Archive for August 11th, 2008

खोटाङ्ग समाज युकेको पहिलो अधिवेशन सम्पन्न (+Photo)

भुमिराज राई, युके / एचकेनेपाल डट कम -
बेलायतबासी खोटाङ्गेहरुको साझा संस्था खोटाङ्ग समाज युकेले गत अगष्ट ९ तारिख विविध कार्यक्रमहरुसहित केन्टको डोवरमा पहिलो अधिवेशन सम्पन्न गरेकोछ।

बेलायतका लागि नेपाली राजदूत मुरारीराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अध्यक्ष भगवान चाम्लिङ्ले अध्यक्षता गर्नु भएको थियो। कार्यक्रममा एनआरएन युकेका संयोजक चण्डिराज राई, बीएफबीएस युकेका महाप्रवन्धक खेम गुरुङ, सगरमाथा ते क्वान्दो डोजाङका संस्थापक तथा अध्यक्ष मास्टर राष्ट्र राई, धनकुटा सेवा समाजका अध्यक्ष क्या. ज्ञान लिम्वू, भोजपुर सेवा समाजका संयोजक दिलमान राई, कि.रा. यायोक्खा युकेका चक्र राई, याक्थुम चुम्लुङ युकेका एकराज नेम्वाङ्ग, ने.का. जनसम्पर्क मंच युकेका किशोर सापकोटा लगायत अन्य विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो।

बेलायतको विभिन्न ठाँउहरुबाट उपस्थित खोटाङ्गे दाजुभाई तथा दिदीबहिनीहरु कार्यक्रम अवधिभर नै हर्ष उल्लासका साथ आपसी भलाकुसारीमा व्यस्त देखिन्थे भने बेलाबेलामा गुन्जिने खोटाङ्गे गीतहरु तथा पर्दामा पालैपालो घुमिरहेको खोटाङ्गे तस्विरहरु तथा भिडियोले कार्यक्रम हल खोटाङ्गमय बनेको थियो।

संस्थाका उपाध्यक्ष रामप्रसाद लिम्वूको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थागत मन्तव्य दिदै कवि जगत नवोदितले संस्थाको परिचय, उद्धेश्य, महत्व तथा आवश्यकतामाथि प्रकाश पारेका थिए भने उपस्थित अतिथिहरुद्वारा दिईएको मन्तव्यका क्रममा संस्थाको उत्तरोत्तर प्रगतिको कामनासहित भाईचारा सम्वन्धमा प्रतिवद्घता व्यक्त गरेका थिए। त्यसको लगतै खोटाङ्ग समाज युकेद्वारा स्थापित खोटाङ्ग प्रतिभा पुरस्कारहरुमध्य खोटाङ्गे नव प्रतिभाहरुको लागि समर्पित खोटाङ्ग नवप्रतिभा पुरस्कार २००८ द्वारा युके ट्यालेन्ट २००८ सुश्री सुजाता राईलाई नगद पुरस्कारका साथ शिल्ड र प्रमाण पत्र प्रदान गरिइएको थियो। प्रमुख अतिथि राजदूत मुरारिराज शर्माले आफ्नो मन्तव्य राख्ने क्रममा खोटाङ्ग प्रतिभै-प्रतिभा भएका प्रतिभाशाली व्यक्तित्वहरु जन्माउने जिल्ला भएको टिप्पणी गर्दै बेलायती परिवेशमा पनि खोटाङ्गे प्रतिभाहरुको कमी विलकुलै नभएको कुरा व्यक्त गर्नुभयो। प्रतिभाहरुको कदर गर्नु समाजको कर्तव्य भएको र खोटाङ्ग समाज युकेले सो कदम अघि बढाएकोमा निरन्तरताको कामनासहित आफूलाई खुसी लागेको कुरा पनि बताउनु भयो।

संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै संस्थाका ३६ पुरस्कार कोष दाताहरुलाई दाता प्रमाण पत्र प्रदान गर्ने क्रममा पुरस्कार दाताहरु भनेको पुरस्कार कोषको खम्बाहरु भएको बताउदै खोटाङ्ग प्रतिभा पुरस्कार कोषका ३६ खम्बाहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो। विविध सांस्कृतिक कार्यक्रमहरुसहित दिवा भोजपछि ४ बजे खुल्ला सत्रको समापन अध्यक्ष भगवान चाम्लिङले गर्नु भएको थियो।

अतिथिहरुको विदाइ पश्चात शुरुभएको बन्द सत्रमा तदर्थ समितीका महासचिव इश्वर चाम्लिङ्गले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष डिल्लिराम राईले संस्थाको कोष प्रतिवेदन प्रस्तुत गर्नु भयो। त्यसै क्रममा कानुनी सल्लाहकार चण्डिराज राईले खोटाङ्ग समाज युकेको विधान-२००८ तथा जगत नवोदितले खोटाङ्ग प्रतिभा पुरस्कार कोष नियमावली-२००८ प्रस्तुत गरेपछि विधान तथा पुरस्कार कोष नियमावलीलाई अनुमोदन गरि सर्वमान्य घोषित गरियो।

गीतकार हेमकुमार राईको नेतृत्वमा रवि प्रकाश राई र इश्वर चाम्लिङसहितको तीन सदस्यीय निर्वाचन समितिको आशन ग्रहणपछि तदर्थ समितीका अध्यक्षद्वारा तदर्थ समिति भंग गर्दै सम्पूर्ण अधिकार निर्वाचन समितिलाई हस्तान्तरण गर्नुभएको थियो। खोटाङ्ग प्रतिभा पुरस्कार कोष नियमावली-२००८ अनुसार निर्वाचन अधिकृत हेम कुमार राईको निर्देशनमा सर्वप्रथम खोटाङ्ग नागरिक सम्मान र खोटाङ्ग प्रतिभा पुरस्कारको प्रजातान्त्रिक तवरमा निर्वाचन गराई नतिजा घोषणा गरियो। जस अन्तर्गत प्राप्त मतका आधारमा खोटाङ्ग नागरिक सम्मान २००८ का लागि कवि जसराज किराँती र खोटाङ्ग प्रतिभा पुरस्कार २००८ का लागि युवा गायक रुपकुमार राई छनौट हुनुभएका छन्। खोटाङ्ग नागरिक सम्मान हरेक तीन बर्ष एकजनालाई र खोटाङ्ग प्रतिभा पुरस्कार हरेक बर्ष एक जनालाई प्रदान गर्दै जाने कुरा खोटाङ्ग समाज युकेले बताएको छ।

२००८ का लागि घोषित पुरस्कारहरु निकट भविष्यमा नै जिल्लाको सदरमुकाम दिक्तेलमा एक बृहत कार्यक्रमको आयोजना गरि प्रदान गरिने छ। खोटाङ्ग नागरिक सम्मान पुरस्कारको राशी ५० हजार रुपैयाँका साथै ताम्रपत्र र खोटाङ्ग प्रतिभा पुरस्कार, ताम्र पत्र सहित २५ हजार रुपैयाँ रहनेछ।

खोटाङ्ग समाज युकेको पहिलो कार्यसमितीमा अध्यक्ष क्या. युवराज तामाङ, उपाध्यक्ष मकरध्वज राई, महिला उपाध्यक्ष श्रीमती विमला लिम्वू, महासचिव चण्डिराज राई, सचिव गणेश राई, कोषाध्यक्ष डिल्लिराम राई, सहकोषाध्यक्ष ध्रुवकुमार राई, क्षेत्रगत प्रतिनिधि र सदस्यहरु मनकुमार राई (२ आरजिआर), दिपराज राई (इन्जिनियर), मिलन राई (सिग्नल), नरेश विष्ट (लण्डन), धनकुमार राई (स्वीन्डन), श्रीमती दुगा घले (स्यान्डस्), श्रीमती भाग्यवती राई (मेडस्टोन), चन्द्र राई (फान्व्रो), टपकुमार राई (क्याटि्रक), दैवराम राई ( अल्डरसट) सवसम्मतीले मनोनित भएका छन्। खुला सत्रको कार्यक्रम महासचिव इश्वर चाम्लिङ र बन्द सत्रको कार्यक्रम जगत नवोदितद्वारा संचालन गरिएको थियो।


