Archive for March 17th, 2008

अरुण-३ मुद्दामा कारण देखाउ आदेश जारी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चार सय दुई मेगावाट क्षमताको अरुण ३ जलविद्युत् आयोजनासम्बन्धमा नेपाल सरकार र भारतीय सरकारी ऊर्जा कम्पनी सतलज जलविद्युत निगमबीच गत फागुन १९ गते भएको सम्झौताका विरुद्ध फागुन ३० गते सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि सुनुवाइ हुँदा अदालतले विपक्षीका नाममा अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले सो आदेश दिएको हो ।

अधिवक्ताद्वय टीकाराम भट्टराई र रवीन सुवेदीले बहस गर्नुभएको सो रिट निवेदनमाथिको अन्तिम फैसला भने पश्चिम सेती आयोजनासम्बन्धी परेको मुद्दाको टुङ्गो लागेपछि हुने बताइएको छ ।

Popularity: 8%

Add comment March 17th, 2008

नेका उम्मेदवारमाथि आक्रमण

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसले नेपाली काङ्ग्रेस ओखलढुङ्गाद्वारा क्षेत्र नं. १ को पातले गाविसमा हिजो आयोजित सभामा सहभागी भई फर्कने क्रममा नेकपा -माओवादी) का जत्थाद्वारा आफ्ना उम्मेदवार बालकृष्ण दाहालमाथि ज्यान मार्ने उद्देश्यले ढुङ्गामुढा प्रहार गर्नाका साथै गोली प्रहार गरेको जनाएको छ ।

उक्त घटनामा नेपाली काङ्ग्रेसकी लीला दाहाल सख्त घाइते भएको पनि बताइएको छ ।

नेपाली काङ्ग्रेसले “यस किसिमका हिंस्रक, अराजक र गैर जिम्मेवार गतिविधि” तुरुन्त बन्द गरी राजनीतिक दलका कार्यक्रम निर्बाधरुपमा सम्पन्न गर्नका लागि आफ्नो प्रतिबद्धता अनुसारका व्यवहार प्रदर्शन गर्न माओवादीलाई सचेत गराएको छ ।

यसैगरी नेकपा (माओवादी)का कार्यकर्ता गोरखा लुइँटेल भन्ने ठाउँदेखि हिजो राति नेपाली काङ्ग्रेसका नेता एवं कार्यकर्ता बसिरहेको स्थानमा आई अच्युत न्यौपाने र अमर धितालमाथि आक्रमण गर्नाका साथै उनीहरुको साथमा रहेको रु. १६ हजार र मोबाइल टेलिफोन सेटसमेत लुटी लगेको र उनीहरुलाई उक्त क्षेत्रमा प्रवेश गर्नका लागि निषेधको आदेश गरी निर्बाध राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको जनाइएको छ ।

यस्तै, धादिङ निर्वाचन क्षेत्र नं. १ सत्यदेवी गाविसबाट पार्टी कार्यकर्ता निकलम तामाङ र एकबहादुर तामाङलाई पनि यही चैत १ गते अपहरण गरी बेपत्ता बनाएको बताइएको छ ।

पार्टीले नेकपा (माओवादी) लाई अपहरण गरिएका सबैलाई तत्काल रिहाइ गरी लुटिएको नगद तथा सामग्री फिर्ता गर्न आग्रह गरेको छ ।

Popularity: 8%

1 comment March 17th, 2008

अञ्चललाई नै आधार बनाएर संघीय राज्य बनाउन प्रस्ताव

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भूगोलका आधारमा बनेको अञ्चललाई नै आधार बनाएर सङ्घीय राज्य बनाउनुपर्ने प्रस्ताव गरेको छ ।

संविधानसभा निर्वाचनका सन्दर्भमा उक्त दलले सार्वजनिक गरेको घोषणापत्रमा सो प्रस्ताव गरिएको हो ।

प्रत्यक्ष निर्वाचनबाट राष्ट्रपतिको छनोट गरिनुपर्ने, राष्ट्रपतिले प्रान्तीय सरकार र प्रान्तीय विधानसभा भङ्ग गरी राष्ट्रपतीय शासन लागू गर्नसक्ने र दुवै सदनका सदस्य मन्त्री बन्न नपाउने घोषणापत्रमा प्रस्ताव गरिएको छ ।

दुई सदनात्मक व्यवस्थापिकामध्ये प्रान्तबाट चुनिएर गएका सदस्यबाट माथिल्लो स्थायी सदन गठन गर्ने, तल्लो सदनका सदस्यको निर्वाचन मिश्रित समानुपातिक प्रतिनिधित्वका आधारमा गरिनुपर्ने र दुवै सदनका सदस्यलाई प्रत्याह्वान गर्ने व्यवस्था गरिएको छ ।

