Archive for December 12th, 2008

आइतबार अत्यधिक उल्का वर्षा हुने

श्यामकृष्ण खकुरेल, काठमाडौं / एचकेनेपाल डट कम -
नाग-३२०० नामक क्षुद्र ग्रहका कारण हुने उल्का वृष्टि (उल्कावर्षा ) यस वर्ष मंसिर २९ गते आइतबार बिहान ४:४५ बजे अत्यधिक मात्रामा देखिने छ।

ती उल्का वर्षाको स्रोत जेमिनि तारामण्डल (मिथुन राशि) भएको जस्तो देखिने हुनाले यसलाई जेमिनिड मिटियर सावर नाम दिइएको छ। उक्त समय उल्का वर्षा हेर्न चाहनेहरुका लागि सुनौलो मौका हुन सक्छ। तर पूर्णिमाको चन्द्रमाले गर्दा प्रति घण्टामा देखिने उल्काको संख्या भने कम हुनेछ।

त्यस बेला प्रति घण्टा ६० देखि १०० वटासम्म पहेंला रङ्गका उल्का वर्षा हुने अनुमान गरिएको छ। ती उल्का वर्षाहरुको गति करीव प्रति सेकेण्ड ३५ कि.मि. प्रति सेकेण्ड हुने भएकोले करीब ७० कि.मि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ।

त्यसो त नाग-३२०० नामक क्षुद्र ग्रहका कारण मंसिर २२ गते देखि नै उल्का वर्षा हुने सम्भावना रहन्छ र यो पौष २ गते सम्म भई रहन सक्ने छ। अत्यधिक उल्का वर्षा हुने मंसिर २९ गते आइतबार बिहान १ बजे देखि सूर्योदय भन्दा पहिले नाङ्गो आँखाले नै दक्षिण आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्नेछन्।

नाग-३२०० क्षुद्र ग्रहले सूर्यलाई परिक्रमा गर्ने अवधि करिब १.४ वर्ष रहेको छ। यसले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्दछन् र यो उल्का वर्षा देखिन्छ। यो उल्का वर्षा पत्ता लागेको करीब १५० वर्ष मात्र भएको छ। उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको ‘ पनि भनिन्छ। उक्त समयमा शनि ग्रह पनि मिथुन राशिमा भएकाले सजिलै अवलोकन गर्न सकिनेछ।

Recent Videos:

Popularity: 15%

Add comment December 12th, 2008

भाइरस किलर्ससँगको वार्ता सम्पन्न

एचकेनेपाल डट कम संवाददाता-
सरकारी वार्ता टोली र तराईमा सशस्त्र सङ्घर्ष गरिरहेको मधेसी भाइरस किलर्सबीचको प्रारम्भिक चरणको वार्तामा चारबुँदे सहमति भएको छ ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा हिजो अपराह्न भएको वार्तामा तत्काल दुवै पक्षले कारवाही स्थगन गरी बन्दी बनाइएका भाइरसका कार्यकर्तालाई रिहा गर्ने, भाइरसका नेतालाई राजनीतिक व्यवहार गरिने तथा वार्ता अवधिभर वार्ता टोलीका सदस्यको पूर्ण सुरक्षा सरकारले गर्ने सहमति भएको छ ।

यसैगरी, भाइरस किलर्सले राखेको राजनीतिक मागका सम्बन्धमा संविधानसभाद्वारा निर्णय गर्न आवश्यक पहल गरिने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

भाइरस किलर्सले मधेसलाई अधिकारसम्पन्न र स्वायत्त बनाउनुपर्ने, बन्दी मुक्त गर्नुपर्ने, सरकारी धरपकड अन्त गर्नुपर्नेलगायतका ११ बुँदे माग अघि सारेको थियो ।

वार्तापश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै किलर्सका तर्फबाट वार्तामा सहभागी टोली नेता जयप्रकाश यादवले मधेसी जनताको अधिकार सुनिश्चित गर्नेतर्फ वार्ता केन्द्रित भएको जानकारी दिनुभयो ।

