Archive for August 14th, 2008

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्ड भिड्ने

एस, काठमाडौं / एचकेनेपाल डट कम -
भोलि हुने प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष प्रचण्ड भिड्ने भएका छन्।

नेपाली कांग्रेस संसदीय समितिको बैठकको निर्णय अनुसार देउवाको उम्मेदवारी दर्ता भएको छ। बैठकले देउवालाई संसदीय दलको नेताको रुपमा समेत चयन गरिएको छ। कांग्रेस केन्द्रीय समितिले प्रधानमन्त्रीको उम्मेदवार छनोट गर्न संसदीय समितिलाई जिम्मा दिइएको थियो।

त्यसै गरी, माओवादीले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको छ। प्रचण्डलाई नेकपा एमाले र मधेसी जनअधिकार फोरमले सघाउने भएका छन्। पछिल्लो पटकको छलफलमा माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच सहमतिको सरकार गठन गर्न सात बूंदे सहमति भएको छ।

प्रचण्डलाई प्रधानमन्त्रीका लागि एमाले र फोरमले समर्थन गर्ने सहमति भए पनि देउवालाई समर्थन जनाउंने अहिलेसम्म कांग्रेसवाहेक अरु दल निस्केका छैनन्। स्रोतका अनुसार प्रचण्डलाई सर्वसम्मत हुन नदिन देउवाको उम्मेदवारी परेको बताइन्छ।

Popularity: 9%

3 comments August 14th, 2008

प्रधानमन्त्री बन्नेको दौडधुप, ५ दलले लगे मनोनयन पत्र

एस, काठमाडौं / एचकेनेपाल डट कम -
भोलि हुने प्रधानमन्त्री चुनावका लागि ५ दलले आज संबिधानसभा सचिवालयबाट उम्मेदवार मनोनयन पत्र लगेका छन्।

मनोनयन पत्र लानेहरुमा माओवादी, नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरम र साना १३ दल रहेका छन्। त्यसै गरी उम्मेदवारी नदिने भन्दै आएको एमालेले समेत मनोयन पत्र लगेको जनाएको छ।

माओवादीले प्रधानमन्त्रीको लागि अध्यक्ष प्रचण्डलाई र कांग्रेसले वरिष्ठ उपसभापति रामचन्द्र पौडेललाई उम्मेदवार बनाउंदै छन्। मधेसी जनअधिकार फोरमले विजयकुमार गच्छेदारलाई उम्मेदवार बनाउने सम्भावना रहेको छ। एमाले र साना १३ दलहरुले आफ्नो उम्मेदवारको नाम सार्वजनिक गरेका छैनन्।

प्रधानमन्त्री उम्मेदवारको मनोनयन दर्ता आज साँझ ५ बजेसम्म गरिसक्नु पर्ने संबिधानसभा सचिवालयले जनाएको छ।

Popularity: 9%

Add comment August 14th, 2008

एमाले नेता माधव नेपाल जापानमा (+Photo)

एस, टोक्यो जापान / एचकेनेपाल डट कम-
नेकपा एमालेका पूर्व महासचिव माधव कुमार नेपाल अगस्त १४ तारिख बिहान जापान आइपुग्नु भएको छ। नेकपा एमाले जापान प्रवास कमिटीको अधिवेशनमा प्रमुख अतिथिका रुपमा सहभागी हुन उहाँ जापान आइपुग्नु भएको हो। नेता नेपालका साथमा उहाँकी श्रीमती गायत्री नेपाल पनि हुनुहुन्छ।

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता नेपाललाई जापानमा स्वागत गर्न नेकपा एमाले जापान प्रवास कमिटीका सचिव सूर्य पाठकको नेतृत्वमा शालिकराम भण्डारी नवराज थपलिया लोकनाथ वस्ती स्वतन्त्र पौडेल बसन्त केसी र दिनेश रायमाझी सहितको टोली नारिता अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको थियो। यसैगरी जापानस्थित नेपाली दूतावासका श्रीकृष्ण थापा र हरिबहादुर थापा पनि माधव नेपालको स्वागतका लागि विमानस्थल पुग्नु भएको थियो।

