Archive for August 25th, 2008

बामदेवलाई दोश्रो मर्यादाक्रम दिन माओवादी तयार

एस, काठमाडौं / एचकेनेपाल डट कम -
गठबन्धन सरकारमा एमालेको नेतृत्व गर्ने बामदेव गौतमलाई दोश्रो मर्यादाक्रम दिन माओवादी तयार रहेको माओवादी नेता सीपी गजुरेलले बताएका छन्।

नेकपा माओवादीका विदेश विभाग प्रमुख गजुरेलले आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गौतमलाई दोश्रो मर्यादामा राख्न ढिलो गरेर आफ्नो पार्टीले गल्ती गरेको बताए।

यसअघि माओवादीले मर्यादासम्बन्धी सहमति तोडेको भन्दै सरकारमा सामेल हुने भनिएका एमाले मन्त्रीहरुले शपथ ग्रहण कार्यक्रम वहिस्कार गरेका थिए।

एमाले स्थायी समिति सदस्य प्रदीप नेपालले माओवादीको नेतृत्वमा आफ्नो पार्टी सरकारमा सामेल नहुने बताएका छन्। सरकारमा मर्यादाक्रम दोश्रो दिए पनि एमाले सरकारमा कुनै हालतमा सामेल नहुने बताए। माओवादीको ढाडमा टेकेर टाउकोमा हान्ने आचरणमा सुधार नआएको नेता नेपालको आरोप थियो।

Popularity: 8%

8 comments August 25th, 2008

सुत्केरी महिलाको मृत्युपछि अस्पतालमा तोडफोड

एस, काठमाडौं / एचकेनेपाल डट कम -
१३ दिनको सुत्केरी महिलाको अप्रेशनको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले काभ्रेको धुलिखेलस्थित अस्पतालमा आज तोडफोड गरेका छन्।

मृतकका आफन्तले २२ वर्षीया सबिना लामाको अप्रेशन गर्दा चिकित्सकको लापरवाहीको कारण मृत्युभएको भन्दै अस्पतालको मूल गेट भत्काएका छन् भने ढुंगामुढा गर्दा अस्पतालको सिसाका झ्यालहरु फुटेका छन्।

अस्पतालका चिकित्सकले मृतक लामाको अप्रेशनको प्रकृति जटिल र गम्भीर भएकाले उनको मृत्यु भएको बताएका छन्।

मृतक लामाका आफन्तले डाक्टरलाई कारवाही र घटनाको निष्पक्ष छानविनको माग गर्दै सडकमा उत्रेका छन्। सडकमा टायर बालेर प्रदर्शन गरेपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ।

Popularity: 8%

1 comment August 25th, 2008

राष्ट्रपतिद्वारा सप्तकोशी डुबानको निरीक्षण

एस, काठमाडौं / एचकेनेपाल डट कम -
राष्ट्रपति डा. रामवरण यादव सप्तकोशी डुबानग्रस्त क्षेत्रको निरीक्षणका लागि आज त्यसतर्फ जानु भएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट त्यहाँ पुग्नुभएका राष्ट्रपति यादवले सप्तकोशी डुबान क्षेत्रको हवाई तथा स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले सो क्रममा विस्थापित परिवारसंग भेटेर राहत वितरणको अवस्थासमेत जानकारी लिनुभएको थियो। विस्थापित परिवारले राष्ट्रपतिसंग बाँध पुनर्निर्माण भरपर्दो र प्रभावकारी ढंगले हुन पर्ने माग राखेका थिए। उनीहरुले विरामीको संख्या बढ्दै गएको बताउंदै उपचार र राहत वितरण प्रभावकारी हुन नसकेको राष्ट्रपतिसमक्ष गुनासो व्यक्त गरेका छन्।

Popularity: 8%

1 comment August 25th, 2008

बे-एरियामा नेपाली अभिनन्दित

एस, क्यालिफोर्निया / एचकेनेपाल डट कम -
मदरल्याण्ड नेपालले एक समारोहका बीच आइतबार क्यालिफोर्नियाको बे-एरियामा पत्रकार तथा समाजसेवीहरु कपिल काफ्ले, शेखर ढुंगेल, ध्रुव थापा र भ्याइज व्याण्डलाई आ-आफ्नो क्षेत्रमा पुर्याएको योगदानका लागि अभिनन्दन गर्यो।