युकेबाटः भुमिराज राई, युके / एचकेनेपाल डट कम। थप तस्विरहर हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 9%

3 comments August 11th, 2008

एमालेका नेता गुरुङ दक्षिण कोरियामा (+Photo)

रघु त्रिपाठी, द. कोरिया / एचकेनेपाल डट कम -
नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्व राज्य मन्त्री तथा दक्षिण पूर्वी एशिया इन्चार्ज तुलबहादुर गुरुङ र अनेरास्ववियुका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख सोभियत ढकाल साता व्यापी भ्रमणमा दक्षिण कोरिया आइपुगेका छन्।

नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली संघ दक्षिण कोरियाले एमटीयुको केन्द्रीय कार्यलय सउलमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आइपुग्नु भएका नेता गुरुङले कार्यक्रमलाई सम्वोधन गर्दै नेपालको राजनीतिक परिस्थिति देशको अवस्था तथा एमालेको भूमिकाको वारेमा प्रष्ट पार्नुभएको थियो। नेकपा एमालेले बाम शक्तिहरुसंग सहकार्य गर्दै अगाडि वढ्न चाहेको तर नेकपा माओवादीले भारतको इसारामा सहकार्य तोडेको आरोप लगाउदै उनीहरुको दोहोरो रणनीतिका कारण ऐतिहासिक वामपन्थी सरकार बनाउने अवसरबाट वन्चित हुनुपरेको धारण ब्यक्त गर्नु भयो।


एमालेका पूर्व राज्य मन्त्री तथा दक्षिण पूर्वी एशिया इन्चार्ज तुलबहादुर गुरुङ। तस्विरः रघु त्रिपाठी / एचकेनेपाल डट कम।

नेता गुरुङले आगामी मङसिरमा हुन लागेको एमालेको केन्द्रीय महाधिवेशन पछि पार्टी नयाँ नेपाल तथा संविधान निर्माणमा सशक्त भूमिका निर्भाह गर्ने जानकारी दिनुभयो। साथै उहाँले कार्यक्रममा उपस्थित प्रनेसंघ आन्सानका पूर्व संयोजक दुर्गाप्रसाद दाहाल लगायतका कार्यकर्ताहरुको विविध जिज्ञासा तथा प्रतिकृयाको विषयमा पनि जवाफ दिनुभएको थियो।

सम्वोधनको क्रममा विद्यार्थी नेता ढकालले उपस्थित कार्यकर्ताहरुलाई अनेरास्ववियुको गतिविधिमाथि प्रष्ट पार्दै लोकतान्त्रिक आन्दोलनलाई समेत नेतृत्व गरेको जानकारी दिदै अनेरास्ववियु विद्यार्थीहरुको सवै भन्दा ठूलो संगठन भएको दावी गर्नु भयो।

प्रवासी नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष विक्रम राईको अध्यक्षतामा संम्पन्न कार्यकर्ता भेलामा नवगठित आन्सान शाखाका पदाधिकारीहरुलाई नेता गुरुङले शपथ गराउनु भएको थियो भने वुसान शाखाका पदाधिकारीहरुलाई आगामी शनिवार शपथ ग्रहण गराउने कार्यक्रम रहेकोछ।

सो कार्यक्रममा पुग्नु भएका राष्ट्रिय जन सांस्कृतिक मञ्चका सल्लाहकार तथा जनगायक गायक जेवी टुहुरेले जनआन्दोलनको सम्झना दिलाउने गीत गाउंदा उपस्थित कार्यकर्ता भावविभोर भएका थिए। गायक टुहुरे सोही दिन स्वदेश फर्कनु भएको छ।

