Archive for July, 2008

प्रधानमन्त्री श्रीलंका प्रस्थान, छोरी सुजातासहित २८ सदस्यीय टोली

एस, काठमाडौं / एचकेनेपाल डट कम -
श्रीलंकाको राजधानी कोलम्बोमा हुन गैरहेको दक्षिण एसियाली संगठन सार्कको १५ औं शिखर सम्मेलमा भाग लिन काम चलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला जेट एयार विमानको नियमित उडानबाट आज अपरान्ह ४ बजे श्रीलंकाका लागि प्रस्थान गर्नुभएको छ। उहाँ दिल्ली हुंदै कोलम्बो जानुहुनेछ।

अगष्ट २ र ३ तारिख हुने शिखर सम्मेलनमा सहभागी हुन प्रम कोइरालासंग उहाँकी छोरी बिनाविभागीय मन्त्री सुजाता कोइरालासहित २८ जनाको टोली समावेश छन्। सो टोलीमा विदेश मामिला सम्बन्धी सल्लाहकार आदित्य बराल, प्रमका निजी चिकित्सक डा. अर्जुन कार्कीसमेत रहेका छन्।

यसअघि परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी हुन काम चलाउ अर्थमन्त्री डा. रामशरण महतसहितको एक टोली हिजै श्रीलंका पुगेको छ। सार्क शिखर सम्मेलनमा नेपालको तर्फबाट ३५ जना सहभागी छन्।

Popularity: 9%

2 comments July 31st, 2008

रामचन्द्र पौडेल कार्यवाहक प्रधानमन्त्री

एस, काठमाडौं / एचकेनेपाल डट कम -
सरकारको काम चलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला श्रीलंकामा हुने सार्क शिखर सम्मलेनमा भाग लिन जाने भएपछि शान्तिमन्त्री रामचन्द्र पौडेललाई निमित्त प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

शान्तिमन्त्री पौडेललाई प्रम कोइरालाको अनुपस्थितिमा उहाँको कार्यभार सम्हाल्ने जिम्मा दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कोइराला १५औं सार्क शिखर सम्मेलनमा भाग लिन आज श्रीलंकाको राजधानी कोलम्बो जाँदै हुनुहुन्छ।

Popularity: 9%

Add comment July 31st, 2008

पहिरोमा पुरिएर १० जनाको मृत्यु

एस, जाजरकोट / एचकेनेपाल डट कम -
जाजरकोटको खलंगा गाविसमा गएराति पहिरोमा पुरिएर कम्तीमा १० जनाको ज्यान गएको छ। घटनामा एकै परिवारको ५ जनासहित १० जनाको मृत्यु भएको छ।

खलंगा गाउंका अम्बिका शाहीको घर पहिरोमा पुरिदा उनका परिवारको ५ सदस्य र पाहुना बस्न आएका ५ जनाको मृत्यु भएको समाचार स्रोतले जनाएको छ। भैंसी किन्न आएकाहरु सोही घरमा बास बसेका थिए। मृत्यु हुनेमा अम्बिकाका बाबु चन्द्रबहादुर, छोराहरु रमेश, राजु, प्रमोदलगायत घरमा बास बसेका पाहुनाहरुको समेत मृत्यु भएको छ।

प्रहरी र स्थानीयबासीको सहयोगमा पुरिएका ६ जनाको शव निकालिएको र थप शव निकाल्ने प्रयाश जारी रहेको बताइएको छ।

Popularity: 9%

Add comment July 31st, 2008

सुन्दरी प्रतियोगिता रोक्न ज्ञापनपत्र

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सुन्दरी प्रतियोगिता रोकिनुपर्ने माग गर्दै सात प्रगतिशील महिला सङ्गठनको एक समूहले संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई भेटी ज्ञापनपत्र बुझाएको छ।

यस किसिमको प्रतियोगिताले नारी अस्मिता र स्वाभिमानमाथि खेलबाड गरेको भन्दै ज्ञापनपत्र बुझाइएको नेपाल प्रगतिशील महिला फेडरेसनका अध्यक्ष सीता सुवेदीले बताउनुभयो।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेम्बाङले महिला हकहितका लागि सङ्घर्षशील महिलाहरू एकजुट भएर लाग्नु स्वागतयोग्य भएको बताउदै सुन्दरी प्रतियोगितका बारेमा राज्य नै स्पष्ट हुनुपर्ने उल्लेख गर्नुभयो।

यसैगरी सो समूहले नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रशासन प्रमुख हरिहर शर्मालाई भेटी सुन्दरी प्रतियोगिताजस्ता महिला समुदायमाथि हुने शोषण र अन्यायलाई निरन्तरता दिने खालका गतिविधि गर्न सभाकक्ष उपलब्ध नगराउनसमेत अनुरोध गरेको छ।

समूहमा नेपाल प्रगतिशील महिला फेडरेसन, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ (एकीकृत)मा आबद्ध महिलाहरूको सहभागिता थियो।

Popularity: 9%

6 comments July 31st, 2008

नब्याएको बाछीले दैनिक पाँच लिटर दूध दियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
ब्याउँदै नब्याएको बाछीले दैनिक पाँच लिटर दूध दिएको सुन्दा तपाईलाई अनौठो लागे पनि देवदहका विष्णु ज्ञावली एक महिनादेखि त्यस्तै बाछी दुहुँदै आएका छन्।

उनको गोठमा पालिएका २४ वटा गाईमध्ये २७ महिना उमेरको ‘मुडुली’ नाम गरिएका बाछीले बहर लागेको पाँच महिना पुग्दानपुग्दै दैनिक पाँच लिटर दूध दिँदै आएको छ।

ज्ञवाली भन्छन्-गत फागुनमा बहर लागेको सो बाछी आगामी मङ्सिरमा ब्याउँछ, तर दूधचाहीँ ब्याउनुभन्दा पाँच महिनाअघिदेखि दिन थालेको छ, उसको दूध आफै पग्रेर र्झन थालेपछि हामीले दुहुन थालेका हौँ।

‘भाग्यमानीको भूतै कमारो’ भनेँझै ज्ञवालीले विगत १५ वर्षयता गाईको दूध बेचेर करोड रुपैयाँमात्र कमाइसकेका छैनन्, अत्यन्त दुर्लभ मानिने गौलोचन प्राप्त गर्नु र ब्याउँदै नब्याएको बाछीले दूध दिनेजस्ता संयोगले अरुलाई समेत गाई पाल्न प्रेरित तुल्याएको छ।

