Archive for February, 2009
एचकेनेपाल डट कम संवाददाता -
एकीकृत नेकपा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली प्रेसप्रति शनिवार गुनासो गर्दै प्रेसले आफू र आफ्नो पार्टीबारे नकरात्मक कुरामात्र लेखेकोमा दुख व्यक्त गरेका छन्।
पूर्व नेकपा माओवादीको भातृ संगठन क्रान्तिकारी पत्रकार संघ र पूर्व एकता केन्द्र मसालसम्बद्ध पत्रकारहरुको एकता भेलालाई शनिवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा व्यक्त गरेका हुन्। उनले प्रेस र पत्रकारले आफूलाई घेराबन्दीमा पारिरहेको आरोप लगाए। मैले दुःख गरेको समाचार मिडियामा नआउदो रहेछ, मेराबारे खाली नकारात्मक कुरामात्र आइरहेको छ, उनले गुनासो व्यक्त गरे।
उनले आफूले विहान ५ बजेदेखि साँझ ८ बजेसम्म मुलुकका लागि खटिएर काम गरिरहंदा समाचार नबन्ने तर आफ्नोबारे नकरात्मक कुरामात्र समाचार बनेकोमा आपत्ति जनाए। प्रधानमन्त्रीले करोड पर्ने गाडी चढ्ने, डेढ लाख पर्ने पलङमा सुत्ने भनेर मिडियामा आएका समाचारहरूप्रति उनले दुख व्यक्त गरे।
प्रधानमन्त्री दाहालले करोड पर्ने गाडी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छंदा मगाएको समेत खुलासा गरे। उनले त्यो कुरा पछिमात्र थाहा पाएको बताए। कोइरालाले मगाउंदा समाचार नबन्ने तर अहिले आफ्नोविरूद्ध समाचार बनेकोमा आश्चर्यमा परेको उनले बताए। मिडियाले धेरै पटक डेढ लाख पर्ने पलङमा सुत्ने सर्वहाराका नेता भनेपछि कहिलेकाही आफूलाई फलङ नै फालिदिउ जस्तो लाग्ने बताए।
Popularity: 15%
February 28th, 2009
एचकेनेपाल डट कम संवाददाता -
संविधानसभा सदस्य कृष्णप्रसाद यादवलाई वेश्यावृत्ति गरेको अभियोगमा प्रहरीले एक मसाज पार्लरबाट पक्राउ गरेको छ। यादवसंगै ३८ वर्षीय महिलासहित तीन युवती पक्राउ परेका छन्।
रौतहट-४ का सभासद यादव शुक्रबार मध्याह्न राजधानीको महाराजगन्जस्थित मसाज पार्लरबाट रंगेहात पक्राउ परेका हुन्।
उनलाई अनामनगर चौकीमा ल्याएपछि प्रहरीले शुक्रबार राति अकस्मात पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए। उनी संविधानसभा सदस्य भएका कारण महाराजगञ्जबाट अनामनगर ल्याइएको प्रहरीले जानकारी दिए।
यादवले आफूलाई प्रहरीले मसाज पार्लरबाट नभै घरैबाट पक्राउ गरेको जनाउंदै वेश्यावृत्तिमा लागेको आरोप अस्वीकार गरेका छन्।
प्रहरीले यादवलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा लगाउने तयारी गरिरहेको छ। त्यसैगरी, प्रहरीले शुक्रवार रातभर राजधानीका मसाज पार्लरहरुमा छापा मारेका थिए।
Popularity: 15%
February 28th, 2009
रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
श्रम तथा यातायात व्यवस्था सचिव युवराज पाण्डे दक्षिण कोरियाको दुई दिने भ्रमणपछि शुक्रवार नेपाल फर्केका छन्।
सउलस्थित प्रधान कार्यालय भएको संयुक्त राष्ट्रसंघीय निकाय क्षेत्रीय विकासको लागि राष्ट्रसंघीय केन्द्रद्वारा आयोजित दिगो वातावरणीय यातायात व्यवस्था नामक दुई दिने गोष्ठीमा भाग लिन सचिव पाण्डे फेब्रुवरी २५ तारिख कोरिया आएका थिए।
व्यस्त कार्यतालिकाबीच उनले केही नेपालीसंग भेटघाट गरी उनीहरूका समस्याबारे जानकारी लिएका थिए। उनले नेपाली दूतावासको समेत भ्रमण गरेका थिए। भेटको क्रममा दूतावासले दक्षिण कोरियाली नेपाली समुदाय विशेष गरी मजदुरहरुको समस्याको बारेमा अवगत गराइएको थियो।
सचिव पाण्डेले हाल दक्षिण कोरियामा रहेका नेपाली मजदुरहरुको समस्या हेर्ने आधिकारिक निकाय नभएको हुँदा उक्त समस्या समाधान गर्न चाँडैनै श्रम सहचारीको व्यवस्था गर्ने जानकारी दिए। पाण्डेका साथमा वातावरण मन्त्रालयकी सहसचिव मिना खनाल पनि थिइन्।
Popularity: 15%
February 28th, 2009
एचकेनेपाल डट कम संवाददाता -
ताइक्वान्दो आईटीएफ नेपालको सुपरिवेक्षणमा आईटीएफ तेक्वान्दो सञ्चालन गर्न बंगलादेशको सिलेट ताइक्वान्दो एसोसियसनका अध्यक्ष मोहम्मद मुख्तर हुसेन एक सातादेखि काठमाडौमा प्रशिक्षण लिईरहेका छन्।
ताइक्वान्दोका संस्थापक जनरल चोईका छोरा चोईजङ हवाले नेतृत्व गरेको आईटीएफको मातहतमा रहेर वंगलादेशमा पनि आईटिएफ ताइक्वान्दो सञ्चालन गर्नको लागि प्रशिक्षण लिन हुसेन काठमाडौं आएका हुन्। उनलाई आईटीएफ नेपालका अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक तथा ए क्लास रेफ्री लक्ष्मण बस्नेतले प्रशिक्षण दिईरहेका छन्।

