Archive for August 26th, 2008

अश्लिल एसएमएस पठाउने युवक प्रहरी खोरमा

एस, नेपालगंज / एचकेनेपाल डट कम -
मोबाइल फोनबाट युवतीहरुलाई अश्लिल एसएमएस पठाउने टिकापुरका एक युवकलाई प्रहरीले हिरासतमा लिई कारवाही सुरु गरेको छ।

मोबाइल नं. ९८४८४३२०१ बाट अश्लिल एसएमएस पठाई युवतीहरुलाई दुःख दिदै आएका टिकापुर - ९ का ३५ वर्षीय विष्णु तिवारीलाई तेजविक्रम चन्दको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो। तिवारीले बाँके कोहलपुरकी अजिता चन्दलगायत युवतीहरुलाई अश्लिल एसएमएस पठाएर दुःख दिंदै आएको चन्दको उजुरीमा उल्लेख छ।

प्रहरी हिरासतमा रहेका तिवारी विरामी परेपछि टिकापुर अस्पतालमा उनको उपचार भै रहेको छ।

Popularity: 8%

5 comments August 26th, 2008

घर भत्किदा ३ को मृत्यु

एस, पोखरा / एचकेनेपाल डट कम -
सोमबार साँझ परेको भारी वर्षाका कारण कास्कीको काहुँ गाविस- ३ को एउटा घर भत्किदा एकै परिवारको ३ सदस्यको मृत्यु भएको छ।

काहुँ गाविस - ३ को हरिप्रसाद लामिछानेको घर गए राति भत्किंदा उनका २९ वर्षीया श्रीमति जुना लामिछाने, ८ वर्षीया छोरी अन्सु लामिछाने र २ वर्षीय छोरा अनिष लामिछानेको च्यापिएर मृत्यु भएको प्रहरीले बताएको छ। घर पछाडिको ढिस्को खस्दा घर भत्किएको थियो।

स्थानीय गाउंले र प्रहरीको सहयोगमा आज बिहानमात्र पुरिएका शवहरु निकालेका थिए।

Popularity: 8%

Add comment August 26th, 2008

एनआरएन चीनद्वारा प्रधानमन्त्रीलाई सहयोग हस्तान्तरण (+Photo)

एस, बेइजिङ/ एचकेनेपाल डट कम -
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनले हाल चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)मार्फत बाढी पहिरो पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

बेइजिङस्थित नेपाली दूतावासको कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनका सल्लाहकार कृष्ण सिलवालले करीव ३ लाख ५० हजार रुपैयाँ राहतस्वरुप प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको हो।

कोशी नदीको तटबन्ध फुटेर विस्थापित भएका परिवारलाई राहत उपलव्ध गराउने उद्धेश्यले सो रकम हस्तान्तरण गरिएको एनआरएन चीनका अध्यक्ष सुधिर तिमिल्सिनाले बताउनु भएको छ।

एनआरएन चीनको पहलमा ग्वाङ्झौ र इउ शहरमा बसोबास गर्ने नेपाली तथा व्यापारीहरुबाट संकलन गरेर उक्त रकम उपलव्ध गराईएको हो।

Popularity: 8%

6 comments August 26th, 2008

बस दुर्घटनामा ३ को मृत्यु २ दर्जन घाइते

एस, तनहूं / एचकेनेपाल डट कम -
पृथ्वी राजमार्ग अन्तर्गत तनहूंको खैरानीटारमा आज बिहान भएको यात्रुबस दुर्घटनामा कम्तीमा ३ जनाको ज्यान गएको छ भने २ दर्जनभन्दा बढी घाइते भएका छन्।

२ जनाको घटनास्थलमा र एक जना उपचारको क्रममा पोखरामा मृत्यु भएको प्रहरीले बताएको छ। मृतकहरुको सनाखत हुन सकेको छैन।

दाङबाट काठमाडौं जाँदै गरेको ना ३ ख २४९१ नं.को यात्रुवाहक बस खैरानीटारको कुम्ले खोलाको पुलबाट ५० मिटर तल खसेको थियो। घटनापछि बस चालक फरार रहेका छन्।

Popularity: 8%

Add comment August 26th, 2008

श्रीमानले हेला गरेपछि जीवनभर नबोल्ने ब्रत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
ब्रत बसी श्रीमानको लामो आयु र घर परिवार राम्रो होस् भनी महिलाहरु व्रत बसिरहेको बेला श्रीमानको हेला गरेपछि जिल्लाकी एक महिला जीवनभर मौन ब्रत बसेकी छिन्।

सदरमुकामदेखि पश्चिम बुर्तिबाङ्ग ५ की ४३ वर्षीया अरुणा शेरचनले अब कहिल्यै पनि कसैसँग नबोल्ने भन्दै यस्तो ब्रत शुरु गरेकी हुन् ।

