Archive for August 30th, 2008

हामी धरानेहरु कसैप्रति पूर्वाग्रही छैनौं - सभासद किरण राई

(अन्तवार्ता)
किरण राई (निशान) नेकपा (माओवादी) का तर्फबाट सुनसरी क्षेत्र नं. १ का सभासद हुन्। पार्टीका तर्फबाट सुनसरी जिल्ला भरिकै संसदीय दलका प्रतिनिधिको रुपमा सक्रिय राई हाल इनरुवामा रहेर बाढी पीडित क्षेत्रमा अहोरात्र खटिई रहनु भएको छ। सभासद राईसंग एचकेनेपाल डट कमका लागि आनन्द श्रेष्ठले गरेको कुराकानीको संक्षिप्त अंश -


(more…)

Popularity: 8%

Add comment August 30th, 2008

मिस्टर जोन मारिए

एस, काठमाडौं / एचकेनेपाल डट कम -
राजधानीको विभिन्न ठाउंहरुमा श्रृंखलाबद्ध बम बिस्फोट गराउने प्रमुख नाइके तराई आर्मीका अध्यक्ष कौशलकुमार सहनी उर्फ मिस्टर जोन आज बिहान प्रहरीसंग भएको दोहोरो भिडन्तमा मारिएका छन्।

रौतहटको बरियापुर गाविसमा मिस्टर जोनको समूह र गस्तीमा हिडेको प्रहरीबीच बिहान करीव ४ बजे दोहोरो भिडन्त हुंदा प्रहरीको गोलीबाट उनको मृत्यु भएको गरुडा इलाका प्रहरी कार्यालयले जनाएको छ। सोही भिडन्तमा प्रहरीको गोलीबाट मिस्टर जोनका अंगरक्षक महन्थ सहनीको समेत मृत्यु भएको जनाएको छ।

प्रहरीले घटनास्थलबाट अमेरिकी पिस्तोल एक थान, कटुवा पिस्तोल एक थान र केही गोलीहरु बरामद गरेको छ।

लामो समयसम्म प्रहरीको आँखा छलेर फरार रहेका मिस्टर जोन गत भदौ १६ गते राजधानीका विभिन्न ठाउंहरुमा बम बिस्फोट गराएर धनजनको क्षति, रौतहटमा भएको नरसंहार, यात्रुवाहक बसमा आगजनी, हत्या, अपहरण, चन्दा उठाउने जस्ता दर्जनौ अपराधमा संलग्न रहेको प्रहरीले बताएको छ।

Popularity: 8%

3 comments August 30th, 2008

उपेन्द्र देवकोटापुत्रीका अपहरणकर्ताको पहिचान

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
महानगरीय प्रहरी अपराध महाशाखाले डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण घटनामा संलग्न थप एकजना फरार अभियुक्तको पहिचान गरेको छ।

काभ्रे जिल्ला घर भई काठमाडौँको सुकेधारा बस्ने ३७ वर्षीय गोकुल गिरी (उपनाम राजेश क्षेत्री)ले अपहरणपछि फिरौती रकमको माग गर्न डा. देवकोटासँग पटकपटक टेलिफोनमा वार्तालाप गरेकाले उक्त अपहरण घटनामा गोकुलसमेतको प्रमुख भूमिका देखिएको अनुसन्धानबाट थाहा भएको महाशाखाले जानकारी गराएको छ।

सो अवसरमा अभियुक्त गोकुलले डा.देवकोटासँग टेलिफोनमा गरेको वार्ताको रेकर्ड सुनाइएको थियो।

यसअघि नै उल्लेख गरिएका फरार अभियुक्तहरु सिद्धार्थ लामा, कृष्णछारा राई, राजु थापासमेतको नाममा विभिन्न बैङ्कमा जम्मा रहेको १५ लाख रुपियाँ र निजहरुको नाममा रहेको घरजग्गासमेत प्रचलित कानुनअनुसार रोक्का गरिएको छ।

सूचनाका आधारमा अनुसन्धान भइरहेकाले फरार अभियुक्तहरु आगामी दिनमा समातिने दावी गर्दै वरिष्ठ प्रहरी उपरीक्षक उपेन्द्रकान्त अर्यालले प्राविधिक गोपनीयताका कारण धेरै कुरा अहिले भन्न नसकिने उल्लेख गर्नुभयो।

