Archive for March 2nd, 2008

प्रवासी पत्रकार संघ द. कोरियाको अध्यक्षमा भूपेन्द्र आचार्य

पुरू जोशी, द. कोरिया / एचकेनेपाल डट कम
नेपाल पत्रकार महासंघको दक्षिण कोरिया शाखा प्रवासी नेपाली पत्रकार संघको मार्च २ तारिख सम्पन्न साधारण सभामा भूपेन्द्र आचार्य अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ।

त्यसैगरि अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रघु त्रिपाठी, सचिवमा पुरु जोशी, सह-सचिवमा उमेश बस्नेत, कोषाध्यक्षमा दिनेश हिराचन र सदस्यमा सुविन्द्र बुढामगर निर्विरोध निर्वाचित भएका छन्।

भूपेन्द्र आचार्यसंग अर्का प्रतिस्पर्धी संघकै संस्थापक अध्यक्ष डम्बर सुब्बा हुनुहुन्थ्यो। उहांहरु बीच अन्तिम समयसम्म तालमेल नमिलेपछि निर्वाचनको प्रकृया अगाडि बढाउनु परेको थियो भने अध्यक्ष पदकै लागि अर्का उम्मेदवार संघकै निवर्तमान कोषाध्यक्ष बोधराज रेग्मीले पछि आफ्नो नाम फिर्ता लिनु भएको थियो।

जम्मा २० जनाले मतदान गरेको उक्त निर्वाचनमा भूपेन्द्र आचार्यले १४ र डम्बर सुब्बाले ६ मत प्राप्त गर्नु भएको थियो।

Popularity: 8%

1 comment March 2nd, 2008

काँग्रेससमर्थित दुई ट्रेड युनियन एकीकृत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल ट्रेड युनियन काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घबीच आज विधिवतरुपमा एकीकरण भइ ‘नेपाल ट्रेड युनियन काङग्रेस स्वतन्त्र’नामको एकीकृत ट्रेड युनियन गठन भएको छ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको समुपस्थितिमा राजधानीमा आयोजित एकता महाधिवेशनमा दुवै ट्रेड युनियनका अध्यक्षहरु लक्ष्मणबहादुर बस्नेत र खिलानाथ दाहालले एकीकरण सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

नवगठित नेपाल ट्रेड युनियन काङग्रेस स्वतन्त्रको अध्यक्षमा लक्ष्मणबहादुर बस्नेत र सहअध्यक्षमा खिलानाथ दाहाल रहनुभएको छ भने दुवै ट्रेड युनियनका केन्द्रीय सदस्यहरुलाई सोही स्थानमा समावेश गरिएको छ ।

नेपाली काङ्ग्रेससँग निकट रहेका यी दुवै ट्रेड युनियनहरुले एकीकरण गर्न हिजो छुट्टाछुट्टै विशेष महाधिवेशन गरी एकीकरण प्रस्ताव पारित गरेका थिए ।

वि.सं. २०५९ मा नेपाली काङग्रेस विभाजन भएपछि ती दुवै ट्रेड युनियन पनि विभाजित भएका थिए ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसमा पेसागत सङ्घसंस्था र सङ्गठित मजदुर सङ्गठनहरु आबद्ध रहेका छन्।

Popularity: 9%

Add comment March 2nd, 2008

नवजात शिशुसहित हाम्फाल्ने आमा बचिन्, शिशु बेपत्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नवलपरासीको गैँडाकोट गाउँ विकास समितिस्थित नारायणी नदीमा आफ्नी पाँच महिनाको शिशुसहित हाम्फालेर आत्महत्या गर्न खोज्ने एक महिलालाई स्थानीय बासिन्दाले उद्धार गरेका छन् तर शिशु भने बेतपत्ता रहेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार चितवन लोथर गाविसकी २५ वर्षीया संगीता खनाल आफूसँगै रहेको पाँच महिनाको बच्चासँगै नदीमा हाम्फाल्दा सो बच्चा बेपत्ता भएको हो।

महिलाले नदीमा हाम फालेको थाहा पाएर पुगेको इलाका प्रहरी कार्यालय गैँडाकोटको सुरक्षा टोली र स्थानीयबासी महिलालाई उद्धार गर्न सफल भएतापनि बच्चा भने बेपत्ता भएको थियो।

उद्धार गरिएकी खनालको अवस्था चिन्ताजनक रहेको र उपचारका लागि भरतपुर मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय नवपरासीले जनाएको छ ।

Popularity: 9%

1 comment March 2nd, 2008

नेपाल कप र प्लेट दुवैबाट वञ्चित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आईसीसी यु -19 प्लेट च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन नेपाल हिजो भएको फाइनल खेलमा पराजित भएपछि उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ।

प्लेट च्याम्पियनसिप भनेको विश्वकपको समूह चरणबाट बाहिरिएकाहरुले खेल्ने प्रतियोगिता हो।

