एस, काठमाडौं / एचकेनेपाल डट कम -
पशुपतिनाथ मन्दिरको पश्चिम ढोकाअगाडि आयोजना गरेको पत्रकार सम्मेलनमा वाइसीएलले आइतबार अपराह्न आक्रमण गर्दा १५ जना भण्डारीहरू घाइते भएका छन्।
घाइतेहरूमध्ये दुई जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। परम्परागत धर्म संरक्षण समितिले पत्रकार सम्मेलनको आयोजना गर्दा एक्कासी ठूलो संख्यामा आएका वाइसीएल कार्यकर्ताहरूले आक्रमण गरेका हुन्। वाइसीएल कार्यकर्ताहरूले समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरूमाथि समेत आक्रमण तथा दुर्व्यवहार गरेका थिए।
पशुपतिका भण्डारीहरूले नयाँ पुजारी ल्याइएपछि त्यसको विरोध गर्दै आएका छन्। सोही क्रममा आयोजित पत्रकार सम्मेलन सुरू हुनासाथ वाइसीएल कार्यकर्ताले माइक खोस्दै भण्डारीहरूलाई निर्घात कुटपिट गरेका थिए। आक्रमणपछि पत्रकार सम्मेलन स्थगित गरिएको थियो।
एस, पोखरा / एचकेनेपाल डट कम -
पोखराका युवा पत्रकार डि. आर पोखरेलद्वारा प्रकाशित पोखरेली सञ्चारकर्मी डाइरेक्ट्रीको आइतबार एक समारोहका बीच विमोचन गरियो।
डाइरेक्ट्रीको सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएवापत दक्षिण एसियाको नोवेल पुरस्कार म्यासेसे पाउन सफल महाविर पुनले विमोचन गर्नुभयो। सो अवसरमा बोल्दै पुनले २१ औं शताब्दीको जमनामा अब इन्फरमेसनको हाइवे बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम।
सञ्चार क्षेत्रको विकासबिना कुनै पनि क्षेत्र अगाडि बढ्न नसक्ने बताउँदै पुनले पत्रकारिता क्षेत्र फस्टाउन सके इनफरमेसन टेक्नोलोजी विस्तारमा सहजता ल्याउन सकिने बताउनुभयो। उहाँले मिडियाले आफूलाई ठूलो काम गर्यो भने पनि आफूले ठूलो काम गर्न नसकेको बताउँदै अहिले आफू पूर्व, पश्चिम र उत्तर दक्षिण इन्फरमेशन हाइवे बनाउने तयारीमा लागेको बताउनुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रविन्द्र बास्तोलाले महासंघले गर्नुपर्ने काम व्यक्ति एक्लैले गरेर पोखरेल अनुकरणीय पात्र बनेको बताउँदै यसको पाठ सबैले सिक्नुपर्ने बताउनुभयो। डाइरेक्ट्रीमा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य एवं सञ्चार माध्यममा कार्यरत दुइसय बढी पत्रकारहरुको आवश्यक सम्पर्क नम्बरसहित संक्षिप्त परिचय र पोखराका सञ्चार माध्यमको बारेमा आवश्यक जानकारी समावेश गरिएको छ।
डाइरेक्ट्री बिक्री वितरणबाट आउने सम्पूर्ण रकम पत्रकार महासंघ कास्कीलाई नै प्रदान गरिने भएको छ। पोखरेली पत्रकार, सञ्चार माध्यम र जनसमुदाय बीच सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले डाइरेक्ट्री प्रकाशन गरिएको प्रकाशक डि. आर पोखरेलले बताउनुभयो। पोखरेल नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य पनि हुन्।
महासंघ कास्कीका सभापति नारायण कार्कीको सभापतत्वमा भएको कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्र श्रेष्ठले गर्नुभएको थियो।
एस, काठमाडौं / एचकेनेपाल डट कम -
गृहमन्त्रालयले काठमाडौका प्रमुख जिल्ला अधिकारीसहित पाँच जना बरिष्ठ अधिकारीलाई आइतबार सरुवा गरेको छ।