Popularity: 9%

2 comments July 31st, 2008

पेट्रोल नपाएपछि ट्याङ्करमाथि आक्रमण

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पेट्रोलियम पदार्थको सहज आपूर्ति नभएको भन्दै मध्यपुर थिमीको गठ्ठाघर र साझा पेट्रोल पम्पमा डिजेल भर्न लाइन बसेका सवारीसाधनका चालक एवम् सहचालकले पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर र अन्य यातायातका साधनमाथि आक्रमण गरेका छन्।

उनीहरूले दुइ दिनदेखि लाइन बस्दा पनि डिजेल भर्न नपाएको भन्दै राति आठ बजे गठ्ठाघरमा पेट्रोलियम पदार्थ बोकेर आएका दुइवटा ट्याङ्करलाई आक्रमण गरेका हुन्।

ट्याङ्करलाई आगो लगाउन लागेपछि महानगरीय प्रहरी वृत्त थिमीका प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो।

आक्रोशित चालक र सहचालकले कसैको सवारी साधन पनि चल्न नदिने भन्दै आठ बजेदेखि आधाघण्टासम्म गठ्ठाघरमा चक्काजाम गरेका थिए।

अरनिको राजमार्ग भएर सञ्चालन भएको ट्याक्सी, कार, मोटरसाइकल र बसमा समेत आक्रमण गर्दा एउटा ट्याक्सी, एउटा कार र एउटा बसको सिसा फुटेको छ। मोटरसाइकल र अन्य सवारी साधनलाई पनि आक्रमणको प्रयास गरी गठ्ठाघरदेखि कौशलटारसम्म लखेटिएको थियो।

Popularity: 9%

Add comment July 31st, 2008

राष्ट्रपतिबाट शान्ति सेनालाई शुभकामना

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रपति एवं परमसेनाधिपति डा.रामवरण यादवले विगतमा हाम्रा वीर सैनिकले आर्जेको नेपाल र नेपालीको छवि उच्च राख्ने प्रण गर्दै शान्ति स्थापना कार्यमा निष्ठा र इमान्दारीका साथ शान्ति सैनिक समर्पित हुने विश्वास व्यक्त गर्नुभएको छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेवनानस्थित मिसनमा तैनाथ हुन जाने शान्तिसेना ४४औँ डफ्फा, कङ्गोस्थित मिसनमा तैनाथ हुन जाने शान्तिसेना (भवानी दल गण)को १०औँ डफ्फा, हाइटीस्थित मिसनमा तैनाथ हुन जाने शान्ति सेना (वटुकदल गण)को आठौँ डफ्फा र शान्तिसेना (कालीध्वज गण)को चौथो डफ्फाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा आयोजित निरीक्षणका क्रममा राष्ट्रपतिले सो कुरा बताउनुभएको हो।

उहाँले आफ्नो पेसागत दक्षता, मानवअधिकारको उच्च सम्मान, प्रजातन्त्र र प्रजातान्त्रिक आचरण तथा मानवीय सहयोगको भावना राखी विश्व शान्तिप्रति नेपालको प्रतिबद्धताको सन्देश संसारमा फैलाउने कार्यमा नेपाली शान्ति सैनिक सफल हुने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपति डा यादवले शान्ति सेनामा सहभागी हुने गणहरुले गर्नुभएको विविध क्रियाकलाप अवलोकन गर्नुभयो।

Popularity: 9%

Add comment July 31st, 2008

“राष्ट्रपतिको आह्वान संविधानविपरीत”

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राप्रपा नेपालले राष्ट्रपति डा.रामवरण यादवले सबैभन्दा ठूलो दलका नाताले सहमति कायम गरी नयाँ सरकार गठनका लागि पहल गर्न नेकपा (माओवादी)लाई गर्नु भएको आह्वान संविधानविपरीत कार्य भएको ठहर गरेको छ।

वास्तवमा राष्ट्रपतिद्वारा सहमति कायम भएमा सहमतिको आधारमा सहमति हुन नसके निर्वाचन गरेर प्रधानमन्त्रीको नाम सिफारिस गर्न संविधानसभालाई आह्वान गर्नु संविधानसम्मत बाटो हुने थियो भनी अध्यक्ष कमल थापाले सुझाव दिनुभएको छ।

Popularity: 9%

Add comment July 31st, 2008

प्रधानमन्त्री नै सार्क शिखर सम्मेलनमा सहभागी हुने

एस, काठमाडौं / एचकेनेपाल डट कम -
सार्क शिखर सम्मलेनमा अन्ततः काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको छ। सम्मेलनमा नेपालको प्रतिनिधित्व कसले गर्ने भन्ने विवाद बढ्दै जाँदा आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको प्रमुख चार दलहरुको संयुक्त बैठकले प्रधानमन्त्री कोइरालालाई नै सम्मेलनमा पठाउने निर्णय गरेको छ। नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी जनअधिकार फोरमबीच बसेको संयुक्त बैठकले काम चलाउ सरकारका प्रधानमन्त्री कोइरालाले मुलुकको प्रतिनिधित्व गर्ने निर्णय गरेको हो।

बैठकमा प्रम कोइराला जाने तयारी भै सकेको र अर्को व्यक्ति पठाउन ढिला भै सकेकोले कोइरालालाई नै पठाउने निर्णय गरेको स्रोतले बताएको छ। मुलुकबाट कोही प्रतिनिधि नपठाउंदा राम्रो नहुने भएपछि कोइरालालाई नै पठाउने निधो गरेको हो। बैठकमा प्रधानमन्त्री कोइरालाले अरु दलहरुसंग सल्लाह नगरी सार्क शिखर सम्मेलनमा भाग लिने निर्णय गरेकोमा आत्मालोचना गरेका थिए।

यसअघि माओवादी र एमालेले काम चलाउ सरकारका प्रधानमन्त्री कोइरालालाई सार्क शिखर सम्मेलनमा पठाउन उपयुक्त नहुने बताउंदै आएका थिए। प्रधानमन्त्री कोइरालाको राजीनामा स्वीकृत भैसकेको अवस्थामा कोइरालालाई पठाउंदा देशकै इज्जत जाने तर्कहरु दिंदै कोइरालाको सट्टा राष्ट्रपति डा. रामवरण यादवलाई पठाउनु पर्ने सुझाव दिंदै आएका थिए।

