Archive for August 2nd, 2008

प्रहरी निरीक्षकलाई कालोमोसो

युवराज विवश, दमक / एचकेनेपाल डट कम -
झापाको महाभारामा कार्यरत एक प्रहरी निरीक्षकलाई स्थानीयबासीले कालामोसो लगाई गाउँ घुमाएका छन्।

महाभारा प्रहरी चौकीमा कार्यरत गोकुल रानालाई स्थानीयबासीहरुले पक्राउ परेका युवालाई प्रहरीले छोडेको भन्दै गाउँ घुमाएका थिए। गाउँका ६ जना युवालाई स्थानीयबासीहरुले पक्रिएर शुक्रबार प्रहरी चौकी पुर्‍याएको भोलिपल्ट शनिबार उनीहरुलाई छोडेको बिरोधमा प्रहरी चौकी घेरा हालि रानालाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।

उनीहरुले बिरोध स्वरुप त्यस क्षेत्रमा चल्ने सवारी साधनलाई समेत चल्न नदिएको तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य बिजय अग्रबालले बताउनुभयो।

Popularity: 9%

2 comments August 2nd, 2008

एमाले-काङ्ग्रेसले सरकार बनाउनसक्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले)का महासचिव झलनाथ खनालले नेकपा (माओवादी)ले राष्ट्रिय सहमतिको सरकार गठन गर्न नसके नेकपा(एमाले) र नेपाली काङ्ग्रेसले सरकार गठनको अगुवाइ लिने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी तृतीय महासचिव एवम् अखिल नेपाल किसान सङ्घका संस्थापक अध्यक्ष तुल्सीलाल अमात्यको ११ औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा आर्थिक, सामाजिक रुपान्तरणका चुनौती’ विषयक विचार गोष्ठीमा महासचिव खनालले आफूहरु राष्ट्रिय सहमतिको सरकार गठनको पक्षमा रहेको जानकारी दिनुभयो ।

ठूलो राजनीतिक दलको हैसियतले माओवादीले सहमतिको वातावरण बनाउन सक्नुपर्छ, उहाँले भन्नुभयो-फेरि पनि माओवादीले दाउपेचको राजनीति गर्न खोज्यो भने उसलाई नै बढी घाटा हुन्छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले सङ्घीयताको निर्माण जातीय आधारमा नभई आर्थिक स्रोतको आधारमा हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष केशव बडालले राजनीतिक विवादमा मात्र नअल्झी आर्थिक विकासका एजेन्डामा पनि साझा सहमति बनाउन दलहरु सक्रिय रहनुपर्ने बताउनुभयो ।

Popularity: 9%

4 comments August 2nd, 2008

तीन दलको हैकमवादप्रति गुनासो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले तीनदलीय हैकमवादका कारण संविधानसभा एजेन्डाविहीन बनिरहेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकले राजधानीमा बसोबास गर्ने पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन आयोजना गरेको दुई दिने गोष्ठीको उदघाटन गर्दै अध्यक्ष राणाले नेतृत्वको हानथापमा समय बिताइरहेका तीनदलका कारण निर्धारित समयमा संविधान निर्माण हुननसक्ने बताउनुभयो ।

मुलुक सहमति र सहकार्यबिना अघि बढन नसक्ने प्रस्ट हुँदाहुँदै पनि ठूला राजनीतिक दल साना राजनीतिक दललाई बन्देज गरेर अगाडि बढन खोजेकाले राजनीतिक गतिरोध देखिएको हो- उहाँले भन्नुभयो ।

गोष्ठीमा पार्टी केन्द्रीय सदस्य गोविन्दविक्रम शाहले पार्टी सङ्गठन विस्तार र मजबुत बनाउन पार्टी नेता केन्द्र तथा सदरमुकाम बस्न छाडेर ग्रामीण क्षेत्रमा जानुपर्नेमा जोड दिनुभयो ।

सभासद् तरुणबहादुर तामाङले नयाँ बन्ने संविधानमा सबै वर्ग, जातजाति एवम् भाषाभाषीको अधिकार स्थापित गराउन आफू सक्रिय रहने बताउनुभयो ।

गोष्ठीमा करिब २०० पार्टी कार्यकर्ता सहभागी छन् ।

Popularity: 9%

Add comment August 2nd, 2008

नेपाल एसिया कपबाट फेरि बाहिरियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
एसिसी एलाइट कप क्रिकेट प्रतियोगिताअन्तर्गत भएको सेमिफाइनल खेलमा युएई नेपाललाई छ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । यस पराजयबाट नेपाल एसिया कपमा खेल्न फेरि पनि वञ्चित भएको छ ।

मलेसियाको सिङ्गोर ट्रफ क्लबको मैदानमा शुक्रबार सम्पन्न खेलमा पहिले टस जितेर नेपालले ब्याटिङ गर्ने निर्णय लिएको थियो । पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलब ३ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै १६६ रनको चुनौति दिएको थियो ।