गृह मन्त्रालयले काठमाडौका प्रमुख जिल्ला अधिकारी ध्रुबप्रसाद शर्मालाई मन्त्रालय फिर्ता गरी सो ठाउंमा कारागार ब्यबस्था विभागका महानिर्देशक भोलाप्रसाद शिबाकोटीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरुवा गरेको छ।
मन्त्रालयले केशर बानियालाई कारागार ब्यबस्था विभागको महानिर्देशक, पोखरा उपक्षेत्रीय प्रशासक हेमराज दवाडीलाई जिल्ला प्रशासन कार्यालय कंचनपुरको कायम मुकायम प्रमुख जिल्ला अधिकारी र कलाधर देउजालाई क्षेत्रीय प्रशासन कार्यालय पोखरामा खटाइएको छ।
एस, काठमाडौं / एचकेनेपाल डट कम -
अज्ञात समूहले गएराति सर्लाहीको गडहिया गाबिस-९ बलुवाभर गाउँमा एक युवकको गोली हानी हत्या गरेको छ।
२५ बर्षीय युवक बिगन महतोको टाउकोमा गोली लागी मृत्यु भएको प्रहरीले जनाएको छ। राति करिब एक बजे घरको ढोका फोरेर भित्र पसेका ५/६ जनाको हतियारधारी समूहले सुतिरहेका महतोमाथि गोली प्रहार गरेका थिए।
तीन वर्ष खाडी मुलुकमा काम गरी २५ दिन अघि मात्र घर फर्केका महतोको धनसम्पति लुट्न लुटेरा समूहले उनको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार २००९
ई.सं. २००९ को पुरस्कारका लागि हुने मूल्याङ्कनमा समावेश गर्न तल उल्लिखित शर्तहरू पूरा गरी पुस्तकहरू यस पुरस्कार समितिमा पठाउन समस्त साहित्यकर्मीहरूमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एवार्ड कमिटी हार्दिक अनुरोध गर्दछ। यो पुरस्कार प्रत्येक दुई वर्षमा एकपटक प्रदान गरिने छ।
पुरस्कार प्रदान गर्ने सालभन्दा अघिका दुई वर्षभित्र प्रकाशित साहित्यिक पुस्तकहरू मात्र पुरस्कारका लागि योग्य हुनेछन्। त्यस्ता पुस्तकमध्ये सबैभन्दा उत्कृष्ट साहित्यिक कृतिलाई प्रस्तुत पुरस्कार प्रदान गरिनेछ। नगदका साथै पुरस्कृत साहित्यकारलाई सम्मान–पत्र पनि प्रदान गरिने छ।
पुरस्कारहरू
१. अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कारको राशी युएस्डलर १५००.०० र अनेसासको १०० डलर बरावरको आजीवन सदस्यता
२. सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर ४००।०० र सम्मान–पत्र
३. सर्वोत्कृष्ट नव प्रतिभाका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर ३१०।०० र सम्मान–पत्र
४. सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
५. सर्वोत्कृष्ट बालसाहित्यका पुस्तकका लागि अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
६. सर्वोत्कृष्ट हास्यव्यंग्यका पुस्तकका लागि अनेसास अनन्त उत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
७. सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तकका लागि अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
८. सर्वोत्कृष्ट गन्डकी अञ्चलका पुस्तकका लागि अनेसास गन्डकी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कारको राशी ने रु २००।००
९. सर्वोत्कृष्ट वाग्मती अञ्चलका पुस्तकका लागि अनेसास ल73मण सत्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
१०. सर्वोत्कृष्ट नारायणी अञ्चलका पुस्तकका लागि अनेसास गोविन्द गिरी “प्रेरणा” सर्वोत्कृष्ट पुस्तक
