Archive for June, 2008

एमाले नेता पाण्डेको हत्यापछि गुलरिया बन्द (News update)

सम्वाददाता काठमाडौं/ एचकेनेपाल डट कम -
एमाले नेता गोविन्दप्रसाद पाण्डेको गएराति अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा स्थानीय बासिन्दाले आज बर्दियाको गुलरिया बन्द गराएका छन्। पाण्डेको आजै दाह संस्कार गरिएको छ। पाण्डेको शव बिहान नगर परिक्रमा गरेर भादा नदीमा दिउंसो अन्तिम संस्कार गरिएको थियो।
पाण्डेको दाहसंस्कारमा एमाले नेता बामदेव गौतम सरीक भएका थिए। नेता गौतमले हत्याको भत्सर्ना गर्दै अपराधीलाई कडाभन्दा कडा सजाय दिनु पर्ने माग गरेका छन्। हत्याको विरोधमा नेपालगंज कोठिया घाट सडकखण्ड अवरुद्ध रहेको छ। अज्ञात समूहले गुलरिया नगरपालिकाका पूर्व मेयर गोविन्दप्रसाद पाण्डेलाई आफ्नै घरमा राति सुतिरहेको अवस्थामा गोली प्रहार गरेका थिए। गोली लागेर घाइते भएका पाण्डेलाई उपचारका लागि नेपालगंजस्थित भेरी अञ्चल अस्पतालमा लगिएको थियो। पाण्डेको उपचारको क्रममा मृत्यु भएको थियो।

६० वर्षीय पूर्व मेयर पाण्डे एमाले नेता तथा नागरिक समाज सञ्जालका अध्यक्षसमेत रहेका थिए। पाण्डेको हत्या कसले गरेका हुन् खुल्न सकेको छैन।

Popularity: 9%

Add comment June 30th, 2008

हत्यामा खटिएका कमाण्डरहरु पक्राउ

सम्वाददाता काठमाडौं/ एचकेनेपाल डट कम -
माओवादी नेताको हत्या गर्न खटिएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका दुई कमाण्डरहरुलाई बाँके प्रहरीले सार्वजनिक गरेको छ। हतियारसहित पक्राउ परेका कमाण्डरहरुमा मोर्चाका बाँके - बर्दिया इन्चार्ज महेश खटिश उर्फ विक्रान्त र सैन्य सदस्य अनिल कलवार (विजय) रहेका छन्। बाँके प्रहरीले उनीहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो।
ती समूहले हतियार देखाएर माओवादी नेतृ सुधा चौधरीलाई जेष्ठ २८ गते बलात्कारपछि गोली हानेर हत्या गर्ने प्रयास गरेका थिए। सोही समूह माओवादी निकट स्वास्थ्यकर्मी रामबहादुर सिंहको हत्यामा समेत खटेका थिए। सिंहको हत्या प्रयास गर्ने ती टोलीलाई बाँकेको राप्ती पारीबाट घेराबन्दी गरी प्रहरीले शनिवार पक्राउ गरेका थिए। प्रहरीले तिनीहरुबाट एक थान ९ एमएमको इटालियन पिस्तौल, एक थान कटुवा पिस्तोलसहित १२ राउण्ड गोली बरामद गरेको छ।

दुबै जना माओवादीका पूराना छापामार रहेको खुलासा भएको छ। खटिक माओवादी छैटौं डिभिजन अन्तर्गतका सेक्सन कमाण्डर थिए। उनी जेष्ठ १८ गते मोर्चामा प्रवेश गरेका थिए। उनीहरुले माओवादी जिल्ला कमिटिका सदस्य तथा फत्तेपुर एरिया इन्चार्ज सुधा चौधरीमाथि बलात्कारपछि गोली हानेर हत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। त्यसै गरी, माओवादीका स्थानीय नेताहरुको हत्या गर्न मोर्चाले एक दर्जन कार्यकर्ता परिचालन गरेको प्रहरीको दाबी छ।

Popularity: 9%

2 comments June 30th, 2008

जननेता मदन भण्डारी स्मृतिग्रन्थ

सम्वाददाता काठमाडौं/ एचकेनेपाल डट कम -
मदन भण्डारी प्रतिष्ठानले जन नेता मदन भण्डारीको विद्यार्थी र भूमिगत जीवनका खोजमूलक ग्रन्थ मदन भण्डारी स्मृतिग्रन्थ प्रकाशन गरेको छ।
एमालेका पूर्व महासचिव माधवकुमार नेपालद्वारा शनिवार लोकार्पण गरेको ग्रन्थमा मदन भण्डारीका बिद्यार्थी जीवन र त्यसपछि भूमिगत जीवनका खोजमूलक र तथ्यमूलक सन्दर्भहरु समेटिएका छन्। ६ सय ८ पृष्ठमा समेटिएको ग्रन्थभित्र भण्डारीको बनारसको बिद्यार्थी जीवनदेखि २०४६ सालमा सार्वजनिक हुंदासम्मका सन्दर्भहरु संग्रहित छन्।

बहुदलीय जनवादका ब्याखाता भण्डारीको २०५० साल जेष्ठ ३ दासढुंगामा भएको सडक दुर्घटनामा निधन भएको थियो।

Popularity: 9%

2 comments June 30th, 2008

स्वीट्जरल्याण्डमा रोधी साँझ

विराज शर्मा र प्रकाश तिवारी, जुरीख / एचकेनेपाल डट कम -
रोधी साँझको विशेष प्रस्तुति स्वरुप परम्परागत पहिरन गुन्यु चोलीमा सजिएका महिलाहरु र ढाका टोपी, दौरा सुरुवालमा सजिएका पुरुषहरुको समूहबीच चलेको दोहोरी साथमा मादलको तालसंगै नाच्दै गाँउदै झुमेका दर्शकहरुको आकर्षणले साच्चै नै रोधीघरको झझल्को गराउँदथ्यो।
स्वीट्जरल्याण्डमा हुने अन्य कार्यक्रमहरु भन्दा उक्त जमघट फरक र नौलो प्रकारको रहेको थियो । प्रतिभावान कलाकारहरुलाई आफ्नो कला प्रस्तुत गर्न एक खुला मञ्च जस्तो रहेको सो कार्यक्रममा विविध नेपाली लोक तथा आधुनिक गीत एवं नृत्य प्रस्तुत गरेर थुप्रै कलाकारहरुले कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए। बीचबीचमा गन्यमान्य ब्यक्तित्वहरुले आ-आफ्ना स-सान्दर्भिक मन्तब्य ब्यक्त गरेका थिए। साहित्य पनि कलाको एक अभिन्न विधा हो भन्ने आभाष गराउँदै नेपाली साहित्य प्रेमीहरुको कविता र मुक्तकहरुले कार्यक्रमलाई अझै रौनकता दिएको थियो।

स्वीट्जरल्याण्डमा पछिल्लो समयमा आएर नेपालीहरुको आगमनमा वृद्धिसंगै एकपछि अर्को गर्दै विभिन्न संगठनहरुको स्थापना एवं साँस्कृतिक गतिविधिहरुमा तीव्रता आइरहेको छ। तैपनि कलाकारहरुको प्रतिभाको सम्मान नभएको साथै कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन नहुने गरेको गुनासो आइरहेकै बेला नेपाली कला र संस्कृतिप्रति उत्सुक कलाकर्मीहरुको प्रोत्साहन गर्दै आवश्यक हरेक सहयोग उपलब्ध गराउन सहज होस भन्ने हेतुले एक सहायता कोष खडा गर्ने उदेश्यका साथ तेम्पा गुरुङ शेर्पाले आफ्नै सम्पूर्ण आर्थिक खर्चमा निःशुल्क सो कार्यक्रमको आयोजना गरेर चुनौती प्रस्तुत गरेका छन्। तेम्पाका निकटतम सहयोगी समत्र राम चौधरीले कार्यक्रमको उद्धेश्यका बारेमा चर्चा गर्दै उक्त सहायता कोषमा स्वेच्छाले आर्थिक सहयोग प्रदान गर्न अनुरोध गरेका थिए। विदेशमा रहेपनि आफ्नो संस्कृति र जीवनशैलीलाई विर्सन नहुने उल्लेख गर्दै चौधरीले सो कार्यक्रममा विशेष सहयोग गर्ने दलबहादुर पुन, दिर्घ थापा (मामा), सुरज श्रेष्ठ तथा अन्य व्यक्तित्वहरु तथा उपस्थित सवैलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सञ्चालन आशा स्टुकीले गरेका थिए।
विराज शर्मा र प्रकाश तिवारी

Popularity: 9%

Add comment June 30th, 2008

अनेसास बेल्जियम च्याप्टरले भानु जयन्ती मनाउने

सम्वाददाता, ब्रसेल्स, बेल्जियम / एचकेनेपाल डट कम -
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले १३ जुलाई , २००८ आईतवारका दिन ब्रसेल्समा (Rue de la madleiene 5 (Grand Place), near Central Station) भानु जयन्ती मनाउने भएको छ । तनहुँको चुँदी, रम्घामा १९५ वर्ष अघि जन्मेका भानुभक्तले नेपाली भाषामा थुप्रै साहित्यिक कृति हामीबीच छाडेर गएका छन् । रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपाली जनजिब्रोमा लोकप्रिय बनाएका छन्।
उक्त अवसरमा भानुभक्तको विविध आयामको बारेमा चर्चा गरिनाका साथै कविता गोष्ठी पनि आयोजना गरिनेछ । त्यस कार्यक्रममा बेल्जियममा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

उक्त कार्यक्रममा संसारभरिका सम्पूर्ण कवि तथा कवयित्रीहरुलाई आआफ्ना अप्रकाशित कविता तथा गजल sabdanjali@gmail.com मार्फत पठाउन अनुरोध गरिएको छ । प्राप्त रचना निकट भविष्यमै प्रकाशित हुनलागेको अनेसास बेल्जियमको अर्धबार्षिक प्रकाशन शब्दाञ्जलीको दोस्रो अंकमा प्रकाशित गरिने कुरा पत्रिकाका ब्यवस्थापक कुम शाहीले बताउनु भएकोछ ।

Popularity: 9%

Add comment June 30th, 2008

कोरियामा कांग्रेस नेताद्वय प्रकाशमान सिंह र गगन थापा (+Photo)

रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
नेपाल सम्पर्क समिति कोरियाको प्रथम अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नेपाली काँग्रेसका उपसभापति प्रकाशमान सिंह र युवा नेता गगन थापा कोरिया आई पुग्नु भएको छ।