प्रान्तीय विधानसभाका सदस्यहरू भूगोल र जनसङ्ख्याका आधारमा मतदाताहरूबाट निर्वाचित हुने, सो सभाले आ-आफ्ना प्रान्तको मुख्यमन्त्री चुन्ने, प्रमुख मन्त्रीले मन्त्रीहरूको चयन गर्ने, केन्द्रीय सरकारले नियुक्त गरेको प्रान्तीय प्रमुख अधिकारीले केन्द्र र प्रान्तीय सरकारका बीचमा पुलको काम गर्ने र प्रान्तीय सदस्यलाई जनताबाटै प्रत्याह्वानको व्यवस्था हुने पनि प्रस्ताव गरिएको छ ।

केन्द्रमा सर्वोच्च अदालत र हरेक प्रान्तमा प्रधान अदालत हुने, सर्वोच्च अदालतले आवश्यकतानुसार श्रम अदालत, महिला अदालत, उपभोक्ता अदालतलगायतका अदालत गठन गर्नसक्ने व्यवस्था घोषणापत्रमा गरिएको छ ।

Popularity: 8%

Add comment March 17th, 2008

एमाले एक चीन पक्षमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले)ले नेपाली भूमिमा चीन विरोधी प्रदर्शन भएको भन्ने खबरले आफू स्तब्ध भएको जनाएको छ ।

आफ्नो पार्टी अविच्छिन्नरुपमा ‘एक चीन’ का पक्षमा छ र नेपाली भूमिबाट मित्र राष्ट्रहरुविरुद्ध गतिविधि हुनुहुँदैन भन्ने अडान राख्छ भन्दै पार्टी मित्र राष्ट्रहरुको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र अक्षुण्णतामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नेपाली भूमिबाट कदापि हुन नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

विभिन्न छद्मभेषमा हुने त्यस्ता क्रियाकलापले दुइ देशको सम्बन्धमा प्रतिकूल असर पार्ने खतराप्रति सचेत रहँदै आवश्यक कदम चाल्न पार्टीले सरकारसँग माग गरेको छ ।

Popularity: 8%

Add comment March 17th, 2008

आप्रवासी नेपालीद्वारा विद्युतीय पुस्तकालयको सुरुआत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली विद्यालयका लागि विद्युतीय पुस्तकालयको विकासको सम्भावनाका लागि क्यानाडामा बस्ने आदित्य झा, पीओए एजुकेसनल फाउन्डेसन र डा.शिव गौतमको नेतृत्वमा एक परीक्षण योजना सुरु गरिएको छ ।

सो परियोजनाले काठमाडौं उपत्यकाका दसवटा विद्यालयमा पचासवटा कम्प्युटर र प्रिन्टर उपलब्ध गराउने भएको छ ।

उक्त परियोजना झाको समूह तथा शिक्षा तथा खेलकुद मन्त्रालयबीचको सहमतिमा सुरु गरिएको हो ।

उक्त परियोजना लामो समयदेखि अमेरिका तथा क्यानाडामा रहेका आप्रवासी नेपाली सदस्य गौतम तथा झाले नेपाल लाइब्रेरी फाउन्डेसनमार्फ पीओए एजुकेसनल फाउन्डेसनको दानमा तयार पारेका हुन् ।

मन्त्रालयद्वारा सो परियोजनाका लागि छनोट गरिएका विद्यालयमा गुहृयेश्वरी, नन्दिरात्रि, कन्या मन्दिर, जनकल्याण, बालविकास, जनविकास, गीतामाता, नीलबाराही र गान्धी आदर्श स्कुल छन् ।

Popularity: 8%

1 comment March 17th, 2008

कामनपाका पूर्वमेयर स्थापित एमालेमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
काठमाडौँ महानगरका पूर्वप्रमुख केशव स्थापित पुनःनेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

नेकपा (एमाले) केन्द्रीय कार्यालय, मदननगरमा आयोजित समारोहमा पार्टी महासचिव माधवकुमार नेपालले उहाँलाई स्वागत गर्नुभयो ।

उहाँसँगै कामपाका केही पूर्व वडाध्यक्षसहित करिब २५ जना पूर्व एमाले कार्यकर्ता पनि सो पार्टी प्रवेश गर्नुभयो।

