एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कुवेतमा लिफ्टबाट झरेर मारिएकी मोरङ लेटाङकी २४ वर्षीया सुनिता राईको शव नेपाल फर्काउन कठिनाइ भएको छ।
कुवेतमा कार्यरत नेपालीहरुद्वारा सञ्चालित माउण्ट एभरेष्ट क्लबले कुवेतमा नेपाली राजदूतावास नभएको कारणले उनको शव नेपाल फिर्ता पठाउनका लागि समस्या आईपरेको जानकारी गराउँदै सहयोगका लागि आह्वान गरेको छ।
आफ्नो कोठाबाट बाहिर निस्कदा अचानक लिफ्ट बन्द भएको र अत्तालिएर लिफ्टबाट हामफाल्दा घटनास्थलमा नै उनको मृत्यु भएको थियो ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मध्यरातमा रक्सी खाई श्रीमतीलाई कुटपिट गरी आमालाई समेत घाइते बनाउने छोरालाई प्रहरीले हिरासतमा लिएको छ । बुधवार मध्यरातमा साँकोस-१ निवासी २१ वर्षीय कृष्णबहादुर परियारले रक्सी खाएर घरमा आई श्रीमतीलाई कुटपिट गर्दा छेक्न गएकी ५० वर्षीया आमालाई लडाएर घाइते बनाएका थिए ।
गाउँलेको सहयोगमा आमाको उपाचार गराउन धादिङ अस्पताल ल्याई पुर्याएका कृष्णबहादुर परियारलाई अनुसन्धानका लागि हिरासतमा राखी आमा मनकुमारीको थप उपचार गर्न काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।
मनकुमारीको भुडी फुटेर आन्द्रा नै बाहिर निस्केकोले उनको अवस्था गम्भीर रहेको छ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पूर्वअधिराजकुमार धीरेन्द्र शाहकी माइली छोरी शीताष्मासिंह शाहका पति अभिनेषसिंह शाहको भाइटीकाको दिन हाँडीगाउँस्थित आफ्नै निवासमा निधन भएको छ ।
वरिष्ठ पत्रकार आशासिंह शाहका जेठा छोरा अभिनेष ३३ वर्षका हुनुहुन्थ्यो ।
स्वर्गीय अभिनेषप्रति श्रद्धाञ्जलि अर्पण गर्न पूर्वराजा ज्ञानेन्द्रसहित पूर्व राजपरिवारका अन्य सदस्य हाँडीगाउँ पुग्नुभएको थियो ।
यसैगरी पूर्वयुवराज पारसले पनि स्व. शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उहाँ हिजै सिङ्गापुरबाट आइपुग्नु भएको थियो ।
स्वर्गीय अभिनेषको हिजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उहाँकी श्रीमती र एक छोरी छन् ।
गैह्र आवासीय नेपाली संघ बेल्जियमको विज्ञप्ति
स्वाभिमानी जनता भएर आफ्नै देशमा रमाउन पाउनु मानव जिवनमा पहिलो प्राथमिकता हो तर हामी विगतको नेपालको राज्य व्यबस्था र राजनैतिक अस्थिरताका कारण विदेशिन बाध्य भएका छौं। आज विदेशी भूमिमा भोग्नु परेको शारिरिक तथा मानसिक पीडाको अनुभबले आफ्नै मातृभूमिको याद दिलाउनु स्वभाविक नै बन्न गएको छ।
नेपाली जनतामा सृजित राजनैतिक चेतना र आप्रवासी नेपालीहरुमा देशप्रतिको माया बढ्दै जाँदा परिवर्तनको आबश्यकता महशुस भइ सबै राजनैतिक शक्ति र नेपाली जनताको त्याग र बलिदानीले नयाँ आधारमा नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्यको निर्माणमा अगाडि बढिरहेको छ। नेपाली जनचाहना अनुसारको राज्य ब्यवस्था कायम गर्न विगत लामो समयदेखि चल्दै आएको आन्दोलन र आप्रवासीहरुसँग जागेको नयाँ जागरणले आज हामी नयाँ नेपालको नौलो अनुहार सिगार्ने शुभ अवसरमा कम्मर कसेर लाग्ने मौका पाएका छौं।
विविध कारणले विदेशिएका नेपालीहरु वास्तविक नयाँ नेपालको विकासको लागि प्रवासमा रहेर पनि देशको राजनैतिक, सामाजिक, आर्थिक गतिविधिहरुमा सहयोग गर्नु जरुरी सम्झेर विदेशी भूमि मै विभिन्न नामहरुबाट नेपालीहरु संगठित हुने प्रकृयाको थालनी भएका छन्। यसै सिलशसिलामा स्थापित गैह्र आवासीय नेपाली संघ आफ्नो स्थापनाको पाँच वर्ष कार्यकाल हुँदा नहुँदै ४५ भन्दा बढी देशमा संगठनको निर्माण गरिसकेको छ।
युरोपको राजधानी भनेर चिनिनॆ बेल्जियममा पनि यो सँस्था सन् २००६ मा स्थापित भइ आफ्नो एक कार्यकाल पूरा गरेको छ। शुरुका दिनमा कार्य सञ्चालन पद्धतिमा भएका जटिलताले गतिशिलतामा कमी रहे पनि आज यो सँस्था प्रजातान्त्रिक प्रक्रियाबाट नेपालीबीच स्थापित हुन सक्नुलाइ उपलब्धीको रुपमा लिनु पर्दछ। बेल्जियम स्थित नेपालीभाषी समुदायबीच चर्चामा रहिरहेको यो सँस्था यहाँको चाहना अनुरुप दोश्रो अधिबेशन र चुनावी प्रकृयाबाट २१ सदस्यीय नयाँ निर्वाचित कार्यसमिति बन्न सफल भएको छ। चुनावी प्रकृयामा उपस्थित कुल सदस्य संख्याको ८१।१६% सदस्य संख्याले नव निर्वाचित कार्य समितिलाई नेपालको पुरानो सामन्ती संरचनालाई आजको बैज्ञानिक युगमा मेल खाने तरिकाले परिमार्जित गर्दै नयाँ नेपालको निर्माणमा सक्दो सहयोग गर्न तथा बेल्जियमको बसाईमा हुने गरेका र भएका स्थानीय समस्या हल गर्न गहन जिम्मेवारी सुम्पेको छ।
नव निर्वाचित कार्य समितिले भोलिका दिनमा नयाँ ढङ्गबाट यो सँस्था मार्फत स्थानीय समस्याको हल गर्ने प्रयास गर्दै यहाँको स्थानीय निकाय संग हातेमालो गर्ने विभिन्न नेपाली कला संस्कृति तथा खेलकुद आदि क्षेत्रलाई समेत सँगसंगै विकास गर्दै लाने नयाँ नेपालको निर्माणमा सेवामूलक योजनाको तर्जुमा गर्ने नयाँ नेपालको संघिय लोकतान्त्रिक गणतान्त्रिक उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायमा सक्दो प्रचार प्रसार गर्ने अन्तर्राष्ट्रिय समुदाय तथा ब्यक्तिहरुलाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने नेपालको प्राकृतिक सौन्दर्यता तथा साँस्कृतिक विविधतालाई विभिन्न माध्यम मार्फत अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गरी संस्थागत तथा ब्यबसायिक रुपमा अत्यधिक पर्यटक नेपाल भित्र्याउने नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत रहेर बेल्जियमवासी नेपाली समुदायलाई सामूहिक तथा ब्यक्तिगत रुपमा पब्लिक प्राइभेट पार्टनरशीप ब्यबसायिक योजनामा सहभागी गराउने आफूसँग भएको सीप क्षमता र आर्थिक शक्तिलाई समूहगत रुपमा देशमा लगानी गर्ने खालका योजना अगाडि ल्याउने जस्ता विविध विषयहरुमा आफ्नो काम शुरु गर्ने अभियानमा लागेको छ।
