Archive for March 19th, 2008

पुत्र शोकमा बाबुको पनि निधन

के.पी किरण शर्मा, युएइ / एचकेनेपाल डट कम -
छोराको अन्तिम संस्कार गर्न लासको पर्खाइमा बसेका बाबुको धोको शायद इहलोकमै मात्र पूरा हुन्छ होला। गत मार्च ६ मा युएइको गालाधारी अटो माज्दाको सो रुममा सुरक्षाकर्मीको रुपमा कार्यरत पदमबहादुर गुरुङको हत्या भएको खबरदेखि नै सिकीस्त हुन पुगेका उनका रोगी बाबुको गत मंगलवार निधन भएको कुरा उनका भान्जा नाता पर्ने यूएइमै कार्यरत होम गुरुङले जानकारी दिएका छन्।

स्मरण रहोस् ५ वर्षअघिदेखि उक्त कम्पनीमा कार्यरत गोरखा जिल्ला जौबारी गा.बि.स १ का पदमलाई स्कु्र ड्राइभरले मुटुमा घोचेर तथा छुरीले घाँटी रेटेर निजले काम गरिरहेकै ठाउँमा हत्या गरिएको थियो। बिदा मानेर घरबाट फर्केको १ महिना पनि नबित्तै हत्या गरिएका गुरुङ्गको हत्याबारे अनुसन्धान भै रहेको र सो को निक्र्यौल नहुन्जेल लास घर नपठाइने कुरा जानकारीमा आएको छ।

नियतिले टुहुरो बनाएका उनका १३ वर्षीया छोरी र १० वर्षीय छोरा तथा विरहमा रुमल्लिएकी उनकी अर्धाङ्गिनीले आफन्तको अन्तिम काजक्रिया गर्न कति प्रतीक्षा गर्नु पर्ने हो अझै लख काट्न सकिएको छैन।

Popularity: 8%

1 comment March 19th, 2008

सडक दुर्घटनामा कांग्रेसका नौ समर्थकको मृत्यु, २७ घाइते

एचकेनेपाल डट कम, काठमाडौं सम्वादाता-
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा संबोधन गरिएको चुनावीसभाबाट फर्कने क्रममा भएको सडक दुर्घटनामा परी नौ जनाको मृत्यु हुनुको साथै २७ जना घाइते भएका छन्।

नेपाली कांग्रेसका समर्थकहरु बोकेको से१ख ६०४ माइक्रोबस डडेल्धुराको सल्लाघारीमा गएराति दुर्घटनामा परेको समाचार स्रोतले जनाएको छ। पाँच जनाको घटनास्थलमा र ४ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ। घाइतेको स्थानीय टिम अस्पतालमा उपचार भइरहेको छ। नेता देउवा र श्रम तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक राति नै टिम अस्पताल पुग्नु भै घाइतेहरूको स्थितिको अवलोकन गर्नुभएको थियो।

Popularity: 8%

1 comment March 19th, 2008

उम्मेदवारको गोली हानी हत्या

एचकेनेपाल डट कम, काठमाडौं सम्वादाता-
संबिधानसभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका कमलप्रसाद अधिकारीको गएराति अज्ञात समूहले गोली हत्या गरेको छ।

बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका अधिकारीमाथि राति करीब ११ बजे आएको ६ जनाको समूहले ४ राउण्ड गोली प्रहार गरेका थिए। गोली लागि घाइते भएका अधिकारीको भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ। जनतान्त्रिक तराई मुक्ति मोर्चा - ज्वालासिंहले घटनाको जिम्मेवारी लिएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुइजनालाई पक्राउ गरेको छ।

राष्ट्रिय जनमोर्चा - बाँकेका उपसभापति समेत रहेका अधिकारीको श्रीमती, एक छोरी र चार छोराहरु छन्।

Popularity: 8%

Add comment March 19th, 2008

सभामुखलाई लिम्बुवानको ज्ञापन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल कम्युनिष्ट पार्टी एमालेको चुनावी आमसभालाई सम्बोधन गर्न फिदिम आउनुभएका सभामुख सुवास नेम्बाङलाई लिम्बुवान राज्य परिषद् सन्जुहाङ समूहले ज्ञापनपत्र बुझाएको छ।

सङ्घीय लिम्बुवान राज्य परिषद्ले संविधानसभा निर्वाचन पूर्व सङ्घीय लिम्बुवान स्वायत्त राज्यको घोषणा र आत्मनिर्णयको अधिकार सहितका आफ्ना माग पूरा गर्न मागसहितको ज्ञापन बुझाइएको परिषद्का सहसचिव कमल नेम्बाङले बताउनुभयो।

राज्य परिषद्का कार्यकर्ताले सभामुखलगायतका वक्ताले सम्बोधन गर्दै गरेको कार्यक्रम स्थल अगाडि चर्को नारालगाउँदै कालो झण्डा समेत देखाए।