दक्षिण एसियाली राष्ट्रहरुको संगठन (सार्क) को १५औं शिखर सम्मेलन साउन १८ र १९ गते श्रीलंकाको राजधानी कोलम्बोमा हुंदैछ।

Popularity: 9%

Add comment July 30th, 2008

प्रेमीसँगको मिलोमतोमा नाबालक छोरो बेच्ने आमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
श्रीमानको मृत्युभएपछि अर्काको मायाजालमा फँसेकी कञ्चनपुर जिल्ला झलारी गाविस-२ कालापानीकी २४ वर्षीया एक महिलाले प्रेमीसँगको मिलोमतोमा डेढ वर्षको आफ्नो छोरा भारतीय नागरिकलाई बिक्री गरेको रहस्य खुलेको छ।

प्रेमी प्रेमसिं बोहराले तिमीले छोरालाई अनाथालयमा राखेपछि मात्रै विवाह गर्छु भन्यो, मलाई केही थाहा थिएन, उसले भारतको रुद्रपुरका रामपाल भन्ने व्यक्तिबाट पैसा लिएको रहेछ, मेरो भाइको छोरा हो भन्दै ५० हजार भारतीय रुपैया लिंदै छोरा रामपाललाई दिई पठायो,’ प्रेमिका डम्बरा धामीले बताइन्।

कसैलाई पनि छोराको बारेमा नबताउनु भन्दै दशहजार रुपैया मलाई दियो, मैले कसैलाई पनि छोराको बारेमा बताइनँ,’ भन्दै उनले वि.सं. २०६४ वैशाख महिनामा छोरा बेचेको स्वीकारिन्।

प्रेमी बोहराले पाँच महिनाजति आफूलाईसँगै राखेको र घरमा अर्की श्रीमती रहिछन् भन्ने पछिबाट थाहा पाए पछि धोका दिएको ठानी उसलाई छोडी भारतको फरिदावादका भारतीय नागरिक मुकेश यादवसँग अर्को विवाह गरेको उनले बताइन्।

डम्बराले गुपचुप रूपमा आफ्नै माइतीकी विवाहिता चेलीलाई समेत भारतमा लगेर बेचेको आरोप पनि लागेको छ।

भारतको केरलामा मजदुरी गर्दै आएका श्रीमानसँग भेटाइ दिने भनी कलावती खड्काका मावलीलाई भ्रममा पारी डम्बराले २०६४ असोज ११ गते भारतको फरिदावादकै नेपाली मूलका सोनुसिंहसँग कलावतीलाई बेचेको बताइएको छ।

तर डम्बराले कलावतीलाई आफूले बेचेको नभई, उनकै मन्जुरीमा सोनुसिंहसँग विवाह गराइ दिएको दावी गरेकी छिन्। कलावतीको नाम परिवर्तन गरी ‘सोनी’ राखिएको र भेट गर्ने भए भेटाइदिने समेत उनले बताइन्। कलावतीका जेठाजु अर्जुन खड्काले माइत आएका बेला दिग्भ्रमित पारी कलावतीलाई भारतमा लगेर बेचेकाले डम्बराका बिरुद्ध प्रहरीमा उजुरी गर्न लागेको बताए।

Popularity: 9%

7 comments July 30th, 2008

स्व.पत्रकार थापाको चार वर्षपछि अन्त्येष्टि हुँदै

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माओवादी कार्यकर्ताद्वारा चार वर्षअघि हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको यही साउन १८ गते उहाँकै गृहजिल्लामा अन्त्येष्टि गरिने भएको छ।

विसं २०६१ साउन २६ गते हत्या गरिएका थापाको शव नेपाल पत्रकार महासङ्घको पहलमा राष्ट्रिय मानवअधिकार आयोगसम्मिलित विशेषज्ञको टोलीले उत्खनन् गरी पहिचानसमेत भएपछि अन्त्येष्टि हुन लागेको हो।

महासङ्घले सो घटनालगायत मुलुकभरमा पत्रकारलाई दुःख दिने सम्पूर्ण दोषीको पहिचान गरी बिना अड्चन कानुनी कारवाहीको दायराभित्र ल्याउन सरकारसँग माग गरेको छ।

अन्त्येष्टि कार्यक्रममा महासङ्घ केन्द्रीय महासचिव पोषण केसी र कोषाध्यक्ष रमेश विष्ट सहभागी हुने जानकारी दिँदै महासङ्घले सो दिन देशभरका आफ्ना सबै जिल्ला, शाखा, प्रतिष्ठान तथा एसोसिएट संस्थासँग स्वर्गीय पत्रकार थापाप्रति श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्न पनि आग्रह गरेको छ।

Popularity: 9%

Add comment July 30th, 2008

राष्ट्रपतिद्वारा सरकार गठन गर्न आह्वान

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रपति डा.रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनीतिक सहमति कायम गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई सात दिनको समय दिई आह्वान गर्नुभएको छ।

राष्ट्रपतिको निर्वाचन नहुँदै राष्ट्रप्रमुखको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्रीले संविधानसभाको निर्वाचनपछि नेकपा (माओवादी) लाई राजनीतिक सहमति कायम गरी नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको सन्दर्भसमेत विचार गरी राष्ट्रपतिले मंगलबार बेलुका ८ बजे सो आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Popularity: 9%

Add comment July 30th, 2008

माअ‍ोवादी र एमाले कोइरालासित सरकार नजाने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी) र नेकपा (एमाले) को संयुक्त बैठकले कोलम्बोमा हुने सार्क शिखर सम्मेलनमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा आफूहरु सहभागी नहुने निर्णय गरेको छ।

नेकपा (एमाले) संविधानसभा दलको कार्यालयमा भएको बैठकले प्रधानमन्त्री कोइराला आफ्नो नेतृत्वमा नै शिखर सम्मेलनमा सहभागी हुन अडिग रहनुभएमा व्यवस्थापिका-संसदको आज बस्ने बैठकमा सार्क सम्मेलनमा प्रधानमन्त्रीले सहभागी हुनु नहुनेसम्बन्धी संयुक्त प्रस्ताव राख्ने बताइएको छ।

