Archive for March 10th, 2008

अष्ट्रेलिया सिडनीमा नवनियुक्त राजदूतलाई भव्य स्वागत

रमेश पाण्डे, सिडनी / एचकेनेपाल डट कम -
नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मंचद्वारा सिडनीमा रात्रिभोजको आयोजना गरी नवनियुक्त राजदूत योगेन्द्र ढकाललाई आइतवार भव्य स्वागत गरेको छ।
सिडनीमा रहेका राजनितिककर्मी तथा अधिकारकर्मी, बुद्धिजिबी र सर्वसाधारण उपस्थिति रहेको उक्त रात्रिभोजको प्रमुख अतिथि प्रथम आवासिय नेपाली राजदूत योगेन्द्र ढकाल हुनुहुन्थ्यो। प्रमुख अतिथिको आसनबाट आफ्नो मन्तब्य दिंदै राजदूत ढकालले नेपाल र अष्ट्रेलियाको संबन्ध ५ दशक लामो भए पनि नेपाल अष्ट्रेलियाको प्रमुखताको सूचिमा नरहेको उल्लेख गर्नुभयो। माओवादी पार्टीको कोटाबाट राजदूत नियुक्त भएपनि आफू नेपाल सरकारको प्रतिनिधि भएको र आफूले कसैलाई पक्षपात नगरी समान व्यबहार गर्ने र नेपाल र अष्ट्रेलियाको संबन्ध बिस्तार गर्न कटिबध्द रहने प्रतिज्ञा ब्यक्त गर्नुभयो। उपस्थित महानुभाबहरूको कौतुहलता तथा जिज्ञासाको जबाफ दिनेक्रममा, अब नेपालमा संबिधानसभाको चुनावलाई कसैले रोक्न नसक्ने र चुनाबपछि नेपाल गणतान्त्रिक राष्ट्र भई नयाँ नेपाल निर्माण हुने र उक्त अभियानलाई सघाउन अष्ट्रेलियामा बसोबास गरेका नेपालीलाई आह्वान गर्नुभयो।

नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मंचका सभापति छिरिंङ‌‌‌‍‌ लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको सभापति गोबा कटुवाल, मानव अधिकार तथा लोकतान्त्रिक नेपाली मंच अष्ट्रेलियाका सभापति रमेश पाण्डे, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाकी सचिव प्रतिज्ञा गैरे, आदिवासी तथा जनजाति मंचका सभापति गणेश तामाङ र हेल्प नेपाल सिडनी च्याप्टरको संयोजक डा. हर्ष गौतमले नवनियुक्त राजदूत ढकालको कार्यकालको सफलताको शुभकामना दिनुभएको थियो। नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मंचका सदस्य महेन्द्र लम्सालद्वारा संचालित कार्यक्रममा डिल्ली ढकालले स्वागत मन्तव्य दिनुभएको थियो।

Popularity: 8%

Add comment March 10th, 2008

सराङकोट महोत्सवमा कोमल वली र कृष्ण देवकोटा (+Photo)

धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम -
पारीको डाँडोबाट विस्तारै घामले विदा लियो। घामको विदाईले मौसममा बदलाव आउँदै चिस्सिन शुरु गर्‍यो। चिस्सिदैं गएको मौसमलाई तताउने प्रयासमा थिइन् गायिका कोमल वली। कोटकै मुन्तिर सिरिरर चल्ने बतासले मनलाई चिस्याउँदै थियो। चिसो सिरेटो खाँदै सर्वसाधारणले भने कोमल वलीको झवाँक तन्नेरीले भने गर्मीको आभास दियो। (more…)

Popularity: 8%

Add comment March 10th, 2008

राष्ट्रपतीय पद्दति काङग्रेसलाई स्वीकार्य छैन- पौडेल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका उपसभापति एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेलले राष्ट्रपतीय पद्दति काङ्ग्रेसलाई स्वीकार्य नहुने बताउनुभएको छ।

राष्ट्रपतीय पद्दतिमा राष्ट्रपति तानाशाह हुन सक्ने हुँदा संसदीय पद्दति नै उपयुक्त हुने भनाइ उहाँको थियो।

तराईमा सशस्त्र विद्रोह गरिरहेका समूहहरुलाई वार्तामा ल्याउन सम्पर्क सूत्रको खोजी भइरहेको पनि उहाँले बताउनुभयो।