पुरस्कार, पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
११.सर्वोत्कृष्ट जनकपुर अञ्चलका पुस्तकका लागि अनेसास ठाकुर प्रसाद रेग्मी सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
१२. सर्वोत्कृष्ट कोशी अञ्चलका पुस्तकका लागि अनेसास चेतनाथ घिमिरे सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
१३. सर्वोत्कृष्ट मेची अञ्चलका पुस्तकका लागि अनेसास सीता पान्डे सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र
पुरस्कारका लागि पूरा गर्नुपर्ने शर्तहरूः
१. नेपाली भाषामा लेखिएको साहित्यको गद्य एवम् पद्य दुवै क्षेत्रका सबै विधाहरूः कथा, निवन्ध, प्रवन्ध, यात्रा साहित्य, साहित्यको इतिहास, समालोचना, साहित्यकारहरूको जीवनी, नाटक, एकाङ्की, कविता, सबै प्रकारका काव्यहरू आदि कृतिहरू पुरस्कारका लागि योग्य हुनेछन्, तर कृति आफैमा पूर्ण हुनुपर्नेछ। अर्थात् कृतिको रसास्वादनको लागि अन्य उपकरण (जस्तै अडियो, भिडियो प्लेयर) आदिको आवश्यक नपर्ने हुनुपर्नेछ।
२. ई.सं. २००९ को पुरस्कारको लागि जनवरी १, २००७ देखि डिसेम्बर ३१, २००८ भित्र पहिलोपटक प्रकाशित भएको कृति मात्र पुरस्कारका लागि योग्य हुनेछ। सो मितिभन्दा पहिले प्रकाशित भई सो अवधिमा पुनर्मुद्रण भएका कृतिहरू पुरस्कारका लागि योग्य हुने छैनन्, तर साहित्यकारका आफ्नै रचनाहरू (पहिले फुटकर रूपमा अन्यत्र प्रकाशित भइसकेको भए पनि)को संग्रह यदि माथि उल्लिखित अवधिभित्रै पहिलोपटक प्रकाशित भएको हो भने पुरस्कारका लागि योग्य हुनेछ।
३. पुरस्कारका लागि कृति पठाउँदा ६ प्रति पठाउनुपर्ने छ। प्राप्त कृतिहरू फिर्ता गरिने छैनन्।
४. पुरस्कारका लागि कृति पठाउँदा एउटा आवेदन र साहित्यकारको संक्षिप्त जीवनी पनि संलग्न गरी पठाउनुपर्ने छ। आवेदनमा अन्य कुराका अतिरिक्त प्रस्तुत पुस्तक लेखकको मौलिक कृति हो भन्ने कुरा स्पष्ट उल्लेख गर्नुका साथै लेखक महिला सहभागी भए सो र पुरस्कारका लागि पठाइने कृति लेखकको पहिलो प्रकाशित पुस्तक भए सो समेत खुलाउनुपर्ने छ। त्यस्तै कुनै आञ्चलिक पुरस्कारको लागि पनि हो भने पनि लागि पनि पेश गर्नेले लेखक त्यो अञ्चलको भन्ने कुरो पनि सप्रमाण उल्लेख गर्नुपर्छ। त्यस्तै वाल साहित्यको र हास्यव्यंग्य वा गीति साहित्यको पुस्तक भए सो समेत खुलाउनु पर्नेछ। आवेदन लेखकबाहेक अरुले पठाउने अवस्थामा लेखकको स्वीकृति लिएर पेश गर्नुपर्नेछ, तर स्वर्गीय साहित्यकारको हकमा निजका नजिकका नातेदारले आवेदन दिन सक्नेछन्।
५. ई.सं. २००९ को पुरस्कारको लागि कृति पठाउँदा जनवरी १५, २००९ भित्र तल उल्लिखित ठेगानामा आइपुग्ने गरी पठाउनुपर्ने छ। पुरस्कारको विजयीको घोषणा सन् २००९ को भानुजयन्तीका दिन गरिने छ र पुरस्कारको वितरण सो वर्षकै देवकोटाजयन्तीका दिन गरिने छ।
६. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एवार्ड कमिटीका वहालवाला पदाधिकारीहरू र निजका नजिकका परिवारका सदस्यहरू (आमा, बावु, छोरा, छोरी)ले पुरस्कारका लागि आवेदन गर्न पाउने छैनन्। नजिकका परिवार सदस्यहरूको कृति पुरस्कारका लागि पठाउनुअघि त्यस्तो पदाधिकारी एवार्ड कमिटीबाट अलग हुनुपर्ने छ।
