Archive for September 3rd, 2008

नेपाली जनसम्पर्क समिमितका सल्लाहकार चयन

एस, मेरिल्याण्ड / एचकेनेपाल डट कम -
नेपाली जनसम्पर्क समिति अमेरिकाको मेरिल्याण्ड च्याप्टरले पाँच जना सल्लाहकारको मनोनयन गरेको छ।

च्याप्टरको बैठकले पशुपति बन्जाडे, डा. चिन्तामणि लामिछाने, उमा शाह कार्की, गजेन्द्र अर्याल र जसमति गुरुङलाई सर्वसम्मतीबाट सल्लाहकारमा चयन गर्ने निर्णय गरेको जानकारी च्याप्टरका अध्यक्ष रामचन्द्र अधिकारीले दिनु भएको छ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको गत वर्ष कनेक्टीकटको हार्टफोर्डमा प्रथम अधिवेशन सम्पन्न भई विभिन्न राज्यमा च्याप्टर र संगठन विस्तार भईरहेको छ। मेरिल्याण्ड च्याप्टरका अध्यक्ष अधिकारीका अनुसार मनोनयन गरिएका सल्लाहकारहरुबाट नेपाली जनसम्पर्क समिति अमेरिकाको मेरिल्याण्ड च्याप्टरको कार्यक्रम र लक्ष्य सम्पादन गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।

Popularity: 15%

Add comment September 3rd, 2008

बेल्जियममा तीज कार्यक्रम भव्यताका साथ मनाइयो (+Photo)

एस, बेल्जियम / एचकेनेपाल डट कम -
हामी नेपाली, हाम्रो नेपाली परम्परा, कला र संस्कृति हाम्रो विशेषता भन्ने भावनाका साथ सोमबार नेपाली महिलाहरुको महान चाड हरितालिका (तीज) को उपलक्ष्यमा नेपाल बेल्जियम सांस्कृतिक समाजको तर्फबाट बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भव्यताका साथ सम्पन्न भयो।

बेल्जियमको एन्ट्वेर्पेन शहरमा आयोजना गरिएको सो कार्यक्रममा नेपाली दिदीबहिनीहरु परम्परा अनुसार आकर्षक रातो सारीको पहिरनमा नेपालमा जस्तै गरी नाच्दै गाउँदै तथा अन्य विभिन्न रमाइला र रोचक खेलहरुका साथ चिट्ठा पनि खोलिएको थियो।

कार्यक्रममा करीव ५ सय नेपाली महिला तथा पुरुषहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको शुरुमा उपस्थित सम्पूर्ण महिला दिदीबहिनी तथा दाजुभाईहरुलाई संस्थाको आंगनमा स्वागत गर्दै संस्थाका अध्यक्ष राजकुमार पुडासैनीले महिला दिदीबहीनीहरुलाई तीज पर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो।

संस्थाले विगतका वर्षहरु देखिनै बेल्जियममा वस्दै आएका महिला दिदीबहीनीहरुलाई माइतीको भूमिका निर्वाह गर्दै यस पटक पनि सोही अनुसारको कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भएको थियो। सोही अवसरमा गीत संगीत तथा विविध मनोरञ्जनका कार्यक्रमहरु संस्थाका सहसचिव रामचन्द्र सुवेदीले संयोजन गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा विभिन्न खेलहरुमा प्रथम, द्वितीय र तृतीय हुने महानुभावहरुलाई पुरस्कार वितरण गर्दै सो कार्यक्रममा आर्थिक तथा अन्य विविध पक्षबाट सहयोग गर्नुहुने व्यक्ति तथा संघ संस्थाहरुलाई कार्यक्रमका संयोजक मेघरास गुरुङले विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको अन्त्य गर्नु भएको थियो।


Popularity: 15%

Add comment September 3rd, 2008

दरबार हत्याकाण्डको फेरि छानबिन हुन्छः प्रम प्रचण्ड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको नयाँ ढंगले छानबिन हुनुपर्ने बताउनुभएको छ।