दिनहुँ हेला गरिरहने श्रीमान्ले पछि अर्कै श्रीमती बिहे गरेपछि आजीवन मौन ब्रत बसेकी शेरचनले पत्रकारहरुसमक्ष कलमले लेखेर आफ्नो पीडा पोखिन् - ‘आफ्नो भन्नेले नै हेला गरेपछि केका लागि बोल्ने भन्दै ब्रत बसेकी हुँ।’ सामान्य साक्षर शेरचनले हरेक ब्यक्तिलाई कलमले लेखेर बताउँने गर्छिन्।

शेरचनले नौ महिना अघिदेखि यस्तो ब्रत सुरु गरेकी हुन्। श्रीमान् रामप्रसाद मादक पदार्थ सेवन गरी घरमा आई छोराछोरीलाई कुटपिट गर्ने, घरका सामान फाल्ने र दैनिकजसो कुटपिट गर्ने गरेपछि आफू दुखिया भएको महसुस गरी यस्तो ब्रत सुरु गरेको उनले बताईंन। ‘जे गरें ठीकै गरें भन्ने लागेकोे छ’ शेरचनले लेखेरै भनिन्-अब कहिल्यै बोल्दिन।

शेरचन दम्पति केही वर्षयता पर्बत सदरमुकाम कुश्माबजारमा दैनिक ज्याला मजदुरी गर्दै आएका थिए। यसैक्रममा उनीहरुबीच झगडा चलेको र झगडा भएपछि अर्की श्रीमती विहे गरेको छिमेकीहरु बताउँछन्।

श्रीमान् अर्की श्रीमतीका साथ कुश्मामा नै छन् भने अरुणा आफ्नो भाई बिमलको कोठामा बस्दै आएकी छन्।

उनका श्रीमान्कासाथ दुई छोरी र एक छोरा छन्। ठूलो छोरी मामाकहाँ बस्छिन भने अरु बिद्यालय जान्छन। आफू कहिले कोठामा बस्ने, कहिले मठमन्दिर जाने र धर्मकर्म गरेर दिन बिताउने गरेको अरुणाले बताईन्।

गुप्तेश्वर गुफामा रहेका बालक गिरी सन्यासीले मानिस कसैकसैले स्वइच्छाले यस्तो निर्णय गर्ने बताए। कसैले भगवानलाई हात चढाउने (हात ठाडो पारी रहने), कोही नबोल्नेलगायतका काम गर्ने गरेको आफूले भेटेको बताए।

Popularity: 8%

2 comments August 26th, 2008

उपनिर्वाचन विद्युतीय मतदान प्रणालीको आधारमा गरिने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा सदस्य रिक्त रहेको कास्कीको निर्वाचन क्षेत्र नं. एकलगायतका मुलुकका ६ वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचन विद्युतीय मतदान प्रणालीको आधारमा हुने भएको छ।

निर्वाचन आयोगले यसअघि काठमाडौँको निर्वाचन क्षेत्र नं. एकमा गरिएको परीक्षण सफल देखिएपछि थप प्रयोगका लागि अब हुने उपनिर्वाचनमा सो प्रणालीबाट गर्न लागिएको निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बताउनुभयो।

संविधानसभा निर्वाचन व्यवस्था समीक्षा तथा भावी रणनीतिसम्बन्धी निर्वाचन आयोगले आयोजना गरेको दुई दिने निर्वाचनसम्बन्धी गोष्ठीमा आयुक्त उप्रेतीले आगामी दिनमा देशभरिका सबै निर्वाचन क्षेत्रमा सो पद्दति लागु गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो।

Popularity: 8%

Add comment August 26th, 2008

अब ग्यास बिक्रेताहरुको आन्दोलन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
ग्यासको आपूर्ति व्यवस्था सहज बनाउनका लागि सरकारसँग बारम्बार पहल गर्दा पनि बेवास्ता गरिएको भन्दै ग्यास बिक्रेता सङ्घले आजदेखि आन्दोलन गर्ने भएको छ।

सङ्घद्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा महासचिव ज्ञानेश्वर अर्यालले सङ्घले आज गर्ने आन्दोलनका क्रममा नेपालका सम्पूर्ण ग्यास उद्योगमा तालाबन्दी गर्ने भएको जानकारी दिनुभयो।

नेपालमा अहिले २२ ग्यास उद्योग छन्। ती उद्योग विराटनगर, वीरगन्ज, चितवन, नवलपरासी, पोखरा, धादिङ, काठमाडौँ र बनेपामा छन्।

सङ्घले आफ्नो मागप्रति सरकारले वेवास्ता गर्दै जाने हो भने अन्य सशक्त ढङ्गका कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ।

Popularity: 8%

Add comment August 26th, 2008

मानव हो कि पशु ?

