एचकेनेपाल डट कम संवाददाता-
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीलाई निराश नभएर सबै राजनीतिक दलको सहयोगमा सरकार चलाउन आग्रह गर्नुभएको छ ।
नेपाल क्रान्तिकारी युवा सङ्घको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले दश वर्षको जनयुद्ध सञ्चालन गरेर आएको पार्टीका नेताले यत्तिकैमा निराश भएर सरकार छाड्ने अभिव्यक्ति दिनुहुँदैन भन्नुभयो ।
उहाँले मुलुकमा नीतिगत र सैद्धान्तिकभन्दा पनि भागबण्डाको राजनीति हावी हुँदै गएको भनी चिन्ता व्यक्त गर्नुभयो ।
सेना समायोजनभन्दा अघि नेपाली सेना र माओवादी लडाकु दुवैलाई प्रजातान्त्रिकीकरण गर्नुपर्ने अध्यक्ष बिजुक्छेले बताउनुभयो ।
उहाँले मुलुकमा समाजिक न्याय र समतामूलक समाजको निर्माण गर्ने हो समाजवादी गणतन्त्रको सिद्धान्त र विचारलाई आम नेपाली जनताको बीचमा पुर्याउन सक्नुपर्छ भन्नुभयो ।
समाजवादी गणतन्त्रका निम्ति युवा आन्दोलन भन्ने मूल नाराका साथ सुरु भएको युवा सङ्घको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर ३० गतेसम्म वीरगन्जमा सञ्चालन हुनेछ । सम्मेलनमा ४३ जिल्लाबाट झण्डै चारसय ५० जना प्रतिनिधि र पर्यवेक्षकले भाग लिइरहेको जानकारी सङ्घका अध्यक्ष जग्यबहादुर शाहीले दिनुभयो ।
एचकेनेपाल डट कम संवाददाता-
सामान्य प्रशासनमन्त्री पम्फा भुसालले राजनीतिमा परास्त भए पनि पूरै ध्वस्त नभएका यथास्थितिवादीले परिवर्तनलाई बाधा दिइरहेको बताउनुभएको छ ।
नेकपा माओवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री भुसालले क्रान्तिकारी पत्रकार सङ्घ मकवानपुरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुलुकमा कायम रहेको पुराना राज्यसत्ताका विरासतहरु सङ्गठित रुपमा वर्तमान सरकार ढाल्ने प्रयत्नमा रहेको विचार व्यक्त गर्नुभयो ।
मन्त्री भुसालले प्रधानमन्त्रीले जनतालाई जागरुक गर्न र घच्घच्याउन बोलेका विचारलाई सरकार छोड्ने र बन्दुक बोक्ने भनी अफवाह फैलाइएको बताउनुभयो ।
मन्त्री भुसालले अब परिवर्तनका लागि माओवादीले बन्दुक बोक्दैन भन्नुभयो ।
एचकेनेपाल डट कम संवाददाता-
भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छेदारले वर्तमान सरकारको प्रमुख घटक नेकपा (माओवादी)ले सरकार एकलौटी रुपमा चलाइएको भन्दै सरकारमा बस्ने अवस्था नरहेको बताउनुभएको छ ।
उहाँले माओवादीले सरकार सञ्चालनका लागि न्यूनतम साझा सहमतिसमेत पूरा नगरेको आरोप लगाउनुभयो ।
तराईका मधेसी तीन पार्टीसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नभएकाले त्यसको लागि आन्दोलनबाहेक अर्को विकल्प छैन-उहाँले भन्नुभयो ।
मधेसी समुदायका लागि छुट्याइएको आरक्षण कोटामा गैरमधेसीलाई सिफारिस गरिएको भन्दै सरकारमा बस्ने वा नबस्नेबारे छिट्टै टुङ्गो लाग्ने बताउनुभयो ।
पार्टी केन्द्रीय समितिको छिट्टै बस्ने बैठकले सो निर्णय गर्छ- उहाँले भन्नुभयो ।
मधेसी जनअधिकार फोरमका नेता गच्छेदारले एक मधेस एक प्रदेश पार्टीको नारामात्र रहेको तर सरकारसँगको सम्झौतामा त्यस्तो उल्लेख नगरिएको बताउनुभयो ।
मन्त्री गच्छेदारले मधेसीको माग पूरा नभए सरकारमा बस्नुको औचित्य छैन-उहाँले भन्नुभयो ।
एचकेनेपाल डट कम संवाददाता-
महिलाहरू लजालु स्वभावका हुनु स्वाभाविक मानिए पनि धनगढीमा स्थानीय एक महिलाले पुरुषले प्रयोगमा ल्याउने ‘कण्डम’ को घुम्ती पसल खोलेकी छिन् । धनगढी नगरपालिका, वडा नं. १ की विस्ना नेपालीले नेपाल सिआरएस कम्पनी र थागिल नामक गैरसरकारी संस्थाको सहयोगमा यो पसल सञ्चालन गरेकी हुन् ।
स्थानीय बजारका चोक, गल्ली र सार्वजनिकस्थलमा देखिने यो घुम्ती पसलबाट सुरक्षित यौनसम्पर्कका लागि अहिलेसम्म सयौं व्यक्तिलाई कण्डम बिक्री वितरण भएको मात्र नभई पसलको आम्दानीबाट स्वयं पसलसञ्चालिका नेपालीको पनि जीविकोपार्जन गर्न सहज भएको छ । ‘दैनिक रु.३ सयदेखि रु.४ सयसम्मको कण्डम बिक्री हुन्छ, यसै पेसाबाट खान लाउन पुगेको छ ।’- नेपालीले बताइन् ।