नेकपा एमालेका विदेश विभाग प्रमुख नेपाल आज विमानस्थलबाटै सोझै नागोया जानुभएको छ। नागोयामा पार्टीका कार्यकर्तासँग भेटघाटको कार्यक्रम रहेको बुझिएको छ। उहाँ भोलि नै टोक्यो फर्कनुहुने छ।

नेकपा एमाले जापान प्रवास कमिटीको १६ औं अधिवेशन अगष्ट १६ तारिख शनिवारका दिन टोक्योमा हुन गैरहेको छ। नेता नेपालले अधिवेशनको उद्‌घाटन गर्नुहुने र सोही दिन दिउसो २ बजे मेगुरो कुमिन सेन्टरमा हुने सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। सो कार्यक्रममा सहभागी हुन प्रवास कमिटी जापानले जापानबासी सबै नेपालीहरुमा आमन्त्रण गरेको छ। उक्त अधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन नेपालबाट सभासदहरु प्रदिप ज्ञवाली रविन्द्र अधिकारी र एमाले केन्द्रिय सदस्य रविन्द्र श्रेष्ठ भोलि जापान आइपुग्दै हुनुहुन्छ।


Popularity: 9%

3 comments August 14th, 2008

एकदशकपछि एन्फा कास्कीलाई अञ्चलस्तरीय फुटबलको उपाधि

धन बस्नेत, गोरखा/ एचकेनेपाल डट कम -
एक दशकपछि प्रतियोगितामा आफनै जर्सीमा उपस्थिति जनाएको कास्की जिल्ला फुटबल संघको टोली पोखरा ११ ले सुखद शुरुवात गरेको छ। अलस्टार क्लब आवुँ खैरेनीको आयोजनामा गोरखामा सम्पन्न अञ्चलस्तरीय फुटबल प्रतियोगिताको उपाधि जित्दै कास्की जिल्ला फुटबल संघले आफनो फुटबल छवि प्रष्टाएको हो।

बुधबार सम्पन्न फाइनल प्रतिस्पर्धामा हिमालयन शेर्पा क्लब काठमाडौंलाई अतिरिक्त समयमा विजय गुरुङको गोलमा कास्कीको पोखरा ११ले नगद ५० हजारसहित अञ्चलस्तरीय उपाधि जितेको छ। हिमालयन शेर्पा भने उपविजेता बन्दै २५ हजार रुपियाँ नगदमा चित्त बुझाएको थियो। पोखराले काठमाडौंलाई २-१ ले पराजित गरेको थियो।

झरीले हिलाम्मे बनेको मैदानमा दुवै टोलीले निर्धारित समयमा बराबरी खेल्दा दर्शकले दुवैलाई उत्तिकै हौसला प्रदान गरेका थिए। आ-आफनै समर्थनमा जुटेका आँबु खैरेनीबासी पहिलो पटक आयोजित फुटबलको फाइनलमा पोखरा र काठमाडौंको टोली मैदानमा भिडेपछि झरीको समेत वेवास्ता गरेका थिए। भएकाले छातै ओढेर खेलको मज्जा लिदाँ अरु भने निर्थुक्क भिजेपनि फुटबलप्रतिको मोहलाई त्याग्न भने सकेनन्।

पहिलो पटक आयोजनाले पनि घरेलु दर्शकको उत्साह जनक सहभागिताले आयोजक अलस्टार क्लबलाई आउँदा वर्षहरुमा फुटबललाई निरन्तरता दिन उर्जा थपे। वरिपरि हरियाँ डाडाँले घेरेको तथा मर्स्याङदी नदीको किनारमा रहेको फुटबल मैदानमा बुधबार फाइनलमा भिडेको पोखरा र काठमाडौंको टोलीमा राष्ट्रियस्तरका खेलाडी उपस्थिति थिए।

