Archive for March 31st, 2008

उम्मेदवारद्वारा एक्लै प्रचार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभाको निर्वाचन आउन ११ दिन मात्र बाँकी हुँदा राजधानी नजिकैका ग्रामीण भेगमा रोचक चुनाव वातावरण देखिन थालेको छ।

काठमाडौँको उत्तरपूर्वी भेग जोरपाटीमा नेकपा (संयुक्त मार्क्सवादी) दलबाट काठमाडौँ क्षेत्र नं. ३ की उम्मेदवार ज्ञानु लामा (तामाङ) एक्लै हाते माइक लिएर आफ्नो चुनावी प्रचारमा जुट्नुभएको थियो।

‘तपाईं आफैं उम्मेदवार किन एक्लै चुनावी प्रचारमा ?’ भन्ने जिज्ञासामा लामाले ठूला पार्टीले प्रचारका क्रममा सयौँको जुलुस लिएर हिँड्दा घन्टौं सडक जाम भई सर्वसाधारणलाई अप्ठ्यारो पर्ने गरेकाले आफू एक्लै चुनावी प्रचारप्रसारमा जुटेको बताउनुभयो।

एक हातले माइक समातेकी लामाले अर्को हातले आफ्नै पर्चा बाँडिरहेको र भाषण गर्दै सडकको किनाराबाट हिंडिरहेको दृष्य रोचक थियो।

लामाको प्रचारमा हिंड्नेको सङ्ख्या नभएपनि नयाँ शैली भएकाले हेर्नेको जुलुस नै जम्मा भएको थियो।

Popularity: 8%

Add comment March 31st, 2008

महिलाको जिम्मामा मतदान केन्द्र

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा सदस्य निर्वाचनमा नुवाकोट जिल्लाको एक मतदान केन्द्र पूर्ण रुपमा महिला कर्मचारीहरूले मात्र सञ्चालन गर्ने भएका छन्।

उक्त मतदान केन्द्रको सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरू समेत महिला नै रहने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले दिएको छ।

जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा पर्ने विदुर नगरपालिका वडा नं. ११ को त्रिशुली उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको सम्पूर्ण व्यवस्था महिलाले नै गर्ने मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद वास्तोलाले जानकारी दिनुभएको छ।

उहाँका अनुसार उक्त मतदान केन्द्रका लागि एक अधिकृत सहित छ सरकारी कर्मचारी खटिने छन् जसमा महिला विकास अधिकृत सुलेखा मानन्धर मतदान अधिकृत रहनुहुनेछ।

उक्त मतदान केन्द्रमा कुल ४६२ मतदाता रहेका छन्।

Popularity: 8%

Add comment March 31st, 2008

मतपत्र छपाई सम्पन्न

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा सदस्य निर्वाचनका निम्ति आवश्यक पर्ने मतपत्रहरूको छपाईं गर्ने कार्य सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ।

आयोगद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोगका प्रवक्ता लक्ष्मण भट्टराईले २७ जिल्लाका ४४ निर्वाचन क्षेत्रमा हेलिकोप्टरबाट मतपत्र पुर्‍याई सकिएको, आजसम्म १७८ निर्वाचन क्षेत्रको मतपत्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको र यही चैत २० गतेसम्ममा सबै स्थानमा मतपत्र पुर्‍याई सकिने जानकारी गराउनुभयो।

उक्त निर्वाचनअर्न्तर्गत प्रत्यक्ष प्रणालीबाट हुने निर्वाचनका निम्ति दलका तर्फबाट दुइ हजार ८०६ जना पुरुष र स्वतन्त्रबाट ७७४ तथा दलका तर्फबाट ३२५ जना महिला र स्वतन्त्रबाट ४२ जना गरी कुल तीन हजार ९४७ जना उम्मेदवार चुनावी मैदानमा रहेको जानकारी गराइयो।

कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीअर्न्तर्गत बन्द सूची पेस गर्ने राजनीतिक दलको सङ्ख्या ५४, तीस प्रतिशतभन्दा बढी उम्मेदवारको नाम सूचीकृत गर्ने दलको सङ्ख्या एघार, ३३५ जना उम्मेदवारको नाम सूचीकृत गर्ने राजनीतिक दलहरूको सङ्ख्या सात रहेको छ भने उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुल उम्मेदवारको सङ्ख्या छ हजार रहेको बताइयो।

