Archive for May, 2008

साहारालाई सहयोगको अपिल (+Photo)

बीरेन्द्र पौडेल, मुम्बई / एचकेनेपाल डट कम -
नेपाल दाङ जिल्ला ढिकपुर-४ घर भई हाल उपाचारको लागि मुम्बईको अम्बरनाथमा बस्दै आउनु भएको शान्ति शाहकी चार वर्षीया छोरी साहारा शाह ब्लड क्यान्सरबाट पीडित भई एक वर्षदेखि टाटा हस्पिटल परेलमा उपचार भईरहेको (पहिलो स्टेप) र उनको उपचारको लागि ५ लाख भन्दा बढि खर्च हुने अस्पताल स्रोतले जनाएको छ।

शान्ति शाहको श्रीमान राजकुमार शाह Marifi Kuwaitiya Commercial Marafie Secuarty Services Fahaheel kuwait कुवेतमा कार्यरत रहेको र शाह कुवेत गएपछि हालसम्म सम्पर्कमा नभएकोले आर्थिक अवस्था कमजोर भएको हुनाले बिमारी साहारा शाहलाई आर्थिक सहयोग गर्नुहुन सम्पूर्ण नेपाली संघ सस्था तथा प्रवासी नेपालीहरुलाई हार्दिक अनुरोध गरिन्छ। साथै सहयोग गर्नुहुनेहरुले साहारा शाहको सेन्ट्रल बैक अफ इण्डिया, परेल, मुम्बई ४०००१२ को खाता नं. ३०००८७४८६३ मा सहयोग रकम जम्मा गर्नुहुन सक्नुहुनेछ।

सम्पर्क: शान्ति शाह- ९३२३९५९३५०, ०२५१२६८१५१९

ब्लड क्यान्सरबाट पीडित साहारा शाह ।

Popularity: 8%

Add comment May 31st, 2008

गणतन्त्रको स्वागत गर्दै मुम्बईमा साहित्य मञ्चको स्थापना

बीरेन्द्र पौडेल, मुम्बई / एचकेनेपाल डट कम -
नेपालको इतिहासमै पहिलो पटक भएको ऐतिहासिक संविधान सभाको पहिलो बैठकलाई गणतन्त्र दिवसको रुपमा मनाउदै भारतको मुम्बईमा कार्यरत नेपाली साहित्यकार एवं साहित्य अनुरागीहरुले एक कार्यक्रमको आयोजना गरी बुधबार प्रगतिशील नेपाली साहित्य मञ्च (भारत) को स्थापना गरेका छन्।

मञ्चका अध्यक्षमा अवि अजनवी (कैलाली), उपाध्यक्षमा तुलसी गौडेल “मञ्जिल (स्याङग्जा), महासचिवमा जयसिंह ज्यामी (कैलाली), सचिवमा कविराज रेग्मी (कैलाली), कोषाध्यक्षमा विक्रम बिबश (अछाम) रहेका छन् भने सदस्यहरुमा राजु राना “रश्मी” (स्याङ्जा), लोचन पाण्डे (अछाम), शिवराज पाठक (तनहूँ), चेतमान बिष्ट “आँसु”(कैलाली), कुमार कान्छा “घायल” क्षेत्री (पाल्पा), पुष्पराज बसौला (कास्की), लोकेश थापा “लाईक”(कैलाली), अन्जान विवश एक्लो, लक्ष्मी बिसी र अमर खड्का “पबित्रपापी” (नवलपरासी) रहेका छन्।

प्रवासमा रहेका साहित्य अनुरागीहरुलाई एकै मञ्चमा ल्याउनु, विभिन्न साहित्यिक गोष्ठी एंव प्रतियोगिताहरु गर्नु, वरिष्ठ साहित्यकारहरुको जन्म जयन्तीहरुलाई उत्सवका रुपमा मनाउनु, साहित्यिक पत्रिकाको प्रकाशन गर्नु, व्यक्तित्व विकास गर्नु, नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्नु र भारतीय साहित्यकारहरुसंग सम्बन्ध आदान-प्रदान गर्नु साहित्य मञ्चको प्रमुख उद्देश्य रहेको मञ्चका अध्यक्ष अवि अजनवीले जनाएका छन्। मञ्चको गठनपछि त्यहाँ उपस्थित साहित्यकारहरुले विभिन्न कविता, गजल, गीत र मुक्तक बाचन गरेका थिए। गोरेगाँव पश्चिम स्थित पिस पार्क गार्डनमा दर्जनौ साहित्यकारहरुको बीच विशेष छलफल गरी सो मञ्चको स्थापना गरिएको थियो।

Popularity: 8%

1 comment May 31st, 2008

मलेसियामा लोकतान्त्रिक गणतन्त्रको भव्य स्वागत

रुसाहाङ चेम्जोङ , क्वालालम्पुर, मलेसिया/ एचकेनेपाल डट कम -
मलेसियास्थित नेपाली दूतावासको आयोजनामा दूतावासको आफ्नै सभा कक्षमा मे ३० तारिख शुक्रबार लोकतान्त्रिक गणतन्त्रको भव्य स्वागत कार्यक्रम सम्पन्न भयो।

गणतन्त्र प्राप्तिका लागि आफ्नो अमूल्य बलिदान दिने ज्ञात अज्ञात महान शहीदहरुप्रति एक मिनेट मौनधारण पश्चात राजदूत डा. ऋषीराज अधिकारीले कार्यक्रमलाई अगाडि बढाउनु भएको थियो। कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद तथा नेपालमा गणतन्त्र स्थापना भएको खुसियालीको शुभकामना दिदै उहांले भन्नु भयो हामी नेपालीहरु माझ एउटा युगान्तकारी परिर्वतन आएको छ, यसमा हामी सबैको योगदान छ भन्ने हामीले सम्झनु पर्दछ। अब शासन जनताको हातमा आएकोछ, हामी देश निर्माणमा जुट्नु छ, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली एकजुट भएर देश निर्माणमा जुटौं।

गोपाल प्रसाद रिमालले उहिले लेखेको कबिताको एक अंश पनि उहांले वाचन गरेर सुनाउनु भएको थियो। एक जुगमा एक दिन एकचोटि आउंछ, उथलपुथल उलटपुलट हेरफेर ल्याउंछ । त्यसै गरि, मन्तव्यको क्रममा चुर्वबहादुर वली, नेपालप्रसाद नेपाली “मुस्ताङे”, बीरेन्द्र कोइराला, शुभ शर्मा, रमेश पण्डित तुफान, मिनबहादुर श्रेष्ठ आदिले पनि नेपालमा गणतन्त्र स्थापना भएको खुसियालीमा शुभकामना तथा देश बिकासको लागि हामी सबै लाग्नु पर्ने कुरा व्यक्त गरेका थिए। कार्यक्रममा दूतावास परिवार, व्यवसायीहरु, विद्यार्थी, संचारकर्मीहरु र श्रमिकहरुको उपस्थिति रहेको थियो।

Popularity: 8%

1 comment May 31st, 2008

तमु छोंज धिंद्वारा तमु सभासदहरुलाई स्वागत

भिम तमु, बुटवल रुपन्देही / एचकेनेपाल डट कम -
तमु छोंज धिं केन्द्रीय समितिले गत जेष्ठ १४ गते संविधान सभा चुनाव २०६४ मा विभिन्न पार्टीहरुबाट निर्वाचित तमु सभासदहरु लाई स्वागत तथा वधाई कार्यक्रम सम्पन्न गरेको छ।

छोंज धिं को केन्द्रीय कार्यालय मित्रनगर गोंगुबु काठमाण्डौमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसबाट प्रत्यक्ष र समानुपातिक गरी सात जना, नेकपा माओवादीबाट छ जना ,नेकपा एमालेबाट छ जना र राप्रपा नेपालबाट निर्वाचित एक जना गरी जम्मा २० जना तमु सभासदहरुलाई स्वागत तथा वधाई कार्यक्रम गरेको छ। दलीय राजनीतिभन्दा माथि उठी जातिय उत्थानका लागि काम गरिरहेको साझा तमु संस्था तमु छोंज धिले आफ्नो स्थापना कालदेखि जुन सुकै ठाउंबाट माथि पुगेका, देश र जनताका लागि उत्कृष्ट कार्य गरेका र तमु जातिय उत्थानका लागि महत्वपूर्ण योगदान पु-याउने तमु व्यक्तित्वहरुलाई सम्मान गर्ने परम्परा अनुसार यो कार्यक्रम गरिएको हो।

