Archive for March 14th, 2008

अमेरिकामा भूटानी शरणार्थीलाई भब्य स्वागत

सुरेश चाम्लिङ, न्युयोर्क एचकेनेपाल डट कम
बिगत १७ बर्षदेखि नेपालमा शरणार्थी जीवन गुजारी रहेका भूटानी शरणार्थीहरूलाई अमेरिकामा भब्य स्वागत गरिएको छ। युनाईटेड किरात राई ओर्गानाईजेसन अफ अमेरिकाका सभापति शिवकुमार राई र लुथ्रान सोसिअल सर्भिसका फोर्क पाह सुम र मिस लिज़ चिअप्पाले म्यान्चेसटर एयरपोर्ट न्यू ह्याम्पसायेरमा शरणार्थीहरुलाई खादा पहिराई मार्च १२ तारिखका दिन स्वागत गर्नु भयो।

युएस एयरलाइन्सबाट न्यू ह्याम्प्सायेर राज्यमा आइ पुग्नेमा डिल्लीराम रिजालका परिवार देबीमाया रिजाल, चूडामणि रिजाल र यादबप्रसाद रिजाल समेत ४ जना छन्। भूटान चिरांग जिल्ला सम्जोंग दम्फु बस्तीका डांडागाउंबाट १९९२ मा खेदिएर नेपालको मोरंग जिल्ला स्थित पत्थरी शनिस्चरे शरणार्थी शिविरमा बस्दै गरेका रिजाल परिवार अहिले खुशीले दंग छन्। अब अगाडि के गर्ने भनेर सोंच्दैछन्।अमेरिका आउनेक्रममा अबुधाबी एयर पोर्टमा त्यहाँका एमिग्राशनले दुख दिएको कतिका सामानहरु हराएको तितो अनुभवसमेत उनीहरूले सुनाए। अहिले उनीहरु न्युहेम्प्शायेर राज्यको मार्निंग स्टार १८५ बिल्डिंगको अपार्टमेंट नंबर २ मा आराम गरेर बसेका छन् भने न्युहेम्प्शायेरबासी नेपालीहरुले उनीहरुलाई स्वागत गर्ने र सहयोग गर्ने क्रम जारी रहेको छ। नेपालबासी इश्वरी भट्ट र निगम रिमालले उनीहरुलाई एअरपोर्टबाट आउनु साथ तातो नेपाली खाना खुवाएका थिए।

नेपालीहरु संसारको जुन कुनामा रहे पनि नेपाली भावना कहिले नमर्ने हुनाले यसरी सेवा गर्न पाउंदा आफूलाई ज्यादै खुशी लागेको युनाईटेड किरातका सभापति राईले बताउनुभयो। यो समस्या भूटानी शरणार्थी र अमेरिकाको मात्र नभएर अमेरिकामा बस्ने सम्पूर्ण नेपालीहरूको समस्या पनि हो। राईले प्रेस बिज्ञप्ति जारी गर्दै भूटानी शरणार्थीहरु अमेरिका आउने क्रम जारी रहेकाले अमेरिकामा बस्ने नेपालीहरुले शरणार्थीहरुलाई सहयोग गर्न आब्हान गर्नु भएको छ भने युनाईटेड किरात राई ओर्गानैजेसन अफ अमेरिकाका लोकल चाप्टरहरुले अनिबार्य रूपमा शरणार्थीहरुलाई एअरपोर्टबाट रिसिभ गर्नेदेखि आइपर्ने अन्य सम्पूर्ण कार्यहरुमा सहयोग गर्न आब्हान गर्नु भएको छ। ओर्गानैजेसनका लोकल चाप्टर अमेरिकाका १५ भन्दा बढ़ी राज्यमा क्रियाशील छन्। सभापति राईले अमेरिकामा लुथ्रान सोसियल सर्भिस र भूटानी शरणार्थीको बीचमा स्वयंसेवक र को-अरडीनटरको भूमिका निर्बाह गरी रहनु भएको छ। लुथ्रान सोसिअल सर्भिसले अमेरिकामा आउने शरणार्थीहरुलाई न्युहेम्प्शायेरको कंकड़ र लाकोनिया स्थानमा बसोबास गराउने कुरा राईले बताउनु भयो। लुथ्रान सोसिअल सर्बिसका डाइरेक्टर आमी मार्चिल डोन, कोऑरडीनटर अबिगेल र नेपालमा रहनुभएका अब्राहन कोल्डको बिशेष पहलमा न्युहेम्प्शायेरमा शरणार्थी ल्याएको हो। मार्च १२ तारिखका दिन २० जना शरणार्थी आएकोमा टेक्सास राज्यमा १० र बर्लिंगटनमा ६ जना आएको जानकारी सभापति राईले दिनु भयो।