Popularity: 8%

Add comment August 30th, 2008

भारतीय प्रधानमन्त्रीसित परराष्ट्रमन्त्रीको भेट

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भारतका प्रधानमन्त्री डा मनमोहन सिँहसँग परराष्ट्रमन्त्री उपेन्द्र यादवले विम्स्टेक बैठकका सहभागी अन्य देशका विदेशमन्त्रीहरुसँग हिजो प्रधानमन्त्रीको निवासमा भेट गर्नुभयो।

प्रधानमन्त्रीसँगको संयुक्त भेटमा परराष्ट्रमन्त्री यादवले कोसी नदीको बाढीसम्बन्धमा छलफल गर्नुभयो।

सो अवसरमा प्रधानमन्त्री सिँहले बाढीपीडितका लागि राहत र पुनर्वासनिम्ति भारत सरकारको सहयोग हुने विश्वास दिलाउनुभयो।

भारतीय विदेशमन्त्री प्रणव मुखर्जीसँग हिजो भएको भेटका अवसरमा नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आवश्यक खाद्यान्नको कमी भएको भनी उठाइएको विषयलाई भारतीय प्रधानमन्त्रीले आफूले जानकारीमा राखेको बताउनुभयो।

भारतीय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीको छिटोभन्दा छिटो भारतमा हुने औपचारिक भ्रमणका लागि प्रतीक्षा गरिरहेको बताउनुभयो।

यसअघि परराष्ट्रमन्त्री यादवले हिजो भारतीय विदेशमन्त्री मुखर्जीसँग उहाँको कार्यालय साउथ ब्लकमा भेटी कोसी नदीको बाँध भत्की उत्पन्न बाढी र त्यसबाट भएको ठूलो क्षतिसम्बन्धमा छलफल गर्नुभएको थियो।

Popularity: 8%

Add comment August 30th, 2008

नौ सय सत्तरी अझै बेपत्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले नेपाल सरकार र नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौता अहिलेसम्म कार्यान्वयन हुननसकेको बताउनुभएको छ।

नेपालमा सशस्त्र द्वन्द्वको अवधिमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्थासम्बन्धी प्रतिवेदन हरिहरभवनस्थित आयोगको कार्यालयमा आज र्सार्वजनिक गर्दै अध्यक्ष उपाध्यायले सरकार र माओवादीबीच भएको सम्झौताअनुसार शान्ति तथा मेलमिलाप आयोग र सत्य निरुपण आयोग तत्काल गठन गर्नुपर्नेमा जोड दिनुभयो।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअघिकार उच्चआयुक्त कार्यालयका प्रमुख रिचार्ड बेनेटले सो प्रतिवेदनबाट बेपत्ताको अवस्था सार्वजनिक गर्न सहयोग पुग्ने बताउँदै प्रतिवेदन जिम्मेवारीपूर्वक कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्नुभयो।

प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षबाट कुल तीनहजार २९९ व्यक्तिलाई बेपत्ता पारिएको भनी आयोगमा उजुरी परेकामा हालसम्मको अनुसन्धानबाट दुइ हजार ३२९ जनाको अवस्था सार्वजनिक भएको छ भने ९७० जनाको अवस्था अज्ञात रहेको छ।

Popularity: 8%

Add comment August 30th, 2008

विद्यालयका कर्मचारी आन्दोलनमा जुट्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारले सार्वजनिक विद्यालयमा काम गर्ने शिक्षकको अधिकार क्रमशः सुनिश्चित पार्दै लगेपनि तिनै विद्यालयमा काम गर्ने करिब ३३ हजार कर्मचारीको अधिकार भने कुण्ठित पारेको आरोप लगाइएको छ।

विसं २०२८को शिक्षा नियमावली अनुसार सार्वजनिक विद्यालयमा काम गर्ने गरी सरकारले पियन र लेखापालको नियुक्त गर्ने परिपाटीको व्यवस्था गरेको थियो। पछिल्लो पटक विसं.२०३६ मा सेवाकालीन र अवकाशित सुविधासम्बन्धी उल्लेखित दफामा ‘शिक्षक’ श्ब्दमात्र प्रयोग गरी कर्मचारी उल्लेख नगरेर विभेद सुरु भएको विद्यालयका कर्मचारीले बताएका छन्।

विसं २०२८ देखि २०३६ सम्म तत्कालीन सरकारले प्राविमा एकजना पियन, निमाविमा एकजना पियन र लेखापाल तथा माविमा दुइजना पिएन र एकजना लेखापालको दरबन्दी कायम गरेको थियो।