वंगलादेशमा हुसेनले नेतृत्व गरेको ताइक्वान्दो एसोसियसनको १० वटा शाखा छ। ती शाखाहरुमा तीनसय भन्दा बढी ताइक्वान्दो खेलाडी रहेका छन्। इन्टरनेटमा हेर्दा ताइक्वान्दो संस्थापक जनरल चोईले निकालेको रियल आर्ट जनरल चोईको निधनपछि उहाँका छोरा ग्राण्डमास्टर चोइ जंग हवाले नेतृत्व गरेको आईटीएफ अन्तर्गत साउथ एशियामा ताइक्वान्दो आईटीएफ नेपाल सिनियर संस्था भएको तथा साउथ एशियामा एकमात्र अन्तर्राष्ट्रिय प्रशिक्षक तथा ए क्लास रेफ्री लक्ष्मण बस्नेतमात्र भएको र उहाँको आईटीएफको प्राविधिक ज्ञानबाट आफू प्रभावित भई उहाँसँग प्रशिक्षण लिई वंगलादेशमा पनि आईटीएफ ताइक्वान्दो शुरु गर्ने सोचका साथ प्रशिक्षण लिन नेपाल आएको हुसेनले बताए।
अन्तर्राष्ट्रिय प्रशिक्षक बस्नेतसंग एक महिना प्रशिक्षण लिएर पर्किएपछि हुसेनले वंगलादेशमा तत्काल आईटीएफ ताइक्वान्दोका १० वटा शाखा स्थापना गर्ने बताउछन्। ताइक्वान्दो खेलमा नेपाल वंगलादेश भन्दा अगाडी रहेको बताउदै हुसेन भन्छन- ‘वंगलादेशमा व्यवसायिक खेलाडीको भविष्य उज्जल छ तर नेपालमा रहेनछ।’ भविष्यमा नेपालसंग मिलेर सेमिनार, प्रशिक्षण शिविर, फ्रेण्डशिप प्रतियोगितालगायतका कार्यक्रम गर्ने योजना बनाएका हुसेनको सोचले यसबाट दुई देश विचको मित्रता अझ प्रगाढ हुने तथा ताइक्वान्दो आईटीएफलाई एक अर्काको देशमा अझै विकास गर्न सकिने कुरामा आफू विश्वस्त भएको अन्तर्राष्ट्रिय प्रशिक्षक लक्ष्मण बस्नेत बताउँछन्।
राम्रो कुशल खेलाडी बन्न राम्रो प्रशिक्षकसंग प्रशिक्षण लिनुपर्ने कुरा ठम्याएर म नेपाल आएँ हुसेनले भने म वंगलादेश फर्किएपछि आईटिएफ तेक्वान्दोका कुशल खेलाडीहरु उत्पादन गर्छु हुसेन वंगलादेशका तेक्वान्दो राष्ट्रिय खेलाडी तथा दोश्रो डिग्री ब्लाक बेल्ड हुन्।
Popularity: 15%
February 28th, 2009
एचकेनेपाल डट कम संवाददाता-
अर्थमन्त्री एवं एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा.बावुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाह राजसंस्था पुनःस्थापना गराउनका लागि भारत भ्रमणमा गएको विचार व्यक्त गर्नुभएको छ।
खरानीटार गाउँ विकास समितिमा आयोजित जनसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा.भट्टराईले नागरिकले पराजित गराइसक्दा पनि पूर्वराजाले आफूलाई पुनःशक्तिमा लैजान अनेक तानाबाना बुनिरहेको आरोप लगाउनुभयो।
नेपाली काङग्रेसको महत्व कुनै समयमा रहेता पनि अहिले काङ्ग्रेस बूढो गाईजस्तो दूध दिन नसक्ने भएको बताउँदै एमालेलाई भने विचार र राजनीति नभएको वामपन्थीको संज्ञा दिनुभयो।
दुई सेना समायोजन नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने डा.भट्टर्राईको उद्घोष थियो । माओवादी सत्तामा पुगेपनि शोषित, पीडित र दलित जनजातिको हातमा सत्ता नपुगेसम्म संर्घष जारी राख्ने मन्त्री डा.भट्टराईले बताउनुभयो।
मन्त्री डा.भट्टराईले माओवादीको पक्षमा चालीस प्रतिशत सभासद् रहेको बताउँदै माओवादीलाई अलग्याएर कुनै पक्षले पनि संविधान लेख्न नसक्ने दावी गर्नुभयो।
कार्यक्रमको आयोजना एकीकृत नेकपा (माओवादी) नुवाकोटले गरेको थियो।
Popularity: 15%
February 28th, 2009
एचकेनेपाल डट कम संवाददाता-
नेपाल सरकारले जनयुद्ध, जनआन्दोलन ०६२/६३ र त्यसपछिको मधेस आन्दोलनका क्रममा गरी मृत्यु भएका करिब सात हजार नागरिकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उक्त निर्णय गरेको जानकारी नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले दिनुभयो ।
मन्त्री महराले यसअघि मन्त्रिपरिषद्मा प्रस्तुत गरिएका करिब सात हजारमध्ये केही थपघट गर्ने तथा प्रस्तुत कतिपय नामावलीमा संशोधनसमेत गरी सहिद घोषणा गर्ने निर्णय गरेको बताउनुभयो ।
त्यसैगरी स्वतः बढुवा भएका करिब १३ हजार निजामती कर्मचारीमध्ये कम्तीमा २० वर्षसेवा अवघि र ५० वर्षउमेर पुगेकाहरूले अवकाश लिन चाहेमा स्वेच्छिक अवकाश लिन पाउनेसम्बन्धी सामान्य प्रशासन मन्त्रालयको प्रस्तावलाई पनि बैठकले स्वीकृत गरेको छ ।
Popularity: 15%
February 28th, 2009
एचकेनेपाल डट कम संवाददाता-
