Archive for November, 2008

पत्रकार हत्याविरुद्ध आन्दोलन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दुई महिनादेखि बेपत्ता रहेका कैलाली जिल्लाका पत्रकार जे.पी.जोशी ‘पण्डित’को हत्या भएको पुष्टि भएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले हत्याराको खोजी गरी कडा कारबाही गर्न माग गरेका छन् ।

स्थानीयवासीले हत्याराको खोजी गरी कारबाहीको मागसहित हिजो पूर्वपश्चिम राजमार्गअर्न्तर्गत कैलालीको लम्की सडकखण्ड र अत्तरिया सडकखण्डमा सवारी आवागमन अवरुद्ध पारे ।

पत्रकार जोशीको घरनजिकै रहेको चौकीडाँडा महिला सामुदायिक वनक्षेत्रमा फेला परेको सडेगलेको मानव खप्पर र हड्डीहरू जोशीकै रहेको उनका भाइ पुष्पराज जोशीले बताउनुभयो । मालाखेती गाविस, वडा नं. ३ निवासी जोशी नेकपा (माओवादी) का जिल्ला सदस्य र क्रान्तिकारी पत्रकार सङ्घका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो।

सो सामुदायिक वनक्षेत्रमा पत्रकार जोशीसँग सम्बन्धित लत्ताकपडा, फोटोहरू, मोबाइल सेट, भिजिटिङ्ग कार्ड, सवारीचालक अनुमतिपत्र फेला परेका थिए । फेला परेका कङ्काल र अन्य सामग्री प्रहरीले आफ्नो नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घले पत्रकार जोशीको हत्या नै भएको जनाउँदै हत्याराको खोजी गरी कडा कारबाही गर्न माग गरेको छ । महासङ्घले पत्रकार हत्याको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको महासङ्घका केन्द्रीय सदस्य मनमोहन स्वाँरले बताउनुभयो ।

पत्रकार जोशीको हत्या भएको भन्दै उनका परिवारजनका तर्फबाट जिल्ला प्रहरी कार्यालय, अत्तरियाका दुई व्यापारीविरुद्ध किटानी जाहेरी दर्ता गराइएको छ । सो जाहेरीका आधारमा कर्ण रावत नामका व्यापारीलाई पक्राउ गरिएको र मुख्य आरोपित लोकेन्द्र रावत फरार रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

फेला परेको मानव कङ्काल कस्को हो भन्ने विषयमा विस्तृत अध्ययन एवम् परीक्षणपछि मात्र भन्न सकिने प्रहरीले बताएको छ । सोका लागि डीएनए परीक्षण गर्न आवश्यक पहल गरिएको पनि प्रहरीले स्पष्ट गरेको छ ।

सो सामुदायिक वनमा मानव कङ्काल फेला परेको सूचना पाउनासाथ प्रहरी, सञ्चारकर्मी र मानवअधिकारकर्मीको एक टोली हिजो त्यहाँ पुगेको थियो ।

Recent Videos:

Popularity: 8%

Add comment November 30th, 2008

भूमिहीनहरुको आन्दोलन स्थगित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भूमिहीनहरूको सङ्गठन राष्ट्रिय भूमिअधिकार मञ्चले हिजोदेखि आफ्नो आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मञ्चका प्रतिनिधिहरूसँग वार्ता गरी १५ दिनभित्र भूमिअधिकार आयोग गठन गर्ने वचन दिनु भएपछि सो आन्दोलन फिर्ता गरिएको हो । मञ्चका प्रतिनिधिहरूले विभिन्न माग राखी मङ्सिर २ गतेदेखि टुँडिखेल खुलामञ्चमा धर्ना दिँदै आएका थिए ।

प्रधानमन्त्री हाम्रो मागप्रति सकारात्मक रहनुभएको र १५ दिनभित्रै माग पूरा हुने आश्वासन दिनुभएकाले आन्दोलन स्थगित गरिएको मञ्चका अध्यक्ष बलदेव रामले पत्रकारहरूलाई बताउनुभयो ।

Recent Videos:

Popularity: 9%

Add comment November 30th, 2008

सुस्ता अतिक्रमणबारे सरकार मौन रहेको आरोप

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतले मिचेको सुस्ता क्षेत्रबारे माओवादीको सरकारले पनि केही गर्न नसकेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष थापाले सुस्तावासीको पीडा र नेपालीको मिचिएको भू-भागका बारेमा गणतान्त्रिक सरकार पनि चुपलागेर बस्नु राष्ट्र, राष्ट्रियता र नेपाली जनताको दुर्भाग्य भएको बताउनुभयो ।

नवलपरासीको त्रिवेणी गाविस-४ सुस्तामा अवलोकन भ्रमणमा आएका अध्यक्ष थापाले सुस्तावासीलाई सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

करिब एक सय जनाको टोली सहित सुस्ता पुगेका थापाले सुस्तावासीको पीडा र भारतीय पक्षले गरेको व्यवहारका बारेमा सम्बन्धित निकायमा आफुले कुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Popularity: 8%

Add comment November 30th, 2008

महिला बन्दी भाग्न सफल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जिल्ला प्रहरी कार्यालय महोत्तरीको थुनाबाट एक महिला बन्दी भागेकी छिन् ।

छ वर्षीया चुनचुन कुमारीको हत्याको अशङ्कामा मङ्सिर ११ गतेदेखि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएकी खेस्त्राहा खैरबन्नी गाविस-४ की शैलदेवी महतो साँझ शौच जाने बहानामा भागेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालित रहँदा पनि एक महिला बन्दी भाग्न सफल हुनुलाई आश्चर्यका रुपमा लिइएको छ ।

Popularity: 8%

Add comment November 30th, 2008

धोका दिए माओवादी ज्ञानेन्द्रकै हविगतमा पुग्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नयाँ संविधान निर्माणको कार्यमा माओवादीले धोका दिए उनीहरुको पूर्व राजा ज्ञानेन्द्रकै हविगत हुने बताउनुभएको छ ।