केन्द्रीय सभापति डा.रेमबहादुर तमुको सभापतित्वमा सचिव भिम तमुको सञ्चालन र महासचिव खड्गबहादुर तमुले स्वगात तथा कार्यक्रमको औचित्यबारे प्रकाश पारिएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य रेशम तमुले तमु छोंज धिंको संस्थागत धारणा संस्थाको लक्ष्य र उद्धेश्य वारेमा बोलेका थिए। कार्यक्रममा बोल्दै माननीय राज्य मन्त्री इन्द्रबहादुर तमुले गणतन्त्रलाई कार्यान्वयन गर्ने कुरा, स्वायत्तताका कुरा अनि आत्म निर्णयका कुरा भाषण गरे जस्तो सजिलो नभएको कुरा व्यक्त गर्नु हुदै हाम्रो जातिय उत्थानका लागि पार्टीको कुरा भन्दा माथि उठाएर लैजानु पर्ने विचार राख्नु भयो। सभासद तथा नेकपा एमालेका केन्द्रीय नेता पृथ्वी सुब्बा तमुले संविधान सभाको चुनावबाट विजय भई आएका हामी तमु सभासदहरुलाई अब बनाउन थालिएको संविधानमा तमु सभासदहरुले आफ्नो जातिय उत्थानका लागि ठूलो भुमिका निर्वाह गर्न तमु छोंज धिंले गरेको आग्रहलाई हामी सबै तमु सभासद मिलेर पूरा गर्नु पर्ने विचार राख्नु भयो। नेपाली कांग्रेसबाट निर्वाचित सभासद सूर्यमान तमुइ तमु छोज धिं ले ऐतिहासिक रुपमा सम्पन्न गर्न लागेको तमु संस्कृति झल्किने र पहिचान प्रस्तुत गर्ने तमु संग्रहालय बनाउन थालेकोमा खुशी व्यक्त गर्दै पार्टी सरकारमा भए पनि नभए पनि सहयोग गर्ने कुरा राख्नु भयो। त्यस्तै गरि, नेकपा माओवादीतर्फबाट निर्वाचित सभासद राजकाजी तमुले आफ्नो पार्टीले जातिय हक हित आधिकार सुनिश्चित गर्नको लागि सुरुदेखि नै आवाज उठाउदै आएकोले तमु छोंज धिले तमु जातिय उत्थानका लागि चालेको कदमप्रति सदैब सहयोग रहने विचार व्यक्त गर्नु भयो।

स्वागत तथा वधाई कार्यक्रममा उपस्थित महिला सभासदहरुको तर्फबाट बोल्नु हुदै नेकपा एमालेका सभासद रत्न तमुले तमु जातिलाई अगाडि लैजानको लागि सर्वप्रथम पार्टीको कुरा भन्दा जातिय संरक्षण र संवर्द्धन गर्न लाग्नु पर्ने विचार व्यक्त गर्नु भयो। कार्यक्रमका प्रमुख अतिथि तमु छोंज धिं संरक्षक परिषदका सभापति शेरबहादुर तमुले हाम्रो तमु जातिय अस्तित्वका लागि जो जहाँबाट सक्छ त्यहीबाट लाग्नु पर्ने सुझाब व्यक्त गर्नु भयो।स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा तमु छोंज धिं केन्द्रीय सभापति डा.रेमबहादुर तमु, महिला सभापति कमला तमु र तमु छोंज धि काठमाडौ जिल्ला समितिका पदाधिकारीहरुले संयुक्त रुपमा तमु सभासदहरुलाई फूलमाला तथा खादा प्रदान गरिएको थियो।

Popularity: 9%

Add comment May 30th, 2008

हड्तालमा उत्रेका ४ सय नेपाली कतार जेलमा

कुमार कार्की, दोहा कतार / एचकेनेपाल डट कम -
तलब सुबिधाको माग गर्दै कतारको एक कम्पनीमा कार्यरत नेपालीहरु हड्तालमा उत्रिएपछि एकै कम्पनीमा कार्यरत ४ सय जना नेपालीहरुलाई कतारको जेलमा रखिएको छ।

झापा राजगढ १ का भानु क्षेत्रीले जेलबाट फोनमार्फत जानकारी गराए अनुसार एकै कम्पनीका ४ सय जना नेपालीहरुलाई २ ठाउंमा बिभाजन गरी जेलमा रखिएको बताएका छन। उक्त कम्पनीमा कार्यरत नेपालीहरुले आफ्नो तलब सुबिधा बृद्धि गर्न आग्रह गर्दा कम्पनीले धम्कीपूर्ण रुपमा तलब बढाउन नसक्ने बरु घर फर्काउने भनेपछि घर पठाइ देउ भनेर काम छोडेका नेपालीहरुलाई बिहीवार दिउसो ११ बजे पुलिस आएर जेलमा लगेको कुरा जानकारी दिएका छन। कतारमा हाल बढेको बजार भाउलाई ध्यानमा राख्दै तलब सुबिधा बृदि गर्नका लागि नेपालीहरुले आग्रह गरिएको बताएका छन्।

उक्त कम्पनीमा कार्यरत सुन्सरीका राजन बस्नेतसँग फोन सम्पर्क गर्दा ३ वटा क्याम्पबाट जेलमा लगिएका नेपालीहरुको संख्या ४ सयदेखि ७ सय हुन सक्ने बताएका छन्। बस्नेतलगायत केही ब्यक्तिहरु पुलिस आएको बेला क्याम्पभन्दा बाहिर रहेकाले जेल जानबाट बचेँको बताए। यस बिषयमा नेपाली राजदूतावाससँग सम्पर्क गर्दा उक्त कुराको जानकारी फोन मार्फत आएको तर अझै पुष्टि भई नसकेको बताए। फोनमार्फत जानकारी गराउनेहरु मध्ये कसैले ५० जना, कसैले ५ सय जना र कसैले ६ सयभन्दा बढि भएको अस्पष्ट जानकारी दिएकाले तथ्य के हो भन्ने अझै थाहा नभएको र घटनाको विस्तृत विवरण पत्ता लगाइ सम्बन्धित कम्पनीसँग सम्पर्क गरी समस्याको हल गरिने दूतावासले बतायो। कतारको कानुन अनुसार कुनै बिषयलाई लिएर हड्ताल गर्न नपाईने भए पनि बेला बेलामा हुने गरेका यस्ता हड्तालहरुले दुर्घटना निम्त्याउने गरेको छ।

Popularity: 9%

4 comments May 30th, 2008

पूर्व राजाले छिट्टै दरवार छाड्ने, रत्नले कुनै हालतमा नछोड्ने

काठमाडौं सम्वाददाता /एचकेनेपाल डट कम, मे ३० -
पूर्व राजा ज्ञानेन्द्रले हिजो राति दरवार छोडेको भन्ने हल्ला बाहिर आए पनि ज्ञानेन्द्रले अझै दरवार छाडेका छैनन्। गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सञ्चारकर्मीहरुसंग कुरा गर्दै पूर्व राजा अझै दरवारमै रहेको बताउनु भयो। सिटौलाले दरवारका सहसचिव राम केसी र प्रदीपकुमार अर्यालसंग जानकारी लिंदा उनीहरुले ज्ञानेन्द्र दरवारमै रहेको बताए। पूर्व राजा ज्ञानेन्द्रले सरकारको सल्लाह बमोजिम नै दरवार छोड्ने जानकारी दिएको बताए।


फाइल तस्विर।

दरवार निकट स्रोतका अनुसार ज्ञानेन्द्र तत्काल दरवार छोड्ने मनस्थितिमा रहे पनि पूर्व मुमा बडामहारानी रत्न (महेन्द्रकी पत्नी) का कारण तत्काल दरवार छोड्न ढिलाई भएको बताएको छ। रत्नले मृत्युपर्यान्त दरवारको महेन्द्र मञ्जिल नछोड्ने अडान लिएपछि ढिलाई भएको हो। अहिले दरवार र सरकारबीच महेन्द्र पत्नी रत्नको अडान र नयाँ वासस्थानका वारेमा वार्ता भै रहेको बताइन्छ।

त्यसै गरी, हिजो नारायणहिटीबाट दरवारकै कर्मचारीले शाही झण्डा हटाइएको छ भने सोही ठाउंमा नेपालको राष्ट्रिय झण्डा फहर्‍याएको छ। हिजो सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर देशमा निरङ्कुशता लाद्न खोज्ने, जनताका प्रधानमन्त्रीलाई वरखास्त गर्ने, जननेताहरुलाई नजरबन्दमा राख्ने, नेपाली जनतालाई गुमराहमा राख्न खोज्ने, नेपाललाई विश्वबाट अलग्याउन सम्पूर्ण सञ्चार सम्पर्कहरु विच्छेद गरिदिने पूर्व राजा ज्ञानेन्द्र अहिले ज्ञानी देखिएका छन्। उनले सरकारको सल्लाह बमोजिम दरवार छोड्ने इच्छा प्रकट गरेका छन् भने दरवारमा कार्यरत कर्मचारीहरुलाई पनि त्यसै अनुरुप निर्देशन दिंदै आएको बुझिन्छ। गत बुधवार राति २ सय ४० वर्षको शाहवंशीय राजतन्त्रको विधिवत अन्त्यसंगै नेपालमा गणतन्त्र कार्यान्वयनको घोषणापछि पूर्व राजा ज्ञानेन्द्रले सरकारको सल्लाह बमोजिम भन्दै खुरुखुरु सबै आदेशहरु पालन गर्न वाध्य भएका छन्।

ज्ञानेन्द्रले कहिले दरवार छाड्लान् भन्ने यकिन नभएपनि आफू र पूर्व राजपरिवारले प्रयोग गर्दै आएका सामानहरु ट्रकका ट्रक ओसार्ने कामलाई तीव्रता दिएका छन्। ज्ञानेन्द्रबाट हुने हरेक राम्रा र नराम्रा कामहरु अक्सर शुक्रबार हुने र गरेका कारण सायद नारायणहिटीबाट पूर्व राजा ज्ञानेन्द्रको बहिर्गमन पनि शुक्रबार नै हुने होइन भनेर अड्कलबाजीहरु चलिरहेका छन्।

Popularity: 9%

3 comments May 30th, 2008

भूतपूर्व राजाको नाममा सरकारको पत्र (News update..)

