Archive for August 10th, 2008

“प्रथम महिला कविता प्रतियोगिता” सम्पन्न (+Photo)

एस, कनेक्टिकट / एचकेनेपाल डट कम -
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित “प्रथम महिला कविता प्रतियोगिता” अगष्ट ९ तारिख शनिवारका दिन युनिभर्सिटी अफ कनेटिकट्मा सम्पन्न भएको छ। “ग्लोवल नेपाली विमेन्स नेटवर्क” को प्रथम अधिवेशनको अवसरमा भएका बिबिध कार्यक्रमहरु मध्ये सो प्रतियोगिता पनि सम्पन्न भएको हो।

अनेसास कनेक्टिकट च्याप्टरकी संस्थापक अध्यक्ष सीता कोइराला र अनेसास केन्द्रीय उपाध्यक्ष भारती गौतमको संयोजकत्वमा भएको सो प्रतियोगितामा आठ वटा प्रतियोगी कविताहरु समाविष्ट थिए भने पांचवटा कविताहरु प्रतियोगिता बाहिरका थिए।

कार्यक्रमकी संयोजक सीता कोइरालाले उपस्थित सवैलाई स्वागत गर्नु भएपछि सभाको संचालन अनेसास केन्द्रीय कोषाध्यक्ष कमला प्रसाईले धार्मिक प्रार्थनाबाट आरम्भ गर्नु भएको थियो। कार्यक्रमको सभापतित्व अनेसास केन्द्रीय उपाध्यक्ष भारती गौतमले गर्नु भएको थियो।

सीता पाण्डे, डा. हरि कोइराला र शरणहरि शर्मासहितको निर्णायक मण्डलले “२१ सौं शताव्दीकी नारी” शीर्षकको परिता राजभण्डारीको कवितालाई प्रथम, “दोधारमा परेको छु” शीर्षकको शान्ता राणाको कवितालाई दोस्रो र “पिताजीको सम्झना” शीर्षकको सावित्री मिश्रको कवितालाई तेस्रो घोषित गरेको थियो।

सीता पाण्डेले प्रतियोगिताको नतिजा पढेर सुनाउनु भएको थियो भने डा. शिव गौतमले विजयीहरुलाई नगद पुरस्कारका साथ प्रमाणपत्र वितरण गर्नु भएको थियो। यस प्रकारको कार्यक्रमले आफ्नो मुलुकवाट टाढा रहेका महिलाहरुले आफूले भोगेका सुखदुःखलाई कविताको माध्यमबाट व्यक्त गर्ने अवसर प्राप्तगर्न सक्नेबारे लेखिका सीता पाण्डेले प्रकाश पार्नु भएको थियो। नेपाली भाषाको अस्तित्वमा नै प्रश्न चिन्ह खडा हुन लागेको अवस्थामा कोठाभरी भेला भएर नेपाली भाषाको माध्यमवाट सुख दु:ख व्यक्त गरिनु नै कार्यक्रमको सफलता भएको तथ्य डा. शिव गौतमले व्यक्त गर्नु भएको थियो।

प्रतियोगी कविता वाचन गर्नु हुनेमा शान्ता राणा, सावित्री मिश्र, सुशीला श्रेष्ठ, ज्योति पौडेल, परिता राजभण्डारी, ललिता शर्मा, रुक्मिणी कार्की र आजाद प्रधान हुनु हुन्थ्यो भने डा. शिव गौतम, ज्योति पौडेल, शान्ता राणा र कमला प्रसाईले आ-आफ्ना अप्रतियोगी कविताहरु वाचन गर्नुभएको थियो। प्रतियोगिता बाहिर कै डा. श्याम कार्कीको कविता उहाँकी श्रीमतीले पढेर सुनाउनु भएको थियो।

कार्यक्रमकी संचालक कमला प्रसाईले अनेसासको नवनिर्वाचित समितिवारे प्रकाश पार्नु भएको सो कार्यक्रमका सभापति भारती गौतमले सबै महिलाभित्र कवि, कथाकार र गीतकार लुकेको र यस्तै यस्ता अवसरहरु पाएमा मात्र त्यो प्रतिभा बाहिर आउन सक्ने बताउनु भएको थियो। उहाँले अनेसासले पहिलो पटक आयोजना गरेको यो कार्यक्रमले एकैजना कवियत्री जन्माउन सके मात्र पनि कार्यक्रम सफल भएको मान्नु पर्छ भन्नु भयो।