सरकारले गत माघ २१ गते गरेको निर्णयको प्रतिवादका लागि थरुहट संयुक्त सङ्र्घर्ष समितिले गाउँ गाउँबाट छ महिनाभित्र एक लाख सेना भर्ती गर्ने योजना रहेको बताएको छ ।
समितिले यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा सो जानकारी दिँदै मन्त्रिपरिषद्को माघ २१ गतेको बैठकको थारु तथा अन्य आदिवासी जातीय सङ्गठनहरूका मुद्दालाई बेवास्ता गरेर सम्पूर्ण थारुलाई थारु जातिको पहिचान र अस्तित्व नै गुम्नेगरी ९२ जातिलाई मधेसी समुदायमा सूचीकृत गर्ने निर्णयप्रति खेद प्रकट गर्दै त्यसका विरुद्ध सशस्त्र प्रतिवाद गर्ने चेतावनी पनि दिएको छ।
सरकारले गरेको निर्णय तत्काल फिर्ता लिएर थारुलगायत तमाम आदिवासी जनजातिका अधिकार सुरक्षित हुनेगरी जातीय तथा क्षेत्रीय सङ्घीय अवधारणालाई अग्रगमनको दिशातर्फउन्मुख गराउनुका साथै राज्यका हरेक संरचना र तहमा जातीय जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको संवैधानिक सुनिश्चितता नभए आफूहरू हड्तालमा जाने नेपाल कुमाल सुधार समाज समितिका अध्यक्ष जीतबहादुर कुमालले बताउनुभयो।
थरुहट स्वायत्त राज्यपरिषद्का अध्यक्ष लक्ष्मण चौधरीले सरकारले गरेको निर्णय खारेज नगरे आमहड्तालको कार्यक्रमलाई जारी राखी ताम्सालिङ, तामाङ, लिम्बुवान्, थरुहटलगायतका १४ वटा सङ्गठनले सञ्चालन गरेको सैनिक तालिमका सैनिकहरू सशस्त्र आन्दोलनमा उत्रने बताउनुभयो।
Popularity: 15%
February 28th, 2009
एचकेनेपाल डट कम संवाददाता-
भावी संविधानमा समेटिनुपर्ने अवधारणा सङ्कलन गर्न संविधानसभाका सदस्यहरू आजदेखि जनताका घरआँगनमा जान सुरु गरेका छन् ।
देशका ७५ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्र र गाउँ जाने योजना बनाएका सभासद्हरूले ४० वटा जनमत सङ्कलन टोली बनाई जिल्ला जिल्लामा जान सुरु गरेका हुन् ।
संविधानसभा, जनमत सङ्कलन तथा समन्वय समितिले दिएको जानकारीअनुसार आजदेखि सुरु भई आगामी चैत १५ गतेसम्म सो टोलीले जनमत सङ्कलन गर्नेछ ।
जनमत सङ्कलन गर्ने सभासद्हरूको टोलीसँग संविधानसभा सचिवालयका तीनदेखि पाँचजनासम्म कर्मचारी काठमाडौँबाट जाने र थप पाँचजना कर्मचारी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजनमा खटाइने बताइएको छ ।
जनताका सुझाव सङ्कलनका लागि ३०० वटा भन्दाबढी प्रश्न सोधिने र यसमा वस्तुगत एवम् लामो प्रश्न पनि रहेको समितिले जानकारी दिएको छ ।
अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको हकअधिकार संरक्षण, न्यायप्रणाली तथा प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँड, संवैधानिक निकायको संरचना, राज्यको शासकीय स्वरूप निर्धारण, राष्ट्रिय हितको संरक्षण, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त आदि प्रश्नका जवाफ जनतासँग मागिनेछन् ।
यसैबीच जनमत सङ्कलन तथा समन्वय समितिका सभापति प्रमोदप्रसाद गुप्ताले आज प्रेस विज्ञप्ति प्रकाशित गरी जनमत सङ्कलन कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउन सहयोग गर्न सबै राजनीतिक दल, गैह्रसरकारी सङ्घ, सङ्गठन, बुद्धिजीवी र पत्रकार सबै पक्षसँग अपिल गर्नुभएको छ ।
जनमत सङ्कलन गर्ने कार्य प्रभावित हुनेगरी कुनै प्रकारको बन्द, हड्ताल, चक्काजाम, धर्ना, घेराउजस्ता कार्यक्रम नगरिदिन पनि विज्ञप्तिमा अपिल गरिएको छ ।
Popularity: 15%
February 28th, 2009
एचकेनेपाल डट कम संवाददाता-
नयाँ संविधान बन्न लागेको समयमा आफूहरूलाई सरकारले मधेसी कोटामा राखेको भन्दै थरुहट सङ्र्घष्ा समिति, दाङले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।
सर्घष समितिले दाङ्कको लमहीमा पत्रकारसम्मेलन गरी यही फागुन १९, २० र २१ गते आम हड्ताल गर्ने जानकारी दिएको छ ।
पत्रकारसम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा गत माघ २१ गते मन्त्रिपरिषद्को बैठकले तराईका थारुहरूलाई पनि मधेसीको कोटामा राख्ने निर्णय गरेकाले तत्काल उक्त निर्णय फिर्ता लिन माग गरिएको छ ।
Popularity: 15%
February 28th, 2009
एचकेनेपाल डट कम संवाददाता-
चार दिनदेखि हराइरहेकी महोत्तरी जिल्ला रामनगर-६ की एक बालिकाको अपहरण भएको हुनसक्ने चिन्ताले परिवारजन पिरोलिएका छन् ।