राष्ट्रिय जागरण अभियानको प्रचारप्रसारका लागि कञ्चनपुरमा आयोजित कार्यक्रममा सिटौलाले मेलमिलापको अभियान लिएर काङ्ग्रेस अगाडि बढेकोमा जोड दिँदै लोकतन्त्रको ढाँचा भन्दा बाहिर माओवादीलाई जान दिनु हुँदैन भन्नुभयो।

एकथरी माओवादी नेताले जनगणतन्त्र र अर्काथरीले लोकतन्त्रको पक्षमा जाने कुरा बाहिर आएको छ, यसबाट जनतासँग माओवादीले गरेको प्रतिवद्धता तोड्ने त हैन भन्ने आश¬¬ङ्का भएकाले नेपाली काङ्ग्रेसले सचेत गराउन देशव्यापी रुपमा जनजागरण अभियान थालेको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा पूर्व सूचना तथा सञ्चार मन्त्री दिलेन्द्रप्रसाद बडूले माओवादीले जनगणतन्त्रको कुरा ल्याएर प्रजातन्त्र अपहरण हुने डर नेपाली काङ्ग्रेसलाई लागेकोले काङ्ग्रेस जागेको बताउनुभयो।

उहाँले संविधान बनेन भने फेरि बन्दुकको बोलबाला र अराजकता फैलिने आशङ्का व्यक्त गर्दै उहाँले हामीले माओवादीलाई हतियारले कहिल्यै आन्दोलन सफल नहुनेमा प्रतिवद्ध गराएर शान्ति प्रकृया मार्फत् यहाँसम्म ल्याएका हौँ भन्नुभयो ।

Popularity: 8%

Add comment November 30th, 2008

सेना समायोजन गरी सीमा सुरक्षार्थ खटाउनुपर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संस्कृति तथा राज्य पुनःसंरचना मन्त्री गोपाल किराँतीले माओवादी सेनालाई राष्ट्रिय सेनामा समायोजन गरेपछि सीमाको सुरक्षार्थ खटाउनुपर्ने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ तनहुँद्वारा आयोजित पत्रकार भेटघाटमा मन्त्री किराँतीले सो कुरा बताउनुभएको हो ।

सेना समायोजन पछि नेपाली राष्ट्रिय जागरणकालागि उनीहरुलाई सीमा सुरक्षार्थ खटाउनुपर्ने उहाँको भनाई थियो ।

संविधान समयमै निर्माण होला त भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री किराँतीले नियमावली बनिसकेको र संविधान सभा उपाध्यक्षको निर्वाचन समेत भईसकेकोले संविधान निर्माण प्रक्रिया अब छिट्टै सुरु हुन्छ भन्नुभयो।

पुराना स्थानीय संरचनाहरुलाई खारेज गर्दै १२७ इलाकालाई नयाँ क्षेत्राङ्कनमा थपघटका लागि छुट्ट्याएर बाँकी इलाकाहरुकै आधारमा आठ सय जिल्लाको अवधारणा ल्याइएको मन्त्री किराँतीले बताउनुभयो ।

Popularity: 8%

Add comment November 30th, 2008

एचआईभी सङ्क्रमित फुटबल खेलमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दशरथ रङ्गशालामा हिजो भएको मैत्रिपूर्ण र समावेशी फूटवल खेलमा एचआइभी क्यारियर्स समूह ए लाई एआरभी सुपरस्टार समूह बीले २-० ले पराजित गर्‍यो ।

खेल सुरु भएको २० मिनेटमा समूह बीका दीपक विष्टले एक गोल गरेका थिए । समूह एका खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्न सकेनन् । ४५ मिनेटमा थप एक गोल गरी दीपक विष्टले समूह एलाई पराजित गर्न सफल भए । दुई गोलको अग्रतासहित समूह बी विजय हासिल गर्न सफल भयो ।

समूह एमा दीपकराज गिरी, सुगम पोखरेल, सुलेमान मर्हजन, सलोनी राजभण्डारी, सुवानी मोक्तान आदि खेलाडी सहभागी थिए ।

समूह बीमा दीपक विष्ट, सत्यराज आचार्य, प्रविल तिमल्सिना, दीपा श्री निरौला, सुगारिका केसी, मानवी ढकाल आदि सहभागी थिए ।

विश्व एड्स दिवसको अवसरमा साथीसँग मनका कुरा इक्वेल एक्सेसले आयोजना गरेको मैत्रीपूर्ण र समावेशी फूटवल खेलमा सहभागी खेलाडीहरुलाई राष्ट्रिय धावक वैकुण्ठ मानन्धरले प्रमाणपत्र वितरण गर्नुभयो।

प्रतियोगिताको प्रवेश टिकटबाट उठेको रकम एड्स प्रभावित बालबालिकाको हेरचाह र उपचारमा लगानी गरिने बताइएको छ ।

Popularity: 8%

Add comment November 30th, 2008

कमल थापा सुस्ता जाने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालका पाँच दर्जनभन्दा बढी स्थानमा भएको सीमा अतिक्रमणको शृङ्खलाबाट नेपाली जनताको घरजग्गाको क्षति, उठिवास, मानसिक पीडा अन्त्य गर्न र राज्यको सीमा रक्षाको आफ्नो प्राथमिकता कर्तव्य निर्वाह गर्न दबाब दिन भन्दै राप्रपा नेपालको एक टोली नवलपरासीको त्रिवेणी सुस्ता गाविसको सुस्ता क्षेत्रको अवलोकनमा जाने भएको छ ।

अध्यक्ष कमल थापाको नेतृत्वमा जाने सो टोलीले सीमाक्षेत्रका स्थानीयवासीसँग अन्तरक्रिया पनि गर्नेछ ।

Popularity: 9%

1 comment November 29th, 2008

गणतन्त्र सुदृढ गर्न सय वटा कानुनमा संशोधन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कानुन, न्याय तथा संविधानसभा व्यवस्थामन्त्री देवप्रसाद गुरुङले गणतन्त्र सृदढीकरण गर्न आवश्यक केही कानुनलाई संशोधन गर्न लागिएको बताउनुभएको छ ।

व्यवस्थापिका-संसदको बैठकमा उहाँले आमूल राजनीतिक परिवर्तन भइसकेको विद्यमान अवस्थामा केही कानुन संशोधन गर्नु स्वाभाविक प्रक्रिया भएको स्पष्ट गर्नुभयो ।