संविधानसभा सदस्यको निर्वाचनका निम्ति धेरै महिला उम्मेदवार काठमाडौँ जिल्ला क्षेत्र नं. १ र ४ बाट आठ आठ जना, दुइ जनासम्म महिला उम्मेदवार भएको निर्वाचन क्षेत्र ५१, महिला उम्मेदवार भएको कुल निर्वाचन क्षेत्र १७३ र महिला उम्मेदवार समावेश नभएको १६ जिल्लाका ६७ निर्वाचन क्षेत्र रहेका छन्।

उक्त निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार काठमाडौँ जिल्ला क्षेत्र नं. ४ बाट ३८ जना र सबैभन्दा कम उम्मेदवार भएको जिल्ला मनाङबाट तीन जना रहेका छन्।

यसैगरी सबैभन्दा बढी गुल्मी क्षेत्र नं. २ मा एक लाख चार हजार ८८८ जना मतदाता रहेका छन् भने सबैभन्दा कम मनाङ जिल्लामा २० वटा मतदान केन्द्र र सात हजार ४०७ जना मतदाता छन्।

देशभरी नौ हजार ८२१ स्थानमा २० हजार ८८८ मतदान केन्द्रको व्यवस्था गरिएको, एक निर्वाचन क्षेत्र भएको जिल्लामध्ये सबभन्दा बढी मतदान केन्द्र दार्चुलामा १२७ मतदान केन्द्र र ८६ हजार ६६१ जना तथा सबैभन्दा कम मतदाता भएको मतदान केन्द्र मनाङको चामे गाविसमा रहेको लालीगुराँस प्राथमिक विद्यालय तलेखुमा २३ जना मतदाता रहेको कार्यक्रममा जानकारी गराइयो।

संविधानसभा निर्वाचन प्रयोजनका लागि आयोगमा ७४ वटा दल दर्ता भएकोमा निर्वाचनमा ५४ वटा दलको मात्र सहभागिता रहने तथा निर्वाचनको सिलसिलामा मतदान केन्द्रहरूमा प्रयोग गरिने ६१ वटा सामग्रीहरू, सम्पूर्ण निर्वाचन सामग्री तथा अनुसूची फारामहरू सम्बन्धित जिल्लाहरूमा पठाउने कार्यका साथै जिल्ला जिल्लाले मतदान केन्द्र अनुसारको प्याकिङ गर्ने कार्य सम्पन्न गरिसकेको बताइएको छ।

आयोगका अनुसार मतदानका लागि मतदान केन्द्रमा करिब दुई लाख ३४ हजार कर्मचारी खटाइने छ भने सोमध्ये एक लाख आठ हजार स्वयम् सेवक स्थानीय स्तरमै भर्ना गरी परिचालन गरिनेछ।

कार्यक्रममा संविधानसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ४० वटा र जिल्लामा दर्ता भएका १०८ वटा गरी १४८ वटा राष्ट्रिय पर्यवेक्षण संस्थाहरू निर्वाचन पर्यवेक्षण गर्न सम्बन्धन प्राप्त गरिसकेका छन् भने आयोगले सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूलाई संविधानसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आमन्त्रण गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो।

प्रवक्ता भट्टराईले कुल एक करोड ७६ लाख ११ हजार मतदाता रहेको संविधानसभाको निर्वाचन घोषणा भएदेखि निर्वाचन परिणाम घोषणा हुँदासम्म हालको अनुमानमा करिब रु. दुई अर्ब ७३ करोड खर्च हुने जानकारी दिनुभयो।

Popularity: 8%

Add comment March 31st, 2008

अन्मिनद्वारा प्रतिवेदन सार्वजनिक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन (अनमिन)ले मुलुकका अधिकांश भागमा निर्वाचनको प्रचारप्रसार उत्साहजनक एवं सापेक्षिकरुपमा शान्तिपूर्ण ढङ्गले चलिरहेको बताउँदै सो क्रममा धेरै जिल्लामा विभिन्न राजनीतिक दलका समर्थकबीच झडपजस्ता घटनामा वृद्धि भएको जनाएको छ।

अनमिनले संविधानसभा निर्वाचनको अवस्थासम्बन्धी आवधिक प्रतिवेदन श्रृङ्खलाको दोस्रो प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा उल्लेख गरेको हो।