सार्वजनिक विद्यालयमा काम गर्ने कर्मचारीलाई अवकाश दिँदा अहिलेको सरकारले शिक्षा नियमावली २०५९ बमोजिम विभेद गरेकाले विरोधका कार्यक्रम सञ्चालन गर्दै जाने बताइएको छ।

Popularity: 8%

Add comment August 30th, 2008

रातो रातो सारीको फन्को, जापानमा पनि तीजको रन्को

छक्कु उदासी, जापान / एचकेनेपाल डट कम -
गत वर्षहरुमा झैं यो बर्ष पनि जापानमा रमरझम तीज आएको छ। यहि अगष्ट ३१ तारिखको दिन टोकियोस्थित ओमोरी बैंकट हलमा तीज मनाईने भएको छ।

सुरुको समय सन् २००० मा केही सक्रिय महिलाहरुबाट सूर्योदयको देश जापानमा तीज मनाउन सुरवात गरिएको थियो। लगतै अर्को बर्षदेखि जापान रहेको साझा संस्था नेपाली समाज जापानले तीज कार्यक्रमलाई निरन्तरता दिदै आएका थिए। तर यस पल्टको तीज भने भरखरै मात्रै स्थापना भएको दिदीबहिनी समाज जापानले भब्यताका साथ मनाउने तरखर गरेको छ।

माईत गएर बाबुआमाको काखमा मिठो चोखो खाएर रमाईलो गरे जस्तो त प्रवासमा हुने कुरै भएन। पराई भूमिमा संधै कामै कामको चटारो हुन्छ। जसको बाबजुत दिदीबहिनीहरु जम्मा भएर एक दिन भए पनि रमाईलो गरेर मनको पीर मेटाउने र ब्यथा बिसाउने भएका छन्। सम्झना बिर्सना स्वरुप जापानबासी नेपाली महिलाहरुलाई तीजको रन्कोले झपक्कै छोपेको छ।

तीज कार्यक्रममा नेपाल र नेपाली संगीतलाई अतिनै माया गर्ने जापानी चेलीबेटीहरुको तीज सम्बन्धी गीत तथा नृत्य प्रस्तुत गर्नेछन्। त्यसै गरी, शक्ति रेष्टुरेण्टले तीज सम्बन्धी परिकारहरु पस्कने भएको छ।

Popularity: 8%

Add comment August 30th, 2008

आइतबार मन्त्रिमण्डल विस्तार हुनसक्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी) सचिवालयको बैठकले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा प्रायः सबै कुरा टुङ्गिसकेकाले बाँकी कुरा टुङ्ग्याउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा दिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठक मन्त्रिपरिषद् विस्तारमा साना दल र आफ्नो पार्टी तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको विषयमा निर्णय गर्न बसेको पार्टी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले बताउनुभयो।

प्रवक्ता महराले मन्त्रिपरिषद् विवादका सम्बन्धमा नेकपा (एमाले)सँग कुरा करिबरुपमा मिलिसकेको बताउँदै मर्यादाक्रमको विवाद नरहेको धारणा व्यक्त गर्नुभयो।

शुक्रबार हुने भनिएको मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम मन्त्रिमण्डलमा अन्य साना दललाई पनि सहभागी गराउनुपर्छ भनेर सारिएको बताइएको छ।

मन्त्रिमण्डलले आइतबार पूर्णता पाएमा सोही दिन सपथग्रहण हुनसक्ने बुझिएको छ।

Popularity: 8%

Add comment August 30th, 2008

कांग्रेस नेताहरु चीन भ्रमणमा

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेपाली काँग्रेसका उपसभापति प्रकाशमान सिंहसहित ६ सदस्यीय टोली आज छिमेकी मुलुक चीन प्रस्थान गर्ने भएका छन्।

सिंहसहितको उक्त टोली चीनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जान लागेका हुन्। सिंहले नेतृत्व गरेको टोलीमा मिलेन्द्र रिजाल, सुजाता कोइराला, पुष्पा भुसाल, नारायण खड्का र शम्भुराम सिंखडा रहेका छन्।

करीव एक हप्ताको भ्रमणको क्रममा दुइ पार्टीबीच आपसी सम्बन्ध विस्तार र हितका विषयमा छलफल हुने बताइएको छ।

