Archive for March 13th, 2008

सुजाताको गाडी फोरमद्वारा तोडफोड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चुनाव प्रचारप्रसारका लागि बुधबार सुनसरी पुग्नुभएका बिना विभागीय मन्त्री सुजाता कोइरालामाथि मधेसी जनअधिकार फोरमका कार्यकर्ताले अवरोध पुर्‍याए।

फोरमका कार्यकर्ताले नेपाली काङ्ग्रेसको सो निर्वाचन क्षेत्र प्रचारप्रसार क्षेत्रीय कार्यालयमा राखिएको पार्टी झण्डा फ्याँक्नुका साथै मन्त्री कोइराला चढ्नुभएको स १ ज ६४ नं.को गाडीमा समेत क्षति पुर्याएका थिए।

लौकहीमा भेला भएका नेपाली काङ्ग्रेस समर्थक समूहले फोरमका उच्छृङ्खल कार्यकर्तालाई तितरवितर पारेपछि स्थिति नियन्त्रणमा आएको थियो।

Popularity: 8%

3 comments March 13th, 2008

काँग्रेस कसैले तर्साउँदैमा तर्सँदैनः सुजाता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विनाविभागीय मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपाली काङ्ग्रेस कसैले तर्साउँदैमा वा धम्की दिएर तर्सिने पार्टी नभएको बताउनुभएको छ।

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं.५ को श्रीपुर गाविसमा नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र नं. ५ द्वारा आयोजित संविधानसभाको चुनावी सभामा मन्त्री कोइरालाले काङ्ग्रेस जनतामाझ स्थापित र लोकप्रिय पार्टी हो भन्दै स-साना समूहले झिनामसिना बखेडा खडा गर्दैमा नेपाली काङ्ग्रेस मैदानबाट पछि नहट्ने स्पष्ट गर्नुभयो।

मन्त्री कोइरालाले मधेसी जनअधिकार फोरमको खोल ओढेर विदेशी आपराधिक समूहबाट नेपाली जनताबीच रहेको भ्रातृत्वमा कुनै आँच नआउने पनि उल्लेख गर्नुभयो।

सुनसरीको लौकहीमा मधेसी फोरमका नाममा आपराधिक समूहले आज आफूमाथि आक्रमण प्रयास भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले कसैले टिन ठटाउँदैमा काङ्ग्रेस चुनावी मैदानबाट नभाग्ने पनि बताउनुभयो।

मुस्लिम महिलाहरूको ठूलो उपस्थिति रहेको सो सभामा मन्त्री कोइरालाले महिलाको हक तथा अधिकारको ग्यारेन्टीका लागि आफूले आवाज उठाउँदै आएको र भविष्यमा पनि महिला, आदिवासी, जनजाति, उत्पीडित समुदाय तथा पिछडिएका समुदायको उत्थानका लागि समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

Popularity: 8%

8 comments March 13th, 2008

एचआईभी संक्रमितहरुको महाधिवेसन सुरु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
एचआईभी सङ्क्रमितहरूको प्रथम राष्ट्रिय महाधिवशेन धुलिखेलमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सो महाधिवेशनमा मुलुकका ५६ जिल्लाबाट ३०० जना एचआइभी सङ्क्रमित प्रतिनिधिको सहभागिता छ।
महाधिवेशन उदघाटनका क्रममा एचआइभी/एड्स सङ्क्रमित राष्ट्रिय महासङ्घका अध्यक्ष राजीव काफ्लेले नेपालमा हालसम्म करिब ८० हजार व्यक्ति एचआईभि सङ्क्रमित भएको जानकारी दिँदै महाधिवेशनले सङ्क्रमितहरूको उपचारको पहुँच, सामाजिक व्यवहारमा सुधारलगायत विभिन्न एजेण्डासहितको धुलिखेल घोषणापत्र जारी गर्दै महाधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो।

उहाँका अनुसार सङ्क्रमितमध्ये हालसम्म एक हजार ५०० जनाले मात्र विभिन्न औषधि सेवन गरिरहेका छन् भने एचआइभि सङ्क्रमणकै कारण नेपालमा तीन वर्षेखि ६५ वर्षउमेर समूहका करिब एक हजार जनाको मृत्यु भइसकेका छ।

अधिवेशनमा सहभागीहरूले संविधानसभाको निर्वाचनमा समेत सङ्क्रमितहरूको प्रतिनिधित्वको माग गर्नुका साथै राज्यको सङ्क्रमितप्रति हेर्ने व्यवहारमा समेत सुधार आउनुपर्ने बताए।