मङ्गलबार साँझ घरबाट दिसा-पिसाब गर्न निस्केकी दशरथ यादवकी १० वर्षीया छोरी पिङ्की यादव घर नफर्केपछि उनको अपहरण भएको हुनसक्ने चिन्ताले परिवारजन पिरोलिएका हुन् ।
बिरामी अवस्थामा रहेकी पिङ्कीको खोजी भइरहेको सशस्त्र प्रहरी बेस क्याम्प, रामनगरका प्रहरी निरीक्षक कृष्ण खत्रीले बताउनुभयो ।
पिङ्कीलाई भारतमा लगेर बेच्ने उद्देश्यले दलालहरूले लगेको हुनसक्ने गाउँलेले अनुमान गरेका छन्।
Popularity: 14%
February 28th, 2009
एचकेनेपाल डट कम संवाददाता-
प्युठान जिल्लाको स्याउलीवाङ प्रहरी चौकी आक्रमण गर्ने समूहका छजनालाई शुक्रवार साँझ बागलुङमा प्रहरीले पक्राउ गरेको छ ।
प्युठानमा घटना गराउने छजनालाई जिल्लाको पश्चिम निसी गाविसबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीपकुमार श्रेष्ठले बताउनुभयो ।
पक्राउ परेका छजनामध्ये दुई जनाले प्युठान घटनामा आफूहरू संलग्न भएको स्वीकारेको बताइएको छ ।
पक्राउ परेकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले प्युठान घटनापछि आक्रमणकारी समूह बागलुङ जिल्लामा छिरेको भन्दै व्यापक र्सच अभियान जारी गरेको थियो ।
पक्राउ परेकालाई निसी प्रहरी चौकीमा राखिएको छ।
Popularity: 14%
February 28th, 2009
एचकेनेपाल डट कम सम्वाददाता -
रिपोटर्स क्लबका अध्यक्ष तथा पत्रकार ऋषि धमलालाई शुक्रवार जेल चलान गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुद्दाको थप अनुसन्धान नसकिएसम्म धमलासहित अरु ३ पत्रकारलाई पुर्पक्षका लागि जेल चलान गर्ने निर्णय गरेको हो।
धमलाका पक्षमा अधिवक्ताहरु शम्भू थापा, माधव बास्कोटा, शेरबहादुर केसी, उपेन्द्र केशरी न्यौपाने, भीमार्जुन आचार्य, इन्द्र खरेल, चन्द्रकान्त ज्ञवाली, ऋषिराम घिमिरेलगायतले बहस गरेका थिए। विहान अबेरसम्म दुबै पक्षबीच थुनछेक सम्वन्धी बहसपछि प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटीले दिउंसो ३ बजे धमलासहित अन्य तीनजनालाई सदरखोर डिल्लीबजारमा थुनामा राख्न आदेश दिएका हुन्।
धमलालाई भूमिगत संगठन रणवीर सेनासंगको मिलोमतोमा काठमाडौंका विभिन्न ठाउँहरुमा बम पड्काउने, फिरौति असुली गर्नेजस्ता कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरी सिंहदरवारस्थित वडा प्रहरी कार्यालयमा थुनामा राखेको थियो। त्यसैगरी, समान आरोपमा रामसुभक महतो, वीरेन्द्र केएम र मनोज महतो पक्राउ परेका थिए।
उनीहरूविरूद्ध मंगलवार हातहतियार तथा खरखजाना अभियोगमा मुद्दा दर्ता भएको थियो।
Popularity: 15%
February 27th, 2009
वसन्त रानाभाट, पोखरा / एचकेनेपाल डट कम -
नेपाल पत्रकार महासंघ कास्कीका सचिव तथा रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर दीपेन्द्र श्रेष्ठद्वारा लिखित ‘प्रत्यक्ष उद्घोषण कला’ पुस्तकको आज एक कार्यक्रमकाबीच पोखरामा विमोचन गरिएको छ।
पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष नारायण कार्कीले गर्नु भएको थियो। पुस्तकको विमोचन गर्दै अध्यक्ष कार्कीले उद्घोषक तथा वक्ताहरुको काम कार्यक्रमलाई जीवन्त राख्नु हो र यो कार्यका लागि श्रेष्ठद्वारा लिखित ‘प्रत्यक्ष उद्घोषण कला’ पुस्तक उपयोगी हुने बताउनुभयो।

तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम
पुस्तकका लेखक दीपेन्द्र श्रेष्ठले संसार नै अहिले प्रस्तुतीमा अडिएकोले प्रस्तुतीसँग सरोकार राख्नेहरुका लागि यो पुस्तकको सिर्जना गरेको बताउनुभयो। उहाँले लोडसेडिङकै मार खेपिरहेको बेलामा समय उपयोगगरी पुस्तक तयार पारेको र आफू यसमा सफल भएकोमा खुशी ब्यक्त गर्नुभयो। श्रेष्ठले लोडसेडिङ छ भन्दै अल्छि गरेर बस्नु भन्दा प्रतिकुलतालाई अनुकुलतामा बदल्न प्रयास गर्न समेत सबैलाई आग्रह गर्नुभयो। सोही अवसरमा उहाँले पुस्तकको विक्रीको साढे सात प्रतिशत मैत्रीसघ पोखराबाट संचालित मैत्री शिक्षा समूह र साढे सात प्रतिशत रेडियो अन्नपूर्णद्वारा संचालित सेती खोंच नियन्त्रणका लागि थालिएको सेतीखोंच तारजाली अभियानलाई दिने घोषणा गर्नुभयो।

