Archive for March 16th, 2008

प्रवासी मजदुर युनियनद्वारा एक दिने रेष्टुरेण्ट कार्यक्रम (+Photo)

डम्बर सुब्बा, द. कोरिया / एचकेनेपाल डट कम -
प्रवासी मजदुरहरुको हक, हित र अधिकारको लागि संघर्षरत प्रवासी मजदुर युनियनको आयोजनामा हिजो सिओलको योडसानस्थित छल्तो वेइडिड हलमा एक दिने रेष्टरेण्ट कार्यक्रम सम्पन्न भयो।

संघर्षको क्रममा भई परि आउने आर्थिक समस्या समाधानका लागि आर्थिक संकलनको साथै कोरियन समाजसंगको ऐक्यबद्धता कायम गर्नका निम्ति आयोजित उक्त कार्यक्रममा विभिन्न राष्ट्रका प्रवासी मजदुर, कोरियन मजदुर, विद्यार्थी, कानूनी व्यवसायी, धार्मिक, सामाजिक आदि संघ संस्थाका पदाधिकारीहरु र सर्वसाधारणको व्यापक सहभागीता रहेको थियो।

कार्यक्रममा प्रवासी मजदुर बेण्ड स्टाप क्रयाक डाउन, कोरियन प्रसिद्ध गायक तथा नेपाल खेलकुद तथा सांस्कृतिक मन्चले मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

विभिन्न संघ संस्थाका पदाधिकारीहरुले कोरियामा रहेका प्रवासी मजदुरहरुले स्वतन्त्रका साथ काम गर्ने अधिकार, अमानवीय धडपकड बन्द, भेदभावको अन्त्य, दमनकारी अध्यागमन विभागीय विधान संशोधन, प्रवासी मजदुर युनियनलाई कानुनी मान्यता जस्ता मागहरु पूरा नहुञ्जेलसम्म संघर्ष जारी रहने र ऐक्यबद्धता रही रहने बताए।


Popularity: 8%

Add comment March 16th, 2008

पोखरामा चैत दोस्रो साता नेपाल र पाकिस्तानबीच फुटबल

धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम -
क्लबस्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आहा गोल्डकप हेरेका पोखरेली दर्शकले अन्तर्राष्ट्रियस्तरको फुटबलको स्वाद पाउने भएका छन्। यही चैतको दोस्रो साता पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएपछि पोखरेलीले यो अवसर पाउने भएका हुन्।

नेपाल र पाकिस्तानको राष्ट्रिय टोलीले चैतको १२ र १४ गते दुइदिन पोखरा रंगशालामा प्रतिस्पर्धा हुदै छ। पोखरामा हुने उक्त प्रतिस्पर्धा पोखराको इतिहासमै पहिलो पटक हो। नेपाली राष्ट्रिय टोली र पाकिस्तान टोली पोखराको मैदानमा हुने प्रतिस्पर्धा पहिलो पटक हो। नेपाली राष्ट्रिय टोली उत्रिने पनि सम्भवत यो पहिलो हो। दुई दिने हुने उक्त प्रतिस्पर्धाले फिफा बरियताको समेत निर्धारण गर्ने छ। प्रतियोगिताको लागि कास्की जिल्ला फुटबल संघका पदाधिकारी तयारीमा जुटेका छन्। फिफा बरियतामा नेपाल १ सय ८८ औं स्थानमा रहेको छ भने पाकिस्तान १ सय ६६ औं स्थानमा रहेको छ। नेपाली फुटबलको स्तर भने वर्षेनी घट्दै गएको छ।

‘अन्तर्राष्ट्रियस्तरको फुटबल पोखरामा पहिलो पटक हुन लागेको छ।’ कास्की जिल्ला फुटबल संघका सल्लाहकार सुदर्शन रन्जितले भन्नुभयो-’फुटबलले पोखराको खेलकुद छविलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने छ।’ पोखरामा हुने अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगितालाई पोखरेली सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो। ‘फुटबल पोखराको गौरव हो।’ उहाँले भन्नुभयो। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागी नजाउदाँ समेत बरियता घट्दै गएको हो। प्रतियोगिताको आवश्यक तयारीको लागि सोमबार साँझ संघका पदाधिकारीहरुको बैठक समेत बस्यो। बैठकले विभिन्न तयारी समिति तथा उपसमिति गठन गर्ने जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्देशन दिइसकेको छ।