प्रवासी नेपाली संघको कार्यक्रममा पुग्नु भएका जातिय संस्था तमुधिंका अध्यक्ष सचिव लगायतका टोलीले नेता गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। प्रवासी नेपाली संघ दक्षिण कोरियाको सचिव शिव पोख्रेलले संचालन गर्नुभएको उक्त कार्यक्रमको विर्सजनको क्रममा सभापति सोही संघका अध्यक्ष विक्रम राईले सबै सक्रिय भई प्रवासी नेपाली संघलाई गतिशील बनाउन आहृवान गर्नुभएको थियो।


दक्षिण कोरियाबाटः रघु त्रिपाठी / एचकेनेपाल डट कम।

Popularity: 9%

Add comment August 11th, 2008

लामो समयसम्म पढेर विश्व रेकर्ड तोड्ने अभियानमा दीपक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पाटन बहुमुखी क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययनरत २३ वर्षीय दीपक शर्माले लगातार ११२ घण्टा पढेर विश्व रेकर्ड तोड्ने अभियानमा लागेको बताउनुभएको छ।

द रिड क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले ‘लार्ज रिडिङ अलाउड म्याराथन बाइ एन इन्डिभिजुअल’ नामक कार्यक्रम तय गरी यस्तो अभियानको प्रस्तुति थाल्ने बताउनुभएको हो।

पत्रकार सम्मेलनमा बोल्दै ललितपुरको धापाखेलका शर्माले स्कूलमा धेरै पढ्ने बानी र इन्टरनेटको प्रभावका कारण आफूले केही न केही गरी देशको नाम राखौं भन्ने उद्देश्यका साथ लामो समयसम्म पढेर देशको नाम विश्वमा चिनाउन लागेको बताउनुभयो।

उहाँलाई एक घण्टा लगातार पढेपछि पाँच मिनेट विश्रामको समय दिइनेछ। लामो समयसम्म पढेर गिनिज बुकमा आफ्नो नाम रेकर्ड गर्न लागिपरेका शर्माले आफ्नो प्रतिभा तथा क्षमता आगामी असोज ३ गते प्रस्तुत गर्ने समेत जानकारी गराउनुभयो।

प्रस्तुतिका बेला उहाँले पारिजातका कृति लगायत दोषी चस्मा, छापामारको छोरो जस्ता नेपाली साहित्यका कृतिहरू पढ्ने तय गर्नुभएको छ।

यसो त, १९८७ मा बेलायतका हिल्टन नामक नागरिकले ११० घण्टा ४६ सेकेन्ड लगातार पढेर विश्व रेकर्ड राखेका थिए। हालसम्म उनको रेकर्ड कसैले तोड्न नसकेकाले नेपालका शर्मा यसका लागि सक्रियताका साथ लाग्नुभएको छ।

Popularity: 9%

Add comment August 11th, 2008

चक्र प्रणाली रोक्न सरकारी निर्देशन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विगत केही समयदेखि ट्रक, ट्याङ्कर तथा परिवहनका सवारी साधन चक्र प्रणालीमा सञ्चालनको विषयलाई लिएर सुदूर पश्चिमाञ्चलमा व्यापारी, व्यवसायी र यातायात सञ्चालकबीच विवाद भई लामो समयदेखि ढुवानी यातायात सञ्चालन हुन नसकेको र यसै विषयलाई लिएर मुलुकका विभिन्न स्थानहरूमा भएका घटनाका कारण उत्पन्न परिस्थितिर्फ गृह मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ।

परिवहन क्षेत्रमा चक्र प्रणाली अनुसार नेपाल ट्रक, ट्याङ्कर तथा परिवहनका सवारी साधन सञ्चालन गर्नु नियम विपरित भएकाले चक्र प्रणालीलाई पूर्ण रूपमा रोक लगाउन स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको गृहमन्त्रालयले विज्ञप्ति मार्फत् जनाएको छ।