पुस्तकको समीक्षा प्राध्यापक तथा समालोचक डा.रामनाथ ओझाले गर्नु भएको थियो । पुस्तकको समालोचना गर्दै ओझाले पोखरेलीको मन र मुटुमा परिचित प्रस्तोता श्रेष्ठ, आफ्नो प्रस्तुती र कलात्मक अभिब्यक्तिसँगै दीपेन्द्रबाट श्रोताको दीपेनदाई बनेको स्मरण गराउँदै भन्नुभयो, ‘ कार्यक्रम संचालनका लागि चाहिने शिलशिला, प्रस्तुती र शैलीका लागि प्रभावकारी ज्ञानहरु पुस्तकमा समावेश गरिएको छ त्यसैले यो सँग प्रत्यक्ष सरोकार राख्ने सबैकालागि प्रत्यक्ष उद्घोषणा कला पुस्तक उपयोगी छ।
रेडियो अन्नपूर्णका कार्यकारी अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्कृतिविद् तथा साहित्यकार तीर्थ श्रेष्ठ, रेडियो अन्नपूर्णका समाचार संयोजक आरजु विष्ट सल्यानी, ब्यंग्य कवि विश्व शाक्य, संघसंस्थाका प्रतिनिधित्व गर्दै लायन्स क्लव अफ पोखरा र्समर्पणका अध्यक्ष रिता पालिखे, सरस्वती गुरुङले बोल्नु भएको थियो। पुस्तकको विमोचन भएको दिन आज संजोगले लेखक श्रेष्ठको जन्म दिन समेत परेको छ।

Popularity: 15%
February 27th, 2009
एचकेनेपाल डट कम संवाददाता-
बजार बन्द गराउन खोज्ने एक जना राजनीतिक कार्यकर्तालाई व्यापारीहरूले कुटपिट गरी घाइते बनाएका छन्। पटकपटकको बन्दले दिक्क भइसकेका व्यापारी र एकीकृत नेकपा (माओवादी) का कार्यकर्ताबीच झडप हुँदा क्षेत्र नं ४ का कमाण्डर ललन पाण्डे घाइते भएका हुन्।
उनले आफ्ना पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा बजार बन्द गराउने प्रयास गरेका थिए ।
झडपमा उनको टाउको फुटेको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
Popularity: 15%
February 27th, 2009
एचकेनेपाल डट कम संवाददाता-
मुलुकमा सङ्घीयताको स्वरुपबारे बहस चलिरहँदा बागलुङ जिल्लाको सुदूरपश्चिमवर्ती जनता क्षेत्र नं.३ लाई छुट्टै जिल्ला बनाइनु पर्ने माग गर्दै आन्दोलित बनेका छन्।
सदरमुकामदेखि अति विकट रहेको सो क्षेत्रका जनतालाई सरकारी सेवा सुविधाहरुबाट बञ्चित गराइएको भन्दै स्थानीय सुदुरपश्चिमवर्ती जनताले बागलुङका २० गाविस र गुल्मीको केही गाविसलाई समेटेर छुट्टै जिल्लाको माग गरेका छन्।
छुट्टै जिल्ला बनाएरै छाड्ने अठोटका साथ आन्दोलित बनेका स्थानीयवासीहरुको नेतृत्व स्थानीय र्सवदलीय टोलीले गरेको छ। टोलीले पहिलो चरणको आन्दोलनको स्वरुप जिल्ला प्रशासनमा क्षेत्र नं.३ लाई छुट्टै जिल्लाको माग सहित नौ बूँदे ज्ञापन पत्र जिल्ला प्रशासन र जिल्ला स्थित सबै पार्टी कार्यालयमा बुझाएको छ। टोलीले यसअघि नै छुट्टै जिल्लाको माग केन्द्रमा पुर्याइसकेको छ।
सदरमुकाम बागलुङ बजारदेखि ३० कोष टाढा रहेको क्षेत्र नं.३ का नागरिकले राज्यबाट पाउनु पर्ने मौलिक अधिकार, नागरिकताको प्रमाण पत्र, रजिष्ट्रेशन, विकास निर्माणका योजनामा सौतेनी व्यवहार गरी दोश्रो दर्जाको नागरिकको रुपमा हेरिएको भन्दै बाध्य भएर छुट्टै जिल्लाको माग गर्नुपरेको प्रमण्डल टोलीका सह-संयोजक तथा नेकपा एमालेका स्थानीय नेता टङ्कप्रसाद पौडेलले बताए।
क्षेत्र नं. ३ मा रणसिंहकिटेनी, सिसाखानी, पाण्डवखानी, रिघा, राजकुत, बुर्तिवाङ, अधिकारीचौर, बोवाङ, दर्लिङ, भिमगिठे, ग्वालीचौर, दगातुन्डाँडा, जलजला, खुङखानी, तमान, बुंगादोभान, खुंगा, निसी, देवीस्थान, बोहरागाँउलगायतका २० गाविस पर्छन् । प्रमण्डल टोलीले द्वन्द्व कालमा विस्थापित मालपोत, नापी, नेपाल बैंक, कृषि विकास बैंक शाखा पुनस्थापना र बुर्तिवाङमा एकीकृत सेवा केन्द्रको स्थापना गर्नुपर्ने मागसमेत गरेको छ।
Popularity: 15%
February 27th, 2009
एचकेनेपाल डट कम संवाददाता-
भावी संविधानमा समावेश गरिनुपर्ने समग्र अवधारणाका बारेमा संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूले आ-आफ्ना दलीय धारणा सार्वजनिक गर्नेक्रम सुरू गरेका छन् । संविधानसभा, संवैधानिक समितिले ती २५ वटै दलका अवधारणा बुझ्ने क्रममा दलहरूले भावी संविधानका अवधारणाबारे आ-आफ्ना धारणा सार्वजनिक गर्न थालेका हुन् ।
संविधानसभामा प्रतिनिधित्व गरेका नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा नेपालले समितिको बैठकमा दलीय धारणा सार्वजनिक गरे।
नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’ नाम दिई सैद्धान्तिक अवधारणा प्रस्तुत गर्दै राष्ट्र प्रमुख तथा सेनाको परमाधिपति राष्ट्रपति हुने व्यवस्था हुनुपर्ने आफ्नो पार्टीको ठहर रहेको बताउनुभयो।