न्युयोर्कबाट सुरेश चाम्लिङ / एचकेनेपाल डट कम।

Popularity: 8%

9 comments March 14th, 2008

काँग्रेसको घोषणापत्रमा प्रधानमन्त्री शक्तिशाली

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसले स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न पूर्ण लोकतान्त्रिक सङ्घीय गणतन्त्रात्मक नेपाल राष्ट्रको कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्री रहने र कार्यकारी अधिकार प्रधामन्त्रीमा निहित रहने व्यवस्था अगाडि सारेको छ ।

बीपीनगर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक गरिएको पार्टी घोषणापत्रमा सो कुरा उल्लेख छ ।

उक्त घोषणापत्रमा नेपालको भाषिक,जातीय-सांस्कृतिक तथा धार्मिक विविधता प्रतिबिम्बित गर्ने उद्देश्य र लोकतान्त्रिक प्रकृयाअनुरुप राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति रहने र राष्ट्रपतिको निर्वाचन केन्द्रीय संसद र प्रादेशिक संसदका सदस्यबाट हुने उल्लेख गरिएको छ ।

सार्वभौमसत्ता र राजकीयसत्ता पूर्णरुपले जनतामा निहित रहने तथा संविधानको सर्वोच्चता अनुलङ्घनीय हुने पनि घोषणापत्रमा उल्लेख छ ।

बत्तीस पृष्ठको उक्त घोषणापत्रमा नेपालको वर्तमान एकात्मक र केन्द्रीकृत राज्य संरचनाको अन्त्य गरी, स्वायत्त प्रदेशहरु भएको सङ्घीय राज्य रहनाका साथै स्वायत्त प्रदेश रचनाको प्रमुख आधार नेपालको राष्ट्रिय अखण्डता, भौगोलिक अवस्थिति र अनुकूलता, जनसङ्ख्या, प्राकृतिक स्रोत र आर्थिक सम्भाव्यता, प्रदेशको अन्तरसम्बन्ध, भाषिक/जातीय एवं सांस्कृतिक सघनता, राजनीतिक/प्रशासनिक सम्भाव्यता आदि हुनेछन् । त्यस्तै विकेन्द्रित र स्वायत्ततासहितको अधिकारसम्पन्न स्थानीय निकायको व्यवस्था गरिएको छ ।

घोषणापत्रमा लोकतान्त्रिक मूल्य र मान्यताको जगेर्ना गर्दै संवैधानिक सर्वोच्चता र विधिको शासन कायम गराउने महत्वपूर्ण जिम्मेवारी न्यायपालिकाको हुने,केन्द्रमा सर्वोच्च अदालत हुने तथा केन्द्र र प्रदेशमा आवश्यकताअनुसार पुनरावेदन र अन्य अदालतको व्यवस्था सङ्घीय संरचनाअनुरुप रहने उल्लेख छ ।

नेपालका सबै मातृभाषालाई समान रुपले राष्ट्रिय भाषा मानिने छ । नेपाली भाषा केन्द्रका लागि सरकारी कामकाज र राष्ट्रिय सम्पर्क भाषा हुनेछ । कुन प्रदेशले कुन कुन भाषालाई प्रादेशिक सरकारी भाषाको रुपमा प्रयोग गर्ने भन्ने निर्णय सम्बन्धित प्रदेशको व्यवस्थापिका (संसद्) ले गर्नेछ । केन्द्र, प्रदेश र स्थानीय निकायले कानुनबमोजम तोकिएको औपचारिक भाषा प्रयोग गरे पनि न्यायालय र सरकारी कार्यालयमा सबै नागरिकलाई मातृभाषामा आफ्नो भनाइ राख्ने अधिकार हुने छ - घोषणापत्रमा भनिएको छ ।