समाजसेवी गोविन्द शाहीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल समाचारपत्र र राजधानी दैनिकका सम्पादक तथा मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक काफ्लेलाई मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले प्रशंसापत्र तथा “प्रेमको चिनो” प्रदान गर्नुभएको थियो भने गीतकार तथा लेखक ढुंगेल तथा पत्रकार तथा व्यवसायी थापालाई काफ्लेले अभिनन्दन गर्नुभएको थियो। भ्वाइज व्याण्डका प्रतिनिधिलाई भने संगीतप्रेमी शाहीले अभिनन्दनपत्र हस्तान्तरण गर्नुभएको थियो।

पत्रकार रचना सिंहले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रेस स्वतन्त्रता तथा मानवअधिकारका सम्बन्धमा सञ्चारकर्मी काफ्लेले प्रवचन दिनुभएको थियो। कार्यक्रमका अन्य वक्ताहरुमा प्रतीक पाण्डे, गणेश सुवेदी, ललित गुरुङ, वासु ढकाल र शुभलाल श्रेष्ठ हुनुहुन्थ्यो।

अतिथिलाई अध्यक्ष पाण्डे र कोषाध्यक्ष रिना दीक्षितलगायतका पदाधिकारीले स्वागत गर्नुभएको थियो। कार्यक्रममा उपस्थित व्यक्तिहरुले ३ सय ७१ डलर चन्दा उठाई नेपलिज एसोसिएसन अफ नर्दन क्यालिफोर्निया न्यान्सीका कोषाध्यक्ष मणि नेपाललाई हस्तान्तरण गरिएको थियो। सो रकम कोशी नदीमा हालै आएको बाढीबाट पीडित भएका व्यक्तिलाई राहत दिनका लागि नेपाल पठाइनेछ। त्यस रकममा न्यान्सीले २ हजार १ डलर थप्नुका साथै अन्य रकमसमेत उठाई कान्तिपुर दैनिकमार्फत पीडितसम्म पुर्याउने छ।

Popularity: 8%

Add comment August 25th, 2008

बेलायतमा उत्तरआधुनिकवाद अन्तर्क्रिया (+Photo)

सुहिम याक्थुङ, केन्ट / एचकेनेपाल डट कम -
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायत च्याप्टरको आयोजनामा मेरीटाइम ग्रीनवीच कलेज लण्डनमा प्रा. डा. गोविन्दराज भट्टराइको उपस्थितिमा शुक्रबार उत्तरआधुनिकवाद र सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

नेपाली साहित्यमा झण्डै २ दशकअघि सुरु भएको उत्तरआधुनिक साहित्यले आफ्नो मौलिकपनलाई बचाउदै परिवर्तित समय सापेक्ष विकास र असरलाई स्वीकार गर्नुपर्दछ भन्ने मान्यता राख्दछ। अग्रेजी शब्द पोष्ट मोर्डन शब्दको नेपाली रुपान्तर नै उत्तरआधुनिक भएको हो। आजको आधुनिकभन्दा पनि भोलिको आधुनिकलाई इंगित गर्दै स्वीकार गर्नु उत्तरआधुनिक हो। यसभित्र बहूलता हुन्छ र नयाँनयाँ प्रकृतिका साहित्यलाई समेत यसले मान्यता प्रदान गर्दछ। वास्तवमै उत्तरआधुनिक साहित्य भनेको ब्यापकता, विविधता हो। अब साहित्यलाई हेर्ने नयाँ दृष्टिकोणको आवश्यकता महशुस गर्नु हो।

