कृष्ण देवकोटा, अबुधावी / एचकेनेपाल डट कम-
तमु समाज, युएइले अबुधावीस्थित इक्वेस्टेरियन क्लबमा २५९३ औं ल्वों ल्हो पर्व तमुहरूको महान पर्व ल्होछार जनवरी ९ तारिखका दिन भव्य रुपमा मनायो।
तमु समाज यूएइका कावा अध्यक्ष राज तमूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली दूतावास युएइका राजदूत अर्जुनबहादुर थापा प्रमुख अतिथि तथा विषेश अतिथिमा दूतावासका उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठ र एनआरएन आईसीसीका अध्यक्ष डा. उपेन्द्र महतो थिए। अन्य अतिथिहरुमा यूर्एइमा स्थापना भएका केही संस्थाहरुका प्रतिनिधि, पत्रकार तथा प्रवासमा छरिएर रहेका तमुलगायत अन्य नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
तस्वीरःखेमनाथ पौड्याल, अबुधावी / एचकेनेपाल डट कम
कार्यक्रमका सभापति तथा प्रमुख अतिथिद्धारा बुद्धको मूर्तिमा आफ्नों साँस्कृतिक परंपरा अनुसारको पूजा गरी कार्यक्रमको सुरुवात गरिएको थियो। कार्यक्रममा प्रमुख तथा बिषेश अतिथिहरुलाई खादा पहिर्याइको थियो। तमुहरुको मुख्य विधिको रुपमा रहेको १०८ वटा बत्ती प्रमुख अतिथि तथा अन्य अतिथिहरुद्धारा प्रज्वलनसँगै कार्यक्रमको उद्धघाटन गरिएको थियो।
कार्यक्रममा स्थानीय कलाकारहरुले स्वागत गीतद्धारा उपस्थित सबैलाई स्वागत गरिएको थियो भने तमू समाजको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन स्वागत मन्तव्य तथा अन्य गतिविधीको बारेमा अध्यक्ष राज तमू, महासचिव, तेजप्रकाश तमु, तथा कोषाध्यक्ष गन्जमान तमुले प्रस्तुत गरेका थिए।
एनआरएन आईसीसीका अध्यक्ष डा. उपेन्द्र महतो
शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि राजदूत थापाले नेपालमा रहेका १०३ को हाराहारीमा रहेका जनजातिहरुमध्ये तमुहरुले देशको सांस्कृतिक लगायतका विभिन्न क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका थिए भने एनआर एन अध्यक्ष डा. महतोले वैदेशिक रोजगारीमा समेत एकै प्रकृतिको कार्यको लागि देशसँग तुलना गरेर तलब दिइने गरेको पाइएकोले देश धनी नभै त्यस देशका नागरिकलाई उच्च सम्मान नमिल्ने भएको हुँदा विदेशमा सिकेको सीप र कमाएको सम्पत्तिलाई स्वदेशमा लगानी गर्दै देशलाई संबृद्ध बनाउन हामी सबै लागि परौं भन्ने आह्वान गर्दै प्रवासमा रहेरपनि नेपाली कला संस्कृतिलाई जीवन्तता दिएकोमा तमु समाजलाई धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रममा नियोग उपप्रमुख मोहनकृष्ण श्रेष्ठ, नेपाली समाजका अध्यक्ष यम तमु, मगर समाजका अध्यक्ष लगायतका अन्य अतिथिहरुले नयाँ बर्षको शुभकामना प्रकट गरेका थिए।
यूएइका विभिन्न प्रान्तमा छरिएर रहेका नेपालका गायन, नृत्य तथा अभिनयमा पोख्त कलाकारहरुको वृहत उपस्थिति रहेको कार्यक्रममा उनीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको बिच बिचमा उद्धघोषिका प्रतिमा तमुले ठेट नेपाली शब्दद्धारा दर्शकहरुलाई रमाइलो पारेकी थिईन्।