दुई दिने प्रतियोगिताको लागि संघले फुटबल मैदान समेत मर्मत सम्भार गरेको छ। मैदानलाई नियमित रुपमा गोडमेल गर्दै पानी हाल्ने काम समेत संघले गर्दै आएको छ। मैदान आहा गोल्डकपपछि मैदान संरक्षण गरिदै आएको हो। प्रतियोगिताको लागि फुटबलको आधिकारिक वेभसाइटले जनाएको छ।

पोखराबाट धन बस्नेत, ३ चैत / एचकेनेपाल डट कम।

Popularity: 8%

Add comment March 16th, 2008

दक्षिण कोरियामा अर्को एक नेपालीको मृत्यु

डम्बर सुब्बा र भूपेन्‍द्र आचार्य, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
रोजगारको सिलसिलामा कोरिया आई मृत्‍यु भएका दुई जना नेपालीहरू स्व. वाङदी विष्ट र स्व. रोशन शाहीको घटना सेलाउन नपाउंदै फेरि ट्रेनिङ भिषामा विगत ३ बर्ष अगाडी कोरिया आएका निलकण्ठ न्यौपानेको आज आईतबार ३ बजे मेसिनमा परी मृत्यु भएको छ।

दक्षिण कोरियाको नुन्सान सिटीस्थित साम्यङ मेसिनरी कम्पनीमा कार्यरत न्यौपाने १ महिना अगाडि नेपाल फर्की इपीएसबाट पुनः दक्षिण कोरिया आएका थिए। प्रत्यक्षदर्शीका अनुसार बालुवामाथि ३ टनको मेसिन राखिएको थियो। सफाई गर्दा बालुवालाई बेल्चाले एक ठाउंदेखि अर्को ठाउ सार्ने क्रममा सो बालुवामाथि राखिएको ३ टनको मेसिन न्यौपानेमाथि ढलेको थियो। दुर्घटनापछि न्यौपानेसंगै काम गर्ने कोरियनले देखेर तत्काल क्रेन ल्याएर मेसिनबाट निकालेर अस्पताल लैजाँदा गर्दा बाटोमा उनको मृत्यु भएको थियो। मृतक न्यौपानेको शव थेजनको कनयाड युनिभर्सिटिको अस्पतालमा राखिएको न्यौपानेसंगै काम गर्ने नेपालीले बताए। उनका अनुसार करीव ४० वर्षीय न्यौपाने बुटवल कोठियाका निवासी हुन्। न्यौपानेका ३ बालबच्चा छन्।

कम्पनीमा अन्‍य १६ जना नेपाली कामदारहरु रहेका छन् भने कम्पनीले पानी जहाज तथा टेनका मेसिनहरु उत्पादन गर्ने गर्छ।

Popularity: 8%

Add comment March 16th, 2008

अनसन बस्न खोज्ने तिब्बति गिरफ्तार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तिब्बतको स्वतन्त्रताको माग गर्दै प्रदर्शनमा उत्रिएका तिब्बती बौद्ध भिक्षुहरुमाथि चिनिया सरकारले दमन गरेको बिरोधमा नेपालमा रहेका तिब्बती शरणार्थीले शनिबार पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ कार्यालय अगाडि प्रदर्शन गरे ।

राष्ट्रसङ्घ कार्यालय अगाडि अनशन बस्न खोज्ने ११ जना शरणार्थी सहित प्रदर्शनमा उत्रिएका करिब ३० जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारी करिब ३०० को सङ्ख्यामा रहेका थिए ।

Popularity: 8%

3 comments March 16th, 2008

काँग्रेस महामन्त्री र लिम्बुवानबीच छलफल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका महामन्त्री कुलबहादुर गुरुङ र लिम्बुवान कार्यकर्ताबीच वार्ताका लागि छलफल भएको छ ।

छलफलका क्रममा महामन्त्री गुरुङले लिम्बुवानका मागहरुका विषयमा आफू सकारात्मक रहेको र प्रधानमन्त्रीलाई जानकारी गराउने आश्वासन दिनुभएको बताइएको छ ।

सो अवसरमा सङ्घीय लिम्वावान राज्य परिषद्का जिल्ला अध्यक्ष गोपाल थेबेले मागका विषयमा सरकार उदासिन भएको बताउनुभयो ।