Popularity: 8%

Add comment March 13th, 2008

निर्वाचन बिथोल्न खोज्ने समूहप्रति सहानुभूति रहँदैन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुख इयान मार्टिनले संविधानसभा निर्वाचनमा असन्तुष्टिका कारण हिंसात्मक क्रियाकलाप गर्ने वा निर्वाचन प्रक्रिया बिथोल्न खोज्ने कुनै पनि समूहप्रति अन्तरराष्ट्रिय समुदायको कुनै सहानुभूति नरहने बताउनुभएको छ।

मार्टिनले पत्रकारसम्मेलनमा अनमिनले विश्वसनीय निर्वाचनको परिस्थिति निर्माण एवम् निर्वाचनको चरणबाट संविधान निर्माणको चरणमा सहज रूपान्तरणका लागि आफ्ना गतिविधि र क्रियाकलाप केन्द्रित गरेको जानकारी दिनुभयो।

अनमिनले संयुक्त अनुगमन समन्वय समितिसमेतका माध्यमबाट निर्वाचनका अवधिमा तोकिएको स्थानमा रहने एवम् हतियार अनुगमन गर्दै विस्तृत शान्ति सम्झौता एवम् हतियार अनुगमन सम्झौताको पूर्ण सम्मान गर्नेबारे नेपाली सेना र माओवादी सेनासँग छलफल गरिरहेको मार्टिनले पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाउनुभएको छ।

उहाँले आफ्ना निर्वाचन सल्लाहकारहरू देशभर परिचालित भइरहेका छन् भन्दै सल्लाहकारको अन्तिम समूह यस हप्ताभित्रै सम्बन्धित जिल्लामा परिचालित हुने बताउनुभयो।

मार्टिनले राजनीतिकर्मीले कानुनी तवरबाट पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाही पुरा हुनुभन्दा पहिले नै रिहाइको माग गर्न नहुने धारणा पनि व्यक्त गर्नु भएको छ।

स्वतन्त्र र निष्पक्ष चुनावका माध्यमबाट निर्वाचित समावेशी संविधानसभाले विविधतापूर्ण यो मुलुकको भविष्य निर्धारण गर्नेछ र शान्ति र विकासका चुनौतीलाई सम्बोधन गर्न सरकारलाई आवश्यक वैधता पनि प्रदान गर्नेछ भन्दै उहाँले यस प्रक्रियामा सहयोग पुर्याउनका लागि अनमिन र समग्र संयुक्त राष्ट्रसङ्घले अनुरोध गरिए बमोजिमका आवश्यक भूमिका निरन्तर निर्वाह गर्ने दृढता व्यक्त गर्नुभएको छ।

Popularity: 8%

Add comment March 13th, 2008

चुनावी हिंसाप्रति मानवअधिकार आयोगको चासो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय मानवअधिकार आयोगले संविधानसभा निर्वाचन प्रचारप्रसारका सिलसिलामा स्वतन्त्रतापूर्वक आफ्ना गतिविधि सञ्चालन गर्न पाउनु मानवअधिकारको विषय भएकाले त्यसको सम्मान गर्न आयोगले सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

आयोगले यही फागुन १० गते अर्घाखाँची जिल्ला नुवाकोट गाविसमा भएको घटना, यही फागुन २५ गते सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपतिशम्शेर जबरामाथि नेकपा (माओवादी)का कार्यकर्ताले गरेको आक्रमण, ललितपुरको आस्राङ गाविसमा वाइसिएलद्वारा नेकपा (एमाले)का कार्यकर्ता कुटिएको घटना, राष्ट्रिय जनशक्ति पार्टी धनकुटा जिल्ला अध्यक्ष कुमारबहादुर थापालाई निर्वाचन प्रचारप्रसार गर्न हिँडिरहेको अवस्थामा वाइसिएलद्वारा लुटिएको घटनालगायत अन्य घटनाका सम्बन्धमा पनि आयोगमा जानकारी प्राप्त भइरहेको बताएको छ।

आयोगमा प्राप्त भएका जानकारीका आधारमा सम्पूर्ण घटनाको आयोगका तर्फबाट अनुगमन भइरहेको जानकारी आयोगका सचिव विशाल खनालले दिनुभयो।

संविधानसभा निर्वाचनमा मानवअधिकार र शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने सम्भावनालाई दृष्टिगत गरी आवश्यक संवेदनशीलता अपनाउन आयोगले सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