प्रधानमन्त्री कोइराला राजीनामा दिई स्वीकृत भइसकेको अवस्थामा सार्क शिखर सम्मेलनमा सहभागी हुन नहुने बताउँदै बैठकले सो सम्मेलनमा विशेष परिस्थिति देखाई राष्ट्रपतिलाई सहभागी गराउन उपयुक्त हुने ठहर गरेको छ।

बैठकमा नयाँ सरकार गठन तथा राष्ट्रपति एवम् उपराष्ट्रपतिको निर्वाचनमा दुइ पार्टीबीच भएको सहमति टुटेको विषय र देशको समसामयिक राजनीतिक विषयवस्तुका बारेमा छलफल भएको बताइएको छ।

Popularity: 9%

Add comment July 30th, 2008

आन्दोलन बन्द गर्न काँग्रेसको आह्वान

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसले उपराष्ट्रपतिको सपथग्रहणको विषय अदालतको कारवाहीको प्रक्रियामा रहेको भन्दै यस अवस्थामा जातीय भावना भड्काई मधेस र पहाडबीच वैमनस्य फैलाउने तथा उत्तेजना, घृणा र हिंसा भड्काउने गतिविधि तत्काल बन्द हुनुपर्नेमा जोड दिएको छ।

देशका सबै विद्यार्थी, राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी सङ्गठन एवम् तरुण-युवा शक्तिलाई बढी जिम्मेवारीपूर्वक शान्त रही धैर्यता अपनाउन, पारस्परिक सदभाव कायम गर्न गराउन र आ-आफ्नो ठाउँबाट सहयोग पुर्‍याउन अपिल गर्दै पार्टीले नेपाली काङ्ग्रेसका भ्रातृ संस्था विशेषगरी नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घलाई विज्ञप्तिमार्फत् आफ्ना विरोध प्रदर्शनका गतिविधि तत्काल रोक्नसमेत आग्रह गरेको छ।

Popularity: 9%

Add comment July 30th, 2008

भ्वाइस अफ इण्डियाका विजेता इश्मीतको निधन (Shocking News)

एस, हङकङ / एचकेनेपाल डट कम, जुलाई २९ -
आमुल स्टार भ्वाइस अफ इण्डिया २००७ का विजेता इश्मीत सिंह सोधिको मालदिभ्सको एक होटल स्वीमिङ पुलमा डुबेर आज मंगलवार साँझ असामायिक मृत्यु भएको छ।

इश्मीत बसेको होटल धोनभेली रिसोर्टका अनुसार उनी पहिले केटाकेटी खेल्ने स्विमिङ पूलमा थिए, पछि गहिरो स्विमिङ पूलमा गएलगात्तै उनी डुबेका थिए। अरुले उनलाई गहिरो ठाउंमा नजान भनेका थिए। इश्मीतका बाबु गुरिपन्दर सिंह सोधि र आमा अमृतपल कौर छोराको मृत्युको खबरले स्तब्ध बनेका छन्। उनका बाबुका अनुसार उनी पौडी खेल्न जान्दैनथे।

इश्मीत माल्दिभ्सको राजधानी मालेमा अगष्ट १ तारिख हुने कन्सर्ट शोका लागि मंगलबार बिहानमात्र पुगेका थिए। स्टार भ्वाइस अफ इण्डिया रियालिटी शोमा विजेयी बनेपछि इश्मीतले भारतभन्दा बाहिर केही देशहरुमा समेत कन्सर्ट शो दिई सकेका थिए। उनले गत फेब्रुअरी ७ तारिख हङकङमा कन्सर्ट शो दिएका थिए भने केही महिनापछि पुनः कन्सर्ट शोका लागि हङकङ आउने तयारीमा थिए।

पन्जाव लुदियानाका १९ वर्षीय इश्मीत सिंह सोधि परिवारका एक्लो छोरा थिए। उनले २४ नोभेम्बर २००७ मा सम्पन्न आमुल स्टार भ्वाइस अफ इण्डियामा आफ्ना निकटतम प्रतिद्वन्दी उत्तरप्रदेशका हर्षित सक्सेनालाई उछिनेर “भ्वाइस अफ इण्डिया २००७” को उपाधि जितेका थिए।

हेर्नुहोस् भिडीयो - प्रतियोगिताको अन्तिम घोषणा

कल हो न होः इश्मीत सिंहद्वारा प्रतियोगिताका दौरान गाइएका गीत।


Popularity: 9%

35 comments July 29th, 2008

प्रवासी नेपालीको सहयोग बिना देश बन्दैन: डा. उपेन्द्र महतो (+Photo)

देबेन्द्रहरी सुबेदी, इजरायल / एचकेनेपाल डट कम -
गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष डा. उपेन्द्र महतोको इजरायलमा रहेका गैर आवासीय नेपालीहरुले यही जुलाई २७ तारिख आइतवारका दिन तेलअवीवस्थित एक सभा हलमा भब्य स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरे। सोही अवसरमा बोल्दै डा. महतोले गैर आवासीय नेपालीको सहभागीता, सहयोग र सामूहिक प्रयास बिना देशबन्न नसक्ने कुरा बताउनु भयो।

गैर आवासीय नेपाली संघ इजरायलका अध्यक्ष डा. ध्रुब कोइरालाको सभापतित्वमा सम्पन्न सो स्वागत कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै डा.महतोले पबित्र र स्पष्ट उद्धेश्य बोकेको गैर आवासीय नेपाली संजालले २० लाख नेपालीहरुलाई गोलबन्द गर्न सफल भएको औल्याउंदै यो संगठन नेपालीहरुको छाता संगठन नभई साझा संगठन भएको बताउनु भयो। इजरायल जस्तो उच्चा प्रबिधि प्रयोग गरिने मुलुकमा रोजगारीमा आउने अवसर पाउनु नेपालीहरुका लागि गर्वको बिषय भएको र यहाँबाट धेरै कुराहरु सिकेर मुलुकमा भित्र्याउन सकिने संभाबनातर्फ लाग्न इजरायलमा रहेका नेपालीहरुलाई अनुरोध गर्नु भयो। “हामीसंग पैसाको कुनै कमी छैन, कमी छ त केवल भावना र सोचको कमी छ, मुलुकभित्र शान्ति, अमन-चयन र सुसाशनको ब्यबस्था गर्दै लगनीको अवसर सुरक्षित गर्न सकेमा लगानी गर्नेको ताँती रहेको कुरा बताउंदै डा. महतोले बिदेशमा बसेर राजनैतिक दल र नेताहरुलाई गाली गर्नुको सट्टा आफूले प्रतक्ष्य रूपमा देशलाई केही दिन तयार रहन आव्हान गर्नुभएको थियो।