लिम्बुवानका माग लिएर वार्ताका लागि केन्द्रीय अध्यक्ष सन्जुहाङ पालुहाङ र महासचिव फागोहाङ बनेमसहित १६ जनाको टोली राजधानी पुगिसकेको छ ।

लिम्बुवानको आत्मनिर्णयको अधिकार सहित आन्दोलनमा उत्रेको परिषद्ले पूर्वाञ्चलका नौ जिल्ला बन्द गरेको छ । बन्दका क्रममा इलाममा भने कुनै अप्रिय घटना घटेका छैन ।

परिषद्का अध्यक्ष थेवेले सरकारले फेरि पनि आफ्ना माग प्रति वेवास्ता गरे सशक्त आन्दोलन गर्नेसमेत बताएका छन् ।

Popularity: 8%

1 comment March 16th, 2008

अझै दसवर्षम्म एकता हुनुपर्छ- प्रधानमन्त्री

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रको संस्थागत विकास गर्दै यसलाई दिगो र सबल बनाउन अहिलेको सातदलको एकतालाई अझै दस वर्षसम्म कायम राख्नुपर्ने बताउनुभएको छ ।

रिपोर्र्टर्स क्लब नेपाल र नेपाल सांस्कृतिक सङ्घको पहलमा आफ्नो निवास बालुवाटारमा कलाकर्मीसँगको भेटमा उहाँले संविधानसभाको निर्वाचनमा जसको बहुमत आएपनि सात दलको एकतालाई कायम राख्न सात दलको संयुक्त सरकार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

संविधानसभाको निर्वाचनले सात दलको एकतालाई कतै खल्बल्याउँछ की भन्ने चिन्ता व्यक्त गर्दै उहाँले सात दलले एकअर्काप्रति आक्षेप र दूराग्रह नराखी देश र जनताका लागि अघि बढ्नुपर्दछ, नेपाली काङ्ग्रेसले नै बहुमत ल्यायो भनेपनि सातदलको संयुक्त सरकार बन्नुपर्दछ भन्नुभयो ।

‘प्रजातन्त्र यस्तो लर्डाईं हो जसमा कसैको पनि हार हुँदैन, सबैको जित हुन्छ, जनताको जित हुन्छ’ प्रधानमन्त्री कोइरालाले भन्नुभयो- प्रजातन्त्रको स्थापनाका निमित्त हामी सातदल अहिलेसम्म एक छौँ र संविधानसभाको निर्वाचनमा पनि यही विश्वासका साथ अगाडि बढौँ ।

वार्ताको माध्यमबाट हामी यहाँसम्म आइपुग्दा विश्व नै चकित भएको छ, अब निर्वाचन कसरी हुन्छ भनी उनीहरूले ध्यान दिइरहेका छन् भन्दै उहाँले हामीले उनीहरूलाई नेपालीहरू सक्षम छन् भनेर प्रमाणित गरेर देखाइदिनुपर्ने उल्लेख गर्नुभयो ।

विदेशीहरू हामीलाई सिकाउन आएका होइनन्, उनीहरू हामीबाट सिक्न आएका हुन् भन्दै प्रधानमन्त्री कोइरालाले सम्पूर्ण राष्ट्रले यो जिम्मेवारी बुझेर निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपर्ूण्ारूपमा सम्पन्न गराएर विश्वमा नै नयाँ उदाहरण प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

Popularity: 8%

1 comment March 16th, 2008

मनीषा कोइरालाका पिता बिरामी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
शाही कालका मन्त्री तथा अभिनेत्री मनीषा कोइरालाका पिता प्रकाश कोइराला हिजो अस्वस्थ्य हुनुभई बानेश्वरस्थित एभरेष्ट नर्सिङ होममा भर्ना हुनुभएको छ ।