विगतका कार्यविधिहरुको मुल्याङ्कन र समिक्षा गर्दै आगामी दिनमा शसक्त रुपमा अगाडी बढ्न कार्यविभाजनसहित सम्पन्न यही १९ अक्टोबरको पहिलो परिचयात्मक बैठक सौहार्द्र वातावरणमा सम्पन्न भएको छ। हरेक वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई समेट्दै आफ्ना गतिविधी अगाडी बढाउन कटिबद्ध यो कार्य समितिलाई बेल्जियमस्थित सम्पूर्ण प्रगतिशील प्रजातान्त्रिक नेपाली संघ सँस्था, संगठन, बुद्धिजिवी तथा समुदायको सहयोगको अपेक्षा राखेको छ। हामी सबैको यो साझा सँस्था सम्पूर्ण बेल्जियमवासी नेपाली भाषीहरुका लागि महत्वपूर्ण भएकाले आगामी दिनमा ब्यक्तिगत स्वार्थ र प्रतिशोधको भावना त्यागी निस्वार्थ भावनाले सक्दो निरन्तर सहयोग गर्न हामी सम्पूर्ण नेपालीभाषी समुदायमा हार्दिक आव्हान समेत गर्दछौं।
अन्तमा गैर आवासीय नेपाली सँघ बेल्जियमबारे केही सञ्चार माध्यमहरुले गलत प्रचारप्रसार गरिरहेको हुँदा हामी सञ्चारकर्मी मित्रहरुमा यथार्थताको धरातलमा रही समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछौँ। साथै हाम्रो आधिकारिक सञ्चार माध्यम www. nrnbelgium.be मार्फत हाम्रा गतिबिधीहरु सार्वजनिक हुने जानकारी गराउँदै हिन्दू धर्मालम्बीहरुको महान पर्व २०६५ को शुभ दिपावलीको पुनित अवसरमा सुख, समृद्धि एबं दीर्घायूको कामना।
अध्यक्ष
पेम्बा गेल्बु शेर्पा
मितिः २८ अक्टोबर २००८
सुविन बुढा मगर, द. कोरिया / एचकेनेपाल डट कम -
नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य एवम् बिदेश बिभाग प्रमुख सीपी गजुरेल र कोरियाका पूर्व राष्ट्रपति उम्मेदवार लि ह्वे छाङबीच कोरियाको संसद भवनमा बुधवार एक मैत्रीपूर्ण भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
ग्राण्ड नेशनल पार्टी ह्यानराका संस्थापक तथा हाल स्वतन्त्र पार्टी लिवर्टी फर्वाड पार्टीका संस्थापक एवम् कोरियाका सम्पूर्ण राजनैतिक दलहरुका लिडर समेत रहनु भएका नेता लि ह्वे छाङ र क. सी पी गजुरेल बीचको उक्त राजनैतिक भेटघाट कार्यक्रममा सीपी गजुरेलद्धारा नेकपा माओवादीका कारण नेपालमा राजनैतिक परिवर्तन भएको र हाल नेकपा माओवादीको नेतृत्वमा प्रमुख जिम्मेवारी वहन गरी नेपालको ऐतिहासिक संविधान निर्माणमा जुटेको कुरा उल्लेख गर्नुभएको थियो।
त्यसैगरि नेता गजुरेलले नेपालको राजनैतिक आर्थिक बिकासको निमित्त कोरियाको भूमिका महत्वपुर्ण हुने र निरन्तर सहयोगको अपेक्षा रहने कुरा बताउनु भएको थियो। कोरियन नेता लि ह्वे छाङले नेपालको बिकासको निम्ति कोरियाको तर्फबाट जुनसुकै आर्थिक र राजनैतिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुका साथै नॆपालमा हालै भएको राजनैतिक परिवर्तन आफू र आफ्नो पार्टीलाई स्वीकार योग्य भएको कुरा ब्यक्त गर्नु भएको थियो।
लगभग ४० मिनेट जतिको छलफल भएको उक्त भेटघाटका क्रममा नेता लि ह्वे छाङले नेपालमा राजतन्त्रको अन्त्य बारे जिज्ञासा पोख्नु भएको थियो र एकपटक जसरी पनि आफू नेपाल घुम्न जाने ईच्छा भएको कुराको खुलासा गर्नु भएको थियो। नेता लि ह्वे छाङको उक्त ईच्छालाई आत्मसात गर्दै कमरेड सी पी गजुरेलले “तपाईलाई नेपालमा हृदयदेखि स्वागत गर्दछौं” भन्नु भएको थियो।
तस्वीरः सुविन बुढा मगर, द. कोरिया / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्।
भेटघाट कार्यक्रममा नेता सीपी गजुरेलका साथ नेपाली जनअधिकार मञ्च, दक्षिण कोरियाका सल्लाहकार गगन पुन, एनआरएन कोरियाका सहसचिव बिनोद कुंवरको पनि उपस्थिति रहेको थियो। सो भेटघाट कार्यक्रम नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सदस्य सुबिन्द्र बुढा मगरद्धारा मिलाइएको थियो।
नेता सीपी गजुरेल नेकपा माओवादीका भातृ संगठन नेपाली जनअधिकार मञ्च, दक्षिण कोरियाको प्रथम अधिवेशनलाई संवोधन गर्ने क्रममा दक्षिण कोरिया आउनु भएको थियो।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सरकार वार्ता गर्न तयार रहे पनि तराईमा सशस्त्र सङ्घर्षरत समूहले अझै आपराधिक क्रियाकलाप जारी राखेकाले वार्ताप्रक्रिया अघि बढ्न नसकेको बताउनुभएको छ।
सरकारले वार्ताटोली बनाई वार्ताप्रक्रिया सुरु गरिसकेको बताउँदै उहाँले तराईका सशस्त्र समूहले अझै चन्दा, अपहरण, लुटपाट, धम्कीजस्ता आपराधिक क्रियाकलाप जारी राखेकाले वार्ताप्रक्रिया अघि बढाउन कठिनाइ भएको स्पष्ट गर्नुभयो।