उहाँले सरकारको प्राथमिकता भनेको शान्ति प्रकियालाई निष्कर्षमा पुर्‍याउनु हो र यो प्रक्रियाको सुरुआत तीन महिनाभित्र गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री दाहालले उक्त प्रतिबद्धता बीबीसी नेपाली सेवाका रवीन्द्र मिश्रलाई दिनुभएको अन्तवार्तामा व्यक्त गर्नुभएको हो।

उहाँले अन्तर्वार्तामा शान्ति प्रक्रिया जनताले बुझ्ने र देख्ने गरी पुरा गर्ने धारणा व्यक्त गर्नुभयो।
प्रधानमन्त्री दाहालले संविधान निर्माणको प्रक्रियालाई तीन महिनाभित्र नयाँ गति दिने बताउँदै सरकारको नीति, कार्यक्रम र बजेटमार्फत् जनतालाई तत्काल राहत, दीर्घकालीन उद्देश्य र नयाँपनको अनुभूति तीन महिनाभित्र गराउनेछौँ भन्नुभयो।

सबै माओवादी नेताले व्यक्तिगत सम्पत्ति नराख्ने भनेर आफ्नो सबै सम्पत्ति पार्टीलाई दिएका थिए, प्रधानमन्त्रीको रुपमा तपाईँले पाउने तलब के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो-त्यो देश र जनताकै निम्ति हुन्छ। आजभन्दा सात वर्षअगाडि नै हामीले एउटा निर्णय गरेका थियौँ केन्द्रीय कमिटीको कोही पनि व्यक्तिले व्यक्तिगत सम्पत्ति नराख्ने भन्ने। त्यसकारण मेरो तलब पनि सामान्य भरणपोषणबाहेक पार्टी कोषमै जान्छ।

उहाँले जबसम्म कोही पनि सेना, प्रहरी अथवा कर्मचारी राष्ट्रको पक्षमा, नेपाली जनताको पक्षमा, लोकतन्त्र, शान्ति र परिवर्तनको पक्षमा इमान्दार रहन्छ, कसैले असुरक्षित महसुस गर्नुपर्दैन भन्दै कसैप्रति पनि पूर्वाग्रह नराखिने स्पष्ट गर्नुभयो।

आफ्ना लडाकुलाई कसरी मिलाउनुहुन्छ भन्ने एक अर्को प्रश्नको उत्तरमा प्रधानमन्त्री दाहालले भन्नुभयो - नेपालमा शान्तिप्रक्रिया आफ्नै मौलिक विशेषताअनुसार अघि बढेको छ , यो कसैको फोटोकपी वा यान्त्रिक नक्कल छैन,नेपाली विशेषताअनुसार,हामी आफ्नै सिर्जनात्मकतामा शान्तिप्रक्रियालाई एउटा नमुना बनाउन चाहिराखेका छौँ, मैले नेपाली सेनाका प्रमुखदेखि जति कमान्डरहरूसँग व्यवहार गरेको छु ,उहाँहरूमा पनि यो देशलाई शान्तिपूर्ण समृद्ध बनाउने प्रतिबद्धता र गम्भीर जिम्मेवारीबोध छ , हामीले एउटा वैज्ञानिक आधार खडा गरिसकेका छौँ भने यसलाई एउटा निष्कर्षा पुर्याउन सकिँदैन भन्ने मलाई लाग्दैन।