करीव डेढ घण्टा लामो सो कार्यक्रममा भाग लिन बोष्टन, न्युयोर्क, वासिङ्टन डिसी र कनेक्टिकटका कवियत्रीहरु उपस्थित रहेका थिए।


Popularity: 9%

Add comment August 10th, 2008

अमेरिकामा विश्व आदिवासी दिवस मनाइयो

सुरेश चाम्लिङ, न्युयोर्क / एचकेनेपाल डट कम -
अमेरिकामा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरुको संस्था फेडेरेसन अफ इन्डिजिनिस पिपुल्स इन अमेरिका (फिपना) को आयोजनामा विश्व आदिवासी दिवस अगस्ट ९ तारिखका दिन सम्पन्न भएको छ।

स्थानीय ज्याकसन् हाईटस्थित फिपनाको कार्यालयमा भएको दिवसमा बिभिन्न वक्ताहरुले विश्वमा रहेका आदिवासीहरु आफ्नो हक़ र अधिकारका लागि एक जुट हुनु पर्ने बताएका छन्। यसको लागि युएनओको बिभिन्न सन्धि तथा महासन्धिहरु लागु गराउन सरकारलाई दवाव दिनु पर्ने, नेपालको सन्दर्भमा जनजाति आदिबासीहरुको छुटै राजनितिक पार्टीको गठन गर्नु पर्ने कुरामा जोड़ दिएका थिए।

सभापति कर्मा ग्याल्जेन शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनजातिय संस्थाका प्रतिनिधिहरु डा. केके राई, लव मगर, केशबराम राई, टेक गुरुङ, सुरेश चामलिङ, लीला राई, बिनोद लिम्बू, मकर राई, प्रदीप थापामगर, सुमन राई, बिपन राईलगायतका वक्ताहरुले आफ्नो बिचार ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा महासचिव अर्जुन गुरुङले आदिवासी सम्बन्धी बूंदागत प्रस्ताव पेस गर्नु भएको थियो। सर्वसम्मतबाट पारित गरिएको प्रस्तावमा अमेरिकामा रहेका आदिवासी जनजातिहरुको सर्वांगीन बिकासका साथै नेपालका आदिवासीहरुले उठाउँदै आएको समाबेसी लोकतन्त्र, जातीय भाषिक र स्वायतता प्राप्तिको आन्दोलनको समर्थन गर्ने, आईएलओ महासन्धिको धारा १६९ र संयुक्त राष्ट्र संघको आदिबासीहरु सम्बन्धी घोषणा ब्यबहारिक रुपमा लागु गराउन नेपाल सरकारसंग पहल गर्ने आदि रहेका छन्। त्यसै गरी, युएन हेडक्वार्टर न्युयोर्कले विश्व आदिबासी दिवस मनाएको ख़बर प्राप्त भएको छ। युएन परमानेन्ट फोरम अन इन्डिजिनिस इस्सुज (युएनपीएफआईआई)ले प्रेस विज्ञप्ति जारी गरी संसार भरका आदिवासीहरुको हक़ अधिकारको राज्यद्वारा सुनिश्चित गरिनु पर्ने र उनीहरुको उत्थान हुनु पर्नेमा जोड़ दिएको छ।
न्युयोर्कबाटः सुरेश चाम्लिङ /एचकेनेपाल डट कम।

Popularity: 9%

Add comment August 10th, 2008

मृतक रानामगरको अन्तिम दाहसंस्कार गरियो (News update)

मृतक रानामगरको अन्तिम दाहसंस्कार गरियो (News update)
डम्बर सुब्बा, द.कोरिया / एचकेनेपाल डट कम, अगष्ट १० -
स्व. सुशील रानामगरको आज बिहान ८ बजे फेक्चेको आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ। रानागमरको अस्तु साँस्कृतिक कार्यक्रमको सिलसिलामा कोरिया आइपुग्नु भएका जनगायक जेबी टुहुरे मार्फत मृतकको परिवारलाई बुझाउने गरी आजै पठाइएको छ।

रानामगरको दाहसंस्कारमा कोरियास्थित नेपाली संघसंस्थाका प्रतिनिधि र नेपालीहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो। स्व. रानामगरको चीर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो।