उत्तरआधुनिक साहित्यले डायस्पोरा, साइवर जगत, युद्ध र द्वन्द, जनजाति, नारी, बाल जगत, प्रकृति तथा सिमान्तकृत बर्ग समूह र ब्यक्ति जस्ता विभिन्न विषय र क्षेत्रलाई समेट्नु पर्दछ। साहित्यमा नयाँ केन्द्रहरुको उदय भइरहेको छ। यो विश्व साहित्यको वर्तमान प्रवृतिले र ग्लोबल परिस्थितिले ल्याएको तीब्र परिवर्तनको परिणाम हो। यसले हरेक विचारको सिद्धान्तको लेखन शैलि र विषयबस्तुको विकल्प खोज्दछ। त्यसैले गर्दा नेपाली साहित्यमा पनि अनेक प्रकारका प्रयोग, आन्दोलन र नविनताहरु थपिदैछन्। राष्ट्रिय साहित्यले यी सबै कुराको मूल्याङ्कन र अभिलेखन गर्नु पर्दछ भन्ने उत्तरआधुनिकवादले मान्यता राख्दछ।

उत्तरआधुनिकबादको विषयमा साहित्यकार जगत नवोदित र गोपि प्रसाईले आ-आफ्नो धारणाहरु प्रस्तुत गरेपछि उत्तरआधुनिकबादका अगुवा आमन्त्रित प्रा. डा. भट्टराईले विस्तारमा आफ्नो विचार राख्दै प्रष्ट पार्नुभएको थियो। प्रश्नउत्तरको कार्यक्रममा धेरै स्रष्टासर्जकहरुको सहभागिता रहेको थियो। उत्तरआधुनिक ऐना पुस्तकमा प्रा. डा. भट्टराईले नयाँ दृष्टिकोणले नेपाली साहित्यको ब्याख्या र विश्लेषण गरेका छन्। उक्त पुस्तकलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले उत्कृष्ट कृति पुरस्कार २००६ को रुपमा पुरस्कृत गरेको थियो भने हालै उहाँको नेपाली समालोचनाको क्षेत्रमा सबैभन्दा ठूलो ग्रन्थ ७०५ पृष्ठको उत्तरआधुनिक विमर्श हालै प्रकाशित भएको छ।

कार्यक्रमको शुरुमा अनेसास वेलायतका अध्यक्ष हरि शिवाकोटि र नेपाली दूतावासका प्रतिनिधि श्रीमती निला अधिकारीले आमन्त्रित प्रमुख अतिथि प्रा. डा. भट्टराईलाई खादा ओढाउनुको साथै सम्मान पत्र प्रदान गर्नुभएको थियो। वेलायतमा रहेका लेखक तथा साहित्यकारहरुको उत्साहजनक उपस्थिति रहेको सो कार्यक्रममा वयोबृद्ध साहित्यकार धनाहाँङ सुब्बा, मंजु विमली, मिजास तेम्बेलगायतले आ-आफ्नो सिर्जना बाचन गरेका थिए। कार्यक्रमलाई महासचिव विश्वास दीप तिगेलाले संचालन गरेका थिए।

Popularity: 8%

Add comment August 25th, 2008

नीदर्ल्यान्डसमा राष्‍ट्रिय एकता समिति नेपाल गठन

दिनेश खरेल, आम्सड्रम, नीदर्ल्यान्डस / एचकेनेपाल डट कम -
यूरोपको सुन्दर देश नीदर्ल्यान्डसमा बसोबास गर्ने नेपालीहरु एक जुट हुने क्रममा राष्‍ट्रिय एकता सामिति नेपाल गठन भएको छ।

मातृभूमि नेपालको माया गर्दै विदेशमा सम्पूर्ण नेपाली एक हौं भने नाराका साथ स्थापना गरिएको समितिमा कुनै जातिय, क्षेत्रीय, बर्गीय नछुटाई हामी मात्र नेपाली हौं भन्ने लक्ष्यका साथ अगाडि बढ्ने उद्धेश्यले समिति गठन भएको सचिब पीताम्बर शर्मा तिमिल्सेनाले बताउनु भएको छ।

नवगठित तदर्थ समितिमा बाबुराम पौडेलको संयोजकमा निन्न सदस्यहरु चयन भएका छन्
संयोजक - बाबुराम पौडेल
सहसंयोजोक - बूढीसागर आचार्य
सचिब - पीताम्बर शर्मा तिमिल्सेना
सहासचिब -सुंदर श्रेष्ठ
कोषाध्य्क्ष - रामप्रसाद अधिकारी
सदस्यहरुमा
दीपक रेग्मी
ताराबहादुर जी.टी
कर्णबहादुर रोक्का
सेनेशा के.सी.

