Archive for March 24th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभाको चुनाव नजिकिंदै गर्दा पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्च नामक एक संगठनले पुर्वका ९ वटा जिल्लालाई “पल्लो किरात लिम्बूवान स्वतन्त्र राष्ट्र” को घोषणा गरेका छन् ।
मञ्चले आइतवार दमकमा एक कार्यक्रमको आयोजना गरी सो घोषणा गरेका हुन् ।
सो कार्यक्रममा पल्लो किरात लिम्बूवान राष्ट्रको प्रस्तावित राष्ट्रिय झण्डा पनि प्रदर्शन गरिएको थियो । रातो रंगमा वरिपरि निलो रंगको किनारा रहेको आयातकार सो झण्डा भित्र माथि आठ कुने सुर्य र मुनि फक्ताङलुङ (कुम्भकर्ण) हिमालको आकृति रहेको छ ।
कार्यक्रम सकिएपछि मञ्चका उपस्थित सयौंको सँख्यामा रहेको कार्यकर्ताहरुले स्वतन्त्र र शान्तिपूर्ण राष्ट्रको माग गर्दै जुलुश प्रदर्शन गरेका थिए । किरात भवनबाट बाजागाजासहित निस्किएको जुलुशले दमक चौक र नगरका केही भाग परिक्रमा गरेका थिए ।
उनीहरुले स्वतन्त्र राष्ट्र घोषणा भएको भन्दै दमक चौकमा पटका पड्काएर हर्षोल्लास मनाएका थिए ।
Popularity: 15%
March 24th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले संविधानसभा निर्वा सम्पन्न गर्न आफ्नो पार्टी जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताउनुभएको छ ।
सञ्चार समूह नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले निर्वाचनको जुनसुकै परिणामलाई हामी मान्न तयार छौँ, तर निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्नुभयो ।
संविधानसभा निर्वाचन शान्ति प्रक्रियासँग र अहिलेको शान्ति प्रक्रिया निर्वाचनसँग अभिन्न रुपले जोडिएका छन् , यसलाई अलग गरेर हेरेमा असाध्य एकाङ्गी, मनोगत र अवस्तुवादी हुनेछ भन्दै उहाँले यो निर्वाचनले राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने बताउनुभयो ।
यो एउटा ऐतिहासिक परिवर्तन गर्ने निर्वाचन भएकाले गणतन्त्र र राष्ट्रियताका बारेमा तथा देशभक्ति र राष्ट्रिय स्वतन्त्रताका बारेमा कुरा गर्ने दलका बीच जति समझदारी हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन-उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो-मधेसमा अझै पनि केही सशस्त्र गुटले कुनै न कुनैरुपमा यो निर्वाचन र शान्ति प्रक्रियामा व्यवधान खडा गर्न खोजिरहेका छन्, यसबाट कहीँ न कहीँ परिवर्तन, शान्ति र प्रगतिविरोधी तत्व समग्र शान्ति र निर्वाचन प्रक्रियालाई व्यवधान गर्न चाहिरहेको स्पष्ट देखिन्छ, त्यसैले यो निर्वाचन चुनौतीविहीन भने छैन ।
शान्ति प्रक्रियामा हामी प्रवेश गरिसकेपछि हाम्रा ६० जना कार्यकर्ता मारिएका छन्, हाम्रोतर्फबाट कति त्यस्ता घटना भए भनेर हेर्नुभएमा औँलामा गन्न सकिन्छ भन्ने दावी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो- तर पनि हामी शान्ति तोडेर हिँड्ने छैनौँ, मर्नु परे पनि यहीँ मर्ने छौँ ।
हामीबाट पनि गल्ती भएका होलान्, विद्रोहबाट आएको पार्टी भएकाले भए गरेका गल्ती सच्चाउने छौँ-उहाँले भन्नुभयो ।