Popularity: 8%

2 comments March 19th, 2008

निलम्बित गभर्नरद्वारा भ्रष्टाचार भएको ठहर

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सर्वोच्च अदालतले भ्रष्टाचारको अभियोगमा दायर नेपाल राष्ट्र बैङ्कका निलम्बित गभर्नर विजयनाथ भट्टराई र कार्यकारी निर्देशक सुरेन्द्रमान प्रधानलाई विगो बमोजिम जरिवाना हुने गरी फैसला सुनाएको छ।

न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासमा गत आइतबारदेखि प्रारम्भ भएको सो मुद्दामा सरकार तथा विपक्षीका तर्फाट बहस सकिएपछि विपक्षीद्वयले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(३) बमोजिम कसुर गरेको हुँदा विगो ५१ हजार ४३२ युएस डलर र जरिवाना अशुल गर्ने फैसला गरेको हो।

करार बमोजिम श्रीलङ्कास्थित केपिएमजी कम्पनीले काम नगरेमा तत्काल कारबाही गर्नुपर्नेमा नगर्दा सुधार कार्यक्रमबाट राष्ट्र बैङ्क बन्चित भएको तर त्यसको लेखाजोखा गर्ने आधार सम्झौतामा उल्लेख नगरिएको, केपिएमजीको पत्रअनुसारसमेत आधिकारिक प्रतिनिधिले सम्झौतामा दस्तखत गरेकोमा शङ्का देखिएको र त्यसतर्फ ठोस प्रमाण प्रस्तुत गर्न नसकेकोलगायतका कुरा फैसलामा उल्लेख छ।

यसअघि अदालतमा दायर सो मुद्दामा विशेष अदालतका अध्यक्ष तथा सदस्यद्वय गरी तीनैजनाको राय बाझिएका कारण निर्णयका लगि सर्वोच्च अदालतमा पेस गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार १५ गते दायर गरेको सो मुद्दामा भट्टराई र प्रधानको कार्यले राष्ट्रलाई रू.दुई करोड ४५ लाख वित्तीय नोक्सान भएको दावी गरेको थियो।

Popularity: 8%

Add comment March 19th, 2008

भ्रष्टलाई हराउन प्रचण्डको आह्वान

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले सम्पूर्ण राष्ट्रवादी तथा विकासप्रेमी जनताले संविधानसभा निर्वाचनमार्फत् नेकपा (माओवादी) का उम्मेदवारलाई जिताउन आग्रह गर्दै भ्रष्टहरुलाई मत नदिएर हराउन अपिल गर्नुभएको छ।

अध्यक्ष प्रचण्डले नयाँ विचार र नयाँ नेतृत्व नभइकन नयाँ नेपाल बन्न सक्दैन, विगतमा राज्य व्यवस्था, सत्ता र नेतृत्वको इच्छाशक्ति नभएकाले नै नेपाल पछि परेको हो भन्दै जनयुद्धले राजनीतिक चमत्कार गरेजस्तै अबको आउने १० वर्षा आर्थिक चमत्कार गरी नेपाल राष्ट्रलाई समुन्नत र सक्षम बनाउने योजना माओवादी पार्टीको घोषणापत्रमा रहेको प्रष्ट पार्नुभयो।

उहाँले केही ठूला मिडिया माओवादीको विपक्षमा उत्रेर बदनाम गर्न लागिपरेको आरोप लगाउँदै स्थानीय मिडियाहरुलाई निष्पक्ष भएर जनताका कुरा लेख्न आग्रह गर्नुभयो।

अध्यक्ष प्रचण्डले संविधानसभाको निर्वाचन संसदीय निर्वाचनजस्तो होइन तर हाम्रा केही दल नेपाली काङ्ग्रेस र एमाले नै त्यस्तो सम्झेकामा दुःख लागेको बताउँदै सहमतिका आधारमा अगाडि जानुपर्छ भन्ने मान्यता हाम्रो पार्टीको हो भन्नुभयो।

नेकपा (माओवादी) दाङ जिल्लाको आयोजनामा भएको आमसभालाई माओवादीका वरिष्ठ नेता मोहन वैद्य ‘किरण’, माओवादीका प्रवक्ता एवम् सरकारका सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरालगायतले संविधानसभा निर्वाचनमा आफ्नो पार्टीलाई मत दिएर जिताउन आग्रह गर्नुभयो।

Popularity: 8%

Add comment March 19th, 2008

प्रचण्डको क्षेत्रमा तालमेल असंभव

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य इश्वर पोखरेलले संविधानसभाको निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं. १० मा नेकपा (माओवादी)सँग चुनावी तालमेल असम्भव भएको बताउनुभएको छ।

एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं. १० क्षेत्रीय समितिद्वारा आयोजित क्षेत्रीय सभालाई सम्बोधन गर्दै उहाँले जननेता मदन भण्डारीले विजय हासिल गरेको यो क्षेत्र नेकपा (एमाले)का लागि गौरवशाली इतिहास जोडिएका कारण पनि यस क्षेत्रमा नेकपा (एमाले) कोही कसैसँग चुनावी तालमेल नगरी चुनावी प्रतिस्पर्धामा जान तयार रहेको बताउनुभयो।

कार्यक्रममा नेकपा -एमाले)का युवा नेता शङ्कर पोखरेलले राजतन्त्रको समाप्तिका लागि कीर्तिपुरबासी जनताले युगौंयुगदेखि गरेको सङ्घर्षले आसन्न संविधानसभाको निर्वाचनमार्फ मूर्तता पाउन लागेको बताउनुभयो।

नेपाली जनताले जनआन्दोलनमार्फ व्यक्त गरेको भावनाले साकार रुप लिन थालेको बताउँदै एमाले नेतृ विद्या भण्डारीले अब नेपाली जनता कोही कसैबाट शासित बन्नु नपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रमका अर्का वक्ता अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ठाकुर गैरेले आतङ्कले कसैको पनि मन नजित्ने बताउँदै शान्तिपूर्ण ढङ्गबाट प्रत्येक दलहरू जनतामाझ जानुपर्नेमा जोड दिनुभएको थियो।

Popularity: 8%

Add comment March 19th, 2008

चट्याङबाट दुई जना घाइते

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हिजो साँझ पाँच बजे परेको चटयाङबाट धादिङ सांकोस गाविस वडा नं.३ निवासी ४५ वर्षीया अम्बिका लम्साल र १५ वर्षीया कमला ढकाल घाइते हुन गएका छन्।

दुवैजना घरमै बसेको बेला चटयाङ परेको थियो। दुवैजनाको घर जोडिएकामा कमलाको पिता कृष्ण ढकालको घरमा प्वाल परेको र अम्बिका लम्सालको घरमा चिरा परेको प्रत्यक्षदर्शीहरुले बताए।

उपचारका लागि धादिङ अस्पतालमा ल्याइएका दुवै घाइतेमध्ये कमला बेहोस भइरहेको र अम्बिका लम्सालको अवस्था सामान्य हुँदै गएकाले दुवै जनाको उपचार भइरहेको अस्पतालका स्वास्थ्यकर्मी कृष्ण उप्रेतीले बताउनुभयो।

Popularity: 8%

Add comment March 19th, 2008

कास्की जिल्ला फुटबल संघको प्रेस विज्ञप्ति

कास्की जिल्ला फुटबल संघको प्रेस विज्ञप्ति
प्राकृतिक सौन्दर्यताले भरीपूर्ण पोखरा, पर्यटकीय दृष्टिमा जति महत्वपूर्ण छ, त्यति नै खेलकुद क्षेत्रमा यसले छुट्टै पहिचान बोकेकोछ।

राष्ट्र विकासको लागि स्वस्थ्य अनुशासित स्वावलम्वी कर्मठ नागरिकको आवश्यकता पर्दछ। असल नागरिक बन्नका लागि खेलकुद अपरिहार्य रहन्छ। आफ्नो जिवनको महत्वपूर्ण समय खेलकुदमा लगानी गरेर सुन्दर समाज निर्माणको उच्च भावनाले अभिप्रेरित भै हामी यँहासम्म आइ पुगेकाछौ। यस स्थानसम्म आइपुग्दा पोखराको खेलको विकास र गुणस्तर वृद्धिका लागि फुटबल खेलप्रेमी पोखरेलीहरुको अतुलनिय योगदानप्रति यस कास्की जिल्ला फुटबल संघ सदैव आभारी छौ।

मुलुकको परिवर्तनसंगै फुटबल खेल विकास र विस्तारको क्रममा यस कास्की जिल्ला फुटबल संघले छरिएर रहेका प्रतिभावान खेलाडीहरुको प्रतिभा प्रस्फुटनको अवसर प्रदान गरी हौसला बढाउदै विभिन्न प्रतियोगिताहरु संचालन गरी यस कास्की जिल्ला भित्रका कुना काप्चामा निस्कृयरुपमा रहेका क्लवहरुलाई क्रियाशिलता गराई फुटबल खेलप्रति अभिप्ररित गराई खेल प्रतिको चाहना वृद्धि गरेकोछ।

