Archive for August 17th, 2008

मन्त्रालय बाँडफाँडको विवाद कायमै

एस, काठमाडौं / एचकेनेपाल डट कम -
माओवादी, एमाले र मधेसी जनअधिकार फोरम तीनदहरुबीच जारी मन्त्रालय बाँडफाँडको विवाद आज पनि कायमै रहेको छ।

मन्त्रालय बाँडफाँडलाई टुङ्गोमा पुर्‍याउन तीन दलबीच छुट्टाछुट्टै बैठक बसेको थियो। पहिलो चरणमा माओवादी र एमालेबीच र दोश्रो चरणमा माओवादी र फोरमबीच बसेको थियो। यद्यपि मन्त्रालय बाँडफाँडमा सहमति बन्न सकेन। बैठकमा फोरमको कारण सहमति बन्न नसकिएको बताइएको छ।

बैठकमा सहभागी नेताहरुले मन्त्रालयको बाँडफाँडको टुङ्गो भोलि बिहानसम्म भैसक्ने बताएका छन्। उनीहरुले भोलि बिहान प्रधानमन्त्रीले शपथ ग्रहण गर्नु अघि नै टुङ्गो लाग्ने बताएका छन्। प्रधानमन्त्रीको शपथ ग्रहणपछि मन्त्रीहरुको शपथ ग्रहण गराईने कार्यक्रम रहेको छ।

Popularity: 10%

3 comments August 17th, 2008

जेलबाट भागेका ३० कैदी मोर्चामा सामेल

एस, काठमाडौं / एचकेनेपाल डट कम -
अगष्ट १३ तारिख सुरक्षाकर्मीहरुलाई नियन्त्रणमा लिई सिरहा जेलबाट भागेका ५४ जना कैदीमध्ये ३० जना जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासमूह) मा प्रवेश गरेको समाचार प्राप्त भएको छ।

सिरहा जेलबाट भाग्ने मुख्य योजनाकार तुफान सिंह विद्रोही रहेको बताउंदै सो जेलबाट फरार भएका ३० जना कैदी मोर्चामा सामेल भएको मोर्चाका केन्द्रीय अध्यक्ष ज्वाला सिंहले बताएका छन्।

उनले जेलबाट फरार भै मोर्चामा प्रवेश गरेका सबैलाई उचित जिम्मेवारीसमेत दिइने ज्वालाले बताएका छन्।

जेलबाट फरारमध्ये पाँच जनालाई प्रहरीले प्रकाउ गरिसकेको छ।

Popularity: 10%

1 comment August 17th, 2008

पिडिएनएफजेद्बारा जापानमा नेता नेपालको स्वागत (+Photo)

एस, टोक्यो जापान / एचकेनेपाल डट कम -
शान्ति तथा लोकतान्त्रिक नेपाली मंच जापान पिडिएनएफजेले नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व महासचिव माधवकुमार नेपालको सम्मानमा अगस्त १५ तारिख स्वागत तथा रात्रिभोजको आयोजना गर्‌यो। सो अवसरमा छोटो मन्तव्य व्यक्त गर्दै नेता नेपालले हामी नेपालीमा जहाँ भए पनि नेपालकै माया हुनुपर्छ र त्यसो भयो भने मात्रै हाम्रो अस्तित्व र विशिष्ट परिस्थितिलाई दर्शाउन सक्छौं भन्नुभयो।

उहाँले नेता बुद्धिजिवी कर्मचारी संसार घुम्छन्‌ हेर्छन् तर के सिकेका छन् भन्ने देख्न नपाइएको बताउँदै कमसेकम नेपाललाई काम लाग्ने उचित कुराहरु कपी मात्रै गरेर भए पनि भित्र्याउने र अनुचित कुराहरु हटाउने काम गर्नुपर्छ भन्नुभयो। नेपालको राजनीतिक र विकासको प्रसंगमा पूर्व उपप्रधानमन्त्रीसमेत रहनु भएका नेता नेपालले भन्नु भयो- “विगतमा राजनीतिक जिम्मेवारी पाएकाहरु सुस्त भएकाले मुलुकमा परिवर्तन हुन सकेन। अहिले राजनीतिक परिवर्तनले गणतन्त्रको स्थापना त भएको छ तर त्यो आर्थिक सामाजिक परिवर्तनको कारक बन्न सक्ने हो कि होइन भन्ने आशंका बाँकी नै छ। तसर्थ अव राजनीतिक वहसभन्दा आर्थिक विषयको बहसमा हामी सबै केन्द्रीत हुनु जरुरी छ। यस निम्ति मुलुकको शान्ति प्रकृया नटुंगिएसम्म थालनी गर्ने पक्षहरु जुनसुकै रुपमा भए नि एकै ठाउमा हुनु राम्रो हुन्थ्यो।”

