एस, काठमाडौं / एचकेनेपाल डट कम -
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको १० दिने भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ। उहाँ संयुक्त राष्ट्रसंघको ६३ औं महासभामा भाग लिएर आज स्वदेश फर्किनु भएको हो।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै उहाँले अमेरिका भ्रमण अत्यन्त सफल र सकारात्मक रहेको बताउनु भएको छ। भ्रमण बहुआयामिक भएको र संयुक्त राष्ट्रसंघको साधारणसभामा नेपालको उपस्थिति प्रभावशाली भएको उहाँले बताउनुभयो।
प्रधानमन्त्री प्रचण्डले भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसदेखि लिएर उच्च अमेरिकी अधिकारीहरुसंग भेट गर्नुभएको थियो। अमेरिका नेपालको पछिल्लो परिवर्तनको बारेमा सन्तुष्ट रहेको उहाँले उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय समुदायसामु नयाँ नेपालका बारेमा सम्बोधन गर्न पाउनु नै भ्रमणको सफलता रहेको बताउनुभयो। प्रधानमन्त्री दाहालले अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुससँगको भेटमा नेपाललाई आर्थिक सहयोग जारी राख्न आफूले आग्रह गरेको र त्यसमा बुस प्रशन्न रहेको आफूले पाएको जानकारी पनि दिनुभयो।
उहाँले अन्तर्राष्ट्रिय समुदायमा नयाँ नेपालका बारेमा संघीय गणतन्त्र र शान्ति प्रक्रिया तथा अब नेपाल कसरी बढ्छ भन्ने विषयमा चासो रहेको बताउनुभयो। भ्रमणका क्रममा उहाँले अमेरिकामा रहेका नेपाली समुदायसंग पनि भेटघाट गर्नुभएको थियो। उहाँले अमेरिका भ्रमणको क्रममा राष्ट्रसंघीय महासचिव बान कि मुनका साथै महासभामा सहभागी विभिन्न राष्ट्रका राष्ट्रप्रमुखहरुसँग भेटवार्ता गर्नुभएको थियो।
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता, छोरा प्रकाशसहित १० जनाको टोली सेप्टेम्बर २० तारिख अमेरिका प्रस्थान गर्नुभएको थियो।
एस, राजस्थान / एचकेनेपाल डट कम -
नवरात्रिको पहिलो दिन भारतको राजस्थान मेहरानगढस्थित चामुंडा मन्दिरमा मंगलवार विहान भएको भागदौडमा कम्तीमा सय जनाको ज्यान गएको छ। राजस्थानका गृह सचिव एसएम थानवीको अनुसार मृतकको संख्या बढ्न सक्ने बताएका छन्।
भागदौडमा घाइते भएका करीव १ सय ५० जनाको अस्पतालमा उपचार भैरहेको बताइएको छ। गृह सचिवका अनुसार मन्दिर जाने प्रवेशद्वार अचानक भत्किदा भागदौड भएको थियो। जसका कारण मन्दिरमा दर्शनका लागि त्यहाँ पुगेका कम्तीमा १ सय भक्तजनहरुको मृत्यु हुनाका साथै १ सय ५० भन्दा बढी घाइते भएको जनाएको छ।
नवरात्रिको पहिलो दिन भएकोले त्यहाँ हजारौं भक्तजनहरुको भीड लागेको थियो।
एस, नेपालगंज / एचकेनेपाल डट कम -
पत्रकार चढेको गाडी बांकेको दाङमा आज बिहान करीव साढे १० बजे दुर्घटना हुंदा त्यसमा सवार ५ जना पत्रकारहरु घाइते भएका छन्।
घाइते हुनेहरुमा नेपाल पत्रकार महासंघ बांकेका अध्यक्ष झलक गैरे, पत्रकारहरु उदय श्रेष्ठ, प्रभात देबकोटा, पवन थापा र बसन्त शर्मा रहेका छन्। पत्रकारहरु बागेश्वरी बिकास बैंकको दाङको भालुबांग शाखा कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन जादै थिए।
पत्रकारहरु चढेको बा ५ च २३४४ नम्बरको कार कुसुम र अमिलियाको बिचमा पर्ने बाग्खोरमा दुर्घटनामा परेको थियो। पत्रकारहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रपति डा रामवरण यादव बाढीग्रस्त सुदूरपश्चिमको भ्रमणमा हुनुहुन्छ। राष्ट्रपति हिजो दिउँसो कैलाली र कन्चनपुरको भ्रमण सकेर दिपायल पुग्नुभई नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायलमा बस्नुभएको थियो।
उहाँले आज पहाडी जिल्ला अछाम ,बाजुरा, बझाङलगायतका बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उहाँ आज डोटीको जोरायल क्षेत्रमा जानु हुने कार्यक्रम छ ।
राष्ट्रपति डा. रामवरण यादवले कञ्चनपुरमा आएको बाढीको घटना दुःखान्त भएको बताउनुभएको छ। सुदुरपश्चिमको बाढीग्रस्त क्षेत्रको भ्रमणका क्रममा कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनवस्तीमा आइपुग्नुभएका राष्ट्रपतिले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो ।