कार्यक्रममा बिशेष उपस्थिति रहनु भएका इजरायलस्थित नेपाली राजदूत महामहिम बैजनाथ थपलियाले एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष्य डा. उपेन्द्र महतोलाई फूलमाला लगाई इजरायलमा स्वागत गर्दै डा. उपेन्द्र र आफ्नो बिचमा गुरु र चेलाको सम्बन्ध भएको बताउंनु भयो। बिराटनगरमा जून कालेजमा राजदूत थपलिया पढाउंनु हुन्थ्यो, सोही कालेजका बिद्यार्थी हुनुहुन्थ्यो डा.महतो। त्यसै गरी, नारी आवाज़ इजरायलकी अधयक्ष सृजन महत बानियाको स्वागत मन्तव्य र देबेन्द्रहरी सुबेदीको सञ्चालनमा सम्पन्न सो स्वागत समारोहमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका सदस्य डा. लीला भण्डारी, एनआरएन इजरायलका सस्थापक अध्यक्ष डा. बिष्णु चापागाई, राजदूतावासका मिनिस्टर कौंसिलर मुक्तिनाथ भट्ट लगायतका वक्ताहरुले डा. महतोलाई स्वागत गर्नु भएको थियो। एनआरएन इजरायलका अध्यक्ष डा. ध्रुव कोइरालाको सभापतित्वमा सम्पन्न उक्त स्वागत समारोहको अन्तमा उपस्थित नेपालीहरुले एनआरएन सम्बन्धमा राखेको जिज्ञासाको जवाफ डा. महतोले दिनुभएको थियो।

यसै गरी सोही साँझ उहांको सम्मानमा नेपाली राजदूतावासले राजदूतको निजी निवास हर्जेलियामा एक भब्य रात्रि भोजको आयोजना गरेको थियो। इजरायलमा कार्यरत नेपालीहरुको उल्लेख्य सहभागिता रहेको रात्रि भोजमा बोल्दै डा. महतोले यति धेरै न्यानो स्वागत, सम्मान गर्नुभएकोमा सम्पूर्ण इजरायलमा रहने नेपालीहरुलाई धन्यबाद दिदै, राजदूतावास र नेपाली कामदारको बीचमा यस्तो सुमधुर र राम्रो सम्बन्ध आफूले अरु देशमा नदेखेको बताउनु भयो। स्वादिष्ट नेपाली खानासहितको रात्रि भोजमा दूतावासका प्रथम सचिव कुमारराज खरेल, सहचारी थानप्रसाद शर्मालगायत उहाँहरुका परिवारहरुको उपस्थिति रहेको थियो।
इजरायलबाट: पत्रकार देबेन्द्र हरी सुबेदी / एचकेनेपाल डट कम।


Popularity: 9%

Add comment July 29th, 2008

हङकङमा अन्तर्राष्ट्रिय बहुभाषिक साहित्यिक भेला हुने

एस, ब्रसेल्स / एचकेनेपाल डट कम, जुलाई २९-
अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामी अक्टोबर महिना हङकङमा अन्तर्राष्ट्रिय बहुभाषिक साहित्यिक भेलाको आयोजना गरिने भएको छ। विश्वभरी छरिएर रहेका नेपाली डायोस्पोराको भाषा तथा साहित्यको साझा संस्था अनेसासले अन्तर्राष्ट्रिय बहुभाषिक साहित्यिक भेला हङकङमा आयोजना गरिन लागेको जानकारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो। (more…)

Popularity: 9%

Add comment July 29th, 2008

सार्क सम्मेलनमा राष्ट्रपति पठाउन सुझाव

एस, काठमाडौं / एचकेनेपाल डट कम -
साउन १८ र १९ गते श्रीलंकामा हुन गैरहेको सार्क शिखर सम्मेलनमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पठाउन उपयुक्त नहुने माओवादी र एमालेका नेताहरुले बताएका छन्।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै माओवादीका विदेश विभाग प्रमुख सीपी गजुरेलले काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सार्क शिखर सम्मेलनमा पठाउन नहुने बताएका छन्। कोइरालाको राजीनामा स्वीकृत भै सकेको अवस्थामा सम्मेलनमा पठाउंदा देशकै इज्जत जाने बताएका छन्। गजुरेलले तीन दिनभित्र सरकार बनाएर नयाँ प्रधानमन्त्रीलाई सार्क शिखर सम्मेलनमा पठाउने प्रयास आफूहरुबाट भै रहेको बताउंदै यदी नयाँ सरकार बन्न नसके सार्क शिखर सम्मेलन स्थगित गर्न आग्रह गर्ने समेत बताए। उनले विगतमा भारत र पाकिस्तानबाट अन्तिम समयमा सार्क शिखर सम्मेलन स्थगित गरेको स्मरण गराउंदै नेपालले स्थगित गर्ने आग्रह गरेमा अन्यथा नहुने बताए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सार्क शिखर सम्मेलनमा सहभागी हुन पक्कापक्की भै सकेकोले निर्णय परिवर्तन गर्न नमिल्ने बताएका छन्। नेकपा एमालेका स्थायी कमिटि सदस्य भरतमोहन अधिकारीले पनि काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सार्क शिखर सम्मेलनमा सहभागी हुन उपयुक्त नहुने बताएका छन्। अधिकारीले सार्क शिखर सम्मलेनमा काम चलाउ प्रधानमन्त्री भन्दा गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिलाई पठाउंदा राष्ट्रको प्रतिष्ठा बढ्ने बताएका छन्।

Popularity: 9%

Add comment July 29th, 2008

उपराष्ट्रपति विरुद्ध विद्यार्थीको आन्दोलन फिर्ता

एस काठमाडौं / एचकेनेपाल डट कम -
उपराष्ट्रपति परमानन्द झाले नेपाली भाषालाई अपमान गरी हिन्दी भाषामा शपथ लिएको भन्दै त्यस बिरुद्ध बिद्यार्थीले गरेको आन्दोलन आज फिर्ता लिएका छन्।