सप्तकोसी बाढीपीडित विस्थापितहरुको सप्तरीको भारदहस्थित शिविरको निरीक्षण तथा पीडितहरुको अवस्थाबारे जानकारी लिइसकेपछि गृहमन्त्री गौतमले स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै सेना समायोजन शान्तिप्रक्रियाको अभिन्न अङ्ग भएकाले यसमा काङ्ग्रेसले विरोध गर्न नहुने बताउनुभयो।
सरकारद्वारा गठित सेना समायोजन विशेष समितिका संयोजकसमेत रहनुभएका गौतमले सेना समायोजन प्रक्रिया केही दिनभित्रै सुरु हुने जानकारी दिँदै सेना समायोजनको विरोध गर्दैआएको काङ्ग्रेसलाई सहमतिमा ल्याउने प्रयास द्रुतगतिमा भइरहेको बताउनुभयो।
उपप्रधानमन्त्रीसँगै बाढीपीडित शिविरको निरीक्षण गर्न आउनुभएका परराष्ट्रमन्त्री उपेन्द्र यादवले तराईमा राजनीतिक माग लिएर सशस्त्र सङ्घर्ष गरिरहेका समूहसँग मात्र वार्ता गर्नुपर्ने बताउनुभयो।
निरीक्षणका क्रममा मन्त्री यादवले बाढीपीडितहरुलाई चाँडै जाडोको लुगा, थप औषधि, पौष्टिक आहारलगायतका राहतसामग्री पठाउने आश्वासन दिनुभयो।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तिहारको पाँचौ तथा अन्तिम दिन घर घरमा भाइटीका मनाईदैछ। नेपाल ज्योतिष परिषद्को बैठकले यस पटक भाइटीकाको साइत २०६५ साल कात्तिक १४ गते बिहीबार दिनको ११४५ बजेदेखि ११५५ बजेभित्र सर्वोत्तम भएको ठहर गरेको छ। व्यबहारिक समस्या हेरेर आज अरु जुनसुकै समयमा पनि टीका लगाउन अनुकुल रहेको बताइएको छ।
भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाईको सुख, समृद्धि तथा दीर्घायुको कामनासहित निधारमा सप्तरङ्गी टीका, सयपत्री र गोदावरीको माला लगाई दिइ सगुन, मिठाइ, फलफूल, ओखर, कटुसका साथै सेलरोटी दिने चलन छ। दिदीबहिनीले टिका लगाई दिएपछि दाजुभाईले गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गरिन्छ।
दिदीबहिनीले टीका लगाइदिंदा बिधी अनुसार मण्डप बनाई अष्टचिरिञ्जीविको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलिने दुबो, मखमली र सयपत्री फूलको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्छन्।
सत्ययुगमा आजको दिन बहिनी यमूनाले दाजु यमराजलाई निम्ता गरी पूजाआजाका साथ विभिन्न प्रकारको खानेकुरा ख्वाएको भन्ने किवंदन्ती छ। किवंदन्तीका अनुसार यमूनाको आतिथ्यबाट खुशी भै यमूनाको इच्छा अनुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाईले परस्परमा पूजाआजा गरी इच्छासिद्धी गर्न पाउन् भने यमराजले बरदान दिएको बताइन्छ। त्यसै बेलादेखि कार्तिक शुक्ल द्धितीयका दिन भाइटीका मनाईने परम्परा बस्दै आएको बताईन्छ।
अरुण घिमिरे, अस्ट्रिया / एचकेनेपाल डट कम -
नेपालीको दोश्रो ठूलो महान चाड तिहारको शुभ अवसरमा नेपाली जनप्रगतिशील शान्ति समाज अस्ट्रियाले राजधानी भियानमा लक्ष्मी पूजाको दिन दीपावली साँझको आयोजना गरी भब्यताका साथ मनाइयो।
संस्थाका अध्यक्ष तथा संयुक्त नेपाली मोर्चाका सदस्य धर्मंराज खतिवडाको सभपतित्वमा सम्पन्न भएको कार्यक्रमलाई सोही संस्थाका उपाध्यक्ष गणेश प्रसाईंले कार्यक्रम हेर्न ओइरो लागेका नेपाली तथा बिदेशी पहुनाहरुलाई स्वागत गरेका थिए। एनआरएनका कार्यवाहक अध्यक्ष होमबहादुर हमाल, नेपाली सामाजिक तथा सांकृतिक समाजका अध्यक्ष दीपक मल्ल, जनजाति सरोकारका अध्यक्ष मिलन सुब्बा, पि.डी.एच.का संयोजक चिरंजीवि खडकालाई सभापति खतिवडाले फूलको माला पहिराई अतिथिको आशन ग्रहण गराएका थिए। अतिथिहरू र आयोजक सागर सुबेदीको मन्तब्यपछि कार्यक्रमका सञ्चालक बुद्धिबहादुर तामाङले सांस्कृतिक कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो। संस्थाका कलाकार समूहका अध्यक्ष ओम ढकाल, सानु, कल्पना पौडेललगायतका कलाकारहरुले नेपाली तथा हिन्दी गीतमा नृत्य गरेर दर्शकको मन आकर्षित गरेका थिए। उल्लेख्य संख्यामा उपस्थित दर्शाकले हिमालयन रेस्टुरेंटका मालिक तथा संस्थाका सल्लाहकार भीम मल्लको स्वादिष्ट नेपाली खानालाइ खुब तारिफ़ गरेका थिए।
अन्त्यमा संस्थाका अध्यक्ष तथा समारोहका सभापति धर्मंराज खतिवडाले बिभिन्न कारणले बिदेशिन बाध्य नेपालीहरु, अस्ट्रियामा रहेका बिभिन्न संघ सस्थाहरु, जनजाति, महिला बिद्यार्थी तथा बुद्धिजीविहरु समक्ष अब नेपालमा हुन गई रहेको आर्थिक क्रान्ति र जनमुखी तथा क्रांतिकारी संबिधान निर्माण गर्न यथासक्य सहयोग गर्न सम्पूर्ण स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुसंग अनुरोध गर्दै दीपावली साँझको समापन गरेका थिए।
उत्तमबाबु श्रेष्ठ, बोष्टन / एचकेनेपाल डट कम -
अमेरिकामा वसोवास गर्ने नेपालीहरुले बिभिन्न बाजा गाजाका साथ गीतहरु गाँउदै नेपालीहरुको घर घरमा पुगेर देउसी भैलो खेलेर यसपालीको तिहार मनाए।
बोष्टनमा नेपालीहरुको साझा संस्था ग्रेटर वोष्टन नेपाली कम्युनिटीले उक्त देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो। देउसी भैलोलाई वोष्टनमा वसोवास गर्ने स्थानीय कलाकारहरुले सहयोग गरेका थिए। नेपालीहरु वसोवास गर्ने स्थानीय टाउनहरु वेलमोन्ट, आर्लिङ्गटन, समरभिल क्षेत्र वरपर देउसी भैलो खेलिएको थियो। समरभिल क्षेत्रको लागि समरभिलको स्थानीय टेलिभिजनको स्टुडियोमा खेलिएको उक्त देउसी भैलोलाई त्यहाँको स्थानीय टेलिभिजन च्यानलहरुले प्रसारण समेत गरेका थिए। संस्थाले यसरी देउसी भैलो कार्यक्रम विगत केहि वर्षदेखि निरन्तर गर्दै आइरहेको छ।
