Archive for April 24th, 2008

तेक्वान्दो खेलाडी दिपक बिष्ट दक्षिण कोरियाबाट चीन प्रस्थान

पुरु जोशी, दक्षिण कोरिया / एचकेनेपाल डट कम, अप्रिल २४ -
चीनमा आयोजना हुने बेइजिङ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी दिपक बिष्ट आज बिहान दक्षिण कोरियाको इन्छन् एयरपोर्ट हुंदै चीन तर्फ प्रस्थान गरेका छन्।

विष्टसंग अर्का राष्ट्रिय तेक्वान्दो खेलाडी पुष्प थापा मगर र कोरियन कोच मिष्टर ख्वान् पनि साथै गएका छन्। चीनको ग्वाङजाउ शहरमा अप्रिल २६ देखि २८ सम्म आयोजना हुने अठारौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशीपमा नेपालको प्रतिनिधित्व गर्न नेपाली खेलाडीहरु त्यसतर्फ गएका छन्। दक्षिण कोरियामा ओलम्पिक खेलको लागि गत महिनादेखि ट्रेनिङको लागि आएका दिपक बिष्ट र विष्टका टोलीले मे १ मा पुनः दक्षिण कोरिया आई आफ्नो अभ्यासलाई निरन्तरता दिने छन्।

Popularity: 16%

Add comment April 24th, 2008

बहुमत कसैको आएन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा निर्वाचनको अन्तिम चरणको मतगणनाले संविधानसभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त नगर्ने देखाएको छ। कुल ६०१ सदस्य रहने संविधानसभाका लागि बहुमत प्राप्त गर्न कुनै पनि दलले कम्तीमा ३०१ स्थान अर्थात् ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने भए पनि प्राप्त मत परिणाम विश्लेषण गर्दा ठूला दल बहुमत प्राप्त गर्ने स्थितिमा देखिएका छैनन्।

प्राप्त मतगणनाअनुसार नेकपा (माओवादी)ले दुवै निर्वाचन प्रणालीबाट करिब २२० स्थान प्राप्त गरी ठूलो दलका रुपमा आफूलाई स्थापना गराएको छ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअर्न्तर्गत सम्पूर्ण २४० निर्वाचन क्षेत्रको मतगणना समाप्त भएको जनाएको छ।

समानुपातिकतर्फ माओवादीले कुल मतको २९.२९ प्रतिशत मत प्राप्त गरेकाले सोअनुरुप करिब १०० स्थान प्राप्त गर्नेछ। माओवादीले प्रत्यक्षबाट १२० स्थान जितिसकेको छ। दुवै निर्वाचन प्रणालीबाट माओवादीले २२० स्थान प्राप्त गर्नेछ।

यसैगरी, दोस्रो ठूलो दल नेपाली काङ्ग्रेसले प्रत्यक्षबाट ३७ र समानुपातिकबाट ७३ स्थान गरी ११० स्थान प्राप्त गर्नेछ भने नेकपा (एमाले)ले प्रत्यक्षबाट ३३ र समानुपातिकबाट ७० गरी १०३ स्थान प्राप्त गर्नेछ।

तराईबाट प्रतिनिधित्व गर्ने नवगठित मधेशी जनअधिकार फोरमले प्रत्यक्षबाट ३० र समानुपातिकबाट २२ गरी ५२ स्थान तथा तराई-मधेश लोकतान्त्रिक पार्टीले प्रत्यक्षबाट ९ र समानुपातिकबाट करिब ११ स्थान गरी २० स्थान प्राप्त गर्नेछन्।

समानुपातिकतर्फ सिट जित्‍नेमा राप्रपा र मालेले आठ-आठ, सद‍भावना, जनमोर्चा र नेकपा संयुक्तले पाँच-पाँच सिट रहेका छन्। समानुपातिकमा दुई सिट जित्‍ने पार्टीहरुमा नेमकिपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सदभावना आनन्दीदेवी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली जनता दल र नेकपा एकीकृत रहेका छन्।