आफूले प्रधानमन्त्रीसँग भेटेर शान्ति प्रक्रियासँग सम्बन्धित तीनवटा विषयमा कुराकानी गरेको जानकारी दिँदै उहाँले हिजो गरिएका सहमति र सम्झौताका बारेमा पुनःमूल्याङ्कन गर्न तथा निर्वाचनप्रति जनतालाई विश्वस्त तुल्याउन सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सात दलको बैठक बस्ने बताउनुभयो ।
Popularity: 15%
March 24th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दक्षिण कोरियामा इपिएस प्रणालीअर्न्तर्गत नेपाली कामदार वैदेशिक रोजगारीका लागि जान चाहनेको आवेदन फाराम बुझाउने कार्य सम्पन्न भएको छ ।आवेदन बुझाउनेको परीक्षा यही चैत १६ र १७ गते दुई दिन गरी सञ्चालन गरिने भएको छ ।
यसअघि १६ गते एक दिन मात्र हुने भनिएको थियो। यसको नतिजा भने संविधान सभाको निर्वाचन पछि मात्र हुने बताइएको छ।
निर्वाचन आयोगले स्पष्टिकरण सोधेपछि कोरियासँगको सम्झौता अनुरुप यसो गर्नुपरेको जवाफ दिएपछि परिणाम पछि सार्वजनिक गर्ने गरी परिक्षा लिन अनुमति दिइएको थियो।
इपिएस प्रणालीअर्न्तर्गत दक्षिण कोरियामा कामका लागि जाने नेपालीले ब्यहोर्नुपर्ने खर्च ९७०.२८ अमेरिकी डलर बराबर हुने गरी श्रम तथा यातायात व्यवस्था मन्त्रालयले निर्धारण गरेको छ ।
रकम उठाई कोरिया पठाई दिन्छु भनी आश्वासन दिने काम ठगी कार्य हो भन्दै यसमा सबैलाई सतर्क रहन मन्त्रालयले अनुरोध गरेको छ ।
Popularity: 15%
March 24th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चुनाव प्रचारप्रसारको क्रममा रहेका रोल्पा क्षेत्र नम्बर १ का नेपाली काङ्ग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यको टोलीमाथि माओवादी कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।
प्रचारप्रसारको क्रममा पूर्वी रोल्पाको फगाम गाउँ विकास समितिअन्तरगत भलवाङ भन्ने ठाउँमा बिहान ९ बजे खाना खान लागेको समयमा माओवादीका एरिया इन्चार्ज विक्रम विक विश्वासको नेतृत्वमा आएको करिब २०-३० जनाको समूहले आक्रमण गर्ने प्रयास गरेको नेपाली काङ्ग्रेस रोल्पाका सदस्य जितविक्रम मल्लले जानकारी दिनुभयो ।
माओवादीले आक्रमण प्रयास गरेपछि उम्मेदवार आचार्य, नेपाल विद्यार्थी सङ्घका महामन्त्री मनोजमणि आचार्यसहितको ११ जनाको टोली त्यहाँबाट भागेको थियो ।
हराइरहेका कार्यकर्ताको खोजीका लागि इलाका प्रहरी कार्यालय सुलीचौरब प्रहरी नायब निरीक्षक केशर भारतीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको थियो
हराएका काङ्ग्रेस कार्यकर्ता शेरबहादुर घर्तीबाहेक सबै सम्पर्कमा आइसकेको प्रहरी नायब उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिनुभयो ।
आक्रमणमा परी नेपाली काङ्ग्रेस रोल्पाका सचिव नन्दु गिरीको टाउकोमा गम्भीर चोट लागेको छ ।
Popularity: 15%
March 24th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसद्वारा गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. १ आश्राङ गाविसमा आयोजित आमसभामा कम्ब्याक्ट ड्रेस लगाएका माओवादीका कार्यकर्ताले ढुङ्गामुढा र कुटपिट तथा गाडी तोडफोड गरेका छन् ।