राष्ट्रपतिले त्रिभुवनवस्तीको गौरीशङ्कर माविमा रहेको राहत शिविरका बाढीपीडित र स्थानीय व्यक्तिलाई सम्बोधन गर्नुभएको थियो । यसअघि प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ओझाले जिल्लाको वस्तुस्थितिबारे राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो ।
सो अवसरमा बाढीपीडित स्थानीय जनताका तर्फबाट राष्ट्रपतिसमक्ष ज्ञापनपत्र दिइयो । उक्त ज्ञापनपत्रमा कञ्चनपुरलाई बाढीग्रस्त क्षेत्र घोषणा गरिनुपर्ने, मालपोत मिनाहा हुनुपर्ने, सहुलियत दरमा कृषि ऋण उपलब्ध गराइनुपर्ने, नदी नियन्त्रणको गुरुयोजना बनाइनुपर्ने माग छन् ।
उक्त ज्ञापनपत्रमा पुनरवासको व्यवस्था गरिनुपर्ने, सीमा अतिक्रमण रोकिनुपर्ने, भारतीय पक्षले सीमामा बनाएका बाँध हटाउनुपर्ने, त्रिभुवनवस्तीमा बैङ्कका शाखा राखिनुपर्ने र सडक सञ्जाल बनाइनुपर्नेजस्ता माग पनि छन् ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
शिक्षामन्त्री रेणुकुमारी यादवले आगामी २ वर्षभित्र देशमा रहेका ८८ लाख निरक्षरलाई साक्षर बनाउने सरकारको योजना रहेको बताउनुभएको छ ।
मन्त्री यादवले मधेसी जनअधिकार फोरम सप्तरीद्वारा आयोजित सम्मान कार्यक्रममा कक्षा ८ सम्म निःशुल्क र कक्षा ५ सम्म अनिवार्य शिक्षाका रुपमा सरकारले घोषणा गरिसकेको बताउँदै मन्त्री यादवले भन्नुभयो- सप्तरीको केही गाविसमा गृहिणी शिक्षा समेत लागु गराउने तयारी भइरहेको छ ।
देशभरि २५ हजार शिक्षक अस्थायीरुपमा कार्य गरिरहेको बताउँदै मन्त्री यादवले दसैँपछि पुरानो अस्थायी र नयाँ दरबन्दी खुल्ला गरी नयाँ स्थायीको प्रक्रिया सुरु हुने जानकारी पनि दिनुभयो।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी)लाई विद्रोही मानसिकता त्यागेर सत्तारुढ एवम् सबै प्रतिपक्ष दलसँगको विश्वासमा अघि बढ्न सुझाव दिनुभएको छ ।
रिपोटर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो-सिरहामा भएको घट्ना र संसदमा हतियार लान पाउने जिकिरजस्ता घट्नाले नेकपा (माओवादी)मा विद्रोही मानसिकता कायमै छ, यसले सरकार र मुलुकलाई नै सङ्कटतिर धकेल्छ ।
नेता नेपालले वर्तमान सरकारसामु कामको थुप्रो भएपनि संविधान निर्माणको कामलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।
संविधान निर्माणको काम सरकारले नभई संविधानसभामा रहेका सम्पूर्ण दलले गर्ने भएकाले विगतमा भएका सम्पूर्ण सहमति र सम्झौताको पालना गरी सबै प्रतिपक्षलाई साथमा लिनसक्ने विश्वासको वातावरण बनाउन पनि उहाँले सुझाव दिनुभयो ।
नेकपा (माओवादी)को सम्बन्ध मुलुकको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससँग राम्रो सम्बन्ध नरहनु तथा नेकपा (एमाले)सँग पनि आवश्यकताअनुसारको सम्बन्ध कायम राख्न नसक्नुले सरकारलाई राम्रो नगर्ने नेता नेपालको टिप्पणी थियो ।
नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवहारकै कारण राष्ट्रपतिले आफूलाई अपमानित महसुस गर्नुभएको भन्ने समाचार आफूले पढेको उल्लेख गर्दै भन्नुभयो-सधैँ नयाँ छु भनेर मात्र माफ पाइँदैन, अब सिकिसक्ने बेला भइसक्यो ।
एमाले नेता नेपालले वर्तमान सरकारलाई अन्तरराष्ट्रिय समुदायले पर्ख र हेरको अवस्थामा राखेकाले मुलुकका सहयात्री राजनीतिक दल र समग्र विदेशी समुदायलाई समेत विश्वासमा लिई काम गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभयो ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पोखरास्थित राष्ट्रिय उच्च माविमा प्राचार्य नियुक्तिको विषयलाई लिएर नेकपा (एमाले)निकट अनेरास्ववियु र नेकपा (माओवादी)निकट अनेरास्ववियु क्रान्तिकारीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा अनेरास्ववियु प्रारम्भिक कमिटीका सुमन सिग्देल, गोकर्ण बराल, सूर्य भण्डारी तथा प्रध्यानाध्यापक कृष्ण बाँस्तोला ‘उदासी’ र इश्वरीप्रसाद सापकोटा छन्। घाइतेमध्ये गोकर्ण बरालको पोखरास्थित चरक अस्पतालमा उपचार भइरहेको छ ।