नेपाली काँग्रेस नेपालका आदिवासी, जनजाति, मधेसी लगायत विभिन्न क्षेत्रबाट पहिचान र स्वायत्तताको आकांक्षा सहित मुखरित भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसंरचनाको मागलाई संवैधानिक प्रणालीमा मूर्तरूप दिने आफ्नो प्रतिवद्धतालाई यस घोषणा-पत्रका माध्यमबाट सार्वजनिक गर्दै संघीय राज्य संरचनाको स्वरूप बारेपनि घोषणापत्रमा उल्लेख गरेको छ ।

केन्द्रमा कार्यपालिका प्रमुखको रूपमा प्रधानमन्त्री र प्रदेशमा प्रदेश प्रमुखको व्यवस्था गरिने, केन्द्रीय र प्रादेशिक मन्त्रीपरिषद्को गठन समावेशी सिद्धान्तका आधारमा गरिने र राज्यलाई समावेशी ढाँचामा बदल्न सानोभन्दा सानो समूहको समेत राज्य संरचनामा र निर्णय प्रक्रियामा पहुँच एवं सहभागिताका लागि सामाजिक न्याय सहितको सकारात्मक विभेदको नीति अवलम्बन गरिने उल्लेख छ ।

राष्ट्रिय एकताको प्रतीक अब फेरि एउटा व्यक्ति र पद हुने छैन, सबैको समावेशी र संवैधानिक संघीय लोकतन्त्र हुनेछ भन्दै पार्टी राष्ट्रिय एकता र अखण्डतायुक्त लोकतन्त्र अर्को महत्वपूर्ण निर्वाचन एजेण्डा हुने जनाएको छ ।

Popularity: 8%

1 comment March 14th, 2008

घोषणा पत्रमा जनसेनालाई नसमेट्नु खतरापूर्णः सोनाम

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का केन्द्रीय सदस्य कुलबहादुर केसी (सोनाम)ले राजनीतिक दलहरूले जारी गरेको घोषणा पत्रमा जनसेनाको बारेमा मौन बस्नु शान्तिका लागि खतरापूर्ण रहेको बताउनुभएको छ ।

द्वन्द्वकालीन समयमा अति प्रभावित फापरवारी गाविसमा आयोजित माओवादीको बृहत् चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले जनसेनालाई एकीकरण गर्ने कार्यलाई अवरोध गरेमा शान्ति प्रक्रियालाई असर पुग्ने धारणा व्यक्त गर्नुभयो ।

सभामा उहाँले १४ हजारको बलिदान र १९ दिने जनआन्दोलनबाट संविधानसभा प्राप्त भएकाले यसको सदुपयोग गर्न अनुरोध गर्नुभयो ।

Popularity: 8%

2 comments March 14th, 2008

नेकपा (संयुक्त मार्क्सवादी) को घोषणापत्र जारी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (संयुक्त मार्क्सवादी)ले आफ्नो संविधानसभा निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ ।कार्यकारी अधिकार प्रधानमन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषदमा रहने र राष्ट्रपति मर्यादित रुपमा रहने प्रस्ताव घोषणापत्रमा गरिएको छ। आत्मनिर्णय र कार्यान्वयन गर्ने स्वायत्तता रहेको सङ्घ निर्माण गर्ने प्रस्ताव पनि घोषणापत्रमा गरिएको छ ।

पार्टी संसद, उपल्लो सदन र सङ्घीय सदन गरी तीन सदनको व्यवस्था गरिने जनाएको छ । संसद र उपल्लो सदनबाट प्रधानमन्त्रीको चयन गरिने र ऊ संसद र जनताप्रति उत्तरदायी हुनुपर्ने बतथा सङ्घ, संसद र माथिल्लो सदनबाट मर्यादित राष्ट्रपतिको निर्वाचन हुनुपर्ने प्रस्ताव गरिएको छ । पार्टी संसदमा २०५ र उपल्लो सदनमा१०५ सदस्य प्रस्ताव गरिएको छ ।