यूएइका विभिन्न कार्यक्रममा वेग्लै प्रस्तुतिहरु पस्कदै आएका कलाकारहरु दिपसिका (दिपक) गुरुङ, ज्ञान लामा, सागर रेग्मी, कर्ण तमू, प्रेमा लामा, राजू गुरुङ, कल्पना तमूस्यो, भावना ढकाल, राजकुमार तमू, अमृत तमु, सुनिता श्रेष्ठ, सनबहादुर घले, सम्झना वाईवालगायत अन्य प्रवासी कलाकारहरुले विभिन्न गुरुङ भाषाका गीत, नेपाली गीतहरु तथा नृत्यहरुद्धारा दर्शकहरुलाई मनोरञ्जन गराएका थिए। अबुधावीको बिचमा रहेको खुल्ला चौरमा आयोजना गरिएको उक्त कार्यक्रममा दर्शकहरुको वाग्लो उपस्थिति रहेको थियो। अलएन, दुवई तथा अबुधावीका विभिन्न स्थानहरुबाट तमूहरु लगायत अन्य प्रवासी नेपालीहरुको वृहत उपस्थितिले कार्यक्रमलाई अझै रौनक बनाएको थियो। स्थानीय कलाकारहरुका रमाइला गीत तथा नृत्यले ७८ बर्षीया वृद्ध हजुरआमा गंगामति तमूदेखि सा-साना वालिकासम्म कार्यक्रममा उफ्री उफ्री ताली बजाउदै नाचेका देखिन्थे।
पहिलो चरणको कार्यक्रम डिआर गुरुङले सञ्चालन गरेका थिए भने दोश्रो कार्यक्रम सानु तमुले सञ्चालन गरेकी थिईन्। कार्यक्रम दिउसो ४ बजेदेखि राति १० बजे सम्म चलेको थियो।
एचकेनेपाल डट कम संवाददाता-
देशभक्त गणतान्त्रिक एकता अभियानले नेपाल र भारतबीच भएको सन् १९५० को शान्ति र मैत्री सन्धिदेखि सन् १९९० सम्मका सम्झौताहरू असमान भएकाले ती सन्धि सम्झौताहरू खारेज गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भारत भ्रमणका बेला प्रकाशित संयुक्त प्रेस विज्ञप्तिमा उल्लिखित बुँदाहरूको कार्यान्वयनको माग गरेको छ।
अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपालको दक्षिणमा सुस्ता र पश्चिममा कालापानी भारतले आफ्नो अधीनमा लिएको र पूर्व ताप्लेजुङ-इलामदेखि महाकाली नदीसम्म अन्यायपूर्ण शैलीमा सीमा मिची बसोबास गराउने, सडक र बाँध बनाउनेजस्ता कार्य गर्दै आएको बताइयो।
कार्यक्रममा नेपाल, नेपाली जनता र नेपाली भूमिको सुरक्षा, सम्मान र प्राकृतिक न्यायको संरक्षणका लागि देशभक्त गणतान्त्रिक एकता अभियानले आन्दोलन अघि बढाउने बताउँदै अभियानका अध्यक्ष एवम् सभासद् सूर्यबहादुर सेनले आफ्ना मागहरूको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिनुभयो।
उहाँले पशुपतिनाथको पुजारीका सम्बन्धमा भारतीय नेता, भारतीय राजदूतसमेतले हस्तक्षेपपूर्ण वक्तब्यबाजी गरी भ्रम फैलाउनुका साथै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पनि बताउनुभयो। उहाँले भारतले अहिले एकतर्फी रूपमा परिचयपत्र लागू गरेको पनि उल्लेख गर्नुभयो।
अभियानले परिचयपत्र दुवै देशबीच छलफल गरी दुवै देशका नागरिकहरूका लागि लागू गरिनुपर्ने र कोसी नदीलगायतका बाँध/बाढी नियन्त्रणको जिम्मा र सुरक्षा भारतको जिम्मेवारी भएकाले कोसीपीडित जनताको बसोबासको व्यवस्था यथाशीध्र भारतले गर्नुपर्ने माग पनि गर्यो।
अभियानद्वारा जारी विज्ञप्तिमा नेपाल-भारत सीमाका नदीनाला र स्थानहरू कुनौली, बागमती, रौतहट, रसियावाल, डण्डा, खुर्दलोटन, लक्ष्मणपुरलगायतमा भारतबाट बनाइएका बाँधहरूबाट पानी/बाढीको प्राकृतिक बहाव रोकिन गई लाखाँैलाख नेपाली जनता डुबानमा परेकाले त्यस्ता बाँधहरू भत्काई नदी/बाढीको उत्तरबाट दक्षिण बग्ने प्राकृतिक बहावअनुरूप नै बग्ने बगाउने व्यवस्था मिलाउन सरकारसँग माग पनि गरिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसले नेपाली सेनाको कुल दरबन्दी वृद्धि नगरी रिक्त पद पूर्ति गर्नु सामान्य र नियमित प्रक्रिया हो भन्दै यसले शान्ति प्रक्रियाका क्रममा विगतमा भएका कुनै पनि सहमतिको उल्लङ्घन नगर्ने जनाएको छ।
