Archive for March 23rd, 2008

कतारका आदिवासी जनजातिहरुलाई प्रशिक्षण

स्वयम्वर सिंह लामा, बिलबहादुर गुरुङ, दोहा, कतार / एचकेनेपाल डट कम -
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारद्वारा कतारमा कार्यरत जनजातिहरुलाई प्रशिक्षण दिएको छ। दोहा स्थित टप फर्म रेष्टुरेण्टको सभा कक्षमा मार्च २१ त्ारिख शुक्रवारका दिन अध्यक्ष अमृत गुरुङको सभापतित्वमा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा महासंघका मातृ संस्थाका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका अथितिहरुमा नेपाल इन्जीनियर एशोसिएशन कतारका अध्यक्ष नारायणप्रसाद चौधरी, नेपाल कतार एकता समाजका उपाध्यक्ष मदन श्रीस, आप्रवासी तामाङ्ग समाज दोहा, कतारका अध्यक्ष सुकबहादुर तामाङ, तमुबौद्ध सेवा समिति शाखा, कतारका उपाध्यक्ष लक्ष्मीकुमार गुरुङ र महासचिव कृष्ण गुरुङ, किरात राई योयोख्खा शाखा, कतारका अध्यक्ष चन्द्र शेर राई, किरात याक्थुङ एकता समाजका महासचिव ज्ञानेन्द्र पन्दक, प्रवासी मगर संघ, कतारका अध्यक्ष छत्र घले मगर, प्रवासी शेर्पा संघका अध्यक्ष तेन्जीङ शेर्पा, थारु कल्याणकारी सभा कतारका सभापति विद्यानन्द चौधरी र नेपाल दराई संघका अध्यक्ष ज्ञानेन्द्र दराई लगायतका हुनुहुन्यो।

महासंघले नेपालमा हुन गईरहेको आउदो संविधानसभाको चुनाव र त्यस पछिका अवस्थालाई लक्षित गर्दै प्रवासमा रहेका जनजातिहरुको देशमा हुन लागेको आमुल परिवर्तनमा कस्तो भूमिका हुनु पर्छ भन्ने जानकारी दिने उद्धेश्यले आयोजना गरिएको हो भन्ने कुरा अध्यक्ष गुरुङले हामीसंगको छोटो कुराकानीको क्रममा बताउनु भयो।

महासंघका महासचिव कृष्ण चन्द्र ‘सेलिङ’ द्वारा सञ्चालित उक्त कार्यक्रममा अध्यक्ष अमृत गुरुङ र महासंघ तथा तमु बौद्ध सेवा समिति कतार शाखाका सल्लाहकार बिलबहादुर गुरुङले विभिन्न समसामायीक विषयहरुमा प्रशिक्षण दिनु भएको थियो। अध्यक्ष अमृत गुरुङले नेपालको इतिहासमा नै पहिलो पटक हुन गैरहेको संविधानसभा चुनावको प्रकृयागत जानकारी, संविधानसभामा आदिवासी जनजातिहरुको प्रतिनिधित्वको सुनिश्चितता, महासंघले हालसम्म प्राप्त गरेका उपलब्धिहरु, प्रवासी आदिवासी जनजातिहरुले संविधानसभा चुनावमा खेल्न सक्ने भूमिकाका वारेमा प्रशिक्षण दिनु भएको थियो। त्यसै गरि प्रमुख प्रशिक्षक बिलबहादुर गुरुङले नेपाल राज्यको पुनःसंरचना विषयमा प्रशिक्षण दिनु भएको थियो। प्रशिक्षणको क्रममा राज्यको पुनःसंरचना गर्नु परेका विभिन्न कारणहरुलाई बिष्लेषणात्मक ढंगले प्रस्तुत गर्नु भएको थियो। मुलुकलाई संघीय राज्य प्रणालीमा लानु पर्ने कुरामा जोड दिनु हुदै आसन्न संविधानसभामा प्रवासीहरुको भूमिकाका बारेमा प्रष्ट पार्नु भएको थियो। प्रशिक्षक गुरुङले आउदो संविधानसभामा प्रवासी जनजातिहरुले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा अभिमत राख्दै स्वदेशमा रहेका जनजातिहरुको पक्षमा उर्जा थप्ने काम गर्नु पर्नेमा जोड दिनु भयो भने सहभागीहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ पनि दिनु भएको थियो।

