एस, काठमाडौं / एचकेनेपाल डट कम -
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पशुपतिनाथ मन्दिरका पुजारीहरु सम्बन्धी सबै निर्णयहरू बदर गरिएको घोषणा गरेका छन्।
ब्यवस्थापिका संसदको बैठकलाई बुधवार संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पशुपति क्षेत्र विकास कोषले हालै गरेका सबै निर्णयहरू बदर गरिएको घोषणा गरेका हुन्। पशुपति क्षेत्र विकास परिषदको संरक्षकसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पूराना पुजारीले दिएको राजीनामा र नयाँ पुजारीको नियुक्तिका निर्णयहरू बदर भएको घोषणा गरेका छन्।
पशुपतिनाथ मन्दिरमा पुराना पुजारीको राजीनामा भने बुधवार स्वीकृत गरिएको जनाएको छ। प्रधानमन्त्री प्रचण्डले अर्को मूल भट्ट पुजारीको व्यवस्था नभएसम्मका लागि सनातनदेखि चलिआएको नियमित नित्य पूजा संचालन गर्न पुरानै पुजारीहरुलाई आग्रह गरेका छन्। उनले पुजारी सम्बन्धमा दिएको अदालतको आदेशको सम्मान गर्दै यस्तो निर्णय गरिएको जनाएका छन्।
नयाँ पुजारीको नियुक्ति सरोकारवालाहरूसंग आवश्यक छलफल गरी प्रतिस्पर्धाको आधारमा हुने जनाइएको छ।
एस, काठमाडौं / एचकेनेपाल डट कम -
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले प्रधानसेनापति हटाउने हल्ला निराधार भएको बताएका छन्।
प्रधानमन्त्री दाहालले बुधवार सञ्चारकर्मीहरूसंग कुरा गर्दै यसलाई बेकारको हल्ला भएको टिप्पणी गरेका हुन्। प्रधानमन्त्री दाहालले हल्लाको पछाडि नलाग्नसमेत सञ्चारकर्मीहरूसंग आग्रह गरेका छन्।
रक्षामन्त्री रामबहादुर थापाले सैन्य भर्नालगायतका विषयमा बुधबार प्रधानसेनापति रुक्मांगद कटवालसँग सोधपुछ गरेका थिए। कटवालले सेनालाई राजनीतिमा तान्ने प्रपञ्च भइरहेको अभिव्यक्ति दिएपछि रक्षामन्त्री थापाले प्रधानसेनापति कटवालसँग स्पष्टीकरण लिएका हुन्। संबिधानविपरित अभिव्यक्ति दिएका प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाइन सक्ने अड्कलबाजी चलिरहंदा प्रधानमन्त्री प्रचण्डको पछिल्लो भनाई बाहिर आएका हुन्।
एस, पोखरा / एचकेनेपाल डट कम -
काठमाडौंबाट बेनीतर्फ गइरहेको यात्रुवाहक बस आज बिहान पर्वतको तिताहार गाविसको वेतनीमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३३ घाईते भएका छन्।
ग १ ख २६९२ नं.को यात्रुवाहक बस बिहान करीव चारबजे सडकबाट बीस मिटर तल मोदी नदीमा खसेको प्रहरीले बताएको छ। मृतक मध्ये म्याग्दी मोदीकी ४१ वर्षीया विष्णुकुमारी थापा र पर्वत पाँचखालकी उहकिला बेगम बाहेक अन्यको सनाखत हुन सकेको छैन।
घाइतेहरूको पश्चिम क्षेत्रीय अस्पताल पोखरा, मणिपाल शिक्षण अस्पताल र पर्वतको कुस्मा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
बस अत्यधिक गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ।
एचकेनेपाल डट कम संवाददाता-
कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत माग गरिएका वैदेशिक कामदार लिने प्रक्रिया दुई महिनाका लागि स्थगन गरेको बताए पनि सो प्रणालीअन्तर्गत नेपाली कामदार रोजगार जाने क्रम भने रोकिएको छैन।
विश्वमा देखिएको आर्थिक मन्दीसँगै कोरियाले वैदेशिक कामदार नलिने समाचार पत्रपत्रिकामा प्रकाशन भएपछि निराश बनेका इपिएसअन्तर्गत रोजगारीका लागि कोरिया जान अन्तिम तयारीमा रहेका युवा अहिले केही आशावादी देखिएका छन्।