तस्विरः रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम।

नेपाल सम्पर्क समितिको महाधिवेशन समारोहको उद्घाटन गर्दै नेपालमा हालै सम्पन्न संविधान सभापछि नेपाली काँग्रेसले खेल्नु पर्ने भूमिकाको बारेमा प्रस्ट पार्नुभएको थियो। कोरियाको राजधानी सउलमा आइतबार सम्पन्न अधिवेशनमा नेपाली काँग्रेसका यूवा नेता गगन थापाले ४० वर्ष अगाडि नेपाल र कोरियाको आर्थिक स्थिति समान रहेको तर आज कोरियाले अकल्पनिय रुपमा फड्को मार्नुको प्रमुख कारण कोरियाका नागरिकहरुको देश भक्ति भावनाको कारणले विश्वको इतिहासमै यति कम समयमा विकासको शिखरमा उक्लन सफल भएको बताउनुभयो। नेपाली नागरिकहरुको म्ाानसिकता हिंसात्मक भएकोले नेपालीहरुको मानसिकतामा देश भक्तिको भावना उत्पन्न नभएसम्म देशले अग्रगति लिन नसक्ने बताउंदै यही स्थिती केही वर्ष देशमा रहिरहेमा देश अन्धकारको खाडलमा भासिने र नेपालको अस्तित्वनै समाप्त हुन सक्ने चेतावनी दिनुभयो। दक्षिण कोरियाका लागि नेपाली राजदूत कमलप्रसाद कोइरालाले देशका प्रमुख राजनीतिक पार्टीहरुले कुर्सिको लागि लर्डाई गरिरहेको आरोप लगाउंनुभयो। उहाँले विकसित राष्ट्रहरुमा शक्तिशाली पार्टीहरुले प्रतिपक्षमा वसेर प्रमुख भूमिका निर्वाह गरेको उदाहरण दिदै सवै शक्तिशाली दलहरु सरकारमा जान नहुने वताउनु भयो।

नेपाल जनसम्पर्क समितिका कार्यवाहक सभापति नरेन्द्र गुरुङको सभापतित्वमा सम्पन्न भएको महाअधिवेशनको उदघाटन नेपाली काँग्रेसका उप सभापति प्रकाश मान सिंहले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक तथा सामाजिक संघ सस्थाका प्रतिनिधिहरु व्यापारी, मजदुर, पत्रकार तथा बिद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो। पहिलो चरणको कार्यक्रमका सभापति नरेन्द्र गुरुङ्गले उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रम समाप्तिको घोषणा गरे लगतै बन्द सत्र सुरु भएको थियो। अधिवेशनले नरेन्द्र गुरुङलाई सर्वसम्मतिबाट अध्यक्ष पदमा चयन गरेको छ।

नेपालमा भर्खरै सम्पन्न संविधान सभाको सभासद समेत रहनु भएका नेपाली काँग्रेसका नेताद्वय प्रकाशमान सिंह तथा युवा नेता गगन थापा आइतवार बिहान ८ बजे दक्षिण कोरिया आइपुग्नु भएको थियो। नेपालमा गम्भीर राजनीतिक परिस्थिति उत्पन्न भएको अवस्थामा देशका जिम्मेवार नेताहरु यसरी जनसम्पर्क समितिको अधिवेशनमा भाग लिन दक्षिण कोरिया आउनुले सो अधिवेशनलाई महत्वका साथ हेरिएको छ।

Popularity: 9%

1 comment June 30th, 2008

बैंककमा भगवती माताको मूर्ति स्थापना (+Photo)

सम्वाददाता, बैँकक / एचकेनेपाल डट कम -
करीव २० - २५ वर्षअघि बैंककमा स्थापना भएको शिरीपोट नेपाली मन्दिरमा आज श्री पलाञ्चोक भगवती माताको मूर्ति विधिवत स्थापना गरिएको छ।
मूर्ति स्थापनाको शुभ अवसरमा नेपाली राजदूत नविनप्रकाश जंग शाह र उहाँका परिवार, एनआरएनका अध्यक्ष रमेश हमाल र अर्जुनकान्त मैनाली लगायतका गान्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।

श्री त्रिनाथ देवालयको रुपमा लोकप्रिय रहेको मन्दिरका लागि काठमाडौबाट आउनुभएका ९ जना भक्तजनसहित श्री हारती माता समाज सेवा संघ आश्रमका अध्यक्ष गुरु रासनजीले उपहार स्वरुप प्रदान गर्नुभएको हो। काठमाडौंदेखि बैंककसम्म श्री पलाञ्चोक भगवती माताको मूर्ति ल्याउन यहाँस्थित नेपाली दूतावासको सहयोग गर्नुभएको थियो भने बैंककका नेपाली साँस्कृतिक टोलीका मूख्य सदस्य राज कर्माचार्यले विशेष योगदान पुर्‍याउनुभएको थियो।


तस्विर सौजन्यः राज कर्माचार्य, बैंकक / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 9%

Add comment June 29th, 2008

कतारमा तमू भेलाको तयारी

बिलबहादुर गुरुङ कतार, जुन २९ / एचकेनेपाल डट कम -
तमू बौद्ध सेवा समिति कतारले कतारवासी तमूहरुको बीचमा विविध विषयमा आपसी छलफल गर्न तमू भेलाको आयोजना गर्ने भएको छ।
‘आगामी जुलाई १८ तारिख शुक्रबारका दिन विशेषतः मौजुदा कार्यसमितिले आफ्नो कार्यकालको ६ महिना पूरा गरेको अवसरमा यो भेलाको आयोजना गर्न लागिएको हो’ - अध्यक्ष जगन तमूले जानकारी दिनु भयो।

‘यस भन्दा अगाडिको तमू भेलाले दिएको निर्देशन अनुसार समितिको प्रगति विवरण जनसमक्ष ल्याउन पनि यो भेला आयोजना गर्न लागिएको हो’ - समितिका महासचिव कृष्ण तमूले भन्नुभयो, - ‘यस कार्य समितिको गठन भएपछि ६ महिनाको अवधिमा भए गरेका गतिविधिहरु बारे पनि उक्त भेलामा छलफल गरिनेछ।’

त्यसै गरी, समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारको गतिविधि र यसले प्राप्त गरेका उपलब्धीहरु बारे पनि छलफल गरिने कुरा सांस्कृतिक परिवारका अध्यक्ष बिमल तमूले बताउनु भयो।

Popularity: 9%

1 comment June 29th, 2008

कमल नेपाली सबैको हिरो, सम्मानको ओईरो (+News update)

प्रधानमन्त्री कोइरालाद्वारा तीन लाख पुरस्कार
काठमाडौं सम्वाददाता / एचकेनेपाल डट कम, जुन २९-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज आइतबार साहसी र बहादुर कमल नेपालीलाई सरकारको तर्फबाट प्रोत्साहनस्वरुप तीन लाख नगद पुरस्कार प्रदान गरेका छन्। प्रम कोइरालाले परिवारका सदस्यहरुसंग वालुवाटार पुगेका कमललाई स्यावसी दिदैं साहसिक काममा जस्तै पढाईमा पनि ध्यान दिन सुझाव दिएका थिए। प्रम कोइरालाले कमलको पढाईमा बाधा परे सरकारले सघाउनेसमेत आश्वासन दिएका थिए।
कमल नेपाली सबैको हिरो, सम्मानको ओईरो (+News update)
काठमाडौं सम्वाददाता / एचकेनेपाल डट कम, जुन २८ -
पोखराको सेती नदी छेउ करीव ७० फीट गहिरो खोंचमा खसेकी अढाई वर्षीया बालिकालाई उद्धार गरी निकालेका १२ वर्षीय किशोर कमल नेपाली अहिले सबैका हिरो बनेका छन्। उनको साहस र बहादुरीका कारण उनलाई अहिले माया र सम्मान गर्ने संघसंस्थाहरुको ओइरो लागेको छ। उनी आफ्नो सम्मानमा आयोजित कार्यक्रमहरुमा अहिले राजधानीमा व्यस्त छन् भने विभिन्न औपचारिक कार्यक्रमहरुमा प्रमुख अतिथिका रुपमा सरीक भै सम्मान ग्रहण गरिरहेका छन।

कमल नेपालीलाई सम्मान र पुरस्कार
- शिशु निकेतन स्कुल, पोखराद्वारा कमल नेपालीलाई दस कक्षासम्म निःशुल्क पढाई दिने घोषणा
- राजधानीको जेभियर इन्टरनेशनल स्कुलले पढ्न, खान र बस्न निःशुल्क व्यवस्थाको घोषणा
- राजधानीबासीको निमन्त्रणामा पहिलो पटक बिमानद्वारा राजधानीको यात्रा
- राजधानीस्थित पाँच तारे होटल याक एण्ड यतिको विशेष पाहुना बन्ने अवसर
- एभरेष्ट इन्स्योरेन्स कम्पनीद्वारा १ लाख, १ हजार १ रुपैयाँ पुरस्कारको घोषणा
- कमलद्वारा शुक्रबार दशरथ रंगशालामा बास्केटबल खेलको उद्घाटन
- सगरमाथा टेलिभिजनले आयोजना गरेको र्‍यालीको विशेष आकर्षण
- टाटा मोबाइलमा राखि अनाम नगर, माइतीघर, न्युरोड हुंदै प्रदर्शनीमार्गस्थित पर्यटन बोर्ड पुर्‍याइएको
- उनलाई सम्मान गर्न, रकम दिनेको र्घुइचो
- मितेरी अस्पतालद्वारा कमललाई आजीवन निःशुल्क उपचारको घोषणा
- रमपम तयारी चाउचाउद्वारा पहिलो पटक ‘रमपम ब्रेभरी अवार्ड’को स्थापना, यो वर्षको अवार्ड कमललाई दिने घोषणा
- यस वर्षको ‘वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार’ कमललाई प्रदान गरिने घोषणा
- सोही कोषले कमललाई ‘वर्षको बालक’ उपाधिसहित २५ हजार रुपैयाँको पुरस्कार प्रदान गर्ने घोषणा
- २९ जुन, प्रम कोइरालाद्वारा प्रोत्साहनस्वरुप ३ लाख नगद पुरस्कार प्रदान