समितिको बैठकले राष्‍ट्रिय एकता सामिति नेपाल २०६५ पारित गर्नुका साथै देन डेगमा आफनो कार्य बिस्तारको लागि समिति गठन गर्न यही २६ तारिख मिति तोकिएको छ।

समितिको बैठकले पूर्बी नेपालको सुनसरीमा कोशी कटानबाट थुप्रै जनधनको नोक्सानी भएकोमा दुख व्यक्त गर्दै राहत संकलन गरी सहयोग पुर्याउने बताएको छ।

Popularity: 8%

Add comment August 25th, 2008

बेल्जियममा कविताको एक साँझ सम्पन्न

एस, ब्रसेल्स / एचकेनेपाल डट कम अगष्ट २५ -
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको आयोजनामा बेल्जियमको शैक्षिक तथा प्राज्ञिक शहर ल्यूभेनमा २४ अगष्टका दिन कविताको एक साँझ कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा बेल्जियममा रहेका प्रतिनिधि कविहरुले आ-आफ्ना प्रतिनिधि कविता वाचन गरेका थिए।

बेल्जियममा पहिलो पटक आयोजना गरिएको यस प्रकारको कार्यक्रममा साँझको समयलाई कविहरुले कवितामय बनाई दिएका थिए। कार्यक्रममा कविता वाचन गर्ने कविहरुमा कृष्ण बजगाईं, बिमल गिरी, रमेश कँडेल, कुम शाही थिए। त्यस्तै कार्यक्रममा सांग्रिला समाजका अध्यक्ष तथा कवि दीपेन्द्र के.सी. तथा इन्द्रधनुष क्लवका अध्यक्ष मीन गुरुङले आ-आफ्ना समसामयिक कविता तथा गीत प्रस्तुत गरेका थिए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बेल्जियम च्याप्टरका अध्यक्ष तथा केन्द्रीय महासचिव कृष्ण बजगाईंले सभापतिको आसनबाट बोल्दै आगामी दिनमा पनि यस्ता विविध साहित्यिक कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा बताउनु भयो। कार्यक्रम कुम शाहीले संचालन गर्नु भएको थियो।

Popularity: 8%

Add comment August 25th, 2008

पत्रकारमाथि भएको हातपातको खोटाङ्ग युवा जागृतिद्धारा भत्सर्ना

राई रमेश गाउंले, कतार / एचकेनेपाल डट कम -
खोटाङ्ग युवा जागृति सेवा समाज कतारको पाँचौ साधारण सभा पश्चात राम गुरुङको अध्यक्षतामा गत शुक्रवार सम्पन्न भएको वैठकले कान्तिपुर प्रवास साप्ताहिकका व्युरो संवाददाता श्याम सुन्दर शशिमाथि नेपाल जनप्रगतिशिल मञ्च कतारका कार्यकर्ताले गरेको हातपातको भत्सर्ना गर्दै विविध निर्णयहरु गरेको छ।

संस्थाका सचिव हरिकुमार वस्नेतका अनुसार उक्त वैठकले संस्थाको काम कारवाहीलाई अग्रगति दिनको लागि विधानको परिच्छेद ९ को दफा ३२ वमोजिम राई रमेश गाउंलेको अध्यक्षतामा नौ सदस्यीय सल्लाहकार समिति गठन गरीएको छ। जस्मा सदस्यहरुमा ईन्द्र राई, दुर्वासा गेलाल, अर्जुन वस्नेत, लक्ष्मी ढकाल, दिनेश थापा, केदार वानिया, टंक पराजुली, जनक राई रहनुभएको छ।

समाजले गणतन्त्र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई वधाई ज्ञापनका साथै उहाँको कार्यकाल पूर्ण सफलताको कामना गरेको छ।