मस्को, रसिया / एचकेनेपाल डट कम -
अनेसास मस्को च्याप्टर र स्वतन्त्र नेपाल (फ्री नेपाल डट कम) को संयुक्त आयोजनामा मस्कोबासी नेपालीहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेकै दिन लक्ष्मी पूजाका शुभमुहूर्तमा महाकवि देवकोटाको शतवार्षिकी कविता गोष्ठीको आयोजना गरी भव्यताका साथ मनाएका छन्।
रुसी प्रदर्शनी केन्द्रभित्र सम्पन्न भएको उक्त समारोहमा विभिन्न संघसंगठनका साहित्यप्रेमीहरुको सक्रिय सहभागिता रहेको थियो। अनेसास मस्को च्याप्टरका अध्यक्ष एवं स्वतन्त्र नेपालका प्रधानसम्पादक डा. मधु माधुर्यले उद्घोषणमा गर्नु भएको उक्त कार्यक्रममा सभापतित्व गर्नु भएका बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठले महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा फूलमाला अर्पण र एनआरएन एनसीसी रसियाका केन्द्रीय प्रतिनिधि जीवा लामिछानेले दीप प्रज्वलन गरी सुरु गरिएको थियो। त्यसपछि उपस्थित एनआरएन एनसीसी रसियाका पदाधिकारी, नारी निकुञ्जका प्रतिनिधिहरु छात्र संघका प्रतिनिधिहरु, रुसी लेखक संघका प्रतिनिधि डा. म्याक्सिम देबायव, रुस नेपाल वाणिज्य संघका प्रतिनिधिहरुले पालैपालो महाकवि देवकोटाको सम्मानमा पुष्पअर्पण गरेका थिए।
महाकवि देवकोटाप्रति श्रद्धाञ्जलि कविता बाचन गर्नेहरुमा क्रमशः डा. मधु माधुर्य, दामोदर बस्याल, सरस्वती खतिवडा, विमला बस्याल हुनुहुन्थ्यो भने देवकोटा जयन्तीको महत्व, कविको अमूल्य देन र नेपाली भाषासाहित्यको विकासबारे बोल्नुहुने वक्ताहरुमा एनआरएन केन्द्रीय सदस्य जीवा लामिछाने, एनआरएन एनसीसी रसियाका अध्यक्ष डा. मणिराज पोखरेल, नेपालका शुभचिन्तक कवि म्याक्सिम देबायव, एनआरएन एनसीसी रसियाका महासचिव डा. बद्री केसी, एनआरएन रसियाका उपाध्यक्ष सन्तोष केसी, एनआरएन एनसीसीकै प्रतिनिधि गोविन्द गौतमलगायत हुनुहुन्थ्यो भने रुसमा देवकोटा चित्रण गर्नु हुने मूल वक्ताका रुपमा बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ हुनुहुन्थ्यो। प्रायः सबैजसो वक्ताहरुले देवकोटाका कविताहरु बाचन गर्नुभएको थियो।
फ्री नेपाल डट कमको प्रीन्ट संस्करण ‘नेपालबाहिर नेपाली साहित्य’ को यूरोप विशेषांक प्रकाशनका लागि डा. मधु माधुर्यले यूरोपका सबै साहित्यप्रेमीहरुलाई स्तरीय साहित्यिक रचनाको लागि आव्हान गर्नुभएको थियो।
साहित्यिक गोष्ठीको औपचारिक कार्यक्रम सम्पन्न भएपछि अनेसास मस्को च्याप्टरको नयाँ कार्यसमिति चयनका लागि भएको
खुला छलफलको निष्कर्षमा डा. मधु माधुर्यको अध्यक्षतामा अनेसास मस्को च्याप्टर गठन गर्ने निर्णय भएकोछ। सात सदस्यीय सो समितिको सल्लाहकारमा बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ, जीवा लामिछाने, शम्भु रिजाल रहनु भएको छ। समितिको उपाध्यक्षमा सरस्वती खतिवडा, सचिवमा दामोदर बस्याल, कोषाध्यक्षमा डिल्ली खरेल सुमन र सदस्यहरुमा क्रमशः गोविन्दप्रसाद गौतम, राजकुमार मण्डल र बलराम आचार्य रहनु भएको छ।
अन्त्यमा नवगठित अनेसासको मस्को च्याप्टरका पदाधिकारीहरुलाई बधाई दिईसकेपछि कार्यक्रम विसर्जन गरिएको थियो। उक्त कार्यक्रम सफल पार्नका लागि सक्रिय योगदान दिने स्वतन्त्र नेपालका संयोजक शम्भु रिजाल, राजकुमार मण्डल, गणेश रामदाम, अनमोल कम्पनीका तर्फबाट डा. बद्री केसी र गण्डकी इन्टरनेशनलका तर्फबाट सन्तोष केसीप्रति आयोजकका तर्फबाट धन्यवाद अर्पण गर्दै कार्यक्रम समापन गरिएको थियो।
- हरिप्रसाद पोखरेल
प्रहरीले नभेटाएका अभियुक्त मन्त्रीको अघिपछि भन्ने नेपालको समाचारले नयाँ नेपालमा पनि अपराधीलाई राज्यले संरक्षण गर्दोरहेछ भन्ने कुराको बोध गराएको छ। रामहरि हत्याकाण्डका अभियुक्त कालीबहादुर खामलाई मंगलबार साँझ रक्षामन्त्री रामबहादर थापा बादलले चितवन जिल्ला प्रशासन कार्यालयमै जिल्लाका उच्च सुरक्षा निकायलाई चनौती दिदै दर्शनभेट दिएका छन्। (more…)
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
महान् चाड तिहारको चौथो दिन आज देशभर परम्पराअनुसार गोबर्धन पूजा, गाईपूजा गोरुपूजा र म्हःपूजा गरिँदै छ।
आज आ-आफ्नो आँगनमा लिपपोत गरी गोबर्द्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोबर्धन पूजा गरिन्छ।
द्वापरयुगमा कृष्णले आफ्नै हातले गोबर्द्धन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसैबेलादेखि गोबर्द्धन पर्वतको पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास छ।
आजै हिन्दु धर्मअनुसार अति पवित्र मानिने गाईपूजा गरिन्छ।
मानव जीवनमा गाईको दूधलाई पोषण तत्वको रूपमा लिइनुका साथै विभिन्न धार्मिक कार्यमा यसको गहुँत र गोबर पनि प्रयोग गरिन्छ।
यसैगरी वर्षभरी हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ।
यस्तै आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ।
संसारमा सबैभन्दा ठूलो आत्मा हो। आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता रहेको पाइन्छ।
आनन्द श्रेष्ठ, धरान / एचकेनेपाल डट कम -