त्यसैगरी एक सिट जित्‍नेमा दलित जनजाति पार्टी, नेपाः राष्ट्रिय पार्टी, समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल, चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक समाजवादी दल र नेपाल परिवार दल रहेका छन्।

समानुपातिमा भाग लिएका अन्य २९ दलले कुनै सिट पाउन सकेको छैन।

Popularity: 16%

Add comment April 24th, 2008

स्वदेशी र विदेशी लगानीको फ्युजन गरिने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली अर्थतन्त्रमा स्वदेशी तथा विदेशी लगानीको फ्युजनबाट तीव्रतर आर्थिक विकास हासिल हुने भएकाले यसका लागि स्वदेशी पुँजीलाई प्राथमिकता दिई आन्तरिक लगानी प्रवर्द्धन कार्यमा उपयुक्त वातावरण निर्माण गरिने धारणा व्यक्त गर्नुभएको छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारको नेतृत्वमा गएको चेम्बर प्रतिनिधिमण्डलसँग आज भएको भेटघाटका अवसरमा अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको चेम्बरले जनाएको छ।

सो अवसरमा अध्यक्ष प्रचण्डले स्वदेशी लगानी प्रवर्द्धन नभएमा विदेशी लगानीसमेत आकषिर्त हुननसक्ने भएकाले यसका लागि उपयुक्त वातावरण निर्माण गरिने बताउनुभयो।

उहाँले विभिन्न औद्योगिक प्रतिष्ठानमा विगतमा ट्रेड युनियनबाट भएका समस्यामा अब त्यस्तो किसिमको बाधाविरोध नगरी औद्योगिक सम्बन्ध कार्यमा सहयोगात्मक भूमिका रहने दृढता पनि व्यक्त गर्नुभयो।

नयाँ नेपाल निर्माणमा सबै क्षेत्रको सोचमा परिवर्तन जरुरी भएकाले सोहीअनुरुप सबै मिलेर राष्ट्र निर्माणमा जुट्न अध्यक्ष प्रचण्डले आग्रह गर्नुभयो।

मुलुकमा आमूल परिवर्तनका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिकाबिना सम्भव छैन भने अर्कोतर्फसबै राजनीतिक दलसँग मिलेर राष्ट्र निर्माणमा लाग्नुपर्ने र हालको अन्तरराष्ट्रिय कारणबाट खाद्य समस्या र पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधान गर्न आफू गम्भीर रहेको अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभयो।

साथै उहाँले निजी पुँजीबाट लगानी, नाफा र रोजगारीका अवसरमा समेत वृद्धि हुने विश्वास पनि व्यक्त गर्नुभयो।

Popularity: 16%

Add comment April 24th, 2008

भारतीय सुरक्षाकर्मीले नेपाली महिला कुटे

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले सुनसरी हरिपुर-६ को नेपाली भूमिमा प्रवेश गरी छजना महिलालाई कुटपिट गरेका छन्।

एसएसबीका जवानहरुले नेपाली महिलाहरुमाथि दुर्व्यवहार गर्न खोजेपछि प्रतिवाद गर्दा उनीहरुलाई कुटपिट गरिएको हो।

हिजो बिहान सात बजेतिर एसएसबीका जवानहरुले दसगजा आसपासमा दिसापिसाब गर्न गएका महिलामाथि कुटपिट भएपछि हरिपुर राजमार्ग खण्डमा चक्काजाम भएको छ।

दुइ दिनअघि पनि एसएसबीका जवानहरुले कप्तानजङ्ग सीमाक्षेत्रमा नेपाली युवाहरुलाई कुटपिट गरेका थिए।

कुटपिटमा परेका महिलामध्ये विसुन्तीदेवी सदाको अवस्था गम्भीर रहेको बताइएको छ।

कुटपिटमा लक्ष्मी सदा, घुर्नी सदा, रेश्मी सदा र सोनाई सदा घाइते भएका छन्। घाइते सबैलाई जिल्ला अस्पताल, इनरुवामा उपचार्रार्थ भर्ना गरिएको छ।