प्रध्यानाध्यापक नियुक्ति प्रक्रिया गलत भएको भन्दै एमाले निकट अनेरास्ववियुका विद्यार्थीले राष्ट्रिय उच्च माविमा लगाएको ताला हिजो अनेरास्ववियु (क्रान्तिकारी)ले जबर्जस्ती खोल्न थालेपछि दुई विद्यार्थी सङ्गठनबीच झडप भएको हो ।
यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमरमण आचार्यलाई थाहै नदिइकन विद्यालयको प्राचार्यमा कृष्ण उदासीलाई नियुक्ति गरिएपछि अध्यक्ष आचार्यले जिल्ला शिक्षा कार्यालयमा उजुरी दिनुभएको थियो ।
नियुक्त गरिएका प्रचार्य उदासी माओवादी निकट शिक्षक सङ्गठनका अध्यक्ष हुनुहुन्छ ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले मधेसवादी दलहरूसँग भएका २२ बुँदे सहमति र आठ बुँदे सम्झौता कार्यान्वयन नभए मधेसी जनअधिकार फोरम सरकारबाट बाहिरिने बताउनुभएको छ ।
मधेसी जनअधिकार फोरमको सुनसरी जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको पार्टी कार्यकर्ता भेलामा पार्टी कार्यकर्ताले अघिल्लो सरकारसँग मधेसवादी दलहरूद्वारा भएका सम्झौता र सहमति कार्यान्वयनको छनकसमेत नदेखेको टिप्पणी गरेपछि मन्त्री गच्छदारले त्यस्तो अभिव्यक्ति दिनुभएको हो ।
उहाँले तराईमा बस्दै आएका नागरिकलाई राज्यले उपेक्षा गरेको विषयमा सबै मधेसवादी दल परिचित रहेको बताउँदै सरकारले ती सम्झौता र समझदारी अक्षरस कार्यान्वयन गर्ने इच्छाशक्ति नदेखाए सरकारमा बस्नुको औचित्य समाप्त हुने पनि उल्लेख गर्नुभयो ।
सप्तकोसी बाढीप्रभावित शिविर तथा चतरा पश्चिम उदयपुरको रामपुर ठोक्सिला सडकखण्डको स्तरवृद्धिको पछिल्लो प्रगतिको अवलोकन गरी मन्त्री गच्छदार जिल्ला सदरमुकाम इनरुवा आइपुग्नु भएको हो।
मन्त्री गच्छदारले पूर्व पश्चिम राजमार्गको विकल्पका रूपमा प्रयोगमा आएको चतरा-रामपुर सडकलाई एक भरपर्दो मार्ग बनाउन सरकारले भरमग्दुर प्रयास गरिरहेको जानकारी पनि दिनुभयो।
यात्रुलाई कोसी नदीमा सजिलोसँग तार्न सकियोस् भनी चितवनबाट दुईवटा जेटवाज ल्याउने कार्य भएको र अब ती जेटवाज चलाउने स्टेसनको तयारी भइरहेको जानकारी दिंदै मन्त्री गच्छदारले यसै सातादेखि जेटवाजले यात्रु ओसार्ने बताउनुभयो।
खेमनाथ पौडेल, यूएइ / एचकेनेपाल डट कम -
किरात याक्तुम चुम्लुङ यूएइले यहि अक्टोवर १,२ र ३ गते यूएइ ब्यापी फुटवल प्रतियोगिता गर्ने भएको छ। नेपालीहरुको महान चाड बडा दशै तथा मुस्लिमहरुको महान चाड इदको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको किरात याक्थुम चुम्लुङका अध्यक्ष चन्द्र चेम्जोङले बताए।
लामो विदाको अवसलाई मध्यनजर राख्दै उक्त प्रतियोगितामा यूएइका विभिन्न प्रान्तहरुबाट खेलाडी तथा खेलप्रेमीहरुको घुइचो लाग्ने भएको छ। सेप्टेम्वर ३० तारिख टिम दर्ता गराउने अन्तिम समय दिइएको र हाल सम्म करीव २० टिमले नाम दर्ता गराई सकेको जानकारी गराए। खाडीमा अझै गर्मीको मौसम नसकिएकोले खेलाडीहरु तथा अन्य खेलप्रेमी दर्शकहरुलाई ध्यानमा राखी खेल बिहान १२ बजेसम्म र बेलुका ३ बजे देखि सुरु गर्ने बताए। यूएइको अबुधावीदेखि नजिकै रहेको मुसाफाहको बडा मस्जिद नजिकै खुल्ला मैदानमा खेल खेलाईने र फाईनल खेल अक्टोवर ३ तारिख हुने जानकारी दिए।
एस, स्कटल्याण्ड / एचकेनेपाल डट कम -
एडिनबरा युथ होस्टलमा बसेको स्कटल्यान्डवासी नेपाली साहित्यकर्मीहरुको एक भेलाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युकेको स्कटलान्ड शाखा गठन गरेको छ।
भविष्यमा एक साहित्यिक कार्यक्रम गर्दै विस्तार गरिने स्कटल्यान्ड शाखाको तदर्थ समितिमा हाल भिम लिम्बू (अध्यक्ष), किशोर डंगोल (उपाध्यक्ष), कदम के.सी. (सचिव), छिरिङ्ग लामा (कोषाध्यक्ष) र रुबिना खनाल (सदस्य) रहेका छन्।
उक्त शाखा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युकेका अध्यक्ष हरि सिवाकोटीको प्रमुख आतिथ्यमा गठन भएको हो। अध्यक्ष सिवाकोटीले आगामी अक्टोवर २५ का दिन लण्डनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९९ औँ जयन्तीका अवसरमा आयोजना हुन लागेको प्रतियोगितात्मक कवि गोष्ठीमा सहभागी हुन सम्पूर्ण स्कटल्यान्डवासी साहित्यकर्मीहरुलाई अनुरोध गरेका छन्।