कण्डमका प्याकेटले सजिएको छानो भएको चारपाङ्ग्रे ठेला गुडाउँदै उनी बजारका चोक, गल्ली, चौराहा, बस विसौनीमा मात्र नभई नेपाल-भारत सीमाको डोकेबजारसम्म पुग्ने गरेकी छिन् । बसविसौनी, डोकेबजार, वीरेन्द्र-ऐश्वर्या उद्यानचोकमा सबैभन्दा बढी कण्डम बिक्री हुने गरेको उनले बताइन् ।
‘पन्ध्र/सोह्र वर्षउमेरका युवायुवतीदेखि लिएर ४०/४५ वर्षउमेरका महिलापुरुष कण्डम लिन आउँछन् । यीमध्ये कतिपयले कण्डमको सिङ्गै प्याकेट (डिब्बा) उठाएर लग्छन् ।’ पसल सञ्चालिक नेपालीले बताइन् । पसलमा चकलेट, विस्कुट, चाउचाउजस्ता किराना सामान पनि बिक्रीका लागि राखिएका छन्।
एस, पोखरा / एचकेनेपाल डट कम -
विद्यार्थीहरुले आफ्ना माग पूरा नभएको भन्दै आइतबार बिहान पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पस तोडफोड र आगजनी गरेका छन्।
विद्यार्थीहरुले क्याम्पसमा स्ववियु स्थापना हुनुपर्ने र पुस्तकालय खोल्नुपर्नेलगायतका आफ्ना माग पूरा नभएपछि विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड र आगजनी गरेका हुन्। विद्यार्थीले क्याम्पस प्रमुख सविता वैद्यमाथि दुर्व्यवहारसमेत गरेका थिए। प्रहरीका अनुसार क्याम्पस प्रमुखलाई कालो मोसो दलेपछि कार्यकक्षमा तोडफोड तथा आगजनी गरेका थिए। आगजनीबाट क्याम्पस प्रमुखको कार्यकक्ष र कागजपत्र नष्ट भएका छन्।
सो क्रममा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका विद्यार्थीबीच झडपसमेत भएको बताइन्छ।
घटनापछि सो क्याम्पस क्षेत्र तनावग्रस्त बनेको बताइएको छ।
एस, काठमाडौं / एचकेनेपाल डट कम -
राष्ट्रपति डा. रामवरण यादव आँखाको शल्यक्रियाको लागि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनु भएको छ।
केही दिनयता आँखामा समस्या देखा परेपछि चिकित्सकहरुले उहाँलाई आँखाको शल्यक्रिया गर्नु पर्ने सुझाव दिएका थिए। करीव एक महिनाअघि आँखा परीक्षण गर्दा उहाँलाई शल्यक्रिया गर्नु पर्ने सुझाव दिइएको थियो।
उहाँको शल्यक्रियामा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. देवनारायण शाहको टोली संगलग्न रहेको अस्पताल स्रोतले जनाइएको छ।
खेमनाथ पौडेल, युएइ / एचकेनेपाल डट कम -
दुवईको एभरेष्ट इन्टरनेश्नल होटलमा शुक्रबार सम्पन्न नेपाली समाजको चुनावमा सर्वसम्मतीबाट यमप्रसाद तमु अध्यक्ष पदमा चुनिएका छन्।
अध्यक्ष पदमा नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण ढकाल, जनजाति महासँघका अध्यक्ष यमप्रसाद तमु र नेपाली समाजका उपाध्यक्ष राजेन्द्र देवकोटाको उम्मेदवारी परेको थियो। कृष्ण ढकाल तथा राजेन्द्र देवकोटाले अन्तिम चरणमा यमप्रसाद तमुलाई समर्थन गर्दै आफ्नो उम्मेवारी फिर्ता लिएका थिए। उपाध्यक्ष पदमा लक्ष्मण सापकोटा, आसिफ अलि सिद्धिकी र मानबहादुर थापाले उम्मेदवारी दिएका थिए। २ जना उपाध्यक्षको मात्र निर्वाचन हुँने हुंदा मान बहादुर थापाले लक्ष्मण सापकोटा र आसिफ अलि सिद्धिकीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए।
समझदारीमा नारायण अधिकारीलाई महासचिवमा, उक्तम अधिकारी सचिव पदमा र धर्मेन्द्र यादवलाई नेपाली समाजको प्रवक्त्तामा चयन गरिएको छ। कोषाध्यक्ष पदमा रविन्द्र पौडेल निर्विरोध निर्वाचित भएका छन्।
बाँकी रहेका कार्यसमितिको चयन अध्यक्षको रोहवरमा विभिन्न संघसस्थाहरुको प्रतिनिधित्व हुने गरी पहिलो बैठकले गरिने निर्वाचन समन्वय समितिले जानकारी दिएको छ।
नव निर्वाचिन अध्यक्ष यमप्रसाद तमुले पार्षदहरुको अध्यक्षतामा राजेन्द्र देवकोटालाई चयन गरेका छन्। नयाँ कार्यसमितिले जनवरी १ देखि आफ्नो कार्य सम्हाल्ने छ।