काठमाडौं सम्वाददाता / एचकेनेपाल डट कम, मे ३० -
नेपाल सरकारले भूतपूर्व राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र नारायणहिटीबाट हट्न आज पत्र पठाएको छ। नेपालमा गत बुधबारदेखि गणतन्त्र कार्यान्यन भैसकेको जानकारीसहित पूर्व राजा ज्ञानेन्द्र र राजदरवार सचिवालयलाई १५ दिनभित्र नारायणहिटी खाली गर्न विहीबार बसेको मन्त्रीपरिषद राजनीतिक समितिको निर्णय अनुसार निर्देशन आग्रह गरिएको छ।

दरवार छोड्ने पत्रसंगै संबिधानसभाको पहिलो बैठकमा पारित भएको गणतन्त्र कार्यान्यनसम्बन्धी प्रस्ताव र निर्देशन, राजाको सट्टा राष्ट्रपति राख्न अन्तरिम संविधानमा गरिएको संशोधन प्रतिलिपि पनि पठाइएको छ।

राजदरवार सचिवालयमा प्रशासनतर्फ ३ सय र दरवारको घरायसीतर्फ ६ सय गरी जम्मा ९ सय कर्मचारीहरु कार्यरत छन्। राजदरवार सचिवालयको खारेजीपछि त्यहाँका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ। ती कर्मचारीहरुलाई सरकारी निकायका रिक्त ठाउंहरुमा सरुवा गरिने छन् भने ५८ वर्ष उमेर नाघेका कर्मचारी स्वतः अवकाश पाउने भएका छन्।

Popularity: 9%

Add comment May 30th, 2008

न्यूयोर्कमा गणतन्त्र नेपालको खुसियाली (+Photo)

सुरेश चामलिंग, न्यूयोर्क / एचकेनेपाल डट कम-
अमेरिकाको न्यूयोर्क शहरमा मे २८ तारिखका दिन धुमधामले नेपाल गणतन्त्र दिवस मनाएको छ। नेपालमा २ सय ४० वर्षको शाहवंशीय राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको खुसियालीमा यहाँका नेपालीहरु उत्सव मनाएका छन्।

स्थानीय ज्याकसन हाईटस्थित ग्लोबल फेडेरेसन अफ इन्डीजिनस पिपुल अफ नेपालको कार्यालयमा बिभिन्न जनजातिको संस्थाबाट प्रतिनिधि गर्नुहुने वक्ताहरुले नेपालको राजसंस्थाको अन्त्यसंगै जनजातिको अधिकारहरु सुनिश्चित गरिनु पर्ने कुरा ब्यक्त गर्नु भयो भने न्यूयोर्कस्थित राज्यदूतावासमा ब्राह्मणबादले ज़रा गाडेको कुरासमेत वक्ताहरुले ब्यक्त गर्नु भयो।

व्हाइट हाउस अगाडि नेपालको जन आन्दोलनको समर्थनमा जुलुस र नेपालको झण्डा फहराउने हामीहरु तर लोकतन्त्र दिवसमा हातमा रक्सीको गिलास लिएर दूतावासको निम्तो खाने प्राय यूएनमा काम गरी डलर कमाउनेहरु भएको र दूतावासले जनजातिको संस्थाहरुलाई निम्तो समेत नगर्ने कुराले जनजाति वक्ताहरुले रोस ब्यक्त गरेका थिए। नेपालबाट मन्त्रीहरु आउंदा चाकडी गर्ने नेपाल र नेपालीको लागि सिन्को नभाँच्ने नेपाली दूतावासबाट हामीले के आशा गर्ने वक्ताहरुको प्रश्न थियो।
अधिकांश वक्ताहरुले विदेशमा बस्ने नेपालीहरुको माग सम्बिधान सभाले संबोधन गर्नु पर्ने जनजातिहरुको हक र अधिकारको ग्यारेन्टी संबिधानमा हुनुपर्ने कुरा औंल्याउँदै अझै पनि ढुक्क भएर जनजातिहरुले खुसिको साथ बस्न नहुने बताउनु भयो। जनजातिका लागि कस्ता खालको संबिधान हुनु पर्ने हो? त्यसका लागि न्यूयोर्कमा बिभिन्न संघ संस्थाहरुबीच सहकार्य गरी होमवर्क भई रहेको र यसका लागि विदेशमा बस्ने अरु जनजातिको संगठनहरुसंग पनि सम्पर्क गरिरहेको जानकारी फेडेरेसनका सभापति कर्मा ग्याल्जें शेर्पाले दिनु भयो।

केशब राईको संचालनमा भएको उक्त सभामा युनाईटेड किरात राई ओर्गानाइजेसनका बोर्ड मेम्बर डा. कृष्ण राई, सुरेश चामलिंग, लोकल चापटरका प्रेसिडेंट प्रभाकर राई, सल्लाहकार मकर राई, तामाङ सोसाईटी यूएसएका प्रेसिडेंट इन्द्र तामाङ, भरत लामा, सुबास तामाङ, राम तामाङ, याक्थुंम चुम्लुङ यूएसएका महासचिव दीपेश लिम्बू, ग्याल्सुन्धा समाजका प्रेसिडेंट, तमु सोसाईटी यूएसएका प्रेसिडेंट टिका गुरुङ, अर्जुन गुरुङ, थकाली सेवा समाजका प्रेसिडेंट नविन शेरचन, युनाईटेड डेमोक्रेटिक फोरमका प्रेसिडेंट टेक गुरुङ, लोकतांत्रिक जनजाति महासंघका पासांग दोर्जी शेर्पा, नेवा गुठीका सभापति आदित्य महर्जन, ग्लोबल फेडेरेसनका स्टेट कोअर्डीनाटर बिनोद पोमु हुनु हुन्थ्यो। कार्यक्रममा पत्रकारहरु कान्तिपुर दैनिकका आंगछिरिंग शेर्पा, नेपाल ख़बरका विश्व शाह, यूएस नेपाल अनलाइनका प्रदीप थापा मगरले समेत आफ्नो बिचार राख्नु भएको थियो। ग्लोबल फेडेरेसनका सभापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा दियोमा बत्ती बाली गणतन्त्र नेपालको शुभ कामना आदान प्रदान गरिएको थियो।

न्यूयोर्कबाटः सुरेश चामलिंग / एचकेनेपाल डट कम।


Popularity: 9%

Add comment May 30th, 2008

नोर्वेमा गणतन्त्र नेपालको खुसियाली (+Photo)

सम्वाददाता नोर्वे /एचकेनेपाल डट कम -
नोर्वेको त्रोन्धेइम सहरमा बस्ने नेपालीहरुले मातृभूमि नेपालमा लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएको अवसरमा गणतन्त्र खुसियाली कार्यक्रम भव्यताका साथ मनाएका छन्।

नेपलिज सोसाइटी इन त्रोन्धेइनको आयोजनामा भएको कार्यक्रममा ज्ञात अज्ञात शहीदहरुको सम्मान र सम्झनामा एक मिनेट मौनधारण गरी सुरु भएको थियो। नेपालमा संबिधान सभाको पहिलो बैठकले देशलाई गणतन्त्रको घोषणा गरेकै लगभग उही समयमा सबै नेपालीहरु जम्मा भै सामूहिक खुसियाली मनाएका थिए। राजतन्त्र बाइ ! बाइ ! ! लोकतान्त्रिक गणतन्त्र हाई ! हाई ! ! गणतन्त्र नेपाल जिन्दाबाद !!! लोकतान्त्रिक गणतन्त्र नेपाल अमर रहुन्!!!! आदि इत्त्यादी नाराहरु लगाउदै हर्षोल्लासपूर्वक नेपालमा गणतन्त्र आएकोमा स्वागत गर्दै एक आपसमा बधाई तथा शुभकामना साटासाट गरेका थिए। समाजका अध्यक्ष किरणकुमार श्रेष्ठले संचालन गर्नु भएको खुसीयाली कार्यक्रममा नेपाल तथा बिदेशमा भएका सम्पूर्ण नेपालीहरुमा बधाई अर्पण गर्दै शान्त र समृद्ध नेपालको कामना पनि गरिएको थियो। आजकाल दिन भन्दा रात निक्कै लामो हुने सुदूर उत्तरी गोलार्धको यस शहरमा भएको कार्यक्रममा लोक दोहोरी, नाचगान, सम्पेनिन्ङ, ग्रिल्लिङ पार्टी आदि पनि भएका थिए।


