Archive for April, 2008
- रामकृष्ण ज्ञवाली
तपाई हामीलाई थाहा संसारमा कस्ता मानिसका सालिक निर्माण हुन्छन भन्ने कुरा। इतिहासमा अत्यन्तै राम्रा काम गरेका होनाहार योद्धाहरुका सालिक निर्माण गर्ने परम्परा संसारभर छ । ती सालिकले उनीहरुको कामको कदर मात्र गरेका हँदैनन् त्यस्ता महान मानिसको योगदानबाट सकारात्मक कुरा सिक्नका लागि पछिल्लो पिँढीलाई प्रेरणा दिइरहेका हुन्छन् । यति मात्र होइन देश र जनताका लागि उदाहारणीय र महान काम गरेका व्यक्तित्वहरुको सम्मानका लागि सालिक निर्माण गर्ने गरिन्छ र धेरै भन्दा धेरै मान्छेले देख्ने ठाउमा राखिन्छ । (more…)
Popularity: 14%
April 30th, 2008
हरि कृष्ण न्यौपाने, अनकुण्डा बलाद ईराक / एचकेनेपाल डट कम, अप्रिल ३० -
अनकुण्डा बलादको वेस्टसाईड MWR मा ८ वटा टिमबीच अप्रिल २७ तारिखका दिन भएको प्रतिस्पर्धात्मक भलिबल खेलमा ६ वटा अमेरिकी आर्मी टिम र नेपाली टिम “बी”लाई पछि पार्दै सुनसरी महेन्द्रनगरका टिका निरौलाको नेपाली टिम विजयी भएको छ।
कुलाक अनि एफेस (AAFES) मा कार्यरत नेपली टिमले खेलमा म्यान अफ द म्याचको उपाधिसमेत जितेको छ। बर्गरकिङ, पिज्जा हट, ताकोबेल, सिनबोन, कुलाक, तामिमि, फस्टकुवेति, एफेस(AAFES) मा कार्यरत नेपाली दर्शकको ठूलो उपस्थितिमा नेपाली टिमलाई राम्रो सपोर्ट र हुटिङ मिलेको थियो।
सिन्धुपाल्चोक पिस्कर-१ का कुलाकमा काम गर्ने रणबहादुर (धन बहादुर) श्रेष्ठले नेपाली टिम विजयी भएकोमा खुशी हुदै नेपाली टिमको प्रशंसा गरे। इराक जस्तो खतरायुक्त देशमा नेपालीहरुको खेलप्रतिको लगाव र मिहेनत नै विजयको कारण भएको बताए। नेपाली टिमले अझै उपलव्धि हासिल गर्ने छ उनले भने।
टिम क्याप्टेन टिका निरौलाले नेपाली टिमको विजयमा प्रसन्नता व्यक्त गरे। एक हातमा भलिबल अनि अर्को हातले पसिना पुछ्दै खेलेको खेलमा सबै साथीहरुको राम्रो टिम वोर्कका कारण निकै अग्ला र भीमकाय शरीर भएका अमेरिकी टिमलाई परास्त गर्न सफल भएको बताए। अनुसाशित र दैनिक अभ्यास गर्ने गरेका अमेरीकी आर्मी र एयरफोर्सका टिमहरुलाई हराउन चान चुने थिएन, निरौलाले भने। सकेसम्म यसलाई निरन्तरता दिने बचन दिदै यसअघि पनि आफ्नो टिमले एउटा टुर्नामेन्ट जितेको कुराको स्मरण गराए।
अनकुण्डा बलाद ईराकबाटः हरि कृष्ण न्यौपाने / एचकेनेपाल डट कम।
Popularity: 14%
April 30th, 2008
काठमाडौं सम्वाददाता / एचकेनेपाल डट कम-
अज्ञात समूहले रुपन्देही बोधवारा - ३ बुच्चे गाउंस्थित एक माओवादी नेताको घरमा गएराति बम बिस्फोट गराउंदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने घर पूर्ण रुपमा ध्वस्त बनेको छ।
समाचार स्रोतका अनुसार रुपन्देही जिल्ला जनसरकार प्रमुख तथा संबिधानसभा निर्वाचनमा माओवादीका तर्फबाट उम्मेदवारी दिएका विनोद उपाध्यायको घरमा गए राति करीव ११ बजे बम बिस्फोट भएको थियो। घटनामा उपाध्ययका ५५ वर्षीय काकाको मृत्यु भएको छ भने चार कोठे पक्की घर पूर्णतय ध्वस्त भएको छ। करीव आधा दर्जनको संख्यामा आएका हतियारधारी समूहले घरका परिवारलाई नियन्त्रणमा लिई बम विस्फोट गराएका थिए।
माओवादीका तर्फबाट अन्तरिम विधायकसमते रहेका नेता उपाध्याय संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमका ओमप्रकाश गुजाडीसंग पराजित भएका थिए। सो घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।
Popularity: 14%
April 30th, 2008
सम थापा, नेपालगंज, बांके / एचकेनेपाल डट कम -
रुघा खोकीले महामारीको रुप लिएपछि मुगु जिल्लामा एक दर्जन बढी मानिसहरुको मृत्यु भएको छ।
विकट कर्णाली अञ्चलको मुगु जिल्लाका पश्चिमवर्ती गाविस हयामुल, धैनुकोट र सेरीमा एक साता यता रुघाखोकीको संक्रमण एक्कासी फैलिएको थियो। स्थानीय स्वास्थ्य केन्द्रमा औषधी नहुदा रुघाखोकी संक्रमितहरुको उपचार हुन सकिरहेको छैन। हालसम्म ती गाविसहरुमा दुइ सय भन्दा बढी विरामीहरु रहेको धैनकोट गाविस वडा नंवर ७ का वासिन्दा धनमान सिंहले जानकारी दिए। रुघाखोकीको संक्रमणबाट एकसाता यता मृत्यु हुनेहरुमा धैनुकोट गाविस वडा नंवर ७ का पचास वर्षीय कृष्णबहादुर शाही, वडा नंवर ८ का ५ वर्षीय बालक मुनचन्द बुढा र नाम नखुलेका अन्य दुइ जना एक वर्ष मुनीका बालबालिका रहेका छन।