नेपाली सेना गौरवशाली इतिहास बोकेको, राजनीतिबाट अलग अराजनीतिक चरित्र भएको राष्ट्रिय संस्था हो, यसले शान्ति प्रक्रिया र राष्ट्रको वर्तमान गणतान्त्रिक रुपान्तरणमा समेत सकारात्मक भूमिका खेलेको छ भने अर्कोतिर नेकपा (माओवादी) अब विद्रोही शक्ति नभई रक्षा मन्त्रालयसहित सम्हालेको सरकारको नेतृत्व गर्ने राजनीतिक पार्टीका रुपमा स्थापित भएको छ भन्दै पार्टीले अब पनि राष्ट्रिय सेनालाई विगतको नजरले हेर्नु र उसको नियमित प्रक्रियामा हस्तक्षेप गर्ने कार्य दुर्भाग्यपूर्ण र अनुचित हुने बताएको छ।
नेपाली काङ्ग्रेसले वर्तमान सरकारलाई सेनाले विगतदेखि गर्दै आएको आफ्ना नियमित कार्यमा पूर्वाग्रही नहुन र उनीहरुको मनोबल घटाउने र विवाद सिर्जना गर्ने कुनै पनि कार्य नगर्न प्रेस विज्ञप्तिमार्फत् आग्रह गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य शशाङ्क कोइरालाले माओवादीको अराजक गतिविधिका कारण मुलुकमा सैनिक शासनको खतरा बढेको बताउनुभएको छ ।
नेता कोइरालाले नेपाल शिक्षक सङ्घ मकवानपुरको छैटौँ जिल्ला अधिवेशनको हेटौँडामा उदघाटन गर्दै उक्त आशङ्का व्यक्त गर्नुभएको हो ।
मुलुकमा विगतका दिनका तुलनामा वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा बढेको बताउँदै नेता कोइरालाले सङ्घीयताको नाममा नेपाललाई विखण्डन गर्न खोजिएको उल्लेख गर्नुभयो।
एकतन्त्रवादी कम्युनिस्टहरूको विकल्पका रूपमा काङ्ग्रेसलाई नेपाली जनताले रुचाएको बताउँदै नेपाली काङ्ग्रेस जनचाहना अनुसारको संविधान निर्माण गर्न कटिबद्ध रहेको बताउनुभयो ।
इतिहासमा सधैँ कुनै न कुनै राजनीतिक दलको जित भएको तर नेपाली जनताको हार भएको उल्लेख गर्दै नेता कोइरालाले भन्नुभयो- अब नेपाली जनताको जित हुनेछ र त्यो जित नेपाली काङ्ग्रेसले गराएर नै छाड्ने छ ।
एस, काठमाडौं / एचकेनेपाल डट कम -
भैरहवाको बुद्ध चोकमा चन्दा उठाउंदै गर्दा मधेशी टाइगर्सका तीनजना कार्यकर्ताहरु हतियारसहित पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये मधेशी टाइगर्सका रुपन्देही जिल्ला इन्चार्ज विवेक भन्ने सरोज कुर्मि चौधरीसमेत रहेको प्रहरीले दावी गरेको छ। उनीहरूलाई दुई थान घरेलु पेस्तोलसहित प्रहरीले प्रकाउ गरेको हो। पक्राउ परेका टाइगर्सका कार्यकर्ताहरुलाई शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।
पक्राउ परेका टाइगर्सका कार्यकर्ताहरुहरुमा कपिलवस्तु बाँसखोर-३ का जुमल मुसलमान (आकास), रुपन्देही खुदावगर-५ चैनपूर्वाका एजाज अहमद खान (अर्जुन) र मजगौवा-२ का विवेक भन्ने सरोज कुर्मि चौधरी रहेका छन्।
एस, काठमाडौं / एचकेनेपाल डट कम -
संस्कृति एवं राज्य पुनर्संरचना मन्त्री गोपाल किराँतीले पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी नै नियुक्त गरिने बताएका छन्।
मन्त्री किराँतीले नेपालगञ्जमा आज बिहान सञ्चारकर्मीहरूसंग बोल्दै पशुपतिमा नेपाली पुजारी नियुक्तिको विकल्प नरहेको बताएका हुन्।
क्रान्तिकारी पत्रकार संघ बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले सर्वोच्च अदालतको आदेशका कारण सरकार एक कदम पछाडि हट्नु परेपनि अन्ततः पशुपतिमा नेपाली पुजारी नै नियुक्ति गरिनु पर्ने बताए। उनले सरोकारवालासंग छलफल गरी प्रतिस्पर्धीको आधारमा नेपाली पुजारीको नियुक्ति गरिने जानकारी दिए।