Popularity: 8%

Add comment March 13th, 2008

एमाले उम्मेदवार र कार्यकर्ता माअ‍ोवादीबाट कुटिए

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माअ‍ोवादी कार्यकर्ताहरुले रामेछाप जिल्लामा क्षेत्र नम्बर एकका उम्मेदवार देवशंकर पौडेलसहित सात जनालाई कुटपिट गरेका छन्। त्यसैगरी नेकपा (एमाले), ललितपुर १ नं. इलाका कमिटी सचिव नारायण तिमिल्सिनालाई वाइसिएलका कार्यकर्ताले सख्त घाइते हुने गरी कुटपिट गरेका छन्।

आस्राङ्ग गाविसमा निर्वाचन प्रचारप्रसारका क्रममा तिमिल्सिनालाई कुटपिट गरिएको नेकपा (एमाले) ललितपुरले जनाएको छ।

सो घटनाको नेकपा (एमाले)ललितपुरले भर्त्सना गरेको छ।

निर्वाचन आचारसंहिताविपरीत वाइसिएलले अराजक गतिविधि सञ्चालन गरेको भन्दै एमालेले घटनाका दोषीलाई कारवाही हुनुपर्ने माग गरेको छ।

Popularity: 8%

Add comment March 13th, 2008

एमालेले प्रतिक्रियावादीलाई सघायोः प्रचण्ड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले ‘संविधानसभा निर्वाचनका लागि वाम तालेमाल गरौँ’ भन्ने आफूहरूको प्रस्ताव लत्याएर नेकपा (एमाले) ले प्रतिक्रियावादी शक्तिलाई सहयोग पुर्याएको आरोप लगाउनुभएको छ।

नेकपा (माओवादी) ललितपुरद्वारा आयोजित पहिलो चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वामपन्थी एकता हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो।

उहाँले लोकतन्त्रवादी र गणतन्त्रवादीको एकताविना परिवर्तन असम्भव छ भन्नुभयो।

ललितपुर क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएकी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री पम्फा भुसालले संविधानसभा नेकपा (माओवादी) को एजेन्डा भएकाले आफ्नो पार्टीले संविधानसभामा विजय हासिल गर्ने बताउनुभयो।

Popularity: 8%

1 comment March 13th, 2008

हतियारसहित पक्राउ, लिम्बुवान कार्यकर्ता भएको अनुमान

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
इलाम र पाँचथरको सीमावर्ती क्षेत्र सराङडाँडा-३ फुङसेनमा प्रहरीले दुई जनालाई हतियारसहित पक्राउ गरेको छ।उनीहरु लिम्बुवानका कार्यकर्ता भएको अनुमान गरिएको छ।

सभामुख सुवासचन्द नेम्बाङको सुरक्षार्थ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले पाँचथर सराङडाँडा-२ बस्ने २८ वर्षीय भीमबहादुर राई र सोही गाविस-३ बस्ने १८ वर्षीय नवीन राईलाई पक्राउ गरेको हो।

मङ्गलबार सभामुखको सुरक्षार्थ खटिएको दुवै प्रहरी टोलीले बाँझो चिसापानीबाट फर्कने क्रममा दुवैजनालाई भरुवा बन्दुक लिई हिँड्दै गरेको अवस्थामा पक्राउ गरेको थियो।

साधारण सोधपुछपछि दुवै हतियारधारीलाई पाँचथरको जिल्ला प्रहरी कार्यालय पठाइएको छ।

Popularity: 8%

Add comment March 13th, 2008

ओभरसिज प्लेसमेन्टले ठग्यो नेपालीलाई

विनो लामा, क्वालालम्पूर / एचकेनेपाल डट कम -
१८ महिना अगाडि मलेसियाको लागि ओभरसिज प्लेसमेन्ट मेनपावर बानेश्वरबाट आएका १८ जना नेपाली कामदारहरू विचल्लीमा परेका छन्।

जोहोरवारुको फ्लेक्सट्रोनिक्स कमल दजम भनी डुव्लीकेट एग्रिमेन्ट पठाएका १८ मजदुरहरूलाई क्वालालम्पूर एरर्पोटमा झरेपछि तावाकल कम्पनीको एग्रिमेन्ट थमाइएको थियो भने नेपालबाट पठाउने अलसौगात मेनपावरबाट श्रम स्वीकृति लिएको थियो।