Popularity: 9%

1 comment May 30th, 2008

कोरियाको आनसानमा मिनी विश्वकप फुटवल हुने

रघु त्रिपाठी, दक्षिण कोरिया /एचकेनेपाल डट कम-
जुन १ तारिख आईतवार दक्षिण कोरियाको राजधानी सउलसंग जोडिएको शहर आनसानस्थित सातौं सिमा बिहिन गाँउ आनसान भनेर नाम दिएको (7th Borderless village Ansan worldcup) फुटवल प्रतियोगिता हुने भएको छ।

आनसानस्थित पोली टेक्निक विश्वबिध्यालयमा हुने उक्त फुटवल प्रतियोगितामा १२ वटा राष्ट्रहरुको सहभागिता रहनेछ। कोरिया, चाइना, इन्डोनेसिया, मङ्गोल, श्रीलंका, भियतनाम, थाइल्यान्ड, बंगलादेश, इथोपिया, नाइजेरिया तथा अफि्रकाले भाग लिएको छ भने यस प्रतियोगितामा नेपालको पनि सहभागिता रहनेछ।

नेपाली भू. पू. राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने सो खेलमा नेपाल खेलकुद तथा संास्कृत समितिको संयोजकत्व तथा नेपाल मजदुर संघको ब्यवस्थापनमा हुनेछ भने नेपालका राष्ट्रिय फुटवल खेलाडी ज्ञानु क्षेत्रीले टिम कप्तानको भूमिका निर्वाह गर्नु हुनेछ।

नकाउटको आधारमा खेलाइने सो खेलमा नेपालले नाइजेरियासंग कडा प्रतिस्पर्ध्रा गर्नुपर्ने भएकोछ। हजारौं दर्शकहरुका माझमा बिहान ८ बजे उद्घाटन हुने खेलमा नै नेपाली टिमले नाइजेरियाको सामना गर्नेछ। उद्घाटन खेलमा नेपाली टोली बिजय भएमा १ बजे चीनसंग प्रतिस्पर्धा गर्नेछ। सोही दिन दिउसो ४ बजे २०० मी. को दौड प्रतियोगिता पनि हुने भएको छ। त्यस दौड प्रतियोगितामा नेपालको तर्फबाट राष्ट्रिय खेलाडी सिताराम चौधरीले भाग लिनुहुनेभएको छ।

Popularity: 9%

Add comment May 30th, 2008

गणतन्त्र नेपालको राष्ट्रपतिसम्बन्धी व्यवस्था

गणतन्त्र नेपालको राष्ट्रपतिसम्बन्धी व्यवस्था
काठमाडौं सम्वाददाता / एचकेनेपाल डट कम -
राजतन्त्रको अन्त्यपछि त्यस ठाउंमा व्यवस्थापिका संसदको बैठकले संबैधानिक राष्ट्रपतिको व्यवस्था गरेको छ। संबिधान सभाको पहिलो बैठक सकेपछि मध्यरातमा व्यवस्थापिका संसद बैठक बसेको थियो। बैठकमा पारित भएको राष्ट्रपतिसम्बन्धी व्यवस्था -

राष्ट्रपतिसम्बन्धी व्यवस्था
नेपालमा एकजना राष्ट्रपति रहने छ ।
राष्ट्रपति मुलुकको राष्ट्राध्यक्ष हुनेछ र सोही हैसियतमा यस संविधान र प्रचलित कानुन बमोजिम निजले आफ्नो कार्य सम्पादन गर्नेछ ।
संविधानको संरक्षण र पालना गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।
राष्ट्रपति नेपाली सेनाको सर्वोच्च परमाधिपति हुनेछ ।
राष्ट्रपतिले राजदूतहरूको ओहोदाको प्रमाणपत्र बुझ्नेछ ।
निर्वाचन: राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्नेछ ।
पदावधिः राष्ट्रपतिको पदावधि संविधानसभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुनेछ ।
योग्यताः राष्ट्रपति हुने कुनै पनि व्यक्तिले देहायको योग्यता पूरा गरेको हुनुपर्नेछः
(क) संविधानसभाको सदस्य हुन योग्य भएको,
(ख) कम्तीमा पैंतीस वर्षउमेर पूरा भएको ।

राष्ट्रपति पदमुक्त हुने अवस्थाः
देहायको अवस्थामा राष्ट्रपति आफ्नो पदबाट मुक्त हुनेछः
(क) उपराष्ट्रपतिसमक्ष राजीनामा दिएमा,
(ख) निजले संविधानको गम्भीर उल्लंघन गरेको आरोपमा संविधानसभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूको कम्तीमा दुई तिहाइ बहुमतबाट निजका विरुद्ध महाभियोगको प्रस्ताव पारित भएमा
(ग) निजको मृत्यु भएमा ।

राष्ट्रपतिको शपथः राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रधान न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।

उपराष्ट्रपति
नेपालमा एकजना उपराष्ट्रपति रहनेछ ।
राष्ट्रपति पदमुक्त भई अर्को राष्ट्रपति निर्वाचित नभएसम्म वा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ ।
उपराष्ट्रपति पदमुक्त हुने अवस्थाः देहायको अवस्थामा उपराष्ट्रपति आफ्नो पदबाट मुक्त हुनेछः
(क) निजले राष्ट्रपतिसमक्ष राजीनामा दिएमा,
(ख) निजले संविधानको गम्भीर उल्लंघन गरेको आरोपमा संविधानसभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूको कम्तीमा दुई तिहाइ बहुमतबाट निजका विरुद्ध महाभियोगको प्रस्ताव पारित भएमा, वा
(ग) निजको मृत्यु भएमा ।
उपराष्ट्रपतिसम्बन्धी अन्य व्यवस्थाः
(क) उपराष्ट्रपतिको योग्यता तथा निर्वाचन प्रक्रियासम्बन्धी व्यवस्था राष्ट्रपतिको सरह हुनेछ ।
(२) उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधाः राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा अन्य सुविधा ऐनद्वारा निर्धारण भएबमोजिम हुनेछ र त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले निर्धारण गरेबमोजिम हुनेछ ।
राष्ट्रपतिको सचिवालयः
(१) राष्ट्रपतिको कार्यलाई सहयोग पुर्‍याउनका लागि एक सचिवालय रहनेछ ।
(२) सचिवालयको कामकारबाही सञ्चालन गर्न आवश्यक कर्मचारी तथा व्यवस्थापनलगायत आवश्यक कुरा नेपाल सरकारले व्यवस्था गर्नेछ।

Popularity: 9%

6 comments May 29th, 2008

बेल्जियममा गणतन्त्र बिजय उत्सव मनाउने

दधिराज घिमिरे, बेल्जियम / एचकेनेपाल डट कम -
नेपालको इतिहासमा नै पहिलो र विश्वलाई चकित पार्दै सम्पन्न संबिधनसभाको चुनावमा विगत लामो समयदेखि नेपाली जनताको मुक्तिका लागि संघर्षरत नेकपा माओबादीको नेतृत्वमा भएको ११ वर्षे जनयुद्ध र त्यसको जगमा टेकेर भएको १९ दिने जनआन्दोलनले संबिधानसभा मार्फत २४० वर्षको राजतन्त्र अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएको छ।
नेपाली जनतालाई दासत्वभित्र कैद गर्ने निरङ्कुस राजतन्त्रको अन्त भई नेपाली जनतालाई अधिकार सम्पन्न वनाउने संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको यस अवसरमा प्रवासमा रहेका नेपालीहरु अत्यन्त खुसी र हर्षित भएका छन्। प्रवासी नेपालीहरुले नेपाली सामन्तवादी राज्यसत्ताका विरुद्ध नेपाली जनताले चलाएको मुक्तिकामी आन्दोलनमा विगत लामो समयदेखि एकाकार गर्दै आएका छन्। सोही खुसीयालीको अवसरमा युरोपस्थित विभिन्न नेपाली प्रगतिशिल संगठनहरुको आयोजनामा यही आउदो जुन १ तारिख आइतवारका दिन यस अवसरलाई एक महान उत्सवको रुपमा मनाइने भएको छ। सो अवसरमा वेल्जियमस्थित सम्पूर्ण नेपाली संघ संगठनहरु तथा नेपाली तथा अन्य समस्त दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।

कार्यक्रम सम्बन्धी जानकारी
आयोजक
संयूक्त नेपाली मोर्चा,यूरोप
नेपाली जनजाति सरोकार मञ्च, यूरोप
नेपाली जनप्रगतिशील मञ्च, वेल्जियम
नेपाली प्रगतिशील महिला संयोजन समिती, बेल्जियम
नेपाली जनजाति सरोकार मञ्च, बेल्जियम
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियम
स्थानः Goudsbloemstraat 28 (Ons House) 3000 n’e]g
मितिः ०१ २००८ जुन आईतवार
समयः दिनको १२.०० बजे