कुनै व्यक्ति वा समूहद्वारा नियम विपरित चक्र प्रणाली अनुसार सञ्चालन गरेमा वा गर्ने प्रयास गरेमा त्यस्ता व्यक्ति वा समूहलाई कानुनी तथा प्रशासनिक कारबाही गरी ढुवानी तथा परिवहन सेवालाई सुचारु रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको जानकारी गराउँदै यस कार्यमा सम्बन्धित सबैको सहयोगको अपेक्षा पनि मन्त्रालयले गरेको छ।

Popularity: 9%

Add comment August 11th, 2008

कामका लागि नेपाली कामदार कोरिया उडे

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलोपटक आज ५५ जना नेपाली कामदार कोरिया जाँदैछन्। आज बिहान आठ बजेको उडानबाट उनीहरु कोरिया गएका हुन्।

कोरिया सरकारले इपिएस लागू गरेपछि करिब दुई वर्षदेखि नेपाली कामदार कोरिया जान पाएका छैनन्। इपिएसअन्तर्गत सरकारी तहबाटमात्र कामदार पठाउन सकिने व्यवस्था छ।

ललितपुरको ग्वार्कोस्थित श्रम तथा रोजगार प्रबर्द्धन विभागअन्तर्गत रहेको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार कोरियाली भाषा परीक्षामा उत्तीर्ण भई सबै प्रकृया पूरा गरेका कामदार कोरिया प्रस्थान गर्न लागेका हुन्।

श्रम विभागका महानिर्देशक केशरबहादुर बानियाँले भाषा परीक्षा उत्तीर्ण गरेका करिब एक हजार जना कामदार पनि कोरियाले छनौट गरिसकेको र उनीहरु पनि चाँडै कोरिया प्रस्थान गर्ने जानकारी दिनुभयो।

आगामी भदौ २ गते छनौटमा परेकामध्ये ६० जना कोरिया प्रस्थान गर्ने जनाइएको छ।

कोरियाली भाषा परीक्षामा उत्तीर्ण भएका र इपिएस शाखामा आवेदन दिएका छ हजार ५८६ आवेदकको रोस्टर (व्यक्तिगत विवरण, स्वास्थ्य परीक्षणका विवरणलगायतका कागजपत्र) कोरिया पठाइएको र दैनिक औसत २५ जना छनौट भएको जानकारी शाखामा प्राप्त भइरहेको सो शाखाका प्रमुख लक्ष्मीशरण उपाध्यायले बताउनुभयो।

यसैगरी सरकारले कोरिया जान अन्तिम छनौटमा परेका कामदारलाई अभिमुखीकरण तालिम दिन सुरु गरेको छ।

इपिएस शाखाका अनुसार कोरियाली भाषा परीक्षामा उत्तीर्ण भएका छ हजार ७६८ मध्ये ७०० जनालाई अभिमुखीकरण तालिम दिइएको छ।

कोरियाको सामाजिक, आर्थिक, कानुनीलगायतका पक्षमा कामदारलाई तालिम दिइएको बताइएको छ। कोरियामा गर्नुपर्ने काम र जिम्मेवारीका बारेमा पनि सामान्य जानकारी दिइएको सो शाखाले जनाएको छ।

द्विपक्षीय कूटनीतिक पहलका आधारमा भाषा परीक्षा उत्तीर्ण गर्ने सबैलाई काममा पठाउन पहल गरिने बताइएको छ।

अपराध गतिविधिमा सामेल भएका, कोरिया सरकारले यसअघि फिर्ता गरेका एवम् तोकिएको उमेर समूहमा नपरेका कामदार भने परीक्षामा उत्तीर्ण भएपनि कोरिया जान पाउँदैनन्। अठारदेखि ३९ वर्षसम्मका कामदार कोरिया जान पाउनेछन्।

Popularity: 9%

Add comment August 11th, 2008

जनतान्त्रिकद्वारा जिविसमा विस्फोट

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताले जिविस सप्तरीको भवनमा प्रेसर-कुकर बम पड्काई क्षतिग्रस्त बनाएको छ।

