Archive for April 6th, 2008

कोरियामा नेकपा (माओवादी) समर्थकहरुको कार्य समिति गठन

सुविन बुढा मगर, द. कोरिया / एचकेनेपाल डट कम -
दक्षिण कोरियाको सिओलमा अप्रिल ५ तारिख शनिबारका दिन विभिन्न पेशा र व्यवसायमा कार्यरत नेकपा ( माओवादी र प्रचण्ड पथ) समर्थकहरुको भेला सम्पन्न भएको छ।

इतिहासमा पहिलो पटक जनता आफै संविधान बनाउने संविधानसभाको निर्वाचन सफल वनाउने र संविधानसभामा नेकपा माओवादीलाई आर्थिक सहयोग पुग्ने गरी दक्षिण कोरियामा रहेका नेकपा माओवादी समर्थक नेपालीहरुको भेलाले नेपाली जनअधिकार मञ्च दक्षिण कोरिया गठन गरेको छ।

भेलाले ११ जना रहने गरी एक कार्य समिति पनि गठन गरेको छ। कार्यसमितिमा अध्यक्ष वावुराम तामाड, महासचिव हरेराम ढकाल, उपाध्यक्ष विष्णु क्षेत्री र डिलिराज भण्डारी, सचिव केशवप्रसाद फुयाँल, कोषाध्यक्ष वलराम पौडेल र सदस्यहरुमा नरमाया न्यौपाने, छत्र प्रधान, जयवहादुर खाती, अशोक बुढा मगर, सोम तामाङ चयन भएका छन्। त्यसै गरी सल्लाहकारहरुमा गगन पुन मगर, खेम घर्ति मगर, रविन थापा मगर र नेत्र गौतमलाई चयन गरिएको सचिव केशव प्रसाद फुयाँलले वताउनु भयो। नव गठित मञ्चले सम्पूर्ण देशी विदेशी प्रतिगामी षडयन्त्रहरुलाई चकनाचुर पार्दे नेकपा ( माओवादी) सम्पूर्ण शक्तिसहित संविधान सभाको निर्वाचनमा होमिएको छ। देशको आमुल परिवर्तन र दिगो शान्तिको लागि संविधानसभा निर्वाचनमा नेकपा माओवादीलाई विजय वनाउन आग्रह गरिएको छ। दक्षिण कोरियामा चांडै नै क्षेत्रीय कार्यसमितिहरु पनि विस्तार गर्ने बताएको छ।

साथै नव गठित नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाले संविधानसभाको निर्वाचन सफल र दिगो शान्ति, समुन्नत नयाँ नेपालको निमार्ण कार्यका लागि सहयोग स्वरुप नेकपा (माओवादी) पार्टीलाई ने. रु. १ लाख पठाएको सल्लाहकार गगन पुन मगरले वताउनु भयो।

Popularity: 14%

1 comment April 6th, 2008

माअ‍ोवादीको आक्रमणलाई जस्ताको तस्तै फर्काइनेः केसी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुननर्सिंह केसीले नेकपा माओवादीको आक्रमण र धम्कीलाई अव जस्ताको तस्तै फर्काइने बताउनुभएको छ।

नेपाली काङ्ग्रेसलाई गरिने आक्रमण टुलुटुलु हेरेर बसिरहेको भ्रम माओवादीमा परेकोले थप अराजक र उग्र बनेको उल्लेख गर्दै प्रवक्ता केसीले प्रतिकार गर्न नेपाली काङ्ग्रेस तयार रहेको बताउनुभएको छ।

नुवाकोटको क्षेत्र नं. १ मा आयोजित चुनावी सभालाई संम्बोधन गर्दै प्रवक्ता केसीले उक्त कुरा बताउनुभएको हो।

काङ्ग्रेसको नेतृत्वमा माओवादीलाई शान्ति मार्गमा ल्याइएकोले अभिभावकको रुमपा भूमिका निर्वाह गरिहँदा माओवादीको आक्रमण समेतलाई काङ्ग्रेसले यस अघि सहेर बसेको उहाँले बताउनुभयो। ‘तर अव माओवादीलाई काङ्ग्रेसले उस्तै जवाफ फर्काउनेछ’ केसीले भन्नुभयो।