सो अवधारणामा कार्यकारी प्रमुख प्रधानमन्त्री हुने, प्रधानमन्त्रीको निर्वाचन संसदको तल्लो सदनले गर्ने र प्रधानमन्त्री प्रान्तीय सरकारको सदस्य हुन नहुने उल्लेख गरिएको छ।
द्विसदनात्मक व्यवस्थापिका हुने, माथिल्लो सदन राष्ट्रियसभा तथा तल्लो सदन जनप्रतिनिधिसभा हुने, राज्यको संरचना सङ्घीयताको आधारमा हुने अवधारणामा उल्लेख गरिएको छ ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले संविधानका अवधारणा प्रस्तुत गर्दै ‘राष्ट्रपति’ प्रत्यक्ष निर्वाचनबाट हुनुपर्ने र राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्ति हुनुपर्ने व्यवस्था दलकातर्फबाट प्रस्तुत गर्नुभयो ।
उहाँले हालको १४ अञ्चललाई नै प्रान्तीय रुपान्तरण गर्न सुझाव दिँदै क्रान्तिकारी भूमिसुधार र राष्ट्र प्रमुख नै सेना प्रमुख हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाको संविधानको अवधारणा प्रस्तुत गर्दै पार्टीका अध्यक्ष चित्रबहादुर केसीले र्सार्वभौम सत्ता सम्पन्न धर्म निरपेक्ष एकात्मक गणराज्य, प्रजातान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वायत्तशासन, सात प्रदेश र प्रशासकीय चार तह हुनुपर्ने अवधारणा प्रस्तुत गर्नुभयो।
सर्म्पर्क भाषा नेपाली, देशमा बोलिने सम्पूर्ण भाषाहरू राष्ट्रिय भाषा, दुई सदनात्मक संसद, राष्ट्र प्रमुख राष्ट्रपति र सरकार प्रमुख प्रधानमन्त्री हुने अवधारणामा उल्लेख गरिएको छ।
बैठक समितिका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको थियो।
Popularity: 15%
February 27th, 2009
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँको कालिमाटीमा रहेको फलफूल तथा तरकारी बजारभित्र १३ वटा प्लास्टिकका बोरामा प्याक गरिएको अवस्थामा २२५ केजी गाँजासहित मकवानपुर जिल्ला नामटार गाविस वडा नं. ४ घर बताउने ३५ वर्षीय श्याम रुम्बालाई प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण कानुन कार्यान्वयन इकाई, नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ५३० बजे उक्त गाँजासहित रुम्बालाई पक्राउ गरेको सो इकाईले जनाएको छ ।
अभियुक्त रुम्बा लागूऔषध गाँजा र चरेसको कारोबारमा संलग्न भएको सूचनाका आधारमा लक्षित गरिएको कारबाहीमा उक्त गाँजा बरामद गरिएको बताइएको छ ।
काठमाडौँ उपत्यकामा यति ठूलो परिमाणमा गाँजा पक्राउ गरिएको यो पहिलो हो । सो कार्यमा संलग्न अन्य अभियुक्तहरूका बारेमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाईले जनाएको छ ।
Popularity: 15%
February 27th, 2009
एचकेनेपाल डट कम संवाददाता-
वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले नेतृत्व गर्नुभएको सदभावना पार्टी महोत्तरीका अध्यक्षसहित १२ जनाले पार्टी परित्याग गर्ने चेतावनी दिएका छन् ।
पार्टीका रामनरेश रायले जिल्लास्तरीय नेताहरूसँग छलफल नै नगरी सुनिल रोहितलाई अध्यक्ष बनाइदिएको प्रति असन्तुष्टी देखाउँदै निवर्तमान अध्यक्ष चन्दनसिंहलगायत १२ जना नेता, कार्यकर्ताहरूले पार्टी परित्याग गर्ने चेतावनी दिएका हुन् ।
बृहत् छलफल गरी कार्य समिति पुनर्गठन नगरे आफूहरू पार्टी परित्याग गर्ने चेतावनीको साथै केन्द्रीय कमिटीलाई यस घटनाप्रति गम्भीर ध्यानाकर्षणको माग गरिएको अध्यक्ष सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
पार्टीप्रति असुन्तष्टि देखाउँदै एक साता पूर्व, पूर्वअध्यक्ष केदारनाथ पाठकले पनि सद्भावना पार्टी परित्याग गरी मधेसी जनअधिकार फोरममा प्रवेश गर्नुभएको छ ।
Popularity: 15%
February 27th, 2009
एचकेनेपाल डट कम संवाददाता-
सर्वोच्च अदालतले अर्को आदेश नभएसम्मका लागि नेपाल ललितकला तथा सङ्गीत नाट्य प्रज्ञा-प्रतिष्ठानमा भएको नियुक्तिको निर्णय कार्यान्वयन नगर्नु, नगराउनू भनी अन्तरिम आदेश जारी गरेको छ। यसअघि नेपाल प्रज्ञा-प्रतिष्ठानमा नियुक्तिलाई लिएर पनि अन्तरिम आदेश जारी भए पछि सरकारले नियुक्त बदर गरेको थियो।
ललितकला प्रज्ञा-प्रतिष्ठान नियुक्तिविरुद्ध कलाकार किरण मानन्धर र शान्तकुमार तथा सङ्गीत नाट्य प्रज्ञा-प्रतिष्ठान नियुक्तिविरुद्ध नाट्यकर्मी विजय विस्फोट र कृष्ण शाह यात्रीले यही फागुन १३ गते निवेदन दिनुभएको थियो ।