राति ७३५ बजे मोर्चाका कार्यकर्ताले कुकर बम पड्काउँदा जिविसको उत्तरतर्फको तीन तले भवनको चारवटा कोठा ध्वस्त भएको छ।

स्थानीय विकास अधिकारीको कार्यकक्ष, युनिसेफको कार्यालय, भण्डार कोठा क्षतिग्रस्त भएको छ।

कार्यालयमा रहेको तीन थान कम्प्युटरमा समेत क्षति पुगेको छ। विस्फोटको मोर्चाका अध्यक्ष रणवीर सिंहले जिम्मेवारी लिएका छन्।

यसैगरी राजन मुक्ति समूहले मालपोत कार्यालयमा विस्फोट गराएको छ। विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

शक्तिशाली विस्फोट भएको जिविस कार्यालय जिल्ला प्रहरी कार्यालयसँग उत्तर टाँसिएको छ।

Popularity: 9%

1 comment August 11th, 2008

कमल थापा माओवादी सरकारको पक्षमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सबभन्दा ठूलो दलका रुपमा माओवादीलाई बिना शर्त सरकार बनाउन दिनुपर्ने बताउनुभएको छ।

राप्रपा नेपाल कास्कीद्वारा पोखरामा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले दलहरुलाई भन्नुभयो-सरकारको नेतृत्व माओवादीलाई गर्न दिनुस्, सर्त राख्‍नु राजनीतिक बेइमानी हो।”

संविधानसभाको निर्वाचनपछिको चार महिनामा सभासद्का लागि मात्र रु.१२ करोड खर्च भएको तर संविधान निर्माणका लागि कुनै पहल नभएको धारणा राख्दै अध्यक्ष थापाले काङ्ग्रेस, एमाले, माओवादी, जनअधिकार फोरमजस्ता प्रमुख दलहरुले संविधान निर्माणलाई सत्ता स्वार्थको बन्धक बनाएको आरोप लगाउनुभयो।

देश विदेशमा नेपाल गणतन्त्रमय भयो भन्ने भनिरहेको बेला राजासहितको प्रजातन्त्र मान्नेहरु नेपालमा छन् भन्ने आफूहरुले गणतन्त्र घोषणाको बेलामा देखाएको धारणा व्यक्त गर्नुभयो।

Popularity: 9%

Add comment August 11th, 2008

क्यालिफोर्नियामा “नेपाल साँझ २००८” भव्य‍ताका साथ सम्पन्न (+Photo)

सोनिया केसी, क्यालिफोर्निया / एचकेनेपाल डट कम-
नेपाल एसोसिएसन अफ नोर्थन क्यालिफोर्नियाद्वारा आयोजित “नेपाल साँझ २००८” अगस्ट ९ तारिख क्यालिफोर्नियास्थित लेनी कलेज, ओक्लैण्डमा भव्यताका साथ सम्पन्न भयो।


चर्चित लोक गायक प्रेमराजा महत गीत प्रस्तुत गर्दै।

खुश्बु न्यौपाने र हरिहरदाहालले उद्घोषण गर्नुभएको उक्त कार्यक्रमको शुरुवातमा लक्ष्मी न्यौपाने, सम्राट शर्मा, ऐश्वर्य भुषाल, संरचना शर्मा, रत्न बराइली, प्रोनीशा पन्त रसुदीप अर्यालले नेपाली राष्ट्रियगान गाउनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि लोक गायक प्रेमराजा महत हुनुहुन्थ्यो। लोक गायक महतले कार्यक्रममा बिभिन्न गीतहरु समेत प्रस्तुत गरेर कार्यक्रममा थप रौनकता थप्नु भएको थियो। प्रेमराजा महत नेपालीहरुबीच निकै चर्चित लोक गायक मानिनु हुन्छ।