चुनावी मैदानमा जस्तो सुकै झण्डा र विचारहरु देखापरे पनि नेपाली काङ्ग्रेसले हरेक विचारलाई सम्मान गर्ने उहाँले बताउनुभयो।

Popularity: 14%

2 comments April 6th, 2008

भोलि मध्यरातदेखि मौन अवधि सुरु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
निर्वाचन आयोगले चैत २५ राति १२ बजेदेखि चैत २८ गतेका दिन मतदान कार्य सम्पन्न नभएसम्मको मौन अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारले कुनै पनि किसिमको निर्वाचन प्रचारप्रसार गर्न वा राजनीतिक सन्देश दिन नपाउने र कसैले कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नारावाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाउने व्यवस्था रहेको स्पष्ट गरेको छ।

त्यस्तै सञ्चार माध्यमहरुले पनि त्यस्तो मौन अवस्थामा दल वा उम्मेदवार विशेषलाई लक्षित गरी निर्वाचन सम्बन्धी प्रचारप्रसार, राजनीतिक सन्देश वा निर्वाचन अभियानको प्रसारण वा प्रकाशन गर्न नपाउने व्यवस्था रहेको आयोगका प्रवक्ता लक्ष्मण भट्टराईले प्रेस विज्ञप्ति जारी गरी स्पष्ट गर्नुभएको छ।

यस व्यवस्थाले मतदाता शिक्षा, निर्वाचन सम्बन्धी सूचनाहरु एवं निर्वाचन सम्बन्धी जानकारीमूलक सन्देश सम्प्रेषण गर्न वा मुलुकका विभिन्न स्थानमा भएका निर्वाचन सम्बन्धी गतिविधि र समाचार प्रकाशन तथा प्रशारण गर्न रोक नलगाएको जनाउँदै विज्ञप्तिमा सो अवधि भित्र कुनै दल वा उम्मेदवारको प्रचारप्रसारसम्ममा रोक लगाएको तर नागरिकको सूचना प्राप्त गर्ने संवैधानिक हकलाई अतिक्रमण गर्ने मनसाय भने नरहेको पनि उल्लेख गरिएको छ।

Popularity: 14%

1 comment April 6th, 2008

नेका उम्मेदवार माथि आक्रमण

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नवलपरासी क्षेत्र नं. ३ का नेपाली काङ्ग्रेसका उम्मेदवार ओमकला गौतम माथि कावासोतीमा वाइसीएल कार्यकर्ताले आक्रमण गर्दा उहाँ सामान्य घाइते हुनुभएको छ।
कावासोतीतर्फ जीप चढी आउँदै गर्दा उहाँमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।

उम्मेदवारमाथि आक्रमण गरी वाइसीएल कार्यकर्ताले सात वटा मोटरसाइकल तोडफोड गरेका थिए।

झडपमा नेवि सङ्घका पाँच जना, वाइसीएलका तीन जना र दुई प्रहरी घाइते भएका छन्।

घाइते हुनेहरुमा नेवि सङ्घका रामकृष्ण महतो, सुरेश श्रेष्ठ, दिवाकर चालिसे, तपेन्द्र गुरुङलगायतका रहेका छन् भने प्रहरीतर्फ कृष्ण नेपाली र पदम कार्की छन्। कार्कीको हात भाँच्चिएको छ।

घटना पछि नेपाली काङ्ग्रेस र्समर्थक नेवि सङ्घले प्रतिकार गर्दा वाइसीएलका बालकृष्ण रानाभाट, पुरुषोत्तम अर्याल, कृष्ण विक घाइते भएकाछन्। उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ।

प्रतिकारमा नेवि सङ्घले माओवादीको पार्टी कार्यालय र जीपसमेत तोडफोड गरेका छन्। प्रहरीले भिडलाई नियन्त्रणमा लिइसकेपछि साँझ छ बजेबाट स्थिति सामान्य भएको छ।