नयाँ संविधान निर्माणक्रममा जनताको सहभागिता कहानेर आवश्यक हुन्छ ? के नया संविधान सभासदहरुको चाहना अनुसार हुन्छ कि जनताको पनि त्यहाँ सहभागिता हुन्छ ? यो प्रश्न हामी माझ अहिले कौतुहल बनेर बसेको छ। केही जनता नयाँ बन्न लागेको संविधानमा आफ्नो हक अधिकार सुनिश्चित हुन्छ भनेर ढुक्क छन् भने कोही आफ्नो मौलिक पहिचानलाई कसरी जोगाउने भन्ने चिन्तामा छन्।
तस्वीरः आनन्द श्रेष्ठ, धरान / एचकेनेपाल डट कम
यस्तै जिज्ञासालाई समेट्न अनाम धरानले यतिबेला सडक नाटकमार्फत् सुनसरी जिल्लामा विशेष अभियान सञ्चालन गरेको छ। अनाम धरान र आरोहण समूह काठमाडौको आयोजनामा सञ्चालित अभियानमा संविधानसभाको तयारी र यसको निष्कर्षका बारेमा जनतालाई घरदैलोमा पुगेर जानकारी गराउनु रहेको छ। यो पूर्वाञ्चलको १६ वटा जिल्लामा भिन्न भिन्नै नाटय संस्थाका कलाकारहरुले भिन्न भिन्नै पाराले देखाउने छन्। ‘नाटकको अन्यमा दर्शकहरुवाट संकलन भएका प्रत्यक्ष सुझावलाई चालु संसदमा लगेर वुझाउने छौ। झण्डै ४ लाख सुझाव पत्रहरु संकलन हुने हाम्रो अनुमान छ’ - कलाकार सुनिल पोख्रेल वताउछन्।
अनाम धरानका निर्देशक राजेन्द्र रिमालका अनुसार दुई साता लामो प्रदर्शनकोक्रममा सुनसरीका २० वटा गाउँ विकास समिति र इनरुवा, इटहरी र धरान तीनैवटा नगरपलिकामा नाटक प्रस्तुत गरिने छ। राजेन्द्र रिमालको निर्देशनमा प्रदर्शनमा रहेको सडक नाटक कार्तिक ३ गते सुनसरीको ग्रामिण क्षेत्र सिंघिया गाउँवाट एक समारोह बीच सुनसरी क्षेत्र नं १ का सभासद किरणकुमार र्राई र आरोहणका वरिष्ठ कलाकार सुनिल पोख्रेलको विशेष उपस्थितिमा प्रदर्शन गरियो।
नाटकमा माघ १९ को कदमपछि राजा ज्ञानेन्द्रले गरेका विभिन्न थिचोमिचो तथा जनताले सञ्चालन गरेको आन्दोलन र माओवादी तथा अन्य दलहरुको योजनाका बारेमा पेचिलो प्रस्तुती रहेको छ। नाटकमा सुरज थापा, सुवास थापा, राजेन्द्र रिमाल, सुलभ गजमेर, कुमार श्रेष्ठ, अल्पना कर्माचार्य, विमला श्रेष्ठ, विमला श्रेष्ठ, विक्रम बराल, उमेश श्रेष्ठ र सागर सुब्बालगायतले अभिनय गरेका छन्।
नारायण न्यौपाने/रासस आलेख
गरिबीको कारण नभई तत्कालीन राणाशासक र अङ्ग्रेजले सोझा जनजातिलाई प्रयोग गरी आफ्नो स्वार्थ पूरा गर्न ब्रिटिस गोर्खा सैनिकको अवधारणा ल्याएको बताइएको छ ।
ब्रिटिस गोर्खा भूपू सैनिक सङ्घद्वारा बुटवलमा आयोजित जानकारी सभामा सहभागी वक्ताहरूले राणाशासकले सत्ता टिकाइराख्न र बेलायतले आफ्नो साम्राज्य बिस्तार गर्न सिन्किको मूल्यमा सोझा जनजाति नेपालीको खरिद बिक्रीको थालनी गरिएको दाबी गर्नुभयो ।
नेपालको जनसङ्ख्या ३० लाखको हाराहारीमा हुँदा दुई लाख ५५ हजार जनासम्म नेपालीलाई ब्रिटिस गोर्खामा भर्ना गरी ठूलठूला युद्धमा पठाएको चर्चा गर्दै वक्ताहरूले बेलायतको काम सकिएपछि एक्कासि भर्नामा कटौती हुनुले त्यस कुरालाई पुष्टि गरेको छ भन्नुभयो ।
बेलायतका लागि धेरै नेपालीले गोर्खा सैनिकमा रहेर बलिदान दिए पनि सेवा, सुविधा र अवसरमा लामो समयसम्म विभेद गरिएपछि अन्यायका विरुद्ध कानुनी तवरले अगाडि बढ्नर्ुपर्ने बाध्यतामा परेको उनीहरूले बताउनुभयो ।
बेलायती जनता र न्यायालय गोर्खाको पक्षमा रहेकाले कानुनी लडाइँमा भने गोर्खालाई ठूलो सफलता हात लागेको उहाँहरूले उल्लेख गर्नुभयो ।
बेलायती उच्चन्यायालयको गत असोज १४ गतेको फैसलाले विगत २०० वर्षेखि दासका रूपमा काम गर्दै आएका गोर्खा सैनिकलाई बेलायती राष्ट्रसेवकसरह मात्र सेवा/सुविधा प्रदान गरेन बरु लाखौँ गोर्खाका रोइ बसेका पीडितलाई विभिन्न अवसर प्रदान गरेको छ उहाँहरूले उत्साहका साथ भन्नुभयो ।
मुखमा सरस्वतीको बास भएर होला, अन्यायमा परेका भूपू सैनिकको पक्षमा उच्च न्यायालयका न्यायाधीशको बोली खुलेको छ, उहाँलाई नेपाली जनताले युगौँयुगसम्म श्रद्धापूर्वक सम्झने छन् गेसोका अध्यक्ष पद्मबहादुर गुरुङले भन्नुभयो ।
न्यायालयको उक्त फैसलाले गोर्खाको मात्र विजय भएको होइन, सारा नेपालीको जीत भएको छ, अङ्ग्रेजसामू सधैँ आफूलाई दास सम्झने सरकारका लागि पनि फैसलाले पाठ सिकाएको उहांँको भनाइ छ ।
“काम छउन्जेल भाँडो- काम सकिएपछि ठाँडो” भन्ने उखानजस्तै उमेर र बल रहुन्जेल युद्धमा पठाउने अनि त्यही युद्धमा घाइते भएकाको घाउ नसुक्दै नेपाल लखेट्नु अङ्ग्रेजको मानवताविरोधी कार्य थियो भनी भूपू सबैले बेलायती सरकारको आलोचना गरे । बेलायतको पक्षमा युद्ध लड्दा ६० हजारभन्दा बढी गोर्खा मारिएका थिए ।
आफ्नो पक्षमा त्यत्रो बलिदान गर्ने गोर्खाप्रति विभेदकारी नीति अवलम्बन गर्ने र आफैँले विश्वप्रसिद्ध भिक्टोरिया क्रसको सम्मान दिएको आफ्नो सिपाहीलाई समेत मुलुकमा छिर्न नदिएकाले त्यहाँको अदालतले बेलायत सरकारलाई हराई ब्रिटिस गोर्खाको पक्षमा विजयपत्र सुनाएको हो, एक भूपू सैनिकले भने ।
हामीलाई सात समुद्रपारि गएर मुद्दा लड्न सजिलो थिएन, नेपाल सरकारले पनि हाम्रो पक्षमा बोलेन, हामी अन्यायमा परेको कुरा बेलायती जनता र त्यहाँका वकिललाई बुझाउन सकिएमा सफलता हात लाग्छ भन्ने हाम्रो आत्मविश्वास र ठम्याइले काम गर्यो, हामी अगाडि बढयाँै सफलता हात लाग्यो, उहाँहरूले उत्साहित हुँदै खुसीयाली साट्नुभयो ।
