फागुन २४ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय र उम्मेदवारको नामावली प्रकाशन गर्ने फागुन २५ गते क्रमशः दशबजेदेखि अपरान्ह पाँच बजे,दशबजेदेखि अपराहृन चार बजे र अपराहृन साढे चारबजेदेखि बेलुका साढे छ बजेसम्म तोकिएको छ।

यसैगरी उम्मेदवारको नाम फिर्ता लिने मिति फागुन २६ गते बिहान नौ बजेदेखि दिउँसो एक बजेको समय तोकिएको छ। उक्त फिर्ता मिति यही फागुन १६ गते प्रकाशित उम्मेदवारको नामावलीमा नाम कायम रहेका उम्मेदवार समेतका लागि रहेको आयोगले जनाएको छ।

निर्वाचन कार्यक्रमअनुसार फागुन २६ गतेका दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गरिने समय क्रमशः सवा दुइ बजे र दिउँसो साढे दुइ बजेदेखि अपराहृन साढे पाँच बजे तोकिएको छ।

आयोगद्वारा प्रकाशित संशोधित निर्वाचन कार्यक्रमअनुसार समानुपातिक निर्वाचनका लागि फागुन ८ र १२ गते उम्मेदवारको बन्दसूची पेस गर्ने राजनीतिक दलबाहेक अन्य राजनैतिक दलका लागि बन्दसूची पेस गर्ने मिति फागुन १९ गते बिहान दश बजेदेखि अपराहृन पाँच बजेको समय तोकिएको छ।

उम्मेदवारको बन्दसूची सच्याउन राजनैतिक दललाई सूचित गर्ने फागुन २० गतेदेखि २६ गते बिहान दशबजेदेखि अपराह्न पाँच बजे तोकिएको छ भने बन्दसूची संशोधनका लागि फागुन २७ गते बिहान दश बजेदेखि अपराहृन पाँच बजेको समय तोकिएको छ।

यसैगरी आगामी चैत ४ गते बिहान दश बजेदेखि अपराहृन पाँचबजेसम्म बन्दसूची सार्वजनिक गर्ने, चैत्र ५ गते बिहान दश बजेदेखि अपराहृन पाँच बजे दावी विरोध र उक्त दावी विरोधउपर जाँचबुझ र निर्णयका लागि चैत्र १२ गतेदेखि १८ सम्म बिहान दश बजेदेखि अपराह्न पाँच बजेको समय तोकिएको छ।

चैत १९ गते बिहान दश बजेदेखि अपराहृन पाँच बजेसम्म बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र चैत्र २० गतेदेखि २१गते बिहान दशबजेदेखि अपराहृन पाँच बजेसम्म बन्दसूचीबाट उम्म्ोदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा निवेदन दिने दिन तोकिएको छ।

उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनैतिक दललाई चैत्र २२ गते बिहान दश बजेदेखि दिउँसो १२ बजेसम्म दिनाका साथै चैत २२ गते दिउँसो सवा बाह्र बजेदेखि एक बजेसम्म बन्दसूचीका उम्मेदवारको नाम अन्तिमरुपमा प्रकाशन गर्ने र चैत २२ गते दिउँसो सवा एक बजेदेखि अपराहृन पाँच बजेसम्म निर्वाचन चिहृन प्रदान गर्ने मिति तोकिएको आयोगले जनाएको छ।

Popularity: 8%

Add comment March 1st, 2008

तराईका विभिन्न स्थानमा विजय जुलुस

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राज्य पक्ष र संयुक्त मधेसी मोर्चाबीच भएको आठसूत्रीय सम्झौता भएको खुसियालीमा विभिन्न गाउँमा विजय जुलुस प्रदर्शन भएको छ।

जलेश्वर, पिपरा, सुगा, मट्टहिनी, धिरापुर, बहेडा, गौशाला, राम गोपालपुर, मरुवाडी, अनकारलगायत विभिन्न गाउँमा विजय जुलुस प्रदर्शन भएको छ।

सहमतिको स्वागत गर्दै भैरहवामा पनि खुसियाली मनाइयो। अधिकारको माग राख्दै आन्दोलन गरिरहेको तराई- मधेस लोकतान्त्रिक पार्टी मधेसी जनअधिकार फोरम तथा सदभावना पार्टी कार्यकर्ताले सहमतिले तराईको विजय भएको भन्दै संयुक्त रुपमा विजय जुलुस निकालेका छन्।

सरकार र मोर्चाबीच आठबुँदे सम्झौता भएको खुसियालीमा कलैयामा पनि मोर्चा समर्थक कार्यकर्ताले विजयी जुलुस प्रदर्शन गरे।

गाउँगाउँबाट बाजागाजाका साथ आएको जुलुसले विभिन्न नारा लगाउँदै कलैया नगरपरिक्रमा गरेको थियो। रङ, अबिर उडाउँदै मधेसी जनता राताम्य बनेका थिए।

त्यसैगरी सो सहमतिको स्वागत गर्दै झापाको दक्षिणी मधेसी बाहुल्य क्षेत्रमा विजयी जुलुस प्रदर्शन गरियो।

जुलुसपछि आयोजित सभामा वक्ताहरुले आठ बूँदे सहमतिले मधेसीलगायत उत्पीडनमा रहेका अन्य सबै जातीय समुदायको अधिकारलाई सुनिश्चत गरेको बताए।

Popularity: 8%

Add comment March 1st, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....