विस्तृत जानकारीको लागि कार्यक्रम आयोजक तथा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नु हुन सूचित गरिन्छ ।
नविन सापकोटा - एन्टवेर्पन फोन नं: ०४८४१८३६१०
चित्र सुवेदी - ” ” ” ०४८४७८१८८२
गमबहादुर गुरुङ - लुभेन फोन नं: ०४८७३८९४२७ बेस
रामहरि घिमिरे - लुभेन फोन नं: ०४९९२९०६८४
कृष्ण तिवारी -व्रसेल्स फोन नं: ०४८५११०९१६
लिलाधर पन्त - ” फोन नं: ०४८८२४५४८०
दधिराज घिमिरे - गेण्ट फोन नं: ०४८४७२४३७९
टेकनारायण सापकोटा- ब्रुगे फोन नं: ०४८७३८२९६०

Popularity: 9%

Add comment May 29th, 2008

नेपाली जनसम्पर्म समिति बेल्जियमको प्रेस विज्ञप्ति

नेपाली जनसम्पर्म समिति बेल्जियमको प्रेस विज्ञप्ति
नेपाली जनताको चाहना र मुलुकको आवश्यकता बमोजिम नेपाली काँग्रेसका सभापति एवँ प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आज बुधवारका दिन नेपाल राष्ट्र अढाई सय वर्षदेखिको सामन्ती दासत्वबाट विधिवत रुपमा मुक्त भएको छ।

मुलुक संघीयता, समावेशीकरण र पूर्ण लोकतन्त्रको दिशामा अगाडि बढेको हामीले महसुस गरेका छौँ। शान्ति प्रक्रियाले एउटा अर्को चरणमा प्रवेश गरेको छ। यसलाई तार्किक निश्कर्षमा पुर्र्याउने चुनौति हाम्रा सामु कायमै छ। यसका लागि सवैले बिगतका आफ्ना गलत गतिविधी र चरित्रमा आमुल परिवर्तन ल्याउनु जरूरी छ। नयाँ संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपाल निर्माणको लागि अहिले कायम रहेको सहकार्य अझ केही वर्ष कायम रहन जरूरी छ। खुसीको यस घडीमा देश-विदेशमा रहनुभएका नेपालीहरुलाई वधाई ज्ञापन गर्नुका साथै युगान्तकारी यस निर्णयमा प्रत्यक्ष सहभागी हुनुहुने सम्पुर्ण सभासदहरु र सर्वोच्च नेता गिरिजाप्रसाद कोइरालालाई नेपाली जनसम्पर्क समिति बेल्जियम हार्दिक धन्यवाद ज्ञापन गर्दै गणतन्त्र नेपालको दिलैदेखि स्वागत गर्दछ।
जयनेपाल !
माधव सापकोटा
(प्रवक्ता)

Popularity: 9%

Add comment May 29th, 2008

प्रवासमा गणतन्त्रको खुशीयाली मनाउने पहिलो देश कोरिया

पुरु जोशी, दक्षिण कोरिया एचकेनेपाल डट कम -
प्रवासबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको खुसीयाली मनाउने देशमा कोरियावासी नेपालीहरु पहिलो भएका छन्। नेपालमा पटक पटक गणतन्त्र घोषणा हुन ढिलाइ भैरहेकै अवस्थामा पनि दक्षिण कोरियाका बिभिन्न संघ संस्थाहरुसंग आवद्ध नेपालीहरु एकै ठाउंमा हिजो करीब ७ बजे नेपाली समय ४ बजे भैला भै नेपालमा गणतन्त्रको स्वागत गर्दै केक काटी खुसीयालीको शुभारम्भ गरिएको थियो।
गणतन्त्र उत्सव समारोह समिति समेत गठन गरी मनाइएको कार्यक्रमका संयोजक साम्राज्य बिक्रम पाण्डेको सभापतित्वमा सुरु गरिएको उक्त कार्यक्रमलाई थप महत्व दिन केही दिन अगाडि नेपालबाट आउनु भएका नेपाली कांग्रेसका सह महामन्त्री तथा प्रवक्‍ता अर्जुन नरसिंह केसी प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो भने अतिथिको रुपमा उहांका श्रीमती प्रतिमा केसी पनि उपस्थित हुनु भएको थियो।

त्यसैगरि कार्यक्रममा नेपाली राजदूत महामहिम कमलप्रसाद कोइराला विशेष अतिथिको रुपमा उपस्थित हुनु भएको थियो भने उपनियोग प्रमुख यादव खनाल तथा दूतावासका अन्य कर्मचारीहरु पनि उपस्थित हुनु भएको थियो। एनआरएन कोरिया, नेपाली सम्पर्क समिति, नेपाल जनसम्पर्क समिति, नेपाल बौद्ध परिवार, प्रवासी नेपाली संघ, भोजपुर परिवार, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाल प्रगतिशील मोर्चा, किराँत राई यायोख्खा, नेपाल टुरिज्म बोर्ड कोरिया, नेपाल जनअधिकार मंच, नेपाली तेक्वान्दो युनियन कोरिया, सुदूर पश्चिम समाज, चितवन सम्‍पर्क समिति, तमूधिं कोरिया, नेपाल द कोरिया फ्रेण्‍डशीप सोसाइटी, बाग्‍लुङ सम्‍पर्क समिति लगायतका संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई नेपाली सम्पर्क समितिका सचिव आनन्द गुरुङले कार्यक्रम सन्चालन गर्नु भएको थियो।

निरंकुश राजतन्त्रको बिरुद्ध दोस्रो जन आन्दोलनका क्रममा जीवन गुमाउनु परेका ज्ञात अज्ञात शहिदहरुको नाममा एक मिनेट मौन धारण गरी शुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहान्त्री तथा प्रवक्ता केसी, प्रमुख अतिथि राजदूत कोइराला, नेपाली राजदूतावास उपनियोग प्रमुख खनाल र कार्यक्रमका सभापति पाण्डेद्वारा गणतन्त्र बिषयक आ-आफ्ना मन्तब्य प्रस्तुत गर्नु भएको थियो भने उपस्थित सम्पूर्ण उपस्थित ब्यक्तिहरुले आ-आफ्ना परिचय दिंदै गणतन्त्रको शुभकामना दिनु भएको थियो।

Popularity: 9%

Add comment May 29th, 2008

कोरिया अन्तर्राष्ट्रिय मेलामा नेपाली सामान प्रदर्शन

रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
कोरिया आयातकर्ता संघको आयोजना र कोरिया परराष्ट्र तथा व्यापार मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय व्यापार संघ तथा बिभिन्न बिदेशी दूतावासहरुको सहयोगमा कोरियामा आयात हुने समानको प्रदर्शनी मेला सम्पन्न भएको छ।
२४ राष्ट्रका राजदूत, नगर प्रमुख कोरिया आयातकर्ता संघका प्रमुख तथा नेपाली दूतावासका प्रथम सचिव यादव खनालले संयुक्त रुपमा उद्धघाटन गरिएको सो मेला २३ देखि २६ तारिख सम्म चलेको थिया।

नेपाल, ताइवान, जापान, अमेरिका, इन्डिया, अर्जेन्टिनालगायत ३२ वटा राष्ट्रले भाग लिएको सो प्रदर्शनी मेलामा नेपालको तर्फबाट १० वटा स्टल राख्नुका साथै बिभिन्न हस्तकलाका सामानहरु प्रदर्शन गरिएका थिए। नेपाली पस्मिना, नेपाली ढाकाका उत्पादनहरु चिया, कफी, सिल्भरका ज्वैलरी तथा बुद्ध धर्मका सामानहरुको विक्री वितरण राम्रो हुनुका साथै मेला अवलोकन गर्न आएका स्वदेशी तथा विदेशी नागरिकहरुले नेपाली समानहरुको प्रशंसा गरेका थिए।

दक्षिण कोरियाको राजधानी सउलस्थित कोएक्स (COEX) भवनमा आयोजना भएको प्रदर्शनी मेलामा भाग लिन आएका व्यापारीहरुको नेतृत्व नेपाल घरेलु तथा साना उद्योग संघका महासचिव श्यामप्रसाद गिरी तथा प्रबन्ध निर्देशक सुवर्णकुमार श्रेष्ठले गर्नुभएको थियो।

Popularity: 9%

Add comment May 29th, 2008

राजतन्त्रको विधिवत अन्त्य र गणतन्त्र नेपाल घोषणा…

राजतन्त्रको विधिवत अन्त्य र गणतन्त्र नेपाल घोषणा गरिदै…LIVE update
एचकेनेपाल डट कम, मे २८ २००८ / १५ जेठ २०६५-
नेपालकै इतिहासमा सबैभन्दा बढी महत्वका साथ हेरिएको ऐतिहासिक दिन र २ सय ४० वर्षीय शाहवंशीय राजतन्त्रको विधिवत अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिने क्षणलाई नेपाली जनताहरु अधैर्य भएर पर्खिरहेका छन्। आज केही बेरमा नेपाल गणतन्त्रको रुपमा घोषित हुनेछ।