Popularity: 8%

Add comment August 25th, 2008

कतारका जनजातिहरुसंग सीपी गजुरेलको भेटघाट

राई रमेश गाउंले, कतार / एचकेनेपाल डट कम -
माओवादीको भातृ संगठन जनप्रगतिशिल मञ्च कतारको प्रथम वार्षिक उत्सवको अवसरमा कतार आउनुभएका माओवादीका विदेश विभाग प्रमुख तथा सभासद सीपी गजुरेल गौरवलाई नेपाल आदिवासी जनजाति महासंघले भेटघाट गरेको छ।

महासंघका अध्यक्ष अमृत गुरुङको नेत्तृत्वमा ई.नारायण चौधरी, ई.विद्यानन्द चौधरी, चन्द्रशेर राई, देव राना मगर, शुकबहादुर तामाङ, सुमन राई, मौलधन राई, कृष्ण राई, राई रमेश गाउंले उक्त टोलीमा सम्मिलित रहेका थिए। नेपाली राजदूतको निवासमा २३ अगष्टमा भएको भेटघाटमा कतारमा स्थापना भएको महासंघले नेपालको महासंघसंग समन्वय पाईसकेको र महासंघको अवधारण अनुसार काम गर्दै कतारमा भएका संघसंस्थासाग सहकार्य गर्दै समाजिक कार्य पनि गर्दैरहेको जानकारी गराइएको थियो।

सो अवसरमा महासंघ र पार्टीहरुबीच भएको पटक पटकको संझौतापूर्ण रुपमा कार्यन्वयन हुन नसकेको प्रति सभासदको ध्यान आकर्षण गराउंदै सरकारको नेतृत्व माओवादीले गरेको हुनाले यस पक्षमा गम्भीर हुन अनुरोध गरिएको थियो। भेटघाटको क्रममा सभासदले माओवादीले उठाएको मुद्दाले गर्दा नै आज ६०१ जना सभासदमा २०० को हाराहारीमा महिला २४ जना थारुलगायत सवै जातजातीको समान प्रतिनिधित्व हुन सकेको जिकिर गर्नुभयो। तर पनि सरकार यतिवेला जे वनिरहेको छ त्यो संविधान वनाउने सरकार भएकोले नेपाली कांग्रेस सरकार बाहिर बसेको हुनाले अलिकति असजिलो महशुस भएको खुलासा गर्दै सरकारको यात्रा सहज हुने हो कि नहुने भन्ने शंका व्यक्त गर्नुभयो। यसको मूख्य कारण चाहि दुई तिहाई मत ल्याएर विजय भएको प्रधानमन्त्रीले एक्लैले शफथ खानु पनि आगामी दिनको संकेत हुने कुरा स्वीकार गर्नुभयो। भेटघाट कै क्रममा अन्तर्राष्ट्रिय स्तरमा हस्ताक्षर भई सकेको आई.एल.ओको सन्धि लागु हुने कि नहुने भन्ने महासंघको जिज्ञासमा तत्काल सवै हुन नसक्ने तर आगामी दिनमा क्रमशः गर्दै लगिने बताएको छ।

Popularity: 8%

Add comment August 25th, 2008

म्याराथन धावक अर्जुन ४५ औं स्थानमा

एस, बेइजिङ / एचकेनेपाल डट कम -
बेइजिङ ओलम्पिकको अन्तिम दिन आइतवार सम्पन्न म्याराथनमा नेपाली धावक अर्जुन बस्नेत ७६ खेलाडीमा ४५ औं स्थानमा रहे। बस्नेतले निर्धारित ४२.१५ किमीको दूरी २ घण्टा २३ मिनेट ९ सेकेन्डमा पूरा गरेपनि आफ्नो पुरानो प्रदर्शनमा सुधार गर्न सकेनन्। उनको पुरानो रेकर्ड २ घण्टा २१ मिनेट रहेको थियो भने बैकुण्ठ मानन्धरले सो दूरी २ घण्टा १५ मिनेट ३ सेकेन्डमा पूरा गरेर नेपालको राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। (more…)