कार्यक्रममा आयोजक संस्थाका सचिव प्रतिक पाण्डेले कार्यक्रममा सहभागीहरुलाई कार्यक्रम सफल बनाईदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएकोभयो। यस्तो भव्य कार्यक्रम इतिहासमा पहिलो पटक भएको समेत उहाँले स्पष्ट पार्नुभयो। उहाँले न्यान्सी विभाजन भयो भन्नेहरुलाई यस कार्यक्रमले झापड हानेको समेत बताउनुभयो। कार्यक्रममा कोषाध्यक्ष मणि नेपालीले देशभक्तिले ओतप्रोत भएको कविता वाचन गर्दै शुरु गर्नुभएको मन्तव्यमा वर्तमान नेपाल र भविष्यको सम्भावित भयावह स्थितिप्रति ध्यानाकर्षण गर्दै सुन्दर भविष्यको सपना बाँड्नु भएको थियो।

कार्यक्रममा स्वागत भाषण गर्दै सभापति नविन अधिकारीले सबै नेपालीलाई न्यान्सीमा समाहित हुन आग्रह गर्नुभयो। उहाँले १० बर्ष अगाडि संस्था जन्मदा एक सय जना पनि नेपाली नभएको बताउँदै अहिले हजारौंको संख्यामा नेपाली भएको जानकारी दिनुभयो। उहाँले ब नयाँ दृष्टिकोण र आयाम थप्नु समयको माग भएको समेत स्पष्ट पार्नुभयो। कार्यक्रमको अन्तमा उपसभापति तेज राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा प्रेमराजा महत, श्रीजन ताम्राकार र गम गुरुङले हामी नेपाली जहाँ गए नि, जहाँ भए नि हामी नेपाली, बोलको राष्ट्रिय गान गाउनु भएको थियो। यस्तै क्रिश्ता प्रधान, शार्नवी केसी, एलीजा पनेरु, बाग्मती लेप्चार, प्रशंसा राईले पञ्चकन्या नाच प्रस्तुत गरेका थिए। यस्तै रत्न बराइलीले ‘लाली गुराँस अजम्बरी चम्पा चमेली’ बोलको गीत गाउनु भएको थियो भने मणि नेपालीले सामान्य लेखा प्रस्तुति र कविता र महिमा पनेरुले “टिकली है माया” बोलको गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो।


कार्यक्रमलाई अझै रोचक बनाउँदै सुदीप अर्यालले “रेशम फिरिरि” गीत गाउनु भएको थियो भने प्रियंका थापा, रोशनी न्यौपाने र सोनामा डोल्करले “म त काली सुन्दरी” गीतमा नृत्य र बिष्णु गुरुङले हे नारी बिषयक मुक्तक प्रस्तुत गर्नुभएको थियो। विविध प्रस्तुतीले भरिएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले परम्परागत नेपाली राष्ट्रिय पोशाकको झाँकी पनि देखाएका थिए। कार्यक्रममा रोचकता र आकर्षण थप्दै सुजु श्रेष्ठले “लहना ले जुरायो कि” गीतमा नाचेकी थिइन्।