‘उनीहरुले राष्ट्रसङ्घको मध्यस्थतामा वार्ता गर्छ भनेका छन्, अहिले सरकार उनीहरुसँग सिधै वार्ता गर्न चाहन्छ,’ सरकारी वार्ता टोलीका संयोजक समेत रहेका पौडेलले भन्नुभयो।

नेपाली काङ्ग्रेसले संविधानसभाका लागि एक हप्तामै घोषणापत्र सार्वजनिक गर्ने जानकारी पनि उहाँले दिनुभयो।

काङ्ग्रेसले सबै जातजाति र भाषाभाषीलाई समेट्ने किसिमले घोषणा पत्र ल्याउने उहाँले बताउनुभयो।

Popularity: 8%

1 comment March 10th, 2008

वर्डफ्लुको लागि नेपाल पनि अति जोखिम राष्ट्रभित्र पर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विश्वकै चिन्ताको विषय बनेको वर्डफ्लु रोग हालसम्म नेपालमा फेला नपरे पनि खुला सीमानाको कारण नेपाल अति जोखिममा पर्ने विज्ञहरुले बताएका छन्।

जिल्ला पशुसेवा कार्यालयबाट आयोजित सो रोगसम्बन्धी गोष्ठीमा कृषि तथा सहकारी कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. परसुराम भुसालले नेपालको ३३ जिल्लालाई अति जोखिम क्षेत्रभित्र राखिएको र सोभित्र सिन्धुपाल्चोक पनि पर्ने बताउनुभयो।

उहाँका अनुसार हालसम्म पन्छीबाट मानिसमा सो रोग सरेको तर मानिसबाट मानिसमा सरेको अहिलेसम्म पाइएको छैन। यदि त्यस्तो अवस्था आएमा ठूलो खतराको विषय बनी महामारी नै फैलिन सक्ने उहाँले चेतावनी दिनुभयो।

सन् १८७८ देखि सो रोग देखापरे पनि सन् १९९७ मा एच ५ एन आइ भाइरस पहिलो पटक हङकङमा भेटिएको थियो। हालसम्म सो रोगबाट २१४ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य सङ्गठनको ८ मार्च २००८ सम्मको रेकर्डमा उल्लेख छ।

विश्वको ६५ राष्ट्रमा पन्छीमा फैलिएको सो रोगबाट करिब २२ अर्ब पन्छी मरे वा मारिएका छन् भने १५० देखि ३०० अर्ब डलरको क्षति समेत भइसकेको उल्लेख छ।

यदि महामारी भएको खण्डमा नेपालमा पनि ६० लाख मानिस बिरामी हुने र २ देखि ३ प्रतिशत अर्थात एक देखि दुई लाख मानिसको मृत्यु हुन सक्ने अनुमान गरिएको छ।

Popularity: 8%

Add comment March 10th, 2008

नेकपा (एमाले)को घोषणापत्र सार्वजनिक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरौं ! सवल र सम्वृद्ध नेपालको निर्माण गरौं’ भन्ने मूल नाराका साथ नेकपा एमालेले निर्वाचन घोषणापत्र जारी गरेको छ।

पूर्ण लोकतान्त्रिक मूल्य मान्यता र आवधिक निर्वाचनमा आधारित राष्ट्रपति र प्रधानमन्त्री दुवैको व्यवस्था भएको आफ्नै मौलिक स्वरुपको शासन प्रणालीको अवधारणा अघि सारिएको घोषणापत्रमा राज्य पूर्ण रुपमा लोकतान्त्रिक सङ्घात्मक राज्यका रुपमा रहने उल्लेख गरिएको छ।

नयाँ लोकतान्त्रिक व्यवस्थाको आधारका रुपमा समाजवाद उन्मुख लोककल्याणकारी अर्थ-राजनीतिक दिशा अवलम्बन गरिने, अधिकार र दायित्वको बाँडफाँड गरिएको केन्द्र, प्रदेश र स्थानीय निकाय गरी तीन तहको शासन ढाँचाको विकास, श्रम र पूँजी बीच सन्तुलन कायम गरी नयाँ सामाजिक सुरक्षा प्रणालीको सुरुवात गरिने, जलस्रोतको उपयोगमा राष्ट्रिय हितलाई ध्यानमा राखी वाहृय र बहुपक्षीय सहयोग लिने नीति अवलम्बन गरिने लगायतका विषयलाई घोषणापत्रमा उलेख गरिएको छ।

शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुताजस्ता आधारभूत आवश्यकताका कुरा जनतालाई उपलब्ध गराउन विशेष कर तथा वीमा व्यवस्था लागु गरिने, दलितहरुको उत्थानको लागि प्रगतिशील आरक्षणको नीति अवलम्बन गरिने, तराईवासी मधेसी जनतालाई राज्यका विभिन्न अङ्गहरुमा समावेशी नीति लागू गरिने, लोकतान्त्रिक मूल्यप्रति पूर्ण समर्पित हुने गरी नेपाली सेनाको लोकतान्त्रिकरण र व्यवसायीकरण गरिने, स्वतन्त्र र निष्पक्ष प्रेसको अवधारणालाई अघि बढाइने, प्रेसमाथिको सबै हस्तक्षेपलाई निषेध गरिनेजस्ता कुराहरुलाई घोषणापत्रमा प्राथमिकताका साथ उल्लेख गरिएको छ।

Popularity: 8%

Add comment March 10th, 2008

आगोको भुङ्ग्रोमाथि नृत्य

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मनोक्रान्ति राष्ट्रिय अभियान धादिङद्वारा धादिङ बेसीमा आयोजित पहिलो वार्षिक उत्सवको अवसरमा अग्नि सिद्धि गरेकी योगिनी र्श्रीइम् र श्री अमले बल्दो आगोको भुङ्ग्रोमाथि नृत्य प्रदर्शन गरेका छन्।

मनोक्रान्ति राष्ट्रिय अभियान व्यवस्थापन समिति धादिङका अध्यक्ष वदन लम्सालको अध्यक्षतामा आयोजित कार्यक्रममा नृत्य प्रदर्शन गर्ने योगिनीद्वयले योगसिद्धी, साधनाको फलस्वरुप बल्दो आगोमा हिँड्नसकेको बताउँदै मनोक्रान्ति अभियानले अरुलाई बदल्न चाहनेलाई सर्वप्रथम आफूलाई बदल्नु पर्ने दीक्षा र विभिन्न योगाभ्यासको शिक्षा दिने गरेको बताउनुभएको थियो।

Popularity: 8%

1 comment March 10th, 2008

व्यक्तिलाई हैन, पद्दतिलाई जिताउन सुझाव

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मानवअधिकारवादी नेता कृष्ण पहाडीले आगामी चैत २८ मा हुने संविधानसभाको निर्वाचनमा व्यक्ति विशेषलाई भन्दा पद्धतिलाई जिताउन राजनीतिक पार्टीलाई सुझाव दिनुभएको छ।

‘तपाईहरु हार्नुहोस् तर पद्दतिले जित्नु पर्छ ‘ पोखरामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पहाडीले निर्वाचनलाई धाँधलीरहित तरिकाले सम्पन्न गरेर हार स्वीकार गर्न पनि नेताहरुलाई आग्रह गर्नुभयो।

राजनीतिक पार्टीले उम्मेदवार जिताउन लागेको बताउदै उहाँले आफू भने जनतालाई जिताउन हिडेको दावी गर्नुभयो। जनतालाई जिताउने चाहना राख्नेले पार्टीका उम्मेदवारलाई काखी च्याप्नु हुँदैन, उहाँले भन्नुभयो।

संविधानसभा निष्पक्ष र धाँधलीरहित हुन नसके तराईमा च्याउ उम्रै झै उम्रेका समूहले ठूलो रुप लिन सक्ने र मुलुक गम्भिर दुर्घटनामा फस्न सक्ने चेतावनी दिनुभयो। उहाँले मानव अधिकारको क्षेत्रमा लागेका व्यक्तिहरुलाई कुनै पार्टीले कार्यकर्ता नबन्न पनि सुझाव दिनुभयो।

Popularity: 8%

3 comments March 10th, 2008

तराईमा सरकार कडा रुपमा जाने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तराईका माग एवम् समस्याका सम्बन्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति भइसकेकाले तराईका अन्य सशस्त्र र निःशस्त्र शक्तिपनि त्यसैमा अटाउनुपर्ने बताउनुभएको छ।

प्रधानमन्त्री कोइरालाले कोइरालानिवासमा आज अपराह्न सञ्चारकर्मीसँग कुराकानी गर्दै अब पनि विभिन्न बहानामा कसैले हतियार उठाएर निर्वाचनको मुखमा शान्ति खलबल्याउन प्रयास गरेमा कानुन परिपालन गर्दै सरकार कडाइका साथ प्रस्तुत हुने चेतावनी दिनुभयो।