पाँच पृष्ठ लामो उक्त प्रतिवेदनमा अनमिन र मानवअधिकारसम्बन्धी उच्चायुक्तको कार्यालय (ओएचसीएचआर-नेपाल)ले गतसाता निर्वाचनविरोधी समूहद्वारा फैलाइएका हिंसा, निर्वाचन आचारसंहिता तथा मानवअधिकारको हनन एवं हतियार तथा सेनाको अनुगमनका क्रममा फेला पारेका तथ्य संलग्न रहेको जनाएको छ।

निर्वाचनको अवस्था सुधार गर्नका लागि अनमिनले पाँचवटा सुझाव दिएको पनि प्रतिवेदनमा उल्लेख छ।

उक्त प्रतिवेदन ओएचसीएचआरसँगको संयोजनमा अनमिनले तयार गरेको प्रतिवेदनमा जनाइएको छ।

Popularity: 8%

Add comment March 31st, 2008

गृह मन्त्रालयद्वारा भर्त्सना

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गृह मन्त्रालयले विराटनगर उपमहानगरपालिका-७ सरोचिया सडकस्थित जामा मस्जिदमा अज्ञात व्यक्तिले फ्याँकेको तीनवटा सकेट बम विस्फोटन हुँदा विराटनगर-७ बस्ने फिरोज खाँ र परवेज अन्सारीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

जामा मस्जिदजस्तो धार्मिकस्थलमा आततायी समूहले बम विस्फोटन गराई निर्दोष व्यक्तिको ज्यान गएकामा मन्त्रालयले भर्त्सना गरेको छ।

सो घटनामा संलग्न जोसुकै व्यक्तिलाई खोजतलास गरी कारवाही गर्न सम्बन्धित स्थानीय प्रशासनलाई कडा निर्देशन दिइसकिएको जनाइएको छ।

सामाजिक सदभाव बिथोली संविधानसभा सदस्य निर्वाचनलाई असर पुर्‍याउने कुत्सित मनसायले गरिएको मानवताविरोधी सो कार्यबाट विचलित नभई सामाजिक सद्भाव कायम राख्‍न सबैमा मन्त्रालयले आग्रह गरेको छ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल र मानव अधिकार तथा शान्ति समाजले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गरी सो घटनाको भर्त्सना गरेका छन्।

Popularity: 8%

Add comment March 31st, 2008

चुनाव भाँड्नलाई माअ‍ोवादीको हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले यही चैत ५ गते रोल्पामा हत्या गरिएका नेकपा (माओवादी)का कार्यकर्ता टेकबहादुर बुढा र भक्तबहादुर विक (भानु कामी)को हत्यामा तीनजना संलग्न भएको जनाएको छ।

सो सम्बन्धमा स्थलगत अध्ययन प्रतिवेदन यहाँ सार्वजनिक गर्दै नियोकले उक्त घटनामा संलग्न रोल्पा गाम गाविस-८ फलिवाङका रामु घर्ती, सोही गाविसका लालमान घर्ती र अर्का एक अपरिचित रहेको प्रत्यक्षदर्शीले बताएको र ती व्यक्ति फरार रहेको जनाएको छ।

पाँच घण्टाको पैदल दूरीमा रहेको दुई घटनास्थलमा छ घण्टाको फरकमा घटना भएको, एकैथरी गोली प्रयोग भएको, एकै स्थानीय खाम भाषा प्रयोग गरी गालीगलौज गरेको र प्रभावशाली कार्यकर्ताको छानीछानी हत्या हुनाले दुवै घटनामा एकै समूह सामेल भएको र माओवादीलाई उत्तेजित बनाई संविधानसभाको चुनाव भाँड्ने लक्ष्यका साथ घटना गराइएको नियोकले जनाएको छ।

हत्यामा संलग्न भनिएका व्यक्तिलाई तत्काल पक्राउ गर्न, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्न, सुरक्षा नीति चुस्त बनाउन, चुनावको समयमा राजनीतिक दलहरुलाई स्वस्थ प्रतिस्पर्धामा सहजरुपले आ-आफ्ना कार्यक्रम सञ्चालन गर्ने वातावरण बनाउन पनि नियोकले सरकारलाई सुझाव दिएको छ।

अधिवक्ता श्रीकृष्ण सुवेदी, गुणराज घिमिरे र घनश्याम आचार्यसहितको टोलीले घटनास्थलको अध्ययन अवलोकन, प्रत्यक्षदर्शी, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक र राजनीतिक दलका प्रतिनिधि र माओवादी घटना छानबिन कमिटीसँग भेटघाट र छलफल गरी प्रतिवेदन तयार पारेको नियोकले जनाएको छ।

