Archive for February 4th, 2009

पक्राउ परेका पत्रकारहरुको भिडियो बयान सार्वजनिक (+Video)

एस, काठमाडौं / एचकेनेपाल डट कम -
प्रहरीले पक्राउ गरेका तीन जना पत्रकारहरू रामसुभक महतो, मनोज महतो र बीरेन्द्रकुमार महतोको भिडीयो बयान बुधवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

भिडीयोमा उनीहरूले भूमिगत सशस्त्र संगठन रणबीर सेनाका जिम्मेवार पदाधिकारी भएको बयान दिएका छन्। प्रदीप भन्ने रामसुभक महतोले रणबीर सेनाको उपत्यका इन्चार्ज र बिनायक भनिने मनोज महतोले आफू उपत्यका सैन्य कमाण्डर भएको भिडीयो बयानमा उल्लेख गरेका छन्। अर्का पत्रकार बीरेन्द्रकुमार महतोले पत्रकार बनेर उनीहरुको सहयोग गरेको बयान दिएका छन्।

पत्रकार ऋषि धमलासहित उनीहरु तीन जनाले एक जना व्यापारीसँग ४० लाख रुपैयाँ चन्दा असुल्न लागेको क्रममा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ। पक्राउ परेका पत्रकारहरुले राजधानीको बिभिन्न ठाँउमा भएको विष्फोटनमा आफूहरूको संलग्नता रहेको स्वीकार गरेका छन्। मनोजकुमार महतोले ४० लाख रुपैयाँमा धमलालाई १० लाख रुपैया दिने, पार्टीलाई १० लाख रुपैयाँ दिने र बाँकी रकम तीन जनाले बाड्ने बयान प्रहरीसमक्ष वयान दिएको प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा भिडीयो बयान सार्वजनिक गरिए पनि पक्राउ गरेका उनीहरुलाई उपस्थिति गराइएको थिएन। रानीपोखरी प्रहरी आयुक्त रमेशकुमार श्रेष्ठले छानबिन जारी रहेकोले अनुसन्धानका लागि कानुनी रुपमा नै उनीहरूलाई हिरासतमा राखिएको पत्रकार सम्मेलनमा जानकारी दिए।


Popularity: 8%

Add comment February 4th, 2009

उपप्रधानमन्त्री गौतम बैंककको अस्पतालबाट डिस्चार्ज

एस, काठमाडौं / एचकेनेपाल डट कम -
थाइल्यान्डको बैंककस्थित बुमरङगढ अस्पतालमा उपचार गराइरहेका नेकपा एमालेका नेता एवं उपप्रधानमन्त्री वामदेव गौतम बुधबार अपराह्न डिस्चार्ज भएका छन्।

केही दिनदेखि निरन्तर टाउको दुख्ने, ज्वरो आउने गरेकाले स्वास्थ्य परीक्षण र उपचारका लागि गौतमलाई बैंकक लगिएको थियो। उनका प्रेस संयोजक विश्वमणि सुवेदीले गृहमन्त्री गौतम शुक्रवार स्वदेश फर्कने जानकारी दिएका छन्।

स्वास्थ्य परीक्षणमा सुत्दा बढी घुर्ने समस्याबाहेक अरू नदेखिएको बताए। अक्सिजनको कमीले घुर्ने समस्या देखिएकोले छ महिनासम्म अक्सिजन दिने मेशिन प्रयोग गर्न चिकित्सकले सुझाव दिएको सुवेदीले बताए।

Popularity: 8%

Add comment February 4th, 2009

धमलालाई १४ दिन थुनामा राख्‍ने (News update)

धमलालाई १४ दिन थुनामा राख्‍ने
एस, काठमाडौं / एचकेनेपाल डट कम -
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पत्रकार ऋषि धमलालाई अनुसन्धानका लागि १४ दिन थुनामा राख्‍ने आदेश दिएको छ।

जिल्ला प्रशासन कार्यालय बबरमहल पुर्‍याइएको धमलाले त्यहाँ रहेका पत्रकार माझ आफूलाई राज्यले फसाउन खोजेको र त्यस्को विरुद्ध लड्ने बताए। उनले प्रेस स्वतन्त्रता विरोधीले आफूलाई पक्राउ गरेको प्रतिक्रिया दिए। यसअघि प्रहरीले‌ उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो। उनले श्वास प्रश्वासमा अप्ठेरो परेको भन्दै उपचारको माग गरेका थिए। उनको स्वास्थ्यमा कुनै खराबी नदेखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