सो फैसलाले गोर्खाको पक्षमा मात्र काम गरेन उल्टै बेलायती संसदलाई यस्ता महत्वपूर्ण दुई देशबीचको सम्बन्धमा प्रभाव पार्ने संरचना चलाउने विषयमा एउटा व्यक्तिको सिफारिसमा नियम बनाउने होइन, कानुन बनाई त्यसका आधारमा काम गर्न संसदलाई समेत निर्देशन दिनुले ब्रिटिस गोर्खाको थप मूल्याङ्कन हुने अपेक्षा गरिएको अध्यक्ष गुरुङको भनाइ रहेको छ ।
बेलायतको संसदीय प्रणाली र कानुनी राज्यका बारेमा कसैले प्रश्न उठाउन नसकेको अवस्थामा प्रजातान्त्रिक संस्कारका विरुद्ध भएका काम कारबाहीबारे नेपालीको आवाजले विजय पाउनु सामान्य विषय होइन, उहाँले भन्नुभयो । त्यो फैसलाको समाचार विश्व प्रसिद्ध समाचार संस्थाले उच्च प्राथमिकतामा राखेर प्रसारण गर्नुले गोर्खाको न्यायिक बहादुरी एकपटक फेरि विश्वले प्रशंसा गर्न पाएको छ, उहाँहरूले भन्नुभयो । उक्त फैसलापछि ब्रिटिस गोर्खा र भूपूले गोरासरह सेवा, सुविधा र पेन्सन पाउने छन् ।
यस्तै, करिब ६० हजार वृद्धवृद्धा र अपाङ्ग गोर्खा सैनिक र परिवारलाई मासिक ७०० पाउन्ड भत्ता, ५ सय पाउन्ड आवास सुविधा, भूपूका श्रीमती वा हेरचाह गर्ने ब्यक्तिलाई २५० पाउन्ड भत्ता, बेलायतको सुविधा सम्पन्न अस्पतालमा परिवार समेतलाई निःशुल्क उपचारलगायतका सुविधा दिलाउने कार्यमा उक्त फैसला कोशेढुङ्गा सावित भएको छ । अब मुलुकका कुनाकुनामा रहेका भूपू गोर्खाका ६० हजार भन्दा बढीको सङ्ख्यामा रहेका आमाबुबालाई डोकामा बोकाएर काठमाडौँ ल्याई उपचारका लागि बेलायत पठाउने कार्यलाई तीव्रता दिइने उनीहरूको भनाइ रहेको छ ।
बाह्र वर्षपछि खोला र्फकन्छ भन्ने नेपाली उखान चरितार्थ भएको छ, सधँै नेपालीले जुत्ता र मोजा धोइदिएर सलाम गर्ने गर्दै आएका गोर्खा सैनिकको अस्पताल पुगेका आमाबाबुको सेवा गर्न बाध्य भएका छन् ।
लडाइँमा मारिएका गोर्खाका आत्मा काँचो वायु भएका थिए, मुद्दा जितेपछि हजारौँ पितृ स्वर्ग तरेका छन्, हामीले गोर्खालीहरू साम्राज्यवादीका दास वा नोकर हैनौँ, इमानदार राष्ट्रसेवक हौँ भन्ने प्रमाणित गर्या भूपू गोर्खा सैनिक फानसिंह थापा भन्छन् ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली वाङ्मय प्रतिष्ठानले २०६५ को महाकवि देवकोटा पुरस्कार साहित्यिक पत्रकार भवानी घिमिरेलाई दिने निर्णय गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा बसेको बैठकले महाकविको व्यक्तित्व र कृतित्वको प्रचारप्रसारमा विशेष योगदान दिएबापत् उहाँलाई सो पुरस्कार दिने निर्णय गरेको हो ।
घिमिरेले ‘भानु’ पत्रिकाको देवकोटा विशेषाङ्क (२०२५ साल) प्रकाशन गर्नुका साथै ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ पुस्तकको सम्पादन पनि गर्नुभएको छ ।
पुरस्कारको राशि रु.१० हजार छ । पुरस्कार आगामी मङ्सिरमा प्रदान गरिने जनाएको छ । सो पुरस्कार पाउनेमा घिमिरे नवौँ व्यक्तित्व हुनुभएको प्रतिष्ठानले जनाएको छ ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालमा सहमति, सहकार्य र एकताको राजनीतिलाई स्थापित गर्न आफू इच्छुक रहेको धारणा राख्दै यसका लागि नेकपा (माओवादी) र प्रधानमन्त्रीको दायित्व बढी हुने बताउनुभएको छ ।
रिपोटर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा सभापति कोइरालाले भन्नुभयो- सहमतिकै अभावमा संविधान लेखनको कार्यमा अवरोध आइरहेको छ, यसलाई हटाउन सत्तारुढ दलहरु बढी जिम्मेवार हुनर्ुपर्छ ।
सभापति कोइरालाले संविधान लेखनप्रति भइरहेको ढिलाइप्रति आक्रोश व्यक्त गर्दै संविधान लेखनको कार्यमा नेपाली काङ्ग्रेस बाधक हुँदैन भन्नुभयो ।
उहाँले सहमति र सहकार्यको राजनीति नछाड्न प्रधानमन्त्रीलाई आग्रह गर्ने जानकारी दिँदै यसो हुन नसकेमा सेना समायोजनलगायतका कार्यमा प्रभाव पर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो- माओवादी लडाकुलाई नेपाली सेनामै समायोजन गर्नुपर्छ भनेर कुनै पनि सम्झौता भएको थिएन ।
सभापति कोइरालाले माओवादीले लोकतान्त्रिक गणतन्त्रको कुरालाई आत्मसात् गछौर्ं भने पनि त्यसअनुरुपको कार्य नगरी लोकतन्त्रलाई नै धराशायी बनाउन प्रयत्न गरिरहेको आरोप लगाउनुभयो ।
नेपाली काङ्ग्रेस सरकार ढाल्ने र बनाउने खेलमा सहभागी नभएको समेत सभापति कोइरालाले स्पष्ट गर्नुभयो ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मन्त्रिपरिषद्को बैठकले अन्तरिम संविधानमा संशोधन गर्ने निर्णय गरेको छ ।संविधानमा २०६३ साल मङ्सिर मसान्तसम्म १८ वर्षपुगेकालाई मात्र मताधिकार हुने उल्लेख भएकामा निर्वाचन हुने वर्षभन्दा अघिल्लो वर्षको चैत मसान्तसम्म १८ वर्ष पुगेका नागरिक मतदाता हुने गरी संशोधन गरिने छ ।
बैठकले जनयुद्ध एवं मधेसी आन्दोलनलगायतमा लगाइएका राजनीतिक प्रकृतिका ३४९ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।
यसैगरी तराई क्षेत्रका १८ वटा सहायक मार्ग र दुइ हुलाकी सडक गरी १५० किलोमिटर लम्बाइ भएको २० वटा सडक मर्मतसम्भार तथा पूर्वाधार सुदृढीकरणका लागि सरकारबाट उपलब्ध गराइने आर्थिक तथा प्राविधिक सहयोग स्वीकार गरी सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने अधिकार अर्थ सचिवलाई दिने निर्णय भएको छ।