त्यसैगरी हयामलु गाविस वडा नंवर ८ का ४५ वर्षीया ननदरुपा रोकाया र उनकी एक वर्षीया छोरीको पनि मृत्यु भएको छ भने सोही गाविसको वडा नंवर ७ मा ४२ वर्षीया साउनी विकको पनि मृत्यु भएको छ । यस्तै सेरी गाविस वडा नंवर ७ का ७० वर्षीया धनसरा दाहाल र ५२ वर्षीय कृष्ण उपाध्यायको पनि रुघाखोकीको संक्रमणका कारण मृत्यु भएको छ। मृत्युहुनेहरुमा अधिकांश बालबालिका र बृद्धबृद्धा रहेका छन्। संक्रमण फैलिएको सो क्षेत्र सदरमुकाम गमगढीबाट २० कोष पश्चिम बाजुरा जिल्लाको सिमानामा पर्दछ । सो क्षेत्रमा पुग्न सदरमुकामबाट २ दिनको पैदल बाटो पार गर्नु पर्ने भएकाले सदरमुकामबाट समयमै औषधी पठाउन नसकिदा यति धेरै मानिसहरुको मृत्यु भएको हो। रुघाखोकीले महामारीको रुप लिएपछि जनस्वास्थ्य कार्यालयले सो क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाएको जनाएको छ।
नेपालगंज, बांकेबाट: सम थापा / एचकेनेपाल डट कम।
Popularity: 14%
April 29th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विश्व हिन्दु महासङ्घ (अन्तर्राष्ट्रिय)को सोमबार सम्पन्न आठौं महासम्मेलनले महामन्त्री हेमबहादुर कार्कीलाई महासङ्घको नयाँ अध्यक्षमा निर्वाचित गरेको छ।
भारत उत्तरप्रदेशस्थित पाटेश्वरी शक्तिपीठ, देवीपाटन मन्दिरमा भएको सो महासम्मेलनमा अध्यक्ष पदका लागि कार्कीको एकमात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो।
महासम्मेलनले नेपाललाई संवैधानिक तथा लोकतान्त्रिक हिन्दु अधिराज्य बनाउन दबाब दिनेलगायतका विभिन्न प्रस्तावसमेत पारित गरेको छ।
नेपाललाई हिन्दु अधिराज्य नै कायम गर्न विश्वव्यापी कार्यदल खडा गर्ने निर्णय महासम्मेलनले गरेको छ।
साथै रामसेतुको विषयलाई लिएर मर्यादापुरुष राममाथि आघात पारिएको भन्दै महासम्मेलनले रामसेतु नभत्काउन भारत सरकारसँग आग्रह गर्ने तथा जनजातिको सुदृढीकरणका नाममा मलेसियामा हिन्दुमाथि भइरहेको दमन रोक्न मलेसिया सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।
महासम्मेलनले महासङ्घको आर्थिक, सामाजिक तथा साँस्कृतिक पक्षमा समेत विभिन्न निर्णय गर्दै विश्वका हिन्दुहरुमा ऐक्यबद्धता कायम गर्ने किसिमका गतिविधिमा लाग्ने प्रण पनि गरेको छ।
महासम्मेलन समापनका अवसरमा भारतका पूर्व केन्द्रीय गृह राज्यमन्त्री चिन्मय स्वामीले विश्वको एकमात्र हिन्दुराष्ट्र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिनु नेपालका लागिमात्र नभई भारतका लागि समेत दुःखको विषय हो भन्दै हिन्दु अधिराज्य कायम गर्ने महासङ्घको हरेक कदममा आफूहरुको सहयोग रहने बताउनुभयो।
गोरक्षनाथ मन्दिरका उत्तराधिकारी एवम् भारतको लोकसभा सदस्य योगी आदित्यनाथले नेकपा (माओवादी)लाई राजा हटाउने कुनै अधिकार छैन भन्दै नेपाललाई हिन्दुराष्ट्र बनाउन आफूहरु जुनसुकै कदम चाल्नपछि नपर्ने बताउनुभयो।
महासङ्घका नवनिर्वाचित उपाध्यक्ष कार्कीले महासङ्घलाई नयाँ उचाइमा पुर्याउने प्रण गर्दै सो कार्यका लागि देशी, विदेशी हिन्दुवादी सङ्घसंस्थाहरुको सहयोगको अपेक्षा गर्नुभयो।
महासङ्घका निवर्तमान अध्यक्ष भरतकेशर सिंहले आफ्नो कार्यकालमा महासङ्घले हासिल गरेका उपलब्धिबारे चर्चा गर्दै भविष्यमा पनि महासङ्घलाई आफूबाट निरन्तर सहयोग रहने वचनबद्धता प्रकट गर्नुभयो।
सो अवसरमा साधुमहन्तहरुले हिन्दुहरुको एकतामा जोड दिंदै नवनिर्वाचित अध्यक्ष कार्कीको कार्यकालको सफलताको कामना गर्नुभयो।
कार्यक्रममा अध्यक्ष कार्कीले निवर्तमान अध्यक्ष सिंहलाई महासङ्घको मार्गदर्शक र दिवाकर चन्दलाई पुनः विशिष्ट उपाध्यक्षमा मनोनयन गर्नुभयो।
महासङ्घको विधानअनुसार महासङ्घको केन्द्रीय कार्यसमितिका सम्पूर्ण सदस्यको मनोनयन अध्यक्षले गर्नेछ।
Popularity: 14%
April 29th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्वतन्त्र निर्वाचनका लागि एसियाली सञ्जाल एन्फ्रेलले संविधानसभाको निर्वाचनपश्चात् नेपालको अवस्था शान्तिपूर्ण रहेको जनाएको छ। सो संस्थाले गोरखा, रूपन्देही, नवलपरासी, कपिलवस्तु, डडेल्धुरा, अर्घाखाँची, डोटी, कैलाली, कञ्चनपुर, झापा, पाँचथर, सुर्खेत, बर्दिया, बाँके, सिरहा, सप्तरी र काठमाडौँका विभिन्न मतदानस्थलमा पर्यवेक्षण गरेको थियो।