श्रमिकहरूलाई कम्पनीमा मासिक १३-१५ दिनमात्र काम लगाएर आफ्नो पारिश्रमिक पनि उचित नदिएको गुनासो पोख्छन्। विगत वर्षदेखि तावाकल कमलरदजम लाई नेपालको कुनै पनि मेनपावरलाई कामदार ल्याउन स्वकृति नेपाल सरकारी निकायबाट दिएको छैन। तर नेपाली एजेन्टको लापरवाहीले गर्दा सयौं कामदारहरूले उक्त कम्पनीमा पीडा भोगिरहेका छन्। १८ जना कामदारले पटक-पटक गरी ओभरसिज मेनपावरका डाइरेक्टर भुवन घिमिरेलाई आफ्नो स्थितीबारे जानकारी गराउदा समेत चासो नलिएकोले कामदारहरू वाध्य भएर नेपाली दूतावाससम्म पुगेका छन्। स्मरण रहोस् विगतमा कान्तिपुर मेनपावरबाट आएका ५३ जना कामदारलाई डाइरेक्टर भवी पुनले सकुशल नेपाल फर्काएका थिए। १८ जनामध्ये रामेछाप वेथाननिवासी सोम तामाङ र काभ्रेनिवासी धनलाल लामालाई कम्पनीले भिषा नदिई कम्पनीबाट निकालिइएका छन्। तावाकल कम्पनीको ज्यादती बजारमा धेरै आएता पनि सम्बन्धित निकायले वेवास्ता गर्दा तावाकल मजदुरहरू विना तलवमा बाँच्नु सिवाय विकल्प छैन।

Popularity: 8%

Add comment March 13th, 2008

मलेसियामा सञ्चारकर्मीहरुबीच अन्तर्क्रिया

नेत्रबिक्रम बिमली, क्वालालम्पुर, मलेसिया / एचकेनेपाल डट कम-
नेपाल मलाया खबर डट कमको आयोजनामा मार्च १२ तारिखका साँझ लोजीना रेष्टुरेण्टमा पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पत्रकार तथा विभिन्न क्षेत्रका क्रियाशिल संचारकर्मीहरुकोहरुको उपस्थिती रहेको थियो। नेपाल मलाया खबर डट कम का प्रधान सम्पादक रुसाहाङ चेम्जोङको सभापतित्वमा संचालित कार्यक्रममा खबरका निर्देशक जीतमान इम्बुङ लिम्बूले उपस्थित पत्रकारहरुलाई स्वागत गर्दै एकजुट भई अगाडि बढन अनुरोध गर्नुभयो भने कार्यक्रमको संचालन खबरका सम्पादकले गर्नु भएको थियो।

सभापति चेम्जोङबाट भेटघाट तथा अर्न्तक्रिया कार्यक्रमको बारेमा जानकारी भए पछि खबरले उठाएका विषयबस्तुमा पत्रकारहरुले लामो छलफल चलाएका थिए। उक्त छलफल कार्यक्रममा श्री अभिलेख साप्ताहिक, श्रम साप्ताहिक, द पृष्ठभूमि साप्ताहिक, हाम्रो आवाज साप्ताहिक, जनजाति आवाज साप्ताहिक, सोल्टिनी डट कम, नेपाल मलाया खबर डट कम साथै स्वतन्त्र पत्रकारहरुको उपस्थिति रहेका थिए।

अर्न्तक्रिया कार्यक्रममा मलेसियामा रहेका सबै पत्रकारहरु एकजुट भएर अगाडि बढ्ने प्रतिवद्धताका साथ वृहत पत्रकार भेलाका लागि आयोजक समितिको गठन गरेको छ। गठित ओयोजक समितिका संयोजक रामचन्द्र गिरी हुनुहुन्छ भने सदस्यहरुमा कोपिला गौतम “पण्डित”, डिकेश भट्टराई, रुसाहाङ चेम्जोङ, सुनिल चालिसे, सुन्दर आले, नविन गुरुङ, श्रीमान छन्त्याल, खुम राना मगर रहनुभएको छ। अर्न्तक्रिया कार्यक्रममा विगत पांच महिना अगाडि गठित नेपाल पत्रकार माहासंघ तदर्थ समितिको बारेमा पनि विस्तृत छलफल भएको थियो। ५ महिना सम्ममा पनि महासंघले कुनै बैधानिकता नपाउनु र महासंघमा रहेका पदाधिकारीहरु स्वंयले आफू पत्रकार नभएको र आफूलाई कसरी महासंघमा राखियो भन्ने जस्ता कुरा मिडियाहरुबाट आएपछि महासंघकै बैधानिकताप्रति शंका उब्जिएको छ।