अर्को वार्ता दुवैतर्फको आपसी सहमतिपश्चात् पछि तोकिने बताइएको छ ।

सरकारी वार्ता टोलीमा संयोजक मन्त्री शर्मा, स्थानीय विकासमन्त्री रामचन्द्र झा र शिक्षामन्त्री रेणुकुमारी यादव तथा भाइरस किलर्सका तर्फबाट वार्ता टोलीका संयोजक यादव, नागरिक समाजका विनोद दत्तसमेत सहभागी हुनुहुन्थ्यो ।

Recent Videos:

Popularity: 15%

1 comment December 12th, 2008

सशस्त्र समूहलाई वार्तामा आउन आग्रह

एचकेनेपाल डट कम संवाददाता-
वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले तराईमा रहेका सशस्त्र समूहलाई तत्काल वार्तामा आउन आग्रह गर्नुभएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीद्वारा आयोजित अन्तरक्रियामा उहाँले मधेसका मुद्दा वार्ताबाटै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री महतोले वार्ताको विकल्प नरहेको बताउँदै वार्तामा नआउँदा द्वन्द्वको आडमा अपराधी गिरोह पनि सक्रिय भएको बताउनुभयो ।

नयाँ नेपालसँगसँगै नयाँ मधेस पनि बन्ने भएकाले पनि सशस्त्र समूह वार्ताको टेबुलमा बस्नुपर्छ, सामूहिकरुपमा मधेसको मुद्दा उठाउनुपर्छ- मन्त्री महतोले भन्नुभयो ।

सोही अवसरमा उद्योग वाणिज्य सङघ नवलपरासीले उद्योगी व्यवसायीले भोगिरहेको चन्दा आतङ्क,लोडसेडिङ, भन्सारजस्ता समस्यासहितको ज्ञापनपत्र मन्त्री महतोलाई बुझाएको थियो ।

ज्ञापनपत्र बुझ्दै नेता महतोले आफूले ती मागलाई मन्त्रिमण्डलमा पेस गरी समस्या सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

Popularity: 15%

Add comment December 12th, 2008

आफूले नसके कसैले नसक्ने

एचकेनेपाल डट कम संवाददाता-
सिद्धार्थनगरमा महोत्सवको उदघाटन गर्दै अर्थमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (माओवादी)को नेतृत्वले मुलुक सञ्चालन गर्न नसके अरू कसैले पनि चलाउन नसक्ने ठोकुवा गर्नुभयो ।

उहाँले माओवादी नेतृत्वको सरकार परिवर्तन गर्ने कल्पना पनि नगर्न आग्रह गर्नुभयो ।

तराईमा आन्दोलनरत पक्षसँग वार्ता गरेर शान्ति स्थापना गर्ने प्रयास भइरहेको बताउँदै उहाँले राजनीतिक खोल ओढेर आपराधिक गतिविधि गर्ने प्रकृतिका समूहविरुद्ध राज्य संयन्त्र प्रयोग गरिने छ भन्नुभयो ।

उहाँले सरकारले ल्याएको स्वेच्छिक करप्रति नडराउन आह्वान गर्दै त्यो राजस्व तिरेर सम्मानित नागरिक हुने अवसर हो भन्नुभयो ।

अर्थमन्त्रीले लुम्बिनी नेपालमा पर्ने कुराको व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै आगामी वर्षभित्र भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल निर्माण सुरु गरिने जानकारी दिनुभयो । बुद्ध धर्म चिनाउन सकिएमा लुम्बिनीमा बर्सेनी ५० लाख पर्यटक आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आउँदो वर्षबाट नेपाललाई लोडसेडिङमुक्त राष्ट्र बनाउने प्रयास भइरहेको पनि बताउनुभयो।

Popularity: 15%

1 comment December 12th, 2008

टायर नबाल्न मन्त्रीको आग्रह

एचकेनेपाल डट कम संवाददाता-
युवा तथा खेलकुदमन्त्री गोपाल शाक्यले राजनीतिक दलका युवा सङ्गठनलाई टायर बाल्ने संस्कृतिको अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