मतदान र मतगणना प्रक्रिया तथा निर्वाचनको नतिजाका बारेमा राजनीतिक दल एवम् आम जनताले सन्तुष्टि व्यक्त गरेको जनाउँदै एन्फ्रेलले केही निर्वाचन क्षेत्रमा कम उमेरका व्यक्ति, एउटै व्यक्तिले धेरै पटक मतदान र राजनीतिक दलका कार्यकर्तालाई मतदान केन्द्रमा खुलेआम प्रवेशले निर्वाचनलाई केही प्रभावित पारेको जनाएको छ।
एन्फ्रेलले निर्वाचनका क्रममा देखिएका समस्याको समाधान गरी आगामी दिनमा मतगणना, पुनः मतदान र उजुरी गर्ने प्रक्रियाका सम्बन्धमा सुधार ल्याउन १० बूँदे सुझाव पनि दिएको छ।
Popularity: 14%
April 29th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय महिला आयोग र संयुक्त राष्ट्रसङ्घीय विकास कोषको संयुक्त तत्वावधानमा संविधानसभामा समानुपातिक तथा मनोनयनमा ५० प्रतिशत महिला सुनिश्चितासम्बन्धमा आयोजित वकालत कार्यक्रमले समानुपातिक निर्वाचनतर्फ महिला सहभागिताको ५० प्रशितको सुनिश्चितता गर्न सुझाव दिएको छ।
सो कार्यक्रममा प्रत्यक्ष निर्वाचनमा महिलाको उपस्थिति अर्थपूर्ण हुननसकेको हुँदा समानुपातिक तर्फ१० प्रतिशत थपघट गर्न सकिने लचक कानुनी व्यवस्थालाई महिलाको सङ्ख्या अभिवृद्धि गर्ने पक्षमा उपयोग गर्ने, समानुपातिक निर्वाचन परिणामअनुसार बिजोर सङ्ख्या प्राप्त गर्ने सबै राजनीतिक पार्टीले उक्त बिजोर थप सङ्ख्यामा महिलाको प्रतिनिधित्व गराउने र मन्त्रिपरिषदबाट मनोनीत गर्ने २६ जनामा कम्तिमा ५० प्रतिशत प्रतिनिधत्व महिलाबाट गराउने सुझाव पनि दिएको छ।
Popularity: 14%
April 29th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा संयुक्त मार्क्सवादीले संविधानसभाद्वारा बनाइने नयाँ संविधानले देशको दूरगामी महत्वको शासनप्रणाली र राज्यप्रणाली निर्धारण गर्नुपर्ने अत्यन्त महत्वपूर्ण कार्य सम्पादन गर्न सम्पूर्ण गणतन्त्रवादी वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूले न्यूनतम साझा राष्ट्रिय सहमतिको कार्यक्रमका आधारमा सहकार्य गर्न वामपन्थी गणतन्त्रवादीहरूको एउटा साझा मोर्चा बनाउन तत्काल पहल गरिनुपर्नेमा जोड दिएको छ।
पार्टी अध्यक्ष हेमन्तबहादुर बिसीको अध्यक्षतामा बसेको बैठकले पार्टी सङ्गठनलाई सुदृढीकरण, शुद्धीकरण र आन्दोलिकरण गर्न विशेष अभियान चाल्ने र त्यसलाई सशक्त एवम् प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय गरेको छ।
बैठकले सही विचार, सिद्धान्त, नीति र कार्यक्रम तथा चिन्तन र चरित्र भएका कम्युनिस्ट पार्टी एकजुट हुनुपर्ने राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय माग र आवश्यकता रहेको परिप्रेक्ष्यलाई ध्यानमा राखेर यसका निमित्त उपयुक्त पहल गर्दै जाने समेत निर्णय लिएको छ।
चर्कंदो महङ्गी र अभावले आक्रान्त जनसाधारणलाई तत्काल राहत दिन सरकारले ठोस कदम चालोस् भन्ने पनि बैठकले माग गरेको छ।
Popularity: 14%
April 29th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले संविधानसभाको पहिलो बैठकअघि नयाँ सरकार नबन्ने बताउनुभएको छ। अध्यक्ष शेरचनले सात दलको संयुक्त बैंठक बस्ने तयारी भइरहेको बताउँदै सबैको सहमतिमा नयाँ सरकार गठन हुने जिकिर गर्नुभएको छ।
नारायणगढमा सम्पन्न ‘नयाँ नेपाल निर्माणका अवसर र चुनौती’ विषयक नागरिक बहस कार्यक्रममा शेरचनको यस्तो भनाइ आएको हो।
“निर्वाचन परिणामपछि नेकपा एमालेका केही मन्त्रीहरुले राजीनामा दिएको कारण सात दलको बैठक बस्न सकेको छैन”- शेरचनले भन्नुभयो-”नयाँ सरकार गठनका लागि सातै दल कटिबद्ध छन्, सबैको सहमतिमा सरकार गठन हुन्छ।”
“अन्तरिम संविधानमा उल्लेख गरिएबमोजिम सात दलकै संयुक्त सरकार बनाउनका लागि सात दलबीच गृहकार्य भइरहेको छ”- शेरचनले भन्नुभयो-”संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्छ, त्यसपछि सरकार गठन हुन्छ।”
नागरिक बहस कार्यक्रममा सीमाविद् बुद्धिनारायण क्षेष्ठ, राजनीतिक विश्लेषक साध्यबहादुर भण्डारी, इतिहासविद् चेतेन्द्रजंग हिमाली, द्वन्द्व विशेषज्ञ विष्णुदत्त उप्रेतीलगायतले बोल्नुभएको थियो।
Popularity: 14%
April 29th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अठार महिनादेखि रिक्त रहेको बुढानीलकण्ठ नारायणस्थान मन्दिरको महन्त तत्काल नियुक्त गर्न बुढानीलकण्ठवासीले गुठी संस्थानलाई दबाब दिएका छन्।
संस्थान कार्यालयमा आएको स्थानीयवासीको प्रतिनिधिमण्डलले प्रशासक सेमन्तराज चापागाईंलाई यस्तो दबाब दिएको हो।