मधेसको शान्ति सुरक्षा सरकारी नियन्त्रणमा छैन नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले मुलुकभरी निर्वाचनको माहोल बन्दै गएको छ, विस्तारै सबै निर्वाचनमा होमिएपछि शान्ति सुरक्षाको स्थिति आफैँ क्रमशः सुदृढ हुँदै जान्छ भन्नुभयो।

उहाँले आसन्न निर्वाचनमा ठूला राजनैतिक दलबीच कुनै तालमेल नहुने बताउँदै निर्वाचनपछि सबै प्रजातान्त्रिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

निर्वाचनमा सेना परिचालन गर्ने नगर्नेबारे राखिएको जिज्ञासामा उहाँले भन्सार र विमानस्थलमा खटेका प्रहरीलाई निर्वाचनमा पालो दिनमात्र केही समयका लागि ती स्थानमा सेना खटाइने जानकारी दिनुभयो।

एक प्रसंगमा प्रधानमन्त्रीले निर्वाचनमा गएपछि जितहार कुनै ठूलो कुरा होइन, निर्वाचन ठूलो हो भन्नुभयो।

आफ्नो स्वास्थ्यले साथ दिएसम्म अन्तिम अवस्थामा पनि आफू प्रजातन्त्र र पार्टीका लागि हुने कुनैपनि चुनावी सभासमारोहमा सहभागी हुन पछि नपर्ने दृढता उहाँले व्यक्त गर्नु भयो।

एक जिज्ञासामा प्रधानमन्त्रीले राजाको मात्र होइन, कुनै पनि राजनैतिक दलको तानाशाही स्वीकार्य नहुने बताउनुभयो।

पार्टी प्रभावशाली सदस्यहरु पार्टी परित्याग गरेर अन्तै गए नि भन्ने एक अर्को प्रश्नको जवाफमा प्रधानमन्त्रीले भन्नुभयो-लामो इतिहास बोकेको काङ्ग्रेस पार्टी गङ्गाजस्तो ठूलो नदी हो, यसबाट कोही नुहाएर जाँदैमा वा एक लोटा पानी झिकेर जाँदैमा रित्तिँदैन।

Popularity: 8%

Add comment March 10th, 2008

राजदूत निवास लुटपाटले गृह स्तब्ध

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
ललितपुर भैँसेपाटीस्थित नर्वेका राजदूतको निवासमा अपरिचित व्यक्तिले राजदूतका परिवार र सुरक्षा गार्डलाई नियन्त्रणमा लिई गहना, कम्प्युटर र करिब रु ४० हजार लुटी फरार भएको घटनाप्रति गृह मन्त्रालयले दुःख व्यक्त गरेको छ।

उक्त घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कानुनबमोजिम कारवाही गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिनेतर्फ आवश्यक ध्यान पुर्‍याउन सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको छ।

साथै उक्त घटना सम्बन्धमा छानबिन गर्न प्रहरीनायब महानिरीक्षकको संयोजकत्वमा उच्चस्तरीय छानबिन टोली गठन गरिएको जनाइएको छ।

Popularity: 8%

2 comments March 10th, 2008

बाग्लुङमा एमाले र एकीकृतबीच चुनावी तालमेल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (एकीकृत)बीच बाग्लुङ चुनावी तालमेल भएको छ।

बाग्लुङ जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र २ मा नेकपा (एकीकृत) का उम्मेदवार लीला थापा मगरलाई समर्थन गर्दै नेकपा (एमाले)का उम्मेदवार श्रीप्रसाद शर्माले नाम फिर्ता लिएको कुरा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

नेकपा (एमाले)को कार्यालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा क्षेत्र नं. १ का एमाले उम्मेदवार रामजी शर्मा र क्षेत्र ३ का उम्मेदवार भीमप्रसाद सेरचनलाई समर्थन गर्दै नेकपा (एकीकृत)का फमलाल निउरे र निलबहादुर पुनले आ-आफ्नो उम्मेदवारी फिर्ता लिइएको र अब दुई पार्टीं संयुक्तरूपमा चुनावमा जाने नेकपा (एमाले)का जिल्ला सचिव जनक पौडेलले बताउनुभयो।

नेकपा (एकीकृत)सँग राजनीतिक नीतिको आधारमा सहमति गरिएको पौडेलले बताउनुभयो।

Popularity: 8%

1 comment March 10th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....