नेपाल युवा तथा विद्यार्थी मञ्चले आयोजना गरेको अन्तरदलीय राजनीतिक युवा तथा विद्यार्थीको युवा मन्त्रीसित ‘युवा नीति’ बारे अन्तरक्रिया कार्यक्रममा मन्त्री शाक्यले युवा सङ्गठनले आफ्ना मागलाई शान्तिपूर्ण तरिकाबाट प्रस्तुत गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले युथ फोर्स र वाइसिएललाई हिंसात्मक र ध्वंसात्मक क्रियाकलाप त्यागी राष्ट्रिय विकास निर्माणका कार्यमा लाग्न पनि आग्रह गर्नुभयो ।

मन्त्री शाक्यले नयाँ बन्ने युवा नीतिमा बेरोजगारीका साथै साक्षरताको पहिचान हुने विषय समेटिनुपर्ने धारणा राख्नुभयो ।

Popularity: 15%

Add comment December 12th, 2008

आज किराँत राईको साकेला उधौली

एचकेनेपाल डट कम संवाददाता-
किराँत/राईको पवित्र चाड साकेला उधौली आज देशभर मनाइँदैछ । परम्पराअनुसार दुई दिनअघि लिम्बुले चासोक तङ्नाम पर्व मनाउने गर्छन् भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किराँत पर्व मनाउने गर्छन् । सो पर्वका अवसरमा सरकारले पहिलोपटक राष्ट्रिय विदाको घोषणा गरेको छ ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुले चासोक तङनाम भनेर मान्ने गर्छन् । बाली लगाउने बेलामा भने किराँत उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ।

साकेला किराँत/राईको मुख्य पर्व हो, सो उभौली र उधौलीको नामले वर्षा दुइ पटक मनाइने गरिन्छ। साकेला उभौली वैशाख पूर्णिमाको दिन र उधौली मङ्सिरे पूर्णिमाको पूर्ण चन्द्रमा उदाउने बेलामा मनाउने गरिन्छ।

किराँतको पवित्र धार्मिक पुस्तक मुन्धुमअनुसार वर्षा दुइ भाग अर्थात् उभौली (माथि) र उधौली (तल) मा सो चाड मनाइने परम्परा छ। चराको बसाइँसराइका आधारमा अर्थात् गर्मी सुरु हुने बेला बैशाखमा चराहरू चिसो ठाउँ अर्थात् पहाडतिर बसाइँसराइ हुने र चिसोको बेला तलतिर सर्ने हुनाले दुइपटक साकेला पर्व मनाइने चलन छ।

परम्पराअनुसार किराँती धर्मगुरु (नेक्चोल्ङ)ले चुलोको पूजाबाट सुरु गर्ने यस चाडमा धर्मगुरुले साकेला थानमा कुखुराको बलि दिने गर्नुहुन्छ। सो बलिपछि धर्मगुरुको आदेशबाट साकेला नाच सुरु गरिन्छ। सो पर्वको बेला बालबालिका, युवा, वृद्ध सबै आपसमा गोलो घेरा लगाएर परम्परागतरुपमा नाच गर्छन्।

सो नाच नेपालका विभिन्न सहरमा खासगरी युवा वर्गमा बढी प्रचलित र लोकप्रिय छ। नेपालबाहिर खासगरी सिक्किम, हङकङ, बेलायत, अमेरिका, जापान, कोरियासमेतमा लोकप्रिय छ। साकेला पर्व साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उभौली, उधौली र भूमिपूजाको नामले समेत प्रख्यात छ।

वि.सं. २०५८ को जनगणनाअनुसार नेपालमा किराँतको जनसङ्ख्या १२ लाख छ।

Popularity: 15%

1 comment December 12th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2008
M T W T F S S
« Nov   Jan »
1234567
891011121314
15161718192021
22232425262728
293031  

Posts by Month

Posts by Category

More news....