संबिधानसभाको पहिलो बैठकबाट राजतन्त्रको विधिवत अन्त्य र गणतन्त्र नेपालको घोषणा गरिने छ। गणतन्त्र नेपालको औपचारिक घोषणा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट हुने छ। सरकारले नेपाललाई गणतन्त्र घोषणा गरिने अवसर पारेर देशभर एक दिन सार्वजनिक विदा दिइएको छ। नेपाली जनताले राजतन्त्रको अन्त्यसंगै गणतन्त्र नेपालको रुपमा नयाँ नेपालको युगमा प्रवेश गर्ने अनुभूति र खुशीयाली प्रकट गर्दै छन्। जताततै देश गणतन्त्रमय बनेको छ। गणतन्त्रको महाउत्सव र खुशीयाली मनाउन जनताहरु आतुर छन्।

News update:
संविधानसभा बैठक ११ बजे बस्ने भनिए पनि प्राविधिक कारणले अपरान्ह ३ बजे सारिएको छ। संबिधानसभाको पहिलो बैठकबाट २ सय ४० वर्षीय शाहवंशीय राजतन्त्रको विधिवत अन्त्य र गणतन्त्र नेपालको औपचारिक घोषणा गरिने छ।
अपडेट, अपरान्ह ४:३५- ३ बजे बस्ने भनिएको बैठक साढे ४ बजि सक्दा पनि बस्न सकेको छैन। संबैधानिक राष्ट्रपति र दरवारसम्बन्धी विषयहरुमा तीन दलहरुबीच सहमति हुन नसकेको बताइन्छ। तर, देशका विभिन्न भागहरुमा गणतन्त्र नेपालको पक्षमा खुसीयाली जुलुसहरु निस्किरहको खबर प्राप्त भएको छ। नागरिकहरु बाहिरबाट दवाब सृजना गर्ने खवरदारी दिने कामहरु भैरहेका छन्।
अपडेट, अपरान्ह ४:४५- कान्तिपुर टेलिभिजनका अनुसार बैठक साँझ ६ बजे सारिएको छ।
अपडेट, अपरान्ह ५:४५- अब केही बेरमा संबिधानसभाको पहिलो बैठक हुने भएको छ। बालुवाटारमा तीन दलबीच सहमति कायम भएपछि अनेक शंकाहरुबाट पार पाउंदै संबिधानसभाको बैठक हुने निश्चित भएको छ।
अपडेट, साँझ ६:२०- अमिक शेरचनले राष्ट्रपतीय प्रणाली लागु हुने जानकारी पत्रकारहरुलाई भर्खरै दिनुभयो। सभाकक्षमा बैठक बस्ने तयारी। नेकपा एमालेका महासचिव झलनाथ खनालबाट जेठ १५ गते अर्थात आज नै गणतन्त्रको घोषणा गरिने जानकारी। सहमति अनुसार राष्ट्रपति सेनाको परमाधिपति हुने। संकटकालको घोषणालाई मन्त्रीपरिषदले अस्वीकार गर्न सकिने प्रवाधान।
अपडेट, साँझ ६:३०- राष्ट्रपति को बन्ने निर्णय भै नसकेको तर राष्ट्रपतिय प्रणाली हुने जानकारी रामचन्द्र पौडेलबाट। प्रचण्ड सभास्थलमा उपस्थित भै सक्नु भएको छ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आइसक्नु भएको छैन। उहाँ आउनु भएपछि राजतन्त्रको औपचारिक अन्त्य र गणतन्त्रको घोषणा गरिने छ। नारायणीहिटी राजदरवारलाई राष्ट्रिय संग्रहालयको रुपमा रुपान्तरण गरिने छ भने राजालाई १५ दिनभित्र दरवार छोड्न भनिने छ। तोकिएको दिनभित्र दरवार नछाडिएमा बल प्रयोग गरिने।
अपडेट, राति ७:००- नयाँ वाणेश्वरस्थित सभास्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नारा जुलुश गरिरहेका प्रदर्शनकारीहरुलाई तितरवितर पार्न प्रहरीद्वारा आश्रु ग्याँस प्रहार। विहान ११ बजे बस्ने भनिएको बैठक सात बजिसक्दा पनि नबसेको भन्दै आक्रोशित भीड निषेधित क्षेत्र सम्मेलन केन्द्र पुगेका थिए।
अपडेट, राति ७:१५- प्रधानमन्त्री कोइराला भर्खरै सभास्थलमा आइपुग्नु भएको छ। उहाँ अस्वस्थ्य भै उभिन नसक्ने कारणले सेनाद्वारा दिइने राष्ट्रिय धुनको सलामी ग्रहण गरिएन। उहाँका साथ नीजि चिकित्सक डा. अर्जुन कार्की पनि साथै छन्।
अपडेट, राति ७:३०-रत्नपार्कमा बम विस्फोटन भएको हल्ला फैलिए पनि त्यस्तो मानवीय क्षति नभएको बताइन्छ। सर्वसाधारणमा आतंक फैलाउन राजावादीले त्यस्तो षडयन्त्र रचेको हुन सक्ने अनुमान। विस्फोटनमा एक महिला सामान्य घाइते। ठूलै घटना नभै सामान्य सकेट बम या पटका पट्केको हुन सक्ने।
अपडेट, राति ८:००-प्रधानमन्त्री कोइराला सभास्थल आइपुग्नु भएपनि आसन ग्रहण भएको छैन। सभाकक्षमा उहाँको प्रतीक्षा भै रहेको छ। भित्र बैठकको लागि कार्य सूचि बन्दै गरेको। फेरी, बम विस्फोटनको खबर। सभास्थल बाहिर सर्वसाधारणको भीडमा दुइवटा बम बिस्फोटन। कस्तो खालको बम विस्फोटन भएको हो र मानवीय क्षति भएका छन् वा छैनन् भन्ने जानकारी प्राप्त भएको छैन। घटनामा प्रहरी एसएसपी घाइते भएको खबर।
अपडेट, राति ८:२०- सभास्थल बाहिर बम पड्काएर आतंक फैल्याउने दुई जना प्रहरीद्वारा पक्राउ। पक्राउ परेको मध्ये एकजनाको नाम फणिन्द्र थापा। पक्राउ परेकाहरुलाई सर्वसाधारणद्वारा कुटपिट प्रयास। प्रहरीद्वारा सुरक्षा प्रदान। पाइप बम विस्फोट गराउनेलाई वाइसीएल ललितपुर इन्चार्ज ‘नारायण’ ले पक्राउ गरी प्रहरीलाई बुझाइएको खबर।
अपडेट, राति ८:५५- सभासदहरुलाई कार्यसूचि वितरण गरिदै। केही बेरमा राजतन्त्रको विधिवत अन्त्य र गणतन्त्र कार्यान्वयनको औपचारिक घोषणा गरिने।
अपडेट, राति ९:२०-घण्टी बजाएर बैठक सुरु भएको संकेत। जेष्ठ सदस्य केबी गुरुङद्वारा बैठकको सुरु भएको औपचारिक घोषणा। उहाँ बैठकको अध्यक्षसमेत हुनुहुन्छ। ज्ञात अज्ञात शहीदप्रति २ मि. मौन धारण। प्रधानमन्त्री कोइरालाद्वारा सम्बोधन। ‘राष्ट्रको सपना पूरा भएको दिन, मेरो सपना पूरा भएको दिन, भन्दै खुसी व्यक्त। प्रम कोइराला अस्वस्थ्य कारण उहाँको लिखित मन्तव्य रामचन्द्र पौडेलद्वारा वाचन गरिदै।
अपडेट, राति ९:३५- भारतीय लोकसभा अध्यक्ष सोमनाथ चटर्जीको लिखित पत्र वाचन गर्दै।
अपडेट, राति ९:४५- गृहान्त्री कृष्णप्रसाद सिटौलाद्वारा गणतन्त्र घोषणाको ५ बूंदे प्रस्ताव पेश गर्दै।
अपडेट, राति ९:५०- हृदयेश त्रिपाठीद्वारा शाव्दिक त्रुटिमा आपत्ति जनाउंदै संघीय शव्द राख्नु पर्ने सुझाव। गणतन्त्रको प्रस्तावमाथि मतविभाजनको क्रम जारी..।
अपडेट, राति १०:००- गणतन्त्रको पक्षमा अध्यक्षको आसनबाट दायाँ र गणतन्त्रको विपक्षमा देव्रे तर्फ जाने अध्यक्षद्वारा आग्रह। तर, अहिलेसम्म सम्पूर्ण सभासदहरु गणतन्त्रको पक्षको लबी दायाँतर्फ गएका छन्। अर्थात अहिलेसम्म गणतन्त्रको विपक्षमा कोही गएका देखिएको छैन। सभासदहरुले त्यहाँ राखिएको नामावलीमा दस्तखस्त गरी मतदान गर्ने प्रक्रिया जारी। गणतन्त्रको पक्ष र विपक्षमा दस्तखस्त गरी मतदान गर्नु पर्ने हुनाले केही समय लाग्न सक्नेछ।
अपडेट, राति १०:४५- मतदान सकिएको छ र दस्तखस्त सूचि संकलन गरिदैछ।
अपडेट, राति १०:४८-अहिले मत गणना हु्दैछ।
अपडेट, राति ११:०५-अध्यक्ष गुरुङद्वारा सभासदहरुलाई मत सच्याउन ३ मिनेट प्रदान।
अपडेट, राति ११:१५- राप्रपाका चन्द्रबहादुर गुरुङद्वारा फरक मत। राजतन्त्रको पक्षमा पहिलो आवाज। उनले लामो मन्तव्य पढ्न थालेपछि अन्य सभासदहरुद्वारा आपत्ति। राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्वारा संघीयताको विपक्षमा अभिव्यक्ति प्रकट।
अपडेट, राति ११:१५- मतदानको घोषणा। मतदाताको कुल संख्याः ५६४, प्रस्तावको पक्षमा ५६० र विपक्षमा मात्र ४ मत।
अपडेट, राति ११:२०- गणतन्त्रको प्रस्ताव अत्यधिक मतले पारित। सदाका लागि राजतन्त्रको अन्त्य। लोकतान्त्रिक गणतन्त्र कार्यान्यवनको घोषणा। ज्ञानेन्द्रलाई नारायणहिटी दरवार १५ दिनभित्र छोड्न र सभाद्वारा नारायणहिटी राष्ट्रियकरण गर्दै सुरक्षा प्रदान गर्न सरकारलाई आदेश।

