Archive for March 30th, 2008

फेरि अर्को विष्फोटः २ को मृत्यु, ठूलो परिणाममा हतियार बरामद

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
बेवारिसे बम पड्कदा शनिवार अबेर राति दुर्गम पहाडी जिल्ला जाजरकोटको गर्खा गाविस - ९ को बैसाखे भन्ने गाउंमा एकै घरका दुई जना दाजुभाईको मृत्यु भएको छ।

मृत्यु हुनेमा २० वर्षीय गोविन्द शाह र उनका १७ वर्षीय भाई धनबहादुर शाह रहेका छन्।

घटनापछि त्यहां पुगेका प्रहरीले उनीहरुको घरबाट १ थान रकेट लञ्चर, १ थान एसएमजी राईफल र बम प्रहार गर्ने ८१ नामक हतियारको ३ थान सेल पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घटनास्थल सदरमुकाम खलंगादेखि १४ कोश पश्चिम कोलकोट र जुम्लाको सिमाना नजिक पर्दछ। घटना भएको घरमा लुकाई राखेको यति ठूला हतियार कस्को हो भन्ने बारेमा अहिलेसम्म केही जानकारी प्राप्त भएको छैन।

नेपालगञ्जबाट सम थापा / एचकेनेपाल डट कम।

Popularity: 8%

1 comment March 30th, 2008

इपीएस अन्तर्गत भाषा परीक्षा आज पनि

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कामदार अनुमती प्रणाली (इपीएस) अन्तर्गत कोरिया जान चाहने नेपाली परीक्षार्थीको कोरियाली भाषा परीक्षा (केएलटी) आज पनि हुँदैछ।

ललितपुरको ग्वार्को स्थित श्रम तथा रोजगार प्रवर्द्धन विभाग अन्तरगत रहेको इपीएस शाखाले दिएको जानकारी अनुसार कुल ३१ हजार ५२५ जना परीक्षार्थीमध्ये शनिबार २० हजार परीक्षार्थीले भाषा परीक्षा दिएका छन्। बाँकीको परीक्षा आज हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापनमा काठमाडौं उपत्यकाका विभिन्न १८ वटा केन्द्रमा हिजो अपरान्ह ३ बजेदेखि परीक्षा सञ्चालन भएको थियो।

परीक्षा अनुगमन गर्न २३ सदस्यीय टोली नेपाल आएको र सो टोलीले उत्तर पुस्तिका कोरिया लिएर जाने जानकारी इपीएस कार्यालयले दिएको छ।

परीक्षाको नतिजा संविधान सभाको निर्वाचनपछि आगामी बैशाख महिनाको पहिलो साता प्रकाशित गरिने बताइएको छ।

Popularity: 8%

Add comment March 30th, 2008

गोइत समूहद्वारा उम्मेदवारको अपहरण

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराईमा सशस्त्र सङ्घर्षरत अखिल तराई मुक्ति मोर्चाले प्रचारमा व्यस्त एक दलित उम्मेदवारलाई सप्तरीको पकरी गाविसबाट अपहरण गरेको छ।

चुनावी प्रचारमा पकरी गाविस पुगेका सप्तरी क्षेत्र नं. २ का उम्मेदवार राजकिशोर मण्डल अपहरणमा परेका हुन्। उनले दलित जनजाति पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन्।

अपहरणको अखिल तराई मुक्ति मोर्चाका क्षेत्र नं. २ का इन्चार्ज अविनाशले जिम्मा लिएका छन्। मोर्चाले आसन्न संविधानसभाको विरोध गर्दै आएको छ।

अपहरणको खवर पाउनासाथ घटनास्थललाई व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

Popularity: 8%

Add comment March 30th, 2008

उम्मेदवार आफैले भोट दिन नपाउने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्याङ्जा जिल्लाका तीन जना उम्मेदवारहरुले आफैले आँफैलाई समेत भोट दिन नपाउने भएका छन्।

जिल्लाका कूल तीन ओटा निर्वाचन क्षेत्रहरुमध्ये क्षेत्र नं १ र २ का काँग्रेस उम्मेदवारहरु क्रमशः कमलप्रसाद पंगेनी र गोपालमान श्रेष्ठ तथा क्षेत्र नं २ का जनमोर्चा नेपालमा उम्मेदवार जगदिशप्रसाद गैह्रेले आफूले आफैलाई समेत भोट दिन नपाउनु हुने भएको छ।

क्षेत्र नं २ को मतदाता सूचिमा कमलप्रसाद पंगेनीको नाम रहेको भएपनि उहाँ स्याङ्जा क्षेत्र नं १ मा काङग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको छ। त्यस्तै स्याङ्जा क्षेत्र नं १ मा नाम भएका काङग्रेस उपसभापति गोपालमान श्रेष्ठले क्षेत्र नं २ मा उम्मेदवारी दिनुभएको छ भने क्षेत्र नं ३ मा नामावली रहेका जनमोर्चा नेपालका जगदिशप्रसाद गैह्रेले क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएकोले उहाँहरुले आफैलाई भोट दिन नपाउने हुनु भएको हो।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख रमेश ढकालका अनुसार जहाँ आफ्नो नाम रहेको छ त्यही गएर भोट दिनुपर्छ, निर्वाचनमा उम्मेदवारी जहाँबाट दिन पाइएपनि भोट दिन भने नामावली भएकै ठाँउमा जानुपर्छ ,उम्मेदवारको लागि छुट्टै व्यवस्था छैन।