मन्दिरमा महन्त नहुँदा दैनिक नित्यपूजामा अप्ठयारो परिरहेको र भेटीघाटी पनि सदुपयोग नभइरहेको स्थानीय चन्द्रबहादुर श्रेष्ठले गुनासो गर्नुभयो।
महन्त नियुक्त गर्ने सवालमा संस्थानभित्रै विवाद रहेकाले डेढ वर्षदेखि पद खाली रहेको स्थानीयवासीले बताएका छन्। संस्थानको नियमअनुसार महन्त गृहस्थी त्याग गरी सन्यास लिएको व्यक्ति हुनुपर्ने व्यवस्था छ।
संस्थानकै एक सहप्रशासकले गृहस्थी चलाइरहेका राजनीतिक दलका सक्रिय कार्यकर्तालाई महन्त नियुक्त गर्न दबाब दिइरहेकाले ढिलाइ भएको स्थानीयवासीको आरोप छ।
प्रशासक चापागाईं भने छिट्टै मन, वचन र कर्मले शुद्ध महन्त नियुक्त गर्ने तयारी भइरहेको बताउनुहुन्छ। यसका लागि डा.रामानन्द गिरी र गलेश्वर बाबाजस्ता व्यक्तिहरुसित पनि सरसल्लाह भइसकेको उहाँले जानकारी दिनुभयो।
Popularity: 14%
April 29th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अज्ञात समूहद्वारा हिजो साँझ वीरगञ्जको माइस्थानमा गराएको बम विस्फोटनमा परी तीनजना सर्वसाधारण गम्भीर घाइते भएका छन्।
घाइते हुनेहरुमा वीरगञ्ज-१६ मुर्ली निवासी हुसनीअरा खातुन, वीरगञ्ज-५ का सत्येन्द्र झा र माइस्थानका मनोज कुमार रहेका छन्। उनीहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।
माइस्थाननजिक मुख्य सडकमा रहेको नमस्ते नेपाल टिभी सो रुमलाई लक्षित गरी साँझ करिब सात बजेर ३० मिनेटमा सो विस्फोटन गराएको थियो।
विस्फोटनमा टिभी सो रुमका सिसा फुटेका छन्। मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले बम फालेर भागेको र फाल्ने बित्तिकै सो विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
Popularity: 14%
April 29th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माले) र नेकपा (माओवादी)का शीर्ष नेताहरुले द्विपक्षीय वार्ता गरी सातदल भित्रका कुनै पनि पार्टी सरकारबाट अलग हुने विषय तथा नेकपा (माओवादी) एक्लैको सरकार र माओवादी इतरको सरकार गठनप्रति असहमति व्यक्त गरेका छन्।
एक मधेस एक प्रदेशको धारणाबाट प्रदेशको गठन गर्नु आत्मघाती हुने र यो कुरा बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा भौगोक विविधता समेटेर साँचो अर्थमा राष्ट्रिय एकता एवं स्थिरता सम्पन्न सङ्घीय नेपाल निर्माण गर्ने कुराको विरुद्ध छ भन्नेमा दुवै दल सहमत छन्।
सरकारको नेतृत्वसम्बन्धी सवालमा सहमति निर्माण गर्नका लागि सातदलको शीर्ष बैठक अविलम्ब बोलाइनुपर्छ भन्नेमा दुवै पार्टी सहमत छन्।
वार्तामा नेकपा (माले)का तर्फबाट महासचिव सीपी मैनाली तथा नेकपा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डलगायतको सहभागिता थियो।
Popularity: 15%
April 28th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीले संविधानसभाको निर्वाचन परिणाम आएपछि राजनैतिक दलहरु नैतिक जिम्मेवारीभन्दा बाहिर गएर सरकारको नेतृत्वको लागि विवाद गरेको बताउनुभएको छ।
पुनरावेदन वार एसोसिएसन हेटौँडाद्वारा आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष मैनालीले निर्वाचनमा जसको परिणाम बढी आउँछ उसैले नेतृत्व गर्नु लोकतन्त्रको सामान्य प्रक्रिया हो भन्नुभयो।
संविधानसभाको जनादेश, अन्तरिम संविधानको मर्म र सबै राजनैतिक दलको घोषणापत्रअनुसार सहमतिबाट सरकार बनाउने कुरा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो-एउटा पक्ष र अर्को विपक्ष बनेमा संविधानसभा असफल हुन्छ।
उहाँले संविधानसभामा संविधानविद्हरुलाई नसमेटिए असल संविधान बन्न नसक्ने बताउनुभयो।
Popularity: 15%
April 28th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कामदार अनुमती प्रणाली (इपीएस) अन्तर्गत कोरिया जान चाहनेका लागि गरिने स्वास्थ्य परीक्षण निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूले पनि गर्न पाउनुपर्ने माग गरिएको छ।
नेपाल स्वास्थ्य व्यावसायी महासङ्घले ललितपुरको ग्वार्को स्थित श्रम तथा रोजगार प्रवर्द्धन विभागअर्न्तर्गत रहेको इपीएस शाखा अगाडि धर्ना दिँदै सो माग गरेको हो।