Popularity: 8%

Add comment March 31st, 2008

काँग्रेस कार्यकर्ताको हत्या प्रयास

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सुनसरी जिल्लाका नेपाली काङ्ग्रेसका कार्यकर्ता अब्दुल्ला मन्सुरलाई हिजो राति करिब ९३० बजेतिर मधेसी जनअधिकार फोरमका कार्यकर्ताले गोली हानी हत्या गर्ने प्रयास गरेका छन्।

उहाँ निर्वाचन क्षेत्र नं. ५ का नेपाली काङ्ग्रेसका उम्मेदवार सुजाता कोइरालालाई भेटेर इनरुवाबाट फर्किरहेको अवस्थामा नरसिंह गाविसमा फोरमका कार्यकर्ताले गोली हानेका थिए। उहाँको तिघ्रामा गोली लागेको छ र अहिले अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै उम्मेदवार कोइरालाको चुनावी प्रचारमा हिँडेको गाडीलाई फोरमका कार्यकर्ताले रोकी गाडीमा रहेका नेपाली काङ्ग्रेसका कार्यकर्तालाई गाडीबाट ओरालेर गाडीमा आगो लगाउने प्रयास गरेका थिए।

निर्वाचन नजिकिँदै गइरहेको बेला आपराधिक क्रियाकलाप बढ्दै गएको र चुनावी प्रतिस्पर्धामा उत्रिएका दलबाट नै आचारसंहिता विपरीतका क्रियाकलाप हुन गइरहेकामा निन्दा गर्दै पार्टीले यस्ता आपराधिक क्रियाकलाप रोक्न, संलग्न व्यक्तिलाई कारवाही गर्न र आचारसंहिता पालना गराउन सम्बन्धित निकायबाट उचित व्यवस्थाका लागि आग्रह गरेको छ।

Popularity: 8%

Add comment March 31st, 2008

नेपाली जनसम्पर्क समिति कोरियाको थेगु शाखा विस्तार

उमेश बस्नेत, सिओल कोरिया / एचकेनेपाल डट कम -
नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाको प्रथम अधिवेशनलाई ध्यानमा राखी ९ वटा क्षेत्रिय कार्य समिति बिस्तार गर्ने क्रममा मार्च २९ तारिख शनिवार साझ ७ नम्बर क्षेत्रिय समिति थेगु शाखा गठन गरिएको छ।

गणतंत्र कोरियाको तेस्रो ठूलो शहरथेगुस्थित नेपाली जनसम्पर्क समिति केन्द्रीय उपाध्यक्ष तथा क्षेत्र नंबर ७ का संयोजक नरेन्द्र गुरुंगको उपस्थितिमा छत्र श्रेष्ठको अध्यक्षतामा १७ सदस्यसीय कार्य समिति गठन गरेको छ।

समितिमा उपाध्यक्ष बिजयकुमार राई, उत्तम मानन्धर सचिवमा शिवबहादुर बस्नेत सह-सचिवमा, सन्तोष श्रेष्ठ कोषाध्यक्षमा यमलाल खाती र सदस्यहरुमा कृष्णबहादुर कार्की, मिलन गुरुंग प्रदीपराना मगर, मानसिह गुरुंग, केबी तामाङ, राजकुमार राई, मदन राई, शिव धिमिरे, शिवशंकर कांदु, खिमलाल भट्टराई र प्रकाश थापा निर्वाचित हुनु भएको छ। समितिले उक्त क्षेत्रमा रहेका नेपाली कांग्रेस पार्टीप्रति आस्थावान र सुभेच्छुकहरूलाई आगामी चैत्र २८ गते हुन गैरहेको ऐतिहासिक संविधान सभाको निर्वाचनमा “संविधान सभामा नेपाली कांग्रेसलाई जिताऔं, बहुलवादमा आधारित बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरौं” भन्दै आ-आफ्नो स्थानबाट विशेष भूमिका निर्वाह गर्न र विभिन्न सञ्चार माध्यमद्धारा स्वदेशमा रहनु भएका आफन्त परिवारजनहरुलाई सूचना प्रवाह गर्न हार्दिक अपिल गरेका छन्।

Popularity: 8%

Add comment March 31st, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....