‘गणतन्त्र सुदृढीकरणसम्बन्धी’ केही नेपाल कानुनलाई संशोधन गर्ने विधेयक, २०६५ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक बहसका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले परिवर्तनलाई आत्मसात् गरी जनचाहनाबमोजिम अघि बढ्न सरकार तयार छ भन्नुभयो।

उक्त विधेयकमा प्रचलित कानुनमा ११३ संशोधन र आठ खारेज गर्ने प्रस्ताव गरिएको छ।

Popularity: 9%

Add comment November 29th, 2008

मुम्बई घटनामा एक नेपाली घाइते

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भारतको मुम्बईमा भएको आतङ्ककारी हमलामा एकजना नेपाली पनि सामान्य घाइते हुनुका साथै अन्य नेपाली हताहत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार उक्त घटनामा अछाम जिल्लाको घुंघरकोट निवासी ३० वर्षका जगत खड्का सामान्य घाइते भएको जनाइएको छ ।

खड्का मुम्बईको कुलवास्थित लियोपोल क्याफे एन्ड बारका सेक्युरिटीमा कार्यरत छन् ।

उनी एक प्राइभेट अस्पतालमा उपचारपश्चात् आफ्नो निवासमा आराम गर्दै आएका छन्।

Popularity: 8%

Add comment November 29th, 2008

पत्रकारको लाश फेला पर्‍यो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कैलालीको मालाखेती गाविस-३ को चौकीडाँडा महिला सामुदायिक वन क्षेत्रमा शुक्रबार सडेगलेको अवस्थामा मानव खप्पर र हड्डी फेला परेको छ । स्थानीय घाँस काट्ने एक महिलाले दिएको सूचनाका आधारमा उक्त वन क्षेत्रमा खप्पर र हड्डी फेला परेका हुन् । फेला परेका खप्पर र हड्डी गत असोज २२ गतेदेखि बेपत्ता क्रान्तिकारी पत्रकार सङ्घ कैलालीका अध्यक्ष एवम् नेकपा (माओवादी)का जिल्ला सदस्य जेपी जोशी ‘पण्डित’को रहेको आशङ्का गरिएको छ ।

घटनास्थलमा फेला परेको लुगा, फोटो, लाइसेन्स, लेख र परिचयपत्रजस्ता प्रमाणले खप्पर र हड्डी दाजु जोशीको रहेको दावी पत्रकार जोशीका भाइ पुष्पराजले गर्नुभएको छ ।

घटनास्थलमा पत्रकार जोशीको फोटो, टेलिफोन मोवाइल, पाइन्ट, रुमाल र भिजिटिङ्ग कार्ड लगायतका सामग्री फेला परेका छन् ।

बेपत्ता पत्रकार जोशीको कुनै समूह वा व्यक्तिले हत्या गरी उक्त वन क्षेत्रमा लास फ्याँकेको हुनसक्ने बताइएको छ ।

सो सूचना प्राप्त हुनासाथ नेपाल पत्रकार महासङ्घ, मानवअधिकारकर्मी, प्रहरीको टोली त्यहाँ पुगेको छ ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । मालाखेती गाविस-३ मालिका टोल घर भएका पत्रकार जोशी बेपत्ता भएको लामो समय भइसक्दा पनि माओवादी पार्टीबाट कुनै चासो नलिइएको उहाँका भाइ पुष्पराजले बताउनुभयो ।

मानव खप्पर र हड्डी फेला परेको वन क्षेत्रदेखि बेपत्ता पत्रकार जोशीको घर करिब दुई किमी उत्तरतर्फ रहेको छ ।

सोही घटनालाई लिएर पत्रकार जोशीको परिवारजनमा रुवाबासी चलेको छ भने स्थानीय आफन्तले पूर्वपश्चिम राजमार्गको अत्तरिया-महाकाली सडकखण्ड अवरुद्ध पारेका छन् ।

यसैबीच नेपाल पत्रकार महासङ्घले डेढ महिनाअघिदेखि बेपत्ता पारिएका पत्रकार जगतप्रसाद जोशी (जेपी)को अवस्था अहिलेसम्म पनि सार्वजनिक नभएकोप्रति दुःख व्यक्त गरेको छ ।

महासङ्घले घटनाका सम्बन्धमा अध्ययन गर्न केन्द्रीय सदस्य मनमोहन स्वाँरको नेतृत्वमा एउटा मिसन टोली खटाएको छ । टोलीले घटनाका सम्बन्धमा प्रशासन र स्थानीयवासीसँग छलफल गरेको छ ।

पत्रकार बेपत्ता पारिएको डेढ महिना बितिसक्दा पनि राज्य र स्थानीय प्रहरी प्रशासनले खोजी कार्यमा चासो नदेखाएकोप्रति महासङ्घले आपत्ति व्यक्त गरेको छ ।

समाचारका विषयलाई लिएर पछिल्ला दिनमा पत्रकारमाथि धम्की, कुटपिट, अपरहण र आक्रमणका घटना दोहोरिएकामा पनि महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

महासङ्घले पत्रकार जोशीको अवस्था तत्काल सार्वजनिक गर्न र दोषीमाथि कार्वाहीका लागि सरकारसँग माग गरेको छ ।

Popularity: 8%

Add comment November 29th, 2008

भारतमा भएको आक्रमणको नेपाली संसदमा निन्दा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
व्यवस्थापिका-संसदको बैठकले गत मङ्सिर ११ गते बुधबारदेखि मित्रराष्ट्र भारतको मुम्बई सहरमा आतङ्ककारीद्वारा गराइएको आततायी गतिविधिको निन्दा एवम् भर्त्सना गरेको छ ।

सभामुख सुवास नेम्बाङद्वारा प्रस्तुत यही बुधबारदेखि मुम्बई मा आतङ्ककारीबाट ठूलो सङ्ख्यामा समान्य नागरिकलगायत धेरैको ज्यान लिने र घाइते तुल्याउने गरी भएको कायरतापूर्ण आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरियोस् भन्ने विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।

बैठकले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको दुःखको घडीमा भारत, भारतीय जनता र सो आक्रमणमा परी जीवन गुमाएका व्यक्तिका परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गरेको छ ।