नौ मुख्य बुँदामा बाँडिएको घोषणापत्रमा वैज्ञानिक भूमिसुधार, जलस्रोतको अधिकतम उपयोग र राष्ट्रिय उद्योगको विकास गरी मुख्य तीन सुधारका कार्यक्रम अघि सारेको छ ।

स्वास्थ्य, शिक्षा रोजगार र बासलाई अभेद्य मौलिक हक हुनुपर्ने ,वैज्ञानिक आधारमा नेपाल-भारत सीमा रेखाङ्कित गरिने र अङ्गीकृत नागरिकता दिने प्रचलन बन्द गरिने पनि जनाइएको छ ।

घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष हेमन्तबहादुर बिसीले घरदेखि बाहिर रहेका लाखौँ मतदातालाई आफू रहेको ठाउँबाट मतदानमा भाग लिने अवसर नदिएर ठूला दलले ती मतदाताको नाममा फर्जी मत खसाल्ने योजना गरेको आरोप लगाउनुभयो ।

Popularity: 8%

Add comment March 14th, 2008

चैत २० देखि विद्यालय बन्द

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालयमा राखिएका मतदान केन्द्रका लागि स्थान उपलब्ध गराउन र मतदानमा खटिने शिक्षकलाई विद्यालयको नियमित शिक्षण कार्यबाट छोड्न सकिने अवस्था सृजना गर्न चैत २० गतेदेखि आगामी २०६५ वैशाख ३ गतेसम्म विद्यालय बिदा गर्ने निर्णय गरेको छ ।

सो बिदा सुरु हुनुअघि विद्यालयबाट लिइने कक्षागत वार्षिक परीक्षा सम्पन्न गरिसक्न र उक्त १४ दिनको बिदालाई विद्यालयले पाउने वर्षे वा हिउँदे बिदामा समायोजन गर्नसमेत सबै विद्यालयलाई मन्त्रालयले अनुरोध गरेको छ ।

Popularity: 8%

Add comment March 14th, 2008

शङ्कास्पद वस्तु परीक्षण गर्न फिनल्यान्ड पठाइयो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय मानवअधिकार आयोगले शिवपुरी राष्ट्रिय निकुञ्जभित्र शङ्कास्पद स्थानबाट सङ्कलन गरिएका शङ्कास्पद वस्तुमा मानव अवशेष भएनभएको पत्ता लगाउन फिनल्यान्डको विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।

सो स्थानको थप अनुसन्धान गर्न नेपाल आएका विदेशी फरेन्सिक एन्थ्रोपोलिजिस्टले त्यहाँबाट सङ्कलित शङ्कास्पद वस्तुमा मानव अवशेष भएनभएको पत्ता लगाउन विदेशमा थप अनुसन्धान आवश्यक रहेको प्रारम्भिक प्रतिवेदन दिएपछि आयोगले फिनल्यान्ड पठाउने निर्णय गरेको थियो।

निकुञ्जभित्र नेपाली सेनाको भैरवनाथ गणका सुरक्षाकर्मीद्वारा पक्राउपछि हत्या गरी लास गाडिएको भनिएको थियो ।

आयोगका प्रवक्ता गौरी प्रधानले विदेशी विशेषज्ञको रायअनुसार नेपालको प्रयोगशालामा परीक्षण गरिएका चारवटा नमुनालाई फिनल्यान्ड पठाइएको जानकारी दिनुभयो ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त कार्यालयको पहलमा फिनल्यान्डबाट नेपाल आएका फोरेन्सिक एन्थ्रोपोलिजिस्ट प्रा. हिलिना रान्ता र हेलिसिन्की विश्वविद्यालयका प्रा.पिका साक्कोले सङ्कलित नमुनामध्ये चारवटा नमुनाको थप अनुसन्धानका लागि सिफारिस गर्नुभएको थियो ।

परीक्षणका लागि सरकारले आवश्यक प्रक्रिया पुरा गरेर परराष्ट्र मन्त्रालयमार्फत् शङ्कास्पद वस्तु फिनल्याण्ड पठाइएको हो ।