मंचका सल्लाहकारद्बय महेशकुमार श्रेष्ठ र शालिकराम भण्डारीले नेता नेपाल तथा श्रीमती गायत्री नेपाललाई पुष्प गुच्छा दिएर सुरु भएको स्वागत कार्यक्रममा मंचका अध्यक्ष भूषण घिमिरेले जापानमा नेपालीहरु, उनीहरुका अवस्था र समस्याका बारेमा प्रकाश पार्नु भएको थियो भने मंचका बारेमा कार्यसमिति सदस्य सूर्य पाठकले जानकारी गराउनु भयो। त्यसैगरी विभिन्न विधाका विज्ञहरु डा. सूर्य आचार्य, मंचका उपाध्यक्ष समेत रहनु भएका डा. राम गिरी र डा. बलबहादुर पराजुलीले जापानबाट सिक्नु पर्ने कुराहरुका विषयमा आफ्ना अनुभवहरु सुनाउनु भएको थियो। कार्यक्रम मंचका सचिव भूपालमान श्रेष्ठले संचालन गर्नु भएको थियो।


Popularity: 9%

Add comment August 17th, 2008

एमालेका नेताद्वय गुरुङ र ढकाल कोरियाबाट हङकङतर्फ प्रस्थान

रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्व मन्त्री तथा दक्षिण पूर्वी एशिया इन्चार्ज तुलबहादुर गुरुङ र अनेरास्ववियूका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख सोभियत ढकाल दक्षिण कोरियाको एक साता व्यापी भ्रमण पूरा गरी हिजो बेलुकी ७ वजे हङकङ तर्फ प्रस्थान गर्नुभएको छ।

नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष विक्रम राईले दिनुभएको जानकारी अनुसार नेताद्धय गुरुङ्ग र ढकाल कोरिया भ्रमणको क्रममा विशेष गरी प्रवासी नेपाली संघको गतिविधिमा सहभागी हुनुभएको र कार्यकर्ताहरुसंग भेटघाट गर्ने तथा प्रशिक्षण दिनुका साथै नेपालको राजनीतिक परिस्थिति देशको अवस्था नयाँ नेपाल निर्माणमा एमालेको भूमिका तथा सरकार निर्ममाणमा माओवादीसंग सहकार्य गर्नुको कारण र कार्यकर्ताहरुको विविध जिज्ञासा तथा प्रतिकृयाको विषयमा पनि सम्वोधन गर्नुभएको थियो।

भ्रमणकै क्रममा नेपाली राजदूत कमलप्रसाद कोइराला तथा अन्य संघ सस्थाका पदाधिकारीहरुसंग कोरियामा रहेका नेपालीहरुको अवस्था तथा संघ सस्थाको भूमिकाको वारेमा जानकारी लिनुभएको थियो।

नेताद्वय गुरुङ र ढकाल हिजो नै कोरियाको दोस्रो ठूलो शहर बुसान पुगेर प्रवासी नेपाली संघको नवगठित बुसान शाखाका पदाधिकारीहरुलाई सपथ गराउनुका साथै सम्वोधन गर्नु भएको थियो उक्त अवसरमा प्रवासी संघको गतिविधिको बारेमा अध्यक्ष विक्रम राईले जानकारी दिनुभएको थियो। सो कार्यक्रम बुसान शाखाका अध्यक्ष अशोक भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो।

आगामी मङसिरमा हुन लागेको एमालेको केन्द्रीय महाधिवेशनमा कोरियावाट तीन जनासम्म प्रतिनिधि पठाउन पाउने सम्भावना रहेकोले प्रतिनिधिहरु छनोट गरी नामावली केन्द्रमा पठाइ दिन आग्रह गर्नुभयो। सम्वोधनको क्रममा ढकालले उपस्थित कार्यकर्ताहरु लाई अनेरास्ववियुको गतिविधिमाथि प्रष्ट पार्दै अनेरास्ववियुको केही दिनमै हुनलागेको अधिवेशनको वारेमा जानकारी गराउनुभएको थियो।

Popularity: 9%

Add comment August 17th, 2008

कोरियामा सोन्सिकको साधारण सभा सम्पन्न (+Photo)

रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
कोरियाको राजधानी सउलस्थित सउल विश्व विद्यालयको सभाकक्षमा विभिन्न शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा संस्था सोन्सिकको पाँचौ अधिवेशन शुक्रवार सम्पन्न भएको छ।