Popularity: 8%

Add comment November 29th, 2008

हेटौडा औद्योगिक क्षेत्र बन्द

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हेटौंडा औद्योगिक क्षेत्रभित्र स्थापित विभिन्न उद्योग तथा बहुराष्ट्रिय कम्पनीलाई शुक्रबारदेखि विभिन्न मजदुरको समूहले बन्द गराएको छ ।

अखिल नेपाल मजदुर सङ्घ मकवानपुरद्वारा औद्योगिक क्षेत्रका विभिन्न उद्योगका व्यवस्थापनसँग नयाँ तलब मापदण्डअनुसारको मासिक रु. दुई हजार तलब उपलब्ध गराउनाका साथै भत्तालगायत अन्य सुविधाको माग राखी ज्ञापनपत्र बुझाइएको थियो ।

तत्काल सबै उद्योगका व्यवस्थापनले नयाँ तलब वृद्धिसहित अन्य सुविधा उपलब्ध गराउनेतर्फपहल नगरेको भनी मजदुरले ती उद्योगको ढोकामा ताल्चा लगाएको मकवानपुर उद्योग वाणिज्य सङ्घका कार्यकारी सचिव सुशीला पाण्डेले बताउनुभयो।

Popularity: 8%

Add comment November 29th, 2008

संविधान सभा उपाध्यक्ष पदको नतिजा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी)का पूर्णकुमारी सुवेदी विजयी हुनुभएको छ।संविधानसभाको आजको बैठकमा मत विभाजन प्रक्रियामार्फ उपाध्यक्षका लागि भएको निर्वाचनमा ३४६ मत प्राप्त गरी बहुमतले उहाँ विजयी हुनुभएको हो ।

कुल ६०१ सभासदमा उपस्थित ५०५ जनामध्ये विपक्षमा ६९ मत र तटस्थमा ९० मत परेको थियो ।

नेकपा (माओवादी)का तर्फबाट विजयी सुवेदीलाई प्रमुख सत्तारुढ घटक नेकपा (एमाले) र जनमोर्चा नेपाल तथा नेकपा (माले)ले समर्थन गरेको थियो ।

सो निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय जनशक्ति पार्टी राष्ट्रिय जनमोर्चालगायतका पार्टी तटस्थ रहेका थिए ।

यसैगरी उपाध्यक्षमा विजयी सुवेदीका विपक्षमा मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, नेपाल मजदुर किसान पार्टी लगायतका अन्य साना पार्टीले पनि मतदान गरेको थियो ।

उपाध्यक्ष पदका लागि यसअघि भएको सद्भावना पार्टीका खोभारी रायका पक्षमा ११४, विपक्षमा २३१ र तटस्थमा २७७ मत परेको थियो ।

सो निर्वाचनमा ५९३ मध्ये ५१६ सभासद्को सहभागिता थियो ।

उपाध्यक्ष पदका तेस्रो प्रस्तावक नेपाल मजदुर किसान पार्टीका लीला न्याइँच्याइका पक्षमा ११५, विपक्षमा २१७ र तटस्थमा १७५ जना सभासद् हुनुहुन्थ्यो ।

सो निर्वाचनमा ५०७ जना सभासद्ले भाग लिनुभएको थियो ।

चौथो प्रस्तावक नेकपा (माओवादी)का सुवेदी उपाध्यक्षमा विजयी हुनुभएकाले बाँकी पाँचौँ र छैटौँ प्रस्तावकका लागि निर्वाचन प्रक्रियामा जान नपरेको सभामुख सुवास नेम्बाङले बैठकमा जानकारी गराउनुभयो ।

सभामुख नेम्बाङले उपाध्यक्षमा विजयी सुवेदीलाई बधाई तथा शुभकामना दिँदै उहाँको कार्यकालको सफलताको कामना व्यक्त गर्नुभयो ।

संविधानसभाको अर्को बैठक यही मङ्सिर १७ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

Popularity: 8%

Add comment November 29th, 2008

पार्टी प्रमुखमा उम्मेद्ववारी हाल्छुः केपी ओली

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
आगामी फागुनमा बुटबलमा हुने नेकपा एमालेको आठौ राष्ट्रिय महाधिवेशमा पार्टी प्रमुखको पदकालागि आफूले उम्मेद्ववारी प्रस्तुत गर्ने नेकपा एमालेका वरिष्ठ नेता केपि शर्मा ओलीले खुलासा गर्नुभएको छ। प्रेस चौतारी बांकेद्वारा शुक्रवार साँझ नेपालगंजमा आयोजना गरिएको पत्रकार सममेलनमा नेता ओलीले यस्तो खुलासा गर्नुभएको हो।

छैठौ अबिधेशनमा छोडे, सातौमा उम्मेद्वारी दिएन र अब आठौमा अवसर त पाउनु पर्‍यो नि भन्दै एमालेका वरिष्ठ नेता ओलीले पार्टी प्रमुखको उम्मेद्ववारीको औपचारिक घोषणा गर्नु भएको हो।

माओवादी गठबन्धन सरकारको सय दिनको समीक्षामा नेता ओलीले गर्नुपर्ने काम धेरै छन सबै सरकारले पुरा गर्नसक्दैन मात्र भन्नुभयो।

नेता ओलीले माओवादीका लडाकुहरुलाई नेपाली सेनामा कुनैपनि हालतमा समायोजन गर्न नसकिने तर ब्यवस्थापन भने चाडै गर्नुपर्ने बताउनुभयो। तीन महिना वितिसक्यो अब बांकी रहेको ७०/७५ दिनमा जसरी भएपनि माओवादी लडाकुको ब्यवस्थापन गरिसक्नु पर्ने पनि उहाँले बताउनुभयो।

एमाले- माओवादी एकीकरणको सम्भावनाका बारेमा संकेत गर्दै नेता ओलीले माओवादी सच्चिए मात्र यो संभव हुने बताउनुभयो। माओवादीलाई उग्र बामपंथी बाटोबाट नरम बामपंथी बाटोमा एमालेले ल्याईछाडने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