न्यायाधीश गिरीशचन्द्रलालको एकल इजलासले बाटाको म्यादबाहेक-१५ दिनभित्र विपक्षी प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति तथा राज्य पुनःसंरचनामन्त्री र संस्कृति तथा राज्य पुनःसंरचनामन्त्रालयलाई लिखित जवाफ पठाउन पनि आदेश दिएको छ ।
निवेदकहरूले प्राज्ञ सिफारिस समितिको बैठकबिना यही फागुन २ गते प्रधानमन्त्रीले नियुक्ति र मनोनयन गर्नुभएको जिकिर गर्नुभएको छ ।
ललिकला प्रज्ञा-प्रतिष्ठान सिफारिस समितिका सदस्यमा पहिले डा. गङ्गाप्रसाद अकेला र डा. नन्दीश अधिकारी रहनुभएकामा डा. अकेलाका स्थानमा देवेन्द्र थुम्केली रहेको, तर थुम्केली विज्ञ नहुनाका साथै उहाँको नियुक्तिबारे सार्वजनिक जानकारी नदिइएको जिकिर पनि गरिएको छ ।
त्यस्तै सङ्गीत नाट्य प्रज्ञा-प्रतिष्ठान सिफारिस समितिमा पहिले गङ्गाप्रसाद उप्रेती र खुसीराम पाख्रिन रहनुभएकोमा उप्रेतीका स्थानमा कुलानन्द गिरी ल्याइएको पनि कुनै सार्वजनिक जानकारी नगराइएको निवेदनकले दाबी गरेका छन् ।
अदालतले नेपाल प्रज्ञा-प्रतिष्ठानमा भएको सिफारिस र नियुक्ति पनि कानुनसम्मत नभएकाले यही फागुन ११ गते सो निर्णयको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नु, नगराउनू भनी अन्तरिम आदेश जारी गरिसकेको छ । सो सम्बन्धमा साहित्यकार विष्णु प्रभातले फागुन ६ गते निवेदन दिनुभएको थियो ।
सरकारले नेपाल प्रज्ञा-प्रतिष्ठान, ललितकला प्रज्ञा-प्रतिष्ठान र नाट्यसङ्गीत प्रज्ञा-प्रतिष्ठानमा क्रमशः इश्वरचन्द्र ज्ञवाली, बाबुलाल पुनमगर र माइला लामालाई नियुक्त गरेको थियो ।
अदालतको सो आदेशपछि स्रष्टाहरूले प्रज्ञा-प्रतिष्ठानको पुनःगठनका लागि दबाब दिन प्राज्ञिक सङ्र्घर्ष समिति गठन गर्ने कलाकार मानन्धर र साहित्यकार प्रभातले बताउनुभयो ।
Popularity: 15%
February 27th, 2009
एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली काङ्ग्रेस र नेकपा (एमाले) लाई अवसरवादी दलको संज्ञा दिनुभएको छ।
चितवनको भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष थापाले गणतन्त्र काङ्ग्रेस र एमालेको नारा नभई माओवादीको भएको भन्दै दुवै पार्टी माओवादीको पछि लागेर हिँडेको आरोप लगाउनुभयो ।
Popularity: 15%
February 27th, 2009
एचकेनेपाल डट कम संवाददाता-
झापाको शरणामतिमा बर्ल्डफ्लुको सङ्क्रमण फेला परेपछि खटिएको र्यापिड रेस्पोन्स टिमले सुरु गरेको मोपिङ अभियानअन्तर्गत लुकाएर राखिएका पंक्षी नष्ट गरिरहेको छ।
अभियानअन्तर्गत टिमले लुकाएर राखिएका दुई सय ५० पंक्षी नष्ट गरेको थियो। मोपिङअन्तर्गत एक सय ९२ कुखुरा र ४९ परेवा नष्ट गरिएका हुन्।
नष्ट गरिएका पक्षीको क्षतिपूर्ति सरकारले नदिने यसअघि नै स्पष्ट पारिएको छ।
यसैबीच सरकारले शरणामती-२ आसपासको पाँच सय मिटर क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि त्यस क्षेत्रका विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित बनेको छ।
बर्डफ्लुको सङ्क्रमणबाट बचाउनका लागि १५ दिन विद्यालय बन्द गराइने भएपछि विद्यार्थीको पढाइ प्रभावित बनेको हो । सङ्कटग्रस्त क्षेत्रका एक निजीसहित आधा दर्जन विद्यालयको पठनपाठन ठप्प हुँदा वार्षिक परीक्षासमेत स्थगन गरिएको छ।
Popularity: 14%
February 27th, 2009
एचकेनेपाल डट कम सम्वाददाता -
रिपोटर्स क्लबका अध्यक्ष तथा पत्रकार ऋषि धमलालाई बयानका लागि विहीवार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको छ।
धमलासँग बयान लिने काम नसकिएकाले बयान लिने क्रम भोलि पनि जारी रहेको छ। जिल्ला प्रशासन कार्यालयले धमलासँग चार घण्टा लामो बयान लिएपछि दुवै पक्षका वकिलबीच बहस सुरु भएको थियो। धमलाको पक्षमा अधिवक्ताहरु शम्भु थापा, भिमार्जुन आचर्य, हरिहर दाहाल, टिकाराम भट्टराई उपेन्द्रकेशरी न्यौपानेलगायतले बहस गरेका थिए।
मंगलवार सरकारले धमलाविरुद्ध हातहतियार तथा खरखजाना अभियोगमा मुद्दा दर्ता गरेको थियो। धमलाको मुद्दामा पक्ष तथा विपक्षका वकिलले बहस गरेपछि उनलाई थप थुनामा राख्ने वा नराख्ने विषयमा प्रशासनले निर्णय गर्ने छ। अपराधको पुष्टि बिना २५ दिन भन्दाबढी हिरासतमा राख्न नपाउने भएकोले भोलिसम्म धमलाको मुद्दालाई किनारा लगाइने छ।