छलफल कार्यक्रममा विभिन्न क्षेत्रका संचारककर्मीहरु रुसाहाङ चेम्जोङ, विनु लामा, रामचन्द्र गिरी, कोपिला गौतम “पण्डित” ताराप्रसाद खत्री, सुनिल चालिसे, शिवलाल सुवेदी, जीतमान इम्बुङ लिम्बू, नविन गुरुङ, खुम राना मगर, श्रीमान छन्त्याल, खगेन्द्र सारु मगर, डिकेश भट्टराई, सुन्दर आले, नेत्रबिक्रम बिमली उपस्थित रहेका थिए। नवगठित वृहत पत्रकार भेला आयोजक समितिले यहि मार्च २२ तारिखका दिन नेपाली सामाजिक केन्द्रमा मलेसियामा रहेका सम्पूर्ण संचारकर्मीहरुलाई उपस्थित गराउने भएको छ।

Popularity: 8%

1 comment March 13th, 2008

मृतकका परिवारलाई खोटाङ जागृतिको सहयोग

राई रमेश गाउंले, दोहा कतार / एचकेनेपाल डट कम-
केही महिना अघि कतारको एक स्थानिय कम्पनीमा कार्यरत रहेको अवस्थामा सडक दुर्घटनामा परी मृत्यु भएका खोटाङ्ग मात्तिमका खड्गबहादुर खत्रीको परीवारलाई खोटाङ्ग जागृति सेवा समाज शाखा कतारले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संस्थाका सचिव हरिकुमार वस्नेतका अनुसार संस्थाले उक्त रकम कतारबाटै नेपालमा रहुन भएका संस्थाका निवर्तमान उपाध्यक्ष जीवन राई ज्वालाको नाममा दिक्तेलमा पठाएपछि उक्त रकमलाई उपाध्यक्षले राजनैतीक दल, पत्रकार, प्रशासक, मानवअधिकारकर्मीको रोहवरमा एक कार्यक्रमको आयोजना गरी मृतकका नावालक छोरा संजीव कार्कीको नाममा रहेको राष्ट्रिय वाणिज्य वैंक दिक्तेल शाखाको खाता नं १३२० मा जम्मा गरिदिने भएको छ।

कतारमा पछिल्लो ६ महिनामा पाँच जना खोटाङ्गवासीहरुको विविध कारणवाट मृत्यु भईसकेको छ। मृतकहरुमा मात्तिमका खड्गबहादुर खबी, विजय खर्कका विष्णुबहादुर कार्की, फाक्टाङ्गका प्रदिप राई, सप्तेश्वर छिता पोखरीका टेकबहादुर खड्का, दोर्पाका दलबहादुर परियार रहेको संस्थाका सह-सचिव उदय खातीले जानकारी दिनुभयो। उनीहरुका लागि पनि सहयोग संकलन जारी रहेको हुनाले कतारमा कार्यरत संघ संस्थाहरुलाई सहयोग लागि अपलि गरेको छ। संस्थाले खत्रीको परिवारलाई सहयोग गरेका कतारका सम्पूर्ण संघ संस्था तथा व्यक्तिहरुलाई मानवीय सहयोगका लागि आभार प्रकट गरेको छ।

Popularity: 8%

Add comment March 13th, 2008

युकेमा नेपाली साँस्कृतिक केन्द्र गठन

येशु , युके / एचकेनेपाल डट कम -
वेलायतमा रहेका नेपालीहरुले नेपाली कला, साहित्य, संगीत र संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले मार्च ९ तारिखका दिन नेपाली सास्कृतिक केन्द्र युकेको गठन गरिएको छ।