Popularity: 8%

Add comment March 30th, 2008

यस्ता पनि जेठाजु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जेठाजुको अनुचित प्रस्ताव नमान्दा सप्तरीकी एक युवतीले ज्यान गुमाउनु परेको छ।
सप्तरीको धरमपुर गाविस-६ निवासी २८ वर्षीया सरस्वती देवी साहले यसरी ज्यान गुमाउनु परेको हो।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार लक्ष्मण साहले आफ्नै भाई शत्रुघ्न साहकी पत्नी सरस्वतीसँग यौन सम्बन्धका लागि पटकपटक प्रयास गरेको र प्रस्ताव अश्विकार गरिएपछि लक्ष्मणले राति आगो लगाई सरस्वतीको हत्या गरेको बताइएको छ।

मट्टितेल छर्केर आगो लगाइएकी सरस्वतीलाई चिन्ताजनक अवस्थामा उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

सरस्वतीका श्रीमान् छ महिना अघि रोजगारीका लागि विदेशतर्फ गएको र भाईको अनुपस्थितिमा लक्ष्मणले पटकपटक बुहारीसँग यौन सम्बन्ध कायम गर्न गरेको प्रयास असफल बन्दै गएपछि अभियुक्तले यस्तो जघन्य अपराध समेत गरेको स्थानीयवासिन्दाले बताएका छन्।

घटनामा संलग्न लक्ष्मणलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ।

Popularity: 8%

5 comments March 30th, 2008

सशस्त्र समूहसँगको वार्ता भंग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वार्तामा बस्ने भनेका चारवटा सशस्त्र समूहले सरकारले अल्टिमेटमको बेवास्ता गरेको भन्दै वार्ता भङ्ग भएको बताएको छ।

सशस्त्र समूहका वार्ता समितिका संयोजक सञ्जयकुमार गुप्ताले शनिबार ३ बजेसम्म वार्ताको अल्टिमेटम दिए पनि सरकारी वार्ता टोलीले वार्ताका लागि कुनै पहल नगरेको आरोप लगाउँदै वार्ताको औचित्य नरहेको बताएका छन्।

यसअघि आफ्ना पक्राउ परेका कार्यकर्ताहरूको रिहाइ र कार्यकर्तामाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने माग राख्दै मधेसी मुक्ति टाइगर्स, जनतान्त्रिक तराई मुक्तिमोर्चा (राजन मुक्ति समूह), तराई कोब्रा र संयुक्त जनतान्त्रिक तराई मुक्तिमोर्चाले वार्तामा बस्ने बताएका थिए।

Popularity: 8%

Add comment March 30th, 2008

एमाले केन्द्रीय सल्लाहकार माअ‍ोवादीमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले) केन्द्रीय सल्लाहकार समितिका सदस्य रामचन्द्र भट्टराई नेकपा (माओवादी)मा प्रवेश गर्नुभएको छ। नेकपा (माओवादी)द्वारा आयोजित चुनावी सभामा भट्टराई नेकपा (माओवादी)मा प्रवेश गर्नुभएको हो।

नेकपा (एमाले)का तर्फबाट विगतमा राष्ट्रियसभा सदस्यसमेत बन्नुभएका भट्टराईले २०२७ सालमा पुष्पलालले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो। प्रवेशपछि उहाँले राज्यमा आइपर्ने चुनौतीसँग मुकाबिला गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो।

सो सभामा नेकपा (माओवादी)का वरिष्ठ नेता मोहन वैद्य ‘किरण’ले भट्टराईलाई टीका लगाई पार्टी भित्र्याएको घोषणा गर्नुभएको थियो।

श्री भट्टराई बुद्धिजीवी र साहित्यकारका रूपमा पनि परिचित हुनुहुन्छ।

Popularity: 8%

2 comments March 30th, 2008

प्रधानमन्त्रीको गृह नगरमा बम विस्फोट, दुईको मृत्यु

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको गृहनगर विराटनगरमा हिजो साँझ शनिवार अज्ञात समूहले गरेको बम विस्फोटनमा परी कम्तीमा दुई जनाको ज्यान गएको छ।

विराटनगरको सरौसियास्थित छोटी मस्जिदमा भएको बम विस्फोटनमा विराटनगर - ७ का फिरोजखान र परवेज इराकी अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अरु दुई गम्भीररुपले घाइते भएका छन्। घाइतेको कोशी अञ्चल अस्पतालमा उपचार भै रहेको छ।

नवाज प्रार्थनाको गरिरहेको बेला मोटरसाइकलमा आएका दुईजनाले मस्जिद गेटबाट चारवटा बम फालेर भागेको प्रत्यक्षदर्शीले बताए। चारवटा बममध्ये तीनवटा बम विस्फोट भएका थिए। घटनापछि साँझ नौबजेदेखि घटनास्थल र आसपासका सीमित क्षेत्रमा मोरङ प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।

घटनापछि डिफेन्स आर्मीका सर्वोच्च सैन्य कमाण्ड आरपी मैनाली (परिवर्तन)ले विस्फोटको जिम्मेवारी लिएका छन्। यस घटनाले नेपालमा सुरक्षा व्यवस्थामा सुधार हुन नसकेको र वातावरणलाई खलल पारी संबिधानसभाको निर्वाचनलाई असफल बनाउने तत्वहरुको जगजगी जाहेर भैरहेको स्पष्ट देखिएको छ।

Popularity: 8%

Add comment March 30th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....