Archive for August 27th, 2008

चौथो त्रिमूर्ति दिवस

एस, काठमाडौं / एचकेनेपाल डट कम-
संस्कृतिविद श्री सत्यमोहन जोशीले त्रिमूर्ति दिवसका उपलक्ष्यमा भदौ ११ गते एक समारोहबीच कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदका सालिकमा माल्यार्पण गर्नुभयो।

समारोहमा जोशीले यस वर्षको लेखनाथ काव्य सम्मान प्रा.दैवज्ञराज न्यौपानेलाई, बालकृष्ण सम सम्मान प्रथम नारी नाटककार श्रीमती सावित्री पोखरेललाई र देवकोटा काव्य सम्मान उपेन्द्र श्रेष्ठलाई प्रदान गर्नुभयो। संस्कृतिविद् जोशीले सोही समारोहमा प्रथम नारी नाटककार श्रीमती सावित्री पोखरेललाईद्वारा लिखित कवितासङ्ग्रह ‘कुमारीगाथा’को लोकार्पण गर्नुभयो।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा लेखनाथ पौड्याल काव्य सभाका अध्यक्ष खनुप्रुदे ‘रामबाबू’, त्रिनारी रत्न सालिक निर्माण समितिका अध्यक्ष मोदनाथ प्रश्रित, लक्ष्मीप्रसाद देवकोटा शताव्दी महोत्सवका उपाध्यक्ष सुश्री भद्रकुमारी घले, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका अध्यक्ष प्रा. ठाकुर पराजुली र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले पनि नेपाली आधुनिक साहित्यका त्रिमूर्तिबारे मन्तव्य प्रकट गर्नुभयो।

Popularity: 8%

Add comment August 27th, 2008

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता (News update)

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र चीनको चार दिवसीय औपचारिक भ्रमण पुरा गरी आज स्वदेश फर्केका छन्।

प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी सीता, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, निमित्त मुख्यसचिव माधव पौडेल, परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्य, खेलकुदसचिव शङ्कर पाण्डेलगायत भ्रमण दलका सदस्य पनि हिजै थाई एअरवेजको नियमित उडानबाट बैङ्कक हुंदै आज स्वदेश फर्केका छन्।

प्रधानमन्त्री दाहालले त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुसंगै बोल्दै चीन भ्रमण अत्यन्त सफल भएको बताउनुभएको छ। उहाँले बेइजिङ भ्रमण राजनैतिक भ्रमण नभएर बिषयकेन्द्रित भ्रमण भएकाले भारतले अन्यथा लिन नहुने बताउंनुभयो। उहाँले आफ्नो पहिलो राजनैतिक भ्रमण भारतबाटै सुरु हुने बताउनुभयो।

यसअघि, प्रधानमन्त्री दाहाललाई हिजो बेइजिङस्थित केन्द्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा चीनका न्यायमन्त्री श्रीमती ऊ आई यिङले बिदाइ गर्नुभएको थियो। सो अवसरमा चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्की, बेइजिङस्थित नेपाली दूतावासका अधिकारी र उच्चपदस्थ चिनियाँ अधिकारीको पनि उपस्थिति थियो।

बेइजिङबाट प्रस्थान गर्नुअघि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण अत्यन्तै सफल भएको बताउनुभयो।

“कुल मिलाएर भ्रमण पुरै सफल रहृयो भन्ने हाम्रो टोलीकै निष्कर्ष रहेको छ,” उहाँले भन्नुभयो- मुख्यतः ओलम्पिक खेलकुदको समापन समारोहका लागि म यहाँ आएको हुँ। त्यसमा सहभागिता जनाएपछि यसको मूल पक्ष त्यसै पनि सफल रहृयो। त्यसपछि जति राजनीतिक भेटघाट भए, ती पनि धेरै राम्रो भए भन्ने हाम्रो ठहर छ।