७. पुरस्कारको लागि कृतिहरूको मूल्याङ्कनमा अनुचित प्रभाव पार्ने प्रयास गरेको पाइएमा त्यस्तेा साहित्यकारको कृति पुरस्कारको निम्ति अयोग्य ठहरिने छ।
स्पष्टीकरण
१. मूल्याङ्कनका आधारमा यौटा पुस्तकले एक पटकमा यौटा मात्र सुरस्कार पाउनेछ। एउटा पुरस्कारका लागि छानिएका साहित्यकार त्यसपछिका वर्षहरूमा अर्को पुरस्कारका लागि अयोग्य हुनेछैन, तर एउटै साहित्यकारलाई एउटै पुरस्कार दोस्रोपटक प्रदान गरिने छैन। कुनै पनि पुरस्कारमा प्रतिद्वन्द्वी न भएमा त्यो पुरस्कारको रकम अनेसासपुरस्कारअक्षयकोषमा जम्मा हुनेछ।
२. संयुक्त लेखन कृतिहरू पनि पुरस्कारका लागि योग्य हुनेछन, तर उत्कृष्ट नारी हस्ताक्षर र उत्कृष्ट नव प्रतिभा पुरस्कारका हकमा संयुक्त रूपमा रचिएको कृतिका सबै लेखकहरू पुरस्कारले लक्ष्य गरेको दायराभित्रका हुनुपर्नेछ। मरणोपरान्त पुरस्कार प्रदान हुने अवस्थामा नजिकको हकवालालाई प्रदान गरिने छ।
३. कुनै पनि पुस्तकको संस्करण लेखिने पृष्ठमा लेखिएको प्रकाशन मितिलाई मान्यता दिइनेछ। विक्म संवत्को वर्ष मात्र उल्लेख गरी प्रकाशन भएका पुस्तकहरु ई.सं.का दुवैसाल भित्र पर्ने देखिएमा संस्थामा प्राप्तभएको मितिको वर्षको प्रतिस्पर्धामा मात्र समावेश गराइनेछ र एकपल्टको मूल्याङ्कनमा समावेश भैसकेको पुस्तकहरुलाई अर्को पटक समावेश गराइने छैन।
४. अञ्चल एवार्डहरुमा लेककको पुस्तकमै भएको जन्म स्थानको आधारमा कृतिलाई त्यो अन्चलको कृति मूल्याङ्कनको वर्गमा राखिनेछ। पुस्तकमा लेखकको जन्मस्थान लेखेको छैन भने मनोनयनकर्ताले लेखकको सप्रमाण जन्मस्थान खुलाएर पठाएको जन्मस्थानलाई मान्यता दिइनेछ।
५. कुनै पनि एवार्डको लागि नोमिनेशन गर्नेले नोमिनेशन फाइल गर्दा अनेसासको निर्णय फाइनल हुनेछ, त्यो नै मेरा लागि स्वीकार्य हुनेछ, त्यसमा कुनै बाधाविरोध जनाउने छैन भन्ने कुरा निवेदनमा खुलाउनुपर्नेछ। त्यो मनोनयनकर्ताले नखुलाएर त्यसै पठाएको भए पनि मूल्याङ्खनमा लिइनेछ तर अनेसास एवार्ड कमिटीको निर्णय नै फाइनल हुनेछ। एवार्ड कमिटीमाथि प्रतिस्पर्धीको उजुरी लाग्न सक्नसकनेछैन।
६. निष्पक्ष मूल्याङ्कन गराउनका लागि जजहरुलाई गोप्य राखिनेछ। गोप्यता भङ्ग गर्ने जज वा एवार्ड कमिटीका सदस्यमाथि यथोचित कार्यबाही हुनेछ। एवार्ड कमिटी बाहेक अनेसासका पनि कुनै पनि पदाधिकारीलाई यी गोप्य कुराहरु थाहा दिइनेछैन।
७. पुस्तकहरुको विधा र क्षेत्र छुट्ट्याउने काम एवार्ड कमिटीका एक जनाले सदस्यले गरेपछि अर्को कुनै एवार्ड कमिटीका सदस्य वा उनले तोकेका गोप्य व्यक्ति एक जनाले डबल चेक गरेर मात्र एवार्डकमिटीमा राख्ने र त्यसरी एवार्ड कमिटीले एप्रुभ गरेको एवार्डको लागि क्वालिफाइड लिस्ट बमोजिका मूल्याङ्कन सामग्री जजकहा पठाइनेछ।
८. पुरस्कारको लागि कृति पठाउनुपर्ने ठेगाना :
INLS Award committee
311 Ross Lane
Collegeville PA 19426