कोइरालालाई बिहीबार बिहान बेहोस भएपछि तत्काल अस्पताल पुर्‍याइएको थियो ।

उहाँको लिभर सुन्निएको र हेमोग्लोबिन कम भएको कुरा अस्पताल स्रोतबाट थाहा भएको छ ।

Popularity: 8%

1 comment March 16th, 2008

माअ‍ोवादी पराजित भए विद्रोहको चेतावनी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल कम्युनिष्ट पार्टी माओवादीका वरिष्ठ नेता तथा केन्द्रीय सचिवालय सदस्य मोहन वैद्य किरणले गुल्मी-काठमाडौँ गणतान्त्रिक मञ्चद्वारा आज आयोजना गरिएको चुनावी भेला कार्यक्रममा अग्रगामी शक्ति र पश्चगामी शक्तिबीच अहिले भीषण सङ्घर्ष भइरहेकोले संविधानसभाको चुनावमा माओवादी विजयी बन्नै पर्ने बताउनुभयो ।

चुनावपछि यदि यथास्थितिवादी शक्तिले विजय प्राप्त गरेर संविधान बनाउने बेलामा कुनै गडबड गरियो भने माओवादीले नमान्ने र विद्रोह हुने उहाँले जनाउनुभयो ।

जनताको चाहना बाम एकता हुनुपर्ने भएपनि वैदेशिक प्रतिक्रियावादी, साम्राज्यवादी, विस्तारवादीले एमाले भित्र रहेका यथास्थितिवादीलाई उकासेको र अन्य प्रतिगामी तत्व पनि यो चलखेलमा लागेकाले सम्भव हुन नसकेको जनाउनुभयो ।

कार्यक्रममा पुष्पलाल अध्ययन समाजका महासचिव राजेन्द्र सापकोटाले मरभूमिको पोखरी भएर दसकौँदेखि रहेको संविधानसभा अहिले नेपाली जनताले पानी पिउने पोखरी भएको बताउनुभयो ।

कार्यक्रममा गायक बद्री पङ्गेनी र केन्द्रीय संस्कृतिक परिवार सामना परिवारले आ-आफ्नो कला प्रदर्शन गरेका थिए ।

Popularity: 8%

Add comment March 16th, 2008

जनतासँग नेता डराउनुपर्छ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाले नेतासँग जनता नभै जनतासँग नेता डराउने अवस्था लोकतन्त्रमा मात्र रहने विचार व्यक्त गर्नुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर ४ अर्न्तर्गत दोधाराको भानु उच्च माविमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले नागरिकको मौलिक अधिकार सुरक्षित गर्ने किसिमको लोकतान्त्रिक संविधान निर्माण गर्न संविधानसभाको निर्वाचन भई छाड्ने दृढता व्यक्त गर्नुभयो ।

सो अवसरमा उहाँले महाकाली पारीका दुई गाविस दोधारा र चाँदनीलाई जोड्ने सडक कालोपत्रे गरिने र बाढी नियन्त्रणका लागि पहल गरिने र पञ्चेश्वर योजना सम्पन्न भएपछि उक्त क्षेत्रमा सिचाइको व्यवस्था गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

Popularity: 8%

3 comments March 16th, 2008

भोज खाँदा बिरामी भएकाहरु घर फर्किए

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विवाह भोजमा रोटी अचार खाएर विरामी भइ पर्वत, वाग्लुङ र म्याग्दी जिल्ला अस्पतालमा उपचाररत अधिकांश विरामीहरु उपचारपछि आज घर फर्केका छन् भने करिब १२ जना विरामीहरु अझै उपचार गराइरहेका छन् ।

फागुन ३० गते धाइरिङ गाविस वडा नं. ३ निवासी रामजी आचार्यको घरमा भएको विवाह भोज खाएपछि सो भेगका लगभग दुइ सय महिला र केटाकेटीहरु विरामी परेका थिए ।

सबै विरामीमा विषको लक्षण देखिएकाले अचारमा विष मिसिएको र उक्त अचार खाएका कारण विरामी भएको पर्वत अस्पतालका डा. झलकप्रसाद गौतमले बताउनुभयो ।

फुड पोइजनका कारण विरामी परेको थाहा पाउँदासाथ पर्वत जिल्ला अस्पतालबाट औषधिसहितको टोली हिजो धाइरिङ पुगी मिलनचोकमा उपचार शिविर खडा गरी ५२ जनालाई प्राथमिक उपचारपछि म्याग्दी अस्पताल पुर्याएको थियो ।

फुड पोइजनका कारण चारसय जना विरामी भएको भनिएता पनि यथार्थमा करिव दुइसय विरामी भएको पाइएको अस्पतालले जनाएको छ ।

Popularity: 8%

Add comment March 16th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....