Popularity: 8%

Add comment March 14th, 2008

आचार संहिताको अनुगमन प्रेस काउन्सिलले गर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
निर्वाचन आयोगले प्रेस काउन्सिललाई संविधानसभा निर्वाचन आचारसंहिता पालना भएनभएको अनुगमन गर्नका लागि जिम्मेवारी दिएको छ ।

देशका विभिन्न भागमा सञ्चारमाध्यमले सञ्चार सम्प्रेषणमा के कस्तो भूमिका निर्वाह गरेका छन् सो सो कुरा दृष्टिगत गरी काठमाडौँ तथा उपत्यकाबाहिर देशका विभिन्न १० स्थानमा सञ्चार अनुगमन केन्द्र र उपकेन्द्र स्थापना भएका छन् ।

आयोगले संविधानसभा सदस्य निर्वाचन आचारसंहिता, २०६४ को व्यवस्था लागु गराउन एवं प्रचारप्रसारलाई तडकभडकमुक्त बनाउन निर्वाचन प्रसारप्रसारका क्रममा मोटरसाइकल, टेम्पोलगायतका सवारीसाधनको जुलुस तथा र्‍याली प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ ।

आचारसंहिताविपरीत कुनै राजनीतिक दलका उम्मेदवारले निर्वाचनको प्रचारप्रसारका नाममा टाँसिएका तुल वा ब्यानर वा लेखिएका भित्तेलेखन हटाउन आयोगको तर्फबाट पटकपटक सम्बन्धित राजनीतिक दल र उम्मेदवारलाई आग्रह गर्दासमेत हालसम्म पनि अझै केही ठाउँमा त्यस्ता तुल, ब्यानर वा भित्तेलेखन नहटाएको वा नमेटिएको पाइएकाले सुरक्षा निकायको सहयोग लिई त्यस्ता तुल, ब्यानर, भित्तेलेखन हटाउन र मेटाउन आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

निर्वाचनको प्रचारप्रसारका क्रममा मुलुकमा विभिन्न भागमा विभिन्न राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताउपर पुर्‍याइएका अवरोध, कुटपिट तथा असहिष्णु व्यवहारलाई आयोगले गम्भीररुपमा लिँदै निर्वाचनमा सहभागी प्रत्येक दल वा उम्मेदवारले आचारसंहिताको अधीनमा रहेर स्वतन्त्ररुपमा आ-आफ्नो प्रचारप्रसार गर्न पाउने अधिकार कुण्ठित हुने गरी त्यस्ता क्रियाकलाप कहीँकतैबाट नदोहोर्‍याउन र अरूको अधिकारको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

साथै यस्ता घटनामा संलग्न भई प्रचलित कानुन एवं आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिलाई तत्काल कानुनको दायरामा ल्याउन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।

Popularity: 8%

Add comment March 14th, 2008

धनकुटा प्रतिभा पुरस्कार मोमिला, विष्णु र कुशललाई

विश्वास दीप तिगेला, केन्ट / एचकेनेपाल डट कम -
गत बर्ष वेलायतमा स्थापना भएको धनकुटा प्रतिभा पुरस्कार प्रतिष्ठान वेलायत च्याप्टरको गत १२ मार्च २००८ का दिन र्सनकिल्फमा बसेको बैठकले ब्यापक छलफल र बहसपछि यस बर्ष ३ विधाका ३ युवा प्रतिभालाई पुरस्कृत तथा एक विशिष्ट ब्यक्तित्वलाई सम्मान गर्ने निर्णय गर्यो ।