एक हजार चार सय किलोमिटर लामो उक्त सडक निर्माणका लागि भारत सरकारबाट सात अर्ब सहयोग अनुदानस्वरूप प्राप्त हुने वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले बताउनुभयो ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
यमपञ्चकको तेस्रो दिन आज साँझ अधिराज्यभर धनधान्यकी देवी लक्ष्मीको आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ।
बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरका सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झयाल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ।
लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ। आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटाले पोतेर चामलको पिठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ।
गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चर्ढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्छन्।
लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ।
लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ।
आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन्। यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ।
सत्ययुगमा वामन अवतार विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले विष्णुलाई सन्तुष्ट पारी दानशीलताको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरून् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वास छ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल ज्योतिष परिषद्को बैठकले यस पटक भाइटीकाको साइत २०६५ साल कात्तिक १४ गते बिहीबार दिनको ११४५ बजेदेखि ११५५ बजेभित्र सर्वोत्तम भएको ठहर गरेको छ ।
उक्त समयमा धनु लग्नको वर्गोत्तमाश पर्ने सो परिषदले जनाएको छ ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (मसाल)को केन्द्रीय समितिको बैठकले पार्टीमा एक व्यक्ति एक पदको नियमलाई लागू गर्ने निर्णय गरेको छ ।
त्यस सिलसिलामा चित्रबहादुर केसी पार्टीको प्रवक्ताका साथै राष्ट्रिय जनमोर्चाका अध्यक्ष पनि भएकाले उहाँलाई पार्टीको प्रवक्ताबाट हटाउने निर्णय गरिएको छ ।
बैठकले निर्धारित समयभित्र संविधान निर्माण कार्य पुरा गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
बैठकले माओवादी लडाकुका विभिन्न क्षेत्रमा व्यवस्थापन वा पुनःस्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनीहरुलाई सरकारी सेनामा सामेल गर्ने कार्यको विरोध गरेको छ ।
पार्टीले अधिनायकवाद कायम गर्ने प्रयत्नका विरुद्ध व्यापक जनमत तयार पार्नुपर्ने र आन्दोलन सङ्गठित गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
यमपञ्चकको दोस्रो दिन आज घरघरमा कुकुर तिहार मनाइँदैछ । इमानदार पहरेदार जन्तुका रूपमा परापूर्वकालदेखि परिचित कुकुरलाई वर्षमा एकपटक आजको दिन यमदूतका रूपमा पूजा गर्ने चलन छ ।
आज गृहस्थीले कुकुरको पूजा गरेर माला लगाई खाना खान दिने गर्छन् । आजका दिनलाई ‘नरक चतुदशी’ पनि भन्ने गरिन्छ ।
आजका दिन बिहान सबेरै नजिकको खोला तथा तलाउमा नुहाई नरक बगाउने गरिन्छ ।
महाभारतकालमा सत्यवादी युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहिआएको छ । अन्तरिक्षमा तत्कालीन सोभियत सङ्घले लाइका नामक कुकुर पठाएको थियो।
यमपञ्चकमा काग, कुकुर, गाई र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नुले प्रकृतिका सबै जीवसँग मानव जातिको सह-अस्तित्व रहिआएको छ भन्ने देखाउँछ ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्थानीय विकासमन्त्री रामचन्द्र झाले विस्तार गरिन लागेको मन्त्रिमण्डल समावेशी ढाँचाको हुने बताउनुभएको छ ।
मुस्ताङको जोमसोम बजारमा आयोजित पार्टी कार्यकर्ता भेलामा मन्त्री झाले जातजाति, क्षेत्र, लिङ्ग, सम्प्रदाय र भौगोलिक आधारमा मन्त्रीमण्डल विस्तार छिट्टै हुने जानकारी दिनुभयो ।
उहाँले मापदण्डका आधारमा माओवादी सेनालाई समायोजन गरिनुपर्ने बताउनुभयो । उहाँले सबै सेनाको समायोजन गरिनुपर्छ भन्ने माओबादी भनाइ र संयोजन गरिनुहुन्न भन्ने काङ्रग्रेसको भनाइ दुवै गलत हुन् भन्नुभयो ।
प्रहरी, सशस्त्र, वैदेशिक रोजगारी, औद्योगिक बललगायतमा सेना समायोजन गर्न सकिने उहा“को धारणा थियो । जिविस र गाविसमा सर्वदलीय आधारमा छिट्टै जनप्रतिनिधि चयन गरिने मन्त्री झाले बताउनुभयो ।
एक कार्यक्रममा मन्त्री झाले मुस्ताङका कर्मचारीलाई इमान्दारीपूर्वक काम गर्न निर्देशन पनि दिनुभयो ।
मन्त्री झाले ज्ञानोदय मावि लेते मुस्ताङको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्नुयो ।
लक्जेर्म्बर्गका नागरिकद्वय गिलबर्ट र मेरीको रु.८७ लाख सहयोग र जिविस, स्थानीय निर्माण व्यवसायी तथा स्थानीय बासिन्दाको श्रमदानमा सो भवन निर्माण गरिएको हो । भवन निर्माणको लागत रु.३ करोड ६७ लाख रहेको छ ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले) का महासचिव झलनाथ खनालले माओवादी लडाकू समायोजन नभएमा शान्ति प्रक्रियामा सङ्कट पर्ने आशङ्का भएकाले यसलाई प्रभाव पार्ने गरी नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल उपत्यका समितिद्वारा दीपावली, छठ र नेपाल सम्बत अवसरमा आयोजित चियापान कार्यक्रममा महासचिव खानलले बृहत् शान्ति सम्झौतालगायत सात राजनीतिक पार्टीबीचको सहमतिका आधारमा सेना समायोजन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