मृतक राना मगरको अन्तिम दाहसंस्कार १० अगष्टमा
राजु दर्लामी मगर, द.कोरिया / एचकेनेपाल डट कम -
“विदेशिनु रहर होइन बाध्यता”
यी शब्द बेलाबखत पढ्ने सुन्ने गरेका छौं। माथिका शब्दलाई अनुसरण गर्दै अन्त्यमा विदेशमै ज्यान गुमाए सुशील राना मगरले। पुख्र्यौली घर स्याङ्जा वालिङ हाल काठमाडौं चुनदेवीका ३३ वर्षीय सुशिल राना मगर रोजगारीको सिलसिलामा कोरिया आएका थिए।

मजदुरी जीवन विताउंदै आएका राना मगरको जुलाई २७ तारिख उपचारको क्रममा मृत्यु भएको थियो। केही दिनअगाडि मृतकको शव नेपाल पठाईदिन आग्रह गर्ने बृद्ध बुबा आमा आर्थिक समस्याका कारण शव नेपाल पठाउन नसक्दा छोराको अनुहार हेर्नबाट बन्चित भएका छन्। उनीहरुले मृतक छोराको अन्तिम संस्कार प्रवासको भूमि कोरियामा नै गरिदिन यहाँका नेपालीहरुलाई आग्रह गरेका छन्।

नेपाल सरकारको प्रतिनिधित्व गरिदिने एकमात्र सरकारी निकाय नेपाली राजदूतावासलगायत राजनैतिक, सामाजिक, जातिय, क्षेत्रिय गैह्र आवासीय विभिन्न साझा संस्थाहरुलाई मृतक राना मगरको अन्तिम दाहसंस्कार कोरियामै गरिदिन आग्रह गरेका छन्। बृद्ध बुबा आमाको स्याहार, सुसार गरी बसिरहेकी एक मात्र मृतकका दिदीले टेलिफोन मार्फत भावुक र मर्महात शब्दमा भनिन्- “मेरो भन्ने र बोल्ने शब्द नै छैनन्।”
दिदी भाईको माया प्रेम के गरी मेटौंला
यो जीवनमा यस्तै भयो अर्को जीवनमा भेटौला…

उनले बृद्ध बाबुआमाको अनुरोध बमोजिम भाईको अन्तिम संस्कार कोरियामै गरिदिन आग्रह गरेकी छिन्। उनले यहाँका सबै नेपाली दाजुभाई दिदिबहिनीहरुलाई भाईको अन्तिम संस्कारमा उपस्थित हुन समेत आग्रह गरेकी छिन्।

Popularity: 9%

10 comments August 10th, 2008

राष्ट्रपतिद्वारा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रपति डा.रामवरण यादवले अन्तरिम संविधानको धारा ३८ को (२) अनुसार प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढाउन व्यवस्थापिका-संसद्का महासचिवलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रपति डा.यादवले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार हिजो राति राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुन नसकेपछि संविधान सभालाई पत्र पठाउँदै त्यस्तो निर्देशन दिनुभएको हो।

अन्तरिम संविधानको धारा ३८ (२) अनुसार उपधारा (१) बमोजिम सो सम्बन्धमा राजनीतिक सहमति कायम हुन नसकेमा संसद् सदस्यको बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने प्रावधान छ ।

उक्त निर्देशनअगाडि नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति डा. यादवलाई फोन गरेर आफू सहमति जुटाउन असफल भएको जानकारी दिनुहुँदै अन्य प्रक्रिया अगाडि बढाउन अनुरोध गर्नुभएको थियो ।

राष्ट्रपति डा.यादवले संविधानमा सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा नेकपा (माओवादी) लाई प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नका लागि साउन १४ गते सात दिनको समय र सो समयावधि समाप्त भएपछि पुनः साउन २१ गते थप तीन दिनको समय दिनुभएको थियो ।

Popularity: 9%

Add comment August 10th, 2008

मानव अधिकार उल्लङ्घनका ९० उजुरी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय मानवअधिकार आयोगले गत असार महिनामा आयोगको केन्द्रीय कार्यालय लगायत चार क्षेत्रीय कार्यालय र पाँच सम्पर्क कार्यालयमा ९० वटा उजुरी दर्ता भएको जनाएको छ ।