९. अन्य कुनै जानकारी आवश्यक परेमा अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कार समितिमा सम्पर्क राख्नुहोला।
INLS Award Committee Email: inlsaward@googlegroups.com
Visit: http://www.inls.org
सुमनराज तिमसिना
पुरस्कार समिति
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी
(610) 209 6459
अर्जुन जयसवाल, तेल -अवीव, इजरायल / एचकेनेपाल डट कम -
नेपाली नारी आवाज़ इजरायलले अंग्रेजी नयाँ बर्षको अवसरमा शुक्रबार इजरायलको तेल अभिभमा सांस्कृतिक तथा सम्मान सांझ संपन्न गरेको छ।
गीत, नृत्य, नाटक र व्यंग्यहरुको सुंदर प्रस्तुति रहेको सो नयाँ बर्ष कार्यक्रम सांस्कृतिक र मनोरंजनात्मक त थियो नै यसका साथै नेपाली समुदायको सेवामा समर्पित स्वदेशी तथा विदेशी समाजसेवी संघ संस्था तथा व्यक्तित्वहरुलाइ सम्मान तथा कदर पत्र समेत प्रदान गरिएको थियो। सो कार्यक्रमको समुद्घाटन नेपाली दूतावास इजरायलका राजदूत बैजनाथ थपलियाले गर्नु भएको हो।
विदेशी कामदारको हक़ हित अधिकारका लागि लड़ने, जनचेतना अभिवृद्दि गर्नुका साथै अलपत्र वा जोखिममा परेका अवस्थामा सहयोग गर्ने स्थानीय संघ संस्थाहरुलाई नेपाली समुदायको तर्फबाट यति ठूलो सम्मान गरिएको यो पहिलो अवसर हो। सम्मानित संघ संस्था तथा व्यक्तित्वहरुलाई सम्मानपत्र र मायाको प्रतिक तामाको बुद्ध प्रतिमा उपहार दिईएको थियो। सम्मानित संस्थाहरुमा कावला ओभेद, मेसिला, हटलाइन, फिजिसियन फार ह्युमन राइटस, सिस्टर अर्गनाइजेसन, रेप क्राइसिस सेंटर, नेपाली कामदार सहयोगी मंच लगायतका संघ संस्था तिनका प्रतिनिधि तथा स्वयंसेवीहरु थिए।
विदेशी वक्ताहरुले सम्मान पत्र पाएकोमा नेपाली नारी आवाज़ र नेपाली समुदायलाई धन्यवाद दिदै नेपालीहरुको सहृदयता र सत्कारको शैलीबाट सबैले पाठ सिक्नु पर्ने धारणा व्यक्त गरेका थिए।
नयाँ वर्षको शुभ कामना व्यक्त गर्दै प्रमुख अतिथि राजदूत थपलियाले नेपाली समाजका लागि समर्पित संघसंस्थाहरुप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो।
प्रस्तुतिकै क्रममा इजरायल आएर रोजगारविहीन भै समस्यामा परेका नेपाली युवा युवतीको यथार्थपरक कथामा आधारित नाटक “कथा भित्रको व्यथा” मंचन गरिएको थियो अर्जुन जयसवालद्वारा निर्देशित सो जीवन्त एकांकी हेरेर धेरै दर्शकहरुले आफू पनि इजरायल आएपछिको संघर्षको क्रममा कुनै न कुनै मोड़मा त्यस्तै भोगाइबाट गुज्रिएको अनुभव गरेका थिए।
कार्यक्रममा गैर आवासीय नेपाली संघ तथा नेपाली कामदार सहयोगी मंचका अध्यक्ष भुवनसिंह कुंवरले नेपालीहरुमा नयाँ बर्षको शुभकामना दिदै प्रवासमा रहेका नेपालीहरुको साझा समस्यालाई समाधान गर्न सबै नेपाली संघ संस्थाहरु एक भएर लाग्नु पर्ने र सामाजिक कार्यमा लागेकाहरु सबैले आ-आफ्नो जिम्मेवारीबोध गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो।