गणतन्त्र नेपाल जिन्दावाद !
सबै गणतन्त्रप्रेमी नेपालीहरुलाई बधाई तथा शुभकामना !!

Popularity: 10%

49 comments May 29th, 2008

प्रहरीको गोलीबाट धनगढीमा तीनको मृत्यु (Breaking News)

काठमाडौं सम्वाददाता / एचकेनेपाल डट कम -
कैलाली जिल्लाको धनगढीमा दुइ समूहबीच भएको दोहोरो भिडन्तलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागी कम्तीमा तीन जनाको ज्यान गएको छ।

समाचार स्रोतका अनुसार आज अपरान्ह पत्रकारहरुको एक जुलुसमाथि अर्को समूहले आक्रमण गरेपछि स्थिति नियन्त्रण बाहिर गएकोले प्रहरीले गोली चलाउंदा तीन जनाको मृत्यु भएको हो। सोही घटनामा अन्य ६ जना घाइते भएको बताएको छ। हिजो पत्रकार लक्की चौधरीमाथि भएको आक्रमणविरुद्ध पत्रकारहरुले त्यसको विरोधमा धर्ना दिएको बेला पुनः पत्रकारहरुमाथि आक्रमणको प्रयास हुंदा दोहोरो झडप भएको थियो। पत्रकारहरुमाथि आक्रमण गर्ने समूह वाइसीएल कार्यकर्ता भएको भनिए पनि पुष्ठि हुनसकेको छैन। घटनापछि जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा अनिश्चिकालीन कर्फ्यू जारी गरेको बताइएको छ।

Popularity: 10%

Add comment May 28th, 2008

बाग्लुङ सम्पर्क समिति दक्षिण कोरियाबाट अस्पताललाई सहयोग

प्रेम प्रतिक्षा संगम, दक्षिण कोरिया/ एचकेनेपाल डट कम -
बाग्लुङ सम्पर्क समितिको मे २५ तारिखका दिन बसेको साधारण भेलाले धवलागिरी अञ्चल अस्पताललाई सहयोग गर्ने निर्णय गरेको छ।
गत वर्षको कोरियन सलनाल तथा २०६४ को अवसरमा धवलागिरी अञ्चल अस्पताल बाग्लुङको सहयोगार्थ प्रस्तुत गरिएको धवलागिरी साँस्कृतिक सौगात २०६४ बाट उठेको रकम अस्पताललाई दिने निर्णय गरेको हो। भेलाले कार्यक्रमबाट संकलन भएको सम्पूर्ण रकम ३० लाख कोरियन वोन धवलागिरी अञ्चल अस्पताल बाग्लुङलाई पठाउने निर्णय गरेको छ।

भेलामा त्यस कार्यक्रमको समिक्षा गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने नेपाली राजदूतावास, छाविचीब तथा कोरियास्थित विभिन्न संघ संस्था व्यापारी, बुद्धिजीवि, बिद्यार्थी र सम्पूर्ण दर्शक महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापनसमेत गरेको छ।

Popularity: 10%

Add comment May 28th, 2008

ग्रयाण्ड रेजेन्सीमा होटलमा नेपाली सांस्कृतिक कार्यक्रम (+Photo)

राई रमेश”गाउँले” दोहा, कतार/ एचकेनेपाल डट कम -
नेपाली जहाँ रहे पनि आफ्नो संस्कृतिलाई माया मार्दैनन् भन्ने कुराको प्रमाण गत सोमवार वेलुकी ग्रयाड रेजेन्सी हलमा सम्पन्न ग्रयाण्ड रेजेन्सीमा होटलको तेस्रो वार्षिक उत्सवमा देखिएको छ।
विशवका ८० वटा मुलुकका कामदार रहेको उक्त होटलको वार्षिक उत्सवमा विभिन्न देशका सांस्कृतिक कार्यक्रमका साथमा फेशन शो, वर्षको उत्कृष्ट कामदार, मिस्टर एण्ड मिसेस जि.आर.एच., भाग्यशाली चिठ्ठा जस्ता कार्यक्रम सम्पन्न भएका थिए।


होटलका विभिन्न पदमा कार्यरत नेपालीहरुको सक्रियतामा कलकत्ते काईयो नृत्यदेखि करौडौ मुटुहरुको ढुकढुकी नेपाल …. वोलको राष्ट्रिय गीत नेपाली पहिरहनमा सजिएर कलाकारहरुले प्रस्तुत गरेका थिए। नृत्यमा राज नेपालीले कोरीयोग्राफी गरेका थिए। उनी नृत्यमा औपचारिक शिक्षा लिएर नेपालमा पनि विभिन्न स्टेज शोहरु गरिसकेका प्रतिभा हुन्। त्यसरी नै गायकको माध्यमवाट नेपालमा आफ्नो छुट्टै पहिचान वनाईसकेका प्रतिभा राम वि.क.ले गीत प्रस्तुत गरेका थिए। त्यसरी नै अन्य कलाकारहरुमा मिलन देवान राई, पल्लव घिमिरे, देवेन्द्र थापा, मधु पौडेल, विष्णु सुनार, चन्द्र श्रेष्ठ, दिवाकर गुरुङ हुनुहुन्थ्यो भने फेशन शो मा नेपाली पहिरहनमा ममता तिवारी र राम वि.क.ले स्टेजमा क्याटवाक गर्दा हल नै तालीले गुञ्जयमान भएको थियो। नेपाली सांस्कृतिक कार्यक्रमको संयोजन ओम थापाले गर्नु भएको थियो। कार्यक्रमको राम्रो प्रतिक्रिया पाएपछि आगामी दिनमा यसलाई सांगठानिक रुपमा नै लाने विचार रहेको कुरा कलाकार मिलन देवान राईले वताउनु भएको छ।

Popularity: 10%

Add comment May 28th, 2008

सहारा युकेद्वारा गोर्खाकप (+Photo)

धन बस्नेत र सुदर्शन रन्जित, पोखरा/ एचकेनेपाल डट कम -
सहारा युकेले सातौं गोर्खाकपको उपाधि रक्षा गरेको छ। साविक विजेता सहारा युकेले फाइनलमा इन्टेक ९९ क्लबलाई १-० ले पराजित गर्दै उपाधि रक्षा गरेको हो। मंगलबार सम्पन्न भएको फाइनल खेलमा सहारा युकेका लागि डेनिस महर्जनले निर्णायक गोल गर्दै उपाधि हत्याएका हुन्। निर्णायक गोल गरेका उनी बेष्ट प्लेयरबाट समेत पुरस्कृत भए।
वर्षेनी आयोजना गरिने गोर्खा कप फुटबल प्रतियोगितामा विभिन्न ३२ वटा क्लबहरुको सहभागिता रहेको थियो। सहारा युके आहा गोल्डकपका दुई संस्करणमा समेत पाहुना टोलीको रुपमा पोखरा उपस्थित भएको थियो। पाँचौ र छैटौं आहा गोल्डकपमा उपस्थिति जनाएको सहारा युकेले पोखराका आफनो छुट्टै पहिचान बनाईसकेको छ। पाँचौ आहा गोल्डकपमा क्वार्टरफाइनलको पहिलो खेलबाटै बाहिरिदाँ नयाँ खेल मैदान र मौसम अनुकूल हुन सकेको थिएन। तर छैटौंमा सहभागिता जनाउँदा सेमिफाइनल यात्रा तय गरेको युकेले आफूलाई सशक्त बनाउँदै लगेको छ।