एस, काठमाडौं / एचकेनेपाल डट कम -
चलचित्रकर्मीहरुले कर सम्बन्धी निर्णय सच्याउन माग गर्दै आज देशभरका सिनेमा घरहरु बन्द गराएका छन्।
नेपाली चलचित्रकर्मीहरुले सरकारलाई उक्त निर्णय १५ दिनभित्र सच्याउन अल्टिमेटमसमेत दिएका छन्। उनीहरुले सरकारबाट स्वदेशी चलचित्रलाई निरुत्साहित गर्ने प्रयाश भएको बताउंदै विरोध गरेका हुन्। सरकारले स्वदेशी चलचित्रलाई प्रोत्साहित गर्नुको साटो विदेशी चलचित्रसरह कर लगाउने निर्णयले नेपाली चलचित्र उद्योग थप मारमा पर्नसक्ने बताउंदै नयाँ बजेटमा उल्लेख गरिएको निर्णय संशोधन हुनु पर्ने जिकिर गरेका छन्।
चलचित्रकर्मीहरुले आज चलचित्र बिकास वोर्डमा सांकेतिक विरोधस्वरुप एक घण्टा धर्ना दिदैं सरकारबाट निर्णय नसच्चिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। नयाँ बजेटमा हल मालिकले सिनेमा चले पनि नचले पनि कुल सिट संख्याको २० प्रतिशत शूल्क तिर्नुपर्ने व्यवस्था गरेको छ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्थानीय विकासमन्त्री रामचन्द्र झाले स्थानीय निकायमा आगामी मङ्सिरभित्र पदपूर्ति गर्ने योजना रहेको बताउनुभएको छ।
जिल्ला विकास समिति धनुषा, जनकपुर नगरपालिका र गाविस संरक्षण मञ्चद्वारा उहाँको सम्मानमा आयोजित कार्यक्रममा उहाँले राजनीतिक सहमतिका आधारमा स्थानीय निकायमा पदपूर्ति गरिने र सोको गृहकार्य दसैँपछि गर्ने जानकारी दिनुभयो।
मन्त्री झाले कमला नदीको पूर्वी र पश्चिम क्षेत्रमा आगामी तीन वर्षभित्र तटबन्ध निर्माण तथा कमला नदीबाट क्षतिग्रस्त भएका पूर्वी क्षेत्रका सडक, पुलपुलेसा, कल्भर्ट र ग्राभेल कार्यको थालनी चालु आर्थिक वर्ष गरिने कार्ययोजना रहेको पनि बताउनुभयो।
जनकपुर नगरपालिकाको सडक मर्मत र ढल व्यवस्थापनका लागि नगरपालिका जगेडा कोषबाट रु.१० करोड रकम विनियोजन गर्ने बताउँदै उहाँले सहिद दुर्गानन्द झाको स्मारक निर्माणमा नपुग रकम स्थानीय विकास मन्त्रालयले व्यहोर्ने पनि बताउनुभयो।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बैदेशिक रोजगारीको सिलसिलामा दलाल मार्फत् लेवनान पुगेकी कन्चनपुर कालिका गाविसकी २० वर्षीया एक युवती त्यहाँ जेलमा परेकी छिन्।
गाउँकै दलाल सन्तोष थापाले भारतको बाटो भएर दमन्ती लामालाई लेवनान पुर्याएको उनका परिवारजनले बताएका छन्।
राम्रो तलब पाइने लोभमा लेवनान जान परिवारले स्वीकृति दिएपछि उनी लेवनान पुगेको बताइएको छ।
चार महिनादेखि उनी लेवनानको जेलमा रहेको कुरा लेवनानमा कार्यरत गाँउकै नेपालीहरूले फोनगरी जानकारी दिएको पीडित युवतीका परिवारजनले बताए।
दमन्ती जेलमा रहेको कुरा थाहा पाएपछि दलाल सन्तोषलाई नियन्त्रणमा लिई त्रिभुवनवस्ती इलाका प्रहरी कार्यालयमा बुझाएका छन्।
जेलपरेकी युवतीका आफन्तहरूले उनको जीवनरक्षा र जेलमुक्तिका लागि पहल गर्न नेपाल सरकार र मानवअधिकारकर्मीलाई अनुरोध गरेका छन्।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विजयादशमीको घटस्थापनादेखि भक्तपुरको तलेजु मन्दिरमा सुरु हुने तलेजु एवम् कुमारीको पूजाका लागि विगत आठ महिनादेखि रिक्त भक्तपुरको कुमारी नियुक्त गरिएको छ।
भक्तपुरकी कुमारी सजनी शाक्यले २०६४ माघ ५ गते बेलविवाह गरेपछि रिक्त कुमारी पदमा गुठी संस्थान शाखा कार्यालय भक्तपुरको सिफारिसमा श्रीया बज्राचार्यलाई गत शुक्रबार साँझ कुमारीमा नियुक्त गरेको आज गुठी संस्थान भक्तपुर शाखाका प्रमुख केशवबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
यसबारे जानकारी दिंदै उहाँले गत जेठ महिनामा नासमनाकी श्रीयालाई तलेजु मन्दिरका मूल नाइकेले कुमारीका लागि छनौट गरी सिफारिस गरेपछि गुठी संस्थान भक्तपुर शाखाले कुमारी नियुक्तिका लागि गुठी संस्थान केन्द्रीय कार्यालयलाई सिफारिस गरेको थियो।