ललितपुरको ग्वार्कोस्थित श्रम तथा रोजगार प्रबर्द्धन विभागअन्तर्गत रहेको इपीएस शाखाका अनुसार कोरियाको मानव संसाधन विकास बोर्डले माग गरिसकेका १४३ जना नेपाली कामदार आइतबार कोरिया उडेका छन्।
कोरियाले विदेशी कामदार नलिने सरकारी निर्णय गरिसकेपछि पनि यही पुस २० गते थप १७ जनाको सर्टिफिकेट अफ कन्फरमेसन अफ भिसा आएको जानकारी सो शाखाका एक अधिकृतले दिए।
केही दिनदेखि युवाहरुले दिनभर सो शाखामा धर्ना दिँदै आएका छन्।
आजसम्म एक हजार ९१९ जना नेपाली कामदार कोरिया पुगिसकेका छन् भने ७७३ जनाको भने अझै श्रम सम्झौता हुन बाँकी छ।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (माओवादी) र नेकपा (एकता केन्द्र-मसाल) बीच यही पुस २९ गते पार्टी एकता हुने भएको छ। पार्टी एकतापछि नेकपा (माओवादी)को नाम पनि फेरिने भएको छ।
एकता केन्द्र-मसालद्वारा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।
पत्रकार सम्मेलनमा पार्टी महासचिव नारायणकाजी श्रेष्ठ’प्रकाश’को नेतृत्वमा नौ सदस्यीय पोलिटब्युरो र ३१ सदस्यीय केन्द्रीय समिति बनाइएको जानकारी पनि दिइयो।
पोलिटब्युरोका अन्य सदस्यमा नरबहादुर कर्माचार्य, अमिक सेरचन, स्वनाम, गिरिराजमणि पोखरेल, दिलबहादुर श्रेष्ठ, निलु चापागाईं, भीमप्रसाद गौतम र लीलामणि पोखरेल रहनुभएको छ।
संयुक्त पार्टीको नाम ‘एकीकृत नेकपा माओवादी’ हुनेछ।
एचकेनेपाल डट कम संवाददाता-
नेपालमा सन् २०११ सम्ममा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य साकार पार्न बन्द, चक्काजाम, हडतालजस्ता गतिविधि अन्त्य गरी दिगो शान्तिसुरक्षा कायम गर्नुपर्नेमा जोड दिइएको छ।
यस्ता गतिविधिका कारण मुलुकको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परिरहेकाले दिगो शान्ति स्थापना र बन्द, चक्काजाम, हडतालजस्ता गतिविधि नियन्त्रणतर्फ निजी क्षेत्रले सरकार र राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गरेका छन्।
नेपाल एसोसिएसन अफ टुर अपरेर्टस (नाटो) को सातौँ वार्षिक साधारणसभाको अवसरमा आयोजित ‘नेपाल पर्यटन वर्ष २०११ मा १० लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्य’ विषयक अन्तरक्रियामा सहभागीहरुले त्यस्तो धारणा व्यक्त गरेका हुन्।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (माओवादी)का नेता मातृका यादवले मधेसप्रति माओवादी पार्टी नै स्पष्ट नभएको आरोप लगाउनुभएको छ।
क्रान्तिकारी पत्रकार सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता यादवले माओवादीको भनाइ र गराइ फरक रहेको बताउनुभयो। उहाँले प्रश्न गर्नुभयो-माओवादीले नेपाली जनताप्रति गरेको प्रतिबद्धता कहाँ गयो ?
माओवादी सरकारमा गए पनि भ्रष्टाचार नियन्त्रण, वन विनाश रोकथाम र सुकुम्वासी समस्या सम्बोधन नभएको उहाँले बताउनुभयो।
नेता यादवले अन्य सरकार र माओवादी नेतृत्वको सरकारमा कुनै अन्तर नरहेको बताउँदै पार्टीभित्र ठूलो आन्दोलन जरुरी रहेकामा पनि जोड दिनुभयो।
तराईमा आन्दोलन गराएर आगो सल्काउन भारत सक्रिय रहेको आरोप लगाउँदै उहाँले तराईमा सङ्घर्षरत समूहलाई भारतले सघाएको छ भन्नुभयो।
उहाँले भन्नुभयो -नेपाल र भारत दुवै देशका शासक मधेसलाई सखाप पारेर आआफ्नो स्वार्थ पुरा गर्न चाहन्छन्। उहाँले तराईमा सङ्घर्षरत समूहले राजनीतिक रङभित्र आपराधिक चलखेल गरेको आरोप लगाउँदै उनीहरुको धन्दा अर्थ सङ्कलनमात्र हो भन्नुभयो।