नेपालका लागि शरद भेषवाकरले ३३ रन र शक्ति गौचनले ३५ रनको योगदान दिएका थिए । नेपालका अन्य स्टार ब्याट्सम्यानले भने आफ्नो खेल गतिलोसँग प्रदर्शन गर्न सकेका थिएनन् । युएइका लागि कुरम खानले २० रन खर्चदैँ ३ विकेट लिएका थिए ।

जवाफमा ब्याटिङ गर्न मैदानमा ओर्लिएको युएइले ४५ दशमलब ५ ओभरमै १७२ रन बनाउँदै आफ्नो स्थान फाइनलमा सुरक्षित पारेको छ ।

अर्को सेमिफाइनल खेलमा हङकङ अफगानिस्तानलाई २५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । फाइनल खेलमा हङकङले युएइको सामना गर्ने भएको छ ।

Popularity: 9%

1 comment August 2nd, 2008

असल मित्रका लागि आवश्यक परे सडकमा उत्रनुपर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चीनको उन्नति देख्न नचाहने शक्तिले नेपाली भूमि प्रयोग गरेर चीनविरोधी गतिविधि सञ्चालनको प्रयास गरिरहेकाले आफ्नो असल मित्रका विरुद्ध हुने कुनै पनि गतिविधिविरुद्ध आवश्यक परे नेपाली जनता सडकमा उत्रनुपर्ने आवश्यकता यहाँ औँल्याइएको छ ।

नेपाल-चीन दौत्य सम्बन्ध स्थापनाको ५३औँ वाषिर्कोत्सवका अवसरमा नेपाल-चीन मैत्री समाज, लुम्बिनीद्वारा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले नेपाललाई संयुक्त राष्ट्रसङ्घमा प्रवेश गराउन चीनले ठूलो भूमिका निर्वाह गरेको स्मरण गर्दै असल मित्र चीनलाई अप्ठेरो परेको बेला नेपालले पनि सहयोग पुर्‍याउन आनाकानी गर्न नहुनेमा जोड दिए ।

उनीहरुले नेपाल र चीनबीच रहिआएको सदियौँ पुरानो मित्रवत् सम्बन्धलाई यस्ता कार्यक्रमबाट जनस्तरसम्म पुर्याउन थप मद्दत पुग्ने बताए ।

चीनले कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, राजधानीको चक्रपथ, बाँसबारी छालाजुत्ता कारखाना, हेटौँडा कपडा उद्योग, ट्रलिबस, राष्ट्रिय सभागृह र वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निमार्ण गरी नेपालको विकासमा उल्लेख्य योगदान पुर्याएको स्मरण पनि सो अवसरमा गरियो ।

Popularity: 9%

1 comment August 2nd, 2008

सुन्दरीजलमा पौडी खेल्दा विदेशी प्रेम जोडीको ज्यान गयो

एस, काठमाडौं / एचकेनेपाल डट कम -
सुन्दरीजलमा पौडी खेल्न पसेका विदेशी प्रेम जोडीको डुबेर मृत्यु भएको छ। सुरक्षा निकायले खतरा भनी पौडी खेल्न निषेध गरिएको ठाउंमा पौडी खेल्दा उनीहरुले अनाहकमा ज्यान गुमाएका छन्।

पौडी खेल्दा डुबेर मर्नेहरुमा अमेरिकी नागरिक १९ वर्षीया क्यानिर फरान्डे र तिब्बती नागरिक २८ वर्षीय केसङ राजयाल रहेका छन्। दुबै जना बौद्धस्थित तिब्बतीयन एजुकेशन फाउण्डेशनमा अध्ययनरत थिए।

युवतीलाई अढाई घण्टापछि र युवकलाई १२ घण्टापछि १७ फिट गहिराईमा मृत अवस्थामा नाङ्गै फेला परेका थिए। युवती पानीमा तैरिरहेको र युवक लेदोमा टाँसी रहेका अवस्थामा भेटिएका थिए।

उनीहरु साथीहरुसंग तीनवटा मोटरसाइकलमा घुम्ने उद्धेश्यले सुन्दरीजल गएको बताइन्छ। मोटरसाइकल पार्किङ गरेर घरेलु मदिरा सेवन गरेका चारजनामध्ये फरान्डे र केसङ रमाइलो गर्दै पोखरीमा हाम फालेका थिए। केही बेरपछि पानीबाट बाहिरिएका जोडी हाँस ठट्टा गर्दै हात समातेर फेरि पोखरीमा हाम फालेका थिए। त्यसपछि पोखरीभित्र उनीहरु बेपत्ता भएको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएकाछन्।

सुन्दरीजल प्रहरी विभागले उनीहरुसंगै गएका तेन्जिङ र सेरापलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने मृतक विदेशी प्रेमजोडीको शुक्रबार शिक्षण अस्पतालमा पोष्टमार्टम गरेको छ।

Popularity: 8%

Add comment August 2nd, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....