दुई दिनसम्म चलेको उक्त साधारण सभाको उद्धघाटन नेपाली राजदूत कमलप्रसाद कोईरालाले गर्नु भएको थियो भने विभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु तथा नेपालीहरुलाई सहयोग गर्दै आउनु भएका छावि चिफकी आमा, सउल ग्लोबल सेन्टरका प्रमुख मिष्टर किम सान न्योङ्ग त्यसैगरी सउल अन्तर्राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष अल्वुर्ट खाङ्ग तथा राजदूतावासका उपप्रमुख यादव खनालको उपस्थिति रहेको थियो भने संघका अध्यक्ष यूवराज पोख्रेलको सभापतित्वमा पहिलो चरणको कार्यक्रम सम्पन्न भएको थियो।

मैनवत्ति बाली उद्धघाटन गरिएको उक्त कार्यक्रमको सुरुमा प्रीति वज्राचार्यले नेपालको राष्ट्रिय गान गाउनु भएको थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले सम्वोद्धन गरेका थिए। सम्वोधनकै क्रममा सउल ग्लोवल सेन्टरका प्रमुख किम सान न्योङ्गले उक्त संस्था विभिन्न देशका विदेशी विद्यार्थीहरुसँग मिलेर काम गर्ने संस्था भएको र नेपाली विद्यार्थीहरुसँग पनि मिलेर काम गर्ने बताउनु भएको थियो भने सउल अन्तराष्ट्रिय विद्यार्थी संघका अध्यक्ष अर्ल्बर्टले पनि विद्यार्थीहरुको भावी योजना तथा दायित्वको वारेमा मन्तव्य व्यक्त गर्दै विद्यार्थी संगठनहरु आपसमा मिलेर जानु पर्छ भन्नु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत कोईरालाले अमेरिकाको टप निउरो सरजन पहिले एक माइग्रेट लेवर भएको वताउदै उहाँले टमाटर बेचेर जम्मा गरेको केही पैसाले शिक्षा हासिल गर्न सुरु गरेको तर पछि उहाँको लगनशील र मेहनतको कारण उहाँले छात्रवृति समेत पाएको र अहिले अमेरिकाको टप निउरो सरजन भएको जानकारी दिंदै, नेपाली विद्यार्थीहरुले पनि अवसरको सदुपयोग गर्नुपर्ने सल्लाह र सुझाव दिनुभयो।

कार्यक्रमको दोश्रो दिन विद्यार्थीहरुको नयाँ कार्यकारिणी समितिको अध्यक्ष पदको लागि चुनाव भएको थियो। चुनाव नतिजा अनुसार संघका साधारण सदस्य टेकबहादुर घिमिरेले प्रतिद्धन्दी केशव नेपाललाई ४० मतको विरुद्ध ४१ मतले पराजित गर्दै अध्यक्ष पदमा विजयी हुनुभएको थियो भने समितिको अन्य पद सहमतिको आधारमा निर्विरोध चयन गरिएको जानकारी नव निर्वाचित अध्यक्ष घिमिरेले टेलिफोनमार्फत जानकारी गराउनुभयो।

कोरियामा अध्ययनको क्रममा आउनु भएका र हाल माइग्रान्टस इन कोरिया डट नेटको नेपाली साइटमा कार्यरत कोरियास्थित नेपालीहरुको माझमा लोकप्रिय महिला पत्रकार माधवी भट्टको अध्यक्ष पदको लागि चर्चा चलेको थियो। नेपाली दूतावासका उपनियोग यादव खनालले विध्यार्थीहरुको साझा संस्थाभित्र राजनीति गर्न खोजेको आरोप लगाउँदै आउनुभएको थियो भने उहाँले प्रतिद्धन्दी केशव नेपाललाई निर्वाचनमा सहयोग गर्नुभएको थियो।

नव निर्वाचित अध्यक्ष घिमिरेका अनुसार राजदुतावास र विध्यार्थी संगठन अलग पाटो भएकोले उक्त संघमा दूतावासको कुनै संग्लगनता नरहेको तथा उप नियोग खनालको कुनै भूमिका नरहेको जानकारी दिनुभयो।

Popularity: 9%

Add comment August 17th, 2008

चन्द्रकलाको कमजोर प्रदर्शन

एस, बेइजिङ / एचकेनेपाल डट कम, अगष्ट १६ -
एथलेटिक्सतर्फ नेपालको एक मात्र महिला खेलाडी चन्द्रकला थापाको घुंडामा चोट र मसल फर्किएको कारण ८७ जना खेलाडीमध्ये समग्रमा उनी ७२ औं स्थानमा रहिन्। शनिवार भएको १ सय मिटर प्रतिस्पर्धामा १३ दशमलव १५ सेकेन्डमा उनले उक्त दूरी पूरा गरेकी थिइन्। (more…)

Popularity: 9%

Add comment August 17th, 2008

गुरुङ चलचित्रकर्मीको रोमाञ्चक फुटबल (+Photo)