एचकेनेपाल डट कम संवाददाता-
प्रधानन्यायाधीश केदारप्रसाद गिरीले स्वतन्त्र न्यायपालिकाको मान्यताप्रति प्रतिबद्धता जाहेर गरिएपनि सम्बद्ध निकायबाट यसको पालनाका लागि पहल हुन नसकेको गुनासो गर्नुभएको छ।
संवैधानिक कानुनव्यवसायी मञ्चले आयोजना गरेको ‘सङ्घात्मक नेपाल र न्यायपालिकाको संरचना’ विषयक कार्यशालामा उहाँले स्वयं राजनीतिक दल र कानुनव्यवसायीले यस्तो प्रतिबद्धता जनाएपनि यसको पालनमा भने चासो नदेखाएको गुनासो गर्नुभयो।
प्रधानन्यायाधीश गिरीले सङ्घीयताका सम्बन्धमा दक्षिण अफ्रिकाको प्रयोग हाम्रा लागि सान्दर्भिक भएकाले त्यहाँको सङ्घीय स्वरूपबारे अध्ययन हुनुपर्ने बताउनुभयो।
सङ्घीय शासनमा नयाँ राष्ट्रिय स्वरूपका विवाद पनि थपिने भएकाले न्यायपालिकालाई सशक्त र सक्षम बनाउन ध्यान दिनुपर्छ-उहाँले भन्नुभयो।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले ‘२०६७साल जेठ २४ गते संविधान बन्छ भन्ने अठोट लिएर अघि बढनुपर्छ’ भन्दै सबै भाषा, जाति, धर्म र संस्कृतिका भावना समेटिने गरी नयाँ संविधान बनाउन एउटा प्रक्रिया तय भइसकेको छ भन्नुभयो।
उहाँले भन्नुभयो- एक दलको अडानले मात्र यो प्रक्रिया रोकिंदैन।
एस, पोखरा / एचकेनेपाल डट कम -
माओवादीसम्बद्ध मजदुर युनियनले पर्यटन व्यवसायीका कार्यालयमा लगाएको ताला शुक्रवार राति खोलेपछि पोखराका बन्द होटल र रेष्टुरेण्टहरू खुल्ने भएका छन्।
युनियन र व्यवसायीबीच आज शनिवार वार्ता बस्दै छ। वार्तापछि युनियनले चार दिनदेखि ताला लगाएर बन्द भएका पोखराका बन्द होटल र रेष्टुरेण्टहरू खुल्ने भएका छन्।
माओवादी निकट मजदुर श्रम ऐनअनुसार तलब वृद्धिको माग राख्दै आन्दोलनमा उत्रिएपछि पोखराका अधिकांश होटल र रेष्टुरेण्टहरू बन्द भएका थिए। खाना बस्नको असुविधाका कारण पर्यटकहरूले पर्यटकीय शहर पोखरा छोडेपछि यतिबेला पोखरा पर्यटकविहीन बनेको छ।
एचकेनेपाल डट कम संवाददाता-
अर्थमन्त्री डा.बाबुराम भट्टराईले क्रान्तिको स्वरूप फेरिएकाले कार्यकर्तामा अन्यौलता देखिनु स्वाभाविक भएपनि निरुत्साहित नहुन आग्रह गर्नुभएको छ ।
नेकपा (माओवादी) अवध राज्य उपसमितिद्वारा बुटवलमा नगरपालिका वडा नं. १४ बेलबासमा आयोजित कार्यकर्ता प्रशिक्षणमा उहाँले सरकारका सामु धेरै बिघ्नबाधा रहेपनि त्यसलाई सामना गरी मुलुकमा आर्थिक क्रान्ति गरेरै छाड्ने अठोट व्यक्त गर्नुभयो।
अर्थमन्त्री भट्टराईले नेकपा (माओवादी)ले नयाँ नेपाल निर्माणको कामलाई निष्कर्षमा पुर्याउने बताउँदै सो कार्यमा सत्तासाझेदार नेकपा (एमाले)लगायतका दलबाट आशातीत सहयोग भने नमिलेको गुनासो गर्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
पौषशुक्ल पूणिर्मा अर्थात् आजदेखि एक महिनासम्म हिन्दू नेपालीका घरघरमा श्रीस्वस्थानी परमेश्वरीको व्रतकथा प्रारम्भ हुँदैछ। यस अवसरमा आजैदेखि माघशुक्ल पूणिर्मासम्म श्रद्धाभक्तिपूर्वक स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी कथा सुन्ने-सुनाउने गरिन्छ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले ‘ महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई स्वस्थानीको व्रत गर्नुभएको र मनोकाङ्क्षा पूर्ण भएपछि उहाँकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि स्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ।