तराईमा राजनीतिक समूह कम रहेको बताउँदै उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय शक्ति मधेस टुक्राउन लागेको विचार पनि व्यक्त गर्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
सिरुटार गाविस वडा नं ३ धन्सारमा एक घर भित्र पसेको चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन्। चितुवालाई हिजो साँझ ६ बजे बल्ल नियन्त्रणमा लिइएको थियो।
बिहान करिब साढे १० बजे घरभित्र पसेको चितुवाले सोही घरका ७६ वर्षका भीमबहादुर श्रेष्ठ गम्भीर घाइते बनाएपछि टेकु अस्पतालमा उपचार गरी घर ल्याइएको थियो।
यसअघि सिरुटारकै मगर गाउँमा दुई जना सोही चितुवाको आक्रमणबाट सामान्य घाइते भएका थिए । सोही चितुवाले आजै बिहान लुभु वडा नं. ४ चाकामङ्गलका बलबहादुर श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको छ ।
घरभित्र पसेको चितुवालाई प्रहरी र चिडियाखानाबाट आएका टोलीले १ बजेदेखि बेहोस पार्न खोज्दा साँझ ५ बजे पशु चिकित्सक डा. राधाकृष्ण घर्तीको देब्रे हातमा आक्रमण गरी चोट पुर्याएको थियो।
सिरुटार क्षेत्रमा यसअघि पनि चितुवाको आक्रमणबाट आठ जना घाइते भएका थिए भने चार वटा चितुवा मारिएको थियो ।
हिले पनि बिहानबेलुका सडक र घरघरमा चितुवा आउनाले यहाँका बासिन्दा आतङ्कित बनेका छन् ।
एस, टेक्सास / एचकेनेपाल डट कम -
अमेरिकाको टेक्सासस्थित एक टिएल फुड स्टोरमा कार्यरत नेपाली युवक जसबहादुर राईको लुटेराको छुरा प्रहारबाट मृत्यु भएको छ।
अमेरिकी समय अनुसार मंगलबार बिहान ७ बजे राईको हत्या भएको प्रहरीले जनाएको छ। स्टोरमा काम गरिरहेका समयमा कालो बर्णको लुटेराले उनलाई आक्रमण गरेको थियो। लुटेराले राईमाथि दस पटकभन्दा बढी छुरा प्रहार गरेका थिए। राईको जोन पिटर स्मिथ अस्पतालमा मृत्यु भएको हो।
हत्याको अभियोगमा प्रहरीले नियोनाड जुनियलाई गिरफ्तार गरेको छ। सोलुखुम्बु घर भएका राईका श्रीमती, १९ बर्षीया छोरी र १४ बर्षको छोरा छन्।
चार महिनाभित्र टेक्सासमा यो दोश्रो नेपालीको हत्या हो।
एस, काठमाडौं / एचकेनेपाल डट कम -
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले मंगलवार राजधानीमा एक पत्रकार सम्मेलन गरी गेसोका कानुनी सल्लाहकार गोपाल शिवाकोटी चिन्तनलाई हटाएको जानकारी दिएको छ।
केही समययता आफ्ना लेख, अभिव्यक्ति र व्यवहारबाट विवादित देखिदै आएका चिन्तन गेसोका कानुनी सल्लाहकारका रूपमा रहिरहन उपयुक्त नहुने बताउंदै उनलालाई सो पदबाट हटाइएको जनाएको छ।
थप जानकारीको लागि गेसोद्वारा जारी गरिरएको प्रेस विज्ञप्ति जस्ताका तस्तै-
प्रेस विज्ञप्ति, २०६५ पुष २२ गते
आदरणीय पत्रकार मित्रहरु,
१. गोरखा भूतपूर्व सैनिकहरुमाथि बेलायतले वषौँदेखि गर्दै आएको भेदभावविरुद्ध कानुनी लडाइ लड्नका लागि सन् २००१ मा अन्तर्राष्ट्रिय कानुन जानेको वकिलका रुपमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले अधिवक्ता गोपाल शिवाकोटी चिन्तनलाई कानुनी सल्लाहकार नियुक्त गरेको थियो। चिन्तनको अगुवाईमा गेसोले हालेको विभिन्न मुद्दामध्ये युद्धबन्दी पूर्व गोरखा सैनिकलाई बेलायती युद्धबन्दीसरह क्षतिपूर्ति दिने मुद्दामा उल्लेखनीय सफलता हात पनि परेको थियो। तर समान पेन्सनको मुद्दामा अदालतले गेसोलाई जिताएन। त्यसपछि चिन्तनले नयाँप्रमाणका आधारमा मुद्दा हाल्ने भनेर सर्वत्र भाषण दिए पनि चार वर्षसम्म मुद्दा हाल्ने कुनै प्रयास गरेनन्। मुद्दा किन छोड्नुपरेको भन्ने बारेमा चिन्तनले आफ्नो क्लाइन्ट गेसोलाई कुनै जानकारी गराएनन्। यस विषयमा चिन्तनलाई के गर्ने भन्ने बारेमा गेसोमा छलफल चलिरहेको थियो।