यसअघि स्थापित नेपाल प्रजापरिषद्का कार्यवाहक सभापति हुनुहुन्थ्यो । उहाँ प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।नेकपा (एमाले)विभाजनपछि उहाँ नेकपा (माले)मा संलग्न हुनुहुन्थ्यो ।

Popularity: 8%

1 comment March 17th, 2008

आजदेखि एसएलसी सुरु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
यस वर्षको नियमित तथा एक्जाम्टेड समूहको एसएलसी परीक्षा चैत४ गतेदेखि बिहान ८ देखि ११ बजेसम्म एक हजार २९९ केन्द्रमा सञ्चालन भयो ।

परीक्षामा तीन लाख ७९ हजार ३७७ जना परीक्षार्थी सम्मिलित हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।

कूल परीक्षार्थीमध्ये नियमितका लागि आवेदन फारम भर्ने तीन लाख १९ हजार ५३२ जनामा छात्र एक लाख ७१ हजार ९४४ र छात्रा एक लाख ४७हजार ५८८ छन् ।

त्यस्तै, एक्जाम्टेड परीक्षाका लागि आवेदन फाराम भर्ने ५९ हजार ८४५ जनामध्ये छात्र २५ हजार ५७ र छात्रा ३४ हजार ७८८ रहेका छन् ।

तीमध्ये खुला विद्यालयबाट छात्र ३८ र छात्रा ७४ जना ,प्राइभेटबाट नियमिततर्फछात्र तीन हजार २२२ जना र छात्रा दुइ हजार ६५१ जना तथा एक्जाम्टेडतर्फ६९६ जना छात्र र ८१४ जना छात्रा छन् ।

विसं २०६३ को परीक्षार्थी सङ्ख्या तीन लाख ४७ हजार १८५ जना रहेकामा यस वर्ष गत वर्षभन्दा ३२ हजार १९२ जना अर्थात् ९.२७ प्रतिशतले वृद्धि भएको छ ।

परीक्षा सञ्चालनका लागि करिब ३६ हजार पाँचसय शिक्षक-कर्मचारी संलग्न रहने छन् ।

Popularity: 8%

Add comment March 17th, 2008

अब ग्यालेक्सी टिभी बन्द हुने

प्रकाश पन्थी, काठमाडौं / एचकेनेपाल डट कम-
नेपालको सरकारी सम्पत्तिलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने राष्ट्रघाती निर्णयहरुले गर्दा नै देशको आर्थिक अवस्था सधै जर्जर र जनता गरिव हुन पुगेको स्पष्टै छ।

शाही शासन कालमा तत्कालिन दरबारका सचिव सागर तिमिल्सिना, तत्कालीन संचार राज्यमन्त्री श्रीश शमशेर राणा र तत्कालिन नेपाल टेलिभिजनका प्रमुख समेतको मिलेमतोमा देशको राष्ट्रिय सम्पत्ति नेपाल टेलिभिजनलाई विदेशमा प्रसारण विक्री वितरण गर्न टेण्डर विना नै दिइएको अनुमतिको अहिले पर्दाफास भएको छ।

सरकारी सम्पत्ति बेचेर अरबपति हुन पल्केका राष्ट्रघातीहरुको उदाङ्गो अनुहार देख्न पाइएको छ। सार्वजनिक लेखा समिति, व्यवस्थापिका संसदलाई सूचना तथा संचार मन्त्रालयले ७/०६४/६५ चं.न.७०२ प्रेषित पत्र बमोजिम नेपाल टेलिभिजन संचालक समितिको २०६४/१०/२० को बैठकबाट ग्यालेक्सी टि.भी.संग भएको सम्झौता भङ्ग गरिएको प्रष्ट लेखिएको छ।