वेलायतका लागि नेपाली राजदूत मुरारीराज शर्माद्वारा साउथ इष्ट लण्डनमा अवस्थित सेन्ट प्याटिक स्कुल हलमा समुद्घाटन गरिएको कार्यक्रममा साँस्कृतिक केन्द्रले ग्यालेक्सी टिभिको प्रस्तुतिमा नेपाली तारा - २ को साङ्गितक कार्यक्रम प्रस्तुत गरिएको थियो। सोही अवसरमा नेपालबाट वेलायत आउनु भएका कलाकारहरु नेपाली तारा दुई बिजेता संतोष लामा, फस्ट रनर अप तारा लक्सम, नायक दिलिप रायमाझी, नृत्य कलाकार मन्जु रायमाझीलाई वेलायतमा बस्ने नेपालीहरुको तर्फाट मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो। सोही कार्यक्रममा स्थानिय कलाकारहरु ओम थापा, ज्ञानेन्द्र गुरुङ, गोपी गुरुङ, बिपिन निरौला, प्रेरण प्रधान, विवस, रबिन्द्र, कुशल, सपन कुमार र्राई र सनम कुमार बैरागका साथै ग्यालेक्सी टिभि नेटवर्कका निर्देशक सुभास गुरुङलाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राजदूतले बिदेशी भूमिमा आएपछि हामी सबैको पहिलो परिचय नेपाली हुने भएकोले नेपालका बिबिध संस्कृति, भाषा, धर्मको संरक्षणलाई एक रुपता दिनुनै आजको आवश्यकता रहेको बताउनु भयो। परदेशी भूमिमा जात्रि्रधान भन्दा पनि सबै नेपाली एक हुनु अझ महत्वपूर्ण रहेको बताउनु भयो। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मनिषकुमार श्रेष्ठले संस्कृतिको धनि देश नेपालबाट वेलायतमा बसोबास गर्ने आम नेपालीले आफ्नो देशको पहिचान आफ्ना भावि पुस्तामा हस्तान्तरण गर्ने र नेपालप्रतिको आफ्नो प्रेम कायमै राख्न सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रमहरुलाई संस्थाले महत्वपूर्ण स्थान दिने बताउन भयो। संस्थाले सामाजिक बिकासको लागि चेतनामूलक कार्यक्रमहरु निर्माण गर्ने उद्देश्य रहेको समेत प्रकाश पार्नु भयो।

संस्थाका संयोजक गोकुल न्यौपानेले नयाँ कार्य समितिका पदाधिकारीहरुको परिचयका साथै संस्थाको भावि कार्यक्रम प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमका अतिथिहरुमा बुद्धिजीबी डा. कबिता राम श्रेष्ठ, क्याने भिजनका निर्देशक हरि शिवाकोटी, कोसेली साँस्कृतिक परिवार युकेका मदन थापा, नेपाल फोरम युकेका उपाध्यक्ष दुर्गा पाण्डे, शेर्पा किदुङ युकेका अध्यक्ष आङ कल्जङ लामा, नेपाली मन्दिर निर्माण समितिका अध्यक्ष होम शर्मा, मगर संघ एकाई प्लम स्ट्रीटका शेरबहादुर थापा मगर, पासापुच गुठी युके साउथ इष्ट ब्रान्चका अध्यक्ष कुमार श्रेष्ठ, स्थानीय समाजसेवीहरु वसन्त शाही, राजन कडेल, पशुपति भण्डारी, यादव भण्डारी, शंकर भण्डारी, बुनु गुरुङको उपस्थिति रहेकोे थियो।

यसै सन्दर्भमा नेपाली साँस्कृतिक केन्द्र युकेले आगामी दुई वर्षका लागि मनिषकुमार श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय कार्य समितिको चयन गरेको छ। जसमा बिनोद ज्ञवली र बिनोद चिपालु उपाध्यक्ष, महा सचिवमा उज्वल कार्की, सचिव राज कटुवाल, सह सचिव राज सिटौला, कोषध्यक्षमा श्याम शेरचन, सहकोषध्यक्षमा पार्वती शर्मा, सदस्यहरुमा तारा पुन, टिका गुरुङ, टिका गौचन, बानु डोटेल, शर्मिला श्रेष्ठ, सुनिल न्यौपाने, बिष्णु ज्ञवली र मिठाराम डोटेल रहेका छन् भने संस्थापक संयोजक गोकुल न्यौपाने रहनु भएको छ।

कार्यक्रमको अन्तमा सांगीतिक कार्यक्रम नेपाली तारा दुईको प्रस्तुती रहेको थियो। नेपालीहरुको साझा संस्था नेपाल फोरम युकेको बिशेष सहयोगमा नेपाली साँस्कृतिक केन्द्र युकेको गठन गरिएको हो।

Popularity: 8%

Add comment March 13th, 2008

बेल्जियममा ‘एक साथी घर पठाऔँ’ कार्यक्रम सम्पन्न

रमेश कंडेल, बेल्जियम / एचकेनेपाल डट कम -
बेल्जियमको आन्त्वेर्पेन एक कार्यक्रमको आयोजना गरी एक साथी घर पठाऔँ” भन्ने अभियानको थालनी गरेको छ।