धमलालाई भूमिगत संगठन रणवीर सेनासंगको मिलोमतोमा फिरौति असुली गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरी थुनामा राखेको छ। त्यसैगरी, समान आरोपमा पक्राउ परेका रामसुभक महतो, वीरेन्द्र केएम र मनोज महतोको पनि विहीवार बयान लिएको छ।
Popularity: 15%
February 26th, 2009
एचकेनेपाल डट कम सम्वाददाता -
नेपाल तरुण दल र नेविसंघका कार्यकर्ताले विहीवार प्युठानका जिल्ला शिक्षा अधिकारी मानबहादुर क्षेत्रीलाई मोसो दलेर बजार परिक्रमा गराएका छन्।
उनीहरूले जिशिअ क्षेत्रीलाई भ्रष्टाचार र अनियमितता गरेको आरोपमा मोसो दलेर बजार परिक्रमा गराएका हुन्। विद्यालय सहयोग कार्यक्रम अन्तर्गतका विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको र स्टेशनरीलगायत सामाग्री खरिद गर्दा अनियमितता गरेको भन्दै क्षेत्रीलाई दुर्व्यवहार गरेर बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्।
क्षेत्रीले रिसइबीका कारण आफूलाई बेइज्जत गरेको बताएका छन्। साक्षरता अभियानका सामग्री जिल्ला विकास समिति हुँदै गाउँ विकास समितिमा जाने हुनाले त्यसमा आफ्नो कुनै हात नरहेको बताएका छन्।
शिक्षा कार्यालय प्युठान कर्मचारी परिवारले क्षेत्रीमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। राष्ट्रसेवक कर्मचारीमाथि गरेको दुर्व्यवहारको विरोध गर्दै घटनामा संलग्नहरूमाथि कारवाहीको माग गरेका छन्।
Popularity: 14%
February 26th, 2009
एचकेनेपाल डट कम सम्वाददाता -
दशकौंदेखि शाहवंशीय राजाहरूको राजदरवार रहंदै आएको नारायणहिटी दरबार अब संग्रहालयका रूपमा भोलि शुक्रवारदेखि सर्वसाधारणको लागि खुल्ला हुने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विहीवार अपराह्न संग्रहालयको औपचारिक उद्घाटन गरेपछि नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणका लागि खुल्ला गरिएको हो।
प्रधानमन्त्री दाहालले उद्धाटनको क्रममा बोल्दै नारायणहिटी संग्रहालयलाई सामान्तवाद र राजतन्त्रविरुद्ध जनताले गरेको संघर्षको सफलताको प्रतीक रूपमा लिएको बताए। त्रिभूवन सदन भत्काएर दरबार हत्याकाण्डको प्रमाण नष्ट गरेको आरोप लगाउंदै उनले दरवार हत्याकाण्डको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने बताए।
पूर्व राजपरिवारको निवास रहेको नारायणहिटी दरबार गणतन्त्र घोषणाको ९ महिनापछि संग्रहालयका रूपमा सर्वसाधारणका लागि खुल्ला भएको हो। संग्रहालयका ५२ कक्षमध्ये १९ कक्षमात्र सर्वसाधारणका लागि खुल्ला हुनेछन्। संग्रहालय प्रमुख जयराम महर्जनले सुरक्षा र बजेटका कारण तत्कालका लागि संग्रहालयमा श्रीपेच, राजदण्ड र तत्कालीन राजाले लगाउने विशेष पहिरन राख्न नसिकने जानकारी दिए।
नेपालीका लागि प्रवेश शुल्क १ सय, चीन तथा सार्क राष्ट्रका नागरिकका लागि २ सय र अन्य मुलुकका नागरिकका लागि ५ सय रुपैयाँ तोकिएको छ। त्यसैगरी विद्यार्थीहरूका लागि २० रूपैयाँमात्र प्रवेश शुल्क तोकिएको छ।
Popularity: 15%
February 26th, 2009
धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम -
लोककवि अलिमियाँ बाङमय प्रोत्साहन पुरस्कार यस बर्ष लोक गायिका सकुन्तला ज्ञवालीलाई प्रदान गरिएको छ। पोखरेली कला साहित्यमा पुर्याउनुभएको योगदान कदर गर्दै ज्ञवालीलाई पुरस्कृत गरिएको हो।
लोककवि अलिमियाँको ९१ औं जन्म जयन्तीका अवसरमा ज्ञवालीलाई विहीवार नगद ५ हजार र ताम्रपत्रसहितको उक्त पुरस्कार प्रदान गरिएको हो।
समाज सेवी गणेशबहादुर गुरुङले उहाँलाई पुरस्कार वितरण गर्नुभयो। कार्यक्रममा बोल्दै पुरस्कृत व्यक्तित्व ज्ञवालीले यो पुरस्कारले आफूलाई थप हौसला मिलेको बताउनु भयो। ज्ञवालीका तीज तथा दोहोरी गीतका एल्वमहरु बजार आएका छन्।
गुल्मीमा जन्मनु भएकी ज्ञवालीले कर्म थलो पोखरालाई बनाउनु भएको छ। लोक कवि अलिमियाँ बाङमय प्रतिष्ठान पोखराद्वारा संचालित उक्त पुरस्कारबाट यसअघि पदमराज ढकाल, गौमाया थापा, धनबहादुर गर्न्धव, स्वर्गिय सोम बज्राचार्य लगायतका सम्मानित भईसक्नु भएको छ।
लोक क्षेत्रमा लागेको श्रष्टाहरुलाई प्रोत्साहन गर्न प्रत्येक दुई बर्षमा प्रतिष्ठानले उक्त पुरस्कार बितरण गदै आएको छ। प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रम कव कवयित्रीहरुले कविता वाचन गरेका थिए।
Popularity: 15%
February 26th, 2009
Previous Posts