प्रधानमन्त्री दाहालले भेटका अवसरमा चिनियाँ राष्ट्रपति हु चिन थाओ र प्रधानमन्त्री वान ज्या बाओलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न अनुरोध गरिएको जानकारी दिनुभयो। त्यसको तयारीका लागि एउटा चिनियाँ प्रतिनिधिमण्डल छिट्टै नेपाल जाने उल्लेख गर्दै उहाँले भन्नुभयो- त्यसपछि प्रधानमन्त्री र सम्भव भयो भने राष्ट्रपतिकै नेपाल भ्रमण हुने सम्भावना छ।

प्रधानमन्त्री प्रचण्डले तिब्बतमा केही समयअगाडि भएको घटनापछि नेपालप्रति चीनको चासो गुणात्मकरुपले बढेको बताउँदै नेपालको राष्ट्रिय हित र आर्थिक विकासको दृष्टिकोणले यो अवसरलाई नेपालले राम्रोसँग सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो।

उहाँले “नेपालले यसलाई राम्रो सदुपयोग गर्यो भने नयाँ इतिहासको रचना हुने मात्रै होइन, नेपालमा आर्थिक क्रान्तिको एउटा दौड पनि सुरु हुन्छ भन्ने मैले ठानेको छु” भन्नुभयो।

प्रधानमन्त्री दाहाल चीन सरकारको निमन्त्रणामा १३ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ ७ गते बेइजिंग पुग्नुभएको थियो।

Popularity: 8%

4 comments August 27th, 2008

इन्सोफ, जर्मनीको तेश्रो राष्ट्रिय सम्मेलनको तयारी

एस, हामबर्ग जर्मनी / एचकेनेपाल डट कम -
जर्मनीमा बसोबास गरिरहेका नेपालीहरुको हक र हितको निम्ति काम गर्दै आएको र नेपालको क्रान्तिकारी परिवर्तनको निम्ति जर्मनीमा बिशेष भूमिका निभाउंदै आएको नेपालीहरुको संगठन अन्तर्राष्ट्रियतावादी नेपाली ऐक्यबद्धता मञ्च (INSOF) तेश्रो राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ।

आगामी सेप्टेम्बर ६ तारिखको साँझ बिशेष समारोहका साथ जर्मनीको दोश्रो ठूलो तथा जर्मनीकै ठूलो ब्यापारिक बन्दरगाह शहर हामबर्गमा भब्यताका साथ हुने तेश्रो राष्ट्रिय सम्मेलन नेकपा (माओवादी) का बरिष्ठ केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय ब्यूरो इञ्चार्ज क. गौरब (चन्द्र प्रकाश गजुरेल) द्वारा समुद्घाटन हुने कार्यक्रम रहेको छ।

“नयाँ नेपालको निर्माणको निम्ति राष्ट्रिय अभियान आजको आवश्यक्ता, प्रवासी नेपालीहरुको हक हितको पक्षमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहितको सो समारोहमा जर्मनी भरीकै नेपाली संघ संस्था तथा यूरोप भरिका भाईचारा संगठनहरुका प्रतिनिधिहरुको सहभागिता रहने छ।

सम्मेलन भब्यताका साथ सफल पार्नका निम्ति तेश्रो राष्ट्रिय सम्मेलन संयोजन समितिका संयोजक प्रभाकर शर्माका अनुसार निम्नानुसार समितिहरु निर्माण गरिएका छन्।

१. प्रभाकर शर्माको नेतृत्वमा शिला हमाल र बिनोद कार्कीसहितको राजनैतिक प्रतिवेदन समिति
२. बिनोद तिवारीको नेतृत्वमा होमनाथ ढकाल र सागर पोखरेलसहितको बिधान समिति
३. ध्रुब थापाको नेतृत्वमा गंगालाल श्रेष्ठ र हरि अधिकारी सहितको आर्थिक समिति
४. गंगालाल श्रेष्ठको नेतृत्वमा प्रकाश शर्मा, खेम शर्मा र मोहन श्रेष्ठसहितको एक ब्यबस्थापन समिति। समितिमा हामबर्ग क्षेत्रभित्रका पञ्चकुमार राई, बिष्णु अधिकारी, भेष थापा, होम पौडेल, सरोज शाही, प्रेम शेरचन, अरुण गौचन, लोकमान श्रेष्ठ रहेका छन्।
५. प्रचार प्रसार समितिमा प्रभाकर शर्मा, बिनोद तिवारी, सागर पोखरेल, दिनेश लम्साल, तथा मधु सुधन रिमाल रहेका छन्।