भक्तपुरमा दसैंको कुमारी पूजाका लागि विजयादशमीभर कुमारीको अनिवार्य आवश्यकता पर्ने भएपनि कुमारी नियुक्ति कसले गर्ने भन्ने अन्यौलका कारण यति लामो समयसम्म कुमारी रिक्त रहेको हो।
पहिले कुमारीको नियुक्ति दरबारबाट हुने चलन भएपनि देशको राजनीतिक परिवर्तनका कारण कुमारीको नियुक्ति कसले गर्ने भन्ने अन्यौल रहेपछि गुठी संस्थानले कुमारी नियुक्ति प्रक्रियाको टुङ्गो लगाउन भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा पत्राचार गरेको थियो।
तर सो मन्त्रालयका मन्त्रीले राजीनामा दिएपछि भूमि सुधार मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री विदेश भ्रमणमा रहनुभएकाले कुमारी नियुक्तिमा समस्या आई कुमारी पूजा नै अवरुद्ध हुने अवस्थामा पुगेपछि प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम समक्ष तत्कालै कुमारी नियुक्तिका लागि फाइल पेश गर्दा उहाँले कुमारी नियुक्तिको अधिकार गुठी संस्थान सञ्चालक समितिलाई दिएपछि सात वर्षीया श्रीयालाई कुमारी नियुक्त गरिएको हो।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले) का महासचिव झलनाथ खनालले हिजो गरेका प्रतिबद्धता कार्यान्वयन हुन्छ, हुँदैन त्यसैमा सरकारको आयु निर्भर रहन्छ भन्दै कसैले भविष्यवाणी गर्दैमा सरकार नढल्ने बताउनुभएको छ।
महासचिव खनालले उक्त रिपोटर्स क्लबद्वारा आयोजित कार्यक्रममा माओवादी छापामारलाई सेनामा प्रवेश गराउन तिनले व्यक्तिगत योग्यता र मापदण्डअनुरुप आफूलाई प्रस्तुत गर्नुपर्छ भन्दै उनीहरूले पार्टी सदस्यतासमेत त्याग्नुपर्ने बताउनुभयो।
उहाँले माओवादी लडाकुको समायोजनका लागि छिट्टै विशेष समिति बन्ने जानकारी पनि दिनुभयो।
उहाँले संविधानसभामा प्रतिपक्ष नहुने बताउँदै नेपाली काङ्ग्रेसलाई त्यस्तो भूमिका नखेल्न आग्रह गर्नुभयो।
महासचिव खनालले माओवादी अङ्गरक्षकले संविधानसभा परिसरमा हतियार लिएर जानु विगतमा भएका सहमति र शान्तिसम्झौताविपरीत कार्य हो भन्दै माओवादी नेता र सभासद्ले अब त्यस्तो नहुने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय हैसियतले आफूलाई प्राप्त सहुलियतको दुरुपयोग गरेको ठहर गर्दै आयोग ऐन, २०४८ बमोजिम तत्कालीन वाग्मती अञ्चल प्रशासक शेखर गुरुङ र नारायणी अञ्चल प्रशासक प्रजापति कोइरालाबाट रु.पाँच-पाँच लाख तथा सेती अञ्चल प्रशासक कर्णबहादुर धिमालबाट रु. एक लाख भरिभराउ गर्न सरकारलाई लेखी पठाउने निर्णय गरेको छ।
तत्कालीन क्षेत्रीय प्रशासक जगदीश खड्का, रवीन्द्र चक्रवर्ती, छत्रविक्रम शाह, मृगेन्द्रकुमारसिँह यादव, गणेश सेरचन तथा अञ्चल प्रशासक श्यामकिशोरप्रसाद सिंह, रणबहादुर चन्द, रामकुमार सुब्बा, जनक जङ्गली, कुमारबहादुर कार्की, रामजी विष्ट, रामकृष्ण पन्त, ललितबहादुर थापा, मीनबहादुर पाल, उत्तमकुमार टमटा तथा महेन्द्रमान व्यथितको हकमा निजहरुले भ्रष्टाचारजन्य कसुर गरेको वा अनुचित कार्य गरी अख्तियार दुरुपयोग गरेको ठहरिने प्रमाणको अभाव देखिएकाले तामेलीमा राख्न निर्णय आयोगले गरेको छ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले दसैँपछाडि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी पेट्रोलियम पदार्थको सहज आपूर्ति गराउने बताउनुभएको छ।
सदभावना पार्टी रौतहटद्वारा आयोजित पत्रकार समेलनमा उहाँले अन्तरराष्ट्रिय बजारअनुरुप नेपालमा मूल्यवृद्धि भएमात्र निगम नाफामा जाने भएकाले दसैँपछाडि मूल्य समायोजन गरी रासनकार्डको व्यवस्था गरिनेछ भन्नुभयो।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पर्वत जिल्ला प्रशासन कार्यालयको पहलमा सबै राजनीतिक पार्टी सम्मिलित बैठकले यही असोज २ गतेदेखि लागु हुने गरी जिल्लालाई चक्काजाममुक्त क्षेत्र घोषणा गरेको छ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमीले यसको स्वागत गर्नुभएको छ।