नेपाली नारी आवाज़ इजरायलकी अध्यक्ष श्रीमती श्रृजना महतले कार्यक्रमबाट संकलित रकम इजरायलमा आई कामको सिलसिलामा दिवंगत भएकी नेपाली चेलीको सम्झनामा स्थापित स्वर्गीय अनीता तामाङ स्मृति कोषमा जम्मा हुने र समस्यामा परेका नेपालीहरुको सहयोग र उद्धारका लागि प्रयोग हुने कुरा बताउनु भएको थियो। नेपाली नारी आवाज़ इजरायलले स्थानीय संस्थाहरुसंग मिलेर तालीम सञ्चालन गर्ने हक़ अधिकारका लागि चेतना फैलाउने, आवश्यक परेकाहरुलाई सम्बंधित निकायमा पुर्याई सहयोग गर्ने तथा अप्ठ्यरोमा परेकाहरुको उद्धार गर्ने, कार्य गर्दै आएको छ।
कार्यक्रममा नेपाली कामदार सहयोगी मंच लगायत इजरायलस्थित नेपाली समुदायको लागि बिभिन्न्न क्षेत्रमा योगदान पुर्याउनु भएका नेपालीहरुको समेत सम्मान गरिएको थियो यसरी सम्मानित हुनेहरुमा समाजसेवी भुवन सिंह कुंवर, वरिष्ठ नृत्य निर्देशक तथा कलाकार विजय विष्ट, कलाकार देवकी ढकाल, चुनु बानिया र लेखक साहित्यकार कृष्ण थापा रहनु भएको थियो।
नेपालमा विग्रँदै गएको शान्ति-सुरक्षाको स्थितिप्रति गैरआवासीय नेपाली संघको वक्तव्य
ऐतिहासिक जनआन्दोलनको सफलतापछि राजनैतिक सहमतिको वातावरणमा संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भई नेपाल शान्त, समृद्ध र लोकतान्त्रिक नयाँ युग तर्फ उन्मुख भएको गैरआवासीय नेपाली संघले विश्वास गरेको हो।
यस निर्वाचन पछि सवै वर्गका नेपाली जनतासँग अन्तत: आफ्नो पक्षमा शान्तिपूर्ण ढङ्गले राष्ट्रको सामाजिक र आर्थिक रुपान्तरण गर्न सक्ने एउटा अवसर आएको विश्वास गर्ने आधारहरु छन्। यसै आधारमा विश्वभरि छरिएर रहेका नेपालीहरुले आफू मत हाल्ने अवसरबाट वञ्चित हुँदा पनि संविधानसभाको निर्वाचनलाई हृदयदेखि नै स्वागत गरेको कुरा सवैमा विदीतै छ। त्यसै अनुरुप देशको सर्वांङ्गीण विकासलाई मद्दत पुग्ने किसिमको र मानव अधिकार एवं प्रजातन्त्रको विश्वव्यापी मूल्य-मान्यतालाई आत्मसाथ गर्ने संविधान निर्माणकालागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचनवद्धता गैरआवासीय नेपाली संघले गर्दै आएको हो।
तर राजनैतिक सहमतिको वातावरणमा लोकतान्त्रिक संविधान निर्माण र आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने वर्तमान समयको आवश्यकता विपरित दलहरु बिच बढ्दै गएको असमझदारी तथा देशमा विग्रँदै गएको शान्ति-सुरक्षाको स्थितिले हामीलाई अत्यन्त दुखी तुल्याएको छ। उद्योगधंदा बंद हुने क्रममा छन् ; कानुनी उपचार खोज्नुको सट्टा हिंसात्मक गतिविधिद्वारा उद्योग-व्यवसायमा हस्तक्षेप गर्ने र व्यवसायीहरुको हत्या समेत गर्ने जस्ता गैरकानुनी क्रियाकलापमा बृद्धि भएकोछ; कर्मचारीहरुको लगातार हत्या हुनु, सरकारी र निजी सम्पत्तिमाथि बलपूर्वक कब्जा गर्ने क्रम नरोकिनु, राष्ट्रिय र व्यक्तिगत सम्पत्तिको तोडफोड र आगजनी भइरहनु, राजमार्गहरु सुचारुरुपमा सञ्चालन हुन नसक्नु, संचारगृहहरुमा लगातार हिंसात्मक आक्रमण हुनु, समाचार पत्रहरु जलाइनु, पत्रिका प्रकाशनमा अवरोध खडा गरिनु र संविधानसभाको निर्वाचन पछि पनि पत्रकारहरुमाथि घातक हमला र हत्या हुनुले नेपाली जनताको संविधानप्रदत्त निर्वाध सुचनाको हकलाई कुण्ठित गर्ने योजनावद्ध प्रयास नै शुरू भएको हो की भन्ने आशंका उत्पन्न भएकोछ। यसलाई संक्रमणकालको स्वभाविकता मानेर दण्डहीनताको संस्कृतिको अन्त्य तर्फ दृढ कदम चाल्न नसकिएमा नेपाली जनताको ठूलो बलिदानले प्राप्त राजनैतिक उपलव्धीहरु समाप्त भई मुलुक अराजकता र असफलतातिर उन्मुख हुनेछ।
