Archive for August 1st, 2008

उपराष्ट्रपतिविरुद्ध अमेरिकास्थित नेपाली दूतावासमा विरोध पत्र

एस, वासिंगटन डिसी / एचकेनेपाल डट कम -
उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा पद तथा गोपनीयताको शपथ खाएर नेपालको राष्ट्र भाषा, संस्कृति र पहिचानको नै अपहेलना गरेको विरुद्धमा विश्व सन्देश खबर पत्रिकाको संयोजनमा अमेरिकाको डिसीबाट संचालन भईरहेका संचारका विविध माध्यमहरुले संयुक्त रुपमा जुलाई ३१ तारिखका दिन एक विरोध पत्र डिसीस्थित नेपाली राजदूतावासमा बुझाएको छ।

यसरी विरोध पत्र बुझाउने नेपाली सञ्चारमाध्यमहरुमा नेपाल होराईजन डटकम, खसखस डटकम, डिसी नेपाल डटकम, मेरो मन डटकम, विश्व परिक्रमा खवर पत्रिका, नेपाल अब्रोड र सगरमाथा टेलिभिजनलगायत रहेका छन्।

राजदूतमार्फत राष्ट्रपति समक्ष प्रस्तुत गरिएको उक्त विरोध पत्रमा अनलाईन हस्ताक्षर अभियान चलाईएको थियो। विरोध पत्रमा देश र विदेशमा छरिएर रहेका १८०६ जना नेपालीहरुले हस्ताक्षर गरेका छन्। एकताको प्रतिक उपराष्ट्र्पति जस्तो गरिमामय पदको भार थेग्न नसक्ने मात्र होईन साम्प्रदायिक विखण्डनबादी आगोको लप्कामा घिउ थपेर राष्ट्रको अस्तित्व नै खतरामा पुर्याउने नियत देखिएकोले परमानन्द झालाई उपराष्ट्रपतिको पदबाट राजिनामा गराउनु पर्छ भन्ने माग विरोध पत्रमा उल्लेख छ। विरोध पत्रको व्यहोरा-

उपराष्ट्रपतिको विरुद्ध डिसीस्थित नेपाली संचार माध्महरुको विरोध पत्र
महामहिम राष्ट्रपति रामबरण यादबज्यू
राष्ट्रपति भवन, शितल निवास, काठमाण्डौं
मार्फत - नेपाली राजदूतावास
वासिंगटन डिसी
महामहिम राष्ट्रपतिज्यू,
सर्वप्रथम नेपालकै इतिहासमा नव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति हुने सौभाग्य पाउनु भएकोमा यहाँलाई हामी अमेरिकाको वासिंगटन डिसीबाट संचालन भईरहेका नेपाली संचारका विविध माध्यमहरुको तर्फबाट हार्दिक बधाई तथा शुभ कामना दिन चाहन्छौं। यहाँको कार्यकालमा प्रत्येक नेपालीले चाहना राखेको नयाँ नेपालको सुन्दर चेहरा उदाउन सकोस् र सदा सदाको लागि राज्यमा शान्ति र अमन चयन दिगो हुन सकोस् भन्ने कामना पनि गर्दछौं।

महामहिम राष्ट्रपतिज्यू,
गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति पदमा नवनिर्वाचित परमानन्द झाले गत बुधबार आयोजित विशेष समारोहमा शपथ खानु हुँदा हिन्दी भाषा प्रयोग गर्नु भएको कुराले नेपालको एकता, अखण्डता र सार्वभौममाथि गौरव गर्ने हामी समस्त नेपालीको हृदयमा गम्भीर चोट पुर्याएको कुरा महामहिम राष्ट्रपतिसमक्ष राख्न चाहन्छौं ।

आज मुलुक समाबेसी लोकतन्त्रको नाममा जातीय, क्षेत्रीय र साम्प्रदायिक भावनाबाट दन्कन खोजिरहेको विखण्डनको आगोलाई निभाउँदै सिङ्गो नेपालको अस्तित्व र पहिचानका लागि लडिरहेको छ। यस्तो संक्रमणकालीन अबस्थामा इतिहासमै पहिलो पटक निर्वाचित पहिलो उपराष्ट्रपतिले पहिलो पटक आयोजित विशिष्ट राष्ट्रिय समारोहमा पद तथा गोपनीयताको शपथ हिन्दी भाषामा खाएर नेपाली भाषा र नेपाली शानको अपहेलना मात्र होईन नेपाल र नेपालीको भावि अस्तित्वमाथि नै शंका गर्नु पर्ने स्थिति सृजना गरेको हामीले महशुस गरेका छौं। उपराष्ट्र्पतिको यसप्रकारको नियतले देशमा सल्कदै गरेको विखण्डनबादी आगोको लप्कामा घिउ थपेर पुरै देशलाई जलाउन खोज्नेहरुको ठूलै माहोल उच्चस्तरमै सक्रिय रहेको आशंका पैदा गराएको छ।