प्रत्येक बर्ष साहित्य, संगीत र खेलकुदको क्षेत्रमा राम्रो योगदान दिइ धनकुटा जिल्लाको प्रतिष्ठा बढाउन कार्य गर्ने स्रष्टालाई सम्मान गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले जन्मसिद्ध र कर्मसिद्ध धनकुटासंग साइनो भएका स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यको थालनी गरेको हो। हालसम्म यस संस्थाको धनकुटा च्याप्टर र वेलायत च्याप्टर निर्माण भइसकेको छ। यस बर्षको लागि धनकुटा च्याप्टरले सिफारिस गरेको नामहरुको सम्बन्धमा अमेरिका, जर्मनी, हङकङ, मलेसिया, कतार, कोसभोमा रहेका धनकुटेलीहरुबीच आपसी छलफल गरि साहित्य विधामा मोमिला जोशी, संगीत विधामा नेपाल स्टार विष्णु चेम्जोङ र खेलकुद क्षेत्रबाट सार्क स्वर्ण पदक विजेता कुसल (कुसुले) श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय भएको कुरा अध्यक्ष क्याप्टेन ज्ञान लिम्बूले बताउनु भयो। त्यस्तै गरि यस बर्ष संगीतका सिनियर स्रष्टा नविनकिशोर राईलाई सम्मान गर्ने निर्णय भएको छ।

पुरस्कृत ३ जनाले आगामी २२ मार्चका दिन धनकुटामा सम्पन्न हुने कार्यक्रममा प्रतिब्यक्ति १० हजार नगद पुरस्कार र प्रमाण-पत्र प्राप्त गर्नेछन्।

युवा साहित्यकार मोमिला जोशी विगत १ दशकदेखि साहित्य क्षेत्रमा लागि परेकी स्रष्टा हुन। उनले इश्वरको अदालतमा आउटमाइन्डरको बयान पुस्तक पनि लेखिसकेकी छन् त्यस्तै गरि अनलाइन साहित्यमा पनि त्यतिनै सक्रिय छिन्। उनले नेपालीकलासाहित्य डटकम पनि संचालन गर्दैआएका छन्।

युवा गायिका सुश्री विष्णु चेम्जोङले नेपाल वान टेलिभिजनले प्रसारण गरेको अधिराज्यब्यापी नेपाल स्टार प्रतियोगितामा धनकुटाको प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरेकी हुन। अहिले पनि उनी निरन्तर संगीतमा लागि रहेकी छन।

युवा खेलाडी कुशल श्रेष्ठले अघिल्लो पटक सम्पन्न अन्तर्राष्ट्रय सार्क स्तरीय सितोरियो कराते खेलमा धनकुटाबाट नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक प्राप्त गरेका थिए। उनी धनकुटाको मात्र नभइ नेपालकै प्रतिभा हुन र अहिले पनि निरन्तर खेल क्षेत्रमै लागि रहेका छन्। श्रेष्ठबाट भविष्यमा अझ धेरै आशा गर्न सकिन्छ।

यस बर्षको सम्मानित ब्यक्तित्व नविनकिशोर राईले थोरै भएपनि राम्रा र लोकप्रिय गीतहरु गाएका छन्। उनका स्वरहरु अमर भएर रेडियोहरुमा निरन्तर बजिरहेका छन्। त्यसवेलाको समयमा उनले दिएको योगदान कदरयोग्य भएको कुरा प्रतिष्ठानका सदस्य आनन्द देवानले बातए। त्यस्तै गरि धेरै स्रष्टाहरु सम्मान योग्य भएको र विस्तारै सबैलाई प्रत्येक बर्ष सम्मान तथा पुरस्कृत गर्दै जानेकुरा धनकुटा च्याप्टरका अध्यक्ष तेजनारायण सिं तुप्रिहाङले बताए।

स्मरण रहोस, वेलायती सेनासंग सम्बन्धित वेलायतवासी सम्पूर्ण धनकुटेलीहरुलाई धनकुटा प्रतिभा पुरस्कार प्रतिष्ठानमा समेट्ने कार्य जारी रहेको र विश्वभर छरिएर रहेका सम्पूर्ण धनकुटा जिल्लावासीहरुको साझा संस्थाको रुपमा विकसित भएको छ। धनकुटा जिल्ला प्रसासन कार्यलयमा दर्ता भएको यस धनकुटा प्रतिभा पुरस्कार कोषको अक्षयकोष स्थापना भइसकेको छ र कोष थप गर्न दोस्रो चरणको कार्यक्रम चलिरहेको छ।

केन्टबाट विश्वास दीप तिगेला / एचकेनेपाल डट कम।

Popularity: 8%

Add comment March 14th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....