२. सन् २००५ सम्म चिन्तनले नयाँ मुद्दा दर्ताका लागि कुनै पहल नगरेपछि गेसोले आफ्नै पहलमा बेलायतको होवे एण्ड को कम्पनीलाई आफ्नो नयाँ वकिलका रुपमा नियुक्त गर्यो। होवे एण्ड को कम्पनीले तयार गरेको मुद्दामा गत सेप्टेम्बर ३०, २००८ मा बेलायती उच्च अदालतले गेसोको पक्षमा ऐतिहासिक फैसला गरेको थियो। सो फैसलापछि सिवाकोटीले होवे एण्ड को कम्पनीलाई पेन्सनको मुद्दा काम नलाग्ने बनाएको लगायतको तथानाम आरोप लेखमार्फत सार्वजानिकरुपमा लगाएपछि चिन्तनका बारेमा के गर्ने भन्ने विषय गेसोमा विचाराधीन थियो।
३. भिसी तुलबहादुर पुनको बैँक खाताबाट चिन्तनले भिसी पुनकी श्रीमती पुनीसराको कीर्ते हस्ताक्षर गरी २२०० पाउण्ड निकालेको विषयमा भिसी पुनले गेसोमा उजुरी गरेपछि उनलाई कस्तो कारबाही गर्ने भन्ने बारेमा गेसोमा गम्भीर बहस र छलफल चलिरहेको थियो।
४. खासगरी, सेप्टेम्बर ३०, २००८ को ऐतिहासिक फैसलापछि चिन्तनले नेपाल तथा बेलायतका विभिन्न पत्रपत्रिकामार्फत लेख प्रकाशित गरी तथा विभिन्न व्यक्तिहरुलाई पटपटक इमेल गरी गेसो र गेसोको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिंदै आएकोमा सोको स्पष्टीकरण दिन गेसोको बुद्धिजीवी कमिटीले चिन्तनलाई ३५ दिनभित्र नेपाल आई गेसो केन्द्रीय कार्यालयमा उपस्थिति हुन २०६५ पुस ४ गते पत्राचार समेत गरेको थियो। ती लेख र इमेलको अध्ययन गरी चिन्तनविरुद्ध मुद्दा दायर गर्न गेसोले अधिवक्ता सुरेन्द्र थापामगरलाई जिम्मा समेत दिइसकेको थियो। यसरी घटनाक्रम अगाडि बढिरहेको अवस्थामा गोपाल सिवाकोटी चिन्तनले बेलायतबाट प्रकाशन हुने युरोपको नेपालीपत्र साप्ताहिकको २०६५ पुस (१६-२२) गतेको अंकमा अब गेसो के हुने शीर्षकमा एक भूतपूर्व गोरखा सैनिककी अविवाहित छोरीसित (नामसमेत किटान गरी) आफ्नो चार वर्षदेखि सहबास रहेको भनी सगौरव लेख प्रकाशित गरेकोमा गेसो स्तब्ध, दुखी र आक्रोशीत भएको छ। गोरखा भूतपू्र्व सैनिक र तिनका परिवारलाई न्याय दिलाउने अभियानमा लाग्ने व्यक्ति स्वयम्ले त्यस्तो नैतिकताहीन कार्य गरेको खुलासा आफैँले गरिसकेपछि चिन्तनलाई गेसोमा राख्ने कि नराख्ने विषयमा गेसो केन्द्रीय समितिको २०६५ पुस २१ गते बसेको बैठकमा गम्भीर छलफल हुँदा बैठकले चिन्तनले कानुनी सल्लाहकारमा बहाल रहँदा गरेका कार्यहरुमाथि कानुनी पुनरावलोकन र कारबाही गर्ने अधिकार गेसोसित सुरक्षित राख्दै चिन्तनलाई कानुनी सल्लाहकारबाट निस्कासन गर्ने निर्णय गरेको छ। अब उप्रान्त गेसोको कानुनी सल्लाहकारको हैसियतले चिन्तनसित कुनै कामकारबारही नगर्न गेसो सम्बन्धित सबै पक्षमा सूचित गराउँछ। यति कतै कसैले त्यस्तो कार्य गरेमा त्यसको जिम्मेवार गेसो नहुने पनि स्पष्ट गराउँछ। अन्त्यमा समग्र गोरखा भूतपूर्व सैनिकहरुको कानुनी सल्लाहकार रहेका चिन्तनले झूठो दाबीका आधारमा एक भूपू गोरखा सैनिककै अविवाहित छोरीको चरित्र हत्या र जीवनमाथि खेलवाड गर्ने जुन कार्य गरे त्यस निकृष्ट कार्यको गेसो घोर भर्त्सना गर्दछ। ती पीडित भूपू सैनिक आमा, बाबु र ती अविवाहित छोरीलाई न्याय दिलाउन र चिन्तनलाई आवश्यक कारबाही गराउन पूर्ण सहयोग गर्ने प्रतिवद्धता गेसो व्यक्त गर्दछ।
धन्यवाद