धमलालाई अनुसन्धानका लागि भन्दै थुनामा राख्‍न जिल्ला अदालत लैजादै छ।

ऋषि धमलालाई हातहतियार कारोबार र विस्फोटनको आरोप
एचकेनेपाल डट कम संवाददाता-
मंगलबार राजधानीबाट गिरफ्तार गरिएका पत्रकार ऋषि धमलालाई हनुमानढोका प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिँदैछ। अनुसन्धान पूरा भएपछि मात्र उनलाई सार्वजनिक गर्ने भनिएको छ।

प्रहरीले धमलामाथि लगाइएको अभियोगका सम्बन्धमा औपचारिक रुपमा केही बताएको छैन। तर प्रहरीको एक उच्च स्रोतका अनुसार धमलालाई रणवीर सेनासँग सम्बन्ध रहेको आशङ्का कारण पक्राउ गरिएको हो।

“धमला र रणवीर सेनाका सदस्यहरुबीच पटकपटक फोनवार्ता हुने गरेको तथ्य फेला परेको छ”- स्रोतले भन्यो-”धमलाले रणवीर सेनालाई विस्फोटन र हातहतियार कारोबारमा समेत सघाउँदै आएको थाहाभएको छ।”

यस्तै प्रहरीले गत आइतबार रणवीर सेनासँग सम्बन्ध रहेको आशङ्कामा पत्रकारहरु रामशुभक महतो र वीरेन्द्र केएमलाई पक्राउ गरिसकिएको बताएको छ। उनीहरुलाई पनि हनुमानढोकामा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

“राजा राख्‍नुपर्छ” भन्दै आएको रणवीर सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय पहिले बम विस्फोट गराएको बताएको थियो।

Popularity: 8%

Add comment February 4th, 2009

फेरि जनविद्रोहबाट सत्ता कब्जा गर्ने धम्की

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का नेता नारायणकाजी श्रेष्ठले सविधानसभामार्फत् जनताको नयाँ सविधान बन्न नदिइए जनविद्रोहमार्फत् सत्ता कब्जा गर्ने चेतावनी दिनुभएको छ ।

पार्टी एकीकरपछि नेवा राज्य समितिले आयोजना गरेको पहिलो राजनीतिक प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले सरकार, सदन र सडकबाट जनताको पक्षमा प्रभावकारी काम गर्न आफूहरु लागिपर्ने बताउनुभयो।

नेता श्रेष्ठले माओवादीले जनताको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रको नाराको आधारमा संविधानको खाका बनाएर जाने बताउनुभयो ।

बिखण्डनकारी तत्व संविधान बन्न नदिने षडयन्त्रमा लागेको बताउँदै उहाँले यसका विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

अर्का नेता वर्षामान पुनले जनताको भावनाअनुरुप काम गर्न सरकार सदन र सडकसँगै जोडेर अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो।

Popularity: 8%

Add comment February 4th, 2009

समानुपातिक मतबाट स्थानीय निकाय गठन गरिने

एचकेनेपाल डट कम संवाददाता-
संविधानसभा निर्वाचनको समानुपातिक मतका आधारमा स्थानीय निकाय गठन गर्ने सहमति भएको छ । सरकारले गठन गरेको कार्यदलको स्थानीय विकास मन्त्रालयमा बसेको बैठकले प्रमुख दलसँग छलफल गरी यस्तो निर्णय गरेको हो ।

कार्यदलका संयोजक एवम् स्थानीय विकासमन्त्री रामचन्द्र झाले यही माघ २३ गते बस्ने कार्यदलको बैठकले दलबीच अन्तिम सहमति गरेर जिल्ला, नगरपालिका र गाविसमा कसरी बाँडफाँड गर्ने भन्नेबारेमा सिफारिस गरिने बताउनुभयो ।

स्थानीय निकाय गठनका लागि एकीकृत नेकपा (माओवादी) ले संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक मतका आधारमा हुनुपर्ने बताउँदै आएको थियो भने नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र फोरमले समानुपातिक मतका आधारमा गठन हुनुपर्ने माग गरेको थियो ।

त्यस्तै अन्य साना दलले भने निर्वाचन प्रक्रियाबाटै स्थानीय निकाय गठन हुनुपर्ने बताउँदै आएका थिए।