निश्चय पनि हाम्रो देश चार जात छत्तीस वर्णको सुन्दर बगैंचा हो। यहाँ हरेक भाषा, हरेक भेष र हरेक संस्कृतिको समान सम्मान र कदर हुनु पर्दछ । तथापि जब जब राष्ट्रि्य पर्व र राष्ट्रिय महत्वका सवालहरुका कुरा आउँछन् त्यस बखत एउटै भाषा, एउटै भेष र एउटै संस्कृतिको आवाज बुलन्द हुनु राष्ट्रिय एकताका निमित्त नितान्त जरुरी छ। त्यसमाथि पनि नेपाली राष्ट्रिय भाषा भनेको हरेक भाषा भाषीहरुलाई एउटै धागोमा उन्ने शुत्र हो। त्यसरी नै राष्ट्रपति र उपराष्ट्रपतिको पद कुनै एक दल, क्षेत्र र जातिको मात्र नभइ समग्र् राष्ट्रलाई एक शुत्रमा बाँध्ने एकताका प्रतिकको रुपमा स्थापित पद हो। यस्तो महान पदमा निर्वाचित व्यक्तिले संकुचित बिचार लिई आफ्नो राष्ट्र र राष्ट्रियतालाई विर्सिएर आफ्नो मातृ भाषाको समेत अपमान हुने गरी बिदेशी भाषाको सहारा लिनु कदापी क्षम्य हुन सक्दैन। यसप्रकारको परास्त मनस्थिति बोकेको नेतृत्वकर्ताबाट आम नेपालीले कल्पना गरेको नयाँ नेपाल सृजना होला भनेर कसरी विश्वास गर्ने ?

भाषा, साहित्य, कला र संस्कृति नै राष्ट्र्को पहिचान हो। यसको समृद्धि, सम्बर्धन र प्रचार प्रसारका लागि आम नेपाली आजन्म लागिरहेका छन्। कैयनले आफ्नो जीवन नै अर्पेका छन्। देशभित्र मात्र होईन बिदेशमा बस्ने नेपालीहरुले समेत देशको भाषा र संस्कतिको सेवा बिदेशी भूमिमा बसेर पनि विभिन्न माध्यम र साधनहरुबाट गरिरेका छन्। । यस परिप्रेक्षमा देशकै गरिमामय र राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्तिले राष्ट्रकै पहिलो ऐतिहासिक अबसरमा राष्ट्रिय भाषा र राष्ट्रिय भेषको अमर्यादा र अपहेलना गरेकोमा उपराष्ट्रपति परमानन्द झाप्रति हामी सात समुद्र पारी रहेर पनि आफ्नो देशको भाषा र संस्कृतिको उत्थानका लागि मरिमेटिरहेको विश्व सन्देश खबर पत्रिकाको संयोजकत्वमा यहाँका विविध नेपाली संचारका माध्यमहरुको तर्फबाट खेद प्रकट गर्दै बिरोध जनाउँदछौं। यस्तो संकिर्ण मनोभावनाबाट ग्रसित व्यक्तिलाई देशको उपराष्ट्रपति जस्तो उच्च पदमा चुनी बहाली गराउने दल र जनप्रतिनिधिहरु पनि उतिकै दोषी छन्। उनीहरुको यो अदूरदर्शी र अनुत्तरदायी निर्णयप्रति पनि हामी दुख प्रकट गर्दछौं। आफ्नो राष्ट्रि्य मर्यादाको पालना नगर्ने मात्र होईन आफ्नो राष्ट्र्को अस्तित्वलाई नै प्रहार गर्न हाकाहाकी हिम्मत राख्ने व्यक्ति उपराष्ट्रपति पदको लागि अयोग्य मात्र होईन राष्ट्रि्य हितकै निम्ति अफापसिद्ध हुन सक्ने भएकोले उपराष्ट्रपति परमानन्द झालाई यथाशिघ्र नैतिकताको आधारमा आफ्नो पदबाट राजिनामा दिन समेत हामी अपिल गर्दछौं।