प्लेट च्याम्पियनसिप अन्तर्गत नेपाललाई ७ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले प्लेट च्याम्पियनसिपको उपाधि हात पार्‍यो।

मलेसियाको क्वालाम्पुर मैदानमा भएको फाइनल खेलमा वर्षातले खेलमा अवरोध सिर्जना गरेपछि खेल २७ ओभरमा छोट्याइएको थियो । पहिले टस जितेर व्याटिङ गरेको नेपालले २५ दशमलव ३ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाई जम्मा ७४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले १२ रन तथा सागर खड्काले अविजित रही १७ रन जोडे भने नेपालका अन्य खेलाडीहरुले दुई अङ्कको स्कोर पनि जोड्न सकेनन् र विपक्षी टिमलाई केवल ७५ रनको लक्ष्य दिए । यो लक्ष्यलाई टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजले मात्र तीन विकेटको क्षतिमा सहजै हात पार्‍यो।

Popularity: 9%

Add comment March 2nd, 2008

भुटानी शिविरमा भीषण आगलागी, आठ हजार विस्थापित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
झापाको गोलधापस्थित भुटानी शरणार्थी शिविरमा शनिबार साँझ भीषण आगलागी भएको छ ।
साँझ करिब ७ बजेदेखि सुरूभएको आगलागीबाट शिविरका करिब ८० प्रतिशत छाप्राहरू जलेका छन् । सो शिविरमा १ हजार ५५९ छाप्रा रहेका थिए ।

आगलागीमा चार जना बेपत्ता भएको र १२ जना भन्दा बढी घाइते भएको थाहा भएको छ । आगलागीमा परी खाद्यान्न, लत्ताकपडा आदि नष्ट भएको छ ।यस आगलागीबाट करिब आठ हजार भूटानी शरणार्थी विस्थापित हुने देखिएको छ ।

आगलागी नियन्त्रणका लागि भद्रपुर, दमक आदि नगरबाट वारुणयन्त्र ल्याइएको थियो। त्यसैगरी भने इटहरी र मोरङबाट पनि वारुणयन्त्र मगाइएको थियो ।

आगलागी नियन्त्रण गर्ने प्रयासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वासिन्दा, भूटानी शरणार्थी आदि गरी करिब पाँच हजार जनशक्ति परिचालित भएका थिए।

शिविरको दक्षिण भागबाट सुरू भएको आगलागीको कारण खुलेको छैन ।

Popularity: 9%

Add comment March 2nd, 2008

डोल्मा शेर्पालाई बचाउन दूतावास रियाद सक्रिय

सागर श्रेष्ठ, साउदी अरेविया / एचकेनेपाल डट कम-
कुवेतको स्थानीय अदालतले मृत्यु दण्डको सजाय सुनाइएकी सिन्धुपाल्चोककी डोल्मा शेर्पालाई बचाउन नेपाल सरकारले रु. ४ लाखको सीड मनीको ब्यबस्था गरिसकेको छ। यसै प्रसंगमा नेपाली दूतावास रियादले पनि औपचारिक रुपमा एक प्रेस विज्ञप्तिमार्फत सहयोग गर्न चाहने व्यक्ति, संघ संस्थालाई दूतावासले खोलेको निम्न उल्लेखित बैंकको खाता नम्बरमा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ।

Beneficiary’s Name
Embassy of Nepal
Riyadh, KSA
Tel:- 00966-1-4611108
Name of the Bank
Al-Rajhi bank, Riyadh
Account No: - 185608010083340
Swift Code: - RJHISARI

Popularity: 8%

Add comment March 2nd, 2008

गाडीको ठक्करबाट एक नेपाली घाइते, चालक फरार

डम्बर सुब्बा, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
आज बिहान करीब ७ बजेतिर क्यडगिदोसी खमदोड थोईल सिजाडमा गाडीले ठक्कर दिंदा एक नेपाली घाइते भएका छन्।

गाडीको ठक्करबाट घाइते भएका नेपाली बुटवलका दिपक राना मगर रहेको स्रोतले जनाएको छ। उनी कामका लागि कम्पनीको गाडीमा चढ्न भनी सडक पार गर्न लाग्दा देब्रे साइटबाट अर्को गाडीले ठक्कर दिएको थियो। घटना लगत्तै चालक फरार छन्।

घाइते मगरलाई संगैरहेका साथीहरुको सहयोगमा उपचारार्थ अस्पताल पुर्‍याइएको छ। मगरको चारवटा दाँत भाच्चिएको र देब्रे हात सुन्निएको बताएको छ। ठक्कर दिएको गाडीको नम्बर टिप्न नसक्दा चालकको पहिचान हुन सकेको छैन। चालक फरार रहेका कारण मगरको उपचार र क्षतिपूर्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउन बाधा परेको उनका साथीहरुले बताएका छन्।

Popularity: 8%

Add comment March 2nd, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....