तस्विर सौजन्यः किरण पाण्डे / हिमाल खबर

२२ घण्टापछि सेती नदीको खोंचमा खसेकी बालिकाको उद्धार
अखण्ड ज्योति पोखरा, 25 June, ११ असार / एचकेनेपाल डट कम -
सेती नदीको खोंचमा खसेकी अढाई वर्षीया बालिका आराधना प्रधानको २२ घण्टापछि उद्धार गरिएको छ। बालिकालाई स्थानीय १२ बर्षीय कमल नेपालीले आज खाडलबाट सकुशल निकालेका हुन्। बालिका प्रधान मंगलवार दिउंसो २ बजे करीव ७० मिटर गहिरो खाडलमा खसेकी थिइन्। उद्धारपछि बालिकालाई स्थानीय मणिपाल शिक्षण अस्पतालमा लगिएको छ। बालिका प्रधानको उद्धारका लागि स्थानीयबासी र सुरक्षाकर्मी लामो समयसम्म खटेका थिए। खाडलभित्र हराईरहेकी प्रधानलाई नभेटिएपछि उद्धारका लागि क्यानोनियन एसोसियसनका पाँच सदस्यीय विशेष टोली काठमाडौंबाट पोखरा आएका थिए। ती टोलीको विशेष सहयोगमा १३ वर्षीय बालक कमल नेपालीले बालिका प्रधानलाई सेती नदीको खोंचबाट निकालेका थिए।

थप समाचार कान्तिपुरबाटः कुलचन्द्र न्यौपाने/प्रेम नेपाली
पोखरा, असार ११ - सेती नदी खोंचमा खसेकी अढाई वषर्षीया बालिकालाई २० घन्टापछि बुधबार दिउंसो १२ वर्षीय किशोरले उद्धार गरेका छन् । उनी मंगलबार दिउंसो झन्डै ६० फिट तल खसेकी थिइन्। नेपाली सेना, प्रहरी, स्थानीयवासी र काठमाडौंबाट आएको प्राविधिक टोलीले समेत गरेको पटक-पटकको उद्धार प्रयास सफल नभएपछि टुडुंगाका किशोर कमल नेपालीले दिउंसो ११:४५ बजे बालिका आराधना प्रधानलाई उद्धार गरेका थिए।

बालिका खसेको खबर सुनेर बिहान ५ बजे आइपुगेका नेपाल क्यानोनिङ एसोसिएसनका पाँच जना विशेषज्ञ टोलीले समेत उद्धार गर्न नसकेपछि कमललाई उद्धारका लागि दाजु सलुमले घटनास्थल ल्याएका हुन् ।

काठमाडौंबाट आएका चाङवु शेर्पा करिब ३० फिटभन्दा तल र्झन सकेनन् । उनीसहित चार जनाले झन्डै दुइ दुइ घन्टा प्रयास गरेका थिए। ‘झर्ने ठाउ“ सानो थियो । बच्चा रोइरहेको आवाज सुनियो । हाम्रो आवाज सुनेपछि बच्चा च्याठिन्थ्यो,’ उनले भने- ‘छिर्ने ठाउ“ सानो भएको र चट्टानले गर्दा हामी आफैं अड्कने अवस्था आयो, अघि बढ्न सकेनौं ।’

उनीहरूले सानो डालका मानिस जान सके उद्धार सम्भव हुने बताएपछि दाजुले कमललाई भनेका थिए । ‘हाम्रो बहिनीजस्तै नानी जमिनमुनि छिन्, उद्धार गर्न जान्छौ -’ भन्दा कमल फुर्तिसाथ ‘हुन्छ’ भनेर तम्सिए। उनलाई देख्नासाथ केहीछिन सबै चकित भए । सानो बालकलाई पठाउंदा अर्को घटना निम्तिने डरमा प्रशासनले नजान सल्लाह दिएको थियो । तर दाजु सलामले पठाइछाडे । नाइलनको डोरीको सहायताले भित्र पसेका कमलले आधा घन्टामा बालिकालाई निकालेका थिए।

उनी घिस्रदै बच्चा भएको ठाउंमा पुग्न करिब २० मिनेट लागेको थियो । भित्र ठाउं-ठाउ)मा फराकिलो भए पनि बालिका भएको ठाउं सांघुरो थियो । त्यसैमा उनी च्यापिएकी थिइन्।

‘भित्र कस्तो थियो, डर लागेन -’ सोद्धा खुसीले फुरुङ परेका कमलले भने- ‘अंध्यारो सांघुरो थियो तर म डराइन्, घिस्रदै-घिस्रदै नजिकै पुगेर नानु भनी बोलाए“।’

‘म नानु भन्दै तल झरिरहें,’ बाहिर आएपछि स्थानीय सञ्चारकर्मीबाट घेरिएका कमलले आफू झरेको पारा लगाउंदै भने- ‘नानीले दाइ भनेजस्तो लाग्यो । उनी ‘कुप्रो’ परेर बसेकी थिइन् । मलाई माया लाग्यो । अनि काखमा लिए“ । मैले लगेको जुस खुवाए र डोरीले बाँधेर झोलामा राखेर ल्याएं ।’

‘ऊ हेर त, बच्चा निकालें,’ झोलाभित्रकी बालिकालाई डोरीको सहारामा खाडलभित्रबाट बाहिर निकाल्दै गरेको देखेपछि चिन्ताले ब्याकुल भीडमा एकाएक खुसी छाएको थियो । एकैछिनमा सेती नदी किनारामा टन्टलापुर घाममा निराशा व्यक्त गरिरहेका सयौंको भीडमा खुसीले बालिका हेर्ने तंछाडमछाड चल्यो । सबैको मुहारमा खुसी ल्याउने नायक भए कमल । थामिनसक्नुको भीडमा कोहीले काँधमा बोकेर डुलाए त कोहीले ‘सधैं राम्रो काम गरेस्’ भनेर आशीरवाद दिए उनलाई । कमललाई पैसा दिनसमेत तंछाडमछाड चल्यो।

मंगलबार दिउंसो साढे दुइ बजेदेखि जमिनमुनि खसेकी बालिकाले केही खान पाएकी थिइनन् । सुरक्षाकर्मीहरूले पटक-पटक जुस र खानेकुरा जमिनमुनि पठाए पनि उनी रहेको ठाउं यकिन नभएकाले पाउन सकेकी थिइनन् । खसेदेखि रातभर बालिका रोएको रोयै थिइन्। अघिल्लो दिन रातिसम्म रोएको आवाज बाहिर सुनिएको थियो । ‘कहिले मम्मी भनेर बोलाएकी हुन्थिन्, कहिले बाबा भनेर चिच्याएको सुनिन्थ्यो,’ उनका बाबु जोनले भने- ‘रातभर भगवानको प्रार्थना गरौं, छोरी जीवितै आउंछिन् जस्तो आस लागेको थियो । अहिले पुग्यो ।’

आराधना जोन र एस्तरकी एक्ली छोरी हुन् । भारतबाट आएका उनीहरू पाँच वर्षअघिदेखि विरौटास्थित अनुग्रह मण्डली चर्चमा बस्छन् । आराधनाको बाबु जोन चर्चका पास्टर पनि हुन् । मंगलबार छिमेकीमा प्रिस्कीला पौडेलका ७ वर्षीय छोराको निधन भएको दुःख थियो । बच्चाको समाधिका लागि बाबुआमासंगै छोरी पनि गएकी थिइन् । त्यतिवेलै उनी नजिकैको उक्त खोंचमा खसेकी हुन्।

आराधनाका बाबु जोनले भने- ‘खसेको आधा घन्टापछि मात्रै छोरीलाई खोज्यौं । कतै देखेनांै । चिच्चाएर बोलायौं । बोलाउंदा जमिनमुनि रोएको आवाज आयो । छोरीले ‘सुरुबाटै बाबा-बाबा भनेर चिच्चाइरहेकी थिई । म र एकजना छिमेकी त्यहीं धाँजा फाटेको जमिनबाट करिब १० फिट तल गयौं, नदेखेपछि फर्कियौं ।’

बालिका राति पनि रोइरहेकी थिइन् । उनी रोएको सुनेर परिवार र आफन्तजनलाई मन थाम्न मुस्किल भएको थियो । बिहान ९ बजेदेखि बालिकाको आवाज सुनिएको थिएन। उनको निधारमा सामान्य चोट छ । उनलाई निकाल्नासाथ एम्बुलेन्सबाट स्थानीय मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो । केहीछिन आकस्मिक कक्षमा राखेर उपचार गरेपछि आईसीयूमा राखिएको छ।

बच्चा निकालेपछि खुसीले गद्गद् बाबुले भने- ‘मैले छोरीलाई अस्पतालमा गएर हेरें । अक्सिजन मास्कभित्र पनि ऊ मलाई देखेर मुस्कुराई। केही बोल्न खोजे जस्तो गरेकी थिई, त्यसपछि रुन थाली।’ अस्पतालमा छोरीको मुख हेरेपछि बाबु जोनले कमललाई अंगालोमा हालेर निकै समय रोए । ‘मन थाम्नै सकिनं, मैले यतिबेला बोल्ने शब्द पनि पाएको छैन,’ गला अवरुद्ध पार्दै उनले भने- ‘यो मेरो छोरो हो, धन्यवादमा सीमित पार्न चाहन्नं।’ जोनकी श्रीमती एस्तरले पनि उस्तै भावना पोखिन् । रातभर आँसु र अनि“दोले बेहोसजस्तै एस्तर प्रधानमा एकाएक खुसी छाएको थियो । ‘चिकित्सकका अनुसार बालिकालाई चोटपटक लागेको छैन। सरकारी विद्यालयमा कक्षा १ मा पढेका कमललाई स्थानीय शिशु निकेतन स्कुलले दस कक्षासम्म निःशुल्क पढाइदिने घोषणा गरेको छ।
पोखराबाट अखण्ड ज्योति, तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम।


उद्धार गरिएकी बालिका प्रधानको अस्पतालमा उपचार हुंदै।


बाबुसंग बहादुर बालक १२ वर्षीय कमल नेपाली, जसले बालिकालाई खाडलबाट निकालेका थिए।


बालिकाकी बाबु आमा।


उद्धारका लागि काठमाडौंबाट पोखरा आईपुगेका विशेष टोली ।

उद्धारकार्यका झलकहरुः

थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 11%

54 comments June 29th, 2008

एक मधेस एक प्रदेशको माग अस्वीकार्य

सम्वाददाता काठमाडौं / एचकेनेपाल डट कम -
नेकपा एमाललेका महासचिव झलनाथ खनालले एक मधेस एक प्रदेशको माग आफ्नो पार्टी एमालेलाई स्वीकार्य नहुने बताएका छन्।
मनमोहन प्रतिष्ठानद्वारा मनमोहन अधिकारीको ८७औं जन्म जयन्तीको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव खनालले कसैले एक मधेस एक प्रदेशको माग उठाएर व्यवस्थापिका संबिधानसभाको बैठकलाई अबरुद्ध पार्न नहुने बताएका छन्।