एसएसबीका जवान र हरिपुरका महिलाहरुबीच भएको झडपका क्रममा एसएसबीका केही जवानसमेत घाइते भएको सीमा प्रहरी कार्यालय, भण्टाबारीले बताएको छ।

सो घटनापछि बढेको तनाव कम गर्न दुवै देशका प्रहरी अधिकारीबीच छलफल भइरहेको प्रहरी उपरीक्षक रुपम लामाले बताउनुभयो।

Popularity: 15%

Add comment April 24th, 2008

काङ्ग्रेस कार्यकर्तामाथि कुटपिट

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय जनमोर्चा नेपालका कार्यकर्ताले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई आक्रमण गरी घाइते बनाएका छन्।

जनमोर्चाका कार्यकर्ताले बागलुङ जिल्लाको पैयुँथन्थाप गाविस वडा नं.३ पिप्लेमा काङ्ग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नुका साथै उनीहरुका घर, गोठसमेत भत्काइदिएको नेपाली काङ्ग्रेसका जिल्ला सचिव प्रकाश शर्मा पौडेलले प्रेस विज्ञप्तिमार्फत् जनाएका छन्।

जनमोर्चाका कार्यकर्ताले चन्द्रकला शर्मा आचार्यको हात भाँचिदिएको, उनकी श्रीमान दुर्गाप्रसाद आचार्य, छोरा मुक्ति आचार्य, ६५ वर्षीया आमा दीपा आचार्य र भाइ प्रेम आचार्यलाई कुटपिट गरी घाइते बनाएको तथा मुक्ति आचार्य र दुर्गाप्रसाद आचार्यलाई अपहरण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैगरी उनीहरुले धुल्लु बास्कोटमा काङ्ग्रेस कार्यकर्ता दलबहादुर थापालाई आक्रमण गरी घाइते बनाएको र अपराधीलाई कारबाही गर्न प्रशासनसमक्ष माग गर्दासमेत कुनै पहल नगरिएको सचिव पौडेलले बताएका छन्।

Popularity: 15%

Add comment April 24th, 2008

चौध अञ्चललाई नै सङ्घ राज्यमा विस्तार गर्नुपर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे रोहितले जातजाति र भाषाभाषीका आधारमा सङ्घीय राज्य बनाइएमा देश टुक्रिने सम्भावना हुन्छ भन्दै हालको १४ अञ्चललाई नै सङ्घ राज्यमा विस्तार गर्नुपर्ने बताउनुभएको छ।

नेपाल मजदुर किसान पार्टी बागेश्वरी गाउँ इकाई समितिद्वारा बागेश्वरीमा आयोजित बधाई ज्ञापन कार्यक्रममा उहाँले बहुसङ्ख्यक जनताको हितका लागि अब बन्ने संविधान समाजवादी गणतन्त्रअनुसारको हुनुपर्नेमा जोड दिनुभयो।

Popularity: 15%

1 comment April 24th, 2008

एसएलसी उत्तरपुस्तिकाको परीक्षण बल्ल सुरु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय र परीक्षा नियन्त्रण कार्यालयमा २०६४ सालको चैत दोस्रो साता सम्पन्न प्रवेशिका (एसएलसी) परिक्षाको उत्तरपुस्तिका परीक्षण गर्ने कार्य सुरु गरेको छ।

केन्द्रले परीक्षामा सहभागी सबै परीक्षार्थीको उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभरि ४० वटा उत्तरपुस्तिका परीक्षण केन्द्र स्थापना गरी उत्तरपुस्तिका परीक्षण गर्ने कार्य सुरु गरेको परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।

चालीस वटा केन्द्रमध्ये केहीमा उत्तरपुस्तिका परीक्षण गर्ने कार्य सम्पन्न भएको तथा केही परीक्षण केन्द्रमा भने आवश्यक तयारी भइरहेको छ।