हाम्रा राजनैतिक उपलव्धीहरुको स्थायीत्वकालागि द्रुततर आर्थिक विकास अपरिहार्य छ। नेपालको विकासमा वैदेशिक लगानी र सहयोगको आवश्यकतालाई कसैले नकार्न सक्दैन। तर निरन्तर जटिल हुँदै गएको आर्थिक संकटले ग्रस्त वर्तमान विश्वमा कानुनी राज्यको प्रत्याभूति दिन सक्षम मुलुकले मात्र आर्थिक लगानी आकर्षित गर्न सक्छन् । नेपालमा राजनैतिक स्थायित्व र विधिको शासन छ, मानव अधिकारको सम्मान हुन्छ, विचारको पूर्ण स्वतन्त्रता र शान्ति-सुरक्षाको ग्यारेन्टी छ भन्ने कुराको संदेश वाह्य विश्वमा गएमा मात्र नेपालको आर्थिक रुपान्तरणकालागि अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन सकिन्छ।
यिनै कुराहरुलाई मनन गरी गैरआवासीय नेपाली संघ नेपालका सबै पक्षलाई विधिसम्मत तरिका बाट आफूलाई संचालन गर्न र आफ्नो काम कारवाहीले अर्काको मौलिक अधिकारको हनन् नगर्न आह्वान गर्दछ । सबैको आफ्नो विचार राख्ने, प्रचार प्रसार गर्ने अधिकारमा हामी विश्वास गर्दछौं । नेपाल सरकार, सबै राजनैतिक दलहरु, दलसँग आवद्ध भएका र नभएका सबै समूहलाई विधि अनुसार चल्न र भएका मतभेद विधिपूर्वक नै हल गर्न हार्दिक अपिल गर्दै कानुन सम्मत काम नगर्ने र अरुको अधिकार कुण्ठित गर्ने जो कोही माथि पनि कडा कारवाही गर्न हामी सरकारसँग आग्रह गर्दछौं।
गैरआवासीय नेपाली संघ सधैं लोकतन्त्र, मानवअधिकारका विश्वव्यापी मान्यताहरु, नेपालको राष्ट्रिय एकता र सर्वांङ्गीण बिकासप्रति प्रतिवद्ध रहेको दोहोर्याउँदै सहमतिको आधारमा सबै समस्या समाधान गर्न सबै पक्षलाई पुन: आग्रह गर्दछौं। यसकालागि सक्दो सहयोग गर्न हामी जहिलेपनि तत्पर रहेको समेत यहाँ दोहोर्याउन चाहान्छौं।
कृष्ण थापा, इजरायल / एचकेनेपाल डट कम -
इजरायलको तेल अभिभ रहेका लेखक साहित्यकार तथा साहित्य प्रेमीहरुको एक सामूहिक भेलाले शुक्रवार नेपाली भाषा साहित्यको प्रचार प्रसार गर्दै विश्व सामू चिनाउनुका साथै प्रवासमा रहेर नेपाली साहित्यमा थप योगदान पुरयाउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर गठन गरिएको छ।
भेलाबाट च्याप्टरका अध्यक्षका रुपमा गीतकार/साहित्यकार सुनील संगम चुनिनु भएको छ। उहाँ अंतर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) द्वारा प्रकाशित हुने पत्रिका अंतर्दृष्टिका अन्तर्राष्ट्रिय संपादक पनि हुनुहुन्छ अनेसास इजरायलका अन्य पदाधिकारीहरुमा नवराज आचार्य -उपाध्यक्ष कृष्ण थापा -महासचिव हरी मानन्धर -सचिव सीता बराल कोषाध्यक्ष तथा सदस्य हरुमा कला कोयु राई, सुमन कार्की, शंकर पौडेल र मालती ताम्राकार हुनु हुन्छ भने सल्लाहकारहरुमा दिवाकर अधिकारी र अधिवक्ता श्याम रोक्का रहनु भएको छ।
सोही दिन बसेको अनेसासको बैठकलाई संबोधन गर्दै अध्यक्ष सुनील संगमले आगामी दिनहरुमा इजरायलमा रहेका साहित्य सर्जकहरुलाई समेट्दै अनेसास इजरायल च्याप्टरको साहित्यिक गतिबिधिहरुलाई सक्रियताका साथ लैजाने कुरा व्यक्त गर्नु भयो।