जनताले संबिधानसभालाई म्याण्डेट दिएकाले बैठकलाई कसैले अवरोध गर्न नमिल्ने खनालको भनाई रहेको थियो। महासचिव खनालले बैठक अबरुद्ध पारेर समस्या समाधान नहुने जनाउंदै संसदमा छलफल गरेरमात्र निकास खोज्नु पर्ने सुझाव दिएका छन्। महासचिव खनालले तराईलाई एउटै माने हिमाल र पहाडमा पनि त्यस्तो माग उठ्न सक्ने जनाउंदै चुरे भावर, जनजाति महासंघ लगायतसंग सरकारले गरेको सहमतिमाथि सबैले ध्यान दिनु पर्ने बताए।

Popularity: 9%

2 comments June 29th, 2008

झापामा धान दिवस

युवराज विवश, दमक/ एचकेनेपाल डट कम -
असार १५ अर्थात धान दिवसको अवसरमा नेपाल किसान महासंघको आयोजनामा आइतबार झापामा धान रोपिएको छ।
लखनपुर १ पाडाजुँगीमा १ सय रोपार, १२ हल गोरुसहित बाजा गाजाका साथमा धान दिवस मनाइएको हो । महासंघका केन्द्रीय सदस्य बेनुप्रसाद शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिलाले असारे गीत गाएर धान दिवस मनाएका थिए। महासंघले प्रत्येक वर्षको असार १५ लाई धान दिवस संगै किसान दिवस घोषणा गर्न माग गरेको छ।

करीव ३ सय जनाको सहभागीता रहेको उक्त कार्यक्रममा रोपार, बाउसे सबैले धान दिवस सफलताका लागि संगै दही चिउरा खाएका थिए। महासंघले प्रत्येक वर्ष रोपाइँ गरेर धान दिवस मनाउने गरेको छ।

Popularity: 9%

Add comment June 29th, 2008

कतारका जनजातिहरुले कलाकारहरुसंग भेटघाट गर्‍यो

बिलबहादुर गुरुङ, कतार / एचकेनेपाल डट कम -
गत २५ तारिख बुधवारका दिन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले नेपाल साँस्कृतिक संस्थानका अधिकारी तथा कलाकारहरु र नेपाल पर्यटन बोर्डका पदाधिकारीहरुसंग भेटघाट कार्यक्रमको आयोजना गर्‍यो।
नेपाली दूतावास कतारको सभाकक्षमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रमको सभापतित्व महासंघका अध्यक्ष अमृत गुरुङले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा राजदूत डा.सूर्यनाथ मिश्रको उपस्थिति थियो। महासंघका सल्लाहकार बिलबहादुर गुरुङले सञ्चालन गर्नु भएको सो कार्यक्रममा अर्का सल्लाहकार तथा नेपाल प्रवासी मगर संघ कतारका अध्यक्ष छत्रबहादुर घले मगरले सहभागी अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा महासंघसंग आबद्ध मातृ संस्थाका प्रमुखहरु तथा पदाधिकारीहरु र कतारमा कार्यरत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो।

नेपाली दूतावास कतारको आयोजनामा गत २३ तारिख सोमवार रमदा होटलमा आयोजना गरिएको नेपाल पर्यटन तथा सांस्कृतिक महोत्सव २००८ मा नेपाली कला र संस्कृति पर््रदर्शन गर्न नेपाल पर्यटन बोर्डका पदाधिकारीहरु तथा नेपाल सांस्कृतिक संस्थानका अधिकारी र कलाकारहरु आएका थिए । झण्डै ३ लाख नेपालीहरु कार्यरत रहेको कतारमा नेपाल र नेपाली कला/संस्कृतिको जानकारी र परिचय कतारी तथा अन्य विदेशीहरुलाई दिनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

नेपाल संास्कृतिक संस्थानका महाप्रबन्धक लक्ष्मण रायभाझी तथा संस्थानका कलाकारहरु र नेपाल पर्यटन बोर्डका सञ्चार प्रमुख शरद प्रधान तथा पदाधिकारीहरुलाई महासंघका अध्यक्ष अमृत गुरुङद्वारा खादा ओढाएर स्वागत गरिएको थियो भने प्रमुख अतिथि राजदूत डा. मिश्रले महासंघको तर्फबाट प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो।

समग्रमा महोत्सव सफल भएको र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले आफू मातहातका संस्थाहरुका कलाकारहरु उपलब्ध गराएर ठूलो सहयोग गरेकोमा दूतावासको तर्फाट महासंघलाई धन्यवाद दिन चाहन्छु आप\mनो मन्तव्यको क्रममा प्रमुख अतिथि राजदूत डा.सूर्यनाथ मिश्रले भन्नु भयो। त्यसरी नै मन्तव्य राख्ने क्रममा नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक लक्ष्मण रायमाझीले कतारमा मिनी नेपाल भेटिएको र नेपालीहरुबाट पाएको यस्तो आत्मियता र सदभावले हामीलाई काम गर्न थप हौसला मिलेको विचार व्यक्त गर्नु भयो । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको तर्फाट पाएको यो खादा र प्रशंसा-पत्रले अरु जिम्मेवारी बढेको महसुस गरेका छौं महाप्रबन्धक रायमाझीले भन्नु भयो।

नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न र नेपाली कला र संस्कृतिलाई विदेशी सामु प्रस्तुत गर्ने उद्धेश्यले आयोजना गरिएको यस ऐतिहासिक महोत्सवमा नेपालका विभिन्न जात जातिका कला र संस्कृतिहरुको प्रदर्शन गरिएकोमा सबैले खुसी व्यक्त गरेका थिए।

Popularity: 8%

Add comment June 29th, 2008

रोपाईंको चटारो र रोपाई महोत्सव

शिव शर्मा चञ्चल / एचकेनेपाल डट कम, जुन २८ -
अहिले किसानहरुलाई सास फेर्ने समेत फुर्सद छैन । सखारैदेखि राति अबेरसम्म खेतवारीमा जोतिनुपर्छ। कराकर र माचामाचले उनीहरुलाई अन्यत्र सोच्ने फुर्सद पनि कमै मिलेको हुन्छ। यस्तो नहोस पनि किन? असार महिना भनेकै मानो खाएर मुरी उब्जाउने समय हो । यही भनाईलाई साथर्तकता प्रदान गर्न पनि किसानहरु यतिबेला खेतबारीमा अहोरात्र खटिएका भेटिन्छन् । हरेक वर्षजसो जेठबाट रोपाई थाल्ने किसानहरु यस पटक भने पानी नपरेकाले छिट्टै रोपाई गर्न पाएनन्। वर्षको सुरुवातसंगै असार लागेपछि भने रोपाईको चटारो खेतबारीमा भ्याई नभ्याई छ।
गाउँघरमा रोपाईको चलन पुरानै तौर तरिकाले चलेपनि शहरतिर भने परम्परामा आधुनिकताले थिचीरहेको छ । हलगोरुको ठाउँमा ट्याक्टर प्रयोग गर्न थालेपछि पुरानो संस्कृति र चालचलन विस्तारै लोप हुने अवस्थामा पुगेको छ । यो सबै आधुनिकताले ल्याएको परिवर्तन मान्न सकिन्छ । तर आधुनिकताको परिवर्तनलाई हामी सबैले अंगीकार त गर्नुपर्छ नै । तर आफ्नै रितिरिवाज र पुरानो चलनलाई भने कसैले पनि बिर्सन मिल्दैन । गाउँघरतिर हलगोरुको प्रयोगसंगै हह माले हह सुन्न पाउँदा मनै चंगा हुन्छ । यो रमाइलोले कामको थकानलाई समेत बिर्साई दिन्छ । बास्तविक रोपाईको उत्सव हेर्न भने हामी गाउँघर नै नियाल्नुपर्छ । गाउँले मौलिकताको परिचय दिन्छ र दिदै आएको छ।

असारको महिना एक प्रकारले किसानहरुका लागि धेरै व्यस्त महिना त हो नै। अर्कोतिर यो एउटा रमाइलो उत्सव पनि हो। सारा पीडा दर्द बिर्सेर किसानहरु रोपाईको चटारोसंगै एक आपसमा हिलो खेल्न पनि व्यस्त रहन्छन्। बाउसेहरु खेतालीहरुलाई हिलो छ्याप्न घम्साघम्सी गर्छन्। खेतालीहरु पनि बिउ रोप्न छाडेर बाउसेहरुलाई हिलो छ्याप्न तम्सन्छन्। यो दृश्य आजभोलि खेतबारीमा दिनहु देख्न पाईन्छ।

असार भाका घन्काउदै खेतालीहरुको घम्साघम्सीले रोपाईको मौसम विछट्टै रमाइलो हुन्छ। मुलुकका विभिन्न भागमा जस्तै पर्यटकीय नगरी पोखराका विभिन्न फाटहरुमा यतिबेला रोपाई महोत्सवको तामझाम बेग्लै देखिएको छ । पोखरा आसपासका फाँटहरुमा रोपाईको माचोले शहरको वातावरणलाई पनि व्यस्त तुल्याईदिएको छ।

असारै मासको दबदबे हिलो, छि मलाई घिन लायो ।
पातली नानीलाई फरिया किन्दा, छ बिस ऋण लायो ।।

यस्ता असारे गीतहरुले खेतका फाँटहरु रनक्क रन्किएका छन् । कोही हिलोमै असारे भाकामा कम्मर मर्काउन पनि पछि पदैनन्। बिगतमा जस्तो यी यस्ता असारे गीतहरु आजभोलि उति धेरै सुन्न पाइदैन । पाश्चात्य संगीतले असारे भाका ओझेलमा परेको छ । असारे गीतप्रेमी किसानहरु कतै असारे भाका लोप हुने त हैन भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन् । निश्चितै रुपमा शहरीया तन्नेरी पुस्तामा रोपाईको बारेमा त्यति सारो जानकारी छैन र उनीहरु जानकारी राख्न चाहदैनन पनि । हिलोमा पस्दा हिनता प्रकट गर्ने जमात पनि यही भेटिन्छन्। जबकि, एउटा कृषिप्रधान देशको रुपमा चिनिएको नेपालमा यस किसिमको प्रवृत्ति देखिनु भनेको ज्यादै नै लाज मर्दो कुरा हो । यही चिन्ता र अज्ञानताको पर्दा खोल्न हरेक वर्षजसो पोखरामा रोपाईलाई महोत्सवकै रुपमा आयोजना गर्न थालिएको छ । रोपाई महोत्सव नामकरण गरिएको यस्तो उत्सवमा विदेशी पर्यटकहरुको चासो र सरोकार अधिक रहने गरेको छ । पोखरा पर्यटन परिषदले सदा झै यसपटक पनि असार १५ गते रोपाई महोत्सव गर्ने भएको छ। ‘सवै सिजनका लागि पोखरा’ भन्ने नारा बोकेर परिषदले पाँच बर्षदेखि रोपाई महोत्सव महोत्सव गर्दै आएको हो। परम्परागत संस्कृतिको संरक्षण र कृषि पर्यटनको प्रवर्द्धनमा सघाउ पुर्‍याउदै वेमौसममा पर्यटकलाई आकर्षक कार्यक्रम दिन व्यवसायीहरुले यस्तो महोत्सव आयोजना गर्न थालेका हुन। जुन महोत्सवमा शहरीया युवापुस्ता र विदेशी पर्यटकहरु पनि लोभी थालेका छन्। विदेशीहरु त झन महोत्सवको रमिता हेरेर दंग पर्ने गरेका छन्। यही भएर आयोजकहरुले यस पटकको महोत्सवमा बढीभन्दा बढी विदेशी पर्यटकहरुको आगमन हुने अपेक्षा गरेका छन्।

पर्यटक दौड प्रतियोगिता असारे गीत तथा रोपाई, साउने, पुरुष तथा महिला खुला दौड, संचारकर्मी र पर्यटन व्यसायीबीच रस्सा कस्सी जस्ता प्रतियोगिता पनि महोत्सवमा राखिएको परिषदका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले जानकारी दिनुभयो। महोत्सव यसपटक हेमजा फाँटमा गर्न लागिएको छ। यस अघि पाल्पाली विरुवा फाँटमा दुई पटक र सेदी फाँट र बेगनास फाँटमा रोपाई जात्रा भइसकेको छ। जुन महोत्सवहरुमा विदेशी पर्यटकहरुको आकर्षण उल्लेख्य रुपमा पाइएको छ। विशेषत विदेशीहरुलाई नेपाली मौलिक परम्परा र रोपाई संस्कृतिको बारेमा धेरै भन्दा धेरै जानकारी दिनमा यो महोत्सवले सघाउ पुर्‍याएको पाईन्छ।

हुन त असार १५ को दिन हरेकले एक पटक हिलोमा टेक्नै पर्छ भन्ने पुरानो मान्यता अहिलेसम्म पनि विद्यमान रही रहेको छ। यसैलाई जीवन्त दिन केटाकेटीदेखि बुढाबुढी यस दिन खेतको हिलोमा पस्ने गर्छन । यही महत्वपूर्ण दिनलाई सदपुयोग गदै पोखरा पर्यटन परिषदले आन्तिरिक तथा बाह्य पर्यटकहरुलाई भेला गराएर असार रोपाई महोत्सव गर्न लागेको हो। केवल पर्यटन प्रवर्द्धन मात्र नभई यसले हाम्रो परम्परागत संस्कृति एवं आम कृषकहरुलाई पनि महोत्सवले प्रोत्साहन गर्नेछ। महोत्सव केवल हल गोरु कुदाउने र हिलो खेल्ने कार्यमा मात्र केन्द्रित रहने छैन। महोत्सवलाई आकर्षक र रोचक तुल्याउन विविद्य सांस्कृतिक कार्यक्रमहरु पनि रहने छन्। यसका अलवा रोपाई तथा असारे गीत प्रतियोगिता, हिलो खेत सम्माउने र हिलोमा पर्यटक दौड प्रतियोगितामा जस्ता रमाइला खेलहरु पनि समाविष्ट छन्। बढी भन्दा बढी पर्यटकहरुलाई सहभागी गराएर मनोरञ्जन प्रदान गरी परम्परागत संस्कृतिलाई संवोधन र संरक्षण गर्नु नि कार्यकमको उद्देश्य हो, परिषदका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ भन्छन्- ‘महोत्सवले पर्यटक बढाउनमा पनि मदत गर्नेछ।’ अहिलेदेखि नै रोपाइ महोत्सवको निम्तो बाँडदै पर्यटन व्यवसायीहरु लागिपरेका छन्।

अहिलेदेखि नै नेपाल बसाईमा रहेका पर्यटकरुलाई रोपाई महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीहरुले निम्तो दिइसकेका छन्। अहिले मुलुकको अवस्था पनि केही अनुकूल देखिएकोले यस पटक महोत्सवमा जमघट राम्रै हुने अपेक्षा आयोजकहरुले गरेका छन्। असारे खाजा, दही च्युराको स्वाद चखाउदै रमाइलो असारे महोत्सवमा सहमागी हुन सवै उत्सुक देखिएका छन्। नदेखिउन् पनि किन ? असार १५ को दिन आफैमा रमाइलो र रमाइलो चार्ड नै हो। गाउँघर जताततै यस दिन खेतका फाँटहरु उधुमै रमाइलो हुने गर्छ। त्यसैको झझल्को मेटाउन पर्यटन व्यवसायीहरुले असार १५ लाई रोपाई महोत्सवको रुपमा मनाउदै आएका हुन। नेपाल पर्यटन बोर्डले प्रवर्धन गर्ने रोपाई जात्राको तयारी शुरु भइसकेको छ।

Popularity: 9%

Add comment June 28th, 2008

पुस्तकालयमा कण्डम

युवराज विवश, दमक, / एचकेनेपाल डट कम, जुन २८ -
पुस्तकालयमा पनि ढाल (कण्डम) पाइन्छ भन्ने सुन्दा तपाइलाई आश्चर्य लाग्न सक्छ तर झापामा स्थापना गरिएका पुस्तकालयमा पत्र पत्रिकाको अलावा ढाल पनि पाईन्छ।
किशोर किशोरीलाई यौन तथा प्रजनन शिक्षा प्रदान गर्ने उद्धेश्यले मेरी स्टोप्स्को सहयोगमा महारानी झाडा, गौरादह, तोपगाछी र सतासीधाम गाविसमा स्थापना गरिएका पुस्तकालयमा यौन शिक्षाका साथै ढाल पनि निःशुल्क पाइन्छ । पुस्तकालयमा यौन शिक्षा प्रदान गर्ने खालका विभिन्न पुस्तक र पत्रपत्रिका समेत उपलव्ध गराइएको छ।

यौन शिक्षाको कमीका कारण नै हाम्रो समाजमा भयानक यौन सम्वन्धी रोग लाग्ने गरेको तथ्यलाई आधार मान्दै यस्तो अभियान सुरु गरिएको कुरा मेरी स्टोप्स् दमक शाखाका इन्चार्ज इन्द्र दाहालको भनाई रहेको छ। यहाँ पत्रपत्रिका पढ्नुका सथै विभिन्न उमेर समूहका किशोर किशोरी यौन र प्रजनन शिक्षा प्रदान समेत गरिन्छ । यसका लागि हरेक गाविसमा १० देखि १४ वर्ष, १५ देखि १९ तथा २० देखि २४ वर्ष उमेर बीचका किशोर किशोरीको समूह वनाई यस सम्वन्धी अध्ययन गराइने गरेको छ। कार्यक्रम सञ्चालन गरिएका हरेक गाविसमा यस्तै समूहका २० ,२० जनाको संजाल समेत गाठन गरिएको छ। उमेर समूह विभाजन गर्दा उनीहरु एक आपसमा राम्रो छलफल गर्न सक्ने वातारण रहने कुरा मेरी स्टोप्सका डाक्टर वीरेन्द्र शाहको भनाई रहेको छ। ग्रामिण इलाकाहरुमा सरसफाइको अज्ञानताका काराण वढी यौन रोग देखा पर्ने गरेको र रोग लागेको लामो समयसम्म पनि उपचार गर्न लाज मानेर वस्ने गरेकाले पनि वढी समस्या भएको डा. शाहले बताए।

Popularity: 9%

5 comments June 28th, 2008

शरणार्थी शिविरमा विवाहको लहर

युवराज विवश, दमक, / एचकेनेपाल डट कम, जुन २८ -
भूटानी शरणार्थीहरुलाई तेश्रो मुलुकमा पुनर्वास गर्न शुरु गरेपछि शरणार्थी शिविरमा विबाह गर्नेहरुको संख्या एकाएक बढ्न थालेको छ । शरणार्थीहरुलाई तेस्रो मुलुक पुनर्वास गराउने जिम्मा लिएको संस्था आप्रवास सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आइओएम)ले आफ्नो कार्य सुरु गरेपछि विवाह गर्नेहरुको संख्या ७० प्रतिशतले बढेर गएको छ।
बेलडाँगी २ स्थित भूटानी शरणार्थी शिविर व्यस्थापन समितिका सचिव नारदमणी सन्यासीले दिएको जानकारी अनुसार १ हप्ता भित्रमा १० देखि २० जना सम्मले विवाह दर्ता गर्ने गरेका छन्। विवाह गर्न उमेर पुगेका अधिकांशहरुलाई विवाह गरेर जाँदा राम्रो हुने सल्लाह दिने भएकाले यो क्रम बढेर गएको हो । झापा र मोरङमा रहेका सातै वटा शिविरमा यो क्रम बढेर गएको छ । जसले गर्दा नौ दस कक्षामा अध्ययनरत युवायुवतीहरु विवाह गर्न उत्साहित रहेका पाइन्छ । विगतको तथ्याङ्कलाई हेर्दा जन्मदर्ता भन्दा विवाह दर्ता एक्कासि बढेर गएको छ।

उमेर कलिलो देखिने केटाकेटीहरु समेत विवाह दर्ताका लागि आउने गरेका छन् । यसरी विवाह दर्ता गर्न आउने केहीले औपचारिक रुपमा विवाह नगरेको भए पनि दर्ता भने गर्ने गरेका छन् । पुनर्वासले गर्दा शिविरमा विवाह गर्ने लहर नै चलेको छ । अन्तर्वार्तामा विवाह गर्न उमेर पुगेकाहरुलाई जानु पूर्वनै विवाह गर्न प्रेरित गर्ने गरेका छन् । त्यस्तै पुनर्वासको क्रममा चिनजान भएका र जानकार मान्छे को कहाँ पुग्ने हो भन्ने टुंगो नभएका कारण पनि विवाह गरे सँगै जान पाउने इच्छाले पनि यो क्रम बढेको हो । शिविरमा दैनिक जसो विद्यालय पढ्दै गरेका विद्यार्थीहरु समेत विवाह गरेर पढ्न छोडेको घटना समेत बढ्न थालेको छ।

Popularity: 9%

Add comment June 28th, 2008

कलाकार गौतम रत्न तुलाधर कोरियामा (+Photo)

वाइ पाण्डे, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
कुनै वेला नेपाली चलचित्र क्षेत्रमा खलनायका रुपमा चिर परिचित बहुप्रतिभाका धनी कलाकार गौतम रत्न अहिले कोरियाली सँस्कृति मन्त्रालयको निमन्त्रणामा गत हप्ता कोरीया आई पुगेका छन्। कान्छी, जीवनरेखा, जुनी, कस्तूरी लगायतका दर्जनौ चलचित्रमा अभिनय गरिसकेका तुलाधर चलचित्रका खलनायक मात्र नभइ एक सफल डान्सर, नृत्य निर्देशक र एक कुशल चित्रकार पनि हुन्।
तुलाधरसंग कलाकारहरु चन्दा श्रेष्ठ र हरीबहादुर खडकासमेत आएका छन्। पहिलो चरणको कार्यक्रममा एसिया कल्चर सेन्टरमा आयोजित प्रदर्शनीमा नेपाली संस्कृति भल्किने चित्रकलाको संयुक्त प्रदशनी रहेको छ भने यही जुन २९ आइतवार पूसान तथा ख्वाङजुमा रहेका नेपालीसंग भेटघाट गर्ने कार्यक्रम रहेको प्रवन्धक याङ्गले जानकारी दिए। कोरीयावासी नेपालीहरुका लागि पनि एक गौरवको कुरा रहेको प्रवन्धक याङ्गले भने । नेपाली कलाकारहरुको कलाहरु दुरुस्त नेपाली परम्परागत कला, नृत्य र संस्कृति भल्कने भएको नेपालीहरुले वढी रोचकाता पूर्बक हेर्न आउने गरेको र किन्ने गरेको याङ्गले बताए।

दोस्रो चरणमा सउलमा प्रदर्शनीको लागि ठाउं र मिति अझै निश्चित नभएको कलाकार तुलाधरले बताए। ‘छिटै नै कोरियामा रहेका नेपाली संघ संस्था र नेपालीहरुको चाहनालाई ध्यानमा राखि तय गरिने छ’ उनले भने। आफूहरुले कोरियामा सोचेभन्दा धेरै माया र सम्मान पाएको बताउंदै हामी नेपालीको एकता विदेशमा अझ वढी झल्किन्छ उनले भने। यो सम्मान कोरियावासी नेपालीहरुले कोरियामा पारेको इमान्दारीता र लतगनशीलताको छापको उपहार भएको हो भन्दै हामीले जहाँ भएपनि आफ्नो कला संस्कृतिलाई विर्सनु हुदैन उनले थपे। तुलाधरसहितका कलाकारहरु करीव तीन महिना कोरीयामा रहने जानकारी एसिया कल्चर सेन्टरले दिएको छ। छिटै नै सउलबासी नेपालीहरुले उत्कृष्ठ नेपाली संस्कृति भल्किने कला तथा पेन्टिङहरुको प्रदर्शनी हेर्न पाउने जानकारी कलाकार तुलाधरले दिए।

Popularity: 9%

4 comments June 28th, 2008

घरेलु तथा साना उद्योगहरुको बेहाल

राज बहादुर गुरुङ, पोखरा, १२ चैत / एचकेनेपाल डट कम -
ब्यवस्थापन र मजदूरबीच बढ्दो असमझदारीले घरेलु तथा साना उद्योगहरुको बेहाल भएको विहीबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। उनीहरुले श्रम ऐनले ब्यवसायीकोभन्दा मजदुरको हितमा ध्यान दिएकोले समेत समस्या उब्जाएको दाबी गरेका छन्।
घरेलु तथा साना उद्योग कार्यालय कास्की एवं पोखरा उद्योग बाणिज्य संघद्वारा आयोजना गरिएको घरेलु तथा साना उद्योग सम्बन्धी अन्तर्क्रियात्मक गोष्ठीमा सहभागीरुले सो आबाज उठाएका हुन्। गोष्ठीमा घरेलु तथा साना उद्योग सम्बन्धी नीतिगत ब्यवस्था र कास्की जिल्लाको औद्योगिक स्थितिबारे कार्यपत्र प्रस्तुत गर्दै घरेलु कार्यालयका उद्योग अधिकृत कृष्णप्रसाद आचार्यले झन्झटिलो कर् प्रणाली, क्ष जनशक्तिको अभाव, परम्परागत सोच लगायतका समस्याले पनि घरेलु र साना उद्योग फस्टाउन नसकेको बताउनुभयो। उहाँले पोखरामा पर्यटन, शिक्षा, कृषिलगायतका सबै पक्षलाई समेटि एकिकृत औद्योगिक गुरुयोजना चाल्न सुझाव पनि दिनुभयो । घरेलु उद्योगहरुले आफ्ना उत्पाादनहरुको बजार बिस्तारको लागि कुटनैतिक नियोगको सहयोग लिन समेत उहाँले आग्रह गर्नुभयो।

हाल कास्कीमा २३ घरेलु र ३ हजार २ सय ८ साना उद्योग संचालनमा रहेका छन् । तथ्याङ्क अनुसार यी उद्योगहरुमा ५ अरब ६२ करोडको पूँजी लगानी भएको छ । उद्योगमा २३ हजार ६ सय ३३ जनाले रोजगारी समेत पाएका छन्।

गोष्ठीमा घरेलु उद्योगमा देखिएका समस्या र निरुपणको उपायबारे कार्यपत्र प्रस्तुत गर्दै पोखरा पर्यटन परिषदका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले आफ्नो मालिक आफै हुने सोच बिकास भएमा मात्र ब्यवसाय फस्टाउने बताउनुभयो । उहाँले नेपालमा गरिने औद्योगिक लगानीले भन्दा पर्यटनमा गरिएको लगानीले ठूलो प्रतिफल दिने स्पष्ट पार्नुभयो । नेपालमा बिभिन्न खाल र रुची भएका पर्यटक भित्रने जानकारी दिँदै उहाँले पर्यटनका पूर्वाधार निर्माणमा जोड दिनुभयो।

कार्यक्रमका प्रमूख अतिथि पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यले बाणिज्य बिभागको कार्यालय पोखरामा स्थापना भए ब्यवसायीले राहत पाउने उल्लेख गर्नुभयो । ब्यवसायमा देखिएका जटिलता समाधानको लागि सरकारी पक्षको सहयोग अपरिहार्य भएको चर्चा गर्दै उहाँले ब्यवसायीलाई राज्यले सम्मान दिनुपर्ने बताउनुभयो।

घरेलु तथा साना उद्योग कार्यालय पोखराका प्रमुख उद्योग अधिकृत बीरेन्द्र बानियाले घरेलु उद्योगलाई कर छुट दिनुपर्नेमा सहमति जनाउनुभयो । उहाँले ब्यवसायीहरुलाई बेलैमा आफ्ना उद्योग नबिकरण गरी थप जरीवानाबाट बँच्न आग्रह गर्नुभयो।

कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठले नयाँ ब्यवसायका सम्भावनाको खोज गरी राज्यले सो क्षेत्रमा गरिने लगानीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजेन्द्कुमार लालचन, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम जमरकट्टेल, पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष मानकाजी माकाजू, द्धितीय उपाध्यक्ष माइकल कर्माचार्य, लगायतका महानुभावले सो अबसरमा मन्तब्य राख्नुभएको थियो।

अन्तर्क्रियामा सहभागी ब्यवसायीहरुले कृषि बिमाको माग, उद्योगी/ब्यवसायीहरुको लगि चेतना र दक्षता बृद्धि अभियान,कम्पनी दर्ता प्रक्रियामा सरलीकरण, सुरक्षाको प्रत्याभूति, कर छुटको ब्यवस्था लगायतका मागहरु अगाडि सार्नुभएको थियो।

गोष्ठीको दोस्रो सत्रको अध्यक्षता पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष मानकाजी माकाजुले र सञ्चालन संघका महासचिव कृष्णमोहन श्रेष्ठले गर्नुभएको थियो।

Popularity: 9%

Add comment June 27th, 2008

तमु (गुरुङ) पुरोहितहरुद्वारा विशेष महाधिवेशनको माग

भीम तमु, वुटवल, रुपन्देही/ एचकेनेपाल डट कम -
तमु (गुरुङ) पुरोहितहरुको संस्था तमु प्ये ल्हु संघको जिल्ला समितिहरुको भैरहवामा भएको अन्तर जिल्ला सम्मेलनले संघको प्रथम राष्ट्रिय महाधिवेशन विधान सम्मत नभएको ठहर गर्दै चार महिनाभित्र विशेष महाधिवेशनको माग गर्दै शनिबार सम्बन्धित निकायहरुमा ज्ञापन पत्र बुझाएको छ।

तमु प्ये ल्हु संघ, सिद्धार्थ नगर रुपन्देही शाखाका अध्यक्ष कृष्णबहादुर तमुको संयोजकत्वमा तथा विभिन्न जिल्ला समितिका अध्यक्षहरुको सहभागितामा तमु प्ये ल्हु संघका संस्थापक, संरक्षक, परमसंरक्षक लगायतका सम्बन्धित व्यक्तिहरुलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापन पत्रमा संघको गत मंसिर महिनामा सम्पन्न भएको प्रथम राष्ट्रिय महाधिवेशन निष्पक्ष र विधानसम्मत नभएको ठहर गरेको छ। चार महिनाभित्र विशेष महाधिवेशन आव्हान नगरेको खण्डमा विभिन्न जिल्ला समितिहरु मिलेर अर्को राष्ट्रियस्तरको समिति गठन गर्ने कुरा पनि उल्लेख छ । यसै गरी ज्ञापनपत्रमा केन्द्रीय समितिले कास्की जिल्ला समितिबाहेक अन्य जिल्ला समितिहरुलाई उपेक्षा गरिएको पनि जनाइएको छ । यसै सम्वन्धमा तमु पे ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष इन्द्रबहादुर तमुले महाधिवेशन सबै प्रक्रिय पूरा गरेर गरिएको हुनाले अवैधानिक नभएको भन्नु भएको छ । एक प्रश्नको जवाफमा उहांले जिल्ला समितिहरु संग समन्वय हुन नसकेको कुरा स्वीकार्नु हुदै अब समन्वय गर्दै जाने प्रक्रिय र सोंच भई रहेको जानकारी गर्नु भयो । अध्यक्ष तमुका अनुसार कास्कीको सिक्लेस नै तमु संस्कार संस्कृति विकासको मुल थलो भएकोले त्यसैलाई नै केन्द्र विन्दु मानी पे छ्याको एकरुपता गर्न थालिएको समेत जानकारी गर्नु भएको छ।

तमु प्ये ल्हु संघ, रुपन्देही, चितवन र नवलपरासीको संयुक्त आयोजनामा गत जेठमा भएको अन्तरजिल्ला सम्मेलनले केन्द्रीय समितिले जिल्ला समितिहरुलाई उपेक्षा गरेको, समितिमा पोखराका केहीलाई मात्र राखी जिल्ला जिल्लाहरुबाट आएका प्रतिनिधिहरुलाई कुनै पदहरुमा बस्ने वातावरण नगरेको, पे ल्हु संघको मूल मर्मलाई समेट्न नसकेको, तमुहरुको अस्तित्व उजागर हुने उत्खनन्हरुमा चासो नदेखाउनु साथै तमु खेगीहरु (पुरोहित) को शास्त्रलाई एकरुपता गर्न विशेष पहल नगरेको भनि अल्टिमेटमसहितको ज्ञापन पत्र दिने संयुक्त निर्णय गरेका थिए। दुई दिनसम्म अन्तर्क्रिया गरी सम्पन्न भएको सम्मेलनमा कास्की, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, रुपन्देही, नवलपरासी, चितवनलगायतका जिल्ला समितिहरु तथा थुप्रै इकाई समितिहरुको सहभागीता रहेको थियो।

Popularity: 9%

1 comment June 26th, 2008

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिनुभएको वक्तव्यको पूर्ण विवरण

माननीय सभामुख महोदय,

छ दशक लामो सङ्घर्ष, अनेकौं सपुतहरूको बलिदान तथा सम्पूर्ण नेपाली जनताको देशभक्तिको भावना एवम् उहाँहरूको ठूलो त्याग र तपस्याले आज हाम्रो देशमा सङ्घीय गणतन्त्रात्मक राज्य व्यवस्था र बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको दरिलो जग खडा भएको छ । यही ऐतिहासिक उपलब्धिहरूलाई संस्थागतरूपले अघि बढाएर, त्यसैको मूल आधारमा नयाँ संविधान निर्माण गरी नेपाललाई नयाँ, शान्ति, समुन्नत र समावेशी नेपालमा रूपान्तरण गर्न इतिहासले हामी प्रत्येक नेपालीलाई थप जिम्मेवारी सुम्पेको छ । हाम्रो एकता, पारस्परिक सहयोग, सहमति र सद्भाव तथा आपसी विश्वासबाट नै हामीले यो जिम्मेवारीलाई पूरा गर्न सक्नेछौं ।

हाम्रो बलिदानपूर्ण जनआन्दोलनले देशमा लोकतन्त्रको बहाली गर्‍यो र सबै राजनीतिक पार्टीको सहमति र सहकार्यमा अन्तरिम संविधानको तर्जुमा गरेर अघि जाने मार्गप्रशस्त गर्‍यो । त्यसैका आधारमा संविधानसभाको निर्वाचन सुसम्पन्न भएर आज हामी सबैलाई यो गरिमामय सभामा सहभागी हुने अवसर प्राप्त भएको छ । अब सवै क्षेत्र, सवै जाति, सवै वर्ग र समुदायले हातेमालो गरेर आफ्नो देशको संविधान आफैले लेखी देशलाई नयाँ, गतिशील र लोकतान्त्रिक युगमा प्रवेश गराउनुछ ।

सभामुख महोदय,

नेपालको अन्तरिम संविधानको चौथौ संशोधनले राष्ट्रपति र उपराष्ट्रपति रहने व्यवस्था गरिसकेको छ । त्यसैमा राष्ट्रपति र उपराष्ट्रपतिको कर्तव्य र अधिकारको व्यवस्था भइसकेको छ । आजै यो सभासमक्ष सरकारले अन्तरिम संविधानको पाँचौं संशोधन विधेयक पेस गरेको छ । यसले राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी निर्वाचनको व्यवस्था गर्ने छ र शीघ्र नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

गत जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकमा नेपालको अन्तरिम संविधानबमोजिम गणतन्त्रको कार्यान्वयनसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा मैले संविधानसभाको निर्वाचनमा सबभन्दा ठूलो राजनीतिक दलका रूपमा देखिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)लाई संवैधानिक प्रावधानअनुरूप सहमति कायम गरी नयाँ सरकार गठन गर्न आहृवान गरेको थिएँ । यो गरिमामय सभामा पुनः आफ्नो आहृवानलाई दोहोर्‍याउँदै संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री पदबाट म राजीनामा दिने घोषणा गर्दछु ।

विगतका अनेक सङ्कट, द्वन्द्व र अशान्तिलाई समाप्त पारेर हामी एउटा महत्वपूर्ण मोडमा आइपुगेका छौं । यद्यपि कतिपय विषय र समस्याहरूको अझै पनि उचित तवरले सम्बोधन हुन सकिरहेको छैन। आपसी एकता र पारस्परिक विश्वासलाई अझ दरिलो पार्दै हामीले सहकार्यको नवीन संस्कृतिको विकास गरी यी सबै समस्याको समाधान गरेर नेपाललाई नयाँ उचाइमा पुर्‍याउन सक्नेछौं । यी सबै कार्यमा मेरो सदैव सहयोग रहिरहनेछ।

आज अवसर र चुनौती दुवै एकसाथ हाम्रो अगाडि आएका छन् । चुनौतीलाई उचित तवरले केलाएर अवसरलाई देश र जनताका हितमा उपयोग गर्नसक्नुपर्छ । सिन्दुर पुछिएका असङ्ख्य महिला दिदीबहिनीहरू, आफ्ना आमा-बाबु गुमाएका बालबालिकाहरू र घरसम्पत्ति गुमाएका विस्थापित परिवारहरू तथा अपाङ्ग जीवन धानिरहेका घाइतेहरूसमेतको मलीन र टीठलाग्दो अनुहारले देशबाट रोग, भोक, गरिबी र अशिक्षाको निराकरण गर्ने दिशामा दत्तचित्त भएर लाग्न हामीलाई अभिप्रेरित गरिरहेका छन्। आफ्नो देशमा काम नपाएर, विदेशी भूमिमा पुगेर आफ्नो सिर्जनशीलतालाई समर्पित गरिरहेका लाखौं युवाको श्रम, सीप र जाँगरलाई हामीले देशको विकास र निर्माणको शक्तिस्रोतमा परिणत गराउन सक्यौं भने देशको राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको सुदृढीकरणमा सबभन्दा ठूलो योगदान हुनेछ ।

हिंसा र द्वन्द्वका घाउहरूलाई मेटाई, शान्तिपूर्ण वातावरण, उदार राजनीतिक मूल्य र मान्यता, विधिको शासन, मानवअधिकारको रक्षा, प्रेस स्वतन्त्रता तथा बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धालाई आत्मसात् गरेर नै लोकतान्त्रिक पद्दतिलाई सर्वग्राहृयरूपमा अघि बढाउन सकिनेछ।

सभामुख महोदय,

अब निर्माण हुने हाम्रो देशको संविधान हाम्रा अमर सहिदहरूको सपना र चाहना एवम् सम्पूर्ण नेपाली जनताको भावना र आकांक्षाको धरोहरका रूपमा स्थापित हुनेछ । हामीले हाम्रा सबै क्षमता र योग्यतालाई अब नयाँ संविधानको निर्माणमा लगाउनुपर्छ । छिटै नयाँ संविधानको निर्माण गरेर अन्योल र अनिश्चयको अन्त्य गरी मुलुकलाई नयाँ र अग्रगामी गति प्रदान गर्न म सबैसँग अपिल गर्दछु।

Popularity: 9%

1 comment June 26th, 2008

प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

काठमाडौं सम्वाददाता / एचकेनेपाल डट कम -
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विधायिका संसदको बैठकमा प्रधानमन्त्रीको पदबाट विहीवार राजीनामा दिएको घोषणा गरेका छन्। माओवादी पार्टीले प्रम कोइरालालाई राजीनामा दिई जनमतको कदर गर्न बारम्बार आग्रह गर्दै आईरहेको बेला कोइरालाले आज बिहीवार प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

नयाँ सरकार बनाउन जारी रहेको राजीतिक गतिरोधसंगै प्रधानमन्त्री कोइरालाले आफूले राजीनामा दिने ठाउं नपाएको बताउंदै आएका थिए। संबिधान अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष राजीनामा पेश गर्ने प्रावधान रहेको भएपनि राष्ट्रपति चयन हुन सकिरहेको छैन।

बैठकमा प्रधानमन्त्री कोइरालाले संबैधानिक प्रावधान अनुसार राजीनामा गर्ने प्रतिवद्धता गर्छु भन्दै राजीनामाको घोषणा गरेका थिए। प्रम कोइरालाले सहमतिको राजनीति हराउन लागेकोमा चिन्ता व्यक्त गरेका थिए। कोइरालाले आफूलाई माइनस गरेपनि सहमतिको बाटोलाई माइनस नगर्न आग्रह गरेका थिए। राजीनामाको घोषणापछि प्रम कोइरालाले अब आफू काम चलाउ प्रधानमन्त्री मात्र रहेको बताए।

प्रम कोइरालाको करीव ४ मिनेट लामो लिखित वक्तव्यलाई शान्ति तथा पुनर्स्थापना मन्त्री रामचन्द्र पौडेले वाचन गरेर सुनाएका थिए।