Popularity: 8%

Add comment August 25th, 2008

स्विट्जरल्यान्डबाट बाढीपीडितलाई राहत उपलब्ध

एस, बर्न स्विट्जरल्यान्ड / एचकेनेपाल डट कम -
भारतीय शासक बर्गको हेपाहा प्रवृति र बिगतको नेपाल सरकारको अदूरदर्शिताको कारण कोशी बांध फुटेर पचास हजारभन्दा बढी नेपालीहरु बिस्थापित हुन पुगेका छन्।

पीडितहरुको सहयोगको लागि स्विट्जरल्यान्डमा बसोबास गरिरहेका नेपालीहरुको हक हितको निम्ति काम गर्दै आइरहेको संगठन अन्तर्राष्ट्रियताबादी नेपाली ऐक्यवद्धता मंच (इन्सोफ स्विस) स्विट्जरल्यान्डले आपतकालिन राहत स्वरूप संगठनको तर्फबाट ४४ हजार रुपैयाँ नेकपा माओवादीद्वारा स्थापित बाढी पीडित राहत सहयोग कोषमा जम्मा हुने गरी पठाइएको छ।

अन्तर्राष्ट्रियताबादी नेपाली ऐक्यवद्धता मंच (इन्सोफ स्विस) स्विट्जरल्यान्डले यस दु:खद घडीमा पीडित परिवारजनप्रति गहिरो दु:ख ब्यक्त गरेको छ।

Popularity: 8%

1 comment August 25th, 2008

युएईका बामपम्थी संगठनहरु एकीकृत

बालचन्द्र पोख्रेल, युएई / एचकेनेपाल डट कम-
संयुक्त अरब इमिरेटस अर्न्तगत नेकपा माओवादीसँग आबद्ध बामपंथी तथा क्रान्तिकारी संगठनहरुबीच एक अर्न्तक्रिया कार्यक्रम गरी ५ वटा संगठन एकै ठाउँमा एकीकृत भएको छ।

दुवईको अलकोजमा नेपाली जनप्रगतिशिल मञ्च युएइका अध्यक्ष दुर्गादत्त पोख्रेलको पहलमा अगष्ट २१ तारिखका दिन एक भेला गरी युएइमा क्रियाशिल बामपंथी तथा क्रान्तिकारी संगठनहरुबीच बृहत छलफल र अन्तर्क्रिया गरी युएइमा एकीकृत र सुदृढ संगठन निर्माण नै आजको मूख्य आवश्यकता हो भन्ने ठहर गरी सम्पूर्ण बामपंथी, क्रान्तिकारी देशभक्त र प्रगतिशिल बिचार भएका साथीहरुको साझा संगठनको रुपमा नेपाली जनप्रगतिशिल मञ्चलाई नै स्वीकार गरिएको छ।

२००७ अगष्ट ३ तारिखमा स्थापित नेपाली जनप्रगतिशिल मञ्च नै युएइमा पहिलो क्रान्तिकारी संगठन हो। २१ अगष्ट २००८ देखि लागु हुने गरी नेपाली जनअधिकार सुरक्षा परिषद युएइका संयोजक दिपक बोहोरा, नव ज्योति यूवा क्लवका अध्यक्ष केशरमान बि.क. आबद्ध भएको संगठनलाई बिघटन गरी नेपाली जनप्रगतिशिल मञ्च युएइमा एकृकीत गरीएको छ। त्यसै गरी, नेपाली जनसमपर्क समितिका संयोजक बसन्त पोख्रेल तथा उपाध्यक्ष मधुकर बेलबासे र अन्य साथीहरु तथा नेपाली एकता मञ्चका संयोजक सुरज आचार्यसँग २१ अगष्टमा अलकोजमा र २२ अगष्टमा बरदुइको नेपाली रेष्टुरेष्टमा भएको बृहत छलफलबाट यस संगठनलाई पनि बिघटन गरी नेपाली जनप्रगतिशिल मञ्च युएइमा नै एकृकीत सैद्घान्तिक सहमति भैसकेको छ।

Popularity: 8%

Add comment August 25th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....