गत महिनामा आयोगको केन्द्रीय कार्यालयमा सबैभन्दा बढी २५ वटा उजुरी दर्ता आएका छन् भने सम्पर्क कार्यालय जुम्लामा यस महिनामा कुनै उजुरी दर्ता नभएको जानकारी आयोगका प्रवक्ता गौरी प्रधानले दिनुभयो।

वैशाखमा १२१ र जेठ महिनामा ९६ वटा उजुरी आयोगमा दर्ता भएको बताउँदै प्रवक्ता प्रधानले गत वर्षअसार महिनामा १६३ वटा उजुरी दर्ता भएको बताउनुभयो ।

असार महिनामा सबैभन्दा बढी अर्थात् १९ वटा उजुरीहरू महिला हिंसासम्बन्धी रहेको जानकारी प्रवक्ता प्रधानले दिनुभयो । कारागार, घाइते तथा कुटपिट, पुनःगिरफ्तारी र सूचना तथा सञ्चार-सम्बन्धी उजुरीहरू आयोगमा प्राप्त नभएको बताइएको छ ।

विषयगत आधारमा असार महिनामा हत्यासम्बन्धी १४ वटा उजुरी दर्ता भएकोमा जसमध्ये सुरक्षाकर्मीबाट छ , नेकपा (माओवादी)बाट सात र अन्यबाट एक छन् । त्यस्तै अपहरण र बेपत्ता सम्बन्धी १० उजुरीहरू दर्ता भएकोमा नेकपा (माओवादी) बाट चार , सुरक्षाकर्मीबाट चार र अन्य समूहबाट दुई छन्।

यातना र दुर्व्यवहारसम्बन्धी १४ वटा उजुरी परेकामध्ये नेकपा -माओवादी) बाट सात, सुरक्षाकर्मीबाट छ र अन्यबाट एक छन् ।

नेकपा (माओवादी)बाट विस्थापित भएको सम्बन्धी छ ,माओवादीबाटै सम्पति कब्जासम्बन्धी एक उजुरी सो महिना आयोगमा दर्ता भए तर सुरक्षाकर्मी वा अन्य समूहबाट ती विषयमा कुनै घटना भएको आयोगमा उजुरी परेको छैन ।

सो महिना नेकपा (माओवादी) बाट दुइ , सुरक्षाकर्मी र अन्यबाट एक/एक गरी चार वटा धम्की सम्बन्धी उजुरीहरू परेका छन् । गैरकानुनी थुना सम्बन्धमा दइ नागरिक अधिकार सम्बन्धमा एक, आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धमा तीन, बम बिस्फोटमा मृत्यु भएको सम्बन्धमा एक , बालअधिकार सम्बन्धमा दुइ उजुरीहरू दर्ता भएको जानकारी आयोगले दिएको छ ।

केन्द्रीय कार्यालयमा सबैभन्दा बढी अर्थात २५ उजुरी दर्ता भएका थिएभने पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरामा २२, पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा १७, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा छ र सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा सबैभन्दा कम अर्थात् दुइ वटा मात्र उजुरी असार महिनामा दर्ता भएको बताइएको छ ।

यसैगरी आयोगको सम्पर्क कार्यालयहरूमध्ये बुटवल सम्पर्क कार्यालयमा सबैभन्दा बढी अर्थात् १० उजुरीहरू दर्ता भए भने जनकपुरमा पाँच, रोल्पामा दुइ र खोटाङमा एक वटा उजुरीहरू दर्ता भएका छन् । आयोगको जुम्ला सम्पर्क कार्यालयमा अघिल्लो महिनाजस्तै असार महिनामा पनि कुनै उजुरी परेन ।

Popularity: 9%

Add comment August 10th, 2008

फूलमाया राष्ट्रिय कीर्तिमान तोड्न असफल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चीनको राजधानी बेइजिङमा सञ्चालन भइरहेको २९औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार भएको सुटिङ खेलमा नेपालको तर्फबाट सहभागी फूलमाया क्याप्छाकी राष्ट्रिय कीर्तिमान तोड्न असफल भए।

१० मीटर एअर राइफल समूहमा उहाँले ३८० अंक मात्रै बटुल्नुभयो।यो१० औं साग खेलकुद प्रतियोगितामा प्राप्त भएको अंकसँग बराबर छ । उक्त खेलमा भगवती खत्रीको ३८८ अंकको राष्ट्रिय कीर्तिमान छ ।