प्रशिक्षणको अन्तमा महासंघका सल्लाहकार तथा प्रवासी मगर संघ, कतारका अध्यक्ष छत्र घले मगरले कार्यक्रम वारे उठाउनु भएको टिप्पणी प्रस्तुत गर्नु भएको थियो। टिप्पणीको क्रममा घले मगरले नेपालको आउदो संविधानसभाको चुनावमा जनजातिहरुको हक अधिकार सुनिश्चित गर्न लागि पर्ने व्यक्ति तथा पार्टीका उम्मेदवारहरुलाई भोट दिनका लागि नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तलाई फोन मार्फत तथा अन्य माध्यमबाट खवर गर्ने र बढिभन्दा बढि जनजाति तथा जनजातिका शुभचिन्तकहरुलाई संविधानसभामा पुर्‍याउन मदत गर्न सबै आदिवासी जनजातिहरुलाई अनुरोध गर्नु भएको थियो।

कार्यक्रमको अन्तमा सभाका सभापति अमृत गुरुङले नयाँ नेपालको संरचनासंगै आफ्नो हक, हित, आत्मनिरभरताको रक्षा तथा अधिकारको प्राप्तिका लागि कुनै पनि राजनैतिक दलमा आबद्ध भएमा आफ्नो समस्यालाई सम्बन्धित निकायसम्म प्रत्यक्ष रुपमा राख्न सजिलो हुने बताएका थिए भने आउदो संविधान सभाको चुनावको प्रणाली सम्बन्धी बिष्तृत जाकारी दिंदै सहभागीहरुको जिज्ञासाहरुको जवाफ दिनुका साथ कार्यक्रमको बिसर्जन गर्नु भएको थियो ।

कतारबाटः स्वयम्वर सिंह लामा र बिलबहादुर गुरुङ / एचकेनेपाल डट कम।

Popularity: 8%

Add comment March 23rd, 2008

दश वर्षसम्म सात दलको एकता हुनुपर्छः प्रम

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभाको निर्वाचनपछि पनि सातदलबीचको एकता कायमै रहनुपर्छ र संयुक्त सरकार बनाइनुपर्ने बताउनु भएको छ।

उहाँले राष्ट्रको विकासका निम्ति आगामी दश वर्षसम्म सात दलबीचको एकता भइरहनुपर्ने र संयुक्त सरकार कायमै रहनुपर्ने बताउनुभयो।

प्रजातन्त्रमा कसैको हारजित हुँदैन, यो बन्दुक बोकेको युद्ध होइन भन्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो -शक्तिको प्रदर्शन एकताबद्ध रूपमा गरिनुपर्छ।

संविधानसभाको निर्वाचनलाई अन्तरराष्ट्रिय क्षेत्रबाटसमेत महत्ताका साथ हेरिएको छ, त्यसैले यो निर्वाचन गराउन नसके राष्ट्रको प्रतिष्ठा गुम्न सक्नेछ, प्रधानमन्त्री कोइरालाले स्पष्ट पार्नुभयो।

द्वन्द्वको समाधान कसरी हुनसक्छ भनेर विदेशीहरू नेपालमा केही सिक्न आएका छन्, त्यसैले हामीले संविधानसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर देखाउन सक्यौँ भने विश्वले केही सिक्ने अवसर प्राप्त गर्नेछ भन्दै उहाँले संविधानसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनैपर्छ र विश्व समुदायले हामीलाई गरेको र्समर्थन र सहयोगलाई र्सार्थक बनाइनुपर्छ भन्नुभयो।

राष्ट्रको निर्माणका लागि कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र पत्रकारजगत् चार स्तम्भ भएका र एकले अर्कोलाई नियन्त्रण गरेर राख्ने बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो - यी चार स्तम्भमध्ये कुनै एक स्तम्भ कमजोर भए प्रजातन्त्र पनि कमजोर हुनेछ।

प्रधानमन्त्री कोइरालाले सञ्चारजगत् एवम् आम नेपालीलाई संविधानसभाको निर्वाचनलाई सफल बनाउन आ-आफ्नो स्थानबाट सहयोग पुर्‍याउन आग्रह पनि गर्नुभयो।