नेपालले विश्वसामु आफ्नो पर्यटकीय पहिचान कायम राख्दै नयाँ नेपाल निर्माणको अभियान सफल बनाउन सबैखाले चक्काजाम र बन्दको सिलसिला अन्त्य गर्नुपर्छ भन्दै उहाँले जिल्लाका राजनीतिक दल, उद्यमी, व्यवसायी, नागरिक समाज तथा सबै सरोकारवाला क्षेत्रलाई पर्वत जिल्लाले जस्तै आ-आफ्नो जिल्लालाई चक्काजाम तथा बन्दमुक्त क्षेत्र घोषणा गरी नयाँ नेपाल निर्माणका लागि पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन मन्त्रालयका तर्फबाट अनुरोध गर्नुभएको छ।
सुरेश चामलिंग, न्यू योर्क / एचकेनेपाल डट कम -
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकार ठूलो क्रान्तिकारी आन्दोलनबाट आएको हुंदा असफल भएमा माओवादी मात्र असफल हुदैन राष्ट्र नै असफल हुने बताउनु भएको छ।
हाम्रो भाग्य, भविष्य यसैसंग जोडिएको हुनाले कसैले पनि संकीर्ण सोचाई लिनु नहुने बताउदै राष्ट्रलाई दुर्घटनाबाट जोगाउन आपसमा विश्वासको वातावरण आवश्यक रहेको बताउनु भयो। अमेरिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री प्रचण्डले आदिबासी जनजाति महासंघ अमेरिकालगायत बिभिन्न ७ वटा संघ संस्थाहरुद्वारा न्यू योर्कमा आयोजित कार्यक्रममा उक्त कुरा बताउनु भएको हो।
हामी राष्ट्र निर्माणको महान युगमा अगाडि बढि रहेका छौं, तर पनि यहाँ शंका छ। यो परिवर्तन हो कि होइन नेतृत्व सक्षम छ कि छैन? हुन पनि दस वर्षे जनयुद्धबाट शान्तिपूर्ण चुनावी राजनीतिमा आउनु आफैंमा जोखिम पूर्ण त छंदैछ तै पनि हामी सफलताको नजिक आई रहेका छौं। यसमा कंही रहलपहल कमी कमजोरी छन् भने सच्याउनु पर्छ उहाँले भन्नुभयो।
उहाँले चीन र भारत भ्रमणको प्रसंग कोट्याउनु हुँदै चीनलाई ल्हासाको रेल काठमांडूसम्म ल्याई दिन र भारतलाई मेचीदेखि महाकालीसम्म रेलमार्ग बनाई दिन आग्रह गरिएको बताउनुभयो। दुई सम्पन्न राष्ट्रको बीचमा हामी मात्र गरीब हुने हो भने त्यो चीन र भारतको लागि पनि हानिकारक हुन सक्छ। समृद्ध नेपाल, स्थिर नेपाल, लोकतान्त्रिक नेपाल मात्र राष्ट्रिय चासोको बिषय हो भन्ने कुरा दुबै देशलाई जानकारी दिइएको छ उहाँले भन्नुभयो। नेपालको बैधानिक राष्ट्रिय हितका लागि कहीं कतै नझुकी कुरा राखिएको समेत उहाँले बताउनु भयो। यसरी नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानको रक्षा भएको महशुस सायद इतिहासमा कहिले भएको थिएन उहाँले भन्नु भयो। उहाँले सगरमाथा अग्लो टाकुरो मात्र होइन मानव सभ्यताको धरोहर पनि हो, जडी बूटी, जलस्रोत र पर्यटन नेपाललाई धनी बनाउने साधन हुन् भन्नुभयो। यसको अधिकतम उपयोगले संसारकै धनी देशका रुपमा नेपाल हुन सक्ने बताउनु भयो। लडाईको बेला होस वा प्रधानमन्त्री हुंदा मैले यो बारेमा सोचिरहेको हुन्छु उहाँले भन्नु भयो।
सुविन बुढामगर, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
बडा दशैं २०६५ को सुखद उपलक्ष्यमा कोरियाका नेपाली समुदायले एक आपसमा शुभकामना आदान प्रदान गर्न “बडा दशैं शुभकामना साँझा” कार्यक्रमको आयोजना गरिने भएको छ।
कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक कला कौसलहरु प्रस्तुत गरिनेछ र साथै नेपालकी चर्चित नर्तकी रोमा न्यौपानेले आफ्नो बिशिष्ठ लोक तथा आधुनिक नृत्यहरु प्रस्तुत गर्नेछिन्। सेप्टेम्बर २६ देखि २८ सम्म कोरियाको जचङगुन क्युङनाममा सम्पन्न १९ औं एशियन मोनो ड्रामा फेस्टिबलमा नेपालको प्रतिनिधित्व गर्दै रोमा न्यौपाने कोरिया आएकी हुन्। मोनो ड्रामा फेस्टिबलमा नेपाल कोरियालगायत बिभिन्न १० राष्ट्रका कलाकारहरुको सहभागीता रहेको थियो।
बाल्यकालमा मोटर दुर्घटनामा परी एउटा खुट्टा पुरा गुमाएकी अपाङ्ग न्यौपानेको प्रस्तुती हेरेपछि धेरै कोरियाली दर्शकहरु भावुक भएका थिए। (रोमाको पूर्ण विवरणको लागि उनको ब्लग romaneupane.blogspot.com ) अपाङ्ग भएर पनि नृत्य कलामार्फत नेपाललाई चिनाउन कोरिया आएकी न्यौपानेलाई उनले गरेका प्रयासहरुको सराहना गर्दै कोरियामा रहेका नेपाली समुदायले “बडा दसैं शुभकामना साँझ” कार्यक्रममा कदर पत्रसहित सम्मान गर्ने भएको छ।