यस पर्वमा विशेषगरी महिलाहरू बिहान सबेरै उठी स्नान गरेर नित्य मध्याहृनकालमा महादेवको पूजा आराधना गर्छन्। त्यस अवसरमा श्रद्धालु भक्तजनले एक महिना व्रत बस्ने पनि चलन छ।
स्वस्थानी परमेश्वरीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा वास हुने जनविश्वास छ।
यस उपलक्ष्यमा काठमाडौँबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला तथा पुरुष त्यहीं महिनाभर बसेर विशेष विधिपूर्वक स्वस्थानीको व्रत बस्छन्।
भोजराज श्रेष्ठ, दोहा कतार / एचकेनेपाल डट कम -
भाषाको उत्थान, नेपालीको पहिचानको मूल नारा लिएर अगाडि वढिरहेको नवोदित साहित्यिक वाचनालय, दोहाले शुक्रवार खुल्ला गजल प्रतियोगिता साथै दिपेन्द्र दाहालको गजल संग्रह ‘’सम्वन्ध'’ को लोकापर्ण गरेको छ।
प्रतियोगितामा भानु ‘विरही’ शर्मा पहिलो, ‘इखालु’ रमेश गेलाल दोश्रो, डिएन मगर तेश्रो र एनवि अन्जानले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो। खुल्ला गजल प्रतियोगितामा २३ जना गजलकारहरु सहभागी थिए। प्रतियोगिताको निर्णायकहरुमा पत्रकार तथा साहित्यकार श्यामसुन्दर शशी, रवी भट्ट ‘रोषी’ र राई रमेश ‘गाउले’ ले रहनु भएको थियो। त्यस्तै गरि, कार्यक्रममा अप्रतियोगी गजल, कविता, मुक्तक, हाईकुहरुसमेत सुनाइएका थिए। कार्यक्रम एकलव्य राज र प्रविण राईले संञ्चालन गर्नुभएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष वद्रिप्रसाद पराजुलीको सभापतित्व, नेपाली दूतावासका प्रथम सचिव रामकाजी खड्काको प्रमुख आतिथ्य, साहित्यकार ज्ञान उदाशको बिषेश आतिथ्य साथै एनआरएनए आइसीसीका सचिव सागर नेपालको आतिथ्यमा नेपाली दूतावासको सभाहलमा ९ तारिख शुक्रवारका दिन सम्पन्न भएको हो।
सो कार्यक्रमको व्यानर उद्घाटन अनेसास दोहा च्याप्टरका अध्यक्ष दिपक भेटवाल र राई रमेश गाउले गर्नु थियो भने दिपेन्द्र दाहालद्धारा लिखित गजल संग्रह ‘’सम्वन्ध'’ को लोकार्पण साहित्यकार ज्ञान उदाश, दूतावासका प्रथम सचिव रामकाजी खड्का साथै एनआरएनए आईसीसीका सचिव सागर नेपालले गर्नुभएको थियो। सो पुस्तकको समिक्षा साहित्यकार हरिज्वाला घिमिरेले गर्नु भएको थियो। कार्यक्रममा राजेश प्रसाईले स्वागत मन्तव्य राख्नु भएको थियो।
शुभकामना मन्तव्य दिनेहरुमा एनआरएनए आईसीसीका सचिव सागर नेपाल, अनेसास कतार च्याप्टरका अध्यक्ष दिपक भेटवाल, ज्ञान उदाश, मुग्लानी सौगातका प्रधान सम्पादक सेलिङ केसीलगायत हुनुहुन्थ्यो। बिभिन्न संघ संस्थावाट प्रतिनिधित्व गदै पाथिभरा सेवा समाजका अध्यक्ष लक्ष्मी गुरुङ, पाचथर सेवा समाजका प्रतिनिधि सुनिल लिम्वु, मोरङ सुनसरीका अध्यक्ष अग्नी रिजाल, किरात राई यायोक्खाका चन्द्रसेर राई, भोजपुर टयाम्के सेवा समाजका सदस्य एकराज घिमिरे, प्रवासी नेपाली सम्पर्क मञ्चका अध्यक्ष वीरवहादुर थापा, नेपालकतार पत्रकार महासंघका कोषाध्यक्ष बीरवहादुर दर्नाल, संन्ध्या ग्रुपका प्रतिनिधि विदुर कटेल, रुमानी मासिकका मोहराज शर्मा, उदयपुर सेवा समाजका सरोज श्रेष्ठ र साहित्यकार शिवराज गौतमलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।