वैदेशिक रोजगारमा जान चाहनेहरूको स्वास्थ्य परीक्षण निजी क्षेत्रका स्वास्थ्य संस्थाले गर्ने र त्यसको अनुगमन तथा निरीक्षण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने स्पष्ट कानुनी व्यवस्था हुँदा हुँदै पनि सरकारले कोरिया जान चाहनेको स्वास्थ्य परीक्षण सरकारी अस्पतालमा गर्ने निर्णय गरेको भन्दै निजी क्षेत्रका स्वास्थ्य व्यावसायी आन्दोलनमा उत्रिएका छन्।
महासङ्घका महासचिव मदन खनालले आफूहरू चरणवद्ध आन्दोलनमा उत्रिएको र सरकारले आफ्नो निर्णय फिर्ता लिनुपर्ने बताउनुभयो।
काठमाडौँ उपत्यकामा वैदेशिक रोजगारीमा जान चाहनेहरूको स्वास्थ्य परीक्षण गर्ने करिब ३०० वटा स्वास्थ्य संस्था रहेको बताइएको छ।
Popularity: 14%
April 28th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बर्दिया राष्ट्रिय निकुञ्जमा चोरीसिकारीले एउटा भाले वयष्क गैँडा मारेका छन्।
अत्याधुनिक हतियारले शनिबार गोली प्रहार गरी गैँडा मारिएको बताइएको छ। उक्त गैँडा निकुञ्ज कार्यालयको पश्चिम भाग गेरुवा नदीछेउ सिसिनियाबाट नजिक कोरियन बगर भन्ने ठाउँमा पानीमा मृत अवस्थामा भेटिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत रेशम थापाले बताउनुभयो।
गैँडाको खाग र पुच्छर तस्करहरूले काटेर लगेको र तस्करहरूले गैँडाको पुच्छर लगेको यो पहिलो घटना भएको पनि अधिकृत थापाले बताउनुभयो।
मृत गैँडाको पोष्टमार्टम गरिएको छ। गत चैत २२ गते पनि सोही ठाउँमा एउटा भाले गैँडा मारिएको थियो। गैँडासँग तस्करहरूले निकुञ्जको संरक्षणमा बसेका नेपाली सेनाका जवान दीपक चौधरीको पनि हत्या गरेका थिए।
उनी आफ्नो घर मनाउ गाविसमा सोही बाटो जाँदै गर्दा तस्करहरूसँग जम्काभेट भएपछि हत्या गरेको हुनसक्ने बताइएको छ।
Popularity: 14%
April 28th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पार्टी कार्यवाहक सभापति सुशील कोइरालाले आफ्नो पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्नुभएको छ।
सिङ्गो मुलुक र नेपाली काङ्ग्रेसका प्रति रहेका चुनौती र जिम्मेवारीलाई मनन् गरी आगामी दिनमा अझ सशक्त र नेतृत्वदायी भूमिका निर्वाह गरी पार्टी सङ्गठनलाई सुदृढ र गतिशील बनाउन कार्यवाहक सभापतिको अझ महत्वपूर्ण भूमिका रहने छ भन्ने विश्वास पनि पार्टी सभापति एवम् प्रधानमन्त्री कोइरालाले व्यक्त गर्नुभएको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
उता, नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले भने महासचिव पदबाट राजीनामा दिएका माधवकुमार नेपालको राजीनामा स्वीकृत गरेको छ। बैठकले अमृत बोहरालाई कार्यवाहक महासचिव पनि नियुक्त गरेको छ।
Popularity: 14%
April 28th, 2008
पुरु जोशी, दक्षिण कोरिया / एचकेनेपाल डट कम-
नेपालको पर्यटन प्रवर्द्धनको लागि गैर आवासीय नेपाली संघको तेस्रो विश्व सम्मेलनको प्रतिवद्धता अनुसार नेपालको पर्यटन तथा उड्ययन मन्त्रालय र नेपाल पर्यटन बोर्डद्धारा स्ञचालित एक साथी देश पठाऊ (Send Home a Friend) कार्यक्रमलाई सफल पार्न नेपाली राजदूतावास दक्षिण कोरिया र एनआन दक्षिण कोरियाको संयुक्त आयोजनामा एक परिचयात्मक कार्यक्रम अप्रिल २७ तारिख आईतबारका दिन नेपाली राजदूतावास दक्षिण कोरियाको कार्यालयमा सम्पन्न भएको छ।

थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
नेपाली राजदूताको प्रमुख आतिथ्य तथा एनआरएन दक्षिण कोरियाका अध्यक्ष गंगाराज राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो। जसमा एनआरएन एसिया प्यासेफिक सहसंयोजक रुद्र शर्मा, नेपाल पर्यटन बोर्डका कोरिया प्रतिनिधि केपी सिटौला, नेपाली विद्यार्थी संगठन सोन्सिकका उपाध्यक्ष भरत भट्टराई, नेपाली राजदूतावासका कन्सुलर यादव खनाल, भोजपुर परिवारका अध्यक्ष एलबी प्रधान, ‘एक साथी देश पठाऊ’ कार्यक्रमका कोरिया प्रतिनिधि दावा नोर्बु शेर्पा, हिमालयन बौद्ध लामा संघका अध्यक्ष कुन्साङ दोर्जे लामा, नेपाल पत्रकार महासंघका महासचिव पुरु जोशी, नेपाली जनसम्पर्क समितिका सहसचिव अर्जुन कठायत, नेपाली सम्पर्क समितिका पूर्व अध्यक्ष बम लावती लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो।