आइतबारदेखि सबै केन्द्रमा उत्तर पुस्तिका परीक्षण सुरु भइसक्ने बताइएको छ।

उत्तरपुस्तिका परीक्षणका लागि आवश्यक सुरक्षा व्यवस्थासमेत मजबुत पारिएको छ।

गत वर्षसम्म परीक्षा सम्पन्न भएलगत्तै उत्तरपुस्तिका परीक्षण गर्ने गरिए पनि यस वर्ष भने परीक्षा सम्पन्न भएलगत्तै संविधानसभा निर्वाचनका लागि शिक्षक खटिएर गएका कारण करिब तीन साता ढिला परीक्षण सुरु भएको हो।

Popularity: 15%

1 comment April 24th, 2008

बेल्जियममा लोकतन्त्र दिवस सम्पन्न (+Photo)

सम्वाददाता, ब्रसेल्स / एचकेनेपाल डट कम, अप्रिल २३ -
नेपाली राजदूतावास बेल्जियमले ब्रसेल्समा लोकतन्त्र दिवस एक समारोहका बीच मनायो। राजा ज्ञानेन्द्रको निरंकुश शासनबिरुद्ध १९ दिने सफल जनआन्दोलनको स्मरण गर्दै लोकतन्त्र प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्नु हुने सम्पूर्ण सहिदहरुप्रति सम्मान गर्दै १ मिनेट मौनधारण गरिएको थियो।

बेल्जियमका लागि नेपाली राजदूत प्रमेश हमालले लोकतन्त्रको संस्थागत विकाश गर्न र सशस्त्र विद्रोहीलाई मूलधारको राजनीतिमा ल्याउन हालै सम्पन्न संविधान शभा निर्वाचनको ठूलो महत्व रहेको छ भन्नुभयो ।

देश अब संघीय शासनमा जाने निश्चित भएकोले संघियता विविधतालाई एकतामा बाध्ने सूत्र बन्नेछ भन्नु भयो ।

नयाँ नेपालको निर्माण आर्थिक विकाशबाट मात्र सम्भव हुने भएकोले विदेशमा बस्ने नेपालीहरुलाई लगानि भित्र्याउन आग्रह गर्नु भयो ।

देश निर्माणमा अझै पनि आठदल मिलेर जानु पर्ने कुरा निर्वाचनको नतिजाले देखाएकोले यसका लागि देश भित्र-बाहिरका सबै नेपालीहरुले लोकतान्त्रिक प्रक्रियामा सहयोगी हुनु पर्ने कुरामा जोड दिनु भयो ।

राजदूतको निवासस्थानमा आयोजित उक्त कार्यक्रममा बेल्जियममा रहेका नेपालीहरु विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधिहरु नेपाली विद्यार्थी लगायत केही विदेशीहरुको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै दूतावासका प्रथम सचिव दुर्गाप्रसाद भण्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई दूतावासकी मिनिस्टर काउंसिलर श्रीमती अम्बिका लुईंटेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Popularity: 15%

Add comment April 24th, 2008

सच्चाई, इमानदारीता र मानवियताको गौरवशाली बिजय -दामोदर प्रसाद आचार्य

- दामोदर प्रसाद आचार्य
२०६४ साल चैत्र २८ गते स्वर्णिम दिनको रुपमा सुनौला अक्षरले नेपालको इतिहासमा लेखिने छ। २४० बर्षको सामन्तवादी निरंकुश राज्यसत्ताको कालरात्रीमा निरिह अवस्थामा बाच्न बाध्य बनाइएका नेपाली जनताको वास्तविक मुक्तिको ढोका खोल्ने प्रकृया ऐतिहासिक संविधानसभाको चुनावमार्फत यो महान शुभ दिन जनमतद्धारा औपचारिकरुपमा अनुमोदन भएको छ। (more…)

Popularity: 16%

Add comment April 24th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2008
M T W T F S S
« Mar   May »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....