उक्त घटनामा नेपाली काङ्ग्रेसका करिब १२जना नेता एवं कार्यकर्ता घाइते हुनुका साथै कार्यकर्तालाई अभद्र व्यवहार गरिएको थियो ।
यसैगरी रामेछाप जिल्लाको हिमागङ्गा गाविसस्थित बोलुङ बोलुङ भन्ने स्थानमा आयोजित सोही पार्टीको कार्यक्रममा माओवादीको एक समूहले ढुङ्गामुढा गरी कार्यक्रम बिथोलेकामा नेपाली काङ्ग्रेसले दुःख प्रकट गरेको छ ।
उक्त कार्यक्रममा नेका कार्यकर्ता कपिल घिमिरेलगायत सुरक्षामा खटिएका दुइ सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
नेपाली काङ्ग्रेसद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा ती घटनाको घोर निन्दा गर्नुका साथै यस किसिमका हिंस्रक, अराजक र गैरजिम्मेवार गतिविधि तुरुन्त बन्द गर्न तथा राजनीतिक दलका कार्यक्रम निर्बाधरुपमा सम्पन्न गर्नका लागि माओवादीलाई सचेत गराइएको छ ।
Popularity: 14%
March 24th, 2008
एचकेनेपाल डट कम, बेल्जियम -
‘प्रथम समावेशी महिला सगरमाथा आरोहण २००८’ मा गुरुङ जातिको महिला प्रतिनिधित्व गर्दै अगामी अप्रिल ८ तारिखका दिन विश्व सर्वोच्च शिखर सगरमाथाको आरोहणमा सहभागी हुन लाग्नु भएकी सुश्री माया गुरुङलाई तमू समाज बेल्जियमले आर्थिक सहयोग उपलव्ध गराएको छ।
माया गुरुङले नेपाल सरकारलाई अरोहणमा सहभागी बने वापत तिर्नु पर्ने राजश्वमा सहयोग पुर्याउने उद्धेश्यले तमू समाज, बेल्जियमका पदाधिकारीहरु, सदस्यहरु, जनजाती सरोकार मञ्च, नेपाली समुदायबाट तमु समाज, बेल्जियमको पहलमा आर्थिक संकलन गरिएको हो।
राष्ट्रिय बलिङ खेलकी खेलाडी माया गुरुङले यस ऐतिहासिक महान कार्यमा सफलता पाउन् भन्दै मार्च २१ तारिखका दिन तमु समाज, बेल्जियमका अध्यक्ष कुमार गुरुङले बेल्जियममा रही माया गुरुङको आरोहण कार्यक्रमलाई सहयोग गरिरहनु भएका जीमी गुरुङलाई एक मुष्ठ एक हजार पांच सय यूरो हस्तान्तरण गर्नु भयो।

वायाँबाट क्रमशः पूर्व सल्लाहकार अनन्त गुरुङ, महासचिव जानकी गुरुङ, अध्यक्ष कुमार गुरुङ र जीमी गुरुङ।
Popularity: 14%
March 24th, 2008
ब्रस्सेल्स सम्वाददाता / एचकेनेपाल डट कम -
नेपाली साहित्यका मूर्धन्य ब्यक्तित्व कवि गीतकार एवम् बरिष्ठ साहित्यकार इश्वर बल्लभको आईतवार बिहान ७३ वर्षको उमेरमा असामयीक निधन भएकोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज -अनेसास बेल्जियमका अध्यक्ष कृष्ण बजगाईंले गहिरो दुःख ब्यक्त गर्नुभएको छ।
आयामेली साहित्यिक आन्दोलनका अग्रणी इश्वर बल्लभ नेपाली साहित्यमा कहिल्यै नबिर्सने नाम हो । आगोका फूलहरु हुन् आगोका फूलहरु होइनन्, आमाले आत्महत्या गरेको देश, निलो माटो जस्ता चर्चित कृतिका स्रष्टा तथा मदन पुरस्कार र साझा पुरस्कारले सम्मानित बल्लभको निधनले नेपाली साहित्यमा अपुरणिय क्षति भएको छ - शोक बक्तब्यमा भनिएको छ ।
बल्लभका एक श्रीमती, एक छोरा र तीन छोरी रहेका छन् ।