नेपाली राष्ट्रिय गानबाट सुरु भै मौनधारण तथा विभिन्न ब्यक्तिहरुको मन्तब्यबाट शुरु भएको उक्त कार्यक्रमको मूख्य उद्धेश्य एक साथी देश पठाऊ कार्यक्रमलाई कोरियामा बसोवास गर्ने नेपालीहरुलाई परिचय गर्नु रहेको थियो। कार्यक्रमलाई परिचय गर्ने क्रममा कार्यक्रमका अन्तर्राष्ट्रिय संयोजक तथा एनआरएन आईसीसीका प्रतिनिधि तेन्जी शेर्पाले कार्यक्रमबारे बिस्तृत जानकारी गराउनु भएको थियो साथै कोरियन विद्यालयहरुमा पढाइने पाठ्यक्रममा बुद्ध जन्मेको देशको बारेमा सच्याउनु पर्ने बुंदाहरुका बारेमा पनि बिस्तृत जानकारी दिनु भएको थियो।
त्यसैगरि उक्त कार्यक्रमबारे जिज्ञासाहरु भएका ब्यक्तिहरुको लागि एक अन्तरक्रिया संचालन हुंदा थुप्रै नेपालीहरुले आफ्ना जिज्ञासाहरु पोखेका थिए र एनआरएन कोरियाका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति गंगाराज राईले कार्यक्रममा उपस्थित हुनु भएका सबैजनालाई धन्यवाद दिनु हुदै कार्यक्रम बिसर्जन भएको थियो। एनआरएन कोरियाका उपाध्यक्ष ध्यान राईद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको अन्तमा चियापान कार्यक्रम रहेको थियो।
Popularity: 14%
April 28th, 2008
हरिकृष्ण न्यौपाने, ईराक / एचकेनेपाल डट कम-
करीब १ सय २० जना नेपालीहरु ईराकमा अलपत्र परेका छन्। नेपालमा मोटो रकम बुझाएर अबैधानिक तरिकाले इन्डिया-अफगानिस्थान र दुबई ट्रन्जिट हुंदै ईराक आइपुगेका नेपालीहरु यहाँ अलपत्रमा परेका हुन्। धेरै पैसा कमाउने अनि आफू र आफ्नो परिवारलाई सुख दिने सपना बोकेर कोही आफ्नै साथी मार्फत नेपालमा २ लाख ५० हजार रुपैयाँ तिरेर यहाँ आइपुगेका हुन्।
ग्लोबल सेकियुरिटी कम्पनी (Q.F.R.) बग्दाद एरपोर्टमा कार्यरत सुनसरीका कुमार जङ कार्कीका अनुसार टेकबहादुर भण्डारी नाम गरेका व्यक्तिले आफ्ना नातेदार र साथीहरु मार्फत नेपालमै एक ब्यक्ति बराबर २ लाख ५० हजार लिएर इराकमा ल्याइएका नेपालीहरु बग्दाद एरपोर्ट नजिकै काट्को होटल (CATCO HOTEL) मा ५०-६० जनाको दरले साह्रै साँघुरो कोठामा कष्टकर तरिकाले भोकै बस्न वाध्य भएका छन्।
कुमार जङ कार्कीले दलाललाई सम्पर्क गरेर भेट्न खोज्दा भेट हुन सकेन। एकजना पीडितले नाम नखुलाउने सर्तमा भने - ‘ अझै कुनै काम पक्का नभएको, सुत्न र खानाको समस्याले गर्दा अहिले केही नेपाली बिरामी परेका छ्न्।’ पीडितहरुले कतै र कुनै माध्यामबाट पनि यस कुरा आधिकारिक ठाउमा पुर्याउन नसकेकोले अनलाईन पत्रिकामार्फत नेपालमा रहेका आफन्त र आधिकारिक ठाउंमा कुरा पुर्याई दिन सबैमा अनुरोध गरेका छन्। २ बर्ष पहिले ईराकमा १२ जना नेपाली मारिएको घटनाको स्मरण गराउदै उनीहरुले पनि यस्तो स्थिति भोग्न नपरोस् भन्दै सम्बन्धित पक्षले यसमा समयमै ध्यान पुरयाउन आग्रह गरेका छन्। ईराकमा नेपाली दूताबास नभएको र दलाल टेकबहादुर भण्डारी र उनका ज्वाईले कसैलाई खबर गर्न दिएका छैनन्। उनीहरुलाई आफ्नो परिवारमा सम्पर्क गर्न समेत दिएका छैनन्।
यस घटनाको बारेमा अरु थप जानकारी चाहिइएमा harineupane_3@yahoo.com ठेगानामा सम्पर्क गर्न सकिने छ।
अनकुण्डा बलाद ईराकबाटः हरिकृष्ण न्यौपाने
( harineupane_3@yahoo.com)
(कालिका-१ सिन्धुपाल्चोक)
Popularity: 14%
April 28th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले) केन्द्रीय कमिटीको १८ औँ बैठक आइतबार मध्याह्न १२ बजेदेखि केन्द्रीय कार्यालयमा बसिरहेको छ। यो बैठकले माधवकुमार नेपालले महासचिव पदबाट दिनुभएको राजीनामा, सरकारमा एमाले मन्त्रीहरुले दिएको राजीनामा फिर्ता लिन प्रधानमन्त्रीले गर्नुभएको आह्वान आदिबारे छलफल हुने बताइएको छ।
स्थायी कमिटीको हिजो बसेको बैठकले पार्टीले आजदेखि सुरु हुने केन्द्रीय कमिटीको १८ औँ बैठकका कार्यसूचीहरू तय गरेको छ।
कार्यवाहक महासचिव अमृतकुमार बोहराको अध्यक्षतामा भएको सो बैठकमा कार्यवाहक महासचिवद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनका बारेमा पनि छलफल भएको पार्टीले जनाएको छ।
बैठकले दलहरूबीचको सहकार्यमा जोड दिँदै त्यसका लागि व्यापक छलफल गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ। बैठकले संविधानसभाको निर्वाचन सम्पन्न भइसकेपछि नयाँ संविधान बनाउने प्रक्रियामा सबै दलहरूबीच सहमति हुनुपर्ने र सोही आधारमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएको पनि थाहा भएको छ।
Popularity: 15%
April 27th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विगत तीन दिनयता यहाँ गर्मी अत्यधिक बढेको छ। भैरहवास्थित मौसम कार्यालयका अनुसार भैरहवाको तापक्रम ४०.६ डिग्री सेल्सियस पुगिसकेको छ। बुटवलको तापक्रम पनि त्यसैको हाराहारीमा छ।