तपाईंलाई नेपाली सेनामा त्यत्रो धेरै विश्वास भए सुरुमै आफ्नो सुरक्षामा माओवादी सेना पनि खटाएर नेपाली सेनापति अविश्वास गरेजस्तो किन देखाएको त भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो - मैले देखाएकै हैन। नेपाली सेना, जनसेना, अथवा प्रहरी, सशस्त्र प्रहरी कसैप्रति मैले अलिकति पनि आशङ्का देखाउन चाहेको पनि हैन। अहिले नेपाली सेना र क्यान्टोन्मेन्टनमा रहेका जनसेना र मेरो सुरक्षामा भनेर दुई वर्षदेखि नयाँ बजारमा रहेका सशस्त्र प्रहरी र जनसेनाका कमाण्डर अथवा योद्धा सबै हामीसँगै बसिरहेको सर्न्दर्भमा यसलाई प्राविधिकरुपमा कसरी हल गर्ने भन्ने एउटा मुद्दा हो। कसैप्रति शङ्का वा कसैलाई हिम्युलियसन फिल नहोस्, जनसेनालाई पनि अब प्रधानमन्त्री भइसकेपछि हामी टुहुरा भयौँ भन्ने नहोस्, नेपाली सेनालाई पनि प्रधानमन्त्री अविश्वास गरेको हो किन भन्ने नपरोस, म यसमा असाध्यै बढी संवेदनशील छु। यहाँसम्म आइपुग्दा नेपाली सेनाले र क्यान्टोमेन्टमा रहेका र मेरो सुरक्षामा खटिएका जनसेनाले कुरा राम्रोसँग बुझिसकेका छन्। बडो जिम्मेवारी र इमान्दारीका साथ यो प्रक्रिया अगाडि बढेको छ।

उहाँले पूर्वराजालाई कहिलेसम्म नागार्जुन दरबारमा राख्ने भन्ने विषयमा छिट्टै मन्त्रिपरिषदमा छलफल गर्ने जानकारी पनि दिनुभयो।

दरबार हत्याकाण्डको छानबिन के फेरि गर्ने हो भन्ने प्रश्नको जवाफमा उहाँले यो विषय संविधान निर्माण प्रक्रियामा कहीँ न कहीँ उठ्छ र त्यसलाई नयाँ ढङ्गले लिनु पर्ने अवस्था आउँछ। किन कि जनताको मनमा दरबार हत्याकाण्डबारे अहिले पनि गम्भीर प्रश्न छन्। त्यसको चित्त बुझ्दो जवाफ पाएको छैन। त्यसकारण त्यसको गहिराइमा गएर छानबिन हुनुपर्छ भन्दै गृहयुद्धको परिस्थिति खुलेआम राजनीतिक उद्देश्यका साथ चलेको हो,जनआन्दोलन भन्नु र दरबार हत्याकाण्ड एउटै प्रकृतिको होइन, संविधानसभाको निर्वाचनमार्फ नेपाली जनताले त्यो द्वन्द्वको औचित्य सिद्ध गरिदियो तर दरबार हत्याकाण्डको औचित्य जनताले सिद्ध गरेको छ त कहीँ भन्ने प्रतिप्रश्न गर्नुभयो।

चीनमा ओलम्पिक खेलकुद नभएको भए पनि तपाईंले पहिलो विदेश भ्रमण चीनकै गर्नुहुन्थ्यो कि हुन्थेन भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो-यो काल्पनिक प्रश्न नगर्दा राम्रो हुन्छ। किनभने चीनमा ओलम्पिक भयो। हाम्रो आफ्नो छिमेकी देशमा भएको ओलम्पिक उद्घाटनमा पनि जान सकेनौँ। समापनमा पनि नजाँदा गल्ती हुन्छ भनेर म गएँ। अब त्यो नभएको भए के हुन्थ्यो भन्ने मलाई अहिले जति सहज भएको छ त्यही सहज हुन्थ्योजस्तो मलाई लाग्दैन।

सन् १९५० को नेपाल भारतको सन्धिको समीक्षाका सर्न्दर्भमा गरिएको प्रश्नमा उहाँले राणकालपछि ठूलठूला परिवर्तनको प्रकृया हुँदै अहिले नेपाल गणतन्त्रमा आइपुग्यो र हाम्रा सोच र भरातको सरकारका सोच नितान्त नयाँ ठाउँमा विकास भैसकेका छन्, त्यो परिस्थितिमा १९५० को सन्धिलाई स्पष्ट रुपमा पुनरावलोकन गरिनुपर्छ, त्यसलाई त्यही रुपमा राख्न नसकिने बताउनुभयो।