यस दुःखद घडीमा शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै मृत आत्माको चीर शान्तिको लागि कामना गरिएकोछ ।
Popularity: 14%
March 24th, 2008
सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
बांके क्षेत्र नं २ का उम्मेदवार कमलप्रसाद अधिकारीको हत्याका संलग्न रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समुहका बांके वर्दिया सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपालगंज बजारमा चन्दा असुली गरिरहेका नेपालगंज अन्मिनमा कार्यरत सुरक्षा कर्मचारी बब्बुसिंह ठाकुरलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि ज्वालासिंह समूहका अन्य सदस्यहरु पनि पक्राउ परेका हुन।
पक्राउ परेका जनतान्त्रिक ज्वाला सिंह समुहका बांके वर्दिया सेक्रेटरी ‘हलचल’ उपनामका रामवरण कुर्मी र अर्का कार्यकर्ता मनोजकुमार चौधरीलाई आज प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरको हो।
प्रहरीले उनीहरुलाई गत ८ गते पक्राउ गरेको थियो। नेपालगन्जवाट पक्राउ परेका उनीहरुवाट ३ थान घरेलु पेस्तोल, ७ राउण्ड गोली र २ थना मोवाइल सेट समेत प्रहरीले वरामद गरेको छ। उनीहरुले आफुहरु अधिकारीको हत्यामा संलग्न भएको स्वीकार गरेका छन्। कुर्मीले ज्वालासिंहका बांके इन्चार्ज भगत सिंह र अशोक सिंहले अधिकारीलाई गोली हानेको बताए। उनीहरुले गत महिना भूमिसुधार कार्यालय बांकेका खरीदार पूर्णप्रसाद ढकालको हत्यामा पनि आफूहरुको संलग्नता रहेको स्वीकार गरेका छन्। ढकाललाई ओढारापुरवाट अपहरण गरी कम्दी सिधनवा घाट नजिकै माघ ५ गते गोलीहानी हत्या गरेका थिए।
प्रहरीले अधिकारीको हत्यामा संलग्न ८ जनाको समुह रहेको वताएको छ। बांके र वर्दियामा हत्या, चन्दा असुली लगायतका काममा कुर्मीलगायतका समूह सक्रिय रहेको प्रहरीको भनाई छ। बांकेमा अन्मिनमा कार्यरत एक जना सुरक्षागार्ड सहित ५ जना ज्वालासिंह समूहका कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ। जसमध्ये अधिकारीको हत्यामा ४ जना संलग्न रहेको प्रहरीले जनाएको छ।
Popularity: 14%
March 24th, 2008
डम्बर सुब्बा, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
दक्षिण कोरियाको छुङनाम नोनसानस्थित कंम्पनीमा काम गर्दा गर्दै गत मार्च १६ तारिख आइतवारका दिन मेशिनले थिचिएर मृत्यु भएका बुटवल निवासी निलकण्ठ न्यौपानेको अन्तिम दाह संस्कार मार्च २३ तारिख आइतवारका दिन दिउसोको ३ बजे थेजनको छङनिम दोङमा गरिएको छ।
नेपालबाट आउनु भएका स्व न्यौपानेका श्रीमति, साला, नेपाली सम्पर्क समिति, एनआरएन, नेपाली दूतावासका प्रतिनिधिहरु, विभिन्न पेशामा आबद्ध नेपालीहरु, कम्पनीमा संगै काम गर्ने नेपाली तथा कोरियन मित्रहरु, कंम्पनीका कोरियन प्रमुख लगायत गरी अन्दाजी १०० जनाको उपस्थिति रहेको थियो। उपस्थित सबैले शोक सभा र १ मिनट मौन धारण गरिएको थियो। सोही स्थानमा कम्पनीमा संगै काम गर्ने १५ जना नेपालीहरुले १ लाखको दरले १५ लाख वन, थेजनस्थित नेपालीहरुले १ लाख वन र नेपाली सम्पर्क समितिको संयोजनमा ७ लाख ४५ हजार वन राहत संकलन गरेर मृतकका परिवारलाई हस्तान्तरण गरिएको थियो। साथै नेपाली सम्पर्क समितिले सिओलबाट थेजनसम्म जानको लागि बसको व्यवस्था पनि मिलाई दिएको थियो।