देशमा स्थायी शान्ति, अमन चयन र दिगो विकासका लागि प्रमुख दलहरुको एकता कायम रहनुपर्ने धारणा नेकपा एमालेको भएको बताउदै नेता ओलीले नेपाली काग्रेसलाई सरकारमा सामेल भएमात्र यो संभव हुने विचार व्यक्त गर्नुभयो।

Popularity: 8%

Add comment November 29th, 2008

सुदूरपश्चिमलाई आर्थिक क्षेत्र घोषणा गर्नुपर्छः डाक्टर रावल

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
मधेशी जनअधिकार फोरमका नेता तथा सभासद डा. तिलक रावलले सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र घोषणा गरे मात्र सुदूरपश्चिमका समस्याको समाधान हुने बताउनु भएको छ। मधेशी जनअधिकार फोरम कैलाली क्षेत्र नम्वर एकको अधिवेशनको उद्घाटन गर्दै डाक्टर रावलले यस्तो धारणा व्यक्त गर्नु भएको हो।

मध्यपश्चिमका पिछडिएका केही जिल्लालाई सुदूरपश्चिममा गाभेर विशेष आर्थिक क्षेत्र घोषणा गर्नु पर्ने र यसका लागि सरकारले प्रत्येक बर्ष तीन अर्ब रुपैया बजेट विनियोजन गर्नु पर्ने आवाज उठाउनु पर्ने धारणा पनि डाक्टर रावलले बताउनुभयो।

सरकारमा सुदूर र मध्यपश्चिमका नेताहरुको सहभागिता रहदै आएको भएपनि यस क्षेत्रको विकास नहुन विडम्बना भएको बताउदै डाक्टर रावलले अब यस क्षेत्रकालागि केही गर्नसक्ने र यस क्षेत्रका जनताको चाहना र भावनाको प्रतिनिधित्व गर्नसक्ने नेतालाई चिन्नुपर्ने बताउनुभयो।

फोरम नेता रावलले मधेशी जनअधिकार फोरमा राष्ट्रिय पार्टी भएको र यसले पहाड तराई हिमाल सबै जिल्लामा संगठन विस्तार गरिरहेको बताउनुभयो । पार्टीको नामका अगाडी मधेशी भन्ने शब्दले केही समयसम्म द्विविधा उत्पन्न गराएपनि यो मधेशी मात्रको पार्टी भएको पनि स्पष्ट पार्नुभयो । नाम जेभएपनि कामको मुल्याङ्कन गर्नुपर्छ -उहाले भन्नुभयो।

बजेटको टिप्पणी गर्दै अर्थविद समेत रहनु भएका डाक्टर रावलले चालु आर्थिक बर्षको पाचौं महिनामा पनि कार्यान्वयन हुन नसकेको बजेटले बांकी रहेको सात महिनाभित्र के चमत्कार गर्ला र भन्दै बजेट हावादारी भएको बताउनुभयो। सात अंकको आर्थिक बृद्धि दर सरकारका महत्वाकांक्षी लक्ष्य त हो तर बर्तमान राजनीतिक अस्थिरतामा यो असंभव भएको पनि उहाँले बताउनु भयो।

अधिवेशनमा फोरमका कैलाली अध्यक्ष आरसी यादव, क्षेत्र नं एकका सभापति गणेशसिंह रावल, माओवादीका दयानिधी पोखरेल लगायतकाले बोल्नु भएको थियो भने टीकापुरका पूर्व नगरप्रमुख पदमबहादुर रावल, नारायणपुर गाविसका पूर्व गाविस उपाध्यक्ष टेकबहादुर मल्ल सहित नेपाली काँग्रेसका एक सय बढी स्थानीय नेता तथा कार्यकर्ता मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए।

Popularity: 8%

Add comment November 29th, 2008

थापा परिषद बांकेको गठन

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
बांके जिल्लामा बसोवास गर्दै आएका थापा क्षेत्रीहरुको एक भेलाले २१ सदस्यीय थापा परिषद बांकेको गठन गरेको छ। आपसी सहयोग, भावनात्मक सम्बन्ध र सामाजिक सहकार्यताकालागि परिषद मार्फत संगठित हुनुपरेको भेलामा सहभागीहरुले बताएका छन्।

नव गठित परिषदमा अध्यक्ष गणेश थापा रिक्सेन, उपाध्यक्षद्वयमा तुलसा थापा बगाले, सावित्री थापा बगाले, सचिवमा नरबहादुर थापा बगाले, सहसचिवद्वयमा बिनु थापा बगाले, सोमबहादुर थापा बगाले र कोषाध्यक्षमा रमेश थापा सुपल रहेका छन्।

यसैगरी आठ सदस्यीय सल्लाहकार समितिमा शंकर थापा रिक्सेन, तेपबहादुर थापा बगाले, सम थापा रिक्सेन, विष्णु थापा सुपल, राजनबिक्रम थापा बगाले, नरेन्द्र थापा बगाले, दिनेशजंग थापा बगाले र मधुकर थापा बगाले रहेका छन।

भेलाको उदघाटन गर्दै थापा परिषदका केन्द्रीय अध्यक्ष जगतबहादुर थापाले देशभरी क्षेत्री थापाहरुको जनसंख्या करिब बीस लाख रहेको जानकारी प्राप्त भएको बताउनु भएको थियो भने निर्वाचन आयोगको मतदाता नामावली २०६४ लाई हेर्ने हो भने १५ लाखको हाराहारीमा थापा क्षेत्रीहरु मतदाता रहेको तथ्याङक स्पष्ट देखिएको छ भन्नु भयो।

थापा क्षेत्रीहरु बीच धार्मिक, सामाजिक र सास्कृतिक एकता कायम गर्नका लागि गत बर्षमात्र थापा परिषदको गठन गरिएको थियो। यस संगठनले अहिले देशभरी आफ्नो संगठन बिस्तार गरिरहेको छ।

केन्द्रीय अध्यक्ष जगतबहादुर थापाका अनुसार थापा क्षेत्रीहरुको बंश एउटै भएकाले आपसी सहयोग साटासाटका लागि पनि संगठित हुनुपरेको हो।

Popularity: 8%

Add comment November 29th, 2008

संविधानसभा उपाध्यक्षमा पुर्णाकुमारी निर्वाचित

संविधानसभा उपाध्यक्षमा पुर्णाकुमारी निर्वाचित
एस, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
संबिधानसभा उपाध्यक्ष पदमा माओवादी उम्मेदवार पुर्णाकुमारी सुवेदी निर्वाचित हुनु भएको छ। बाँके क्षेत्र नं. ४ बाट निर्वाचित सुवेदीले संबिधानसभामा उपस्थित ५०५ सदस्यहरुमध्येबाट ३४६ मत प्राप्त गर्नुभएको थियो। उहाँको विपक्षमा ६९ र तटस्थमा ९० मत खसेको थियो।

उपाध्यक्ष पदको मनोनयन दर्ता
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि, नोभेम्बर २७-
यही मङ्सिर १३ गते हुने संविधानसभाका उपाध्यक्ष पदको निर्वाचनका लागि छ जनाले मनोनयनपत्र दर्ता गराउनुभएको छ। संविधानसभाको कुनै सदस्यलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी नेपालको अन्तरिम संविधान, २०६३ को धारा ७१ को उपधारा (१) बमोजिम राजनीतिक सहमतिका आधारमा सो पदका लागि हिजोसम्म मनोनयनपत्र दर्ता गराउनुपर्नेमा कसैको पनि मनोनयनपत्र दर्ता हुन नआएपछि हिजो उहाँहरुले आ-आफ्नो मनोनयनपत्र दर्ता गराउनुभएको हो।

उपाध्यक्ष पदका निम्ति मनोनयनपत्र दर्ता गराउनेमा राप्रपाकी प्रतिभा राणा, सदभावना पार्टी, खोभारी राय, नेपाल मजदुर किसान पार्टीका लीला न्याइँच्याई, नेकपा (माओवादी)का पूर्णकुमारी सुवेदी, तराई मधेस लोकतान्त्रिक पार्टी रमणी राय र नेकपा (माले)का नीलम केसी (खड्का) हुनुहुन्छ।

मङ्सिर १३ गते बिहान ११ बजे प्रारम्भ हुने संविधानसभाको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावकको समर्थन गर्ने र प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ।

Popularity: 9%

Add comment November 28th, 2008

ओवराय होटलका सबै बन्धक मुक्त (News update)

ओवराय होटलका सबै बन्धक मुक्त (News update)
एस, मुम्बई / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
दक्षिण मुम्बईको ओवराय होटलमा आतंकवादीहरुद्वारा ४१ घण्टादेखि बन्धक बनाइएकाहरु मुक्त भएका छन्। मुम्बई पुलिस कमिश्नर हरान गफूरले होटल ओवराय सुरक्षाकर्मीको कब्जामा आईसकेको सञ्चारमाध्यमलाई जनाउंदै अप्रेशनमा दुई आतंकबादी मारिएका बताए। यद्यपि, ताज होटल र नरीमन हाउसमा कारवाही जारी रहेको बताएका छन्।

बुधवार राति आतंककारी समूहले बम विस्फोट र अन्धाधुन्ध फाइरिङ गर्दा १३० जनाले ज्यान गुमाएका थिए भने ३३० भन्दा बढी घाइते भएका छन्। अन्धाधुन्ध फाईरिङ गर्दै होटल ताज, ओवराय होटल र नरीमन हाउसभित्र छिरेका आतंककारीले त्यहाभित्र रहेकालाई करीव ४१ घण्टादेखि बन्धक बनाई राखेका थिए। अहिलेसम्म कारवाहीमा १० आंतकवादी मारिएको र एक गिरफ्तारमा परेको जनाएको छ। मुठभेडमा १५ सुरक्षाकर्मीहरू मारिएका छन्। (Last updated IST 3:00 PM/HKNepal.com)


सेक्युरिटी क्यामरामा कैद आंतककारी। हातमा स्वचालित हतियार


रक्ताम्य घटनास्थल


ऐतिहासिक पाँच तारे होटल ताज आगोको लप्कामा।


खतराबीच रिपोर्टिङ गर्दै स्टार न्युजका रिपोर्टरहरू। होटल ताजमा चलिरहेको कमाण्डो अप्रेशनका क्रममा खतराबाट बच्न पल्टेर लाइभ रिपोर्टिङ गर्दै।

मुम्बईमा आतंककारी हमला
एस, मुम्बई / एचकेनेपाल डट कम २७ -
भारतको व्यावसायिक राजधानी मुम्बईका कयौं ठाउंहरुमा बुधबार राति करीव १० बजे आंतककारी हमला हुंदा कम्तीमा ७८ जनाको मृत्यु र २ सयभन्दा बढी घाइते भएका छन्।

मुम्बई प्रहरीले आतंककारी र प्रहरीबीचको मुठभेडमा आतंकवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित तीन प्रहरी अधिकारीहरुको गोली लागेर मृत्यु भएको बताएको छ। मुठभेडमा दुई आतंककारीहरू मारिएका छन् भने संदिग्ध ९ जनालाई प्रहरीले हिरासतमा लिएको छ।

आतंककारीहरूले दक्षिण मुम्बईका सात ठाउंमा विस्फोट र फाइरिङ गर्दै मुम्बईका ऐतिहासिक पाँच तारे होटल ताज, होटल ओबराय, मुम्बईको मुख्य रेलवे स्टेशन छत्रपति शिवाजी टर्मिनस (सीएसटी) र कामा अस्पताललाई निशाना बनाएका थिए।

एके -47 अटोमैटिक बन्दुक र ग्रिनेड बोकेका आतंककारीले सुरूमा अन्धाधुन्ध फाइरिङ गर्दै ताज होटल र ओवराय होटलमा घुसेर केही विदेशी पर्यटकहरूलाई बन्धक बनाएको बताइन्छ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि सेना परिचालन गरिएको छ। यो समाचार तयार पारूञ्जेलसम्म होटल ताजभित्र सेनाको अप्रेशन जारी रहेको छ भने ताज होटलका माथिल्लो भागमा आतंककारीहरूले लगाएको आगो नियन्त्रणमा लिने प्रयाश भैरेहको छ।
(IST 3:45 AM/ HKNepal.com)

Popularity: 9%

Add comment November 28th, 2008

नेपालमा वनकरिया र राजी नामक नयाँ भाषा फेला पर्यो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालमा ‘वनकरिया’ र ‘राजी’ नामक नयाँ भाषा फेला परेको छ। मकवानपुर जिल्लाको हाँडीखोला गाविसस्थित हाँडीखोलामा वनकरिया र सुर्खेत जिल्लाको आमा कुइने भन्ने स्थानमा राजी नामक ती नयाँ भाषा भेटिएको भाषा विज्ञानका प्राध्यापक डा. दानराज रेग्मीले जानकारी दिनुभयो।

हाँडीखोला क्षेत्रका ६४ जना वनकरिया मध्ये पाँचजनाले वनकरिया र जामा कुइनेका दुई हजार ४९९ मध्ये दुई हजार ४१३ जनाले राजी नयाँ भाषा बोलेको डा. रेग्मीले बताउनुभयो।

भाषाविद् डा.रेग्मीको नेतृत्वमा पेशल दाहाल र रचना पौडेलले वनकरिया र रमेश क्षेत्रीले राजी भाषा ती क्षेत्रमा गर्नुभएको अनुसन्धानबाट ती नयाँ भाषा बोल्ने बासिन्दाहरु भेटिएको हो।

ती भाषाका बारेमा भाषा वैज्ञानिक दृष्टिकोणबाट थप अध्ययन अनुसन्धान पनि भइरहेकोले भाषा विज्ञानका प्राध्यापक कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो।

नेपालको पछिल्लो जनगणना अनुसार नेपालमा ९२ भाषा बोलिने गरिन्छ।

ती नयाँ भाषाका बारेमा कीर्तिपुरमा सुरु भएको भाषा विज्ञान समाजको २९ अन्तरराष्ट्रिय सम्मेलनमासमेत छलफल हुने भएको छ।

नेपालका सीमान्तकृत भाषाहरु भुजेल, चेपाङ, जिरेल, सन्थाली अन्य भाषाहरु भोजपुरी, नेवारी, दनुवार, लिम्बु, गुरुङ, नेपालीलगायतका भाषामा भइराखेका अध्ययन अनुसन्धान बारेमा भाषा वैज्ञानिकहरुका अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित सो दुई दिने सम्मेलनमा नेपाललगायत भारत, बङ्गलादेश, चीन आदि देशको सहभागिता छ।

सम्मेलनमा करिब ३५ भाषासँग आवद्ध ६६ वटा भाषा वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिने भाषा विज्ञान समाजका सचिव प्रा.पराजुलीले जानकारी दिनुभयो।

नेपाल सरकारले पहिलो पटक सुरु गर्न लागेको भाषिक सर्वेक्षणको पूर्व सन्ध्यामा हुन गइरहेको सो सम्मेलनले भाषाका अवस्था र यसलाई संरक्षण गर्न अपनाउनुपर्ने रणनीति तयार गर्न कोशेढुङ्गाकै काम गर्ने अपेक्षा गरिएको छ।

स्थानीय विकास मन्त्री रामचन्द्र झाले सम्मेलनको उदघाटन गर्दै भाषाका अवस्था र तिनलाई संरक्षण गर्न सरकारले अपनाउनुपर्ने रणनीति तयार गर्न भाषिक र्सर्वेक्षण गर्न लागिएको जानकारी दिनुभयो।

उहाँले भाषा र्सर्वेक्षण गर्न बजेट अपुग भएकोमा सरकारले थप गर्ने जानकारी दिँदै भाषिक र्सर्भेक्षण गर्दा निष्पक्षता अपनाउन आग्रह गर्नुभयो।

समाजका अध्यक्ष प्रा.डा. गोविन्द भट्टराईले भाषा मर्न नदिन समाज प्रयत्‍नशील रहेको बताउनुभयो।

भाषाविद् प्रा. योगेन्द्र यादवले भाषिक सर्वेक्षणका बारेमा जानकारी दिँदै यसबाट भाषा संरक्षणका लागि नयाँ मार्ग दर्शन निस्कने बताउनुभयो।

Popularity: 9%

Add comment November 27th, 2008

महाधिवेशनले फोरम सरकारमा बस्ने कि नबस्ने टुंगो लाउने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
परराष्ट्रमन्त्री एवं मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चासँग भएको सहमति कार्यान्वयन नभए सरकारमा बस्ने या नबस्ने कुराको निधो महाधिवेशनले तय गर्ने बताउनुभएको छ।

फोरमको महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते वीरगन्जमा हुने भएको छ।

भारतीय विदेशमन्त्री प्रणव मुखर्जीसँग वीरगन्ज आउनुभएका अध्यक्ष यादवले पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मुखर्जीको नेपाल भ्रमणले मधेसको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले कोसी बाँधको पुनःनिर्माण र हुलाकी मार्गको निर्माणमा सहयोग गर्ने प्रतिबद्धता भारतीय विदेशमन्त्री मुखर्जीले व्यक्त गरेको कार्यकर्तालाई जानकारी गराउनुभयो।

Popularity: 9%

Add comment November 27th, 2008

नगरकोटका सबै होटल अनिश्चितकालका लागि बन्द

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नगरकोटका मजदुरले एकसूत्रीय माग राखी हिजोदेखि नगरकोटका सबै होटलमा हड्ताल घोषणा गरेको छ। वार्ता असफल भएपछि होटलव्यवसायी र मजदुरले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका छन्।

नगरकोटको सबैभन्दा ठूलो होटल क्लब हिमालयनका ८६ जना मजदुरको तलब रु.एक हजार तीन सयदेखि रु.चार हजार छसयसम्म वृद्धि गर्नुपर्ने माग राखी गत सोमबारदेखि होटेल बन्द गर्ने क्लब हिमालयनका कर्मचारीको मागप्रति ऐक्यबद्धता जनाउँदै हिजोदेखि नगरकोटका सबै होटल बन्द गर्न समिति गठन गरिएको छ।

अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर सङ्घको आह्वान तथा क्लब हिमालयनका मजदुर संयोजक प्रेमदत्त तुलाधरको नेतृत्वमा होटल बन्दको आह्वान गरिएको हो।