साथै आगामी दिनहरुमा राष्ट्रिय व्यक्तित्वहरुले स्थानीय भाषा, भेष र संस्कृतिलाई सुहाँउदिलो स्थानमा इज्जत दिई राष्ट्रिय उत्सव, पर्व र समारोहहरुमा राष्ट्रिय भाषा, भेष र संस्कृतिको पालना गर्ने गराउने प्रावधान कायम हुनु पर्दछ भन्ने माग पनि राख्दछौं।

भवदीय
हेमन्त श्रेष्ठ, विश्व सन्देश (संयोजक )
सुरेश सापकोटा, विश्व सन्देश
सुवु केसी, नेपाल होराईजन डटकम
बासु श्रेष्ठ, खसखस डटकम
राम खरेल, सगरमाथा टेलिभिजन
रामहरि सुबेदी, डिसी नेपाल डटकम
जीवन तिवारी, नेपाली मन डटकम
गोविन्द गिरी प्रेरणा, विश्व परिक्रमा
सुजित अर्जेल, नेपाल अब्रोड
वासिंगटन डिसी, अमेरिका

बोधार्थ
उपराष्ट्रपति परमानन्द झा
उपराष्ट्रपतिको कार्यालय
संम्माननीय प्रधानमन्त्री
प्रधानमन्त्रीको कार्यालय

Popularity: 9%

5 comments August 1st, 2008

मधेशमा नदेखिएको उत्साह - महेश चौरसिया

मधेशमा नदेखिएको उत्साह

- महेश चौरसिया
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा कांग्रेसी नेता डा.रामबरण यादवको विजयले मधेशमा खुशीयाली तथा उत्साहको वातावरण बनाएको देखिएन। यो सत्य हो कि नेपालको प्रथम राष्ट्रपति मधेशी समुदायको निर्वाचित भएको कारणले मधेशलाई गौरवाञ्चित बनाएको छ। (more…)

Popularity: 9%

Add comment August 1st, 2008

नेपाली पत्रपत्रिका नछाप्न उर्दी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराईमा सशस्त्र आन्दोलनरत एक समूहले नेपाली भाषामा पत्रपत्रिका प्रकाशन नगर्न उर्दी जारी गरेको छ । तराई राष्ट्रिय मुक्ति सेना नामक भूमिगत समूहले विज्ञप्ति जारी गर्दै प्रकाशन बन्द गर्न चेतावनी दिएको हो ।

समूहका पूर्वी क्षेत्रीय ब्युरोका सैन्य कमाण्डर आकाश त्यागीद्वारा जारी विज्ञप्तिमा विज्ञप्तिमा नेपाली भाषा बोल्न, नेपाली भाषामा पत्रपत्रिका प्रकाशन गर्न र पठनपाठन बन्द गर्नसमेत भनिएको छ । उर्दी नमान्नेहरुलाई कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

तराईबासीको मातृभाषा मैथिली, मेचे, कोचे, भोजपुरीलगायत रहे पनि सर्म्पर्क भाषा भने हिन्दी नै रहेको पनि विज्ञप्तिमा उल्लेख छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले उर्दीप्रति आपत्ति जनाएको छ । शाखाका सचिव अजय तिवारीले प्रकाशन बन्द गर्न दिइएको कुनै पनि समूहको दबाब सह्य नहुने बताएका छन् ।

Popularity: 9%

11 comments August 1st, 2008

नेपाल-भारत सन्धि जलाइयो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
एकीकृत नेपाल राष्ट्रिय मोर्चाले नेपाल र भारतबीच ३१ जुलाई १९५० मा भएको सन्धि आज जलाएको छ । सन्धिका धारा ५, ६ र ७ नेपालको पक्षमा नभएको भन्दै राजधानीको पुरानो बसपार्कमा आयोजित कार्यक्रममा सन्धि जलाइएको मोर्चाले जनाएको छ । सन्धी जलाउन लाग्दा प्रहरीले हस्तक्षेप गरेको उसले बताएको छ ।

३१ जुलाई १९५० मा भएको शान्ति तथा मैत्रि सन्धिमा नेपालका तर्फबाट प्रधानमन्त्री मोहन शमशेर जबरा र भारतका तर्फबाट नेपालका लागि तत्कालीन भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिंहले हस्ताक्षर गरेका थिए । मोर्चाले सो सन्धि बदनियतपूर्वक भएको पनि आरोप लगाएको छ ।