Popularity: 13%

1 comment April 6th, 2008

निर्वाचनका लागि चक्काजाम

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
यही चैत २८ गते हुने संविधानसा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण सम्पन्न गर्नका लागि चैत २७ गते राति १२ बजेदेखि चैत २८ गते राति १२ बजेसम्मका लागि यातायातका सम्पूर्ण साधनहरु बन्द हुने गृह मन्त्रालयले जनाएको छ।

मतदानको दिन चैत २८ गते सुरक्षा निकायलगायत निर्वाचन आयोगले पास दिने भनी तोकिएका निकायका सवारी साधनहरु सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले दिएको अनुमति (पास) अनुसारमात्र सञ्चालन गर्न पाइने र यस्तो पास पाएका सवारी साधनले पास देखिने गरी सवारी साधनमा टाँसेर चलाउनु पर्ने व्यवस्था गरिएको छ।

उक्त दिन अनमिन, ओएचसीएचआर र आइसीआरसी नामक संस्थाका सवारी साधनहरुलाई पासको आवश्यकता नपर्ने र मानवीय उद्धार तथा संरक्षण एवं सहायतामा प्रयोग गरिने सवारी साधनको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अनुमति लिई प्रयोग गर्न सकिने पनि गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

Popularity: 13%

Add comment April 6th, 2008

भत्काउन मात्र सिकेकोले कसरी नयाँ नेपाल बनाउलाः अ‍ोली

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा एमालेका स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले भत्काउन मात्र सिकेको समूहले नयाँ नेपाल निर्माण गर्न नसक्ने बताउनुभएको छ।

अखिल नेपाल महिला सङ्घले झापाको विर्तामोडमा आयोजित २ नम्बर क्षेत्रीय चुनावीसभालाई सम्बोधन गर्दै ओलीले नयाँ नेपाल एमालेले मात्र बनाउन सक्ने दावी गर्नुभयो।

उहाँले अन्तरिम सरकारको एमालेले नेतृत्व गरेको भए छ महिनाभित्रमा नै सविधानसभाको निर्वाचन गराउने थियो भन्दै सक्षम पार्टीले सरकारको नेतृत्व नगरेकै कारण संविधानसभाको मिति पटकपटक सरेको बताउनुभयो।

झापा क्षेत्र नं. ७ का एमालेका उम्मेदवार रहनु भएका ओलीले देशलाई अग्रगमनतर्फ काङ्ग्रेसले लान नसक्ने जिकीरसमेत गर्नुभयो।

कार्यक्रममा एमालेकी २ नम्बर क्षेत्रकी उम्मेदवार मेनका काफ्ले, समानुपातिक उम्मेदवार जीतु गौतम, विमला विक, जीवन घिमिरे, मानसिंह राजवंशीलगायतले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रम एमालेका जिल्ला सदस्य हरिचरण शिवाकोटीको सभापतित्वमा सम्पन्न भएको थियो।

Popularity: 13%

1 comment April 6th, 2008

अनेसास बेल्जियमले “वसन्त कवि गोष्ठी” गर्ने

सम्वाददाता, ब्रसेल्स / एचकेनेपाल डट कम-
नव वर्ष २०६५ को पूर्व सन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमले १२ अप्रिल शनिवारका दिन ब्रसेल्समा “वसन्त कवि गोष्ठी” तथा साहित्यिक पत्रिका “शब्दाञ्जलि” बिमोचन गर्ने भएको छ ।

वसन्त ऋतुलाई काब्य सृजनाका लागि उर्वर समय मानिन्छ । यही अवसरमा आयोजना गरिन लागेको कार्यक्रममा उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको छ। बेल्जियममा रहनु भएका कवि साहित्यकारहरुलाई आ-आफ्ना रचनासहित उपस्थित हुन र बेल्जियमदेखि बाहिरी देशका कविहरुलाई sabdanjali@gmail.com मा आ-आफ्ना कविता पठाउन हुन अनुरोध गरिएको छ। इमेलबाट प्राप्त कविताहरु उक्त अवसरमा बाचन गरिने कुरा अनेसास बेल्जियमका अध्यक्ष कृष्ण बजगाईंले बताउनु भएको छ।

Popularity: 13%

Add comment April 6th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2008
M T W T F S S
« Mar   May »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....