Popularity: 8%

Add comment March 23rd, 2008

माओवादी कार्यकर्ताको हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कपिलवस्तु जिल्लाको दक्षिणी पूर्वी हथिहबा गाबिसमा एक माओवादीका कार्यकर्ताको शनिबार दिउँसो अज्ञात समूहले हत्या गरेको छ।

प्रहरीका अनुसार दक्षिणी पूर्वी सीमा गाबिस हथिहवा शिवलवा चोकमा दिउसो करिब पा“च बजेको समयमा अज्ञात समूहले शिव पुजन कुर्मी माथि गोली हानी हत्या गरेको हो। कुर्मीको छातीमा गोली लागेको छ।

प्रहरीका अनुसार साझ करिब पाँच बजेको समयमा उनी माथि अज्ञात ब्याक्तीले गोली हानेको थियो। कुर्मीलाई सदरमुकाम तौलिहवा ल्याईपुर्‍याए पछि अस्पतालले मृत घोषित गरेको थियो। कुर्मीको हत्यामा संलग्न ब्यक्तिको प्रहरीले खोजी भइरहेको जनाएको छ। माओबादीले कुर्मी आफ्ना कार्यकर्ता रहेको जनाएको छ।

निर्वाचन प्रचार क्रममा नेपाली काग्रेस क्षेत्र नं. दुइका उम्मेदवारलाई सघाउन पुगेका नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं. एकका कांग्रेस उमेद्धवार दीप कुमार उपाध्यायको निजी सवारी साधन सहित तीन वटा गाडीलाई कुर्मीको हत्या पछि माओवादीका कार्यकर्ताले तोडफोड गरी क्षति पुर्याएका छन्। उक्त घटना भएको ठाउँ निर्वाचन क्षेत्र नं. दुइ हो।

मृतक कुर्मीको शव पोष्ट मोर्टमका लागि साँझ सदरमुकाम तौलिहवा अस्पताल ल्याईए पछि माओबादीका कार्यकर्ताले जुलुस गरी नेपाली काग्रेस बिरुद्ध नारा लगाएका थिए। उक्त घटनामा काँग्रेसको हात रहेको दाबी गर्दै माओबादी कार्यकर्ताले काँग्रेस बिरुद्ध नारा जुलुस गरेका हुन्। माओबादी कार्यकर्ताले निर्वाचन क्षेत्र नं. तीनको प्रचार प्रसार काँग्रेस कार्यालय तौलिहवामा तोडफोड समेत गरेका छन्।

हत्याका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन्।

Popularity: 8%

1 comment March 23rd, 2008

७२ वर्षका बूढा दुई पुस्तक लेख्‍दै

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मकवानपुर जिल्लाको कुलेखानी गाविसका एक बृद्ध अहिले गौतम बुद्ध र मगर जातिबारे पुस्तक लेख्न ब्यस्त छन। २०२० सालमा सैनिक सेवा सुरु गरेका कुलेखानी गाविसका ७२ वर्षका बृद्ध दुर्गबहादुर थापा शिक्षण पेशा गदै अहिले पुस्तक लेख्न थालेका हुन्।

सैनिक सेवा सुरु गरेको दश वर्षपछि गाउँमा आएर शिक्षण पेशा गरेका थापाले २०२४ सालमा प्रवीणता प्रमाणपत्र हासिल गरी शिक्षकको ठूलो महत्व बुझेर गाउँमै शिक्षा दिन शुरु गरेका थिए। गाउँमा बालतीर्थ प्राविमा उनले ४० बर्षसम्म प्रधानाध्यापक भई सेवा गरे।

अहिलेसम्म बुद्धको पुस्ताको विषयमा पूर्ण रुपमा दस्तावेज नभेटिएको सबै समेटेर तयारीको अन्तिम चरणमा पुगेको उनी बताउँछन्।

Popularity: 8%

Add comment March 23rd, 2008

काङ्ग्रेसद्वारा एमाले कुटिए

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले शुक्रबार राति साढे नौ बजे तनहुँको घाँसीकुवा-६ सेहरा गाविस एमालेका दुई कार्यकर्तालाई कुटपिट गरी घाइते बनाएका छन्।

एमालेले दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी कृष्णप्रसाद आचार्य र उहाँको छोरा रमेश आचार्यलाई कुटपिट गरेको जानकारी दिएको छ।

काङ्ग्रेसका दुई कार्यकर्ताले अपशब्द बोल्दै घरमै आएर आफूहरुलाई आक्रमण गरेको अनेरास्ववियुका अध्यक्षसमेत रहेका रमेश आचार्यले बताउनुभयो।