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अढाइ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उदयपुरमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। त्रियुगा नगरपालिका वार्ड नम्बर-९ दमौटीका ४५ वर्षीय भोटे बुर्जामगरलाई छिमेकी बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक राजेश थापाले बताउनुभयो।

छिमेकी भएकाले बालिकाले बलात्कारीलाई अङ्कल भनी बोलाउने र कहिलेकाहीँ खेलाउने गरेकामा निजले हिजो मध्याहन १२ बजे एकान्तमा लगी बलात्कार गरी फर्काएर ल्याउँदा बालिकाको गुप्ताङ्गबाट रगत बगेको र बालिकालाई सोद्धा बुर्जामगरले त्यस्तो गरेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

बुर्जामगरमाथि कानुनी कारवाहीका लागि अनुसन्धान भइरहेको छ भने बालिकाको उदयपुर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणको परिणाम आउन बाँकी रहेको निरीक्षक थापाले बताउनुभयो।

Popularity: 8%

2 comments August 26th, 2008

माओवादीको सरकार नचले कसैको चल्दैनः भट्टराई

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अर्थमन्त्री डा. बाबुराम भट्टराईले माओवादी नेतृत्वको सरकार चल्न नसके अन्य कसैको पनि सरकार चल्न नसक्ने दावी गर्नुभएको छ।

मन्त्री डा. भट्टराईले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासङ्घद्वारा आयोजित विचार गोष्ठीको उद्घाटन गर्दै नयाँ नेपाल निर्माणको बाटोमा आइपर्ने बाधा र अवरोध पन्छाएर आफ्नो पार्टी अगाडि जाने बताउँदै वर्तमान सरकारलाई सय दिन पनि चल्न नदिनेहरु अन्ततः आफै बढारिने चेतावनी दिनुभयो।

डा. भट्टराईले माओवादीको नेतृत्वमा बनेको सरकारले निजी पूँजी राष्ट्रियकरण नगर्ने विश्वास दिलाउनुभयो।

उहाँले सरकार बजेट ल्याउने कार्यमा दिनरात लागिपरेको जानकारी पनि दिनुभयो।

Popularity: 8%

1 comment August 26th, 2008

मलेसियाका छाता संगठन र एनआरएन एक हुने

देवेन्द्र सुर्केली, क्वालालम्पूर / एचकेनेपाल डट कम -
नेपाली दूतावासको पहलमा मलेसियामा रहेका सम्पूर्ण संघसंस्थाहरुलाई गोलवद्ध गराउने उद्धेश्यले गठित प्रवासी नेपाली महासंघ (छाता संगठन)ले यहाँस्थित विभिन्न संघसंस्था तथा वृद्धिजीविहरुसँग एक वृहत छलफल गरी महासंघ र एनआरएनलाई एकीकृत गर्ने भएको छ।

तत्कालिन अवस्थामा एनआरएन मलेसिया निश्क्रिय रहंदा प्रवासी नेपाली महासंघको स्थापना भएको थियो। तर, हाल एनआरएन पनि सक्रिय भएर आएकोले एनआरएनलाई छाता संस्थाको रुपमा अगाडि बढाउने निर्णय गरिएको हो।

मलेसियामा रहेका २० भन्दा बढी संघ संस्थाहरु प्रवासी नेपाली महासंघमा आवद्ध रहेका छन् भने भेलामा उत्तिकै संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Popularity: 8%

Add comment August 26th, 2008

सरकार ढाल्ने षडयन्त्र सुरु भयोः अर्थमन्त्री डा. भट्टराई

एस, काठमाडौं / एचकेनेपाल डट कम-
अर्थमन्त्री डा. बाबुराम भट्टराईले माओवादी नेतृत्वको सरकार ढाल्ने षडयन्त्र सुरु भएको अभिव्यक्ति दिएका छन्। हस्तकला उद्योग संघद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. भट्टराईले माओवादीको नेतृत्वको सराकार ढाल्ने षडयन्त्र सुरु भएको अशंका व्यक्त गरेका हुन्।

माओवादी नेतृत्वको सरकारलाई १ सय दिन पनि चल्न नदिने षडयन्त्र भै रहेको छ अर्थमन्त्री डा. भट्टराईले भने। भट्टराईले माओवादी नेतृत्वको सरकार टिक्न नदिए अरु कसैको सरकार पनि टिक्न नसक्ने चेतावनी दिए। जसले जति षडयन्त्र गरे पनि जनताको बलमा माओवादी सरकार टिकाएर छोड्ने अर्थमन्त्री डा. भट्टराईको दाबी थियो।

सोही कार्यक्रममा डा. भट्टराईले जनतालाई राहत मिल्ने कार्यक्रमसहित सरकारको नयाँ बजेट भदौ महिनाभित्र सार्वजनिक गरिने बताए।

Popularity: 8%

3 comments August 26th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....