यसै क्रममा फुटबल खेलको सर्वोच्चो निकाय FIFA को निर्देशन अनुसार AFC को कार्यतालिकामा पोखराको इतिहासमा पहिलो पटक हुन गैरहेको अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल पाकिस्तानको राष्ट्रिय टिम र नेपालको राष्ट्रिय टिमबीच Warm up match (तयारी खेल) आगामी २०६४ चैत्र १२ गतेदेखि १४ गतेसम्म अखिल नेपाल फुटबल संघको आयोजना तथा कास्की जिल्ला फुटबल संघको संयोजकत्वमा पोखरा रंगाशालामा संचालन हुन लागि रहेको ब्यहोरा जानकारी गराउदै उक्त प्रतियोगिता पोखरेलीहरुको प्रतिष्ठाको विषय रहेको हुदा प्रतियोगिता सम्पन्न गराउनु हामी सबैको महत्वपूर्ण भमिका रहन्छ । सो प्रतियोगिता पोखरामा संचालन गराउदा पोखराको पर्यटन विकासमा टेवा पुग्ने र फुटबल प्रेमी दर्शक एवं खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरको खेल अवलोकन गर्ने उद्देश्यका साथ यस खेलको आयोजना गर्न लागेको ब्यहोरा अवगत गराउदछौ। यस प्रतियोगिता सम्पन्न गर्न कास्की जिल्ला फुटबल संघको कार्यसमितिको बैठकबाट अ.ने.फु.संघका केन्द्रिय सदस्य गणेशबदादुर भट्टराई संयोजक तथा कास्की जिल्ला फुटबल संघका सदस्य दिनेश श्रेष्ठ सह-संयोजक रहने गरी ५१ सदस्य प्रतियोगिता संचालन समिति गठन गरेको छ।

उल्लेखित प्रतियोगितालाई मर्यादित तथा अनुशासित रुपमा संचालन गर्न यस क्षेत्रका सम्पूर्ण फुटबलप्रेमी पत्रकार तथा सर्वसाधारणहरुमा सहयोको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतियोगिता सम्पन्न गराउन तपशिलका समिति तय गरिएको छ।
१ आर्थिक उपसमिति संयोजक श्री दिनेश श्रेष्ठ
२ प्रचार प्रसार उपसमिति संयोजक श्री सुदर्शन रन्जित
३ मैदान ब्यवस्थापन उपसमिति संयोजक श्री खेम गुरुङ्ग
४ स्वयं सेवक परिचालन उपसमिति संयोजक श्री खम गुरुङ्ग
५ मञ्च ब्यवस्थापन उपसमिति संयोजक श्री शिवशंखर रन्जित
६ प्राविधिक उपसमिति संयोजक श्री कृष्ण थापा
७ स्वास्थ्य उपसमिति संयोजक श्री रामकृष्ण बास्तोला
८ होटल ब्यवस्थापन उपसमिति संयोजक श्री विक्रम थकाली
९ सुरक्षा उपसमिति संयोजक श्री खेम बहादुर गुरुङ्ग

बसन्त थकाली
सचिब

लिगको आय व्यय सार्वजनिक, २५ हजार बचत
कास्की जिल्ला फुटबल संघले गएको फागुन २ गतेदेखि १५ गतेसम्म सञ्चालित अन्तरक्लबस्तरीय स्व. बलराम स्मृति लिगकम नकाउट फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ। संघले झण्डै दुइसाता लामो प्रतियोगिताबाट २५ हजार १ सय ४० रुपैयाँ बचत गरेको छ।

संघका कोषाध्यक्ष गोपी भट्टराईले आयव्यय सार्वजनिक गर्दै प्रतियोगितामा आय तर्फ २ लाख ४५ हजार रुपियाँ रहेको बताउनुभयो। प्रतियोगिता सञ्चालनार्थ खर्च भने २ लाख २० हजार खर्च भएको जनाँउदै २५ हजार बचत भएको छ । कोषाध्यक्ष भट्टर्राईका अनुसार जिल्ला खेलकुद विकास समिति कास्कीबाट १० हजार, बीएण्डबी स्पोर्टसले १० हजार, अन्नपुर्ण फाइनान्सबाट १० हजार, हिमश्री फुड्सले पनि १० हजार र नेपाल मेकानिकल एण्ड इन्जिनियरिङबाट १० हजार गरी विशेष सहयोग स्वरुप ५० हजार सहयोग भएको थियो।

यसैगरी व्यक्तिगत तर्फ डा. विनोद तुलाचन, डा बसन्त ताम्राकार लगायतबाट २० हजार, व्यानरबाट ७५ हजार, टिम दर्ताबाट ४८ हजार (१६ टिमको ३ हजारको दरले), अखिल नेपाल फुटबल संघ -एन्फा)बाट ५० हजार रुपियाँ आर्थिक सहयोग भएको उहाँले जानकारी दिनुभयो। कोषाध्यक्ष भट्टराईले मैदान मर्मत, रेफ्री भत्ता लगायत विविध गतिविधिको लागि २ लाख २० हजार रुपियाँ खर्च भएको बताउनुभयो।

Popularity: 8%

Add comment March 19th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....