मौसम विज्ञान सहायक रामबाबु मिश्रका अनुसार चर्को घाम र पश्चिमी वायुका कारण गर्मी अत्यधिक बढेको हो। गर्मीबाट बच्न सर्वसाधारणले दिउँसो कम हिँडडुल गर्न थालेका छन्।
गर्मीको वृद्धिसँगै काँक्रो, खजुरा, उखुको रस, आइसक्रिम, बरफ र चिसो पेय पदार्थको प्रयोग बढेको छ। गर्मीका कारण घमौरा र आँखा पाक्ने रोग सुरु हुनुका साथै लामखुट्टे पनि अत्यधिक लाग्न थालेको छ।
भैरहवा देशकै सर्वाधिक गर्मी हुने ठाउँमध्ये एक हो। यहाँ सन् १९९५ को मे ३ मा सर्वाधिक ४५.२ डिग्री तापक्रम रेकर्ड भएको थियो।
Popularity: 15%
April 27th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा एमाले निकट अनेरास्ववियु भूतपूर्व काउन्सिलले नेकपा एमालेले आफ्नै कारणले संविधानसभा निर्वाचनमा अनपेक्षित पराजय व्यहोर्नु परेको निष्कर्ष निकालेको छ।
काउन्सिलको भेलाले सो निष्कर्ष निकालेको हो। भेलाले पार्टी केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजक समिति निर्माण गर्न पार्टीलाई सुझाव दिएको छ।
भेलाबाट पारित गरिएको १२ बुँदे सुझाव नेकपा (एमाले) का कार्यवाहक महसचिव अमृतकुमार बोहरालाई बुझाइएको काउन्सिलका संयोजक घनश्याम भुसालले बताउनुभयो।
काउन्सिलले चुनौतीको सामना गर्दै अगाडि बढन पार्टीलाई सुझाव दिएको छ।
सो सुझाव पत्रमा पार्टी पुनर्गठनको मुद्दालाई उपेक्षा गर्दा निर्वाचनमा नेकपा माओवादीको चुनौती सामना गर्न नसकिएको उल्लेख गरिएको छ।
भेलाले प्रजातन्त्रको नाममा नेपाली काङ्ग्रेसको यथास्थितिवादी र क्रान्तिको नाममा माओवादीको उग्रवाद विरुद्ध नेकपा एमाले सन्तुलित भएर अगाडि बढनुपर्ने सुझावपनि दिएको छ।
Popularity: 15%
April 27th, 2008
भारतको उत्तर प्रदेशमा सुरु भएको विश्व हिन्दू महासङ्घको २०अौँ महासम्मेलनमा नेपाललाई हिन्दु राज्य नै कायम राख्नुपर्नेमा जोड दिइएको छ।
महासम्मेलनको उदघाटन सत्रमा सहभागी वक्ताहरुले नेपालको प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउन हिन्दु समाजका सबै उपासनालाई जोडेर नेपाललाई हिन्दु राज्य कायम राख्नमा जोड दिएका छन्।
उहाँहरुले हिन्दु धर्म र संस्कृतिलाई जोगाउन सबै हिन्दु एक हुनुपर्दछ भन्दै क्रान्ति नै शान्ति हो, शान्तिबाट मुलुक बन्छ, त्यसैले नेपालमा हिन्दूराज्यको एकतालाई जगाएर अघि बढनुपर्दछ भन्नुभयो।
नेपालको अखण्डता र स्थिरताको लागि नेकपा माओवादीअगाडि आउनु खतरा रहेको आरोप लगाउँदै उहाँहरुले अन्तरिम सरकारले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न नमिल्ने बताउनुभयो।
सो अवसरमा गोरक्षनाथ पीठाधीसका उत्तराधिकारी एवं भारतको लोकसभाका सदस्य योगी आदित्यनाथले नेपालमा देखिएको धार्मिक चुनौति नेपालको मात्र नभएर समग्र भारतवर्षो पनि भएकेाले सो चुनौतिको सामना गर्न वृहत हिन्दु समाज एकजुट हुनुपर्ने बताउनुभयो।
भारतका पूर्व केन्द्रीय मन्त्री डा.सुब्रमन्यम स्वामीले नेपालको सत्तामा रहेको नेकपा माओवादीको सम्बन्ध भारतको आतङ्कवादी सङ्गठनहरुसँग रहेको आरोप लगाउँदै माओवादीबाट भारतको आन्तरिक सुरक्षामा समेत खतरा हुने बताउनुभयो।
उहाँले नेकपा माओवादीले राजालाई निशाना बनाएर हिन्दु धर्म प्रति नै प्रहार गरेको उल्लेख गर्दै भारतमा हिन्दु सरकार बनेमा नेपालको सुरक्षा हुने बताउनुभयो।
विश्व हिन्दु परिषद्का अन्तरराष्ट्रिय अध्यक्ष अशोक सिङ्घलले हिन्दु समाजको अपमान गर्न अहिले अनेक प्रयत्न भइरहेको जसको ज्वलन्त उदाहरण अहिले नेपालमा देखिएको छ भन्दै हिन्दु राष्ट्र नेपाललाई अन्तरिम सरकारले धर्म निरपेक्ष घोषणा गर्नु भनेको हाम्रो धर्म संस्कृतिलाई विनाश गर्ने खुला चुनौती हो भन्नुभयो।
उहाँले नेपाल हिन्दु राष्ट्र नभएमा उसको अस्तित्व नै मेटिन सक्ने चिन्ता व्यक्त गर्दै नेपालको हिन्दु चरित्रको रक्षा गर्नु आजको आवश्यकता भएकोले नेपाललाई हिन्दु राष्ट्र बनाउन एक मोर्चाको आवश्यक भएको बताउनुभयो।
विश्व हिन्दु महासङ्घ अन्तरराष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहले आफ्नो पाँच वर्षको कार्यकालको गतिविधि माथि प्रकाश पार्दै नेपालमा देखिएको राजनीतिक सङ्क्रमणबाट महासङ्घले ठूलो चुनौतिको सामना गर्नु परेको बताउनुभयो।