वाइल्ड कार्ड पाएर प्रतियोगितामा सहभागिता जनाउनुभएकी क्याप्छाकीले प्रतियोगितामा सहभागी हुनुअघि राष्ट्रिय कीर्तिमान तोड्ने विश्वास लिएको बताउनुभएको थियो ।

Popularity: 8%

Add comment August 10th, 2008

आदिवासी जनजातिहरु अर्को संघर्षमा होमिनुपर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सभासद् सुरेश आलेमगरले नयाँ नेपाल निर्माणका लागि आदिवासी जनजातिहरु अर्को सङ्घर्षका लागि तयार हुनुपर्ने बताउनुभएको छ।

विश्व आदिवासी दिवस २०६५ का अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँद्वारा दमौलीमा आयोजित कार्यक्रममा सभासद आलेमगरले सो कुरा बताउनुभएको हो।

मुलुकमा जातीय आधारमा स्वायत्तता आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

सभासद् सावित्री दुराले आदिवासी जनजातिहरुको भाषा, संस्कृति र अन्य पहिचान जोगाउन पनि जनजातिहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष हरिसिंह गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेकपा माओवादीका जिल्ला सेक्रेटरी दिनेश, नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति नीलबहादुर थापा, नेकपा एमालेका जिल्ला नेता चित्र थापा, प्रमुख जिल्ला अधिकारी काशीनाथ मरासिनी, ताराराज राना, एकबहादुर राना, राजेन्द्रकुमार लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।

Popularity: 8%

Add comment August 10th, 2008

एमबीबीएसका बिद्यार्थीको अपहरणपछि हत्या

एस काठमाडौं / एचकेनेपाल डट कम -
काठमाडौंको एमबीबीएसमा अध्ययनरत १९ वर्षीय बिद्यार्थी नवीनकुमार यादवलाई अज्ञात समूहले अपहरणपछि लहान सिराहमा शुक्रबार राति गोली हानी हत्या गरेको छ।

क्याम्पस बिदामा घर गएका यादव शुक्रबार राति आफ्नै घरबाट अपहरणमा परेका थिए। अपहरित यादव फुल्काहाकट्टी गाविस - १० स्थित धान खेतमा शनिवार बिहान मृत अवस्थामा फेला परेका थिए। उनको टाउकोमा एक गोली लागेको सशस्त्र प्रहरी बल बेसक्याम्प सुखीपुरले जनाएको छ।

मृतक यादवको शवलाई लहान अस्पतालमा पोष्टमार्टम गरिने भएको छ। यादवको अपरण र हत्याबारे अनुन्धान भैरहेको प्रहरीले बताएको छ।

Popularity: 8%

1 comment August 10th, 2008

प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट छानिने

एस, काठमाडौं / एचकेनेपाल डट कम -
अन्तरिम संबिधान बमोजिम तोकिएको समयभित्र राष्ट्रिय सहमतिको आधारमा सरकार बन्न नसकेपछि राष्ट्रपति डा. रामवरण यादवले निर्वाचन प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न आहृवान गर्नुभएको छ।

राष्ट्रपति डा. यादवले निर्वाचन प्रक्रिया आरम्भ गर्न संबिधानसभाका महासचिवलाई निर्देशन दिईसक्नु भएको छ।

राष्ट्रपतिले १० दिनको समयभित्र राष्ट्रिय सरकार गठन गर्न माओवादीलाई आग्रह गर्नुभएको थियो। तोकिएको समयसीमाभित्र राष्ट्रिय सरकार गठन हुन नसक्दा उहाँले निर्वाचन प्रक्रियाद्वारा प्रधानमन्त्री चयन गर्न निर्देशन दिनुभएको हो।

अन्तरिम संबिधानमा सहमतिको आधारमा राष्ट्रिय सरकार गठन हुन नसके संसद सदस्यको बहुमतको आधारमा प्रधानमन्त्री चयन गरिने प्रावधान रहेको छ।

Popularity: 8%

Add comment August 10th, 2008

बेइजिङ ओलम्पिकमा नेपाली खेलाडी

एस, काठमाडौं / एचकेनेपाल डट कम -
अगष्ट ९ - १० मिटर एयर राइफलको छनोट चरणमा नेपाली खेलाडी फूलमाया क्याप्छाकी अन्तिमबाट दोश्रो भएकी छिन्। उनले तुर्कीमिनिस्तानकी खेलाडी इकातिरिना आराबोभालाई ४ अंकले पछि पार्दै ४६ औं स्थानमा रहेकी छन्। (more…)