तपाईंले कान्तिपुर र काठमाडौँ पोस्टलाई दिएको अन्तर्वार्तामा हामी त महात्मा गान्धी बन्ने, राजनेता बन्ने सरकारमा नजाने भन्नुभएको थियो,तर सरकारमै जानकै लागि तपाईहरू असीनपसीन हुनुभयो भन्ने प्रश्नमा उहाँले यो सरकार नयाँ संविधान बनिसकेपछिको होइन। नेपालमा जबसम्म जनताको संविधान बनिसक्दैन, एउटा स्थिर र स्थायी स्थिति र सरकार बन्दैन तबसम्म नेपाली जनताको परिवर्तनको सङ्घर्ष जारी रहन्छ। त्यस अर्थमा परिवर्तित रुपमा यो सङ्घर्षको मोर्चामात्रै बदलिएको छ। संविधानसभाभित्र पनि बहस चल्छ। हामीले क्रान्ति सफल भयो र संविधान बनी स्थायी प्रक्रियामा देश गयो भने पछि एउटा नेता सरकारमा बसिरहनु पर्ने प्रधानमन्त्री वा राष्ट्रपति भइरहनु पर्छ भन्ने छैन भन्नुभयो।

तपाईंको सरकार कति टिक्ला जस्तो लाग्छ भन्ने प्रश्नमा भन्नुभयो- यो संविधान बनाउने र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउनेसम्म त टिक्छ, अब त्यति मात्रै हैन अर्को निर्वाचनमा हाम्रो स्पष्ट बहुमत आशा गर्छु दुई तिहाइ बहुमत नै आउँछ।

Popularity: 15%

1 comment September 3rd, 2008

प्रत्येक जिल्लामा सहर- मन्त्री किराँती

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संस्कृति तथा राज्य पुनःसंरचनामन्त्री गोपाल किराँतीले मुलुकलाई ८०० जिल्लामा विभाजन गरी वस्तीकेन्द्रित अभियानका साथ प्रत्येक जिल्लामा सहर बसालेर समृद्ध नयाँ नेपाल निर्माण गर्ने पक्षमा आफू रहेको बताउनुभएको छ।

मन्त्री किराँतीले जाति, क्षेत्र र भूगोलका आधारमा अघि बढ्ने सैद्धान्तिक सहमति भएबमोजिम जिल्ला विभाजन कार्य तिनै विषयमा केन्द्रित रहने जानकारी दिनुभयो।

पुनःसंरचना कार्यक्रमअर्न्तगत अहिलेका जिल्ला सदरमुकाम कायमै रहने र संभाव्यताका आधारमा बाँकी जिल्ला सदरमुकाम छनोट गरिने बताउँदै उहाँले भन्नुभयो- यससम्बन्धी ठोस अवधारणा ६ महिनाभित्रमा प्रस्तुत गरी बहसका लागि सार्वजनिक गरिने छ।

एक प्रश्नको जवाफमा मन्त्री किराँतीले गणतन्त्र दिवसबाहेक अन्य चार्डपर्व आफूले नमान्ने तर स्वतन्त्र भई आआफ्ना संस्कृति एवम् परम्पराबमोजिम चाडबाड मनाउने आम जनसमुदायलाई सम्मान गर्ने बताउनुभयो।

Popularity: 15%

2 comments September 3rd, 2008

पश्चिमी सीमा बन्द

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पश्चिमी नाका बनबासा टनकपुर ब्लकमा यही भदौ २५ गते सीमा बन्द हुने भएको छ।

सेप्टेम्बर १० तारिख (भदौ२५ गते) वनवासा टनकपुर ब्लकमा स्थानीय पञ्चायतको निर्वाचन हुने भएकाले भदौ २४ गते साँझदेखि भदौ २५ गते साँझसम्म सीमामा ओहरदोहर बन्द गर्ने निर्णय गरिएको छ।