उहाँले यस अवधिमा महासङ्घले आफ्नै कार्यालय भवन बनाउन सकेको, राष्ट्रिय र अन्तरराष्ट्रिय सम्बन्ध बढाएको, नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्दा महासङ्घले प्रधानमन्त्री र सांसदहरुलाई हिन्दु राज्य कायम गर्न दवाव दिएको उल्लेख गर्नुभयो।
अध्यक्ष सिंहले सो अवसरमा महासम्मेलनको सफलताको कामना गर्दै राजा ज्ञानेन्द्रबाट प्राप्त सन्देश पढेर सुनाउनुभएको थियो।
Popularity: 15%
April 27th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पुल्चोक इन्जिनीयरिङ क्याम्पसको रोवोटिक्स क्लबले शनिबार काठमाडौँमा आयोजना गरेको चौथो राष्ट्रिय रोवोट प्रतियोगिताको रोवोकल उपाधि हिमालय कलेज अफ इन्जिनीयरिङ शङ्खमूलले जितेको छ।
देशभरिका नौ वटा कलेजहरुबीच भएको प्रतियोगिताको फस्ट रनर अप उपाधि एक्मी कलेज सीतापाइलाले हात पारेको छ।
प्रतियोगिताको उद्घाटनका क्रममा सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले विज्ञान र प्रविधिको अहिलेको युगमा पनि राज्यले दायित्व निर्वाह गर्न नसकेको भन्दै आगामी दिनमा यो क्षेत्रलाई राज्यले पूर्ण सहयोग गर्नुपर्ने बताउनुभयो।
विगत तीन वर्षदेखि भिन्दाभिन्दै खेल शीर्षकमा सञ्चालन हुँदै आइरहेको रोवोट प्रतियोगिता यस वर्ष रातो मच्छिन्द्रनाथको रथ यात्रामा आधारित “भोटोजात्रा’ शीर्षकमा रहेको थियो।
पुल्चोकमा रथ बन्ने र त्यसलाई जावलाखेलमा पुर्याई भोटो देखाउने परम्परालाई रोचक एवं प्राविधिकतवरबाट रोवोटहरुले प्रस्तुत गरेका थिए।
कार्यक्रममा हिमालयन इन्टरनेशनल आइडियल स्कुलका कक्षा ९ र ७ मा अध्ययनरत कविन्द्र पुनमगर र समर्पण राईले पनि आफूहरुले तयार गरेको रोवोट प्रदर्शन गरेका थिए।
रोवोटिक्स क्लबले विगत ९ वर्षमा १० वटा अन्तरराष्ट्रिय रोवोट प्रतियोगितामा सहभागी भइसकेको जनाएको छ।
Popularity: 15%
April 27th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गत चैत २७ गते लोकसेवा आयोगले निकालेको विज्ञापनप्रति अस्थायी स्वास्थ्यकर्मीहरु असहमत हुँदै आफ्नो चार सूत्रीय माग प्रस्तुत गरेका छन्।
अस्थायी स्वास्थ्यकर्मी केन्द्रीय सङ्घर्ष समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष जीवन विसीले यदि सरकारले आफ्नो माग प्रति वेवास्ता गरे आन्दोलनमा उत्रने जनाएका छन्।
अध्यक्ष विसीले लोकसेवा आयोगले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेकोसमेत आरोप लगाए।
सङ्घर्ष समितिले अस्थायी स्वास्थ्यकर्मीलाई प्रक्रिया पुर्याई स्थायी गरिनुपर्ने, सीएमए कोर्स पूरा गर्नेलाई सोझै औषधि व्यवसायमा सहभागी गराउनुपर्नेलगायतका माग सरकार समक्ष पेश गरेको छ।
Popularity: 15%
April 27th, 2008
ठाकुर प्रसाद दवाडी, दक्षिण कोरिया / एचकेनेपाल डट कम-
विभिन्न देशबाट कामको सिलसिलामा दक्षिण कोरियामा बसोवास गर्दै आएका प्रवासी मजदुरहरुको वास्तविकता तथा उनीहरुको समय सान्दर्भीक विषय वस्तुलाई झल्काउदै आएको मजदुर टेलिभिजन संस्था एमडव्लु टिभी (MWTV) को तेश्रो बार्षिक उत्सव २७ तारिखका दिन शनिवार सम्पन्न भएको छ।

सो अवसरमा विभिन्न ११ देशका मजदुरहरुले आ-आफ्ना देशको संस्कृति तथा समसामयिक विषयहरुलाई झल्काउने कार्यक्रमहरु प्रस्तुत गरेका थिए। नेपालका तर्फबाट नेपाल कोरिया साँकृतिक मञ्चले सहभागिता जनाएको थियो। उक्त कार्यक्रममा जतिन श्रेष्ठ, गीता पौडैल र रोसन भट्टराईले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा एनसीसीका अध्यक्ष इश्वर के सी, एनआरएन कोरियाका अध्यक्ष गंगा राई, एनकेसीएफका अध्यक्ष प्रेम गुरुङ, खेलकुद तथा सांस्कृति समितिका अध्यक्ष भरत गुरुङ, नेपाल बौद्ध परिवारका अध्यक्ष नरेन्द्र गुरुङ, एमटीयुका अध्यक्ष तोर्ण लिम्बू, आपतकालिनका अध्यक्ष रघु त्रिपाठी तथा टुरिजम वोर्ड कोरियाका प्रतिनिधि के.पि. सिटौलाको उपस्थिति रहेको थियो।
एडब्लु टिभीले ११ वटा भाषामा समाचार तथा आफ्नो देशको वास्तविक विषय वस्तुलाई प्रस्तुत गर्दै आएको छ। उक्त टेलिभिजनमा मिनोद मोक्तान, अशोक थापा तथा गीता पौडेलले नेपाली कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ।
तस्विरः विपिन प्रसाई, दक्षिण कोरिया / एचकेनेपाल डट कम।



Popularity: 15%
April 27th, 2008
Previous Posts