उक्त निर्णयबाट यो स्पष्ट झल्कन्छ कि २०६२ फागुन २९ का दिन नेपाल टेलिभिजन बोर्ड बैठकले गरेको निर्णय राष्ट्रघाती थियो। राष्ट्रप्रेमी नेपाली तथा राष्ट्रभक्तहरुको जिज्ञासाले गर्दा नेपाल सरकार पनि वाध्य भएर नेपाल टेलिभिजन तथा लण्डनको ग्यालेक्सी टिभीसंग भएको सम्झौता भंग गर्नु परेको हो। नेपाली टिभी तथा ग्यालेक्सी टिभीसंग सम्झौता भए बमोजिम प्रतिदिन नेपाली समय अनुसार, राति ११.३० देखि विहान ६ बजेसम्म प्रसारण समय हुने जसमध्ये राति १२.३० देखि १.०० बजेसम्म छुट्टै कार्यक्रम प्रसारण समय हुने र अन्य समयमा नेपाल टेलिभिजनबाट प्रसारित कार्यक्रमहरु हुबहु रुपमा प्रसारण हुने व्यवस्था भएकोमा ग्यालेक्सी टिभीले कुनै कार्यक्रम निर्माण तथा प्रसारण गर्न सकेको थिएन। मात्र ग्राहक शुल्क उठाएर रकम कुम्ल्याउन पल्केकाहरुले टिभी बेचेर पैसा मात्र कुम्ल्याएका थिए। एक ग्राहक वापत मासिक १० पाउण्ड अर्थात नेपाली रु १३०० का दरले रकम उठाएको ग्यालेक्सीले १५०० ग्राहक बेलायतमा मात्र बनाएको दावी गर्दै हिड्थ्यो। सोहि बमोजिम पनि दर्ुइ वर्षको अवधिमा बेलायतबाट मात्र ३६०,०००।०० पाउण्ड अर्थात नेपाली रु ४ करोड ६८ लाख आर्जन गरेको देखिन्छ। सम्झौता बमोजिम पहिलो वर्ष लेखापरिक्षण प्रतिवेदनको आधारमा नाफाको १० प्रतिशत र दोश्रो वर्षदेखि व्यापारिक कार्यक्रम प्रायोजन एवं सवक्रिप्सनको आधारमा ग्यालेक्सी टि.भी.ले शुल्क बुझाउने व्यवस्था भएकोमा हालसम्म सो टेलिभिजनबाट कुनै रकम प्राप्त नभएको पत्रमा जानकारी गराइएको छ।

लण्डनमा बसेर नेपाली टिभी बेचेर ठूलो रकम कुम्ल्याउन सफल भएका विकास देवकोटा तथा ग्यालेक्सी टिभीका स्वघोषित अध्यक्ष सुवाष गुरुङलाई अब के गरौ कसो गर्ने रनभुल्ल भएको छ। विना लगानी सरकारी सम्पत्तिमा मोज गर्न पल्केकाहरुलाई राष्ट्रले कस्तो निर्णय गर्छ जनताहरु अधैर्यसाथ पर्खिरहेका छन्। हुन त यो मुद्दा अख्तियारमा पनि परिसकेको छ।

नेपाली टेलिभिजनको घैटोमा घाम लागेर नेपाल बाहिर विदेशमा प्रसारण अनुमति दिनका लागि टेण्डर आहृवान गरिएकोमा सरकारी धन कुम्ल्याउन पल्केका विकास देवकोटा हतार हतार काठमाण्डौ आएर संचार माफिया मार्फत टेण्डर हत्याउनका लागि कमिशनको मोटो रकम तेर्साउदै हिडेका छन्। अब हेर्न बाँकी यति मात्र छ कि लोकतान्त्रिक भनेर आफूलाई भन्ने सरकारले सरकारी सम्पत्ति कुम्ल्याउन सिपालुहरुलाई अख्तियार मार्फत कारवाही तथा असुली गर्छ वा पुन सिन्दुरको टिका लगाई देवकोटामार्काहरुलाई टेण्डर स्वीकृत गराउंछ हेर्न बाँकी छ।

काठमाडौंबाट प्रकाश पन्थी / एचकेनेपाल डट कम।

Popularity: 8%

5 comments March 17th, 2008

कोरियाको आनसानमा नि:शुल्क स्वास्थ्य शिविर

उमेश वस्नेत, द. कोरिया / एचकेनेपाल डट कम -
दक्षिण कोरियामा आपतमा परेका नेपालीहरुको उद्धारका लागि गठित आपतकालिन नेपाली सेवा समितिले यहि आउदो मार्च २३ तारिक आइतावारका दिन दक्षिण कोरियाको आनसानमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ।

उक्त शिविर आनसानको इमार्टमा दिउसो १ बजे आयोजना गरिने तथा शिविरमा दाँत, नाक, घाटी तथा रक्त परिक्षण गरिने वताइएको छ । शिविरमा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि समितिका सचिव ठाकुरपसाद दवाडीले अनुरोध गर्नु भएको छ ।
सम्पर्क व्यक्तिहरु र फोन नं.
रघु त्रिपाठी ०१० २६०८ ३६८२
गौरव थापा ०१० २९४४ २२१७
ठाकुरप्रसाद दवाडी ०१० ५११७ ९७७१
केबी सुनुवार ०१० २०६० ५८७९
जीवन थापा ०१० २३५९ १९२३

Popularity: 8%

Add comment March 17th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....