नविन अधिकारीले संयोजक समितिहरुलाई स–सम्मान गर्नुभएको थियो। सोही कार्यक्रममा यमुना महर्जन र मदन महर्जनले “ओ दाई चा” नेवारी गीतमा नृत्य प्रस्तुत गरेका थिए भने पुकार मल्लले कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा अमुल गुरुङ र आकाश कार्कीले “च्याङवा है च्याङवा” गीत गाउनुभएको थियो भने पुजाशर्मा, खुश्वु न्यौपाने र पुकार मल्लले “सम्झना बिर्सना सलल” गीतमा नृत्य देखाउनुभएको थियो। श्रीजन ताम्राकारले “ओ ओकेली’” र प्रेमराजा महतले “घुम्दै फिर्दै आजको दिनमा” बोलको परिचयात्मक गीत कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा मध्यान्हमा एभरेष्ट बैण्डको प्रस्तुती रहेको थियो। एभरेष्ट बैण्डका विनोद शेर्पा, कल्याण तुलाचन, सुरज शेरचन, राहुल लामा, रुपेश रसाई, धीरज राई र रोहित शेरचनको प्रस्तुतीले कार्यक्रमलाई रोचक बनाएको थियो। सोही कार्यक्रमको अन्त्यमा कार्यसम्पादन उपसमितिले भूतपूर्व कार्य समितिलाई सम्मान गरेको थियो। त्यसपछि संगीता शर्माले “म प्यार बेचिदिन्छु” भन्ने गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो भने सनी बी र आकाश अधिकारीले गोर्खा रक्षक फिल्मको जानकारी दिनुभएको थियो। नृत्य र गीत प्रस्तुतिकै क्रममा श्रृष्टि गौतम र प्रकाश बस्नेतले “आ है कलिलो तामालाई, सोध आमालाई” गीतमा नृत्य र गम गुरुङले “प्रियसीको दोहोरो मन” बोलको गीत गाउनु भएको थियो। कार्यक्रममा ध्रुव थापाले कविता वाचन गर्नुभएको थियो भने मुनु न्यौपानेले “लुकीछिपी हेर्न” सविना ढकालले “माइती घर माइतीघर” गीतमा नृत्य प्रस्तुत गरेर कार्यक्रममा मनोरञ्जन थप्नु भएको थियो।

यस्तै कार्यक्रममा प्रतिक पाण्डेले संस्थागत प्रस्तुति देखाउनु भएको थियो। यसैगरी “तीजको रहर आयो बरीलै” मा सुजाता शेरचन र “चिया बारीमा हो चिया बारीमा” गीतमा नेहा दाहाल, सोफिया सापकोटा, प्रतिमा अधिकारी, संरचना शर्मा, स्वर्णीम सापकोटा र सम्राट शर्माले नृत्य प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा “भन्छन् कोही जिन्दगी” गीत लक्ष्मी गौतमले प्रस्तुत गर्नुभएको थियो।

नेपाल एसोसिएसन अफ नर्दनक्यालिफार्नियाको सभापति नविन अधिकारी, उपसभापति तेज राई, सचिवमा प्रतिक पाण्डे र कोषाध्यक्षमा मणि नेपाली रहनु भएको छ। यस्तै सदस्यहरुमा पुजा शर्मा, दिलबहादुर चतुर, गोबिन्दबहादुर शाही, गीता श्रेष्ठ र आङ्ग छिरिङ शेर्पा रहनु भएको छ। उक्त कार्यक्रम आयोजक समितिको संयोजकमा तेजराई र सदस्यहरुमा आङ्ग छिरिङ शेर्पा, पुजा शर्मा मनोज घिमिरे र संगीत शर्मा रहनुभएको छ।

Popularity: 9%

Add comment August 11th, 2008

नेपाली खेलाडीको सम्मानमा कार्यक्रम

रासस / एचकेनेपाल डट कम -
बेइजिङ, साउन २६ - २९ औं ग्रिष्मकालीन ओलम्पिकमा भाग लिन बेइजिङ आएका खेलाडीसहितको नेपाली टोलीको सम्मानमा चीनमा रहेको नेपाली दूतावासले शनिबार साँझ स्वागत समारोहको आयोजना गर्‍यो।

उक्त अवसरमा नेपाली राजदूत टंकप्रसाद कार्कीले बेइजिङ ओलम्पिक सबै नेपाली खेलाडीमा अन्तरनिहित क्षमताको प्रदर्शन गर्ने उच्चस्तरको थलो हुनुका साथै राष्ट्रको प्रतिष्ठा र गरिमालाई माथि उठाउने तथा प्रतियोगितामा सहभागी २०४ राष्ट्रका बीचमा आफ्नो राष्ट्रिय अस्मितालाई प्रदर्शन गर्ने राम्रो क्षण भएको बताए। उनले राष्ट्रको प्रतिष्ठालाई केन्द्रमा राखेर सम्पूर्ण ध्यान र तागतले खेल प्रदर्शन गर्न नेपाली खेलाडीलाई अनुरोध गरे।

Popularity: 8%

Add comment August 11th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....