Popularity: 8%

Add comment August 10th, 2008

सवारी साधनहरु तोडफोड (News update)

सवारी साधनहरु तोडफोड (News update)
बस चालक कृष्णकुमार खवासको हत्याको विरोधमा उत्रेका प्रदर्शनकारीहरुले सुनसरी इटहरी चोकमा तीनवटा गाडीहरु तोडफोड गरेका छन्। प्रदर्शनकारीहरुले ना ३ ख २०९४ नं.का टाटा सुमो, को १ ह ४१३४ नं.को ल्याण्डरोभर र ना २ ख ९८५८ नं.का यात्रुवाहक मिनीबस तोडफोड गरेका छन्।

हत्याको विरोधमा यातायात बन्द
एस, काठमाडौं / एचकेनेपाल डट कम -
चालक कृष्णकुमार खवासको हत्याको विरोधमा नेपाल चालक संघलगायतले बिहानैदेखि पूर्वाञ्चल तथा जनकपुरमा यातायात बन्द गराएका छन्।

गत विहीबार डाँकाहरुको समूहद्वारा गोली हानी हत्या गरिएका चालक खवासका परिवारलाई उचित क्षतिपूर्ति, छोराछोरीलाई शिक्षादिक्षाको व्यवस्था, दोषीमाथि कारवाही र सुरक्षाको प्रत्याभूतिको माग गर्दै नेपाल चालक संघ, नेपाल यातायात मजदुर संघ, नेपाल स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल मजदुर संगठनलगायत यातायात व्यवसायीहरुको संयुक्त आहृवानमा यातायात ठप्प पारेका हुन्। यातायात बन्दका कारण मेची, कोशी, सगरमाथा र जनकपुरका मुख्य सडकहरुमा सवारी साधनहरु गुडेका छैनन्। यातायात ठप्प पारिएका कारण लामो दूरीका यात्रीहरु मर्कामा परेका छन्।

चालक खवासलाई गत विहीवार राति धनकुटाबाट राजधानी आउंदै गर्दा डाँकाहरुको समूहले सर्लाहीमा गोली हानी हत्या गरेको थियो।

Popularity: 8%

1 comment August 10th, 2008

पोखरामा “हङकङ कल्चर शो” स्थगित (+Photo)

एस, पोखरा / एचकेनेपाल डट कम -
मिस नेपाल २००८ सौन्दर्य प्रतियोगिता स्थगित भएको चर्चा सेलाउन नपाउंदै पोखरामा हुन थालेको “हङकङ कल्चर शो” आयोजना गर्न नमिल्ने भन्दै नेपाल महिला संघ क्रान्तिकारीले कार्यक्रम स्थलमा तालाबन्दी गरिदिएका छन्।

जित हाम्रो प्रालिद्वारा शनिवार पोखराको गैह्रा पाटनस्थित पोखरा उद्योग वाणिज्य हलमा आयोजना गरिन लागेको कार्यक्रममा नेपाल महिला संघ क्रान्तिकारीले हस्तक्षेप गरी कार्यक्रम स्थलमा तालाबन्दी गरिदिएको हो। यो कार्यक्रम साउन ११ गते पनि स्थगित भएको थियो।

कार्यक्रममा सहभागी हुने १० सुन्दरीहरुलाई गेटबाट भित्र पस्नै नदिएपछि दुई पक्षबीच झडप भएको थियो। सुन्दरीहरु र नेमसं क्रान्तिकारीका महिलाबीच हात हालाहाल हुंदा केहीबेर वातावरण तनावपूर्ण भएको थियो। युवतीहरुलाई नङ्गाएर व्यापार गर्न नमिल्ने भनेपछि पहिलो पल्ट स्थगित भएको “मिस पश्चिमाञ्चल” नामक कार्यक्रमलाई नाम परिवर्तन गरी “हङकङ कल्चर शो” भनेर पुनः शनिवार आयोजना गरिन थालेको थियो।


तस्विरः सुदर्शन रन्जित, पोखरा / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 8%

6 comments August 10th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....