आफैँले गरेको प्रतिबद्धताविपरीत कुनै पनि राजनीतिक दल जान नहुने उल्लेख गर्दै उहाँले काङ्ग्रेसको अधिनायकविरुद्धको आन्दोलन भन्ने अभियानबाट प्रतिगामी शक्तिलाई फाइदा पुग्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले सन्तुलित र भरोसायोग्य भूमिका निर्वाह गर्न माओवादीसँग पनि आग्रह गर्नुभयो ।
सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
उद्योग मन्त्री अष्टलक्ष्मी शाक्यले नेपालगंजको न्युरोडमा निर्माण गरिएको शहीद सेतु विकको सालिक आईतवार एक कार्यक्रमका बीच अनावरण गर्नुभएको छ।
मन्त्री शाक्यले शहीद सेतुको सालिक अनावरणका क्रममा टिका लगाई माल्यार्पण गर्नुभएको थियो भने शहीद विकका पति, दई छोरा, सभासद र स्थानीय राजनीतिक दलका नेताहरुले पनि माल्यार्पण गरेका थिए। सालिक अनावरण कार्यक्रममा बोल्दै उद्योग मन्त्री शाक्यले हालसम्मका विभिन्न आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरुको इच्छा र आकांक्षालाई मनन् गरेर अगाडी बढ्न सके मात्र राज्यले अग्रगति लिन सक्ने बताउनुभयो। शहीद र उनीहरुको परिवारको सम्मान गर्न तथा शहीदका बालबच्चाको शिक्षा दिक्षाका लागि राज्यद्धारा ल्याईएका कार्यक्रमहरु प्रयाप्त नभएको बताउंदै मन्त्री शाक्यले शहीद र शहीद परिवारका लागि गंभीर हुनुपर्ने आवश्यकता रहेको वताउनुभएको थियो।
महिला तथा समाज कल्याण मन्त्रालय, जिविस, इन्सेक, जनआन्दोलन र्घाईते कोष समिति महिला संजाल बांके लगायतको करीब ४ लाख ७६ हजार आर्थिक सहयोग शहीद सेतु विकको प्रतिमा स्थापना गरिएको आयोजक संयुक्त महिला संघ संर्घष समिति बांके शाखाकी अध्यक्ष किरण कोइरालाले जानकारी दिनुभयो।
सालिक अनावरण कार्यक्रममा सभासद् असोक रोकाय, मोहम्मदी सिद्धीकी, स्थानीय राजनीतिक दलका नेता, प्रशासनिक निकायका प्रमुखहरु, समाजसेवी र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो।
जनआन्दोलन २०६२/०६३ मा वैशाख ५ गते न्युरोडमा प्रहरीको अश्रुग्यांस प्रहारबाट सहादत प्राप्त गरेकी सेतु विकको सालिक रहेको ठांउमा यस अघि पूर्व राजा ज्ञानेन्द्रको सालिक रहेको थियो।
सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
उद्योग मन्त्री अष्टलक्ष्मी शाक्यले नेपाली उद्योगहरुलाई व्यवस्थित पार्नका लागि सरकारले औद्योगिक नीति २०६५ ल्याउने तयारी गरिरहेको बताउनु भएको छ। नेपालगंज उद्योग वाणिज्य संघको आयोजनामा आईतवार सांझ भएको अर्न्तक्रिया कार्यक्रममा मन्त्री शाक्यले सो कुरा बताउनु भएको हो।
नेपाली उद्योगहरुको अवस्था दिनप्रतिदिन ओरालो लागिरहेको अवस्थामा सरकारले ल्याउने नयां औद्योगिक नीतिले उद्योगहरुलाई राहात दिने समेत उहांले बताउनु भयो । संक्रमणकालिन अवस्थामा उद्योगमात्र नभई सम्पूर्ण क्षेत्र नै समस्यामा परेकाले उद्योगी व्यापारीहरुलाई निरास नहुन उहांले आग्रह गर्नुभयो। आगामी चार महिना भित्र उद्योगी व्यवसायीहरुले केही नौलो अनुभव गर्ने दावी गर्दै मन्त्री शाक्यले सरकारले जडिबुटीमा लगाएको तेहोरो करका विषयमा अर्थमन्त्रीसंग छलफल गर्ने बताउनु भयो।
मन्त्री शाक्यले बर्तमान सरकारमा सामन्तवाद हावी भएकोले काम गर्न कठिनाई भएको बताउदै उद्योगीहरुका समस्याका विषयमा आफूले क्याविनेटमा कुरा राखिदिने बाहेक अरु गर्न नसक्ने बताउनु भयो। उहांले भन्नु भयो- तपाईहरुका माग जायज छन्। तर म एक्लै केही गर्न सक्दिन। साझा सरकारमा यस्तै हुदो रहेछ भन्दै उहांले व्यवसायीहरुलाई सरकारसंग मिलेर काम गर्न आग्रह गर्नु भयो।
अर्न्तक्रिया कार्यक्रममा नेपालगंजका उद्योगी व्यवसायीहरुले अव्यवहारिक सरकारी नीतिका कारण उद्योग व्यवसायहरु निरन्तर घाटामा चलिरहेको र कतिपय बन्द भईसकेको गुनासो गर्दै सरकारले उद्योगी व्यापारीका समस्याहरुमा चासो नेखाएमा देशले ठूलो आर्थिक संकट भोग्नु पर्ने बताएका थिए। सरकारले हालै घोषणा गरेको बजेट उपभोक्ता, व्यवसायी र उत्पादकमारा भएको यसले उपभोक्ता वजारको हित भन्दा पनि सरकारको मात्र हित गर्ने भएकाले कतिपय कर सम्बन्धी व्यवस्थामा पुनर्विचार गर्नु पर्ने मागसमेत व्यवसायीहरुले गरेका थिए।
नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य अच्युत प्रर्साईले शाहीकालको सरकारी बजेटभन्दा अहिलेको बजेट कम निरंकुुश नभएको टिप्पणी गर्दै सरकारले रुग्ण अवस्थाका उद्योगहरुकालागि राहातको प्याकेज ल्याउनु पर्ने बताए।
कार्यक्रममा यसपल्टको बजेटमा पनि सरकारले मध्य र सुदूरपश्चिमलाई भेदभाव गरेको गुनासो गरेका थिए। सो अवसरमा नेपालगंज उद्योग वाणिज्य संघले उद्योग मन्त्री शाक्यलाई सात बुंदे स्मरण पत्र पेश गरेको थियो।
अर्न्तक्रिया कार्यक्रम नेपालगंज उद्योग वागिज्य संघका अध्यक्ष दामोदर आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो भने महासचिव असोक कर्माचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए।