धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम, पुस १६ -
शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्माले सरकारले नेपाली काँग्रेसको नौं बुदें मागलाई क्याविनेटबाट स्वीकार गरेको भन्दै माग पूरा गर्ने सर्न्दर्भमा समय सीमा तोक्न नसकिने बताउनुभएको छ।
‘सरकारले काँग्रेसको मागलाई क्याविनेटमा स्वीकार गरिसकेको छ।’ उहाँले बुधबार पोखरामा पत्रकारसितको कुराकानीमा भन्नुभयो-’समय सीमा तोकिनु उपयुक्त छैन् ।’ उहाँले काँग्रेको नौं बुदें मागलाई छिटोभन्दा छिटो पूरा गर्ने प्रक्रिया शुरु गरिने जानकारी दिनुभयो ।
‘सरकारले स्वीकार गरिसकेको मागलाई समयसीमा तोकिनुहुन्न ।’ उहाँले भन्नुभयो-’छिटोभन्दा छिटो शुरु हुन्छ ।’ नेपाली सेनाले भर्ती खोलेको सर्न्दर्भमा सोधिएको प्रश्नमा मन्त्री शर्माले सरकारले दिएको निर्देशनलाई सेनाले मान्नुपर्ने दावी गर्नुभयो ।
‘सेनाले सरकारको निर्देशन मान्नुपर्छ ।’ उहाँले भन्नुभयो-’निर्देशन नमान्नुको विकल्प छैन् ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले सेनालाई सेनामा भर्ती रोक्न निर्देशन दिएको थियो । तर सेनाका प्रवक्त रविन्द्र क्षत्रीले रिक्त पद पूर्तिको लागि भर्ती खोलेको भन्दै रोक्न नसकिने प्रतिक्रिया दिनुभएको थियो ।
मन्त्री शर्माले सरकारले दिएको निर्देशन सबै निकायले पालना गर्नुपर्छ भन्दै सेनाले पनि निर्देशन पालना गर्नुपर्ने स्पष्ट पार्नुभयो । माओवादी लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गर्ने विषयमा भने मन्त्री शर्माले सेना समायोजन, सुरक्षा व्यवस्था कस्तो हुने, संरचनागत रुपमा कस्तो भन्ने विषयमा राजनीतिक दलहरु बीच बहस चलेको जानकारी दिनुभयो । सेना समायोजनको लागि गठित विशेष समितिमा नेपाली काँग्रेसले आफुलाई प्रस्तुत गरेको छ ।
पिछडिएको समुदायको नेतृत्व सुनिश्चित गर्न लक्ष्य स्पष्ट निर्धारण गरिएको उल्लेख गरिएको बताउँदै मन्त्री शर्माले त्यसको मोडलिटी तय हुन बाँकी रहेको बताउनुभयो । ‘मोडालिटी तय गर्ने विषयमा राजनैतिक प्रत्यारोप अहिले चलिरहेको छ ।’ उहाँले भन्नुभयो ।
मन्त्री शर्माले सरकारलाई प्राप्त बजेटको आधारमा प्रत्यके जिल्लाका शहीद परिवारलाई १/१ लाख रुपियाँ राहत दिने जानकारी दिनुभयो । उहाँले शहीद परिवारलाई राहत दिनको आवश्यक सहयो गर्न स्थानीय निकायलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । ‘शहीद परिवारलाई १/१ लाख रुपियाँ राहत स्वरुप प्रदान गरिने छ ।’ उहाँले भन्नुभयो-’त्यसको लागि स्थानीय निकायले सहयोग गर्नुपर्छ ।’
उहाँले रकम पारदर्शी ढंगले उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभयो । दुइवर्षभित्रमा भौतिक पुननिर्माण गरिने समेत बताउनुभयो। पोखराबाट धन बस्नेत, पुस १६ गते
धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम, पुस १६ -
पर्यटकीय फेवातालका डुंगा व्यवसायीले बुधबार डुंगा सेवा बन्द गरेका छन् । फेवा डुंगा व्यवसायी समितिका सहसचिव भक्तराज पहारीको गएराति अज्ञात समूहबाट हत्याभएपछि त्यसको विरोध गर्दै व्यवसायीले डुंगा सेवा बन्द गरेका हुन्।
पहारीलाई गएराति अज्ञात समुहले ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । अनुहार नचिने गरी हत्या गरिएको उनको शव राती साढे १ बजे पहारी मार्गमा फेला परेको थियो । पहारीको शवलाई प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाएको छ।
हत्याको विरोधमा उत्रिएका डुंगा व्यवसायीले हत्यारालाई कार्वाहीको माग समेत गरेका छन् । डुंगा व्यवसायीद्वारा कार्वाहीको माग गर्दै सेवा बन्द गरेपछि फेवाताल पुगेका आन्तरिक तथा बाहृय पर्यटक त्यसै फर्कनु परेको छ । सडक महोत्सवको अवसरमा तालमा नौका विहार गर्ने पर्यटक बुधबार तालकिनारबाटै गन्तव्यस्थल लाग्न बाध्य भएका छन्।
यता बुधबार विहान फेवातालमा महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार खहरेस्थित रातोमाटो डाँडा तल तालमा तैरिएको अवस्थामा विहान करीव ९ बजे शव फेला परेको थियो । महिलाको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको थियो । शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम, पुस १६ -
नयाँ ट्याक्सी दर्ता रोक्नुपर्ने भन्दै ट्याक्सी व्यवसायी समिति चरणबद्ध आन्दोलनमा उत्रिएको छ । समितिले बुधबार चरणबद्ध आन्दोलन स्वरुप पोखराको व्यस्त चोकहरुमा ट्याक्सी तेर्साएर आधा घण्टा चक्काजाम गर्यो।
गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा नयाँ ट्याक्सी दर्ता रोक्नुपर्ने भन्दै समितिले मंगलबारदेखि आन्दोलन थालेको हो । वर्षेनी ट्याक्सीको दर्ताले सवारी बढ्दै गएपछि वातावरण प्रदुषण भएको भन्दै आन्दोलनमा उत्रिएको समितिका अध्यक्ष गान्धीराज गिरीले बताउनुभयो । ‘पोखरा ट्या्क्सीको डम्पिङसाइडमा परिणत भएको छ । वर्षेनी ट्याक्सी दर्ताले बातावरणीय प्रदुषण बढाएको छ ।’ उहाँले भन्नुभयो-’पोखराको बातावरण जोगाउँदै गण्डकी अञ्चलमा कालो नम्बर प्लेटका ट्याक्सी दर्ता रोक्न आन्दोलन गरिएको हो ।’
उहाँले पुराना ट्याक्सीलाई विस्थापित गरी नयाँ दर्ता गर्नुपर्ने बताउनुभयो । ‘सट्टाभर्ना गर्न पाइन्छ तर नयाँ दर्ता गर्न दिनुहुदैन् ।’ उहाँको भनाई थियो-’नयाँ दर्ताको विरोध गर्दै चरणबद्ध आन्दोलन थालिएको हो ।’ चरणबद्ध आन्दोलनस्वरुप बिहीबार एकघण्टा चक्काजाम गर्ने जानकारी दिनुभयो । पोखरामा वातावरणीय प्रदुषण बढ्दै गएपछि बातावरण संरक्षण गर्न अनिश्चितकालिन बन्द गर्ने उहाँले बताउनुभयो ।
पोखरामा झण्डै ३७ सय ट्याक्सी गुड्ने समितिले जनाएको छ । गण्डकी अञ्चलमा ३ सय ३१ किलोमिटर सडकमा ट्याक्सी गुड्छ । पृथ्वीराजमार्गको मुग्लिन, सिदार्थ राजमार्गको राम्दी र भूपि शेरचन राजमार्गको नयाँ पुलसम्म गण्डकी अञ्चलमा दर्ता भएका कालो नम्बर प्लेट भाडाका ट्याक्सी गुड्ने उहाँले जानकारी दिनुभयो । ‘चारसय ट्या्क्सीले राजमार्ग क्षेत्रमा सेवा दिएका छन् ।’ उहाँले भन्नुभयो ।
पछिल्लो समयमा पोखरामा सवारी साधनको तुलनामा सडक निकै साँघुरा बनेका छन् । सवारी साधनको बढ्दो क्रमले वातावरणीय प्रदुषण समेत बढ्दै गएको छ । विहान र साँझको समयमा व्यस्तबजारस्थलमा ट्राफिक समस्या उत्पन्न हुने गरेको छ । नयाँ दर्ता गरिएको ट्याक्सीलाई पोखरा उपत्यकाको रुट प्रमिट दिन नहुने समेत समितिले जिकिर गरेको छ । सवारी साधनको बढ्दो क्रमले पनि व्यवस्थित पार्किङस्थलको अभावमा दुर्घटनाको खतरा समेत उत्तिकै रहेको समितिले बताएको छ। पोखराबाट धन बस्नेत पुस १६ गते
एचकेनेपाल डट कम संवाददाता-
सशस्त्र द्वन्द्वका क्रममा नेकपा (माओवादी) बाट कब्जा गरिएका घरजग्गा फिर्ता गर्ने र योङ कम्युनिस्ट लिग (वाइसिएल) को अर्ध सैनिक संरचना भङ्ग गराउने विषयमा प्रधानमन्त्रीबाट व्यक्त प्रतिबद्धता पूरा नभएको भन्दै त्यसविरुद्ध दबाब सिर्जना गर्न नेपाली काङ्ग्रेसले संसदमा रहेका अन्य दलसँग परामर्श सुरु गर्ने निर्णय गरेको छ ।
नेपाली काङ्ग्रेसका उपसभापति गोपालमान श्रेष्ठका अनुसार पार्टीका शीर्षनेताहरूले माओवादीबाहेकका सबै राजनीतिक दलसँग छिट्टै परामर्श सुरु गर्नेछन् ।
उहाँले भन्नुभयो, “माओवादीबाट समयसीमा तोकेर घरजग्गा फिर्ता कार्यान्वयन नगरेसम्म व्यवस्थापिका-संसद्को कारबाही अवरुद्ध हुने र आवश्यक परेमा सडक सङ्र्घर्ष गरिनेछ ।”
माओवादीलाई अलग्याउनका निम्ति अन्य दलसँगको परामर्श सुरु नगरिएको स्पष्ट गर्दै उहाँले नेपाली काङ्ग्रेसले शान्ति-प्रक्रियालाई नबिथोल्ने र संविधान निर्माण कार्यलाई कुनै पनि परिस्थितिमा अवरोध नगर्ने बताउनुभयो ।
उपसभापति श्रेष्ठले सम्पत्ति फिर्ता र वाइसिएलको संरचना परिवर्तन गर्नेतर्फ मन्त्रिपरिषद्ले निर्णय गरेर र नेकपा माओवादीले मुखले भनेर मात्र विश्वास गर्न नसकिएको चर्चा गर्दै व्यवहारमा कार्यान्वयन भएको हेर्न नेपाली काङ्ग्रेसले चाहेको स्पष्ट पार्नुभयो ।
उहाँले नेपाली काङ्ग्रेससँग विगतमा गरिएका नौ बुँदे मागका सम्बन्धमा प्रधानमन्त्रीको दल नै समयसीमा तोक्न तयार नभएको र प्रधानमन्त्रीले मागका सम्बन्धमा मौखिक आश्वासन दिइरहँदा समेत माओवादीकै केही नेताले जग्गाजमिन कब्जा गर्ने र फिर्ता नगरिने धम्की दिइरहेको बताउनुभयो । उपसभापति श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्रीले बोलेको कुरा नै कार्यान्वयन भइरहेका छैनन्, जनतामा प्रधानमन्त्रीको बोलीप्रति अविश्वास सिर्जना भइरहेको छ ।”
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेस र नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) सँग साबिकमा आबद्ध नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ, रसुवालाई समायोजन गरी एउटै समिति बनाउन पार्टी नेतृत्वले गरेको निर्णय तत्काल फिर्ता लिन माग गर्दै कार्यकर्ताहरूले नेपाली काङ्ग्रेसको रसुवास्थित कार्यालयमा तालाबन्दी गरेका छन् ।
नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ, रसुवाद्वारा प्रकाशित छुट्टाछुट्टै प्रेस विज्ञप्तिमा केन्द्रीय प्रतिनिधिसमेतको उपस्थितिमा गत महिना पार्टी नेतृत्वले गरेको निर्णय अवैधानिक भएको जनाइएको छ । विज्ञप्तिमा सो निर्णय तत्काल फिर्ता लिई नेपाल तरुण दलको अध्यक्षमा श्यामकुमार गुरुङ र नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा शशी अधिकारीलाई कायम राख्न माग गरिएको छ ।
वार्ताद्वारा समस्या समाधान गर्न खोज्दाखोज्दै पार्टी नेतृत्वले बेवास्ता गरेबाट पार्टी कार्यालयमा ताला लगाउनु परेको जनाउँदै विज्ञप्तिमा अवैधानिक निर्णय तुरुन्त फिर्ता लिई साङ्गठनिक प्रक्रियाअनुरूप अगाडि बढ्न पार्टी पङ्क्तिलाई आग्रह पनि गरिएको छ। साथै निर्णय फिर्ता नलिएसम्म पार्टी कार्यालयमा लगाइएको ताल्चा नखोल्ने पनि विज्ञप्तिमा उल्लेख छ।
यसैबीच नेपाली काङ्ग्रेस, रसुवाका सभापति लालबहादुर तामाङले भने दुवै भ्रातृसंस्थाको नयाँ नेतृत्व विधानबमोजिम पार्टीको निर्णयानुसार चयन गरिएको स्पष्ट पार्दै कुनै किसिमको असन्तुष्टि भए छलफल गर्न सकिने बताउनुभएको छ ।
एचकेनेपाल डट कम संवाददाता-
तराईमा सशस्त्र सङ्घर्षरत जनतान्त्रिक तराई मुक्तिमोर्चा (राजन मुक्ति समूह) ले वार्ताका लागि सरकारलाई पत्र पठाएको छ। मोर्चाका केन्द्रीय अध्यक्ष राजनले सोसम्बन्धी औपचारिक पत्र मध्यस्थकर्ता ज्योति झामार्फत् सरकारलाई पठाएको हो।
सो पत्रमा मोर्चाले वार्ताका लागि युद्धविरामको घोषणा गर्दै सम्पूर्ण फौजी कारबाहीसमेत स्थगित गरेको उल्लेख छ। पत्रमा मोर्चाका सम्पूर्ण फौजी र मोर्चाका कार्यकर्ताको सुरक्षा सरकारले लिनुपर्ने र वार्ताका लागि तीन दिनभित्र समिति सार्वजनिक गर्ने पनि उल्लेख गरिएको छ । मोर्चाले अन्य मागका सम्बन्धमा वार्ता टेबुलमै छलफल गरिने पनि पत्रमा स्पष्ट गरेको छ ।
मोर्चाले पठाएको पत्र शान्ति तथा पुनःनिर्माणमन्त्री एवं सरकारी वार्ता टोलीका संयोजक जर्नादन शर्मालाई बुझाइसकिएको मध्यस्थकर्ता झाले जानकारी दिनुभएको छ ।
एचकेनेपाल डट कम संवाददाता-
पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमीले मन्त्रिपरिषद्का सदस्यहरूको तुलनामा अर्थमन्त्रीले सबैभन्दा बढी काम गर्नुहुने जिकिर गर्नुभएको छ। मन्त्री यमीले सबैभन्दा राति घर फर्कने मन्त्री अर्थमन्त्री नै हुनुहुन्छ भन्नुभयो।
राष्ट्रिय वित्तीय समस्या समाधान संयुक्त समितिद्वारा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा अर्थमन्त्रीसँग विमानस्थलमा भेट भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले अर्थमन्त्री लक्ष्य गरेअनुरूप राजस्ज उठाउन सफल हुनुभएको छ, त्यो राजस्वले तपाईहरूलाई पनि माथि उठाउन सहयोग पुग्ने छ भनी बैङ्क ऋणीहरूलाई भन्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
स्थानीय विकासमन्त्री रामचन्द्र झाले नेपालका सम्पूर्ण लोपोन्मुख १० जाति तथा समुदायको उत्थानका लागि प्रतिव्यक्ति रु.५ सय सरकारले सहयोग दिने योजनासहित प्रत्येक गाविसमा बजेट पठाइसकिएको जानकारी दिनुभएको छ।
मन्त्री झाले सुनसरीको धरान-१८ मा नेपाल बौद्ध गुम्बा तथा तमु छोजधींद्वारा आयोजना गरिएको २५९३ औँ तमु ल्होसार पर्वका अवसरमा सो जानकारी दिनुभएको हो ।
उक्त अवसरमा मन्त्री झाले स्थानीय तहको सम्पूर्ण सरकारी कामकाज स्थानीय भाषाबाट नै काम गर्ने वातावरण निर्माणका लागि निर्देशिका जारी गरिसकिएकाले अब सबै जाति तथा जनजातिले स्थानीय तहमा सरकारी काम गर्दा आफ्नै भाषामा गर्नसक्ने स्थिति निर्माण भएको बताउनुभयो ।
मन्त्री झाले अन्तराष्ट्रिय महासन्धि १६९ बमोजिम सबै समुदायको समान विकास तथा अवसर प्रदान गर्नका लागि धेरै व्यवधान विद्यमान रहेकाले ती व्यवधान अन्त्य गर्ने विषयमा पनि सरकारले पहल गरिरहेको जानकारी दिनुभयो ।
अर्को प्रसङ्गमा मन्त्री झाले भौगोलिक, जातीय र क्षेत्रीय आधारमा आत्मनिर्णयसहितको स्वायत्त सङ्घीय राज्य माग गर्ने केही समूहले राज्यलाई विखण्डनतिर धकेल्ने प्रयास गरिरहेकोतर्फ सरकार सचेत रहेको स्पष्ट पार्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका युवा नेता एवम् सभासद् गगन थापाले नयाँ संविधान माओवादी या अरु दलको शर्तमा लेख्ने नभई सबै दलको सहमतिमा लेख्नुपर्ने बताउनुभएको छ।
नेपाली काङ्ग्रेस भक्तपुरले ३३औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान निर्माणका लागि मुख्यतया काङ्ग्रेस, एमाले र माओवादी मिल्न सकेमात्र नयाँ संविधान निर्माण हुने बताउँदै तर माओवादीका अहिलेका गतिविधि तीन दललाई सहमतिमा नल्याई ऊ एकलौटी रुपमा जान खोजेको बताउनुभयो।
एस, पोखरा / एचकेनेपाल डट कम -
डुंगा व्यवसायी भक्तबहादुर पहारीको हत्याको विरोधमा डुंगा व्यवसायीहरूले आज फेवातालमा ढुंगा सञ्चालन बन्द गरेका छन्।
फेवा डुंगा व्यवसायी समितिका सहसचिव समेत रहेका पहारीको शव गएराति लेकसाइडको पहारी मार्गमा फेला परेको थियो। उनलाई टाउकोमा ढुंगाले हानेर हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। हत्यामा संलग्नको पहिचान हुन सकेको छैन।
दशौं सडक महोत्सव चलिरहेको पोखरामा डुंगा बन्द भएपछि फेवाताल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक मर्कामा परेका छन्।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एकता केन्द्र मसाल)को वैधानिक मोर्चाका रुपमा रहेको जनमोर्चा नेपालको अस्तित्व नरहने भएको छ। जनमोर्चा नेपाललाई पार्टीमा विलय गराउने निर्णय पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले गरेको छ। सो पार्टी आफै पनि माओवादीमा विलय हुने प्रक्रियामा छ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा सुरु भएको सम्मेलनमा पार्टी महासचिव नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।
देशभरका पार्टी नेता तथा कार्यकर्ताको सहभागिता रहेको दुई दिनसम्म चल्ने एकता केन्द्र मसालको राष्ट्रिय सम्मेलनपछि यही पुस १८ र १९ गते बस्ने जनमोर्चा नेपालको सम्मेलनले पार्टीको निर्णयलाई पारित गर्ने बताइएको छ।
सम्मेलनमा झण्डै ३ सय ५० जना नेता तथा कार्यकर्ता सहभागी छन्। सम्मेलनमा जनमोर्चा नेपालका अधिकांश केन्द्रीय नेताको सहभागिता छ।
एस, काठमाडौँ / एचकेनेपाल डट कम -
कान्तिपुर दैनिकका पत्रकार विकास थापामाथि मंगलवार माओवादीले ´जे पनि गर्न सक्ने´ धम्की दिएका छन्।
कान्तिपुरमा मंगलवार प्रकाशित ´सोलार जडान नगरी सरकारी अनुदान´ शीर्षक समाचारलाई लिएर ज्यान लिने धम्की दिएको पत्रकार थापाले बताएका छन्।
दैलेखको माओवादी कार्यकर्ता तथा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको संचालक समिति सदस्य दीपकबहादुर शाहीले तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन्समै गएर पत्रकार थापालाई धम्की दिएका हुन्।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कर्मचारी सरोज कार्की र अर्का एक कार्यकर्तासहित त्यहाँ पुगेका शाहीले तँलाई जतिबेला जे पनि हुन सक्छ, याद राख् भन्दै धम्की दिएका थिए। कान्तिपुरमा प्रकाशित समाचारमा ग्रामीण क्षेत्रमा सोलार प्रविधि जडानै नगरी सरकारी अनुदान लिएकोमा केन्द्रले शाहीलाई जरिवाना तिराएको उल्लेख गरेको छ। समाचारमा केन्द्रको सञ्चालक समितिका एक इन्जिनियर सदस्यलाई हटाएर एक साधारण मिस्त्री रहेका शाहीलाई नियुक्त गरिएको समाचारमा उल्लेख थियो।
यसैबीच नेपाल पत्रकार महासंघले विज्ञप्ति प्रकाशित गर्दै शाहीले दिएको धम्कीको भर्त्सना गरेको छ। ‘सरकार संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेताहरूले स्वतन्त्र प्रेसप्रति प्रतिबद्धता जनाएलगत्तै आएका यस किसिमका धम्कीपूर्ण अभिव्यक्तिप्रति महासंघले निन्दा र घोर भर्त्सना गरेको´ जनाएको छ। नेपाल पत्रकार महासंघ कान्तिपुर शाखाले पनि उक्त धम्कीको शब्दमा निन्दा गर्दै धम्की दिनेलाई तत्कालै कार्बाहीका लागि सरकारसँग माग गरेको छ।
आश गुरुङ ‘प्रतीक’, लमजुङ / एचकेनेपाल डट कम, पुस १५ -
गुरुङहरुको उद्गमस्थल लमजुङका गुरुङहरुले १५ पुस अर्थात आफ्नो महान चाड ल्होसारलाई आज मंगलवार धुमधामका साथ मनाएका छन्।
विशेष गरी लमजुङका गुरुङहरुले टाढा टाढा रहेका आफन्तसंग भेटघाट गर्नुका साथै नयाँ नयाँ लुगा लगाएर, सेलरोटी, खिरलगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि हर्षोल्लासका साथ यसपटकको ल्होसार मनाएकाछन्।
गुरुङ ल्होसारको अवसरमा लमजुङ सदरमुकाम वेसीशहरमा आयोजना गरिएको सडक र खाना महोत्सवमा आ-आफ्ना परिकारका साथ मगर र नेवारी महिलाहरु। तस्वीरः आश गुरुङ ‘प्रतीक’ / एचकेनेपाल डट कम।
ल्होसारका दिन लमजुङ सदरमुकाम वेसीशहरमा सडक तथा खाना महोत्सवको आयोजना समेत गरिएको थियो । गाउँमा रहेका टोलटोलमा स्यो कैँ अर्थात भोज खाने चलनको विकल्पमा सदरमुकाम वेसीशहरको गणतान्त्रिक चोकमा महोत्सवको आयोजना गरिएको थियो।
वेसीशहरस्थित त्रिवेणी क्लब, लमजुङ मर्स्याङ्दी क्लब र वेसीशहर युथ सोसाईटीको आयोजनामा आज दिउँसो सडक र खाना माहोत्सवको आयोजना भएको थियो। त्यस्तै, तमु छोँज धीँ वेसीशहर इकाईको आयोजनामा तमू संग्रहालय भवनमा वेसीशहर भरिका युवायुवतीहरुबीच चियापान कार्यक्रमको आयोजना गरिएको थियो। वेसीशहरलगायत अन्य बजारहरु भोटेओडार, सुन्दरबजार लगायतका ठाउँहरुको टोलटोलमा भोज अर्थात स्यो कैँ खाने कार्यक्रमको आयोजना गरिएको थियो। त्यस्तै, गुरुङहरुको घना बस्ती भुजुङ, घनपोखरा, पसगाउँ, गिलुङ, कोल्की, तार्कु लगायतका ग्रामीण भेगमा पनि हर्षोल्लासका साथ ल्होसार मनाईएको छ।
ल्होसारकै अवरसरमा लमजुङका गुरुङहरुले हिजो सोमवार साँझदेखि आ-आफ्नो घरमा दिपावली गरेकाछन्। गुरुङहरुको १२ वर्ग अन्तर्गत मंगलवार राति १२ बजेर एक एक मिनेट गएदेखि च्यू ल्हो अर्थात मुसा बर्गलाई विदाई गरिएको छ भने लोँ ल्हो अर्थात गाईवर्ग प्रारम्भ भएको छ।
धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम, पुस १५ -
सडक विछट्टै सजाइएको छ। रंगी विरंगी ध्वजा पतकाले सडकलाई दुलही झैं सिंगार्दा उपस्थित आन्तरिक तथा बाहृय पर्यटक मख्ख परेका थिए। पर्यटक भने लामबद्ध रुपमा उभिएर बसेका थिए।
दौडका विजेता पर्यटकहरु पुरस्कार साथ। तस्वीरः धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम।
सडकमै उतारिएको खानाको परिकारले पनि अतिथिको स्वागत गर्दा पर्यटकहरु भने फिस्टेल गेट अगाडि आफूलाई तेज धावकको पहिचान दिलाउन कम्मर कसेर बसेका थिए। रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा सञ्चालित दशौं सडक महोत्सवको अवसरमा आयोजित खुल्ला पर्यटक दौडमा फ्रान्सका बेनोइत लिकाकोच प्रथम भएका छन्।
फिस्टेल गेटदेखि शुरुभएको पर्यटक दौड हल्लनचोकमा पुगेर टुंगिएको थियो। झण्डै तीन किलोमिटर दौडमा हल्याण्डका बन्डी बर्ग द्धितीय र इग्ल्याण्डका रब सोयमेस तृतीय भए। यसैगरी, महिला तर्फनेदरल्याण्डकी जेसिका प्रथम र न्युजिल्याण्डकी एरिल्ला बोण्ड द्धितीय भइन्। दौडमा सडकमा विभिन्न जनजातिको संस्कृति भेषभूषाले समेत पर्यटकलाई हौस्याएको थियो।
महिला तथा पुरुष पर्यटक दौडमा प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमश ५, ३ र २ हजार बराबरको आकर्षक पुरस्कार प्रदान गरिएको थियो। पुरुष तर्फको प्रथम र द्धितीयलाई प्याराग्लाइडिङमा टेण्डम फ्लाईट र तृतीय हुनेलाई आधा दिन बराबरको बुलेट राइटको गिफ्ट उपहार स्वरुप प्रदान गरिएको छ। दौडमा पुरुष ६ र महिला २ गरी ८ जनाको मात्रै सहभागिता रहेको थियो। पर्यटकहरु ताल किनारमा सडक सजावटलाई छिचोल्दै गन्तव्यसम्म पुगेका थिए।
यसैगरी महोत्सवमा आयोजित वेटर रेसमा लेकसाइडस्थित बिजीबी क्याफेका भुवन आचार्य प्रथम भएका छन। उनले नगद ५ हजार रुपैयाँ जिते।
एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा. रामवरण यादवले तमुको महान् चाड ल्होसारको उपलक्ष्यमा देशविदेशमा रहनुभएका तमु नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिँदै ल्होसारले सबै नेपालीमा शान्ति समृद्धि ल्याउन सहयोग पुर्याउँछ भन्ने कामना व्यक्त गर्नुभएको छ।
आफ्नो सन्देशमा राष्ट्रपतिले धर्म-संस्कृतिको सम्मान, मर्यादा र समाजमा धार्मिक सदभाव एवम् सहिष्णुताको प्रवर्द्धन गर्नु नै धर्मनिरपेक्षताको मर्म भएकाले नेपालमा सबै धर्मावलम्बीलाई स्वतन्त्रतापूर्वक आआफ्नो धर्म संस्कार अभ्यास गर्ने समान अवसर उपलब्ध छ भन्ने उल्लेख गर्नुभएको छ।
यसै अवसरमा उपराष्ट्रपति परमानन्द झाले शुभकामना सन्देश दिँदै यो पर्व मनाउने नेपालका सम्पूर्ण गुरुङ दिदीबहिनी तथा दाजुभाइका साथै सम्पूर्ण नेपालीमा सुस्वास्थ्य एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सन्देशमा तमुको महान् चाड तमु ल्होसारको उपलक्ष्यमा सम्पूर्ण नेपाली तमुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।
आफ्नो सन्देशमा उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताबीचको राष्ट्रिय एकता र स्वाभिमानको हाम्रो राष्ट्रिय पहिचानभित्र हरेक जनजाति र धर्मालम्बीको विशिष्ट एवम् मौलिक परम्परा गाँसिएको छ भन्दै आफ्नो भाषिक एवम् सांस्कृतिक पहिचानको जगेर्ना गर्दै गुरुङ जातिले नेपाली लोकसंस्कृतिको उत्थान एवम् विकासमा पुर्याएको योगदान अनुकरणीय एवम् प्रशंसनीय भएको बताउनुभएको छ।
उहाँले तमु ल्होसारको उपलक्ष्यमा तमु समुदायको उत्तरोत्तर प्रगति एवम् समृद्धिका लागि शुभकामना पनि व्यक्त गर्नुभएको छ।
एचकेनेपाल डट कम संवाददाता-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बालाजु औद्योगिक क्षेत्रमा गैरकानुनीरूपमा रहेको वाइसिएलको केन्द्रीय कार्यालय १० दिनभित्र खाली गराउन वाइसिएललाई पत्र पठाएको छ।
सो लिमिटेडले पत्रकार सम्मेलन गरी यही पुस २४ गतेसम्म वाइसिएललाई बालाजु औद्योगिक क्षेत्र छाड्न निर्देशन दिइएको जानकारी दिएको छ।
लिमिटेडका महाप्रबन्धक गिरिराज भण्डारीले वाइसिएलले त्यहाँबाट हट्न समय लाग्ने भएकाले एक/डेढ महिनाको समय मागेको जानकारी दिंदै तर विगतमा धेरै समय दिइएकाले यसपाली १० दिनभित्रै छाड्न निर्देशन दिइएको बताउनुभयो।
सो क्षेत्रमा आफूले पट्टामा लिएको ५.३३ रोपनी जग्गा वाइसिएलले आफ्नो कार्यालय प्रयोजनका लागि कब्जा गरेको भन्दै मिराकल नेपाल प्रालिले सो जग्गा खाली गराइदिन लिमिटेडलाई नै अनुरोध गरेकाले वाइसिएललाई त्यस्तो निर्देशन दिइएको उहाँले बताउनुभयो ।
सो क्षेत्रमा करिब आधा दर्जन भवन र गोदाममा वाइसिएलले यातना गृह बनाएर मान्छे कुट्ने र यातना दिनेजस्ता कार्य भएबाट विगतमा डरत्रासको भयावह आतङ्क फैलिएको पाइएको तथा त्यसबाट उद्योगपति, कर्मचारी र मजदुरमा डरत्रास विद्यमान रहेको जानकारी पनि महाप्रबन्धक भण्डारीले दिनुभयो।
उहाँका अनुसार लिमिटेडअर्न्तर्गत पर्ने धरान र पाटन औद्योगिक क्षेत्रमा पनि माओवादी मजदुर सङ्गठनले कब्जा गरेका कार्यालय विद्यमान रहेकाले तिनीहरूलाई पनि पुस मसान्तसम्म खाली गराइनेछ।
एचकेनेपाल डट कम संवाददाता-
सिंहदरबारभित्र रहेका सचिवालय, मन्त्रालय, विभाग एवम् अन्य निकायबाट प्रवाह हुने सेवा छिटो, छरितो र भरपर्दो हुनसकोस् भन्ने उद्देश्यले सिंहदरबारभित्र रहेका ती निकायमा आउने पत्र तथा दिइने निवेदनको सहजताका लागि सिंहदरबारको दक्षिण ढोकामा हरेक निकायको छुट्टाछुट्टै पिजन होल राखिएको छ।
अबदेखि सोही पिजन होलमार्फत् आफ्नो पत्र निवेदन पठाउनसकिने गृहमन्त्रालयले जनाएको छ।
यसैगरी सिंहदरबार प्रवेश गर्न चाहने सर्वसाधारणको सुविधालाई दृष्टिगत गरी सिंहदरबारभित्र रहेका सचिवालय, कार्यालय, मन्त्रालय र विभागलाई १९ समूहमा विभाजन गरी १९ प्रकारका प्रवेश पासको व्यवस्था पनि गरिएको छ।
उक्त प्रवेश पास पूर्ववत प्रक्रियाअनुसार नै सम्बन्धित मन्त्रालयका लागि मात्र उपलब्ध गराइने पनि मन्त्रालयले जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
सरकारले इजरायल तथा प्यालेस्टिनबीच देखिएको पछिल्लो घटनाक्रमलाई ध्यानमा राखी त्यसतर्फ कामदार पठाउने कार्य स्थगन गरेको छ।
इजरायली सेनाले प्यालेस्टिन प्रशासन गाजा क्षेत्रमा गत साता गरेको हवाई आक्रमणमा परी २३० जनाभन्दा बढीको मृत्यु भएपछि युद्ध सुरु हुनसक्ने सङ्केत देखापरेको भनी सरकारले हाललाई इजरायलमा कामदार नपठाउने निर्णय हिजो गरेको हो ।
इजरायलमा पछिल्ला दिनमा नेपाली महिला कामदारको आकर्षण बढेर प्रतिदिन पाँचदेखि सात जना जाने गरेको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। त्यहाँ ९० को दशकदेखि फाटफुट नेपाली कामदार जाने गरेका हुन्।
हमास र इजरायलबीच छ महिनाअघि सम्पन्न युद्धविराम सम्झौताको अवधि सकिएको आठ दिनपछि त्यहाँ आक्रमण सुरु भएको हो।
एचकेनेपाल डट कम संवाददाता-
राजाको प्रत्यक्ष शासनकालका गृहमन्त्री कमल थापाको राजावादी पार्टीले सरकारको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ।
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको हिजो बसेको बैठकले महङ्गी, लोडसेडिङ्ग, अराजकता, असुरक्षा, भ्रष्टाचार, र्सार्वजनिक निजी सम्पत्ति कब्जा आदिविरुद्ध यही पुस २२ गते देशभर विरोध प्रदर्शन गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने निर्णय गरेको छ।
एस, काठमाडौँ / एचकेनेपाल डट कम -
वैदेशिक रोजगारका लागि “नक्कली कागजात” बनाएर भारतीय बाटो हुदैं तेस्रो देशतर्फ जान लागेका ५ सय १८ जना नेपाली महिलाहरू भारतीय जेलमा रहेकाछन्।
ती महिलाहरूलाई भारतको तिहाड जेलमा राखिएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सूचना अधिकृत तीर्थ खनालले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन्। उनीहरू तेस्रो देशतर्फ रोजगारीका लागि जाने क्रममा पक्राउ परेका हुन्, खनालले भने।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सुरेश प्रधानले भारतस्थित नेपाली दूताबासलाई ती महिलाहरूबारे विस्तृत जानकारी प्राप्त गर्न आदेश दिइसकेको जनाएका छन्। ती महिला खाडीका विभिन्न मुलुकमा रोजगारीका लागि दलालमार्फत दिल्लीको बाटो लगिएका हुन्। उनीहरूमध्ये अधिकांशको पासपोर्टमा फोटो फेरिएको वा गलत ढंगले भिसा लगाइएको छ।
परराष्ट्र मन्त्रालयमार्फत उनीहरूको अनुगमन र उद्धारको पहल भैरहेको जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय मानवअधिकार आयोगले व्यक्ति बेपत्ता पार्ने (कसुर र सजायँ) ऐन २०६५ को विधेयकका सम्बन्धमा सरकारलाई १८ बुँदे सुझाव दिएको छ । आयोगका प्रवक्ता गौरी प्रधानले आयोगले गरेको बृहत् छलफल र अध्ययनपश्चात् विधेयकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल हुने गरी परिमार्जन गर्न सरकारलाई सुझाव दिइएको बताउनुभयो ।
आयोगले दिएको सुझावमा सर्वोच्च अदालतले वि.सं २०६४ जेठ १८ गते बेपत्तासम्बन्धी फैसला र यससम्बन्धी अन्य अन्तर्राष्ट्रिय मापदण्डसमेतका व्यवस्थालाई प्रस्तावित ऐनमा सम्बोधन गरिनुपर्ने उल्लेख छ।