साथै उक्त बडादसैं शुभकामना साँझ कार्यक्रम आयोजना गर्न आतबार सिउलस्थित पोटला रेस्टुरेन्टमा भेला भएका बिभिन्न संघ संस्था तथा नागरिक समाजका अगुवाहरुको अनौपचारिक भेलाले १३ सदस्यीय कार्यक्रम आयोजक समिति गठन गरेको छ। समितिका सदस्यहरुको कार्य विभाजनलगायतका निर्णयहरु गरेको छ। अक्टोबर ४ तारिखका दिन योङ्गदम्पोको माउण्ट एभरेष्ट रेस्टुरेन्टमा साँझ सात बजे सुरु हुने उक्त कार्यक्रममा सहभागी हुन कोरियामा रहेका नेपाली समुदायलाई आयोजक समितीले हार्दिक अपिल गरेको छ। शुभकामना, मनोरन्जन, सम्मान तथा रात्रिभोज कार्यक्रमको लागि सिङ्गल इण्ट्रीको २० हजार वोन र डबल इण्ट्री (श्रीमान श्रीमती) ३० हजार वोन प्रबेश शुल्क राखिएको छ।
कार्यक्रमबाट संकलित सम्पूर्ण रकम अपाङ्ग कलाकार रोमा न्यौपानेलाई कोरियाबासी नेपाली समुदायको तर्फबाट प्रदान गरिने निर्णय गरिएको छ। रोमालाई सम्मान तथा सहयोग गर्न चाहने इच्छुक संघ संस्था तथा व्यक्तिहरुले समितिमा सम्पर्क राख्नसमेत आव्हान गरिएको छ। कार्यक्रममा सहभागी हुन इच्छुकहरुले आ- आफ्ना सम्बन्धित संस्था वा निम्न अनुसारका समितिका सदस्यहरु साम्राज्य बिक्रम पाण्डे ०१० ७२१४ २९९३, केपि सिटौला ०१७ ७६७ ५२४८, मनोज कार्की ०१० ४५०२ २०४३, नरेन्द्र गुरुङ ०११ ९३०९ २०८७, एलबी प्रधान ०१० ८२११ ८८४८, मदन केसि ०१० ३०३३ ८३९२, मिन जिसि ०१० ८९२६ १९७४, आनन्द गुरुङ ०१० २९१८ ३५६१, गगन पुन ०१० ५५९७ ०३७१, भरत गुरुङ ०१० ६८७४ ०३९२, प्रेम गुरुङ ०१० ३०४२ ७०२४, रघु त्रिपाठी ०१० २६०८ ३६८२, उमेश थापा ०१० ८६८८ ५८८२ लाई आगामी ३ तारिखसम्म आ- आफ्नो नाम दर्ता गराउन अनुरोध गरिएको छ।
एस, हङकङ / एचकेनेपाल डट कम, सेप्टेम्बर २८ -
‘मिस्टर हङकङ नेपाल २००८’ शारीरिक सुगठन प्रतियोगितामा यस वर्षको उपाधि लोकेन्द्र परियारले जितेका छन्। हङकङ नेपाल बडी बिल्डिङ एशोसियसनको आयोजनामा सेप्टेम्बर २८ तारिख आइतबार याउ मा तेइस्थित कम्युनिटीमा हलमा सम्पन्न प्रतियोगितामा १० जना प्रतिस्पर्धीलाई पछि पार्दै लोकेन्द्र परियारले ‘मिस्टर हङकङ नेपाल २००८’ को उपाधि जितेका हुन्। पोखराका ३४ वर्षीय परियारले प्रतियोगितामा बेस्ट पोजको उपाधिसमेत जिते। (more…)
सुविन वुढा मगर, द. कोरिया / एचकेनेपाल डट कम -
नेपाली सम्पर्क समिति कोरियाले विरामी अवस्थामा रहेका नेपाली कृष्ण खड्कालाई आर्थिक सहयोग प्रदान गरेको छ। समितिको विशेष पहलमा खड्कालाई ह्वागेसामार्फत सहयोग रकम ३११८००० वोन (३ हजार १ सय युएस डलर) प्राप्त भएको हो।
५ वर्षअघि रोजगारको सिलसिलामा कोरिया आइपुगेका खड्का काम गर्दा ढाडमा चोट लागेर नसामा असर परेका कारण खुट्टा नचलेको र हाल विरामी अवस्थामा रहेका छन्। ३१ वर्षीय खडका दाङ जिल्ला तुलसीपुरका निवासी हुन्। नेपाली सम्पर्क समितिका सचिव आनन्द गुरुङ र नेपाल वौद्ध परिवारका निवर्तमान अध्यक्ष नरेन्द्र गुरुङको उपस्थितिमा ह्वागेसाका सनिम लामा जङ म्यङले माउन्टेन टप रेष्टुरेन्टमा भेटी उक्त सहयोग रकम विरामी खड्कालाई प्रदान गरिएको थियो।
धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम, असोज १२ -
पोखरामा एकैसाथ ख्याति प्राप्त पप गायक गायिका देखिए। उनीहरु कुनै कर्न्र्सट कार्यक्रममा भने उपस्थिति भएका होइनन् । पप गायक सुगम पोखरेल, प्रिति कौर, मौसमी गुरुङ, मिङमा शेर्पा, दिनेश डिसी, सिपी लोहनीसँगै हास्य कलाकार निर्मल शर्माको जमघटले पोखरा विल्कुलै सांगीतिक बनेको थियो।
पोखराको पाँचतारे होटल फूलबारी एण्ड स्पामा शुभारम्भ भएको फुलबारी क्यासिनोको उद्घाटन समारोहमा कलाकारको उपस्थिति थियो। क्यासिनो उद्घाटन गर्ने क्रममा उनीहरुले गीत प्रस्तुत गर्दा क्यानिसो साँगीतिक स्थलको रुपमा परिणत हुन पुगेको थियो।
फूलबारी एण्ड स्पामा यसअघि सञ्चालित क्यासिनो पोखरा उपमहानगरपालिका १७ विरौटास्थित होटल ग्राण्डमा सरेपछि स्पा क्यासिनो विहीन बनेको थियो। लामो समयपछि फूलबारी रिसोर्टमा ‘क्यासिनो फूलबारी’ सञ्चालनमा ल्याइएको छ। क्यासिनोको ख्याति प्राप्त कलाकार माला सिन्हा र सीपी लोहनीले उद्घाटन गर्नुभएको थियो।
सीपी लोहनी र माला सिन्हा
क्यासिनोको उद्घाटनपछि मौसमीले ‘च्याङबा ओई च्याङबा’ बोलको गीतबाट क्यासिनोलाई नचाउने प्रयत्नमा जुटिन्। सबैले रुचाएको गीतबाट शुरुवातसँगै उनले थप दुईवटा गीत गाउँदै आफनो प्रस्तुती टुंग्याँउदै पालो दिइन् मिङमा शेर्पालाई।
शेर्पाले ‘नमूना बनाईदियौ पागल प्रेमीको’ गीतबाट शुरुवाती गरे। त्यसपछि प्रिति कौरले जब सन्ध्या हुन्छ भन्ने गीतलाई रिमिक्स भर्सनमा गाइदिइन्। सुगम पोखरेलले मेरो एउटा साथी छ भन्दै स्टेजमा गीत प्रस्तुत गर्दा क्यासिनोमा कार्यरत क्यासिनो गर्लहरुले उनलाई घेरेका थिए। गर्लहरुबाट घेरिएका उनले बीचबाटै आफनो प्रस्तुतीलाई विट मारेका थिए।
सांगीतिक कार्यक्रमसँगै स्थानीय कलाकारहरुले राति हट डान्स प्रस्तुत गरे भने पुरानो चलचित्र माइतीघरकै नायक नायिकाको प्रत्यक्ष उपस्थितिमा रिमिक्स डान्स प्रस्तुत गर्दा लोहनी र सिन्हाले तालीले स्वागत गरेका थिए। लोहनीले ४४ वर्षपछि पोखरा आएको प्रसंग उठाउँदै पोखरा सेरोफेरोको बहुचर्चित गीत ‘माछी काँडैले’ गाँउदा चार दशकअघिको पोखराको झझल्को दिलाएको थियो। माइतीघर चलचित्रको अधिकांश सुटिङ पोखरामा गरिएको थियो।
पोखराबाट धन बस्नेत, तस्वीरः सुदर्शन रन्जित, पोखरा / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वाम्बुले राई साहित्य प्रकाशनले ‘लिब्जु-भुम्जु पुरस्कार-२०६४’ कवि विद्रोही साइँला (मुम्चे राई)लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु-भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिकामा वर्षभर छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिँदै आएको छ ।
कोशकार अविनाथ राईको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले यो निर्णय गरेको हो । ‘लिब्जु-भुम्जु’ पूर्णाङ्क-३४ मा प्रकाशित ‘डिअवा क्रिइमा’ (दिमाग लगाऔं) शीर्षक कविता छनोट भएको हो । यो कवितामा प्रकृतिपूजक किराँतको परम्परागत मुन्धुम संस्कार र संस्कृतिलाई भुल्नेहरूलाई आफैंतर्फ फर्किन भनेको छ । यसैगरी मान्छेहरू चन्द्रमामाथि अवतरण भइसक्दा हामी ‘मद्यपान’मा अल्झिएर पछाडि परेका छौं भनिएको छ ।
ओखलढुंगाको उँबुमा जन्मिएका कवि विद्रोही साइँला सुनसरीको धरानमा रही डेढ दशकदेखि मातृभाषा वाम्बुले र नेपाली साहित्यमा साधनारत स्रष्टा हुन् ।
गीतकार तथा पत्रकार पुष्पहरि क्याम्पाराईद्वारा दस वर्षअघि स्थापित यस पुरस्कारको राशी नगद एक हजार र प्रमाणपत्र रहेको छ । यो वाम्बुले राई भाषा साहित्यका निम्ति स्थापित एकमात्र पुरस्कार हो ।
उक्त पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवाषिर्कीको अवसरमा आउँदो कात्तिक २ गते ओखलढुंगाको थाक्ले-८ हिलेपानी गाउँमा हुने ‘वाम्बुले राई भाषाको दशौं कविगोष्ठी-२०६५’ समारोहमा प्रदान गरिने छ । यो पुरस्कार हालसम्म कवि विरही विमल राई, रजन सुबुकु, शुभचन्द्र राई ‘सुवास’, प्रमोद दीनदुःखी राई, दुर्गा बैरागी राई र प्रकाशहरि क्याम्पाराईलाई प्रदान गरिएको छ ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बाँकेमा मधेसी जनअधिकार फोरमका दुई समूहबीच झडप भई विवाद उत्पन्न भएको छ । जिल्ला तहमा छलफल नै नगरी युवा फोरमको जिल्ला नेतृत्व चयन गर्न लागिएको भन्दै सर्बदेब ओझा तथा मोहम्मद इस्तियाक राय र सन्ध्यादेब समूहबिच झड्प भएको हो ।
माओबादी कार्यकर्ताको हत्या आरोपमा ११ महिनादेखि हिरासतमा रहेका युवा फोरमका जिल्ला अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष हिरालाल लोनिया मुक्त भएपछि मात्र कमिटी पुनगर्ठन गर्न माग गर्दै जिल्लाका युवा कार्यकर्ताले प्रशिक्षणका लागि बनाइएको मञ्च र कुर्सी तोडफोड गरेका थिए।
पार्टी सरकारमा रहँदा पनि कार्यकर्ता झुठो मुद्धामा कारागारमा जीवन ब्यतित गर्नुपरेकाले पार्टीलाई चेतावनी दिन आन्दोलनमा उत्रिएको युवा फोरम नेपालगञ्जका अध्यक्ष सन्तोषले बताउनुभयो ।
जिल्लास्तरीय कार्यकर्ताको बिरोधपछि सभाषदहरु इस्तियाक राय, सन्ध्या देब तथा युवा फोरमका केन्द्रीय पदाधिकारी कमिटी गठन नगरी बाहिरिएका थिए।