वागबजारस्थित अनेरास्ववियु क्रान्तिकारीको कार्यालयमा आज बसेको आठ विद्यार्थी संगठनहरुको संयुक्त बैठकले उपराष्ट्रपति झा विरुद्ध जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो। आन्दोलनमा घुसपैठ भएर अराजक हुंदै सामाजिक सद्भाव खल्बलिन सक्ने खतरा भएकाले आन्दोलन फिर्ता लिने निर्णय गरिएको बिद्यार्थी नेताहरुले बताएका छन्। उनीहरुले आन्दोलन फिर्ता लिएपनि विद्यार्थीहरुको माग यथावत रहेको बताएका छन्।

२५ दलको आग्रह र संसदमा समेत सार्वजनिक महत्वका रुपमा यो विषय उठेकाले आन्दोलन फिर्ता लिनु परेको अनेरास्वबियुका अध्यक्ष ठाकुर गैरे बताएका छन्।

यही विषयमा सर्वोच्च अदालतले उपराष्ट्रपति झालाई हिन्दी भाषामा शपथ खाएको लिखित कारणसहित ७ दिनभित्र उपस्थित हुन आदेश दिइसकेको छ।

Popularity: 9%

1 comment July 29th, 2008

अनेसास कतारद्वारा साहित्यिक गोष्ठी सम्पन्न (+Photo)

- इखालु रमेश गेलाल, दोहा कतार / एचकेनेपाल डट कम -
प्रवासमा रहेर पनि आफ्नो भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र बिकासमा लागि परिरहेको सम्पूर्ण नेपालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाको आयोजनामा गत शुक्रवार दोहास्थित टपफर्म रेष्टुरेण्टमा समाजको मुखपत्र साहित्य दीपको बिमोचन तथा लघु साहित्यिक गोष्ठी सम्पन्न भयो।

समाजका अध्यक्ष दिपक भेटवालको सभापतित्व तथा संस्थाका सल्लाहकारत्रय सागर नेपाल, कमलमणी गुरागाई, बद्रिप्रसाद पराजुली र कान्तिपुर साप्ताहिकका श्यामसुन्दर शसीको आतिथ्यमा सम्पन्न सो कार्यमा प्रवासमा रहेर पनि बचेको समयलाई साहित्यमा लगाउनु हुने साहित्यनुरागीहरुको भावानालाई समेट्दै अनेसासले प्रकाशित गरेको “साहित्यदीप” -गजल बिशेषाङ्क),समाजका सल्लाहकारत्रयबाट संयुक्त रुपमा बिमोचन गरिएको थियो भने कान्तिपुर साप्ताहिकका श्यामसुन्दर शसीले समिक्षा गर्नुभएको थियो।

समाजका कावा सचिव बासुदेव अञ्जानले साहित्यमय ढंगले सञ्चालन गर्नु भएको सो कार्यक्रममा अतिथि नेपाल, पराजुली लगायत उल्लेख्य रुपमा साहित्यनुरागीहरुले आफ्ना रचना वाचन गर्नुभएको थियो।

“बिद्धान हुन्नन् ठूला ग्रन्थ ठेली खाने किराहरु
महलभित्र ढाडिएको सिद्धान्तलाई मान्दिन म”, सिद्धान्तका ठेलीहरु रटेर बिद्वानको पगरी गुथी हुकुमे हैकम र सिद्धान्त व्यवहारमा लाद्न खोज्नेहरुका बिरुद्ध गजलकार हरि ज्वाला आफ्ना शेरहरुद्वारा यसरी पोखिनु भएको थियो भने कोषराज श्रेष्ठका,
“भोको पेट भन्दा प्यारो देशको माया हुन्छ साथी
भाई फुटे गवार लुटे किन गर्र्छौ तानातानी” होस् या बद्री प्र. पराजुलीका,
“धोती, टोपी गाम्छाहरु, एकै ठाउँ सजाउँदै
मुख्य कुरा अखण्डता, बचाउने काम हजुर” होस्, यी गजलका शेरहरुले समग्रमा देशमा बढ्दो अन्योलमय अवस्था र पदिय लुछाचुडीमा अल्झिरहेका शक्तिहरुलाई प्रवासबाट नै भएपनि सल्लाह र सुझाव पेश गरेका थिए। त्यस्तै “सामन्तलाई दरवार निकाली, उसका पिछलग्गु विराजमान हुन्छ भने बैचारिक मिसायलका नटहरु खोल्ने प्रलय हुन्छ भने, बढ्नेछ अश्त्र सहित वस्तीहरु, उठ्नेछ ग्रीनेट समाएका हस्तीहरु” महेन्द्र राईको “घोषणापत्र जारी गर्दछु” मा समेटिएका यी पंत्तिहरुले नेपाली जनताको भावाना विपरीतको बाटोमा लाग्न खोज्नेहरुलाई खवरदारीका आवाज उठाएका थिए। यसरी देशप्रति समर्पित भावानाले ओतप्रोत भएका रचनाहरुका साथै श्रृङ्गारिक रसले छताछुल्ल प्रेममय रचनाहरुको वाचनले कार्यक्रमलाई झनै रसीलो बनाएका थिए।

त्यसैगरि कार्यक्रमको अन्तमा समाजका बिषयमा समिक्षकद्धारा उठेका जिज्ञासाको जवाफ दिदै समाजका अध्यक्ष भेटवालले प्रवासमा रहेर कलम चलाउनेहरु मध्येबाट छनौट गरी एक जनाको कृति प्रकाशित गरिदिने अनेसास कतारको वार्षिक कार्यक्रम अनुसार समाजमा दर्ता हुन आएका बिबिध बिधाका एक दर्जन भन्दा बढि पाण्डुलिपी मध्येबाट दुर्गा भुषालद्धारा लिखित “निर्धा मलामीहरु” (मुक्तक संग्रह) छनौट भएको घोषणा समेत गर्नुभएको थियो।


Popularity: 9%

Add comment July 29th, 2008

कोरियामा नयाँ किरण साँस्कृतिक सौगात सम्पन्न (+Photo)

सुविन मगर, सउल द. कोरिया / एचकेनेपाल डट कम -
प्रगतिशिल मोर्चाको नयाँ किरण साँस्कृतिक सौगात शनिवार भव्य रुपमा सम्पन्न भएको छ। सउलको छोगेसा मन्दिरमा दिउंसो २ वजेबाट कार्यक्रम सुरु भएको थियो। दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा पहिलो चरणमा उद्घाटन र दोस्रो चरणमा साँस्कृतिक कार्यक्रम संचालन भएको थियो। मोर्चाका अध्यक्ष सुमन राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन मोर्चाका सचिव गगन पुनले गर्नुभएको थियो।

प्रमुख अतिथि नेपाली दूतावासका राजदूत कमलप्रसाद कोइरालाले मैनवत्ती दिप प्रजवलन गरेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो। ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात मोर्चाका उपध्यक्ष कृष्णमणी आचार्यले स्वागत भाषण गर्नुभएको थियो। अन्य अतिथिहरुमा दूतावासका उपनियोग प्रमुख यादव खनाल सहचारी हाकिम भण्डारी मोर्चाका वरिष्ठ सल्लाहकार तथा एनआरएन क्षेत्रीय सहसंयोजक रुद्रप्रसाद शर्मा, प्रवासी नेपाली संघका अध्यक्ष विक्रम राई, नेपाली जनअधिकार मंचका अध्यक्ष डिआर भण्डारी, नेपाली जनसम्पर्क समितिका अध्यक्ष नरेन्द्र गुरुङ नेपाली सम्पर्क समितिका भूपू अध्यक्ष मनोज कार्की नेपाली सम्पर्क समितिका अध्यक्ष इश्वर केसी, एनआरएन अध्यक्ष गंगाराज राई, प्रत्रकार महासंघ कोरिया कावा अध्यक्ष रघु त्रिपाठी र अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

अतिथिको आसनबाट वोल्नु हुदै मोर्चाका वरिष्ठ सल्लाहकार रुद्र शर्माले जनगायक जेबी टुहुरेलाई प्रवासमा निम्त्याएर यस किसिमको ऐतिहासिक कार्यक्रमको शुरुवात गरेकामा मोर्चालाई धन्यवाद दिनुका साथै जनताका गायक जेबी टुहुरे जनताका सुखदुखका सन्देश वोकेर हिड्ने हामी सवैको सम्पति हुन् यस्ता सम्पत्तिको सम्मानमा हामी सवैले कन्जुस्याई गर्न नहुने वताउनु भयो। प्रमुख अतिथिका आसनवाट बोल्नु हुदै राजदूत कमल कोरालाले जेबी टुहुरे जनताका सच्चा गायक हुन् र आज पनि जेबी टुहुरेले गीतका माध्यमवाट उठाउनु भएका सन्देशहरुको अझ अमूल्य र प्रभावकारी भएको वताउनु भयो। दोस्रो चरणमा साँगितिक कार्यक्रममा जनगायक जेबी टुहुरेले जनवादी गीतहरु आमा दिदी वैनी हो र बसाई हिड्नेको ताँतीले बोलको गीतले दर्शकहरुलाई उत्साहित वनाउनु भएको थियो। गायिका पार्वती राईका मेरा देउता र खोटाड हलेसीले दर्शक माझ भरपुर मनोरन्जन दिलाएको थियो। स्थानीय कलाकारहरुको विच विचको रोचक नृत्य र विविध अन्य मनोरन्जनात्मक कार्यक्रमले दर्शकहरुलाई मन्त्रमुग्ध तुल्याएको थियो भने सरिता श्रेष्टको नृत्य सवैको तारिफको विषय वन्न पुगेको थयो। मोर्चाको कार्यक्रममा सहयोग प्रदान गर्ने व्यापारिक प्रतिष्ठान र स्थानीय कलाकारहरुलाई धन्यवाद पत्र र नेपालबाट आउने हुने कलाकारहरुलाई प्रमुख अतिथि कमल कोइरालाले सम्मान पत्र प्रदान गर्नु भएको थियो। कोरियामा पहिलो पटक आयोजना गरिएको यस किसिमको कार्यक्रमले नयाँ आयाम थपेको विश्लेष्कहरुको विश्लेषण रहेको थियो।


तस्विरः दिनेश हिराचन, एचकेनेपाल डट कम।

Popularity: 9%

1 comment July 28th, 2008

अनेसास जापानको आयोजनामा भानु जयन्ती सम्पन्न (+Photo)

एस टोकियो /एचकेनेपाल डट कम, जुलाई २७ -
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा १९५ औ भानु जयन्ती तथा तृतीय साहित्य श्रृंखला प्रमुख अतिथि बिमल कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा उपस्थित तथा अनुपास्थित कवि कवयित्रीहरुको रचना वाचन गरिएको थियो। अनेसास जापानको कोषाध्यक्ष यसोदा थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम अनेसास केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेत, एनआरएन जापानका अध्यक्ष भवन भट्टको अतिथ्यमा सम्पन्न भएको थियो।

नेपाल निप्पोन रिसर्च सेन्टरद्वारा पेन नेपालकालागि प्रधानसम्पादक रामकुमार पाण्डे तथा सम्पादक प्रकाश पौडेल माइला रहनुभएको नेपाली हाइकु पत्रिकाको बिमोचन प्रमुख अतिथिबाट सम्पन्न भएको थियो। बिमोचन पश्चात सम्पादक माइलाले हाइकु सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

रचना वाचन गर्नेहरुमा धिसन निरौला, अलोक चालिसे, देबीबहादुर इङ्नाम, पुष्करजङ थापा, शुष्मा ओमाता, प्रकाश पौडेल माइला, छक्कु उदाशी, जितबहादुर सापकोटा, सशी बिक, दिनेशराज ज्ञवालीलगायतका रचनाकार हुनुहुन्थ्यो। त्यस्तै हुलाकमार्फत प्राप्त रचनाकारहरुमा नागोया जापानबाट बसन्त प्रकाश गौतम, काठमाडौंबाट प्राद्यापक रामकुमार पाण्डे, सिता शर्मा आदि हुनुहुन्थ्यो।