धन बस्नेत पोखरा / एचकेनेपाल डट कम, साउन ३२ -
आफनै भेषभुषामा सजिएका गुरुङ नायिकाहरुको मैदान प्रवेशले मैत्रीपूर्ण फुटबलको रौनक बेग्लै बनाईदियो। पोखरा र काठमाडौंका गुरुङ चलचित्रकर्मीबीचको मैत्रीपूर्ण खेलमा मैदान छिरेका नायिकाहरुले फुटबललाई हृयाण्डबलमा परिणत गर्दा रंगशालामा उपस्थित फुटबलप्रेमी सबै दंग बने।

मैदानभित्र विपक्षीलाई रोक्ने पाइने भएपनि पोखरेली गुरुङ नायिकाहरुले भने काठमाडौंका चलचित्रकर्मीलाई हातले समातेरै मैदानमा लडाउँदाको दृष्यले फुटबल नभई चलचित्रको दृष्य हो कि भन्ने भान परेकेा थियो। मैदान बाहिरबाट क्यामराले कैद गर्दा सबै फिल्मी शैलीमा जस्तै फुटबल खेलिएको थियो।

केवल १० मिनेटमात्रै मनोरन्जनात्मक खेलमा दुवै टोलीमा गरी ३१ जना समावेश थिए। पोखरेली टोलीमा मात्रै आठजना महिलाहरु मैदान प्रवेश गर्दा फुटबललाई हृयाण्डबलमा परिणत गर्दै बल समातेर दौडाएका थिए। त्यसो त भांग्रा लगाएका बृद्धले बललाई भांग्राभित्र हालेर दौडदाको क्षण समेत निकै हसिँलो बनेको थियो।

मैदानैभरी गन्युचोली लगाएका नायिका दिप्ती गुरुङले फुटबल मैदानमा काठमाडौंका युवा खेलाडीलाई तानेर लडाउँदा सहकर्मीले बललाई हातले समाएर विपक्षी पोष्टमा दौड्दा मैत्रीपूर्ण खेललाई थप उर्जा थपेको अनुभव खेलाडीले गरे। महिलाहरुले पुरुष खेलाडीको टिर्सट नै तान्दा पुरुषहरुले बल छोड्न बाध्य बनेका थिए। फुटबल मैदानको दृष्यलाई केलाउँदा फिल्मको कुनै टेक दिएको अनुमान दर्शकले गरेका थिए।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले रेफ्री गोपाल थापालाई बल हस्तान्तरण गरी खेलको शुभारम्भ भएको थियो। मध्यान्हको चर्को घाममा उपस्थिति भएका दुवै टोलीले आफना भएका सबै खेलाडीलाई मैदानमा छिराई अवसर सृजना गरेका थिए। पोखरेली खेलाडीहरु भने पाका खेलाडीहरु मैदानमा छिरेका थिए भने काठमाडौंका अधिकांश युवा जस्ता देखिन्थे।

फिल्मबाट दर्शक एवं सर्वसाधारणलाई पूर्ण मनोरन्जन प्रदान गर्न हरदम तयार रहदैं आएका चलचित्रकर्मीले शनिबार पनि दर्शकलाई भने उत्तिकै मनोरन्जन प्रदान गरे। सुटिङको दौरानमा हातमा क्यामरा लिएर कलाकारलाई निर्देशन गर्ने निर्देशक लोकबहादुर गुरुङले भने मैदानमा फुटबल खेल्न खेलाडीलाई निर्देशन दिए। फिल्मी दौरानमा झैं फुटबल मैदानमा बल खोस्न ह्ववारर् एकैचोटी दौडेको दृष्य औधी रमाइलो थियो।

गुरुङ फिल्म एशोसियसनको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको मैत्रीपूर्ण फुटबलमा काठमाडौंका गुरुङ चलचित्रकर्मीले पोखरेली चलचित्रकर्मीलाई पराजित गरे। अधिकांश युवा टोली मैदानमा उतारेको काठमाडौंले पोखरालाई ३-२ गोल अन्तरले पराजित गर्दै मैत्रीपूर्ण फुटबलको ट्रफी जिते।

काठमाडौंले पोखरालाई निर्धारित ४० मिनेटको पहिलो हाफसम्म निकै दवाव दिदैं तीन गोल हिर्काएको थियो। रविन, राजु र तेज गुरुङले गोल गर्दै काठमाडौंलाई जिताए। पोखराका लागि दोस्रो हाफमा विक्रम र गोरे गुरुङले गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाए। गुरुङ चलचित्र कर्मीबीच आपसी भाइचारा र चिनाजान गर्ने उद्देश्यले एशोसियसनले फुटबल प्रतियोगिता आयोजना गरेको थियो।


पोखराबाट धन बस्नेत, तस्बिर: सुदर्शन रञ्जित / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 10%

6 comments August 17th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....