सहारा क्लब पोखराको फुटबल विकासमा सहारा युकेले विभिन्न तबरबाट सहयोग गर्दै आएको छ। नेपालीहरुबीच भातृत्व कायम गर्न वर्षेनी आयोजित फुटबल प्रतियोगिता गोर्खा कप’ दुई पटक उचालेर बेलायतमा समेत फुटबलको स्तर पस्किसकेको छ। सहारा युकेकै सहयोगमा सहारा क्लब पोखराले एकेडेमीको लक्ष्य अगाडि सारेको छ। एकेडेमी बनाउन २६ रोपनी जग्गासमेत किनेर फुटबल मैदान निर्माण कार्य सुरु गरिसकेको छ।

प्रतियोगितामा विजेता सहारा युकेलाई बेलायतका लागि नेपाली राजदूत मुरारीप्रसाद शर्मा, प्रथम सचिव विरेन्द्र अर्याल, सहारा क्लब पोखराका अध्यक्ष विक्रम थकाली, बेलायतका एनआरएनका अध्यक्ष डम्बर घले, तमुधि युकेका संस्थापक मीनप्रसाद गुरुङ, तमुधि युकेका अध्यक्ष लालबहादुर गुरुङलगायतले कप, पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। थकालीले बेष्ट प्लेयर महर्जनलाई ट्रफी प्रदान गर्नुभएको थियो।

थकालीले सोही अवसरमा पोखराको फुटबल विकास र सहारा एकेडेमीलाई सहारा युकेले गरेको सहयोग अविस्मरीण रहेको बताउनुभयो। अध्यक्ष थकालीले सहारा क्लब पोखराले फुटबल विकासमा गरेको कार्यहरुको समेत जानकारी गराउनुभएको थियो। सोही समारोहमा चेल्सी फुटबल क्लब अन्तर्गतको एकेडेमीका लागि युवा खेलाडी छान्ने इन्चार्ज बेन्नी निल्सनकोसमेत उपस्थिति थियो।


Popularity: 10%

4 comments May 28th, 2008

बेल्जियममा २५५२ औं बुद्ध जयन्ती सम्पन्न (+Photo)

बिलेन्द्र गुरुङ, बेल्जियम / एचकेनेपाल डट कम -
शान्तिका अग्रदूत भगवान बुद्धको २५५२ औं जन्म दिनको पावन अवसरमा मे २४ तारिखका दिन तमू समाज बेल्जियम र शेर्पा समाजको संयुक्त आयोजनामा बेल्जियमको HUY शहरमा बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भयो।
तमू समाज बेल्जियमले स्थापना काल सन् २००० देखि नै बेल्जियममा बुद्ध जयन्ती विभिन्न कार्यक्रमहरु गरी मनाउदै आइरहेकोमा गत वर्षदेखि तमू समाज बेल्जियम र शेर्पा समाजको संयुक्त आयोजनामा उक्त कार्यक्रम मनाउन थालिएको हो।

आन्ट्रोपेन तथा लूभेनबाट दुइ वसको व्यवस्था गर्नुको साथै कोही आफ्नै निजी गाडीमा आई कार्यक्रममा सहभागी भएका थिए। करीव १ सय ६० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा तमू समाजका कार्य समिति सदस्य नारायणप्रसाद तमूदवारा भगवान बुद्धको बारेमा छोटकारीमा प्रकाश पार्नु भयो। त्यसपछि लामा गुरुद्वारा मन्त्र पढिएको थियो। कार्यक्रममा उपस्थित महानुभावहरुले मैन वत्ति तथा अगरवत्ति वाली पूजा अर्चना गर्नुका साथै शान्तिको कामना गरिएका थिए। उपस्थित सबैले शुद्ध शाकाहारी भोजन गरेपछि रमणीय शहरको डाँडामा रहेको उक्त गूम्वामा नाच तथा गीत गाउदै यस वर्षको बुद्ध जयन्ती भव्यताका साथ सम्पन्न भएको थियो। कार्यक्रमको अन्तमा आन्ट्रोपेनबाट आउने यात्रीको खानाको व्यवस्थाका लागि आर्थिक सहयोग गर्नु हुने बिकास तमु, दुर्गा तमुस्यो, दिलकुमारी तमुस्यो, अनीता घले, डोल्मा तमुस्यो ,अजय शेरचन, भरत लामालगायत सम्पूर्ण सहयोगी मित्रहरुलाई तमु समाज बेल्जियम तथा शेर्पा समाजले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।


Popularity: 10%

Add comment May 27th, 2008

संविधान सभाका सदस्यहरुको शपथ ग्रहण सम्पन्न (News update..)

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधान सभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण कार्यक्रम आज अपराह्न नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न भयो। मन्त्रिपरिषदबाट मनोनीत हुने २६ जनाको सूचि संसद सचिवालयमा आइनसकेकोले उनीहरुका लागि शपथ ग्रहणको छुट्टै व्यवस्था गरिने भएको छ। संविधान सभाको पहिलो बैठक भोलि बस्दैछ।

___________________
संविधान सभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण कार्यक्रम आज अपराह्न १ बजेदेखि नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ। संविधान सभाको पहिलो बैठक भने भोलि बस्दैछ।

भोलिको बैठकमा गणतन्त्र घोषणा कार्यान्वयन लगायत अन्य काम गर्नुपर्ने हुनाले समय अभाव हुनसक्ने कारण आजै शपथ ग्रहण हुन लागेको हो।

संविधान सभाका सभासदहरुलाई शपथ ग्रहण ज्येष्ठ सदस्यका हैसियतले नेपाली काँग्रेसका सभासद कुलबहादुर गुरुङले गर्नु हुनेछ। उहाँ ७३ वर्षका हुनुहुन्छ।

त्यसो त उहाँभन्दा बढी उमेरका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि सभासद हुनुभए पनि उहाँ राष्ट्रप्रमुख समेत हुनुभएकोले गुरुङले शपथ ग्रहण गराउन लाग्नुभएको हो।

Popularity: 10%

Add comment May 27th, 2008

गणतन्त्रको महाउत्सव मनाउन तीन दिन सार्वजनिक विदा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गणतन्त्र घोषणाको कार्यान्वयन हुने खुसियाली मनाउन नेपाल भर तीन दिन सार्वजनिक विदा दिइने भएको छ।

यससम्बन्धी सहमति तीन शीर्ष दलले आज गरेका हुन्। अहिले अपराह्न बस्ने मन्त्रिपरिषदको बैठकले यस्तो घोषणा गर्नेछ।

साथै दलहरुबीच नारायणहिटी दरबारलाई राष्ट्रिय संग्रहालय बनाउने पनि सहमति भएको छ।

Popularity: 10%

4 comments May 27th, 2008

नायक रोहनको जोखिमपूर्ण स्टन्ट, विना अक्सिजन सगरमाथा चढ्ने

सम थापा, नेपालगंज, बांके /एचकेनेपाल डट कम -
नायक रोहनले हात छोडेर मेची महाकाली मोटरसाईकल यात्रा पुरा गरे ।
अर्को वर्ष विना अक्सिजन सगरमाथा चढने घोषणा

कहिले एक सय फिटमाथि कर्णाली पुलबाट हाम फाल्ने त कहिले एक सय अस्सी फिटमाथि बाधिएको कैलाली - सुर्खेत जोड्ने कुहिने झोलुङगे पुलको दुई सय मिटर लामो फलामे डोरीमा हिडने र कहिले साढेसंग लडाई गर्ने जस्ता दर्जनौ जोखिमपूर्ण, डरलाग्दा, अपत्यारिला तर वास्तविक कला प्रस्तुत गर्दै आएका कैलालीका २४ वर्षीय युवक रोहन ढकालले हात छोडेर मेची- महाकालीको दुई हजार किलोमिटर लामो मोटरसाईकल यात्रा सफलताका साथ पुरा गरेका छन्।

(more…)

Popularity: 10%

Add comment May 27th, 2008

सेरेमोनियल राष्ट्रपति राख्‍न माअ‍ोवादी सहमत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको तीन शीर्ष दलका नेताहरुको बैठक भर्खरै सकिएको छ। बैठकमा शक्तिसम्पन्न राष्ट्रपतिको अडान राख्‍दै आएको माअ‍ोवादी सेरेमोनियल राष्ट्रपति राख्‍न सहमत भएको बुझिएको छ।

सरकार गठनका थप प्रक्रिया बारे के कस्ता सहमति भयो भन्ने बारे थाहा हुन सकेको छैन।

आजै संविधान सभाका सभासदहरुको शपथ ग्रहण कार्यक्रम रहेकोले मन्त्रिपरिषद्को बैठकले मनोनयन गर्नुपर्ने २६ जना सभासदहरुको नाम घोषणा गर्नुपर्ने हुनाले त्यसको तयारी भइरहेको छ।

Popularity: 10%

Add comment May 27th, 2008

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2008
M T W T F S S
« Apr   Jun »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category

More news....