Popularity: 14%
March 24th, 2008
डम्बर सुब्बा, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
दक्षिण कोरियाको क्यडगिदो सुवन स्टेशनको दोस्रो तल्लामा मार्च २२ तारिख शनिबारको दिन कोरियन कवि कि यड हयोद्वारा नेपालको भ्रमणको क्रममा खिचिएको फोटो र नेपालका नौ जना प्रसिद्ध युवा चित्रकारहरुको चित्रकला प्रदर्शनी भयो।
कोरिया नेपाल कल्चर आर्ट इन्टरचेन्ज एशोशियन, केटीएक्स दक्षिण शाखा र नेपाली दुतावासको संयुक्त आजोजनामा भएको सो कार्यक्रममा विभिन्न पेशामा आवद्ध नेपालीहरुको व्यापक उपस्थिति रहेको थियो। समारोहमा प्रमुख अतिथिको आसनबाट कोरियाका लागि नेपाली राजदूत कमलप्रसाद कोइरालाले ३५ वर्षअघि नै नेपाल र कोरियाबीच भाईचारा सम्बन्ध कायम भएको जानकारी गराउदै कोरिया आउनको लागि ३५ हजार नेपालीहरुले कोरियन भाषाको परीक्षा दिन लागेको छ। नेपालको कला, संस्कृति, प्रकृतिलाई माया गरी दिने सम्पूर्ण मानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दछु भन्नु भयो।
त्यस्तै कोरियाका प्रसिद्ध कवि मिन यड नेपाल प्राकृतिले भरि पूर्ण स्वच्छ र सौन्दर्यको सुन्दर राष्ट्र हो। नेपालको फोटोहरु हर्ेदा र नेपाल गएर आएका मित्रहरुको कुरा सुन्दा मलाई उत्तर कोरिया र दक्षिण कोरियाको १५५० -०६ -२५ को युद्ध भन्दा अगाडिको कोरियाको आभास र कोरियाको अर्को गाउं हो जस्तो अनुभव दिलाउछ भन्दै उमेर र समयले साथ दिएमा एक पटक भए फेरि नेपाल जाने इच्छा छ भन्नु भयो।
केटीएक्स दक्षिण शाखाका महानिर्देशक ख्वाक नो साडले सर्वसाधारण कोरियालीका लागि नेपाल हिमालय आरोहण गर्ने राष्ट्रले मात्र परिचित थियो तर आज नेपालको कला, सांस्कृतिलाई नजिकबाट अवलोकन गर्ने मौका प्राप्त भयो। यस प्रदर्शनी मार्फत नेपालको संस्कृति, इतिहासलाई बुझ्ने वातावरणको सिर्जना भएको छ भन्नु भयो। त्यस्तै कवि कि यड हयाले २००४ सालमा पहिलो पल्ट नेपाल गएको थिएं। नेपालको हिमालय प्राकृतिक सौन्दर्य, जातजातिको संस्कृति, उत्कृष्ट चित्रकलाले मन्त्रमुग्ध बनायो र हाल सम्म ६ पल्ट नेपाल भ्रमण गरी सकेको र आगमी अप्रिल महिनामा कोरियन चित्रकार ओ जिन सुको चित्रकलालाई नेपालमा प्रदर्शनी गर्ने योजना रहेको छ भन्नु हुदै नेपालको हिमालयको प्राकृतिक सौन्दर्यको अवलोकनको साथै आरोहण गर्न नभुल्नु होला भन्नु भयो।
कार्यक्रममा कोरियनहरुको लागि प्रसिद्ध नेपाली गीत रेशम फिरिरी बजाएर नेपाली तथा कोरियनहरु नाँचेका थिए। आमन्त्रित अतिथिहरुलाई नेपालीहरुले दोसल्ला ओडाएर स्वागत गरेका थिए। साथै नेपाली खाना सेल रोटी, समोसा, चियाको पनि व्यवस्था गरिएको थियो। प्रदर्शनी मार्च २२ तारिखदेखि मार्च ३० तारिखसम्म रहने बताइएको छ।
Popularity: 14%
March 24th, 2008