होटल क्लब हिमालयनले मजदुरलाई सुविधा नदिई झुटो तलबमा राखेको जनाउँदै खाईपाई आएको तलबमा प्रतिव्यक्ति रु.एक हजार तीनसयको दरले वृद्धि गर्नुपर्ने माग राखेकामा व्यवसायीले मजदुरको मागप्रति बेवास्ता गरेपछि मजदुरले हडताल गर्नुपरेको बताएका छन्।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव एवं वार्ता कमिटी सदस्य धनबहादुर लामाले भने मजदुरसँगको वार्ता असफल भएको बताउँदै मजदुरको ज्यादतिविरुद्ध व्यवसायीको आन्दोलनस्वरुप नै आ-आफ्नो होटलबन्दको घोषणा गरिएको बताउनुभयो।

होटल व्यवसायी वार्ता समिति र अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर सङ्घबीचको वार्ता हिजो मध्याह्न असफल भएपछि व्यवसायीले आ-आफ्ना होटल बन्द गर्ने घोषणा गरेका हुन्।

Popularity: 9%

Add comment November 27th, 2008

माओवादीको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी) को राष्ट्रिय कार्यकर्ता भेला हिजो सम्पन्न भएको छ। भक्तपुरमा जारी माओवादीको राष्ट्रिय कार्यकर्ता भेलाले जनताको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र भन्ने पार्टीको राजनीतिक कार्यदिशा तय गरेको छ।

राष्ट्रिय भेलामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता मोहन वैद्य किरणले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनलाई एउटै बनाएर सो कार्यदिशा तय गरिएको सहभागी लिम्बुवान राज्यसमितिका सदस्य आकाशले जानकारी दिनुभयो।

भेलाले माओवादी पार्टीको एकतालाई अझ मजबुत बनाउँदै क्रान्तिलाई नयाँ ढङ्गबाट अगाडि बढाई गणतन्त्रको लक्ष्य हासिल गरेर छाड्नमा भेलाले जोड दिएको बताइएको छ।

पाँच दिनदेखि जारी माओवादीको राष्ट्रिय कार्यकर्ता भेलाले नयाँ एकताको सन्देश दिएको छ।

भेलामा अध्यक्ष प्रचण्डले रुपान्तरणसहितको मजबुत एकताको सन्देश राष्ट्रिय कार्यकर्ता भेलाले दिएको छ भन्नुभयो।

भेलामा सैद्धान्तिक रुपमा सहमति हुन नसकेका कतिपय बुँदालाई पार्टीको महाधिवेशनमा लैजाने सहमति भएको पनि सहभागीले जनाएका छन्।

भेलामा देशभरका एक हजार दुई सयजना कार्यकर्ताको सहभागिता थियो।

Popularity: 9%

Add comment November 27th, 2008

गोर्खा सैनिकको मृत्युप्रति बेलायती शोक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संयुक्त अधिराज्यले गोर्खा दस दिनअघि अफगानिस्तानमा मारिएका राइफल्स सेकेन्ड बटालियनका सर्जेन्ट कृष्णबहादुर दुराको निधनमा दुःख व्यक्त गरेको छ।

रक्षामन्त्री जोन हट्टनले दुरा व्यावसायिक र साहसीका साथै आफ्नो लक्ष्यप्रति प्रतिबद्ध भएको बताउँदै दुराका परिवार, मित्र र गोर्खा राइफल्सकर्मीप्रति सहानुभूति व्यक्त गर्नुभएको छ।

सो बटालियनका कमान्डिङ अफिसर क्रिस डार्बेले पनि दुरा वीर र भद्र व्यक्ति भएको बताउनुभएको छ।

दुराको शव यही मङ्सिर ४ गते र्याफ लाइनेहम ल्याई पूर्ण सैनिक समारोह गरिएको थियो।

उनको शव आज काठमाडौँ ल्याइने बेलायती राजदूतावासले जनाएको छ।

Popularity: 9%

Add comment November 27th, 2008

जलवायु परिवर्तनसम्बन्धी नेपालको प्रतिवद्धता घोषणा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले नेपालले भोगिरहेको जलवायु परिवर्तनसम्बन्धी दुई चुनौती सम्बोधन हुने गरी नेपालको प्रतिबद्धताको घोषणा गर्नुभएको छ।

ती प्रतिबद्धतामा राष्ट्रिय वातावरणीय अनुकूलता कार्ययोजना (नापा) र नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता साझेदारी (रीप) छन्।

सो सम्बन्धी हस्ताक्षरका अवसरमा बेलायती अन्तरराष्ट्रिय विकासमन्त्री माइक फोस्टर तथा नामा र रीपलाई सहयोग गर्ने १३ वटा दातृ संस्थाका तर्फबाट बेलायती राजदूत सरीक हुनुहुन्थ्यो।

यसैबीच जलवायु परिवर्तनका समस्या समाधान गर्नका लागि नापा तयार गर्न बेलायतले नेपाललाई छ लाख ६० हजार स्टर्लिङ पाउन्ड उपलब्ध गराउने भएको छ।

नेपाल भ्रमणमा आउनुभएका बेलायतीमन्त्री फोस्टर र वातावरण, विज्ञान तथा प्रविधिमन्त्री साहले यहाँ आयोजित समारोहमा सो सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो।

सो अवसरमा मन्त्री साहले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न उक्त सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

बेलायतीमन्त्री फोस्टरले नेपालका ४० प्रतिशत क्षेत्र जलवायु परिवर्तनको जोखिममा रहेको उल्लेख गर्दै विश्वव्यापी चुनौतीका रुपमा रहेको जलवायु परिवर्तनको समस्या समाधान गर्न सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव उमेशप्रसाद मैनाली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा.गोविन्दराज पोखरेलले जलवायु परिवर्तनको समस्या समाधानका लागि वैकल्पिक ऊर्जाको विकासमा जोड दिइएको बताउनुभयो।

Popularity: 9%

Add comment November 27th, 2008

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2008
M T W T F S S
« Oct   Dec »
 12
3456789
10111213141516
17181920212223
24252627282930

Posts by Month

Posts by Category

More news....