कार्यक्रममा अनेसास जापान र यसका साहित्यिक गतिबिधिका बारेमा अतिथि अनेसास केन्द्रका अध्यक्ष कुमार बस्नेत, एनआरएन जापानका अध्यक्ष भबन भट्ट तथा प्रखर वक्ता सूर्य पाठकले भानु भक्तको साहित्यिक योगदानबारे प्रकाश पार्दै बिदेशमा नेपाली साहित्यको लागि भएका योगदान बारे चर्चा गर्नुभएको थियो। कबिता वाचनसँगै कुमार सिम्खडाले नेपाली साहित्यका पाठकका लागि अन्लाइन साहित्य संग्रह मझेरी (www.majheri.com) को सुरुवात गरेको जानकारी दिनुभयो। लामो समयदेखि नेपाली भाषा र संस्कृतिका लागि नेपाली लोक नृत्य, रेडियो कार्यक्रम तथा बाल क्लब मार्फत योगदान पुर्‍याइ रहेकी जापानी नागरिक युको मल्ल ओकामोतोले नेपाली कला र भाषामा निरन्तर लागिपर्ने बताउनुभयो।

समाजका महासचिब दिनेशराज ज्ञवालीको सन्चालन रहेको उक्त कार्यक्रममा आलोक चालिसेले स्वागत मन्तब्य राख्नु भयो ।

Popularity: 9%

Add comment July 28th, 2008

उपराष्ट्रपति झालाई लिखित जवाफ दिन सर्वोच्चको आदेश

उपराष्ट्रपति झालाई लिखित जवाफ दिन सर्वोच्चको आदेश
एस काठमाडौं / एचकेनेपाल डट कम -
उपराष्ट्रपति परमानन्द झालाई हिन्दी भाषामा शपथ ग्रहण गरेको लिखित कारण सात दिनभित्र पेश गर्न सर्वोच्च अदालतले आज आदेश दिएको छ। न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले उपराष्ट्रपति झालाई सात दिनभित्र लिखित जवाफ दिन आदेश दिएको हो।

बालकृष्ण न्यौपानेलगायत अधिवक्ताहरू टीकाराम भट्टराई, माधवकुमार बस्नेत, कुमार रेग्मी, राजकुमार थापा र कञ्चनकृष्ण न्यौपानेले उपराष्ट्रपति झाले नेपाली भाषामा शपथ ग्रहण गर्नुपर्ने माग राख्दै उपराष्ट्रपति तथा मन्त्रीपरिषदको कार्यालय विरुद्ध गत शुक्रवार सर्वोच्चमा रिट दायर गरेका थिए। तर अन्तरिम संबिधानमा राष्ट्रपति र उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार नतोकिएकाले अन्तरिम आदेश जारी गर्नु नपर्नेसमेत सर्वोच्चले ठहर गरेको छ।

अधिवक्ता न्यौपानेले गत शुक्रबार संविधानविपरीत रहेको उक्त शपथ बदर गरी संविधानबमोजिम शपथ नखाएसम्म उपराष्ट्रपतिको कामकाज नगर्न, नगराउनका लागि अन्तरिम आदेश जारी गर्न माग गर्दै सो रिट दायर गर्नुभएको थियो।

राष्ट्रपति भवन, शीतल निवासमा बुधबार आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति डा.रामवरण यादवले नेपाली भाषामा शपथ वाचन गरिरहनु हुँदा उपराष्ट्रपति झाले त्यसलाई हिन्दी भाषामा अनुवाद गरी शपथ लिनुभएको थियो।

Popularity: 9%

6 comments July 28th, 2008

उपराष्ट्रपतिको शपथबिरुद्धको रिटमा आज आदेश

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
उपराष्ट्रपति परमानन्द झाले नेपालको अन्तरिम संविधानविपरीत बिदेशी भाषामा शपथ लिनुभएको भनी उक्त शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको प्रारम्भिक सुनुवाइको निर्णय आज सोमबार हुने भएको छ।

न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासमा हिजोको प्रारम्भिक सुनुवाइमा रिट निवेदक बालकृष्ण न्यौपानेलगायत अधिवक्ताहरू टीकाराम भट्टराई, माधवकुमार बस्नेत, कुमार रेग्मी, राजकुमार थापा र कञ्चनकृष्ण न्यौपानेले बहस गर्नुभएको थियो।

न्यायाधीश शर्माले आज अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय दिइने बताउनुभयो।

अधिवक्ता न्यौपानेले गत शुक्रबार संविधानविपरीत रहेको उक्त शपथ बदर गरी संविधानबमोजिम शपथ नखाएसम्म उपराष्ट्रपतिको कामकाज नगर्न, नगराउनका लागि अन्तरिम आदेश जारी गर्न माग गर्दै सो रिट दायर गर्नुभएको थियो।

राष्ट्रपति भवन, शीतल निवासमा बुधबार आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति डा.रामवरण यादवले नेपाली भाषामा शपथ वाचन गरिरहनु हुँदा उपराष्ट्रपति झाले त्यसलाई हिन्दी भाषामा अनुवाद गरी शपथ लिनुभएको थियो।

उक्त संविधानको धारा-३६ को झ -(२) मा उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि अनुसूची १-क) को ढाँचामा राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ भने सोही संविधानको धारा-५ -२) मा देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने उल्लेख छ।

सो रिटमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयलाई विपक्षी बनाइएको छ।

Popularity: 9%

Add comment July 28th, 2008

राष्ट्रपतिलाई ज्ञापनपत्र

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
देशभक्त गणतान्त्रिक एकता अभियानले उपराष्ट्रपति परमानन्द झालाई हिन्दीमा गरेको सपथ रद्द गरी संविधानअनुसार पुनःसपथ ग्रहण गराउन राष्ट्रपतिसमक्ष ज्ञापनपत्र पेस गरेको छ।

यस्तो क्रियाकलापले सबै नेपालीले बुझ्ने नेपालीका साथै नेपाली जातजाति, जनजातिका मातृभाषा कोचिला, मैथिली, भोजपुरी, अवधि, मगर, गुरुङ, नेवार, तामाङ, र्राई, थारु, राजवंशी आदिलाई छायामा पार्ने र भाषासम्बन्धी लिपि, संस्कृति, परम्पराको प्रगति, संरक्षण र सर्म्बर्द्धनमा बाधा पार्छ भन्दै अभियानले उपराष्ट्रपतिको सो क्रियाका पछाडि नेपाली स्वाभिमान, स्वतन्त्रता र पहिचान खल्बल्याउने षडयन्त्र रहेको पनि आरोप लगाएको छ।

Popularity: 9%

2 comments July 28th, 2008

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2008
M T W T F S S
« Jun   Aug »
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Posts by Month

Posts by Category

More news....