सँस्कॄति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको टूरिजम बोर्डले बेल्जियममा रहेका बिभिन्न नेपाली संघसंस्थाहरूको सहकार्यमा सो कार्यक्रमको आयोजना मार्च ९ तारिखका दिन गरेको हो। नेपालमा लोकतन्त्र प्राप्तिपछि नयाँ नेपाल निर्माणका खातिर नेपाललाई आर्थिक रूपमा सबल बनाउन प्रमुख भूमिका रहेको पर्यटन क्षेत्रको उत्थानका लागि नेपाल सरकारले पर्यटकहरु नेपाल भित्राउने योजना अन्तर्गत “सेन्ड होम अ फ्रेण्ड ”भन्ने कार्यक्रमको थालनी गरेको हो।
अपरान्ह ३ बजेदेखि शुरु भएको सो कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत प्रवेष हमाल, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी प्रचण्डमान श्रेष्ठ, राजदूतावास उपनियोग प्रमुख अंबिका लुइटेल, राजदूताबास प्रथम सचिब दुर्गा भण्डारी, पर्यटन बोर्डका दिवाकर बिक्रम राणा, एनआरएन आइसीसी सदस्य रबिन्द्रमान श्रेष्ठ ,एनआरएन बेल्जियमका पदाधिकारीहरु लगायत बिभिन्न सँघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष युवराज गुरुङले स्वागत मन्तब्य राख्नु भएको थियो भने बेल्जियमबासी स्थानीय नेपाली कलाकारहरुले साँस्कॄतिक कार्यक्रम प्रस्तुत गरेका थिए। करीब २०० जनाको उपस्थिति रहेको सो कार्यक्रममा बिदेशी पाहुना आना तोपालगामले फ्रेन्च भाषामा र मारियत बाल्लगेरले डच भाषामा आफ्नो मन्तब्य राखेका थिए। नेपाली एम्बेसी बेल्जियमको सक्रियतामा सम्पन्न भएको सो कार्यक्रममा नेपालदेखि आउनुभएका टुरिजम बोर्डका प्रमुख कार्यकारी अधिकारी प्रचण्ड मान श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

कार्यमक्रमको बिचबिचमा प्रस्तुत गरिएको नेपालीपन झल्काउने नृत्यले कार्यक्रममा रौनकता थपेको थियो भने स्वदेशी मात्र नभइ बिदेशीहरुले पनि नेपालीपन झल्किने पोशाक लगाएको देख्न पाउँदा नेपालमा रहेको भान भएको प्रायको भनाई थियो। कार्यक्रमको अन्त्यमा महामहिम राजदूत प्रवेष हमालले पर्यटन बिकास सम्बन्धी मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमपछि डिनरको ब्यबस्था गरिएको थियो।

Popularity: 8%

Add comment March 13th, 2008

तमू बौद्ध सेवा समिति कतारको वनभोज (+Photo)

तमू बौद्ध सेवा समिति कतारको वनभोज (+Photo)
बिलबहादुर गुरुङ, दोहा कतार / एचकेनेपाल डट कम -
तमू बौद्ध सेवा समिति दोहा कतारको आयोजनामा कतारवासी तमूहरुको एक मैत्रीपूर्ण वनभोज कार्यक्रम मार्च ७ तारिखका दिन सम्पन्न भएको छ। कतारको उत्तरी सिमानामा अवस्थित अलखोर गार्डेनमा आयोजना गरिएको उक्त कार्यक्रममा कतारमा कार्यरत लगभग ३०० जना तमूहरुको सहभागिता रहेको जानकारी समितिका अध्यक्ष जगन तमूले दिनु भएको छ।


समितिका अध्यक्ष जगन तमूको अध्यक्षतामा औपचारिक रुपले सुरु भएको उक्त कार्यक्रमलाई सल्लाहकार बिलबहादुर तमूले सञ्चालन गर्नु भएको थियो। नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत तमूको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रमलाई निर्देशक सल्लाहकार बुधबल तमूले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। कतारवासी तमूहरुको एकतालाई अरु मजबुत बनाउदै अन्य आदिवासी जनजातिहरुसंग हातेमालो गर्दै अगाडि बढेमा हाम्रो लक्ष्य प्राप्त गर्न कुनै कठिनाई पर्दैन - प्रमुख अतिथि अमृत तमूले आफ्नो मन्तव्यको क्रममा भन्नु भयो। त्यसरी नै नेपाल सांस्कृतिक केन्द्र कतारका महासचिव रामहरि गैरे पनि आफ्नो स-परिवार सहित उक्त वनभोज कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो। आफ्नो छोटो मन्तव्यको क्रममा रामहरि गैरेले तमूहरुको उल्लेख्य सहभागिताको प्रशंसा गर्दै यो बृहत वनभोज कार्यक्रमले कतारवासी तमूहरुको एकतालाई दर्शाउछ भन्नु हुदैं यसको निरन्तरताको कामना समेत गर्नु भयो।