Popularity: 8%

1 comment August 30th, 2008

एनडिएफ ब्रुसेल क्षेत्रीय कमिटीको पुनर्गठन

विनिता रिमाल, ब्रसेल्स / एचकेनेपाल डट कम -
नेपाली लोकतान्त्रिक मञ्च बेल्जियमको क्षेत्रीय कमिटीका अध्यक्ष प्रकाशकुमार कार्कीको अध्यक्षतामा विहीबार सम्पन्न बैठकले नव निर्वाचित अध्यक्ष डेविड थापा क्षेत्रीको अध्यक्षतामा नयाँ कमिटीको निर्माण गरेको छ।

नयाँ कमिटीका सदस्यहरुमा प्रकाशकुमार कार्की, जितेन्द्र अधिकारी, आगबहादुर लामा, बिमलकुमार गिरी, खिमबहादुर घर्ती मगर, खिमराज सुबेदी, रेशमजँग कुँवर, अर्जुन घिमिरे, केशरबहादुर पूम, लीलाकान्त सापकोटा, दिपेन्द्र पाण्डे, राजु श्रेष्ठ, सुरेश गुरुङ, इन्द्र चापागाई, शिवराम ढकाल, डा. हिमाल लुइटेल, नारायणप्रसाद सापकोटा, जनक घिमिरे, किरणकुमार प्रधान र दिपेश शर्मा रहेका छन्।

सोही कार्यक्रममा नेपालका बाढी पीडितहरुका लागि गरिएको राहत संकलन नवनिर्वाचित अध्यक्षलाई हस्तान्तरण गरिएको छ। आगामी १४ सेप्टेम्बरका दिन आन्त्वेर्पेनमा हुन गइरहेको एनडिएफ अधिबेशनमा नयाँ नेतृत्व चयनको प्रवल सम्भावना बढेको छ।

Popularity: 8%

Add comment August 30th, 2008

माओवादीमा आन्तरिक विवाद, मन्त्रीपरिषद विस्तार हुन सकेन

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेकपा माओवादीभित्र देखा परेको आन्तरिक विवादका कारण शुक्रबार मन्त्रीपरिषद विस्तार हुन सकेन।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले महासचिव झलनाथ खनालबीच दोश्रो वरीयताक्रम एमालेलाई दिने सहमति भएपछि माओवादीभित्र आन्तरिक विवाद देखा परेको हो।

अर्थमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीसमक्ष वरीयता क्रमबारे पुनर्विचार नगरे आफूले मन्त्री पदबाट राजीनामा दिने बताएपछि बढेको आन्तरिक विवाद सुल्झाउन माओवादीले शुक्रवार लामो कसरत गर्नु परेको थियो।

माओवादीभित्रका मोहन वैद्य किरण पक्ष एमालेलाई दोश्रो वरीयता क्रम दिने र बाबुराम पक्ष दिन नहुने पक्षमा थिए। अन्तमा एमालेलाई दोश्रो वरीयता क्रम दिने विषयमा कुरा टुङ्गिएपनि केही आन्तरिक सर्तहरु राखिएका छन्। मन्त्रीपरिषदमा ३ जना उपप्रधानमन्त्री एमालेबाट बामदेव गौतम, माओवादीबाट बाबुराम भट्टराई र मधेसी फोरमबाट उपेन्द्र यादव रहनेछन्। प्रधानमन्त्रीपछि दोश्रो वरीयता क्रममा एमालेका बामदेव गौतम रहने भनिएपनि प्रधानमन्त्रीको हरेक विदेश भ्रमणमा बामदेव गौतमलाई संगै लाने र कार्यवाहक प्रधानमन्त्रीको जिम्मा बाबुराम भट्टराईलाई दिइने छ। माओवादीभित्र तय भएको यी सर्तका कारण बामदेव गौतमलाई प्रधानमन्त्रीपछि दोश्रो वरीयदा क्रममा राखिने भएपनि कार्यवाहक प्रधानमन्त्री हुने अवसर भने उनलाई प्राप्त नहुने भएको छ।

माओवादी पार्टी नेतृत्वबीच देखिएको मतभेदका कारण क- कसलाई मन्त्रीपरिषदमा पठाउने भन्ने निर्णयसमेत हुन सकेको छैन। माओवादीबाट मन्त्रीपरिषदमा ६ जना पठाउनु पर्नेमा १७ जनाको नाम छलफलमा आएको र केही नेताहरुले मन्त्रालय नै मागेपछि नाम सिफारिस गर्न ढिलाई भएको बताइएको छ।

Popularity: 8%

Add comment August 30th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....