प्रधानमन्त्री कोइरालाको औपचारिक राजीनामा अब बन्ने राष्ट्रपति समक्ष पेश गराईने छ भने राष्ट्रपति को बन्ने भन्ने विषयमा दलहरुबीच अहिलेसम्म सहमति हुन सकेको छैन।

Popularity: 9%

3 comments June 26th, 2008

दृष्टिविहिन गायकको म्युजिक भिडियो बनाउने सपना (Feature News)

राजधन राई / एचकेनेपाल डट कम -
उनी चुनावका बेला प्राय सबैका प्रिय हुन्छन् । सबै पार्टीले मेरो पार्टीको कार्यक्रममा गीत गाइदेओस् र जनताको भोट तान्न सकौं । त्यही उनीहरुको ध्याउन्न हुन्छ । तर चुनाव सकिन्छ, कसैले जितेर जान्छन् त्यसपछि क्रमशः उनको नाम पनि दिमागबाट बिस्मृत भएर जान्छ । यो उनको नियति निरन्तरकै हो, १७ वर्ष अगाडि देखिकै हो।

दृष्टिविहिन गायक गणेश गुरुङ । तस्विरः राजधन राई / एचकेनेपाल डट कम ।
(more…)

Popularity: 9%

Add comment June 26th, 2008

अष्ट्रेलियामा नेपाली मासिक पत्रिका प्रकाशित

सुजित सिग्देल, अष्ट्रेलिया/ एचकेनेपाल डट कम -
अष्ट्रेलियाबाट पहिलो पटक प्रकाशित एक मात्र नेपाली मासिक पत्रिका द नेपाली टाइम्स अष्ट्रेलियाको प्रथम अंक अति लोकप्रिय र यहाँस्थित हजारौ नेपालीको मन जित्न सफल भएपछि यो हप्ता दोश्रो अंक प्रकाशित भएको छ।

४० पृष्ठको यो मासिक पत्रिकाको प्रकाशक महेन्द्र लम्साल, प्रधानसम्पादक डिल्लीराम ढकाल, संपादक सुजित सिग्देल र बजार ब्यवस्थापक निर्मल के .सी.रहेका छन्।

बिभिन्न भागमा बाँडिएको यो पत्रिकाले समसामयिक समाचार विचार विश्लेशन, स्थानीय समाचार र गतिबिधी गैर आवासीय नेपाली समाचारहरु, बाल संसार, साहित्य जस्ता विभिन्न विधाहरु समेटेको छ। यसले अष्ट्रेलिया बसोबास गरिराखेका नेपालीहरुको बिचार र सृजनालाई बिशेष प्राथामिकता साथ प्रकाशन गर्नेछ। अष्ट्रेलियामा बढ्दै गएका नेपालीको ब्यवसाय नेपाली समुदायमा परिचित बनाउन र देश विदेशका खबर र स्थानीय निकायहरुको गतिविधीको बारेमा जानकारी दिन र लिन यो पत्रिका सिड्नीस्थित सम्पूर्ण नेपालीहरुको साझा पत्रिका बन्ने विश्वास यहाँस्थित नेपालीहरुले लिएका छन्।

बाक्लो रङ्गनि र चिप्लो गातामा निस्कने यो मासिक पत्रिका सिड्नी, मेलवेन, क्यानवारा र वृसबनका नेपाली इन्डियन र दक्षिण एसियाली, ग्रोसरी पसल रेष्टुरेन्टहरुबाट निःशुल्क प्राप्त गर्न सकिन्छ भने आफ्नै पोष्ट बक्समा प्रत्येक महिना प्राप्त गर्नका लागि वार्षिक ग्राहकसमेत बन्न सकिने व्यवस्था छ। यो पत्रिकाको बारेमा थप जानकारी चाहिएमा सम्पर्क इमेल रहेका छन् - editor@nepalitimes.com.au र publisher@nepalitimes.com.au

Popularity: 9%

1 comment June 26th, 2008

विषाक्त खानाले एकको मृत्यु, आधा दर्जन विरामी

युवराज विवश, दमक/ एचकेनेपाल डट कम -
विषाक्त खाना खाएका कारण मोरङ राजघाटमा एकको मृत्यु हुनका साथै आधा दर्जन भन्दा बढी सिकिस्त विरामी भएका छन्।

विहीबार मोरङ् राजघाट गंगटेका खेमराज घिमिरेको घरमा खेताला गएका गाउँलेहरु विहानको खाना खाएका कारण सबै विरामी परेका थिए । मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय बुद्धराज मुर्मु रहेका छन् । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । विहानको खानामा चाम्रे, आलुको तरकारी र निम्कीको अचार खेतालाले खाएका थिए । यसरी बिरामी पर्नेहरुमा खेमराजका छोरा जनक घिमिरे, मञ्जु शाह, उमा ज्ञवाली, उर्मिला नेपाली, र नाम खुल्न नसकेका २ जना तिम्सिना थरका रहेको दमकका प्रहरी निरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिएका छन्। रोपाइँको समयमा विहानको खाना सबै खेतालाहरुले सँगै खाएका थिए।

उनीहरुको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । लाईफलाइन अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सूर्यनारायण साहले उनीहरुले खाएको खाना विषाक्त भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताए।

Popularity: 9%

Add comment June 26th, 2008

चीनको बाटो हुदै उपल्लो डोल्पामा खाद्यान्न पुग्यो

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
खाद्यान्न अभावको चर्को मार खेप्दै आएका उपल्लो डोल्पाका ६ गाउं विकास समितिहरुमा आर्थिक मसान्त समाप्त हुन लाग्दा बल्ल खाद्यान्न आपूर्ति गरिएको छ।

उपल्लो डोल्पाका साल्दाङ, भिजेर, तिन्जे, मुकोट, छार्का र धो गाविसहरुको पायक पर्ने तिन्जे खाद्य डिपोमा काठमाडौंको थापाथलीस्थित नेपाल खाद्य संस्थानको धान गोदाम घरबाट ठेकेदारले चीनको स्वशासित क्षेत्र तिब्बतहुदै ट्रकमा तीन हजार क्वीन्टल चामल पुर्‍याएको हो।

आर्थिक वर्ष २०६४/०६५ का लागि उपल्लो डोल्पाकालागि सरकारले विनियोजित गरेको उक्त चामल नेपाल खाद्य संस्थानले ठेकेदार कृष्ण थकाली मार्फत पुर्‍याएको हो।

करोडौ रकम ढुवानीमा नेपाल सरकारले उपलब्ध गराउने खाद्यान्न सिधै डोल्पा नपुर्‍याएर चीन हुदै उपल्लो डोल्पामा पुर्‍याउदा आर्थिक पारदर्शिता हुन नसकेको भन्दै पटक पटक विवाद सिर्जना हुने गरेको छ । सो मार्ग हुदै नेपाल खाद्य संस्थानले २०६१/०६२ देखि डोल्पामा खाद्यान्न आपूर्ति गर्दै आएको छ।

ढिलै भएपनि खाद्यान्न आपूर्ति गरिएकाले लामो समयदेखि खाद्यान्न अभावको मार खेपेका उपल्लो डोल्पाका वासिन्दाहरुलाई राहात पुगेको छ । यसै गरी साल्ट ट्रेडिङ कर्पोरेशनले पनि यसै वर्ष चीनको बाटो हुदै डोल्पामा दुई हजार क्वीन्टल नुन पुर्‍याएको छ।

Popularity: 9%

Add comment June 26th, 2008

घुस खाँदै गरेका मालपोत हाकिम रङ्गेहात पक्राउ

राजधन राई, सङ्खुवासभा ११ असार / एचकेनेपाल डट कम -
जिल्ला मालपोत कार्यालय सङ्खुवासभाका प्रमुखलाई घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिई जिल्ला प्रशासनमा बुझाइएको छ। कार्यालय प्रमुख गोपाल सिवाकोटीले मंगलबार आफ्नै कार्यकक्षमा घुसलिँदै गर्दा नेकपा माओवादीका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर बुझाएका हुन्।

खाँदबारी -१३ का राजेन्द्रकुमार कुमाल र तुलाराम कुमालले आमा लक्ष्मी कुमालको नामको जग्गा नामासारी गराउन जाँदा सिवाकोटीले नमिल्ने भन्दै १५ हजार मागेका थिए। कुमालद्वयले उनले मागेको रकम दिन नसक्ने बताएपछि १० हजारमा मिलाएर लिँदै गर्दा माओवादी कार्यकर्ताहरु पुगेर सिवाकोटीलाई नियन्त्रणमा लिएका थिए।

सोमाबार लक्ष्मीका छोराहरु मालपोत कार्यालय गएको र काम नहुने बताएपछि मंगलबार काम मिलाई दिन भन्दै गएका थिए। कार्यालय प्रमुख सिवाकोटीले केही सहयोग नगरी काम नहुने भन्दै १५ हजारको मागेको र आफूहरुले १० हजारमा कुरा मिलाएको राजेन्द्र कुमालले बताए । सिवाकोटीले घुस मागेको जानकारी पाउने वित्तिकै माओवादी कार्य एवं वाईसीएल जिल्ला अध्यक्ष बिश्वासको समूह जिल्ला मालपोत गएको थियो । विश्वासले घुस लिँदै गरेको अवस्थामा हाकिमलाई नियन्त्रणमा लिइएको बताए।

घुसलिँदै गरेको अवस्थामा नियन्त्रणमा लिई बुझाइएका सापकोटाले गैह्रकानुनी काम गरेकाले उनलाई विभागीय कारबाही गरिने प्रजिअ मुकुन्द अधिकारीले बताए । अधिकारीले कारबाही प्रकृया अगाडि बढाउन यो घटनालाई मालपोत विभाग र मन्त्रालयमा जानकारी पठाउने जनाए । मंगलबारबाटै सिवाकोटीलाई कार्यालय प्रवेशमा रोक लगाई निमिक्तलाई जिम्मेवारी दिएकोसमेत उनले जानकारी दिए । प्रजिअले घुस लिनेलाई मात्र नभई दिनेलाई पनि कारवाही गर्ने बताए।

मालपोत प्रमुख सिवाकोटी भ्रष्टचारको काण्डमा परी प्रशासनमा पठाइएको यो तेस्रो पटक हो । उनलाई चारमहिना अघिमात्रै पनि घुस खाएको १२ हजार र जरिवाना तिरेका थिए।

सङखुवासभाबाट राजधन राई / एचकेनेपाल डट कम।

Popularity: 9%

8 comments June 25th, 2008

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2008
M T W T F S S
« May   Jul »
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category

More news....