कास्की जिल्ला फुटबल संघको प्रतिनिधित्व गरेको पोखरा ११ ले उपाधिसहित ५० हजार हत्याउन ९६ औं मिनेटमा पार गरेको थियो। नरेश केसीको पासमा अनिल ओझाले खेलको ४९ औं मिनेटमा पहिलो गोल गर्दै काठमाडौंमाथि दवदवा सृजना गरेपनि ५७ औं मिनेटमा राष्ट्रिय टोलीका रक्षक लोकबन्ध गुरुङले काठमाडौंका लागि गोल गर्दै बराबरीमा ल्याएका थिए। निर्धारित समयमा बराबरी खेलेको पोखराले विजय गुरुङले निर्णायक गोल ठोक्दै बाजी मारेका थिए। तीनपटकसम्म गोल गर्ने अवसरबाट बञ्चित विजयले उत्तम गुरुङको फ्रिकिकमा व्याक हेड गोल गर्दै विजयी दिलाएका थिए। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका लोकबन्धु प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत घोषित भए।

आयोजक अल स्टार क्लब आवुँखैरेनीले दर्शकको उपस्थिति एवं स्थानीय बासिन्दाको सहयोग प्रशंसनिय भएको उल्लेख गर्दै अर्को वर्ष पुरस्कारको राशी समेत दोब्बर बनाउने घोषणा समेत गरेको छ। आयोजक क्लबका अध्यक्ष महेन्द्र श्रेष्ठले आउँदो वर्ष विजेतालाई १ लाख र उपविजेतलाई ५० हजार रुपियाँ प्रदान गर्ने समापन समारोहमा घोषणा गर्नुभयो। प्रतियोगितालाई मनकामना केवुलकारले मुख्य प्रायोजन र माछापुच्छ्रे बैंकले सहप्रायोजन गरेका थिए।


तस्विरः सुदर्शन रन्जित, गोरखा / एचकेनेपाल डट कम।

Popularity: 9%

Add comment August 14th, 2008

कोइरालाले शनिवार बालुवाटार छोड्ने

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नयाँ प्रधानमन्त्रीको लागि भोलि हुने चुनावको पूर्व सन्ध्यामा काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बालुवाटार छोड्ने तयारी गरिरहेका छन्।

कोइरालाका निजी सामानहरु महाराजगञ्जस्थित आफ्ना भतिज तथा संबिधानसभा सदस्य सशांक कोइरालाको घरमा सार्ने कार्य जारी रहेको छ भने कोइरालाले शनिवार बालुवाटार छोड्ने तयारी गरिरहेका छन्।

कोइरालाकै निर्देशनमा शशांकले आफ्नो घरमा दुइवटा कोठा निर्माण गरिसकेको बताईएको छ।

यसअघि स्वास्थ्यका कारण कोइरालाले मन्त्रीपरिषदको बैठकदेखि लिएर उच्च भेटघाट बालुवाटारमै गरिदै आएका थिए।

Popularity: 9%

2 comments August 14th, 2008

सिरहा जेलबाट ५४ कैदी फरार, एकको मृत्यु

एस, सिरहा / एचकेनेपाल डट कम, अगष्ट १३ -
सुरक्षागार्डलाई नियन्त्रणमा लिई सिरहा जिल्ला कारागारबाट बुधबार साँझ ५४ जना कैदीहरु फरार भएका छन्। भाग्ने कैदीहरुमध्ये एक कैदीको सुरक्षागार्डको गोली लागेर मृत्यु भएको छ।

गोली लागेर मृत्यु हुनेमा सर्लाही जिल्लाका सुनेलाल रहेको प्रहरीले बताएको छ।

फरार कैदीहरुमध्ये अधिकांश हत्या, डकैत, अवैध हतियार ओसारपोसार, अपहरणजस्ता अभियोगमा जेल सजाय भोगिरहेका कैदीहरु रहेका छन्। कैदीहरु गन्न सुरक्षागार्डले गेट खोलेको मौका पारेर सुरक्षागार्डहरुलाई नियन्त्रण लिई कैदीहरु फरार भएको प्रहरीले बताएको छ। कैदीहरुलाई रोक्ने प्रयाश असफल भएपछि सुरक्षागार्डले गोली प्रहार गर्दा कैदी सुनेलालको मृत्यु भएको बताएको छ। कारागारमा विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका १ सय ५० जना कैदी रहेका थिए।

यतिको ठूलो संख्यामा कारागारबाट कैदीहरु फरार भएपछि तत्काल घटनाको आवश्यक अनुसन्धान सुरु गर्दै फरार कैदीहरुको खोजी कार्यलाई तीब्र पारेको सिरहा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Popularity: 9%

1 comment August 14th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....