सन्धिमा नेपालको सुरक्षा मामिलामा भारतीय संलग्नताको व्यवस्था गरिएको र त्यसले भारतीयहरुको आगमन अनियन्त्रित र तिनको सङ्ख्या अनिश्चित हुँदै आएको मोर्चाको भनाइ छ । मोर्चाले भारतसँग भएका सबै असमान सन्धिका नेपालको हितविपरीतका धाराहरु हर्टाई समानताका आधारमा नयाँ सन्धि गर्न, आप्रवासी नियन्त्रणसम्बन्धी कानुन अबिलम्ब लागू गर्न र पासपोर्ट प्रणालीद्वारा नेपाल-भारत खुल्ला सीमालाई तत्काल नियन्त्रण गर्न माग गरेको हो ।

Popularity: 9%

4 comments August 1st, 2008

फोरम सरकारमा नजाने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । “राष्ट्रिय सहमतिमा सरकार बनेमा सहयोग गछौँ तर सहभागी हुँदैनौँ”- उनले भने- “प्रतिपक्षमा बसेर संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गछौँ ।”

सरकार गठनका लागि माओवादीले सहमति बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले सहमति बनाउन नसके जसले बहुमत जुटाउनसक्छ, उसैले सरकार गठन गर्नुपर्ने आवश्यकता औँलाए । राष्ट्रिय सहमति अपरिहार्य भएको भन्दै उनले काङ्ग्रेस, एमाले र फोरमको गठबन्धनमा माओवादीलाई पनि सामेल गराइनुपर्ने बताए । रिपोर्र्टर्स क्लवमा बोल्दै उनले मधेसका मुद्दालाई थाँती राखेर आफूहरु सरकारमा नजाने स्पष्ट पारे ।

नेपाली जनताले माओवादी र फोरमलाई ताजा म्याण्डेट दिएकाले संविधान निर्माणमा दुइ दलको महत्वपूर्ण भूमिका रहने अध्यक्ष यादवले बताए । यद्यपि माओवादीले सबै दललाई धोका दिने प्रवृत्ति अपनाएकाले ऊसँगमात्र छुट्टै गठबन्धन भने हुन नसक्ने उनको स्पष्टोक्ति थियो ।

उता, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले माओवादीको नेतृत्वमा तत्कालै सहमतिको सरकार गठन गरी संविधान निर्माणको प्रक्रियामा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

ख्वपः कलेजद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले सरकार निर्माणमा ढिलाइ हुन गए संविधान निर्माणको काम पनि पछि पर्नेतर्फसचेत गराए । “ठूला दलको भागबण्डाको राजनीतिका कारण संविधानसभाको मूल एजेण्डा नयाँ संविधान निर्माण ओझेलमा पर्दै गएको छ”- उनको आरोप थियो ।

Popularity: 9%

2 comments August 1st, 2008

केही दिनमै राष्ट्रिय सरकार बन्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अबको केही दिनभित्रैमा २५ दलको सहमतिमा राष्ट्रिय सरकार गठन हुने बताएका छन् । नयाँ नेपाल निर्माणमा सबै दलहरुबीच एकता आवश्यक भएको भन्दै उनले सरकार दलविशेषको नभएर राष्ट्रिय सहमतिको हुने स्पष्ट पारे ।

प्रकाश स्मृति दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष नेम्जाङले यस्तो बताएका हुन् । नयाँ संविधान निर्माणका लागि नियमावली अन्तिम तयारीमा रहेको भन्दै उनले अब नयाँ संविधान निर्माणको प्रक्रिया तीब्र पारिने दावी गरे ।

काङ्ग्रेस नेता अर्जुननरसिंह केसीले गणतन्त्र घोषणाले मात्र लोकतन्त्र फस्टाउन नसक्ने भन्दै लोकतान्त्रिक पद्धति अपनाउन सहकर्मी दलहरुलाई आग्रह गरे । एमाले नेता शङ्कर पोखरेलले संविधानसभाका सभाषदहरु मानवअधिकारको रक्षक हुनुपर्ने बताए ।

कार्यक्रममा २०६४ सालको मानवअधिकार वर्षपुरस्कारबाट कमैया मुक्ति आन्दोलनमा सक्रिय बर्दियाका दुखुवा थारुलाई पुरस्कृत गरिएको थियो ।

Popularity: 9%

Add comment August 1st, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....