Popularity: 8%

Add comment February 4th, 2009

आजदेखि एसियाली स्तरको क्रिकेट काठमाडौँमा

एचकेनेपाल डट कम संवाददाता-
आजदेखि राजधानीमा एसिसी यु-१७ इलाइट कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने प्रतिस्पर्धामा छिमेकी राष्ट्र कतार, युएइ , चीन (हङकङ), सिङ्गापुर, कुबेत, मलेसिया र बहराइन सहभागी छन् ।

आजको खेल त्रिवि क्रिकेट मैदानमा बहराइन र कुबेत, इन्जिनियरिङ क्रिकेट मैदान पुल्चोकमा नेपाल र कतार तथा आर्मी स्कुल मैदान भक्तपुरमा सिङ्गापुर र हङकङबीच हुनेछन् ।

Popularity: 8%

Add comment February 4th, 2009

एक्लो छोरोले दियो जिउँदै स्वर्ग पुर्‍याउने धम्की

एचकेनेपाल डट कम संवाददाता-
इलामको शान्तिडाँडा-२ फुटुक निवासी डम्बर दाहाल आफ्ना एकमात्र छोरा चेतनाथले मार्ने धम्की दिएपछि जीवनरक्षाका लागि जिल्ला प्रशासन कार्यालयको शरणमा पुगेका छन् ।

अंशवण्डाको निहुँमा आफ्नै छोराबाट ज्यान मार्ने धम्की आएपछि बाध्य भएर सुरक्षाका लागि आफू प्रशासनसमक्ष आइपुगेको उनले बताएका छन् ।

पीडित डम्बरका अनुसार उनका छोरा र बुहारीले तीन वर्षदेखि अंशवण्डाका लागि दबाब दिँदै आएको र समाजले सम्झाउन खोज्दा पनि नटेरेपछि प्रशासनसमक्ष जीवनरक्षाको माग गर्नु भएको हो ।

पीडित डम्बरले सदरमुकाम आएर जीवन रक्षाको पहलका लागि प्रहरी, मानवअधिकारकर्मी, पत्रकार र नागरिक समाजसँगसमेत अनुरोध गरेका छन्।

Popularity: 8%

Add comment February 4th, 2009

सेनाद्वारा डल्फिनको उद्दार

एचकेनेपाल डट कम संवाददाता-
कोसीटप्पु वन्यजन्तु आरक्षको सुरक्षार्थ रहेको नेपाली सेनाको एक टोलीले सुनसरीको हरिपुर क्षेत्रबाट सङ्कटमा परेका डल्फिनलाई उद्धार गरी कोसी नदीमा हालेका छन् ।

करिब १०० केजी तौलको उक्त डल्फिन स्थानीय मछुवारहरूको सहयोगमा समातेर कोसी नदीमा हालिएको गणपति पुरुषोत्तम खड्काले बताउनु भयो ।

पूर्व पश्चिम राजमार्गको करिब तीन किलोमिटर दक्षिणमा देखिएको सो डल्फिनलाई उद्धार गर्न नेपाली सेनाले अस्तिदेखि निरन्तर रुपमा प्रयास गरेको भएपनि सो कार्य हिजो मात्र सम्भव भएको गणपति खड्काले जानकारी दिनुभयो ।

गणपति खड्काका अनुसार अर्को डल्फिन श्रीपुर गाविस क्षेत्रमा फेला परेको र त्यसलाई पनि उद्धार गर्ने प्रयास भइरहेको छ ।

कोसीको पानी पुरानो भङ्गालोमा गएपछि नदी क्षेत्रमा पानीको सतह ज्यादै कम भएकाले डल्फिनहरू सङ्कटमा परेको बताइएको छ ।

सुनसरी क्षेत्रको नदीमा सेनाले डल्फिनहरूको अवैध चोरी निकासी नहोस् र कसैले नमारोस भनेर कडा सुरक्षा व्यवस्था गरिएको गणपति खड्काले बताउनुभयो ।

पहिले कोसी व्यारेज क्षेत्रमा मात्र देखा पर्दै आएको डल्फिन तटबन्ध भत्काएर सुनसरीतिर पसेपछि नदीमा भएका अधिकांश डल्फिनहरू व्यारेज उत्तर पश्चिम कुशाहा क्षेत्रतिर सरेको र नदी सुनसरीतिर बगेपछि डल्फिनहरू हरिपुर र श्रीपुर क्षेत्रको नदीतिर आएको अनुमान गरिएको छ ।

कोसी नदीमा कम्तिमा १० देखि २० को सङ्ख्यामा डल्फिन हुनसक्ने सेनाको अनुमान छ ।

Popularity: 8%

1 comment February 4th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....