कुनै पनि निहुँमा व्यक्तिलाई बलपूर्वक बेपत्ता पार्ने कार्य नगरिने स्पष्ट उल्लेख गरिनुपर्ने, बेपत्तालाई मानवअधिकारको गम्भीर उल्लङ्घन एवम् मानवताविरोधी अपराध मानिनु पर्ने लगायतका विषय विधेयकमा समेटिनुपर्ने सुझाव आयोगले दिएको छ।
आयोगले बलपूर्वक बेपत्ताका घटना मानवताविरुद्ध लक्ष्यित हुने भएकाले यस्ता कार्यलाई रोकथाम गर्न उपयुक्त प्रतिरोधात्मक व्यवस्था गर्न सुझाव दिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय प्रवक्ता एवम् मोर्चाको वार्ता टोलीका संयोजक सञ्जयकुमार गुप्ता (कौटिल्य)ले मधेसका अन्य सङ्गठनलाई पनि सरकारसँग वार्तामा आएर आफ्नो धारणा राख्न सुझाव दिनुभएको छ ।
मधेसी मिडिया मिसन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले वार्तालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि विश्वासको वातावरण बनाउने दायित्व सरकारको हो भन्नुभयो ।
प्रवक्ता कौटिल्यले च्याउजस्तै उम्रिएका केही मधेसी भूमिगत सङ्गठनले व्यक्ति हत्या र चन्दा सङ्कलन गरेर मधेस मुक्तिको आन्दोलनलाई बदनाम गरेको बताउँदै मधेसमा रहेका केही सिडिओ, एसपी र पत्रकारले समेत नक्कली भूमिगत सङ्गठन सञ्चालन गरी चन्दा आतङ्क बढाएको आरोप लगाउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
परराष्ट्रमन्त्री तथा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माओवादी, काङ्ग्रेस र एमालेले फोरमलाई फुटाउन भरमग्दुर प्रयास गरिरहेको आरोप लगाउनुभएको छ।
पार्टीको सप्तरीमा रहेको विवाद समाधान गर्न राजविराज आउनुभएका अध्यक्ष यादवले कार्यकर्तालाई सम्बोधन गर्दै ठूला दलले जातीय नारा दिएर मधेसी र मधेसवादी दलमा फुट ल्याउन खोजेका छन् भन्नुभयो।
उहाँले पार्टीभित्र बसेर षडयन्त्र गर्नेलाई निकालिने चेतावनी दिँदै भन्नुभयो-मधेस र मधेसीका लागि अझ धेरै सङ्घर्ष गर्न बाँकी छ, त्यसैले एकताबद्ध भई अगाडि बढौँ।
समग्र मधेस एक प्रदेशको नारा फोरमले कहिल्यै नछाड्ने बताउँदै अध्यक्ष यादवले यसका लागि फोरमले सडक, सदन र सरकारमा सङ्घर्ष गर्ने बताउनुभयो।
फोरमका केन्द्रीय सदस्य तथा शिक्षामन्त्री रेणु यादवले यादवले छात्रवृत्तिसम्बन्धी विधेयक पारित हुन नदिन केही दल सदन बहिष्कार गर्नेतर्फ लागेको आरोप लगाउनुभयो।
कार्यकर्तासँगको छलफल मङ्गलबारसमेत जारी रहने बताइएको छ ।
आज गुरुङ अर्थात तमूहरुको महानपर्व ल्होसार
गुरुङहरुको उद्गमस्थल लमजुङमा विविध कार्यक्रमका साथ मनाईदै
आश गुरुङ ‘प्रतीक’, लमजुङ / एचकेनेपाल डट कम, पुस १५ गते-
आज १५ पुस अर्थात गुरुङ तथा तमूहरुको महान चाड ल्होसार । विशेष गरि गुरुङहरुले टाढा टाढा रहेका आफन्तसंग भेटघाट गर्नुका साथै नयाँ नयाँ लुगा लगाएर, सेलरोटी, खिरलगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि ल्होसारलाई मनाउने गरिन्छ।
ल्होसारका दिन गाउँगाउँमा रहेका टोलटोलमा स्यो कैँ अर्थात भोज खाने चलन पनि छ। विगतका वर्षहरुमा ल्होसारको अवसरमा गुरुङहरुको उद्गमस्थल लमजुङमा विविध कार्यक्रमका साथ ल्होसार पर्ब मनाईदै छ।
लमजुङ सदरमुकाम वेसीशहरका गुरुङहरुले हिजो साँझ घरघरमा दिपावली गरेकाछन् भने अहिले विहान चण्डीडाँडास्थित गुम्बामा गएर पूजाआज गरेकाछन्।
लमजुङ सदरमुकाम वेसीशहरमा आज त्रिवेणी क्लब, लमजुङ मर्स्याङ्दी क्लब र वेसीशहर युथ सोसाईटीको आयोजनामा आज दिउँसो सडक र खाना माहोत्सवको आयोजना हुँदै छ। त्यस्तै, तमु छोँज धीँ वेसीशहर इकाईको आयोजनामा तमू संग्रहालय भवनमा वेसीशहर भरिका युवायुवतीहरुबीच चियापान कार्यक्रम हुँदै छ।
वेसीशहर लगायत अन्य बजारहरु भोटेओडार, सुन्दरबजार लगायतका ठाउँहरुको टोलटोलमा भोज अर्थात स्यो कैँ खाने कार्यक्रमको आयोजना गरिँदै छ। त्यस्तै, गुरुङहरुको घना बस्ती भुजुङ, घनपोखरा, पसगाउँ, गिलुङ लगायतका ग्रामीण भेगमा पनि हर्षोल्लासका साथ ल्होसार मनाउँदै छ।
गुरुङहरुको १२ वर्ग अन्तर्गत आजदेखि च्यू ल्हो अर्थात मुसा बर्गलाई विदाई गरिएको छ भने लोँ ल्हो अर्थात गाईवर्ग प्रारम्भ भएको छ।