नेपाल-भारतबीच सीमा क्षेत्र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ओझा र समकक्षी चम्फावतका डिएमको नेतृत्वमा बसेको सीमा सुरक्षासम्बन्धी बैठकले उक्त निर्णय गरेको हो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी ओझाका अनुसार निर्वाचनका कारण सीमाबन्द गरिने भएपनि एम्बुलेन्स र अन्य जरुरी कामका लागि खुला रहने छ।

केही समय पहिलेदेखि महेन्द्रनगर-वनवासा सडक खण्डमा सञ्चालन बन्द रहेका टाँगाहरु सेम्टेम्बर १५ तारिख (भदौ ३० गते)देखि पुनः सञ्चालनमा ल्याउने सहमति भएको प्रजिअ ओझाले बताउनुभयो।

Popularity: 15%

Add comment September 3rd, 2008

‘फेरी’ राखेर भए पनि वैकल्पिक मार्ग चलाइने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले सप्तकोसीका छेकबार (स्पर) भत्केर क्षतिग्रस्त भई अवरुद्ध पूर्वपश्चिम राजमार्गलाई तुरुन्तै मर्मतसम्भार गरी सञ्चालन गर्ने निर्णय गरेको छ।

सो सम्भव नभए वैकल्पिक मार्गको मर्मतसम्भार गरी सप्तकोसीको चतरामा तीनवटा ‘फेरी’राखेर यथासम्भव छिटो बाटो खुलाउने निर्णय भएको छ।

सप्तकोसीको वहावमा आएको परिवर्तनबाट भएको क्षति अरु बढ्न नदिन खतराको अवस्थामा रहेका छेकवार र तटबन्धको मर्मतसम्भारको कार्यमा तीव्रता ल्याउने, अस्थायी शिविर बनाई बसोबास गराइएका विस्थापितलाई अन्यत्र नै उपयुक्त स्थान खोजी गरी आवश्यक सङ्ख्यामा शिविर खडा गरी राहत वितरणलाई भरपर्दो बनाउने, उद्धार, राहत एवम् पुनःस्थापनासमेतका कार्यलाई योजनाबद्धरुपमा अगाडि बढाउने समेतका निर्णय भएका छन्।

Popularity: 14%

Add comment September 3rd, 2008

बाढीपीडितको शिक्षाप्रति चासो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
शिक्षामन्त्री रेणुकुमारी यादवले कोसी बाढीपीडित क्षेत्रका बालबालिकाको शैक्षिक व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ।

शिक्षामन्त्री यादवले कोसी नदीले प्रभावित पारेको क्षेत्रका पीडितको स्थलगत अवलोकनपछि जिल्ला शिक्षा कार्यालय सुनसरीको सभाकक्षमा आयोजित कार्यक्रममा सो निर्देशन दिनुभएको हो।

मन्त्री यादवले बाढीबाट विस्थापित भएर अस्थायी शिविरमा बसेका मुस्लिम समुदायको पर्व रोजाको अवधिमा उनीहरुको संस्कृतिअनुरुपको सुविधा उपलब्ध गराउने विषयमा पनि सरकार सम्वेदनशील रहेको बताउनुभयो।

सोही अवसरमा शिक्षासचिव बालानन्द पौडेलले बालबालिकाको शैक्षिक व्यवस्थापन मिलाउन मन्त्रालय सम्वेदनशील रहेको जानकारी दिनुभयो।

जिल्ला शिक्षा अधिकारी दीपक काफ्लेले कोसीप्रभावित १३ हजार र शिविरमा बसेका १७ हजार बालबालिकाको शैक्षिक व्यवस्थापन मिलाउनुपर्ने माग गर्नुभएको थियो।

Popularity: 14%

Add comment September 3rd, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2008
M T W T F S S
« Aug   Oct »
1234567
891011121314
15161718192021
22232425262728
2930  

Posts by Month

Posts by Category

More news....