नेकपा एमाले पार्टी कार्यालय तनहुँले आज एक विज्ञप्ति जारी गरी घटनाको निन्दा एवं भर्त्सना गर्दै आइन्दा चुनावी प्रचारप्रसारलाई लिएर यस्ता घटनाहरु नदोहोर्याउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

Popularity: 8%

Add comment March 23rd, 2008

नेपाल दलित श्रमिक मोर्चा प्रतिवद्धता पत्र सार्वजानिक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल दलित श्रमिक मोर्चाले ‘हामी पहिले मान्छेका रुपमा सौचौ, समरुपता कायम गरौँ, अनि देश र जनताको सेवामा समर्पित होऔ’ भन्ने आग्रह राख्दै आफ्नो पार्टीको २६ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ।

सो घोषणा पत्रमा नेपाल स्वतन्त्र, धर्म निरपेक्ष र लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने , पूर्णतया क्षेत्रीय स्वायत्तता लागू गरिने, राष्ट्रिय र प्रतिनिधि सभा गरी दुई सदनात्मक व्यवस्थापिका हुने र दुवै व्यवस्थापिकाबाट निर्वाचित व्यक्ति राष्ट्रपति हुने, व्यवस्थापिकाबाट निर्वाचित व्यक्ति प्रधानमन्त्री हुने व्यवस्था उल्लेख गरिएको छ।

सेवारुपी शासन, प्रत्याव्हान, कृषि, उद्योग, पर्यटन ,परराष्ट्र ,कर आदि नीति, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मौलिक हक, मानव अधिकार,धार्मिक,लैगिक स्वतन्त्रता,सामाजिक कार्य, श्रमिक परिचालन, ग्रामीण क्षेत्रको विकास जस्ता विषयहरु सो घोषणा पत्रमा उल्लेख गरिएको छ।

मोर्चाका अध्यक्ष कैलाशमान शासङ्कले सो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै अन्य पार्टीभन्दा सो मोर्चाको प्रतिवद्धता पत्र वैज्ञानिक र नयाँ नेपालको निर्माण गर्न सक्ने दावी गर्नुभयो।

सो मोर्चाले निर्वाचनमा ४७ जना उम्मेदवार उठाएको जानकारी दिएको छ।

Popularity: 8%

Add comment March 23rd, 2008

याख्या छुम्माको राष्ट्रिय अधिवेशन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अल्पसङ्ख्यकको रुपमा रहेका याख्या जातिले संविधानसभाको निर्वाचन आईरहेका बेला आफूहरु निर्वाचन सफल बनाउनेतर्फ लाग्ने बताएका छन्।

शनिबार ललितपुरमा भएको किरात याख्या छुम्माको तेस्रो राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा बोल्दै उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि संविधानसभाको निर्वाचनमा लाग्ने बताएका हुन्।

उनीहरुले संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा कसरी सबै जनतालाई निर्वाचनमा सहभागी गराई उनीहरुको मतदानको अधिकार सुनिश्चित गर्न सकिन्छ भन्ने तर्फ र संविधानसभामा कसरी आफ्ना अधिकार सुनिश्चित गराउन सकिन्छ भन्ने तर्फ लाग्ने बताए।

बोल्ने वक्ताहरुले दलका नेताहरुलाई राज्यको पुनसंरचना गर्दा जनताका अधिकारलाई मुख्य रुपमा राख्न पनि आग्रह गरे।

जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष जितपाल किरातले जनजातिले उठाएका कुराहरुलाई सरकारले गम्भीरताका व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो।

आयोजक संस्थाका अध्यक्ष दुर्गामणि देवानको सभापतित्वमा सम्पन्न कार्यक्रममा किरात याख्या छुम्मा इलामका सचिव टोम याख्या, झापाका मछिन्द्र याख्या, सङ्खुवासभाका खगेन्द्र देवानलगायतकाले संविधानसभामा सबै वर्ग, समुदाय, जातजाति, महिला, अपाङ्गता भएकालगायतको स्थान सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रममा नेपालमा याख्या जातिको जनसङ्ख्या करिब १७ हजार तीन रहेको जानकारी दिईयो।

Popularity: 8%

Add comment March 23rd, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....