विशेषतः कतारवासी तमूहरु विचको सम्बन्धलाई मजबुत बनाउने र एक आपसमा चिनापर्ची गर्नुका साथै बढिभन्दा बढी तमूहरुलाई सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरिएको वनभोज कार्यक्रममा विभिन्न रमाईला कार्यक्रमहरुको आयोजना गरिएको थियो। वनभोज कार्यक्रममा यस वर्षको लागि कतारका तमूहरुको राजाको पनि चयन गरिएको छ। तमूहरुको परम्परालाई निरन्तरता दिन छेलो प्रतियोगिताको आयोजना गरिएको थियो। सबै प्रतियोगीहरुलाई उछिन्दै विजयी भएका गोरखाका सुवास तमूलाई कतारवासी तमूहरुको यस वर्षका राजा घोषणा गरिएको थियो। त्यसै गरि महिला दिदी बहिनीहरुको लागि तातो आलू र सियो धागो प्रतियोगिताको आयोजना गरिएको थियो। तातो आलु प्रतियोगितामा सम्झना तामाङ-प्रथम, भीमा तमू-द्वित्तीय र एम तमू-तृत्तीय हुनु भएको थियो भने सीयो धागो प्रतियोगितामा मीना गैरे-प्रथम, माया तमू-द्वित्तीय र भीमा तमू-तृत्तीय हुनु भएको थियो। विभिन्न सात समूहबीच डोरी तान्ने प्रतियोगिताको पनि आयोजना गरिएको थियो। जसमा डिल तमू र बुद्ध तमूको कास्की समुह प्रथम भएको थियो। विजयी प्रतियोगिहरुलाई प्रमुख अतिथि अमृत तमूले पुरस्कार वितरण गर्नु भएको थियो।


वनभोज कार्यक्रममा खानाको व्यवस्थापन गर्नको लागि समितिका सचिव बिमल तमूले अध्यक्ष जगन तमू र महासचिव कृष्ण तमूको संयुक्त संयोजनमा जिम्मा लिनु भएको थियो भने अलफर्दन बसपार्कबाट वनभोज स्थल र पुनः अलफर्दन बसपार्कसम्मको लागि बसको व्यवस्था गर्ने जिम्मा समितिका सदस्य द्रोणजंग तमूले लिनु भएको थियो। त्यसै गरि सदस्यता वितरणको जिम्मा समितिका कार्यवाहक कोषाध्यक्ष र तमू सांस्कृतिक परिवारका कोषाध्यक्ष खेम तमूले लिनु भएको थियो एउटा राम्रो थालनी के भएको छ भने उक्त कार्यक्रममा अमृत तमू र अमृत कुमार घलेले समितिको आजीवन सदस्यता लिनु भएको थियो।

अन्तमा रविन तमू तथा साथीहरु पुरुष तर्फबाट र भीमा तमू र साथीहरु महिलाहरुको तर्फबाट एउटा रमाईलो दोहोरी गीतको पनि आयोजना गरिएको थियो। दोहोरी प्रतियोगितामा सबै सल्लाहकारहरु र अतिथिहरु लगायत सबै सहभागीहरु पनि झुमी झुमी नाचिरहेका थिए। सायद समयको ख्याल कसैलाई भएन क्यार साँझको ७ त्यही गार्डेनमा बजिसकेको थियो ।

अध्यक्ष जगन तमूले हामीलाई दिनु भएको जानकारी अनुसार यो वनभोज कार्यक्रम समितिको वार्षिक कार्यक्रम अनुसार नै आयोजना गरिएको र यसलाई वार्षिक रुपमा निरन्तरता दिइने छ। यस्तो खालको भेटघाट कार्यक्रमहरुले तमूहरुबीच एक आपसमा चिना पर्चि गर्नुका साथै आत्मीयता बढाउन समेत ठूलो मद्दत पुग्ने गर्छ हामीसंगको संक्षिप्त कुराकानीको क्रममा अध्यक्ष जगत तमूले बताउनु भयो।

कतारबाट बिलबहादुर गुरुङ / एचकेनेपाल डट कम। थप तस्विर हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 8%

1 comment March 13th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....