सम्मेलन हुने स्थानः
Eidelstedter Buergerhaus
Alte Elbgaustrasse 12a
22523 Hamburg
मितिः 6th September 2008 Saturday
समयः 22:00
सम्पर्कको लागिः गंगालाल श्रेष्ठ मोबाइल नं. ००४९ १७६ २०४८६२४५

Popularity: 8%

Add comment August 27th, 2008

उपराष्ट्रपति बाढीपीडित क्षेत्रको भ्रमणमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
उपराष्ट्रपति परमानन्द झाले सप्तकोसी नदीको तटबन्ध भत्किई सुनसरी जिल्लाका विभिन्न स्थानमा भएको जनधनको क्षतिसम्बन्धी जानकारी लिन आज उक्त स्थानमा भ्रमण गर्ने कार्यक्रम रहेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैबीच परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग भारतीय राजदूत राकेश सुदले हिजो परराष्ट्र मन्त्रालयमा भेट गर्नुभयो ।

सो अवसरमा उहाँहरुबीच द्विपक्षीय एवम् आपसी चासोका विषयमा छलफल भएको भनिएको छ।

राजदूत सुदले सो अवसरमा मन्त्री यादवलाई उहाँ सङ्घीय गणतन्त्र नेपालको परराष्ट्रमन्त्री हुनुभएकामा भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले दिनुभएको शुभकामना एवम् बधाई सन्देश सुनाउनुभएको थियो ।

Popularity: 8%

Add comment August 27th, 2008

विश्व बैङ्कबाट १२ करोड ७० लाख डलर सहयोग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विश्व बैङ्कले नेपालको शान्ति प्रक्रियाको सुदृढीकरण र ग्रामीण क्षेत्रका जनतालाई आधारभूत सेवा पुर्‍याउनका लागि १२ करोड ७० लाख अमेरिकी डलर प्रदान गरेको छ ।
त्यससम्बन्धी सम्झौतामा अर्थसचिव रामेश्वर खनाल र बैङ्कका आवासीय प्रतिनिधि सुसान गोल्ड मार्कले हस्ताक्षर गर्नुभयो ।

तीमध्ये ५० करोड डलर आकस्मिक शान्ति सहयोग परियोजना, पाँच करोड नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम र दुई करोड ७० लाख डलर दोस्रो ग्रामीण तथा सरसफाइ परियोजनाका बाँडफाँड गरिएको छ ।

Popularity: 8%

3 comments August 27th, 2008

६ महिनामा सेना समायोजनः रक्षामन्त्री

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
रक्षामन्त्री रामबहादुर थापा बादलले माओवादी जनसेना र नेपाली सेनाको समायोजन र पुनर्स्थापना अबको तीनदेखि छमहिनाभित्रमा भइसक्ने बताउनुभएको छ ।

सुनसरीको बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि आउनुभएका रक्षामन्त्री थापाले पकलीमा पत्रकारस“ग कुरा गर्दै त्यसका लागि विशेष समिति बन्ने जानकारी दिनुभयो ।

नेपाली जनताले राजनीतिक दलहरुलाई आफ्नो मत दिएर सरकार बनाउने जिम्मेवारी दिएको र नेपाली सेनाले सरकारका कुरा शिरोधार्य गर्ने प्रतिज्ञासमेत गरिसकेको अवस्थामा दुवै सेना समायोजनलाई कुनै शङ्काको दृष्टिकोणले नहेर्न पनि उहाँले आग्रह गर्नुभयो ।

नेपाली सेनाको सैनिक कल्याणकोषको रकम दुरुपयोग भएको कुरा बाहिर आएको छ नि भन्ने प्रश्नमा रक्षामन्त्रीले त्यस्तो कुरा रक्षा मन्त्रालयमा लिखितरुपमा नआएको जानकारी दिँदै यदि प्रमाणसहित उजुरी आएमा छानबिन हुने विश्वाससमेत दिलाउनुभयो ।

प्रधानमन्त्री राजधानी आएपछि सरकारले पूर्णता पाउने र मन्त्रीको मर्यादाक्रमको पनि टुङ्गो लाग्ने रक्षामन्त्रीले दावी गर्नुभयो । रक्षामन्त्रीले मन्त्रीको मर्यादाक्रमको विषय त्यति ठूलो विवाद नरहेको टिप्पणी गर्दै नेपाली जनताले नेकपा (माओवादी)लाई सबैभन्दा ठूलो दल बनाएकाले मन्त्रीको मर्यादाक्रममा उसलाई पहिलो नम्बरमा नै बस्ने अधिकार रहने स्पष्ट पार्नुभयो ।

उहाँको भनाइ थियो¬-नेकपा (माओवादी)को पालो सकिएपछिमात्र नेकपा (एमाले)को नम्बर आउँछ, त्यसपछि मधेसी जनअधिकार फोरमको र त्यसपछि अरु साना दलको पालो आउँछ ।

Popularity: 8%

1 comment August 27th, 2008

त्रिवि सभा सदस्यमा मनोनयन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
त्रिभुवन विश्वविद्यालयका कुलपति प्रधानमन्त्रीले त्रिवि कार्यकारी परिषद्को सिफारिसमा त्रिवि ऐन २०४९ बमोजिम विभिन्न महानुभावहरूलाई त्रिवि सभाका सदस्यमा मनोनयन गर्नुभएको छ।

त्रिवि सूचना शाखाले जनाए अनुसार संसद सदस्यहरूमध्येबाट सुरेश आलेमगर, शङ्कर पोखरेल र डा. प्रकाशशरण महत, उपकुलपतिहरूमध्येबाट पोखरा विश्वविद्यालयका डा. केशरजङ्ग बराल र नेपाल संस्कृत विश्वविद्यालयका विदुर पौडेल, पूर्व उपकुलपतिहरूमध्येबाट डा. कमलकृष्ण जोशी मनोनयन हुनुभएको छ।

यसैगरी त्रिवि केन्द्रीय विभागका प्रमुखहरूमध्येबाट गृहविज्ञानका प्रा.डा. हरिन्दर थपलिया, भाषाविज्ञानका प्रा.डा. योगेन्द्रप्रसाद यादव, कानुनका प्रा.डा. विद्याकिशोर राय, प्राणीशास्त्रका प्रा.डा. वसन्तकुमार थापा र रसायनशास्त्रका प्रा.डा. तुलसीप्रसाद पाठक, आङ्गिक क्याम्पसका प्रमुखहरूमध्येबाट सुर्खेत क्याम्पसका बालाराम खड्का र पद्म कन्या क्याम्पसका इरेन श्रेष्ठ, सम्बन्धन प्राप्त क्याम्पसका प्रमुखहरूमध्येबाट सिद्धनाथ बहुमुखी क्याम्पसका भारती जोशी त्रिवि सभा सदस्यमा मनोनित हुनुभएको छ।

त्यसैगरी ख्यातिप्राप्त विद्वान वा प्रतिष्ठित व्यक्तिहरूमध्येबाट प्रा.डा. गणेशमान गुरुङ र डा. मीना आचार्य, स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरूमध्येबाट विश्वविद्यालय क्याम्पसका भीम श्रीष र अमृत क्याम्पसका टेकराज पर्छाई, पत्रकारमध्येबाट नेपाल पत्रकार महासङ्घका अध्यक्ष धर्मेन्द्र झा, त्रिवि कर्मचारी सङ्घ केन्द्रीय समितिबाट अध्यक्ष शम्भुप्रसाद भट्टराई, उद्योगपति, व्यापारी, चन्दादातामध्येबाट नेपाल च्याम्बर अफ कर्समका अध्यक्ष सुरेन्द्रवीर मालाकार र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशी, त्रिवि प्राध्यापक सङ्घबाट केन्द्रीय अध्यक्ष शिवमुनकर्मी तथा नेपाल पब्लिक क्याम्पस सङ्घबाट अध्यक्ष बैकुण्ठ न्यौपानेलाई त्रिवि सभाका सदस्यमा मनोनयन गरिएको त्रिवि सूचना शाखाले जनाएको छ।

Popularity: 8%

Add comment August 27th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....